शिक्षा र स्वास्थ्य व्यापारदेखि पृथक राख्नुपर्छ
राष्ट्रको
आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ। रोजगार सृजनामा त
सरकारभन्दा निजी क्षेत्रले अहम् भूमिका खेलेको हुन्छ। सरकारभन्दा कैयौं गुणा बढी
व्यक्तिहरूलाई निजी क्षेत्रले रोजगार प्रदान गरेको हुन्छ। सरकारलाई राजस्व पनि
ठूलो मात्रामा निजी क्षेत्रबाट प्राप्त हुन्छ। समग्रमा भन्ने हो भने राष्ट्रलाई
आर्थिकरूपमा सक्षम एवं सबल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ।
राष्ट्रको
आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अति महतवपूर्ण भए तापनि राज्यले शिक्षा र
स्वास्थ्यमा निजी क्षेत्रको भूमिका नियन्त्रणकारी हुन दिनुहुँदैन। अर्को शब्दमा
भन्ने हो भने शिक्षा र स्वास्थ्यजस्ता दुई अति महतवपूर्ण क्षेत्रमा समुदायको
भूमिका महत्वपूर्ण बनाउनुपर्छ। शिक्षा र स्वास्थ्य निजी क्षेत्रको होइन, समुदायको नियन्त्रणमा हुनुपर्छ। शिक्षा र स्वास्थ्य संस्थाहरू
समुदायले स्थापना र सञ्चालन गर्नुपर्छ।
राज्यले
शिक्षा र स्वास्थलाई व्यापारदेखि पृथक राख्नुपर्छ। शिक्षा र स्वास्थ्यलाई, व्यापारीहरूका लागि राम्रो आम्दानी वा लाभ प्राप्त हुने क्षेत्रको
रूपमा स्थापित हुन दिनुहुँदैन। शिक्षा र स्वास्थ्यलाई सेवाको रूपमा हेरी यी दुई
क्षेत्रलाई व्यापारको माध्यम बन्न दिनुहुँदैन। शिक्षा र स्वास्थ्य व्यापारिक
वस्तुका रूपमा स्थापित भएमा गरीब परिवारहरूका लागि शिक्षा र स्वास्थ्य दुवै अति
महँगो हुन पुग्छ। आफ्नो आम्दानीको ठूलो अंश गरीब परिवारहरूले शिक्षा र स्वास्थ्यमा
खर्च गर्नुपर्छ। गम्भीर रोग लागेमा गरीब परिवारहरूले उपचारका लागि घरजग्गा बिक्री
गर्ने स्थिति उत्पन्न हुन सक्छ। घरजग्गा नहुनेले उपचार र औषधिको अभावमा मर्नुपर्ने
स्थिति उत्पन्न हुन सक्छ।
अहिले
हाम्रो देशमा शिक्षा र स्वास्थ्य राम्रो आम्दानी हुने व्यापारको रूपमा स्थापित हुन
पुगेको छ। यो ज्यादै दुःखद कुरा हो। प्राथमिक विद्यालयदेखि कलेजहरूसम्म तथा
सानासाना क्लिनिक देखि ठूल्ठूला अति सुविधासम्पन्न अस्पतालसम्म ठूलो मुनाफा वा
आम्दानी प्राप्त गर्ने उद्देश्यले स्थापित एवं सञ्चालित छन्। केही अपवादबाहेक, हाम्रो देशमा ठूलो सङ्ख्यामा विद्यालय, कलेज एवं अस्पतालहरू ठूलो मुनाफा हात पार्ने उद्देश्यले स्थापित एवं
सञ्चालित छन्।
महँगा–महँगा अस्पताल एवं विद्यालय तथा कलेजहरू सञ्चालन गरेर केही सीमित व्यक्तिहरू अपार धन आर्जन गर्न सफल भएका छन्। अचम्म यस कुरामा देखिएको छ कि आवश्यक उद्योगहरूको स्थापनामा कमी आएको छ। ठूलो सङ्ख्या एवं परिमाणमा वस्तुहरू आयात गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। अर्कोतिर निजी अस्पताल एवं विद्यालय तथा कलेजहरूको स्थापनामा व्यापक वृद्धि भएको छ। सामान्य किसिमले होइन अचम्मलाग्दो किसिमले वृद्धि भएको छ। देशभरि नै, शहरका सानासाना टोलहरूमा समेत पनि, महँगा विद्यालय एवं अस्पतालहरू सञ्चालन भएको देख्न सकिन्छ।
विद्यालय, विश्वविद्यालय तथा अस्पतालहरूको स्थापना एवं सञ्चालनका लागि निजी
क्षेत्र होइन, सरकार पनि होइन, समुदायलाई जिम्मेवार र सक्रिय पार्न आवश्यक छ । उनीहरूको उपस्थिति
बाक्लो पार्न आवश्यक छ।
आफ्नो
क्षेत्रको लागि शिक्षा र स्वास्थ्य सुविधा स्थापना एवं विस्तार गर्ने पहिलो
जिम्मेवारी समुदायको हो। समुदाय अर्थात् स्थानीय व्यक्तिहरूले आआफ्नो क्षेत्रमा
स्वास्थ्य र शिक्षाको विकास गर्न अघि सर्नुपर्छ। जहाँ, जसले स्वास्थ्य र शिक्षा सेवा उपभोग गर्ने हो ती व्यक्तिहरूले, ती सेवा सञ्चालन गर्ने दायित्व निर्वाह गर्नुपर्छ।
हाम्रो
देशमा हामीले विकासका लागि समुदायलाई प्रभावकारी किसिमले साझेदार तुल्याउन सकेका
छैनौं। विकासको लागि केन्द्र वा सरकारको मुख ताक्ने बानीको अन्त्य हुन सकेको छैन।
तर विकासका लागि समुदायलाई,
अर्को शब्दमा भन्ने हो भने स्थानीयलाई
सहभागी एवं सक्रिय तुल्याउन आवश्यक छ।
किन
आवश्यक छ सामुदायको स्वामित्व?
शिक्षा
र स्वास्थ्य समुदायको स्वामित्वमा स्थापना र सञ्चालन हुने हो भने शिक्षा र
स्वास्थ्यलाई अहिलेको भन्दा सस्तो पार्न सकिन्छ। समुदायले सञ्चालन गरेका शैक्षिक र
स्वास्थ्य संस्थाहरू मुनाफामा सञ्चालन नहुने भएकाले त्यस्तो हुनु स्वाभाविक हो।
शिक्षा र स्वास्थ्यलाई सस्तो पार्न गरीबहरूको पहुँचसम्म पुर्याउन पनि, यी दुवै महत्वपूर्ण क्षेत्रलाई समुदायको स्वामित्वमा स्थापना र
सञ्चालन हुन दिन आवश्यक छ। शिक्षा र स्वास्थ्यलाई व्यापारिक वस्तु हुनुबाट रोक्न
आवश्यक छ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा हुने ठूला–ठूला अनुसन्धानहरूमा भने निजी क्षेत्र र सरकारको सहभागिताआवश्यक छ। ठूला–ठूला अनुसन्धानहरूमा अधिक रकम खर्च गर्नुपर्ने हुन्छ, जुन समुदायले बेहोर्न सक्तैन। यो कारणले गर्दा खर्चिलो अनुसन्धानहरूमा निजी क्षेत्रको उपस्थिति अनिवार्य हुन पुग्छ। जस्तै, कुनै घातक रोग निर्मूल पार्न कुनै औषधिको विकास गर्नुपर्ने भएमा त्यस्तो औषधिको विकास (आविष्कार) सामुदायिक संस्थाले गर्न सक्तैन। यस्तो स्थितिमा निजी क्षेत्र वा सरकारको उपस्थिति आवश्यक हुन पुग्छ। निजी प्रयोगशाला उपस्थित हुन आवश्यक छ।
मुख्यगरी स्वास्थ्य सुविधा, गरीब परिवारहरूको पहुँचमा सजिलै पुर्याउन वा गरीब परिवारहरूलाई अति खर्चिलो बिमारी लागेमा, त्यस्ता परिवारहरूलाई सहयोग गर्न सहयोगी संस्थाहरूको सहयोग लिन सकिने व्यवस्थाको विकास गर्न पनि सकिन्छ। विभिन्न अस्पतालहरूमा सहयोगी संस्था स्थापना गर्न सकिन्छ। नेपालमा अनेक मठमन्दिरहरू छन्। अनेक सामाजिक संस्थाहरू छन्। मठमन्दिर तथा सङ्घसंस्थाहरूले ठूलो मात्रामा भक्तजन एवं दाताहरूबाट दान एवं चन्दा प्राप्त गर्छन्। त्यसरी प्राप्त हुने चन्दा गरीब परिवारको उपचारमा खर्च गर्न सकिन्छ। खर्चिलो रोग लागेका गरीब परिवारको उपचारमा प्रयोग हुने महँगा औषधि एवं जाँच खर्च भुक्तान गर्न उनीहरूलाई सहयोग गर्न सकिन्छ। गरीब परिवार इलाज र औषधिको अभावमा मर्नुपर्ने स्थितिको अन्त्य गर्न सकिन्छ।
मठमन्दिर
एवं सामाजिक सङ्घसंस्थाहरूलाई हुने आम्दानी गरीब परिवारको स्वास्थ्यका लागि खर्च
गर्न सके गरीब परिवारसम्म स्वास्थ्य सुविधा अझै प्रभावकारी किसिमले पु¥याउन सकिन्छ। यो तथ्य नीति निर्माताहरूले ह्दयङ्गम गर्न आवश्यक छ।
निजी
क्षेत्रका व्यवसायीहरू जसले अहिले शिक्षा र स्वास्थ्यबाट अधिक आम्दानी प्राप्त
गरिरहेका छन्, भोलिका दिनमा प्राप्त नगर्न पनि सक्छन्।
उनीहरूका तेस्रो–चौथा पुस्ता गरीब पनि हुन सक्छन्। अहिले धनी रहेको अवस्थामा त
उनीहरूले, निजी क्षेत्रका व्यवसायीहरूले, सजिलैसँग आफू र आफ्ना सन्तानलाई महँगो शिक्षा र स्वास्थ्य सेवा
उपलब्ध हुने आर्थिक स्थितिमा राख्न सक्छन्।
तर
तीन वा चार पुस्तापछि उनीहरूका शाखा सन्तानहरू गरीब भए भने त्यस्तो स्थिति नहुन
सक्छ। यस कारणले गर्दा पनि एउटा असल व्यवस्था निर्माण गर्नका लागि पनि, स्वास्थ्य र शिक्षा सजिलै गरीबहरूको पहुँचमा पुर्याउन पनि, शिक्षा र स्वास्थ्य समुदायको नियन्त्रणमा हुन आवश्यक छ। शिक्षा र
स्वास्थ्य सेवा समुदायले स्थापना र सञ्चालन गर्न आवश्यक छ। त्यसैले शिक्षा र
स्वास्थ्यलाई व्यापारदेखि पृथक राख्न आवश्यक छ। व्यापारिक वस्तु हुन नदिन आवश्यक छ।
विश्वराज अधिकारी
प्रतीक दैनिक प्रकाशित: Friday, July 17, 2026

No comments:
Post a Comment