विदेशमा खर्च भइरहेको हाम्रो राष्ट्रिय पूँजी
पढ्न पाकिस्तान, बङ्गलादेश वा भारत जाने। पढ्नकै लागि क्यानाडा, अमेरिका, अस्ट्रेलिया, ब्रिटेन आदि देश जाने। पढ्नका लागि नेपाल छाड्नैपर्ने, विदेश जानैपर्ने। पढाइ समाप्त गरेर क्यानाडा, अमेरिका, अस्ट्रेलियाजस्ता धनी देशमा पुगेर आरामको जीवन बिताउने।
अहिलेको हाम्रो सामाजिक मनोविज्ञानले यही बोलिरहेको छ। यो सामाजिक मनोविज्ञानले
अहिले हाम्रा सन्तानहरूलाई नेपालमा भविष्य अँध्यारो तर विदेशमा उज्जवल देख्ने
स्थितिमा पुर्याएको छ। यो मनोविज्ञानले गर्दा नै हाम्रा
सन्तानहरू ठूलो सङ्ख्यामा विदेशतिर लागिरहेका छन्। स्वेच्छाले परिवार, घर र देश छाडिरहेका छन्।
के विदेश पुगेका नेपाली विद्यार्थीहरूलाई
विदेशमा पढ्न सहज छ? अध्ययन र आर्जन
एकैपटक गर्न सहज छ? वा ठूला–ठूला
कठिनाइहरूको सामना गर्नुपरिरहेको छ? अध्ययन समाप्त भएपछि विदेश पुगेका नेपाली विद्यार्थीहरूले त्यहाँ के सजिलै
किसिमले काम पाइरहेका छन्? अध्ययन समाप्त भएर
पनि काम नपाएको र विदेशमा बस्न पाउने अध्ययन भिसा अवधि समाप्त भएको स्थितिमा
नेपाली विद्यार्थीहरूले के कस्ता समस्याहरू भोगिरहेका छन्?
नेपाली विद्यार्थीहरूलाई विदेश पढ्न पठाउँदा
देशले कति रुपियाँ खर्च गरिरहनु परेको छ? विद्यार्थीहरूलाई नेपालमा अध्ययन गर्न किन हाम्रा विश्व विद्यालयहरूले आकर्षित
गरिरहेका छैनन्? यति ठूलो सङ्ख्यामा
नेपालीहरू अध्ययनको लागि विदेश जाँदा देशले कुन परिमाणमा जनशक्ति गुमाइरहेको छ?
यस्ता विषयहरूमा चर्चा भएको पाइँदैन। यस्ता
विषयहरूले महत्व पाएको पनि देखिंदैन।
नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनको लागि
पठाउँदा देशले ठूलो परिमाणमा विदेशी मुद्रा (डलर, पाउन्ड, भारतीय रुपियाँ)
खर्च गरिरहनुपरेको छ। हामीले विभिन्न देशबाट कमाएर ल्याएको पैसा (रेमिट्यान्स),
पर्यटन क्षेत्रबाट आएको आम्दानी, वैदेशिक व्यापारबाट प्राप्त आय विदेशका अनेक
विश्व विद्यालयहरूलाई भुक्तान गर्नमा खर्च गरिरहेका छौं। अहिले हामी विभिन्न देशका,
विभिन्न विश्वविद्यालयका, राम्रो आम्दानी गराउने ग्राहक हुन पुगेका छौं।
भारत, पाकिस्तान, बङ्गलादेशजस्ता मुलुकहरूमा पुगेका नेपाली विद्यार्थीहरूले त
अध्ययन समाप्त गरेपछि ती देशहरूमा काम गर्न पनि पाउँदैनन्। अध्ययन समाप्त गरेपछि
अनिवार्यरूपमा स्वदेश (नेपाल) फर्किन नै पर्छ। तर पनि बर्सेनि पाकिस्तान, भारत एवं बङ्गलादेशका अनेक विश्वविद्यालयहरूलाई
राम्रो आम्दानी गराइरहेका छौं। भारतका विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीमाथि
हुने दुव्र्यवहार पनि टुलुटुलु हेरेर बसिरहेका छौं। के विदेशमा पाउने शिक्षा
हामीले हाम्रा सन्तानहरूलाई नेपालमैं दिन सक्तैनौं? के नेपाली विश्वविद्यालहरूलाई हामी सक्षम पार्न सक्तैनौं?
आफ्ना सन्तानलाई विदेश अध्ययनका लागि पठाउँदा
हामीले लाखौं रुपियाँ खर्च गरिरहेका छौं। भोलिका दिनमा उनीहरूको जीवन विदेशमा सहज
र सुखद होला भन्ने कामना गरिरहेका छौं। सपना देखिरहेका छौं। तर के हाम्रा सन्तानले
विदेशमा सहज अध्ययन र आर्जन गर्न पाएका छन् त? यसतर्फ हामीले गम्भीरतापूर्व सोचेका छैनौं। अध्ययनका लागि
विदेश जाने योजनामा रहेका हाम्रा सन्तानले यो विषयलाई गम्भीरतापूर्व लिने त झन्
कुरै भएन। विदेश पढ्न जानु जीवनमा सफल हुनु भन्ने मान्यता हाम्रो समाजमा स्थापित
भएकोले हाम्रा सन्तानहरूले हाई स्कूल हुँदादेखि नै अध्ययनका लागि विदेश जाने सपना
देखिसकेका हुन्छन्।
अध्ययनका लागि संसारका अनेक र खासगरी धनी
देशहरूमा पुगेका नेपाली विद्यार्थीहरूको आर्थिक स्थिति कस्तो छ, आउनुहोस् त्यसबारे चर्चा गरौं। अहिले विदेश
पुगेका नेपालीहरूलाई बाहिर काम पाउन सजिलो छैन। सर्वप्रथम त, नेपाली वा अर्को देशबाट आएका विद्यार्थीहरूले
त्यहाँ काम गर्नु नै गैरकानूनी हो। अध्ययनका लागि विदेश पुगेका विद्यार्थीहरूलाई,
धेरै देशहरूमा, काम गर्न नदिने कानूनी व्यवस्था छ। त्यस्ता विद्यार्थीहरूले
केवल तोकिएको समयसम्म आफ्नो कलेज वा विश्वविद्यालयमा काम गर्न पाउने कानूनी
व्यवस्था भने केही मुलुकहरूमा भने छ। तर त्यसरी र त्यति काम गरेर प्राप्त आयले
बसाइ, अध्ययन एवं खानपिन खर्च भुक्तान गर्न सम्भव
हुँदैन। र यस्तो अवस्थाले विद्यार्थीहरूलाई तनावको स्थितिमा पुर्याउँछ। नेपाल वा आफनो देशबाट अभिभावकहरूसँग पैसा
मागेर त्यस्ता खर्चको भुक्तानी दिनु सम्भव पनि हुँदैन। नेपालबाट आउँदा नै नेपाली
विद्यार्थी वा तिनका अभिभावकहरूले ठूलो ऋण लिइसकेका हुन्छन्।
स्नातकोत्तर र विद्यावारिधि गर्न विदेशका अन्य
विश्वविद्यालयहरूमा पुगेका विद्यार्थीहरूले भने ठूलो आर्थिक समस्या भोग्नुपर्दैन।
उनीहरूले आफू अध्ययनरत
विश्वविद्यालले दिने ‘आर्थिक सहयोग’ ले अध्ययन खर्च जुटाउन सक्छन्। ठूलो
मितव्ययिता गरेर मासिक सानो रकम बचत गर्न पनि सक्छन्, तर अध्ययन समाप्त गरेपछि उनीहरूले विश्व विद्यालबाट पाउने
सहयोग बन्द हुन्छ र अनिवार्यरूपमा जागीर खोज्नुपर्छ। जागीर पाएपछि, जागीरेहरूले पाउने भिसा पाएपछि, अनि मात्र उनीहरूको त्यहाँको बसाइ कानूनी हुन्छ।
जागीर नपाए, बसाइ गैरकानूनी हुन पुगे स्वदेश फर्किनुपर्ने
स्थिति हुन्छ। अन्यथा त्यहाँको बसाइ गैरकानूनी हुन्छ।
यमनको गृहयुद्ध, सुडान–सङ्घर्ष, इजराइल–हमास युद्ध, युक्रेन–रूस युद्ध जस्ता दीर्घकालीन पिरलोहरूले विश्व अर्थ व्यवस्थालाई राम्ररी काम गर्न दिइरहेका छैनन्। विश्व अर्थ व्यवस्था अहिले राम्रो स्थितिमा छैन। रोजगारको स्थिति अहिले संसारभरि नै राम्रो छैन। यस्तो स्थितिमा अध्ययनका लागि संसारका अनेक विश्व विद्यालयमा पुगेका नेपाली विद्यार्थीहरूले, र खासगरी नेपालमा केवल प्लस टु गरेर थप शिक्षाका लागि विदेश पुगेका नेपाली विद्यार्थीहरूले आफू पुगेको देशमा काम पाउन सजिलो छैन, निकै कठिन छ। यो गम्भीर विषय हामी सबै अभिभावकले गम्भीरतापूर्वक बुझ्न आवश्यक छ। नेपालमा प्लस टु सक्याएर विदेशका विश्वविद्यालयहरूमा पढ्न जान कम्मर कसेका हाम्रा सानासाना बच्चाहरूले त झनै गम्भीरतापूर्वक बुझ्न आवश्यक छ।
हामीले नेपालमैं शिक्षाको स्तर वृद्धि गर्न
आवश्यक छ। र त्योभन्दा पनि ठूलो कुरा नेपाली शिक्षाको स्तरमा नेपाली विद्यार्थी
एवं अभिभावकहरूको विश्वास जागृत गराउन आवश्यक छ। हाम्रो शिक्षा रोजगारमुखी छैन,
त्यो सत्य हो। तर ज्ञानको हिसाबले संसारको कुनै
पनि देशको शिक्षासँग प्रतिस्पर्धा गर्न सक्छ। ज्ञानको हिसाबले हाम्रो शिक्षा
प्रणाली, शिक्षा सामग्री, शिक्षा स्रोत विश्वको नाम चलेका विश्वविद्यालयको स्तरको छ।
हामीले शिक्षा प्रणालीलाई रोजगारमुखी पार्ने हो, नेपाली शिक्षामा अभिभावकहरूको विश्वास जागृत गर्ने हो भने
यसरी ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू अध्ययनको लागि विदेश जाने स्थितिमा
परिवर्तन ल्याउन सक्छौं। हाम्रा विद्यार्थीहरू स्वदेशमैं बसेर, परिवारसँग रहेर, पढ्न र जागीर पनि स्वदेशमैं गर्न पाउने स्थिति सृजना गर्न
सक्छौं।
अब प्रसङ्ग परिवर्तन गरौं। ‘उडिसाको केआइआइटीकी
विद्यार्थी मृत फेला, सबै नेपाली
विद्यार्थीलाई घर फर्काइयो’, कान्तिपुर दैनिकले
फागुन ५, २०८१ मा प्रकाशित गरेको समाचारको शीर्षक हो।
उक्त समाचारमा भनिएको छ–‘भारतीय राज्य उडिसाको राजधानी भुवनेश्वरको कलिङ्ग
इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा बी–टेक अध्ययनरत बुटवलकी
प्रकृति लम्सालले आइतवार आत्महत्या गरेकी छन्।’
कान्तिपुर थप लेख्छ–“साँझ ४–५ बजे आत्महत्याको
खबर विश्वविद्यालयमा फैलिएको र तुरुन्तै उनलाई किम्स अस्पताल लगिएको एक नेपाली
विद्यार्थीले जानकारी दिए। राति १० बजेदेखि होस्टेलमा प्रदर्शन शुरू भएको र सोमवार
बिहान सबैलाई ‘डिपोर्ट’ गर्न थालिएको उनले बताए। ‘म खाजा खान मेसतिर जाँदै थिएँ,
वार्डेनले तिमीहरू घर फर्कनुपर्छ भने’–उनले
बताए– ‘जान नमान्नेलाई सेक्युरिटी गार्डले कुटे।’
कान्तिपुरको सम्पर्कमा आएका विद्यार्थीहरूका
अनुसार ५ सयभन्दा धेरै नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक
रेलवे स्टेशन ल्याएर छोडिदिएको छ। नेपाल जाने रेल बिहीवार मात्र चल्ने भएकाले आफूहरू
अलपत्र परेको उनीहरूले बताए।
भारतको उडिसा राज्यस्थित केआइआइटीमा भएको त्यो
घटनाको न्यायिक छानबीन होला। सत्य–तथ्य पछि सार्वजनिक होला।
यो प्रसङ्ग विदेशमा अध्ययन गर्न नेपाली
विद्यार्थीहरूलाई, सोचेजति सहज छैन,
भनी बताउनका लागि गरिएको हो।
भारत मात्र होइन, अध्ययनका लागि संसारका कुनै पनि विश्वविद्यालय पुगेका नेपाली विद्यार्थीलाई ‘विदेशमा अध्ययन’ सोचेजति सहज छैन। मानसिक र आर्थिक दुवै किसिमले सहज छैन। आर्थिक सहजता पटक्कै छैन। एउटै समयमा अध्ययन गर्नु र आर्जन पनि गर्नु, नेपाली विद्यार्थीहरूका लागि फलामको चिउरा चपाउनु सरह भएको छ।
हाम्रा नेताहरूले नेपाली विद्यार्थीहरूको यो
पीडा बुझून्! देशको आर्थिक विकास गरून्! इमानदार बनून्! सत्तामोह त्यागेर
विकासका लागि सहमति गर्दै अगाडि बढून्! साधन र स्रोतले
भरिएको हाम्रो देशमा अठोटको मात्र खाँचो छ। अहिलेलाई यही कामना गर्न सकिन्छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, February 21,
2025
No comments:
Post a Comment