Wikipedia

Search results

Showing posts with label Poverty and Economics. Show all posts
Showing posts with label Poverty and Economics. Show all posts

Friday, December 4, 2015

Why Is Birgunj Getting Sick?-Article-190


किन वीरगंज बिमारी पर्दैछ?

वीरगंज शहरको इतिहास हेर्ने हो भने यसको विकास कुनै धार्मिक वा राजनैतिक नभई व्यापारिक शहरको रूपमा भएको सजिलै थाहा पाउन सकिन्छ । यस शहरलाई व्यापारिक शहरको रूपमा विकसित गर्न यहाँका विभिन्न समुदायको महत्त्वपूर्ण योगदान छ। मारवाडी, पञ्जाबी, नेवार र गुप्ता, सर्राफ समुदायले भने खास भूमिका खेलेको पाइन्छ। वीरगंज वरिपरि यातायात सेवा विस्तार गर्न र ‘सेटेलाइट सिटी’ हरूको विकास गर्न मारवाडी र पञ्जाबी समुदायले आफ्नो ज्ञान, ऊर्जा, समय र पैसाको निकै लगानी गरेको अझै बढी उल्लेखनीय छ। निजगढ, चन्द्रनिगाहपुर वा हेटौंडा, नारायणघाट तिर दौडिने ट्रक वा बसहरूमा चालक पञ्जाबी रहेको र यसैगरी निजगढ, चन्द्रनिगाहपुर, बरहथवा, लालबन्दीतिर अन्न खरिदका लागि दौडिने गाडीहरू ब्रिजलाल केडियाको रहेको तीसको दसक स्मरण गर्दा यी दृश्यहरू आाखा अगाडि झल्झली आउँछ। कलैया, जीतपुर, सिमरा, निजगढ एवं चन्द्रनिगाहपुरलाई सेटेलाइट शहरको रूपमा विकास गर्न एवं ती शहरहरूमा व्यापारिक गतिविधि तीव्र पार्नमा केडिया परिवारको ठूलो योगदान छ। निजगढ, चन्द्रनिगापुर यस क्षेत्रका कान्छा तर तीव्र गतिमा आर्थिक विकास गर्ने शहरहरू हुन्। यी दुई शहरले सदरमुकाम कलैया र गौरलाई आश्चर्यचकित पार्दै अभूतपूर्व आर्थिक विकास गरे। आफूलाई आर्थिकरूपमा अति नै सक्षम पारे। र यो तथ्य धेरैलाई थाहा छ। वीरगंजस्थित केडिया परिवारको ‘राइस एन्ड फ्लोर मिल्स’ का लागि धान खरिद गर्न त्यस घरानाका बीसौं ट्रक पूर्वमा लालबन्दीसम्म पुग्थे।
    वीरगंजमा व्यापार मात्र होइन, उद्योगको विकास पनि सन्तोषजनक किसिमले भएकोले वीरगंज र यस वपरपरका गाउँका युवकहरूले सजिलै रोजगार पाउँथे। पहाडका युवकहरू जस्तो रोजगारका लागि काठमाडौं नै पुग्नुपर्ने दरकार थिएन। वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, चुरोट कारखाना, सलाई कारखाना, बिडी कारखाना, चामल मिलहरू, स्टिल कारखाना, ज्योति फारम एवं उद्योग, जुन २०२५ सालभन्दा पहिले नै खुलिसकेका थिए, हजारौ व्यक्तिलाई रोजगार दिएका थिए। कृषि औजार कारखाना र वीरगंज चिनी कारखाना, जुन पूर्ण सरकारी लगानीमा स्थापना भएका थिए, वीरगंज मात्र होइन यस वरपरका अनेक गाउँ–छातापिपरा, परवानीपुर, कलैया, मोतिसर, इटियाही, बगही, जगरनाथपुर, लालपर्सा, लिपनिका सयौं व्यक्तिलाई रोजगार दिएर उनीहरूको आम्दानी बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। चीनी उत्पादन र उखु खेतीका लागि वीरगंजले नेपालभरिमैं ख्याति आर्जन गरेको थियो। यस शहरमा उत्पादन भएको चामल भारत मात्र होइन, बङगलादेश, मरिसस, सिंगापुरसम्म निर्यात हुन्थ्यो। चामल निर्यात गर्न भनेर नै तत्कालीन सरकारले ‘धान चामल निर्यात कम्पनी’ स्थापना गरेको थियो र त्यस कम्पनीको एउटा ठूलो शाखा वीरगंजमैं थियो। निष्कर्षमा भन्ने हो भने यो शहर आफ्नो व्यापारिक कार्यमा मात्र केन्द्रित रहने भारतको गुजरात राज्यजस्तो थियो । वा सिंगापुरजस्तो केवल कारोबारी बजार थियो। अमेरिकाको न्युयोर्कजस्तो वहुसांस्कृतिक, व्यापारिक शहर थियो। धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला कि जतिखेर काठमाडौंका सडकहरूमा जनताका मोटरहरू दौडिने गर्थेन त्यतिखेर वीरगंजले आफूलाई रेलसेवासँग जोडिसकेको थियो। भारतको रक्सौलदेखि वीरगंज हुँदै अमलेखगंजसम्म पुग्ने ‘नेपाल गभरमेन्ट रेल्वे’ को स्थापना सन् १९२७ मा भइसकेको थियो। करिब ९० वर्ष पहिले वीरगंजले आफूलाई उत्तरमा काठमाडौं र दक्षिणमा कलकत्ता, बनारस, लखनऊ, दिल्ली जस्ता भारतका प्रमुख शहरहरूसँग जोडिसकेको थियो। लगभग नेपालभरिका मानिस काठमाडौं जान वीरगंज आउँथे अनि रेल चढेर अमलेखगंज पुग्थे। त्यसपछि बस वा ट्रकमा चढेर भीमफेदी पुग्थे र त्यहाँबाट हिंडेर काठमाडौ पुग्थे । व्यापारिकरूपमा वीरगंज हरपल गुलजार रहेको इतिहास छ। यी तथ्यहरू यस क्षेत्रका नया पिढीका (युवाहरू) लाई थाहा नहुन सक्छ।
    तर २०४६ र ४७ सालको राजनैतिक परिवर्तनले जब वीरगंजलाई नराम्रो गरी छुन शुरु गर्‍यो अनि पूर्वको त्यो ‘अनुत्पादक राजनीति’, जसले राजविराज र जनकपुरजस्ता आर्थिक विकासका बृहत् सम्भावना बोकेका शहरहरूको विकास हुन दिएको थिएन, वीरगंजमा पस्यो त्यो बेलादेखि नै वीरगंजको दूर्दिन शुरु भयो । बन्द, हडतालका सिलसिला एकातिर शुरु भए भने अर्कोतिर कारखानाको मालिक र कामदारबीच अनेक किसिमका कलह उत्पन्न भएर कलकारखानाहरू बन्द हुन थाले। पूर्वबाट पसेको ‘कुहिएको र विध्वंसात्मक राजनीति’ ले वीरगंजको उद्योगधन्दा मात्र चौपट पारेन, साथै सदीयौंदेखि दहीजस्तो जमेर बसेको वीरगंजेली समाजलाई राजनीतिको ठूलो कुटिल डाडूले टुक्राटुक्रा पारिदियो । अति राजनीतिले गर्दा वीरगंज अब भारतको कश्मीर हुन बेर नलाग्ने स्थितिमा पुगेको छ। वीरगंज अहिले हरेक किसिमका आन्दोलनहरूको ‘इपिसेन्टर’ हुन पुगेको छ। मधेस आन्दोलनका लागि त झन् वीरगंज रणभूमिमा रूपान्तरित हुन थालेको छ। स्थिति यस्तै रहने हो भने वीरगंज कश्मीर वा सिरिया हुन बेर लाग्ने छैन। वीरगंजका नागरिकको कानमा हरदम गोलाबारुदको आवाज गुन्जिने नियति बन्न बेर लाग्नै छैन, जस्तो अहिले कश्मीर वा सिरियाका नागरिकहरूले भोगिरहेका छन्।
    अति राजनीतिले कुनै पनि शहर वा देश रणभूमिमा परिवर्तन हुन बढी समय लाग्दैन। उदाहरण हेर्न धेरै पर होइन, भारतको कश्मीरलाई हेरे पर्याप्त हुन्छ । सिरिया, लेबनान वा सुडानसम्म जानु पर्दैन। कुनै बेला कश्मीरलाई ‘जन्नत’ अर्थात स्वर्ग भन्ने गरिन्थ्यो। सन् १९८० भन्दा पहिले भारतमा निर्माण हुने अधिकांश हिन्दी सिनेमाहरूमा प्राय: एउटा दुईटा वा केहीमा धेरै दृश्यहरू कश्मीरकै हुने गर्दथ्यो। कश्मीरलाई लिएर एउटा गीत कुनै समयमा अति नै प्रचलित थियो । गीत थियो ‘हर चेहरा यहाँ कास तो हर जर्रा सितारा ए वादी, ए कश्मीर है जन्नत का नजारा। त्यस्तो जन्नतजस्तो कश्मीरलाई ‘स्वार्थी’ राजनीतिले अहिले कस्तो तुल्याइदिएको छ, सबैको सामु प्रस्ट छ, थप भन्नु पर्दैन। अहिले बाहिरका पर्यटक मात्र होइन, कश्मीरवासी स्वयं पनि कश्मीरदेखि डराउँछन्। भारत वा पाकिस्तान, कसको कारणले कश्मीरको चीरहरण भयो त्यो चर्चा भने म गर्न चाहन्नँ, मलाई राजनीतिमा रुचि छैन पनि। रुचि छ भने गरिब जनताको घरमा कसरी खुशहाली पुर्‍याउन सकिन्छ त्यस विषयको खोज, अनुसन्धान, एवं प्रस्तुतिमा।
    आदरणीय पाठकवृन्द, म प्रसङग परिवर्तन गर्न चाहन्छु। नेपालमा २०३६ (सन् १९८०) सालमा तत्कालीन पञ्चायती व्यवस्थाको सरकारले पञ्चायती व्यवस्थामा सुधार ल्याउने वा वहुदलीय व्यवस्था लागू गर्ने भनी जनमत सङ्ग्रह गराएको थियो। मेरा एक परिचित पूर्वी पर्सा जिल्लाको एक गाउँमा मतदान अधिकृत भएर खटेका थिए। मतदान केन्द्रमा एकजना दृष्टिविहीन मतदानका लागि उपस्थित भए। नियम अनुसार मतदान अधिकृतले उक्त मतदाताको साथमा गएर उनको तर्फबाट छाप लगाएर बक्सामा मतपत्र हाल्नुपर्ने थियो । ती मतदान अधिकृतले आफूले रोजेको व्यवस्थामा, छनौट गरेर, मत खसाल्न सक्थे। आफू बहुदलीय व्यवस्थाको कट्टर समर्थक भएको हुनाले बहुदलीय व्यवस्था रोजेर त्यसमा छाप लगाउन सक्थे। तर उनले त्यस्तो नगरेर ती दृष्टिविहीन मतदातालाई प्रश्न गरे, प्रस्ट गरी भन्नुहोस्, तपाईंको आफ्नो इच्छा र निर्णय अनुसार कसलाई मत दिनुहुन्छ ? म तपाईंको तर्फबाट वहुदलीय वा सुधारिएको पञ्चायती व्यवस्था, कुन रोज्ने भनी छाप लगाइदिउँ ? मतदान अधिकृतको कान नजिक मुख लग्दै ती दृष्टिविहीन अधबैंसेले भने–निर्दलिया में छाप मार दीं। मतदान अधिकृत तीनछक्क परे। तीनछक्क किन परे भने ती दृष्टिविहीनले केही बेर पहिले बहुदलका समर्थक स्वयंसेवकहरूलाई आफूले बहुदलमा छाप लगाउने भनी कठोर वाचा गरेका थिए। पाठकहरूलाई स्मरण होला, त्यस बेला भएको जनमत सङ्ग्रहमा, पर्सा जिल्लामा निर्दलले जितेको थियो। अर्थात् सुधारिएको पञ्चायती व्यवस्था मन पराउनेहरूको सङ्ख्या अधिक 
थियो।
    अब यो माथिको प्रसङगलाई जोडौं । पर्सा जिल्लाभरिका नागरिकहरू नै धेरै किसिमका राजनीति दाउपेंचमा नलागी, आर्थिक प्रगतिका लागि स्थिरता रोज्ने मनोवृत्तिका हुन्। पर्सा जिल्ला आर्थिक खुशहाली रोज्ने जिल्ला हो। वीरगंज मात्र होइन, पर्सा जिल्लाका धेरै गाउँहरूले वीरगंजमा रहेका अनेक उद्योग एवं व्यापारिक घरानाको सम्पर्कमा रहेर व्यापारिक संस्कृति सिकेका छन्। त्यस अनुरूप आफूलाई ढालेका छन्।
    तर पछिल्लो समयमा वीरगंज ज्यादै अशान्त हुन पुगेको छ। अति राजनीतिले गर्दा वीरगंजलाई र खासगरी यहाँका युवाहरूलाई नराम्रो मनोवैज्ञानिक असर पारेको छ। अति राजनीतिले कुहिएको आलुले झै यहाँका अति उद्यमी बासिन्दालाई दूषित पार्ने काम गरिरहेको छ।
    जिम्मेवारी वीरगंजका नागरिकहरूको हातमा छ। वीरगंजलाई आर्थिकरूपमा सक्षम, खुशहाल र शान्त नगर बनाउने वा अति राजनीति हुने थलोको रूपमा विकास गरेर कश्मीर जस्तो तुल्याउने ? यो यक्ष प्रश्नको उत्तर वीरगंजका नागरिकहरूले नै दिनुपर्छ। यहाँ हुने उथलपुथलले वीरगंजका नागरिकहरूलाई नै बढी प्रभावित पार्ने हो, बाहिरकालाई होइन।
    वीरगंजको प्रत्येक नागरिक आफैंमा एउटा वीरगंज हो। वीरगंजलाई समृद्ध बनाउने, आउने पुस्तालाई ‘गरीखान’ सजिलो परिदिने कि वीरगंजलाई राजनैतिक साँढेहरूको सिंगौरी खेल्ने स्थान किन बनाउने ? वीरगंजका नागरिकहरूले यो यक्ष प्रश्नमाथि गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ। गाउँतिर एउटा भनाइ निकै प्रचलित छ–अगलेसरा कौआले एउटा घरमा आगो खसाल्छ, त्यसमा आगो लगाउँछ, फेरि अर्को घरमाथि पुग्छ आगो खसाल्न। अगलेसराहरू काठमाडौबाट आऊन् वा पूर्वबाट, तिनलाई चिन्ने जिम्मेवारी वीरगंजवासीहरूको नै हो। इतिहासमा नै वीरगंजवासीले यसरी (२०७२ सालमाजस्तो) न कहिले माईस्थानको अष्टमी मेला मनाएका थिए न छठ नै। डर र त्रासबीच यी पर्वहरू मनाइए। यस्तो स्थिति अति राजनीतिको कारणले आएको होइन त ?

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, December 04, 2015


Thursday, February 16, 2012

Functions of Money-Poverty and Economics-24


 मुद्राका कार्यहरु

मुद्राले निम्न कार्यहरु गर्दछ। १ विनिमयको माध्यम (Medium of exchange): मुद्रा विनिमयको माध्यम हो। यसले भुक्तानीको माध्यमको कार्य पनि गर्दछ। वस्तु वा सेवा विनमय गर्ने एक सर्व स्वीकार्य माध्यमको रुपमा मुद्रालाई लिने गरिन्छ। अर्थात मुद्राले सर्व स्वीकार्यता प्राप्त गरेको हुन्छ। आजभोलि प्रचलनमा भने बढी मात्रामा कागजी मुद्रा रहेको पाईन्छ। कागजी मुद्राको आफ्नो मौलिक मूल्य नभएकोले यसको विश्वसनियतालाई सुनिश्चित गर्न केन्द्रिय सरकार कागजी मुद्राको मूल्यका लागि जमानत बसेको हुन्छ। इतिहासका विभिन्न काल खण्डहरुमा अनेक किसिमका वस्तुहरुलाई मुद्राको रुपमा प्रयोग गरिएको पाइन्छ। माटो, कौडी, कछुवाको हाड, गाई, गोरु, सुंगुर, घोडा, भेंडा, चिया, सुर्ति, ऊन, नून, फलाम, तामा, काँस, चाँदी, सुन, पित्तल, कागज, छाला, तास आदिलाई मुद्राको रुपमा प्रयोग गरिएको पाइन्छ। २ मूल्यको मापन (Measure of value): मुद्राद्वारा वस्तुको विनिमय मूल्य मापन गरिन्छ। कुनै पनि वस्तुको विनिमय गर्दा त्यो वस्तुको विनिमय मूल्य कति हो वा विनिमय गर्दा त्यो वस्तु दिए वापत अर्को वस्तु कति (परिणाम वा इकाईमा) प्राप्त गर्न सकिन्छ भन्ने कुराको निर्धारण मुद्राद्वारा हुने गर्दछ। उदाहरणका लागि, यदि कुनै एक कलमको मूल्य दस रुपियाँ छ भने त्यस कलमको विनिमय मूल्य मुद्राको दस इकाई हो भनी बुझ्न सकिन्छ। यसै गरि, यदि एउटा कुनै पुस्तकको मूल्य बीस रुपैयाँ छ भने त्यो पुस्तक र कलमको विनिमय गर्दा त्यो पुस्तको मूल्य दुई कलम बराबर हो भनी बुझ्न सकिन्छ। मुद्राको आफ्नै मूल्य स्थिर रहेको अवस्थामा मुद्रालाई वस्तु वा सेवाको उपयोगिता मापन गर्ने एक माध्यमको रुपमा लिने गरिन्छ। ३ समयान्तर भुक्तानीको मापदण्ड (Standard of deferred payment): मुद्राले भविष्यमा गरिने भुक्तानीको मापदण्डको कार्य पनि गर्दछ। वर्तमानमा गरिएको खरिदको भुक्तानी भविष्यमा गर्दा कति गर्ने, वर्तमानमा लिएको ऋणको भुक्तानी भविष्यमा कत्ति गर्ने जस्ता कुराहरुको निर्धारण गर्ने कार्य मुद्राले गर्दछ। उदाहरणका लागि, यदि कुनै व्यक्तिले वर्तमानमा कसैसँग एक हजार रुपैयाँ लिएको छ भने एक वर्ष पछि उक्त व्यक्तिले ऋण दिनेलाई कत्ति फर्काउने भन्ने कुराको निर्धारण मुद्राले सजिलो पारिदिन्छ। कुनै पनि सम्पत्तिको मूल्य भविष्यमा कम बढी हुन सक्छ।
 त्यस्तो मूल्यान्तरलाई मुद्रामा आंकलन गर्न सकिन्छ। 
४ मूल्यको संग्रह (Store of value): मुद्राले मूल्य अथवा क्रय शक्तिलाई संचित गर्ने कार्य पनि गर्दछ। अर्थात मुद्राद्वारा वस्तु वा सेवाको मूल्य संचित गर्न सकिन्छ। वस्तुहरु संचित गर्न सकिंदैन किनभने ती नाशवान हुन्छन। तर तिनको मूल्यलाई मुद्रामा रुपान्तरण गरेर मुद्राको रुपमा राख्दा तिनको मूल्यलाई सजिलै गरी संचित गर्न सकिन्छ। उदाहरणका लागि, यदि कुनै श्रमिकले कुनै तरकारी उत्पादकको खेतमा एक दिन काम गरे बापत दस किलो काउली ज्यालाको रुपमा पाएमा उक्त श्रमिकले आफ्नो एक दिनको परिश्रमको मूल्यको रुपमा पाएको दस किलो काउली केही दिन मै उपभोग गर्नु पर्ने बाध्यता हुन्छ किनभने काउली नाशवान वस्तु हो। तर मुद्राको पयोगले गर्दा उक्त श्रमिकले आफ्नो उक्त एक दिनको परिश्रमको मूल्य मुद्रामा प्राप्त गरेर उसले आफ्नो श्रमको मूल्य सजिलै गरी संचित गर्न सक्छ।
मुद्राका विषेशताहरु
मुद्राका विषेशताहरु निम्न अनुसार रहेको पाइन्छ। टिकाउ: मुद्रा टिकाउ हुन्छ। यसलाई लामो समयसम्म संचित गरेर राख्न सकिन्छ। कुनै खास कारणले गर्दा सरकारले खारेज गरेको अवस्था बाहेक मुद्रामा जुन बेला पनि त्यसको तोकिएको मूल्य बराबरको विनिमय गर्ने क्षमता रहेको हुन्छ। विभाजन: मुद्रालाई विभाजित गर्न सकिन्छ। ठूलो इकाई ,सानो इकाई गरी विभिन्न इकाईमा मुद्रालाई विभाजन गरिएको हुन्छ। मुद्रालाई विभाजन गरिएको हुनाले नै विभिन्न मूल्यका वस्तुहरुको भुक्तानी मुद्राद्वारा सजिलै गर्न सकिन्छ। स्थानान्तरण: मुद्रालाई सजिलै एक ठाउँबाट अर्को ठाउँ पुर्याउन सकिन्छ। कुनै वस्तु वा सेवाको मूल्यको रुपमा रहेको मुद्रा सजिलैसँग एक ठाउँबाट अर्को पुर्याउन सकिने हुनाले यसको प्रयोगमा व्यापकता आएको हो। नक्कल गर्न नसकिने: केही अपवादलाई छाडेर कुरा गर्ने हो भने, मुद्राको कसैले सजिलैसंग नक्कल गर्न सक्तैन। कसैले घरमा मुद्रा छाप्न सक्तैन। अर्कोतिर, मुद्रा छाप्ने कार्य सरकारमा सुरक्षित हुन्छ र यो कार्य सरकार बाहेक अरुले गर्न निषेधित गरिएको हुन्छ। व्यापक प्रयोग: मुद्राको प्रयोग व्यापक मात्रामा भएको पाइन्छ। आधुनिक अर्थ व्यवस्थाको यो एक अति महत्वपूर्ण आधार स्तम्भ हो। त्यस कारण हरेक राष्टले अनिवार्य रुपमा मुद्राको प्रयोग गरेको पाइन्छ।  
आधुनिक अर्थ व्यवस्थामा मुद्राले सर्वधिक सहयोग भने पूँजीलाई पुर्याएको देखिन्छ। मुद्राले गर्दा पूँजी निर्माण गर्न, पूँजी वृद्धि गर्न, पूँजी स्थानान्तरण गर्न, पूँजीको वहुपक्षिय प्रयोग गर्न सजिलो भएको छ। यसै गरी मुद्राले राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय व्यापार पनि ज्यादै सजिलो पारिदिएको  छ।

विश्वराज अधिकारी

Thursday, February 9, 2012

Capitalism-Poverty and Economics-23


पूँजीवाद


पूँजीवादको व्याख्या विभिन्न किसिमबाट गरिएको पाइन्छ। त्यसकारण पूँजीवादको व्याख्यामा एकरुपता पाउन गार्हो पर्दछ। तर पूँजीवादको व्याख्या फरक फरक कसिमबाट गरिएता पनि यसका केही आधारभूत कुराहरुमा भने व्याख्या गर्नेहरु बीच मतैक्यता रहेको पाइन्छ। मतैक्यता के हो भने पूँजीवादको व्याख्या गर्ने सबैले पूँजीवादमा सम्पत्तिमाथि सरकारको होइन व्यक्तिको नियन्त्रण हुन्छ। बजारमा वस्तुको मूल्य निर्धारण माग र आपूर्ति बिचको अन्तरक्रियाद्वारा हुन्छ । के वस्तु कुन परिमाणमा र कहाँ उत्पादन गर्ने भन्ने कुराको निर्णारण सरकारले होइन उपभोक्ताको मागद्वारा हुन्छ। उत्पादनका साधनहरु- भूमि, श्रम, पूँजी र उद्यमशीलता माथि निजी स्वामित्व र नियन्त्रण हुन्छ जस्ता कुरा उल्लेख गर्दछन्।   
पूँजीवादी अर्थ व्यवस्थामा कुन किसिमको वस्तु उत्पादन गरेर बजारमा बिक्री गर्ने भन्ने कुरा सरकारको निर्दैशन होइन बजारको माग एवं मुनाफाको आधारमा निर्धारित हुन्छ।
पूँजीवादलाई बुझ्न मुद्राले धेरै सहयोग पुर्याउने हुनाले पूँजीवादको विस्तृत व्याख्या भन्दा पहिले मुद्राको विकास र प्रयोग बारे चर्चा गर्नु सान्दर्भिक देखिन्छ। पूँजीवादको उत्पत्ति र विकासमा मुद्राको महत्वपूर्ण भूमिका रहेको छ पनि। मुद्रालाई एक त्यस्तो उर्वर भूमिको रुपमा लिन सकिन्छ जसमा पूँजीवादले उम्रिने र झाँगिने मौका पायो। त्यसकारण पनि पँजीवादको चर्चा गर्दा मुद्राको चर्चा पहिले गर्नु आवश्यक हुन आउँछ।
मुद्रा के हो?
मुद्रा विनियम गराउने एक माध्यम मात्र हो। यसले मुख्य रुपमा वस्तु-वस्तु बीच वा वस्तु-सेवा बिच मिनिमय गराउने कार्य गर्दछ। तर आधुनिक अर्थ व्यवस्थामा मुद्राले केवल विनिमय गराउने कार्य मात्र गर्दैन अन्य थुप्र किसिमका कार्यहरु पनि गराउँछ। जस्तै, मुद्रा, आधुनिक अर्थ व्यवस्थामा आफै पनि किनबेच हुने वस्तु हुन पुग्दछ। बजारमा अन्तराष्ट्रिर्य मुद्राहरुको वस्तुको रुपमा किनबेच हुने गर्दछ।
संसारमा भएका विभिन्न आविष्कारहरु मध्ये तीन आविष्कारहरुलाई अति नै महत्वपूर्ण मानिन्छ। ती तीन आविष्कारहरु हुन- आगो, पाङ्ग्रा (चक्का) र बैंक (मुद्रा)।
आगोले मानव जिवनलाई विभिन्न किसिमका सुरक्षाहरु प्रदान गर्यो। आगोले गर्दा मानिसलाई स्वथ्यकर (पकाएको) खाने कुरा खान पाइने अवस्था सृजना भयो र आगोको प्रयोग गरेर जंगली जनावरहरुबाट जिवन रक्षा गर्न सजिलो पनि भयो। आगोले गर्दा मानव सभ्यताको विकासमा तिव्रता आयो।
पाङ्ग्राले मानव जिवनलाई गति प्रदान गर्यो। खुट्टाले सुस्त गतिमा चल्ने मान्छे पाङ्ग्राको प्रयोग गरेर तिब्र गतिमा एक ठाउँबाट अर्को ठाउँ जान सक्ने स्थितिमा पुग्यो। पाङ्ग्राको प्रयोगले कृषि र व्यापारको क्षेत्रमा अकल्पनिय किसिमबाट विकास भयो।
मुद्रा वा वैंकले त मानव सभ्यताको विकासमा मान्छेले सोंचेभन्दा पनि बढी योगदान पुर्यायो। मुद्राले वस्तु-विनिमय युगका कठिनाई र पीडाहरुलाई समाप्त नै पारिदियो। वस्तु विनिमय भनेको आफूसंग भएको वस्तु दिएर आफूलाई आवश्यक पर्ने वस्तु साट्नु वा विनिमय गर्नु हो। मुद्राको उत्पत्ति हुनु भन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसंग भएको वस्तु दिनु पर्थ्यो। अथवा वस्तुद्वारा वस्तु साटासाट गर्नु पर्थ्यो।
वस्तु-विनिमयका अनेक समस्याहरु थिए। उदाहरणका लागि, सुन्तला उत्पादन गर्ने व्यक्तिलाई सुन्तला विक्री गरेर स्याउ किन्नु पर्ने थियो भने उसले त्यस्तो व्यक्तिको खोजी गर्नु पर्थ्यो जसले उसंग भएको सुन्तला खरिद गरेर उसलाई आफूसंग भएको स्याउ देओस। यस्तो स्थितिमा सुन्तला लिएर स्याउ दिने व्यक्ति फेला परे त वस्तु विनिमय गर्न सजिलो हुन्थ्यो तर स्याउ भएको व्यक्तिले स्याउ दिए बापत सुन्तला लिन नमाने समस्या उत्पन्न हुन्थ्यो। अर्थात वस्तु साटा हुनका लागि दुवै थरि एक अर्कासंग भएको वस्तु साटासाट गर्न इच्छु हुनु पर्ने बाध्यता थियो। जुन हरेक अवस्थामा सम्भव थिएन। दोहरो आवश्यकताको मिलान गर्न जहिले पनि समस्या हुन्थ्यो।
अर्को उदाहरणमा, कुनै व्यक्तिले आफूसंग रहेको दुइवटा भैंसी मध्ये एउटा भैंसी दिएर दुईवटा बाख्रा किन्ने (साटासाट) इच्छ गर्यो। उसले, उसंग रहेको भैंसी लिएर बाख्रा दिने मान्छे फेला त पर्यो तर बाख्रा पाल्नेले केवल एउटा मात्र बाख्रा दिन सक्ने अवस्था रहेको बतायो। यस्तो अवस्थामा एउटा भैंसी दिएर दुईवटा बाख्रा खरिद गर्न खोज्ने व्यक्तिले, केवल एउटा मात्र बाख्रा पाए बापत भैंसीलाई टुक्रा पारेर दिन सक्थ्यो होला त?
यसै गरी एउटा अर्को उदाहरणमा, कुनै व्यक्तिले खोला तरेर अर्को गाउँमा जानु पर्यो र खोला तर्नका लागि डुङ्गाको प्रयोग गर्नु पर्ने थियो र माझीको सहयोग पनि आवस्यक थियो भने खोला तर्ने व्यक्तिले आफूसंग भएको धान टाउकोमा बोकेर खोलासम्म जानु पर्ने हुन्थ्यो।  तर माझीले खोला तारे बापत धान होइन गहुँ माग गर्दा फेरि समस्या उत्पन्न हुन्थ्यो। र खोला तर्ने व्यक्तिले डुङ्गा चढ्नु भन्दा पहिले आफूसंग भएको धान कसैलाई दिएर गहुँ साट्नु पर्ने बाध्यता हुन्थ्यो। गँहु ल्याएमा मात्र उसले डुङ्गा चढ्न पाउँथ्यो।  तर मुद्राको आविष्कार एंव प्रयोगले यस्ता सबै किसिका समास्याहरु अन्त्य गरिदियो। मुद्राले विनिमयलाई अति नै सरल तुल्याई दियो।
मुद्राले मानव जिवनमा मान्छेले सोंचे जस्तो सरलता मात्र ल्याएन साथै अनेक थरिका समस्याहरु पनि ल्यायो। र सबै भन्दा ठूलो समस्या त के ल्यायो भने मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी हुन सजिलो भयो। मुद्राको प्रयोगले गर्दा मानिसलाई धनको संग्रह गर्न, लगानी गर्न र ठूलो पूँजीको निर्माण गर्न ज्यादै सजिलो भयो। मुद्राले गर्दा गरिब र धनी प्रष्ट गरी बिभाजित हुने अवस्था सृजना भयो।
मुद्राले मानिसलाई धनी हुन कसरी सहयोग पुर्यायो त?  
मुद्राको विकास नभएको भए मानिसलाई धनी हुन अहिलेको जस्तो सजिलो हुने थिएन। एक किसिमले भन्ने हो भने धनी हुन असम्भव नै हुने थियो। उदाहरणका लागि, मानौ, मुद्राको उत्पत्ति भएको थिएन र कुनै व्यक्तिसंग एक हजार गाई, दुई हजार भैंसी, पाँच हजार बाख्रा, एक लाख कुखुरा, पाँच हजार क्विन्टल धान, एक हजार क्विन्टल गहुँ र एक हजार क्विन्टल मकै थियो भने के उक्त व्यक्तिले यी सबै कुराहरु सजिलैसँग राख्न सक्थ्यो होला त? अवश्य पनि सक्थेन। किनभने यी सबै कुराहरु राख्न सर्व प्रथम त ज्यादै ठूलो ठाउँ चाहिन्थ्यो, दोस्रो यी सबै कुराहरु हेर्नका लागि सहयोगीहरुको आवश्यकता पनि उत्तिकै पर्थ्यो। र अर्को ठूलो समस्या त उक्त व्यक्तिलाई के पर्थ्यो भने आफूसँग भएका सामानहरु समयमा साटासाट गर्न नसके अन्नहरु कुहिएर जाने र जिवित कुराहरु मर्ने वा तिनलाई जोगाउन कठिन हुन्थ्यो। धनलाई वस्तु र प्राणीको रुपमा ठूलो संख्या र परिमाणमा राख्न असम्भव नै हुने थियो होला। तर मुद्राको प्रयोगले मानिसका यस्ता समस्याहरुलाई समाधान मात्र गरेन साथै  जस्तो सुकै सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो पारिदियो। त्यति मात्र होइन आफूसंग रहेको सम्पत्तिलाई मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलैसंग लग्न सक्ने स्थिति पनि सृजना गरिदियो। मुद्रा नभएको भए मानिसलाई आफूसंग ज्यादै ठूलो परिमाणमा रहेको सम्पत्ति ( गाई, भैंसी, धान, मकै आदि) एक ठाउँबाट अर्को ठाउँ पुर्याउन वा आफूले चाहेको ठाउँमा लग्न लगभग असम्भव नै हुने थियो होला। मुद्राको प्रयोगले मानिसलाई सम्पत्ति एक ठाउँबाट अर्को ठाउँ लग्न सजिलो पारिदियो।  अथवा भनौ, कुनै व्यक्तिले सम्पूर्ण सम्पत्ति बिक्रेर गरेर अर्को स्थानमा गई व्यापार गर्न सजिलो पारिदियो। यसरी मुद्राले मानिसलाई धनी हुन सजिलो तुल्याई दियो। 
ठूलो परिमाणमा धन थुपार्न मुद्राले गर्दा मानिसलाई अति नै सजिलो भयो। ज्यादै गरिब र ज्यादै धनी भनी बिभाजन रेखा कोर्ने काममा पनि मुद्राले महत्वपूर्ण भूमिका खेल्यो। यसै गरी, मुद्राले  धनको प्रयोग (लगानी) गरेर पुन:धनको सृजना (मुनाफा र ब्याजको रुपमा) गर्न सजिलो हुने वातावरण पनि बनायो। त्यसकारण पूँजीवादको बिरोध गर्नेहरुले पूँजीवादको बिरोध गर्नु भन्दा  पहिले मुद्राको बिरोध गर्नु पर्ने देखिन्छ।
मुद्राले मुख्य रुपमा निम्न चार कार्यहरु गर्दछ-
१ विनिमयको माध्यम (Medium of exchange)
२ मूल्यको मापन (Measure of value)
३ समयान्तर भुक्तानीको मापदण्ड (Standard of deferred payment)
४ मूल्यको संग्रह (Store of value)

विश्वराज अधिकारी

Thursday, February 2, 2012

Capitalism and Poverty-Poverty and Economics-22


 पूँजीवाद र गरिबी

पूँजीवादको विपक्षमा वकालत गर्नेहरुको संख्याभन्दा निकै गुणा बढी संख्यामा पूँजीवादको पक्षमा वकालत गर्नेहरुको रहेको पाइन्छ। पूँजीवादको विपक्षमा वकालत गर्नहरुसँग आफ्नै किसिका तर्कहरु छन् उनीहरुको त्यस किसिमको अडानका लागि। यसै गरी पूँजीवादको पक्षमा वकालत गर्नहरुसँग पनि आफ्नै किसिमका तर्कहरु छन् उनीहरुको त्यस किसिमको अडानका लागि। तर यहाँ प्रश्न के उठ्छ भने, यथार्थमा कसको अडान ठीक हो त? राष्ट्रको समग्र आर्थिक विकासका लागि पूँजीवाद ठिक हो अथवा होइन? के पूँजीवाद वा पूँजीवादी अर्थ व्यवस्थाले राष्ट्रको गरिबी निवारण गर्नुको साटो उल्टो गरिवी वृद्धि गर्दछ? के पूँजीवादले मुलुकमा गरिब र धनिक बीचको दूरीलाई झनै फराकिलो पार्दछ?
पूँजीवादी व्यवस्था उपयुक्त वा अनुपयुक्त भन्नु भन्दा पहिले यो व्यवस्था अँगालेर राष्ट्रहरुले प्रगति गरे वा गरेन भनी आर्थिक मूल्याँकन एवं विश्लेषण गर्नु उपयुक्त हुन्छ। यो व्यवस्था अँगालेर यदि वहुसंख्यक राष्ट्रहरु धनी भए, त्यहाँका निर्धन जनताहरुले ठूलो संख्यामा बेरोजार भएर वस्नु परेन, जिवन यापन लागत (Living costs) आकासिएन र गरीबहरुको संख्यामा व्यापक कमी आयो भने पूँजीवादले गर्दा समग्र राष्ट्रको आर्थिकविकास भयो र त्यसैले यो व्यवस्था उपयुक्त छ भनी निश्चित रुपमा भन्नु पर्ने हुन्छ।
विभिन्न राष्ट्रहरुले गरेको आर्थिक प्रगति, त्यहाँका सामान्य जनताको आर्थिक जिवन स्तरमा आएको सुधार, ती राष्ट्रहरुमा भएको बेरोजगारहरुको संख्यामा व्यापक कमी जस्ता आर्थिक सूचकाङ्कहरुलाई केलाएर हेर्दा पूँजीवादी अर्थ व्यवस्थाले कुनै पनि राष्ट्रको आर्थिक जिवनमा सकारात्मक प्रभाव पारेको प्रष्ट हुन आउँछ। विश्वका वहुसंख्यक विकासशील राष्ट्रहरु अहिले पूँजीवादी अर्थ व्यवस्था अँगालेर राष्ट्रलाई गरिबीको कुचक्रबाट बाहिर निकाल्न कम्मर कसेर लागेका छन्। कुनै बेला आफूलाई समाजवादी अर्थ व्यवस्थाको कट्टर समर्थक मान्ने र देशवासीलाई आवश्यक पर्ने सियोदेखि हवाई जहाजसम्म आफ्नै देशभित्र उत्पादन गर्ने (पूँजीवादमा सम्पूर्ण वस्तु आफ्नै देश भित्र उत्पादन गर्न सम्भव हुँदैन) लक्ष्य राख्ने भारत अहिले पूँजीवाद अँगाल्ने राष्टहरुको पंक्तिमा महत्वपूर्ण स्थानमा छ। यसै गरी, कुनै समयमा, विश्व अर्थ व्यवस्थादेखि आफूलाई अलग थलग राखी, राज्य नियन्त्रित (समाजवादी वा साम्यवादी?) अर्थ व्यवस्था द्वारा मुलुकको आर्थिक विकास गर्न कटिवद्ध र त्यति मात्र होइन, पूँजीवादलाई गरिब जनताको शोषकको रुपमा प्रस्तुत गर्ने चिन अहिले पूँजीवाद अँगाल्ने राष्ट्रहरुको पंक्तिमा अग्र स्थानामा छ। चिनमा हाल भइरहेका आर्थिक क्रियाकलापहरुले यस कुराको पुष्टि गर्दछ। चिन अहिले सस्तोमा वस्तु निर्यात गर्ने देश मात्र होइन विकसित राष्ट्रहरुलाई पूँजी निर्यात गर्ने देश समेत भएको छ।
 संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, जापान, क्यानाडा जस्ता राष्ट्रहरुले त पूँजीवादी अर्थ व्यवस्थाको अँगालेर चमत्कारी किसिमले आर्थिक प्रगति गरेको तथ्य हाम्रो सामु प्रष्ट नै छ।
निजीकरण, विश्व व्यापारमा संलग्नता, राष्ट्रिय मुद्रा एवं वित्तिय बजारमा खुकुलोपन, बजार साझेदारी( European Union, NAFTA, Asian ) जस्ता तरिकाहरु अपानाएर विश्वका अनेक राष्ट्रहरु पूँजीवादी अर्थ व्यवस्थाको फाइदा लिन एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन। हुन त कतिपय राष्ट्रहरुले आफूलाई पूँजीवादी राष्ट्र भन्न रुचाउँदैन उनीहरुले पूँजीवादी अर्थ व्यवस्था अँगिकार गरेता पनि। र यसको उदाहरणका लागि भारत र चिनलाई लिन सकिन्छ। भारत र चिनले आफूलाई पूँजीवादी  राष्ट्र नभनेता पनि यी राष्ट्रहरुले अवलम्बन गरेका आर्थिक नीतिहरुलाई केलाएर हेर्दा यी राष्ट्रहरुले पूँजीवाद अँगिकार गरेको प्रस्ट हुन आउँछ।
निजीकरण अहिले निकै प्रचलित भएको छ। निजीकरणद्वारा राष्ट्रको आर्थिक विकास गर्ने लक्ष्यका साथ विश्वका अनेक राष्ट्रहरुले राज्यद्वारा नियन्त्रित संगठनहरु निजी क्षेत्रलाई विक्री गरेको थुप्रै उदाहरण देख्न सकिन्छ। केही उदाहरण यस प्रकार छन्। सन् २००४ मा पाकिस्तानले हबिब बैंकको ठूलो अंश निजी क्षेत्रलाई बिक्री गर्यो। सन २००४ मा जापानले वेस्ट जापान रेल्वे कम्पनी निजी क्षेत्रलाई बिक्री गर्यो। भारतले पनि ओ यन जि सि ( ONGC- तेल अनुसन्धान तथा उत्पादन गर्न कम्पनी) मा रहेको अंश निजी क्षेत्रलाई सन् २००४ मा बिक्री गर्यो। सन् २००४ मा युक्रेनले एक स्टिल कम्पनी निजी क्षेत्रलाई बिक्री गर्यो। सन् २००४ मा जर्मनीले राष्ट्रको ठूलो खुद्रा बैंक- पोस्ट बैंक निजीकरण गर्यो। यसै गरी, सन् २००५ मा टर्कीले टर्क टेलकमको ५५ प्रतिसत अंश निजी क्षेत्रलाई हस्तान्तरण गर्यो। सोही वर्ष फ्रान्सले Electricite’de France (EDF) को ३० प्रतिशत अंश निजी क्षेत्रलाई बिक्री गर्यो। सन् २००६ मा चिनले इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना निजी क्षेत्रलाई बिक्री गर्यो। पोलैण्डले, सन् २००९ मा, Tauron Polska Energia निजी क्षेत्रलाई बिक्री गर्ने योजना रहेको उल्लेख गरेको थियो।
निजीकरणलाई पूँजीवादको एक अंशको रुपमा लिइने हुँदा माथिको उदाहरणबाट धनी राष्ट्रहरु मात्र होइन विकासशील राष्ट्रहरु पनि देशको आर्थिक विकास गर्नका लागि पूँजीवादको दिशा तर्फ लम्केको प्रस्ट हुन आउछ।
पूँजीवादी अर्थ व्यवस्थाद्रारा विकासशील राष्ट्रले पनि अकल्पनिय किसिमले आर्थिक प्रगति गर्न सक्छ भन्ने कुराको उदाहरणको रुपमा चिनलाई लिन थालिएको छ। हुन पनि चिनको आर्थिक विकासले त्यस कुराको पुष्टि गर्दछ। चिन मात्र होइन, एशिय, दक्षिणी अमेरिका लगाएत अफ्रिकाका थुप्रै राष्ट्रहरु अहिले पूँजीवादी अर्थ व्यवस्थामा प्रवेश गरिरहेका छन।
एउटा अर्को कटु यथार्थ के पनि छ भने पूँजीवाद सबै किसिमका आर्थिक समस्याहरुको समाधान भने होइन। र पूँजीवाद आफैमा पनि एउटा समस्या हो यदि यसको प्रगोग राष्ट्रमा उपयुक्त किसिमले हुन सकेन भने। पूँजीवाद औषधी हो – बढी खाए भने शरिरलाई हानी पुर्याउने, तर बिरामी परेको बेलामा खानै पर्ने, नखाई नहुने। अर्को उदाहरणको रुपमा, पूँजीवाद घोडा हो। यो घोडालाई लगामद्वारा नियन्त्रित गर्ने हो भने यसले तिब्र गतिमा दौडेर गन्तव्यमा पुर्याउँछ तर लगामद्वारा नियन्त्रित गर्न नसक्ने हो भने यसले खाल्डोमा लगेर खसाउँछ।

विश्वराज अधिकारी

Thursday, January 26, 2012

Standardization-Poverty & Economics-21

स्तरियता

स्तरियता प्रदान गरेर पनि वस्तुलाई सस्तो तुल्याउन सकिन्छ। स्तरियता भनेको वस्तुलाई नाप, तौल, आकार, रंग, सजावट आदिको आधारमा विभाजित गर्नु वा छुट्यानु हो। वस्तुलाई बिक्री गर्नु पूर्व नै आकार, तौल, रंग आदिको आधारमा विभाजित गरिएको छ भने त्यस्तो कार्यले गर्दा छोटो समयमा बढी परिमाणमा बिक्री गरेर बिक्री लागत कम पार्न सकिन्छ र परिणामस्वरुप वस्तु तुलनात्म रुपमा सस्तो हुन पुग्छ। बिक्री गर्न बिक्रेतालाई र खरिद गर्न क्रेतालाई कति समय लाग्छ त्यसबाट पनि वस्तुको मूल्य प्रभावित हुने गर्दछ। समयको पनि मूल्य हुन्छ। उदाहरणका लागि यदि कुनै तरकारी बिक्रेताले बजारमा आलु बिक्री गरिरेहेको छ र उसले खरिद गर्न आउने प्रत्यके व्यक्तिलाई आलु  माग अनुसार तत्काल तौल गरेर दिने गरेको छ भने निश्चय पनि त्यस किसिमको बिक्री कार्यले बढी समय लिन्छ। बिक्रेताले बिक्री गर्न र क्रेताले खरिद गर्न बढी समय खर्च गर्नु पर्ने हुन्छ। तर यस्तो कार्यको ठीक बिपरित यदि बिक्रेताले बिक्री गर्नु पूर्व नै आलुलाई बिभिन्न तौल (क्रेताहरुले माग गर्ने तौल) अनुसारको झोलामा राखेको छ र खरिद गर्न आउनेलाई उनीहरुले माग गरेको तौल अनुसार बिक्री गर्दछ भने यस्तो कार्यले बिक्रेता र क्रेता दुबैलाई फाइदा हुन्छ किनभने खरिद-बिक्रीमा लाग्ने समय बचत हुन पुग्छ।
खरिद र बिक्री गर्न लाग्ने समयलाई कम पारिएको एउटा महत्वपूर्ण उदाहरणको रुपमा संयुक्त राज्य अमेरिका र संसारकै सबै भन्दा ठूलो खुद्रा बिक्री भण्डार वालमार्ट (Wal Mart) लाई लिन सकिन्छ। वालमार्ट संयुक्त राज्य अमेरिकाको एक यस्तो ठूलो खुद्रा भण्डार हो जहाँ दैनिक आवश्यकताका लगभग सम्पूर्ण सामाग्रीहरु एउटै छत (एउटै भवन भित्र) मुनी खरिद गर्न सकिन्छ। वालमार्ट भित्र पसे पछि तरकारी, फलफुल, कपडा, माछा मासु, फर्निचर, बिजुलीका सामान, कम्प्युटर, खाद्य सामाग्री, दहि दुध मख्न, जुत्ता चप्पल, घडी, तयारी गर गहना, विभिन्न औजार, साइकल, पकाउने खाने भाँडा, स्टेस्नरी आदि खरिद गर्न सकिन्छ। मोटर मर्मत गर्नै र गाडीमा इन्धन भर्ने  सुबिधा समेत पिन वालमार्टको क्षेत्रभित्र नै प्राप्त गर्न सकिन्छ। वालमार्टको उद्देश्य नै एउटै छत मुनि दैनिक आवश्यकताका सम्पूर्ण सामाग्रीहरु क्रेताहरुलाई उपलब्ध गराएर उनीहरुको समयको बचत हुने वातावरण सृजना गर्नु रहेको देखिन्छ।  
वालमार्ट अमेरिकाको प्राय: हरेक शहरमा देख्न सकिन्छ। र हरेक शहरमा वालमार्टको भवन एउटै किसिमको हुन्छ। भवन एउटै किसिमको भएकोले केवल भवन हरेर पनि त्यो वालमार्टको भवन हो भन्ने टाढाबाट नै चिन्न सकिन्छ। त्यति मात्र होइन, जुन सुकै शहरको वालमार्ट भएता पनि सामानहरु बिक्रीका लागि व्यवस्थित किसिमले (सजाएर) राख्ने भन्ने कुरामा समानता हुन्छ। उदाहरणका लागि यदि एउटा शहरको वालमार्टमा पस्ने बित्तिकै एक किसिमको सामान राखिएको देखिन्छ भने अर्को शहरको वालमार्टमा पनि पस्ने बित्तिकै त्येही सामान राखिएको देख्न सकिन्छ। यसरी सामान राख्ने कार्यलाई स्तरियता प्रदान गरिएको हुनाले वालमार्ट भित्र पस्ने बित्तिकै खरिद गर्न आइरहने मान्छेलाई कुन सामान कता राखिएको छ भन्ने कुरा थाहा हुन्छ र उसले सजिलैसँग आफूले खरिद गर्न चाहेका सामानहरु कार्टमा राखेर चेक आउट ( पैसा भुक्तान गर्ने काउन्टर) तिर जान सक्छ। यसरी हेरक सामानको एउटा पूर्व निर्धारि ठाउँ भएकोले क्रेतालाई आफूले चाहेको सामान कम समयमा छनौट गरेर खरिद गर्न सजिलो हुन्छ भने बिक्रेताले पनि कम समयमा थुप्रै सामानहरु बिक्री गर्न सक्छ किनभने बिक्रेताले प्रत्येक क्रेतालाई सामान देखाउनु पर्दैन। सामानहरु व्यवस्थित किसिमले राखिएको हुनाले क्रेताहरुले आफैले सामानहरु छनौट गरेर भुक्तानी काउन्टरसम्म ल्याई पुर्याउँछन।
बिक्री कार्यमा लाग्ने समयलाई जति छोटो पार्न सक्यो क्रेता र बिक्रेता दुबैलाई त्यतिकै फाइदा हुन्छ। बिक्रेताको बिक्री लागत कम हुन पुगेकोले उसले वस्तुको मूल्य कम पार्न सक्छ जसले गर्दा क्रेताले सस्तोमा सामान खरिद गर्न पाउने वातावरण सृजना भएर क्रेताले केही सस्तोमा सामान प्राप्त गर्न सक्छ। बिक्रेताले पनि छोटो समयमा धेरै र कम बिक्री लागतमा सामान बिक्री गर्ने औसर पाएकोले उसले थप मनुफा प्राप्त गर्न सक्छ। विभिन्न किसिमका लागतहरु कम पारेर वस्तुको मूल्यलाई सस्तो पार्ने कार्यमा कुशलता प्राप्त गरेको हुनाले वालमार्टले अमेरिकामा सस्तोमा सामान विक्री गर्ने भण्डारको रुपमा प्रसिद्धि पाएको छ।
वस्तु उत्पादन, बितरण, बिक्री जस्ता कार्यलाई स्तरियता प्रदान गरेर वस्तुको मूल्यलाई कम पारी विभिन्न वस्तुहरु सस्तोमा उपभोक्ताहरुलाई उपलब्ध गराउन सकिन्छ। सेवाको क्षेत्रमा पनि स्तरियताको प्रयोग गरेर सेवाको मुल्यलाई कम पारी उपभोक्ताहरुलाई सस्तोमा सेवा उपलब्ध गराउन सकिन्छ। उदाहरणको रुपमा, सैलुनहरुले साधारण कैची प्रयोग गर्नुको साटो स्वचालित कैची (मेसिन) प्रयोग गरेर कपाल काट्न लाग्ने समयलाई छोट्याएर सस्तोमा सैलुन सेवा उपलब्ध गराउन सक्छन। स्वचालित कैचीमा कति छोटो कपाल काट्ने भनी एटजस्ट गर्न सकिने भएकोले कपाल काट्ने व्यक्तिले ग्राहकको अनुरोध अनुसारको लामो छोटो कपाल काटी दिन सक्छ। यसरी  कपाल काट्ने कार्यलाई (लामो छोटोको आधारमा) स्तरियता प्रदान गरेर कपाल काट्ने व्यक्तिले कम समयमा धेरै जनाको कपाल काटेर थप आम्दानी प्राप्त गर्न सक्छ। स्तरियताले गर्दा कपाल काट्ने व्यक्तिको कम समय लागेकोले उसले तुलनात्मक रुपमा केही सस्तोमा ग्राहकलाई कपाल काट्ने सेवा उपलब्ध गराउन सक्छ। र यसबाट उपभोक्तालाई फाइदा पुग्न जान्छ।
स्तरियताको प्रयोग गरेर पनि वस्तुको उत्पादन एवं विक्री लागत कम पारी उपभोक्ताहरुलाई सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउन सकिन्छ। विकसित मुलुकहरुले आवश्यक हरेक क्षेत्रमा स्तरियताको प्रयोग गरेको पाइन्छ। विकसित मुलुकहरुमा, यहाँ सम्म कि, रेष्टुरेन्टहरुमा पनि स्तरियताको प्रगोग गरिएको हुन्छ। चैन रेष्टुरेन्टहरु हो भने एउटा शहरमा रहेको रेष्टुरेन्ट (भवन) मा जुन रंग र सजावटको प्रयोग गरिएको छ अर्को शहरमा रहेको रेष्टुरेन्टमा पनि त्यसै किसिमको रंग र सजाबट प्रयोग गरिएको हुन्छ र उपलब्ध गराइने खाद्य साम्राग्रीहरु पनि लगभग एकै किसिमका हुन्छन, जसले गर्दा त्यस किसिमको रेष्टुरेन्ट खोज्ने र सामाग्री रोज्ने कार्यमा अलमल नभई ग्राहकको समय बचत हुन पुग्छ। अहिले व्यस्त समयमा समय पनि पैसा सरह नै हो। समयको बचत हुनु पनि आम्दानी नै हो।

विश्वराज अधिकारी

Thursday, January 19, 2012

Online Shopping-Poverty & Economics-20



अन लाईन खरिद


जसरी कुनै एक फर्मुला प्रयोग गरेर कुनै एक जटिल हिसाब बनाउन सकिन्छ त्यसै गरि कुनै एक खास किसिमको कार्य गरेर वा योजना लागू गरेरे मुलुकको गरिबी निबारण गर्न सकिंदैन। गरिबी निबारणका लागि एकै पटक थुप्रै किसिमका कार्यहरु गर्नु पर्दछ। गरिबी निबारणका लागि गरिने थुप्रै तरिकाहरु मध्ये एक हो बिपन्न जनताले प्रयोग गर्ने सामानहरुको मूल्य कम पार्नु। वस्तु तथा सेवाको खरिद-बिक्रीमा इन्टरनेटको प्रयोग गरेर आम जनताले प्रयोग गर्ने वस्तु तथा  सेवाहरुको मूल्य कम पार्न सकिन्छ।
आम जनताले प्रयोग गर्ने वस्तु तथा सेवाको मूल्य कम पार्नमा इन्टरनेटले पनि ज्यादै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। इन्टर नेटको प्रयोगद्वारा खरिद लागत, विक्री लागत, भण्डार लागत तथा अन्य किसिमका लागतहरु कम पार्न सकिन्छ। अमेरिका, क्यानाडा लगायत थुप्रै धनी अर्थतन्त्र भएका देशहरुमा खरिद-बिक्रीका लागि व्यापक मात्रामा इन्टरनेटको प्रयोग भएको पाइन्छ। अमेरिकामा साना तिना घर घरायसी सामानदेखि कम्प्युटर, इलेक्ट्रोनिक सामान, लुगाफाटो, खेलौना, पुस्तक आदिसम्म खरिद एवं बिक्री गर्नका लागि इन्टरनेटको ठूलो मात्रामा प्रयोग भएको पाइन्छ। खास गरी पुस्तकको खरिद-बिक्रीमा त इन्टरनेटको प्रयोग व्यापक मात्रामा भएको देख्न सकिन्छ। इबे, अमेजन डट कम जस्ता अनलाइन सामानहरु बिक्री गर्ने संस्थाहरुले त पुस्तक लगायत अन्य थुप्रै किसिमका वस्तुहरु बिक्री गर्नमा अमेरिकामा प्रसिद्धि नै कमाएका छन्।
नया र पुराना पुस्तकहरु खरिद-बिक्री गर्न तथा पुस्तक भाडामा लिन-दिन पनि इन्टर नेटको व्यापक मात्रामा प्रयोग भएको पाइन्छ। अनलाइन(Online) पुस्तक खरिद गर्दा क्रेताले पसलसम्म जान नपर्ने, केवल अनलाइन अर्डर गरेर डेबिट वा क्रेडिट कार्डद्वारा पुस्तकको मूल्य अनलाइन नै भुक्तानी गरेर पुस्तक आफ्नो घरमा नै पाउन सक्ने तथा विक्रेताले पनि पुस्तक बिक्री गर्नका लागि पसल नखोले पनि हुने अर्थात घरमा वा अन्य कुनै स्थानबाट बिक्री गर्न सक्ने हुनाले स्वभाविक रुपमा क्रेतालाई क्रय लागत र बिक्रेतालाई बिक्री लागत कम पर्न जान्छ।
धनी देशहरुमा, खास गरी छिटै नाश हुने बाहेक अन्य टिकाउ किसिमका वस्तुहरु बिक्री गर्नका लागि पसल (Store) हरुले नै पनि इन्टर नेटको प्रयोग गर्दछन्। कतिपय अवस्थाहरुमा त पसलमा पुगेर खरिद गर्दा केही महँगो पर्ने र त्यसको ठिक बिपरित अनलाइन खरिद गर्दा सस्तो पर्ने हुन आउँछ।
अन लाइन बिक्री गर्दा बिक्रेतालाई जति सजिलो र कम खर्चिलो हुन्छ त्यतिकै सजिलो र कम खर्चिलो क्रेतालाई पनि हुन्छ। बिक्रेताले सजिलै गरी आफ्नो वेबसाइट (Website) द्वारा विभिन्न वस्तुहरुको प्रदर्शन गरेर, तिनको मूल्य एवं डिस्काउन्ट लगाएत अन्य किसिमका सुबिधाहरुको घोषण ( एक वर्ष वा तोकिएको अवधि भित्रमा सम्पूर्ण रकम भुक्तान गरेमा ब्याज नलाग्ने, क्रेताको घरसम्म सामान पुर्याउन लाग्ने खर्च बिक्रेताले ने बेहोर्ने आदि आदि) गरेर सामानहरु कम बिक्री लागतमा बिक्री गर्न सक्छ भने क्रेताले पनि विभिन्न पसलहरुको वेभसाइटमा हेरेर आफूलाई चाहिने वस्तुको मूल्य अन्य विभिन्न पसलहरुले देखाएका मूल्यहरु बीच तुलना गरेर, जसले सस्तोमा वा क्रेताले खोजेको मूल्यमा बिक्री गर्ने घोषण गरेको छ त्यस पसलबाट खरिद गर्न सक्छ।
इन्टरनेटले महत्वपूर्ण योगदान पुर्याएको अर्को क्षेत्र हो बैकिङ्ग कारोवार। इन्टरनेटले बैकिङ्ग कारोबारलाई अकल्पनीय किसिमले सजिलो पारिदिएको छ। इन्टरनेटको प्रयोगले गर्दा घरमा नै बसेर रकम बैंकमा जम्मा गर्न वा कसैलाई भुक्तानी गर्न सकिने भएको छ भने नगद आफूसँग बोकेर हिँड्नु नपर्ने भएकोले कारोबार पनि उत्तिकै सुरक्षित र सजिलो हुन पुगेको छ। कतिपय अवस्थामा त  व्यक्तिले नगद देख्न नपाएर नै (उसले कतैबाट भुक्तानी पाउने र उसले विभिन्न ठाउँहरुमा खर्च गर्ने) लेनदेन कार्य सम्पन्न हुन पुग्दछ। उदाहरणका लागि कुनै व्यक्तिले जब आफूले कार्य गरेको संगठनबाट पारिश्रमिक पाउँछ, त्यसरी पारिश्रमिक दिने संगठनले उक्त व्यक्तिलाई दिने रकम उक्त व्यक्तिको बैंक खातामा अनलाइन जम्मा गरिदिन्छ। यसरी आफ्नो खातामा पारिश्रमिक जम्मा भए पछि उक्त व्यक्तिले आफूले भुक्तानी दिनु पर्ने विभिन्न पक्षहरुलाई आफ्नो बैंक खाताबाट अनलाइन भुक्तानी गर्दछ। यस प्रकार अनलाइन लेनदेन कार्य गर्दा एकातिर लेनदेनको अभिलेख सजिलैसँग राख्न सकिन्छ भने अर्कोतिर कारोबार लागत ( Transaction cost) कम हुन पुग्छ।

इन्टरनेटको प्रयोग गरेर आफ्नो घरमा नै बसी वा बैंकमा नपुगेरै पनि आफूसँग रहेको चेक आफ्नो बैंक खातामा जम्मा गर्न सकिन्छ। घरमा नै बसेर इन्टरनेटद्वारा चेक बैंकमा जम्मा गर्दा व्यक्तिले आफूसँग रहेको चेकको डिजिटल फोटो खिच्नु पर्दछ र त्यसरी खिचेको चेकको फोटो आफ्नो बैंकलाई इन्टरनेटद्वारा पठाउनु पर्दछ। स्मार्टफोन (मोबाइल वा सेल फोन) हरुमा फोटो खिच्न क्यामरा, इन्टरनेट, जि पि यस आदि जस्ता सुबिधाहरु उपलब्ध गराइएको हुन्छ। सेल फोनको प्रयोगद्वारा व्यक्तिले आफूसँग रहेको चेकको फोटो आफ्नो खाता भएको बैंकलाई पठाउन सक्छ। बैंकले इन्टरनेटद्वारा चेक प्राप्त गरे पछि जसले त्यसरी चेक पठाएको हो उसको खातामा रकम जम्मा गरिदिन्छ। र त्यसरी चेक पठाउने व्यक्तिले अनलाईन आफ्नो बैंक खाता हेरेर आफूले पठाएको चेकबाट आफ्नो खातामा रकम जम्मा भए नभएको थाहा पाउँछ।
हवाई यात्राका लागि गरिने टिकट खरिद कार्यलाई  इन्टरनेटले त झनै सजिलो पारिदिएको छ। आफूलाई कुन एयरलाइन्सको हवाई टिकट चाहिएको हो त्यो एयरलाइन्सबाट घरमा नै बसेर टिकट खरिद गर्न सकिन्छ र टिकट पनि अनलाइन प्राप्त गर्न सकिन्छ। हवाई टिकटको भुक्तानी पनि डेबिट वा क्रेडिट कार्डद्वारा टिकट बिक्री गर्ने एजेन्ट वा सम्बन्धित एयरलाइन्सलाई  घरबाट नै गर्न सकिन्छ। एयरलाइन्सहरुले यसरी हवाई टिकट अनलाइन बिक्री गर्दा बिक्री लागत कम पार्न सक्छन र हवाई टिकटहरु सस्तोमा उपभोक्ताहरुलाई उपलब्ध गराउन सक्छन। एयरलाइन्सहरुले त्यसरी बिक्री लागत जोगाएको हुनाले क्रेताहरुले सस्तोमा हवाई टिकट खरिद गर्ने औसर प्राप्त गर्छन।
यस प्रकार इन्टरनेटको प्रयोगद्वारा बिक्री लागत कम पारेर क्रेताहरुलाई तुलनात्मक रुपमा सस्तोमा वस्तु वा सेवा उपलब्ध गराउन सकिन्छ।  

विश्वराज अधिकारी

Thursday, January 12, 2012

Cost - Poverty and Economics - 19


 लागत


उत्पादन र बिक्री लागतले पनि क्रेताको क्रयशक्तिमा महत्वपूर्ण प्रभाव पार्ने गर्दछन्। उत्पादन र बिक्री लागतलाई कम पारेर बजारमा वस्तु तथा सेवा उपलब्ध गराउने हो भने थुप्रै गरिब जनताहरुको पहुँचसम्म  धेरै वस्तु तथा सेवाहरुलाई पुर्याउन सकिन्छ। उत्पादन र बिक्री लागत कम पार्न नसकिएको कारणले पनि अनेकौ गरिब नेपाली परिवारहरुले महँगोमा सामानहरु खरिद गर्नु परेको छ। उत्पादन र बिक्री लागत वृद्धि हुँदा यिनले उपभोक्ताहरुलाई मात्र समस्या उत्पन्न गराउँदैनन् साथै उत्पादक र बिक्रेतालाई पनि समस्या उत्पन्न गराउँछन किनभने उत्पादन र बिक्री लागत चर्को हुनासाथ वस्तु तथा सेवाको बिक्री मूल्य वृद्धि हुन पुग्छ र त्यस्ता वस्तु तथा सेवाहरु उपभोक्ताहरुले खरिद गर्न कम गर्छन जसले गर्दा बिक्री कम हुन गई उत्पादक र बिक्रेता दुवैको मुनाफ प्रभावित हुन पुग्छ। अर्थात उनीहरुको बिक्रीमा ह्रास आएर मुनाफामा पनि ह्रास आउँछ। त्यसकारण चर्को उत्पादन लागत सामान्य गरिब जनताको हितमा त छैन छैन, यो उत्पादक, बिक्रेता वा व्यापारीहरुको हितमा पनि छैन।
तर प्रश्न उठ्छ उत्पादन एवं विक्री लागतलाई कम कसरी पार्ने त? उत्पादन तथा बिक्री लागत कम पार्ने अनेक उपायहरु छन्। ती उपायहरुको प्रयोग गरेर उत्पादन एवं बिक्री लागत घटाउन सकिन्छ।
विकसित मुलुकका खुद्रा भण्डारहरुले आफूले बिक्री गर्ने सामानहरुको मूल्य सस्तो पार्न प्राय: प्रत्यक्ष रुपमा उत्पादकसँग खरिद गर्छन। आफूले बिक्री गर्ने सामान खरिद गर्नका लागि विभिन्न मध्यस्थहरु, जस्तै थोक बिक्रेता, डिलर आदिको प्रयोग गर्दैनन्। यसै गरी, खुद्रा भण्डार वा बिक्रेताहरुले गोदाममा धेरै दिनका लागि बिक्री गर्ने पुग्ने किसिमबाट सामान पनि राख्दैन जसले गर्दा इनभेन्ट्री लागत (Inventory cost) कम हुन पुग्छ। कतिपय खुद्रा भण्डारहरुले संगठन भित्र यस्तो संचार व्यवस्था स्थापना गरेका हुन्छन जसले गर्दा उनीहरुले क्रतालाई सामान बिक्री गर्ने बितिक्कै त्यसको जानकारी उत्पादकले पाउँछ। उत्पादकले आफ्नो सामान त्यो खुद्रा भण्डारबाट बिक्री भएको थाहा पाउन साथ त्यतिकै बराबरको सामान खुद्रा भण्डारलाई आपूर्ति गर्नका लागि तयार पारेर राख्छ। अर्थात उत्पादकले खुद्रा भण्डारको प्रत्येक दिनको बिक्री परिणाम अनुसार आफ्नो उत्पादन तालिका बनाउँछ। त्यतिकै अनुमानको भरमा बस्तु उत्पादन गरेर गोदाममा थुपारेर राख्दैन। र गोदाममा आवश्यक मात्रामा मात्र वस्तु राखेर गोदाम लागतलाई कम पार्दै वस्तुको मूल्य सस्तो पार्ने प्रयास गर्दछ।
विकसित मुलुकका खुद्रा भण्डारहरुमा कैसिएर (cashier) वा बिक्रय कर्मचारीहरुलाई क्यास रजिष्टर (cash register) दिइएको हुन्छ, बिक्री कार्य सम्पन्न गर्नका लागि। जब क्रेताहरु सामान खरिद गरेर त्यसको मूल्य भुक्तान गर्न बिक्रय कर्मचारी समक्ष आउँछन, बिक्रय कर्मचारीहरुले बस्तुमा अंकित गरिएको मूल्य क्यास रजिष्टरबाट सक्यान गरेर थाहा पाउँछ र क्रेताले खरिद गरेका सम्पूर्ण वस्तुहरुको मूल्य क्यास रजिष्टरबाट नै जोडेर भुक्तानीका लागि आग्रह गर्दछ। एउटा क्रेताले (अनेक किसिमको) चालिस पचास वटा सामान खरिद गरेको भएता पनि तिनको मूल्यको हिसाब छोटो समय (पन्द्र या बिस मिनट) मा नै गरेर बिक्रय कर्मचारीले बिक्री कार्य सम्पन्न गर्दछ। यसरी क्यास रजिष्टरको माध्यमबाट एकातिर बिक्री लागत कम पार्न सकिन्छ भने अर्कोतिर सयौं ग्राहकलाई हजारौ किसिमका सामानहरु छोटो समयमा बिक्री गर्न सकिन्छ। त्यति मात्र होइन, जब बिक्रय कर्मचारीले क्रेताले खरिद गरेको सामानको मूल्य प्राप्त गर्न उक्त सामानलाई क्यास रजिष्टरमा सक्यान गर्दछ, तब क्यास रजिष्टरले सो समानको मूल्य यति हो, यति पैसा क्रेतासंग लिनु पर्ने हो  भन्ने कुराको जानकारी मात्र दिँदैन, साथै त्यो सामानको उत्पादकलाई समेत तिम्रो यो सामान यो परिणामा बिक्री भयो भन्ने जानकारी बिक्री हुनासाथ दिन्छ (यदि त्यस्तो व्यवस्था गरिएको छ भने) जसले गर्दा उत्पादकलाई सोही परिणाम (बिक्री भएको) मा बस्तु उत्पादन गरेर आपूर्तिका लागि तयार पार्न सजिलो हुन्छ।
क्यास रजिष्टरले खुद्रा भण्डारबाट बिक्री हुनासाथ त्यसको जानकारी उत्पादकलाई दिने कार्य मात्र गर्दैन साथै विभिन्न किसिमका तथ्यांक राख्ने कार्य पनि गर्दछ। क्यास रजिष्टरले एक दिनमा कुन कुन सामान कति कति परिमाणमा, कुन मूल्यमा, क-कसलाई (यदि क्रेडिट कार्डले खरिद गरिएको छ भने त्यसको नम्बरको आधारमा) बिक्री गरिएको र क्रेताहरु कुन कुन क्षेत्रका थिए, महिनामा कति पटक खरिद गर्न आए, खास गरी कुन सामान बढी मात्रामा खरिद गरे जस्ता कुराहरुको पनि तथ्यांक राख्दछ। यस्ता तथ्यांकहरुले बिक्री कार्य प्रभावकारी बनाउने र साथै  बिक्री लागत कम पार्ने कार्य पनि गर्दछन्।
नेपालमा पनि बिक्री एवं उत्पादन लागत कम पार्न अनेक किसिमका तरिकाहरुको अबलम्बन गर्न सकिन्छ।  उत्पादन र बिक्रय लागत कम पार्ने सन्दर्भमा बीरगंजको मिना बजारमा बिक्री गरिने तरकारीलाई एउटा छोटो उदाहरणको रुपमा लिएर हेर्न सकिन्छ। यदि बीरगंजका तरकारी बिक्रेताहरु, जो स्वयं उत्पादक हुन, उनीहरुले आफ्नो उत्पादन स्थल ( खेत वा बारी) बाट नै तरकारी बिक्री गर्ने हो भने तरकारीका उत्पादकहरुले बिक्री लागत कम पारेर सस्तोमा उपभोक्ताहरुलाई तरकारी उपलब्ध गराउन सक्छन। यसरी, तरकारी उत्पादन स्थलबाट नै बिक्री गर्ने हो भने त्यसलाई बजारसम्म ल्याउनु पर्दन भने अर्कोतिर गोदाममा राख्दा कुहिएला भन्ने डर पनि हुँदैन। क्रेताहरु तरकारी खरिद गर्न उत्पादन स्थलसम्म नै पुग्ने हुनाले उनीहरुले ताजा तरकारी खरिद गर्न पाउँछन। बिक्रेताहरुले पनि माग अनुसार बारी वा खेतबाट (टिपेर वा झिकेर) नै तरकारीको आपूर्ति गर्न सक्छन। यस कार्यबाट क्रेताहरु दुई भागमा बिभाजित हुन पुग्छन। त्यो कसरी भने, जोसँग राम्रो आम्दानी छ तर फुर्सतको समयको अभाव छ भने त्यस्तो व्यक्ति बजारमा पुग्छ, तरकारी खरिद गर्नका लागि। तर जोसंग राम्रो आम्दानी छैन र फुर्सतमा पनि छ भने त्यस्तो व्यक्ति तरकारी खरिद गर्न तरकारी उत्पादकको खेत वा बारीसम्म पुग्छ र सस्तोमा खरिद गर्छ। तर उत्पादकले पनि खेत वा बारीसम्म आएर खरिद गर्ने क्रेताहरुलाई सस्तोमा तरकारी उपलब्ध गराउनु पर्दछ। यी उत्पादकहरुले यो मूल्यमा आफ्नो खेत वा बारीबाट यस्ता तरकारीहरु बिक्री गरिरहेका छन भन्ने कुराको जानकारी स्थानीय एफ एम रेडियो स्टेसनहरुले दिएमा क्रेताहरुले सजिलै थाहा पाउँछन, कहाँ के के तरकारी कुन मूल्या बिक्री भइरहेको छ भन्ने कुरा । शुरुको अवस्थाम रेडियोहरुले निशुल्क विज्ञापन गरेर उत्पादकहरुलाई सहयोग गर्नु पर्दछ। यस्तो किसिमको विज्ञापन प्रभावकारी भइ उत्पादकहरुको सामाग्री बढी बिक्री हुन थाले पछि स्वेच्छाले नै उत्पादकहरु पैसा तिरेर विज्ञापन गराउन थाल्छन जसले गर्दा रेडियो स्टेशनहरुको पनि आम्दानीमा वृद्धि हुन पुग्छ। रेडियो स्टेशनहरुले पनि यस्ता कुराहरु, जसले गरिब जनताको आर्थिक स्तर माथि उकास्नमा मदत पुर्याउछ, लाई महत्व दिनु पर्दछ नेताहरुको आर्थिक रुपमा अनुत्पादक भाषण वा वक्तव्यहरु प्रशारण गर्नु भन्दा। मुलुकलाई अहिले गरिबीबाट उन्मुक्ति दिने उपायहरु चाहिएको छ, नेताहरुको अनुत्पादक भाषणहरु भन्दा।
झिना मसिना यस्ता कुराहरु जुन सुन्दा महत्वपूर्ण लाग्दैनन तर तिनीहरुले मुलुकको गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन। अहिले विकसित कहलिएका मुलुकहरुले यस्ता झिना मसिना कुराहरुमा ध्यान दिएर नै  आर्थिक समृद्धिका सिखर चुम्न सफल भएका हुन। अर्थ तन्त्रका ठूला ठूला, लामा लामा सिद्धान्तहरु भन्दा यी नै झिना मसिना कुराहरुले महत्व राख्छन आर्थिक विकासको प्रार्म्भिक चरणमा।

विश्वराज अधिकारी

Thursday, January 5, 2012

Credit Card - Poverty and Economics - 18


उधारो पत्र

उधारो पत्र (Credit card) एक किसिमको नगद नै हो। यसले नगदले झै कार्य गर्दछ। यसको प्रयोगले गर्दा एकातिर पैसा नभएको बेलामा पनि आफूलाई आवश्यक परेका सामाग्रीहरु खरिद गरेर आफूसँग पैसा भए पछि त्यसको भुक्तानी गर्न सकिन्छ र अभावको स्थितिमा बस्नु पर्देन भने अर्कोतिर पैसाको खाँचो परेका बेला योसँग वा उसँग सापट्टी लिनु पर्देन। यसै गरी बिक्रेताहरुले पनि तत्काल खल्तिमा पैसा नभएका ग्राहकहरुलाई पनि सामान बिक्री गरेर आफ्नो बिक्रीको परिणाममा वृद्धि गर्न सक्छन्। र आफ्नो बिक्रीलाई नियमित र भरपर्दो तुल्याउन सक्छन।
उधारो पत्रको प्रयोगले गर्दा, उधारोमा सामान बिक्री गरे पछि त्यसको भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने चिंता बिक्रेताले लिनु पर्दैन। उधारो पत्रको आधारमा  सामान बिक्री गर्दा बिक्रेताले सामान बिक्री गर्ने बितिक्कै त्यसको भुक्तानी नपाए पनि दुइ चार दिन पछि भने अवश्य पाउँछ। बिक्रेताले आफ्नो सामानको मूल्य क्रेडिट कार्ड कम्पनीबाट पाउँछ र क्रेडिट कार्ड कम्पनीले पछि बिक्रेतालाई जति भुक्तानी गरेको हो त्यति रकम क्रेताबाट प्राप्त गर्दछ।
 उधारो पत्र वा क्रेडिट कार्ड, क्रेडिट कार्ड कम्पनीहरुले जारी गरेका हुन्छन र क्रेडिट कार्ड जुन सुकै व्यक्तिले पनि प्राप्त गर्न सक्छ। क्रेडिट कार्डको प्रयोग गरेर आफूले जति रुपैयाँका सामानहरु विभिन्न पसलहरुबाट खरिद गरेको हो त्यति रुपैयाँ तोकिएको समयमा क्रेडिट कार्ड कम्पनीलाई बुझाउने हो भने आफूले खरिद गरे जतिको रकममा ब्याज भुक्तानी गर्नु पर्दैन। तर तोकिएको समय भन्दा ढिलो गरि भुक्तानी गरेमा भने ब्याज तिर्नु पर्दछ। र ब्याजको दर पनि फरक फरक किसिमको हुन्छ। प्राय: जसको क्रेडिट इतिहास (Credit history) राम्रो छ वा जसले क्रेडिट कार्ड कम्पनीले तोकेको समयमा भुक्तानी गरेको छ र रकम बाँकी राखेर भुक्तानी गर्दै नगर्ने गरेको छैन भने उसले कम ब्याज तिर्नु पर्छ। तर जसले तोकेको समयमा क्रेडिट कार्ट कम्पनीलाई भुक्तानी गरेको छैन र रकम बाँकी राखेर ढिलो गरि भुक्तानी गरेको छ भने उसले बढी ब्याज तिर्नु पर्ने हुन्छ। यसरी, जसको क्रेडिट हिस्ट्री राम्रो छ उसले ३ या ४ प्रतिसत ब्याज तिर्नु पर्ने हुन सक्छ भने जसको क्रेडिट हिस्ट्री राम्रो छैन उसले १५ देखि २० प्रतिसत ब्याज तिर्नु पर्ने हुन सक्छ। यो केवल एउटा उदाहरण मात्र हो। कति ब्याज लिने भन्ने कुरा प्राय: क्रेडिट कार्ड कम्पनीमा भर पर्दछ। यसरी, सबै क्रेडिट कार्ड प्रयोगकर्ताले एउटै दरमा ब्याज तिर्नु पर्ने हुँदैन। जसको आर्थिक व्यवहार (तोकिएको समयमा भुक्तानी गरेको छ, भुक्तानी नै नगर्ने गरेको छैन) राम्रो छ उसले कम ब्याज तिर्नु पर्छ भने उत्तिकै रमकका लागि आर्थिक व्यवहार राम्रो नहुनेले बढी तिर्नु पर्छ। यसरी, कोसँग कति ब्याज लिने भन्ने कुराको निर्धारण क्रेडिट कार्ड कम्पनीले व्यक्तिको आर्थिक व्यवहारको आधारमा गर्दछ। यसबाट राम्रो आर्थिक व्यवहार गर्नेलाई फाइदा पुग्छ किनभने उसले राम्रो आर्थिक व्यवहारको कारणले गर्दा कम ब्याज दरको क्रेडिट कार्ड पाउन सक्छ। धेरै अवस्थाहरुमा, क्रेडिट कार्डले व्यक्तिहरुलाई आर्थिक व्यवहार राम्रो पार्न उत्प्रेरित गर्ने कार्य गर्दछ। र आर्थिक व्यवहार राम्रो पारेर क्रेडिट कार्डबाट निकै किसिमका फाइदाहरु लिन सकिन्छ पनि। क्रेडिट कार्ड कम्पनीहरुले २०० मूल्य देखि २५,००० वा सो भन्दा बढी मूल्यका क्रेडिट कार्डहरु पनि  व्यक्तिहरुलाई जारी गरेका हुन सक्छन। विभिन्न देशहरुमा, त्यहाँका मुद्रामा, विभिन्न क्रेडिट लिमिट(मूल्यका)का क्रेडिट कार्डहरु जारी गरिएको हुन सक्छन।
उधारो पत्रले नगदलाई विस्तारै विस्थापित गर्देछ। विकसित मुलुकहरुमा ग्राहकहरुले नगदमा खरिद गरेको ज्यादै कम देखिन्छ। हुन पनि उधारो प्रत्रद्वारा जुन सुकै किसिमको भुक्तानी गर्न सकिन्छ। बसको भाडा होस, वा क्याम्पसको फि, क्रेडिट कार्डद्वारा भुक्तान गर्न सकिन्छ।  यसै गरी सिनेमा हलको टिकट होस वा गाडी पार्किङ्ग गरेको शुल्क, क्रेडिट कार्डद्वारा भुक्तान गर्न सकिन्छ। तरकारी, फलफूल, घरघरायसी सामान लगाएत फ्रिज, कारसम्म पनि क्रेडिट कार्ड प्रयोग गरेर खरिद गर्न सकिन्छ।
क्रेडिट कार्डले नगदको सुरक्षा पनि गर्छ किनभने क्रेडिट कार्डको प्रयोग गरेर नगद बोक्नु पर्ने झंझट लिनु पर्दैन। पैसा बोक्दा चोरी हुने, त्यो हराएको खण्डमा आर्थिक क्षति बेहोर्नु पर्ने जस्ता बाध्यताहरुको अन्त्य पनि गरिदिन्छ क्रेडिट कार्डले। क्रेडिट कार्ड हराए वा चोरी भएमा  पैसा हराए वा चोरी भए जस्तो  क्षति बेहोर्नु पर्दैन पनि। किनभने क्रेडिट कार्ड हराए वा चोरी भएमा, तत्काल जुन क्रेडिट कार्ड कम्पनीबाट सो क्रेडिट कार्ड जारी गरिएको हो त्यसलाई खबर गरिदिएमा उसले उक्त क्रेडिट कार्डबाट हुने भुक्तानी तत्काल नै रोकिदिन्छ।
नेपालमा उधारो पत्र वा क्रेडिट कार्डको प्रयोग गरेर गरिबहरुको क्रय शक्तिमा वृद्धि ल्याउन सकिन्छ। खल्तिमा पैसा नभएको समयमा पनि सामान खरिद गर्ने सक्ने स्थितिमा उनीहरुलाई पुर्याउन सकिन्छ। यस्तो गरेर बहुसंख्यक नेपालीहरुलाई दयनीय गरिबीको स्थितिबाट बाहिर ल्याउन सकिन्छ। तर यहाँ प्रश्न उठ्न सक्छ के गरिबीहरुले खरिद गर्ने पसलहरुलाई क्रेडिट कार्डको प्रयोग गर्ने सक्ने स्थितिमा पुर्याउन सकिन्छ? के नेपालका क्रेडिट कार्ड कम्पनी वा  बैंकहरुले आम नेपाली जनताहरुले प्रयोग गर्न सक्ने कम मूल्य (क्रेडिट लिमिट) का क्रेडिट कार्डहरु उपलब्ध गराउन सक्छन? यी प्रश्नहरुको उत्तर के हो भने वर्तमान युग ज्ञानको युग हो पूँजीको होइन। नेपालका ठूला ठूला व्यापारिक प्रतिष्ठानहरुले आँट गर्ने हो भने नेपालमा पनि क्रेडिट कार्डको प्रयोगलाई गरिबहरुको पहुँचसम्म पुर्याउन सकिन्छ। नेपालका गरिबहरुसम्म क्रेडिट कार्ड पुर्याउने जिम्मेवारी तपाँई उद्योगपति तथा व्यापारीहरुको नै हो। यस्तो कार्य गरेर नेपालको गरिबी कम पार्नमा तपाँइहरुले महत्वपूर्ण योगदान पुर्याउन सक्नु हुन्छ। सक्ताका लागि हारा लुछ गरिरहेका राजनैतिक नेताहरुबाट के नै अपेक्षा गर्न सकिन्छ र?

विश्वराज अधिकारी

Thursday, December 29, 2011

Credit Management - Poverty and Economics - 17


साख व्यवस्थापन

साख व्यवस्थापन (Credit management) ले पनि गरिबीसँग सरोकार राख्दछ। गरिबी कम पार्नमा साख व्यवस्थापनको  भूमिका महत्वपूर्ण रहेको पाइएको छ। साख व्यवस्थापन अन्तर्गत क्रय शक्ति (Purchasing power) पनि पर्ने हुनाले यहाँ क्रय शक्तिको बारेमा चर्चा गर्न खोजिएको छ।
क्रय शक्ति र साख दुई अलग अलग विषय वस्तुहरु हुन। तर यी दुई विषयहरुको बीचमा घनिष्ट सम्बन्ध छ। क्रय शक्तिले व्यक्तिमा रहेको क्रय क्षमता दर्शाउँछ।  आफ्नो आर्थिक आम्दानी वा तरलताको आधारमा व्यक्तिले कुन किसिमले कतिसम्म खर्च गर्न सक्छ भन्ने कुरा व्यक्तिको क्रय शक्तिमा भर पर्दछ। आफ्नो क्रय शक्ति अनुसार नै व्यक्तिले जिवन निर्वाह गर्नका लागि आवस्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरु बजारबाट खरिद गर्दछ। क्रय शक्ति जति बढी भयो त्यति नै व्यक्तिले उपभोगका लागि बढी वस्तु तथा सेवाहरुको माग गर्दछ।
यसै गरी व्यक्तिले कारोबारी जिन्दगीमा आफ्नो आर्थिक छवि बजारमा कस्तो बनाएको छ भन्ने कुरा उसले आर्जन गरेको साखबाट देखिन्छ। व्यक्तिले आर्जन गरेको साखले गर्दा उसलाई बजारबाट ऋण लिन सजिलो हुन्छ। आफूसँग तत्काल पैसा नभए पनि कस कसलाई कति कति भुक्तानी गर्नु पर्नेछ तिनलाई त्यसै अनुसार भुक्तानी गर्न उसलाई सजिलो हुन्छ। यसै गरी अनेक कसिमका उपभोग्य सामाग्रीहरु उधारोमा खरिद गरेर आफ्नो तरलता अनुसार एक महिना भित्र, एक वर्षभित्र वा आफूलाई अनुकूल पर्ने लामो सयम भित्र तिनको भुक्तानी गर्न सक्छ। यसरी व्यक्तिको बजारमा साख जति राम्रो भयो त्यति नै उसलाई ऋण प्राप्त गर्न तथा उधारोमा सामानहरु खरिद गर्न सजिलो हुन्छ।
नेपालमा कुनै पनि व्यक्तिले कस्तो साख आर्जन गरेको छ भन्ने कुराको निगरानी गर्ने न त कुनै संस्था छ न त व्यवस्थित रुपले कुनै व्यक्तिको साखको मूल्यांकन गर्न कार्य नै गरिन्छ। कुनै व्यक्तिले कति कति को को ( विभिन्न संस्थाहरु) संग कुन कुन मितिमा ऋण लियो र उक्त ऋणको भुक्तानी कसरी गर्यो। यसै गरी कुनै व्यक्तिले कहाँ कहाँ (पसलहरु) बाट उधारोमा सामानहरु खरिद गर्यो र तिनको भुक्तानी कसरी गर्यो। ऋण वा उधारो भुक्तानी गर्ने क्रममा सम्पूर्ण रकम भुक्तानी गर्यो वा केही रकम भुक्तान नै गरेन। गरिएको भुक्तानी पनि नियमित वा अनियमित थियो। यस्ता कुराहरुको अभिलेख राख्ने र तिनको मूल्याकंन गर्ने कार्य साख व्यवस्थापन अन्तर्गत गरिन्छ। अमेरिका क्यानाडा, बेलायत र साथै अन्य थुपै विकसित मुलुकहरुमा व्यक्तिको साखको निगरानी तथा मूल्याकंन गर्ने संस्थाहरुको स्थापना गरिएको हुन्छ र ती संस्थाहरुको निगरानी र मूल्याकंनको आधारा कुनै पनि व्यक्तिलाई ऋण लिन, उधारोमा सामन खरिद गर्न सजिलो हुन्छ। व्यक्तिको साखको मूल्याकंन तथा अनुगमन गर्ने संस्थालाई क्रेडिट ब्युरो भन्ने गरिन्छ। यस्तो संस्थाले गरेको अनुगमन तथा मूल्यांकनको आधारमा नै कुनै पनि व्यक्तिले कति सम्म ऋण पाउन सक्ने वा कति हदसम्मको उधारो पत्र (Credit card) पाउन सक्ने भन्ने कुराको निर्धारण हुन्छ। कुनै व्यक्तिले केवल आफ्नो आर्थिक क्षमता अनुसार मात्र ऋण लिएको छ र ऋणको भुक्तानी पनि तोकिएको समयमा सन्तोषजनक किसिमले गरेको छ। यसै गरी विभिन्न संस्था वा पसलहरुबाट उधारोमा सामानहरु खरिद गरेको छ र तिनको भुक्तानी पनि तोकिएको समयमा सन्तोषजनक किसिमले गरेको छ भने उक्त व्यक्तिको साख इतिहास (Credit history ) राम्रो, विश्वसनीय वा प्रभावकारी हुँदै जान्छ। तर यसको विपरित यदि व्यक्तिले आफ्नो आर्थिक क्षमता अनुसार ऋण लिएको छैन, आम्दानी भन्दा बढी ऋण लिएको छ। उधारोमा सामान खरिद गर्दा आफ्नो आर्थिक क्षमता भन्दा बढीको सामान खरिद गरेको छ। ऋण र उधारोको भुक्तानी समयमा गरेको छैन भने उसको साखको इतिहास राम्रो हुँदैन। र साख राम्रो न भएमा ऋण लिन वा उधारोमा सामान खरिद गर्न व्यक्तिले अनेक समस्याहरुको सामना गर्नु पर्ने हुन आउँछ। त्यस कारण व्यक्तिले जहिले पनि आफ्नो साख राम्रो बनाउने प्रयत्न गर्दछ किनभने उसलाई थाहा हुन्छ उसको साख खराब भएमा ऋण लिन, उधारोमा सामान खरिद गर्न उसलाई गार्हो हुन्छ भन्ने कुरा। उधारो पत्रको राम्रो प्रचलन रहेको मुलुकहरुमा वहुसंख्यक व्यक्तिहरुले लत्ता कपडा, घर घरायसी सामान, यातायात सेवा, खाद्यान्न लगायत कम्प्युटर, वासिङ्ग मेसिन, फ्रिज अदि र कारसम्म पनि उधारो पत्रले नै खरिद गर्छन। सामानहरु खरिद गर्दा व्यक्तिहरुले नगदको प्रयोग ज्यादै कम मात्रामा गर्छन। यसरी उधारो पत्रले एकातिर सामान खरिदलाई सजिलो पारिदिन्छ भने अर्कोतिर व्यक्तिले आफूसँग तत्काल पैसा नभए पनि आफूलाई आवश्यक पर्ने सामान जुन सुकै बेला पनि खरिद गर्न सक्छ र त्यसरी उधारोमा खरिद गरेको सामानको मूल्य उधारो पत्रले तत्काल भुक्तानी गरिदिएको हुनाले उसले किन्ना साथ भुक्तानी गर्नु पर्ने चिंता लिइ रहनु पर्दैन।
व्यक्तिसँग तत्काल पैसा नभए पनि उधारो पत्रले व्यक्तिमा क्रय शक्ति सृजना गरिदिन्छ जसले गर्दा व्यक्तिले सजिलैसंग आफूलाई आवश्य परेका सामानहरु उधारो पत्रद्वारा खरिद गर्न सक्छ। र यसबाट दुईबटा फाइदा हुन्छ। पहिलो त, व्यक्तिले खल्तिमा पैसा नभएता पनि उसले भोकै बस्नु (यदि होटलमा खाने गरेको छ र होटलले उधारोमा सामान दिंदैन) पर्ने स्थिति आउँदैन। दोस्रो, ग्राहकको खल्तिमा पैसा तत्काल नभएता पनि बिक्रेता (होटल) ले सजिलै ग्राहकलाई सामान बिक्री गर्न सक्छ किनभने बिक्रेताले  आफ्नो सामानको मूल्य तत्काल उधारो पत्रको माध्यमाबाट ग्राहकबाट प्राप्त गर्दछ। यसरी, तत्काल ग्राहकसँग पैसा नभएता पनि र बिक्रेताले उधारोमा बिक्री गर्न नखोजेता पनि उधारो पत्रले खरिद र विक्री दुवै कार्य सम्भव गराई दिन्छ। र अर्को शब्दमा भन्ने हो भने विना भुक्तानी बजारमा माग र आपूर्ति हुने सहज स्थिति उधारो पत्रले सृजना गरिदिन्छ। यसरी उधारो पत्रले तत्काल पैसा नहुनेहरुमा पनि क्रय शक्ति सृजना गरिदिन्छ।
कुनै पनि मुलुकमा, धनीहरुको सीमित संख्यालाई छाडेर वहुसंख्यक जनताको आर्थिक स्थिति हेर्ने हो भने उनीहरुको आर्थिक स्थिति बलियो नरहेको सहजै देख्न सकिन्छ। अर्थात उनीहरुको हातमा जुन बेला पनि नगद हुन सक्तैन। तर एक निश्चित समयपछि भने उनीहरुको हातमा आम्दानी प्राप्त हुन आउँछ। कामदार वा कर्मचारी हो भने तोकिएको समय पछि ज्याला वा तलबको रुपमा आम्दानी प्राप्त हुन आउँछ भने कृषक हो भने तोकिएको समय पछि वा फसल काटे पछि आम्दानी प्राप्त हुन आउँछ। तर तोकिएको समय पछि आम्दानी आउनु भन्दा पहिले भने उनीहरुको हात खाली हुन्छ। अर्थात यो समयमा उनीहरुसँग पैसा हुँदैन र क्रय शक्ति क्षिण रहेको हुन्छ। यसरी क्रय शक्ति क्षिण रहेको बेला उनीहरुले आवश्य परेका सामानहरु खरिद गर्न विभिन्न समस्याहरुको सामान गर्न पर्दछ, एक निश्चित समयपछि उनीहरुसँग आम्दानी हुने स्थिति हुँदा हँदै पनि। उधारो पत्रले यो स्थितिको अन्त्य गरिदिन्छ। उधारो पत्रले गर्दा व्यक्तिले आफूसँग तत्काल पैसा नभएता पनि आवश्य सामाग्रीहरु खरिद गरेर पछि जब आम्दानी प्राप्त हुन्छ क्रेडिट कार्ड कम्पनीलाई भुक्तान गर्न सक्छ। यसरी, उधारो पत्रले व्यक्तिसँग तत्काल पैसा नभएता पनि उसमा क्रय शक्ति सृजना गरिदिन्छ र उसलाई अभावको स्थितिमा भोकै बस्नु पर्ने दयनीय अवस्थाबाट उन्मुक्ति दिन्छ।  
उधारो पत्र भनेको के हो र यो कसरी जारी हुन्छ?

विश्वराज अधिकारी