Wikipedia

Search results

Showing posts with label Regional Story. Show all posts
Showing posts with label Regional Story. Show all posts

Wednesday, May 1, 2013

kailashiya- A story-14



कैलशिया

(कथा)

“भदौ महिनामा गाउँका सबै बाटाहरु हिलोले गर्दा हिँड्न नसकिने हुनु गाउँका मानिसका लागि अप्रत्यासि भने थिएन। अप्रत्यासित थियो भने गाउँका चौकिदारले साँझ सुनाएको खबर। चौकिदारले सारा गाउँ घुमेर भनेको थियो “आज राति मुखिया साहेबको दुरामा जम्मा हुनु। पंचैति छ। सबैले आउनु पर्ने मुखिया साहेबको आदेश छ।” यो खबरले सबैलाई अचम्म र दिक्कदारी, दुबै स्थितिमा उत्तिकैमा पुर्याएको थियो। त्यस्तो हुने कारणहरु पनि थिए। एक त, पाँच सात दिन देखि लागेको झरि बल्ल त्यो दिन, बिहान रोकिएको थियो र अर्को त्यो दिन रोपाई धुम धामले गाउँ भरि चलेकोले सबै थाकेर घर फर्केका थिए, आराम गर्ने मनस्थितिमा थिए। त्यति मात्र होइन, त्यो दिन औंसिको रात परेको थियो, रातिमा हिँड्दा छेउको मानिस पनि नदेखिने स्थिति थियो, को अगाडि छ अनि को पछाडि, आबाजले थाहा पाउनु पर्ने समस्या थपिएको थियो। तर मुखिया साहेबको आदेशको अटेरि गर्ने हिम्मत कसैमा थिएन पनि। गाउँको त्यो टोलबाट, कैलशियाको छर छिमेकबाट त घराहिं एक जाना जानै पर्ने आदेश थियो, मुखिया साहेबको।”
“पंचैतिको मुख्य विषय थियो- कैलशियालाई जरिबाना गर्ने अनि आउने दिनहरुमा त्यस्तो नगर्न कडा चेतावनी दिने। उता कैलशियाले छरेको हल्ला पनि एक कान दुई कान हुँदै मैदान भएको थियो। कैलशियाले भनेकी थिइ- मलाई डण्ड, जरिबान, यसो उसो केही गरे भने यो गाउँ नै छाडेर जान्छु। कलैशियाएको धम्की चैत बैशाषको अग लग्गी जस्तो फैलिएको थियो, गाउँ भरि। उसको यो धम्कीले गाउँका धेरैलाई हल्लाएको थियो, तर सबै भन्दा बढी हल्लेका थिए मुखिया साहेब नै।”
“पंचैति प्रारम्भ भयो अनि साथै कैलशिया माथि आरोप लगाउने शिलशिला पनि। जय मंगलले कड्केर भने -यो छिनार मौगीले गाउँलाई बिगार्नु सिबाए केही गरेकी छैन। केटा र केटीलाई एक अर्कासँग मिलाइ दिने बाहेक कुनै राम्रो काम गरेकी छे, यसले? छ भने भन्नुस, पंच भलादमीहरु।”
“जटाशंकरले हातमा रहेको बाँसको, तेल पिआएको, पाँच हातको लठ्ठी भूँइमा बजार्यो अनि कड्किंदौ भन्यो- एक महिना पहिले एक जोडी उढरा उढरी भागे यो गाउँबाट, सबैलाई थाहा भएकै कुरा हो, छ कसैबाट छिपेको? तिनीहरुलाई मिलाउनमा र उढार्नमा यै कैलशियाको हात छ. बच्चा बच्चालाई थाहा छ, यो कुरा।”
“जामुनले थप्यो- गाउँका जवान केटा केटी त के, उमेरदारहरु पनि बिग्री सके कैलेशियाको कारणले गर्दा। रात बिरात केही बुढाहरु समेत पस्न थालेका छन, अर्काको घरमा। यस्तो आइमाइलाई त यो गाउँबाट नै निकाल्नु पर्छ। एउट सडेको आलूले बाँकी सब आलूलाई सडाउँछ। अब त्यै सडन बाँकी छ, सारा गाउँ, यो कैलशियाले गर्दा।”
“आरोपहरुको क्रम चुलिंदै गएको स्थितले नन्दलाललाई यति बढी उत्प्रेरित गर्यो कि उसले आफूलाई रोक्न सकेन। मुखिया साहेबले सुनाउनु भन्दा पहिले नै उसले पंचैतिको फैसला सुनाए झै गरी भन्यो -यस्तो छिनार मौगीलाई त चार पाँच जना पठ्ठाहरुले लग्नु पर्छ रहरीको खेतमा, अनि ठीक गर्नु पर्छ। अनि मात्र तल आउँछ यसको बढेको करतुत, कहिले नाम समेत लिन्न त्यस्तो कामको, यो सत भत्तरीले।”
“केवल कैलशियाको विपक्षमा रहेको बलियो जनमत लामो समय सम्म भने कायम रहन सकेन। गोगाइले हाँस्दै भन्यो -कैलशियालाई भेट्न त तिमी नै पुग्छौ धेरै, नन्दलाल। अस्ति पूर्वारी टोलाको, त्यो मुस्मातको घरमा आधा रातमा तिमी पसेर हल्ला हुँदा …………बिर्सेउ त्यो घटना? पंचभालदमीहरुले केवल दण्ड गरेर छाडि दिए तिमीलाई, अरु बढी केही गरेनन्, गरेको भए अंग भंग हुन सक्थ्यो। अहिले कैलशिया माथि कुनै रीस साँधेको जस्तो छ, तिमीले। तिमी कस्तो छौ भन्न कुरा त जग जागेर छ, कि छैन, पंचभलादमीहरु?”
“गोगाइको यो प्रतिवाद पछि नन्दलालको मुखमा दही नै जम्यो। उता कैलशिया भने पंचैति भइ रहेको आँगनको छेउमा बसेकी थिइ तर मौन। कैलशिया बाहेक अरु कुनै महिलाको उपस्थित थिएन, यो पंचैतीमा, त्यो भरि सभामा। औशीको त्यो रातमा, चलिरहेको त्यो पंचैतिमा, को कता बसेको थियो, राम्रो गरी देखिने स्थिति थिएन। एउटा पुरानो लालटेन थियो, मुखिया साहेबको छेउमा। त्यो लालटेनबाट प्रकाश कम धूआँ भने बढी आइ रहेको थयो। लालटेनको सिसाको आधा भागमा कालो पोतिएको थियो, बाँकी आधा भागबाट आएको प्रकाशले धानेको थियो उज्यालोको जिम्मेवारी, त्यो सारा पंचैतिका लागि।”
“मुखिया साहेबले मौनता तोडे- पन्च भलादमीहरु, भन्नुस, के मुनासिब सजाए हुनु पर्छ कैलशियालाई?  अनि, भिखरलाई लालटेनको सिसा पुछ्न आदेश पनि दिए। मुखिया साहेबको आग्रह मिश्रित त्यो निर्देशनमा कसैले तत्काल प्रतिक्रिया जनाएन। वातावरण लामो समयसम्म मौन रह्यो, छेउमा कराई रहेका किरा, फट्यांग्रा र भ्यागुताहरुको ध्वनी बाहेक, भदबारीको त्यो कालो रातमा।”
“झगडुले असहमति प्रकट गर्यो- कसै माथि त्यतिकै आरोप लगाएर हुन्छ? कैलशियाले धेरैका छोरा छोरीहरुलाई बिगारेको प्रमाण पनि त हुनु पर्यो नि। कोइ आफ्नै मनले उढेर जान्छ भने त्यसमा पनि कैलशिया कै दोष?”
“मुखिया साहेबलाई नजिकबाट बुझेको बलदेवले भन्यो- कसैले बिना मतलबको नालिस, उजुरी दिंदैमा मुखिया साहेबले पंचैति गराउनु जरूरी नै थिएन। पंचैति नभएको भए, यो खेति गृहस्थी, यो रोपनीको कामबाट हारे थाकेकाहरु, मस्त मस्त सँग सुतेका हुन्थ्ये यति बेला। एक त त्यसै पनि मछ्छडले सुत्न दिंदैन रात भर, जस्तो सुकै ठूलो घुर लगाउँदा पनि। धूआँ धुकुर गर्दा पनि।”
“वातावरण निकै बेर शान्त रह्यो। कैलशियाको बिरोधमा कुनै स्वर निस्केन।”
“केही समय पछि रामसहाय कड्क्यो- कोइ आफै इनारमा डुब्न जान्छ भने यसमा कैलशियाको के दोष? सबैसँग कैलशियाले हाँसेर बोल्दैमा उ छिनार हो भन्नु मुनासिब हो, भन्नुस पंचभलादमीहरु?”
“रामसहायले थप्यो- कैलशियालाई कमजोर देखेर सबैले दबाउन खोजेका हुन, बाँकी केही पनि होइन।” “रामसहायले सचेत पनि पार्यो- कैलशियाको बारेमा मतलब बेमतलबका पचास कुरा चलेकोले रिसाएर, ऊ मोरंग जान थालेकी छ। उतै खाने कमाउने रे, यो गाउँ सदाका लागि छोडि दिने रे।”
“पंचैति भइ रहेको ठाउँको पुछारबाट मधुरो आबाजमा कोही बोल्यो- कैलशियालाई अर्को गाउँ जान देखि रोक्नु पर्यो, पंचभलादमीहरुले। कैलशिया हिंडे भने यो गाउँमा …………………… यति भनेर त्यो भन्ने मान्छे अध्यारोमा कता हरायो देख्न सकिएन। तर त्यो हराउने व्यक्तिको आबाजलाई भने बिसौं जनाले बुलन्द पार्दै भने- को हो त्यो टाढाबाट भन्ने? यहाँ, यो भरि सभामा, बीचमा आएर भन्नु पर्यो।”
“मुखिया साहेबले भने- सबैको कुरा सुनियो। कैलशिया अन्त कतै जान्न। र ऊ कुनै खराब कामका लागि कसुरबार पनि छैन। न त उसको बिरोधमा कुनै दषि प्रमाण नै छ।” यो घोषणा गरे पछि मुखिया साहेबको मुखमा तेजीलो चमक देखियो। लालटानको ज्यादै कमजोर प्रकाशमा उनको मुहारमा फैलिएको रौनकता कसैले पनि देख्न पाएन। मुखिया साहेबको मुहारमा झै उपस्थिति धेरैको मुहारमा खुसीको बिजुली चम्मेको थियो, कलैशियाको बिरोध गर्ने दुई चार जनालाई छोडेर।”
“कैलशिया भने मनमन मै हाँसि रहेकी थिइ। लाग्थ्यो त्यो पंचैयतिको निर्णय के हुने हो उसलाई पहिले देखिन नै थाहा भए जस्तो।”
“एउटा कालो छाया कैलशियाको नजिक हुँदै, उसँग टाँस्सिने किसिमले अगाडि बढ्यो। छायाले भन्यो –कैलशियाSSSSSSS……………..
पहिले त डराइ कैलशिया त्यो आवाजबाट, तर आवाज परिचित भएकोले क्षणभर मै ढुक्क भई। कालो छायाले कैलशियाको कान नजिक मुख लग्दै भन्यो- हेर कैलशिया, यो पटक त जोगाई दिएँ तिमीलाई, तर अब गर्हो छ, त्यसरी जोगाउन। किन गर्छेऊ यस्तो काम छाडिदेऊ न, हुँदैन्?”
“कैलशियाले हाँस्दै भनी- यो काम छोड दिए भने फेरि ………………………………………?”
आज भन्दा चालिस वर्ष पहिले, म र पाण्डे मास्टर साहेब गौर जाँदै थियौ, पाण्डे मास्टर साहेबले जग्गा किन्नु भएको थियो, त्यै जग्गाको रजिष्ट्रेशन पास गर्न, आफ्नो गाउँबाट, पैदल, सात आठ घण्टाको बाटो। त्यस बेला अहिले जस्तो चन्द्रनिगहापुर र गौरको बीचमा न त बस चलथ्यो न त कुनै अन्य सबारी नै, बैल गडी बाहेक। यो कथा बाटोमा सुनाउनु भएको थियो मास्टर साहेबले। पूरै कथा बाटोमा सकिएको थिएन, गौरको गुदरी बजार नजिक रहेको एउटा होटलमा दही चिउरा खाँदा भने कथा सकिएको थियो। कथा सकिए पछि मास्टर साहेबले भन्नु भएको थियो- देखो, दिनकर, कपडे के अन्दर सब नङ्गें है। त्यस बेला म, मात्र दस एघार वर्षको भएकोले मास्टर साहेबको भनाइको आशय बुझ्न सकेको थिन, न त त्यो कथाको अर्थ नै। कथा मेरो आग्रहमा होइन, आठ दस कोषको, पट्यार लाग्दो बाटो काट्नका लागि भन्नु भएको थियो, मास्टर साहेबले। उमेरले आधा सप्ताब्दिको यात्रा पार गर्दा बल्ल बुझ्दै छु, राम्रो गरी, मास्टर साहेबको त्यो भनाई- कपडे के अन्दर सब नङ्गें है को आसय, अनि त्यो कथाको अर्थ। त्यो बेला त्यो कथा पटक्कै नबुझेता पनि। 

विश्वराज अधिकारी

Monday, December 12, 2011

An Old Woman - Story 13 - Bahaliya


बुढिया

‘बौनी बुढिया, छोराहरुलाई पन्जाब पठाउँदिनौ धन कमाउन? गजबको कमाई हुन्छ रे, बुटाई पन्जाबबाट फर्किँदा रेडियो र घडी ल्याएको थियो। दुई तोला सुन, अनि माथिबाट दस हजार नगद, त्यो पनि भारु। यो गाउँका कति जनालाई पुर्याइसक्यो उसले पन्जाब।’
मास्टर साहेबद्वारा विवरण सहितको प्रश्न सुनेर एकै छिन उत्तर खोज्ने प्रयास गरी त्यसपछि बौनी बुढियाले जवाफ दिई ‘आ पठाउँदिन पन्जाब ओन्जाब, बरु भोकै बसौला तर ओभानोमा बसौला’ (‘भोकै बसे पनि सबै जना सङ्गै बसौला’ तराईको केही क्षेत्रमा प्रचलित एक भनाई)।
‘सम्पत्तिको नाममा त्यो एउटा घर छ र त्यो पनि फुस (खर) को। त्यसमाथि चार जना छोराहरु। तिनीहरुको बिहेबारी भएपछि कसरी बस्छेउ एउटै घरमा, ए बौनी बुढिया?’ मास्टर साहेबले प्रश्न गर्नु भयो।
‘जस्तो पर्ला त्यसै गरी टर्ला, सबैको दाता रामले बिचार गर्लान नि। यो घरलाई नै चार भाग लगाई दिउँला। मेरो के, कुनैको पिढीमा सुतौला’ भविष्यप्रति बेवास्ता प्रदर्शित गर्दै बौनी बुढियाले भनी।
त्यहाँ उपस्थित व्यक्तिहरुले मास्टर साहेबको सल्लाहलाई बौनी बुढियाले अर्थहीन ठानेकोमा आश्चर्य प्रकट गरे।
एक व्यक्तिले अलि क्रोधित मुद्रामा भन्यो पनि ‘बन्दर जाने अदरखका सबाद’।
अर्को पनि बोल्यो ‘यो सँग कुरा गर्नु बेकार छ, मास्टर साहेब। कसैले नमागेसम्म के सल्लाह दिनु। यसको मगजमा यत्रो ठूलो कुरा अटाउँदैन। मान्छे पनि सानो कदको, मगज पनि त्यस्तै, धतत्तेरीका।’
उपस्थित सबै व्यक्तिहरु गलल्ल हाँसे। वाकयुद्धमा यसरी मास्टर साहेबको विजय तथा बौनी बुढियाको पराजय भएको थियो। पाँच वर्ष पछिको कुरा हो, बौनीको घर छेउ जिम्दार मालिकको खरिहानमा पन्चैति हुँदै थियो।
मुखिया साहेबले भने ‘बौनी बुढिया, तिम्रो भन्नु पर्ने के के कुराहरु छन् , आफ्नो सिकायत पन्चभलादमीहरुलाई खुलस्त पार।’
‘कामधाम गर्न नसक्ने मेरा नालायक छोराहरु स्वास्नीको कुरामा लागेर मलाई आजभोलि संधै पिट्न आउँछन्। भन्छन् मैले सम्पत्ति लुकाएको छु रे। मसँग दुई सेरको चाँदीको हँसुली छ। कान्छो भन्छ - मैले सबै गर गहना जेठोलाई दिएँ। उसलाई केही नदिने हो भने राति सुतेको बेलामा घाँटी थिचेर जै सियाराम बोलाई दिन्छु रे। जेठोले भन्छ - मैले कान्छोलाई काखीच्यापेको छु रे। म उसँग बसेको हुनाले उसको र मेरो एउटै पेट छ। म बुढी, राँड मुस्मातसँग के नै छ र। यो उमेरमा पनि बनी मजदुरी गर्छु। मेरा छोराहरु नालायक ………………………….।’
बौनी बुढियाको पछिल्लो वाक्यलाई पूरा हुन नदिई साँहिलो छोरा करायो ‘मर्ने बेलामा यो बुढियाको मति भ्रष्ट भए जस्तो छ। जे जति गहना गुरिया छ सबैलाई बराबर भाग लगाई दिए हुँदैन?’
बौनी बुढियाको कान्छो छोरा गर्ज्यो ‘आराम बिराममा दबा दारु ‌मैले गरेको छु, के को बराबर भाग लगाउनु?’
माहिलो छोराले कान्छोको भनाइमा हो भन्दै आफ्नो सहमति जाहेर गर्यो।
कान्छो फेरि करायो ‘मेहनताना हेरेर मात्र भाग लगाउनु पर्दछ। खंसी बकरी ऐकेधोकरी गर्न पाइँदैन। पन्चभलादमीहरु, सई सरदारहरु म सबैको अगाडि हात जोड्छु सही न्याय पाउनका लागि।’  
‘चुप लागेर बस। यो तिमीहरुको हो मनपर्दो झगडा गर्नलाई। पन्चभलादमीहरुले सबै कुरा थाहा पाए। अब तिमीहरुले बढी बोले भने एकदम ठीक हुने छैन। अब के गर्नु पर्ला झगडु काका?’ मुखिया साहेबले झगडुतिर हेर्दै भने।
बौनी बुढियासँग गहना भएको हामीलाई कुनै खबर छैन र हामीले देखेका पनि छैनौ। यदि भए पनि त्यो बुढियाको मरदले बनाई दिएको हो। त्यो बुढियाको सम्पत्ति हो। उसलाई जे इच्छा लाग्छ त्यो गरोस्। आइन्दा यो बुढिया माथि कुनै छोराले हात उठाएमा ठीक हुने छैन’ मुखिया साहेबले फैसला सुनाए।
मुखिया साहेबले उपस्थित सबैले सुन्न सक्ने गरी सोधे ‘पन्चभलादमीहरुको यसमा के राय छ?’
सबैले ‘ठीक छ, मनासिब हो’ भन्दै फैसला प्रति आ-आफ्नो स्वीकृति जाहेर गरे।
छोराहरु भने फैसलाबाट रुष्ट देखिए।
यसरी बौनी बुढियाको घरायसी मतभेद हुरीमै सीमित भएर आँधीमा परिणत हुन पाएको थिएन।
मास्टर साहेबको घरमा हुलाकीले चिठ्ठी होइन खुसीको पुलिंदा नै ल्याएको थियो। प्रसङ्गबस, बिनाप्रसङ्ग अथवा प्रसङ्ग मिलाउने गरी व्यक्ति तथा अवस्था अनुरुप मास्टर साहेबले आफ्नो पाँच छोराहरु अमेरिकावासी भएको सुनाउनु भयो।
‘नेपालको आम्दानीले के हुन्छ? बच्चाहरुको दूध खर्च त निस्किदैन। पाँचै छोराहरुको आम्दानी जोड्ने हो भने कति हुन्छ? थाहा छ बिन्देश्वर, पच्चिस लाख। सबैको आफ्नै घर आफ्नै कार। कार राख्नु त त्यहाँ साधारण कुरा। यहाँ साइकल राखे जस्तो’ मास्टर साहेबले आफ्नो हरबाह बिन्देसरलाई खुलस्त पार्नु भयो।
बिन्देसरले बोभिंदै सोध्यो ‘हामी त्यहाँ जान मिल्दैन, मास्टर साहेब?’
‘है चपाट, त्यहाँ हलो छ र? तैले जोत्ने। त्यो पनि तँ जस्तो लिख लोढा पढ पथ्थर’ मास्टर साहेबलाई सोधिएको प्रश्न खोसेर दिलचनले बिन्देसरलाई जबाफ दियो।
दिलचनको उत्तर सुनेर बिन्देसर उदास भयो, बैललाई कुटी हाल्न जान उसलाई अल्छी लाग्यो। मास्टर साहेबले बोल्ने कार्य जारी नै राख्नु भयो ‘बुझिस् दिलचन मेरा छोराहरुले इज्जत राखे। नपढलान र हलो जोत्नुपर्ला भन्ने कत्रो पिर थियो मलाई? गाउँ मै कुहिने हो कि भन्ने चिन्ताले सताएको थियो। अहिले सब एक से एक प्रोफेसर, डाक्टर इन्जिनियर।’
मास्टर साहेबको कुरामा दिलचनले थप्यो ‘मास्टर साहेब जस्तो परिवार यो जिल्लामा नै छैन। हेमन महतोको सयौ बिघा जग्गा भएको के काम? छोराहरु हलो समातेर गोरुको पुच्छर निमोठ्दै आँओ आँओ गर्छन। सबै अनपढ, चपाट।’
दिलचनको भनाई सकिए पछि मास्टर साहेबले बिन्देसरतिर हेर्दै भन्नु भयो ‘बिन्देसर खैनी उइनी छ? ख्वा न दिलचनलाई। दरबाजामा आएको मानिसलाई खाली नै पठाउँछस?’ दिलचनको वाणी मिठो खिर झै मास्टर साहेबको पेट भित्र पसेको थियो। संसारको प्रत्येक मनुष्यलाई आफ्नो प्रशंसा अति नै मन पर्ने तथ्यको अपवाद मास्टर साहेब पनि बन्न सक्नु भएन।
‘मास्टर साहेब कुनै मालिस उलिस छैन? छ भने पाउँ न। मेरो आमा जङ्गल दाउरा बटुल्न गएकी कसरी हो लड्न पुगिन। हातमा नराम्रो गरी चोट लागेको छ’ बौनी बुढियाको कान्छो छोराले हतारिँदै रुन्चे स्वरमा भन्यो।
‘त्यति राम्रो मालिस त छैन, यो एउटा मालिस छ, लगाई दिनु सञ्चो होला’ मास्टर साहेबले भन्नु भयो।
बौनी बुढियाको जेठो छोरा पनि आइपुग्यो त्यहाँ अनि भन्यो ‘मेरो आमाको हात नराम्रो गरी सुनिएर आएको छ, के गर्नु पर्ला मास्टर साहेब।’
‘ए त्यस्तो भयो, त्यसो हो भने बीरगंज नै पुर्याउनु पर्दछ, यता होला जस्तो मलाई लाग्दैन’ दुख मिश्रित स्वरले मास्टर साहेबले जबाफ दिनु भयो।
मास्टर साहेबको सल्लाह अनुसार बौनी बुढियाका चारबटै छोराहरु आमालाई लिएर बीरगंज तिर हिंडे।
एक वर्ष पछिको कुरो हो मास्टर साहेब अचानक बिरामी पर्नु भयो। घरमा वहाँको परिवारका अन्य सदस्यहरु थिएनन्।
‘म यकिनका साथ भन्न त सक्तिन, तर जहाँसम्म लक्षण हेरेर भन्ने हो भने मास्टर साहेबलाई इन्सेफेलाइटिस भए जस्तो छ। नसके बीरगंज सके त काठमाडौ नै पुर्याउनु बेस होला’ गाउँको कम्पाउण्डर दिनदयाल झाले भने।
मास्टर साहेबको जिरतिया मोहन मिसिरले दिन दयालको सल्लाहमा प्रतिक्रिया जागेर गरे ‘मेरो, खेतको धान काट्ने बेला भएको छ। मैले बीरगंज जान मिल्दैन। राम्रो गरी धानको थान्को मान्को नलगाए वर्षभरि के खानु र के अर्को वर्षको खेतीका लागि राख्न? यति ठूलो परिवार पाल्नु भनेको ठट्टा हो? बरु धुपलाल माझी गए हुन्छ। शहर पनि देख्न पाउँछ। तिम्रो त फकत एउटी आमा ………………..। बाल न बच्चा निन परे अच्छा।’
 धुपलाल माझीले तत्काल नै प्रतिक्रिया जाहेर गरे ‘जिरतियाले कस्तो अमिल्दो कुरा गरेका होला? लकबाले मारेको आमालाई एक्लै छाडेर म जाँउ खुब, शहर घुम्न। हत, अजब रे जमाना। गाउँघरमा के भन्छन्, त्यसको अलिकति भए पनि परवाह गर न हो।’
जिरतियाको अनुहारमा बिरक्ति देखियो तर बिरक्तिएको अनुहारमा बेदनाको झल्को ल्याउने अभिनय गर्दै उनले भने ‘यो स्कुलको पिउनलाई मास्टर साहेबसँग पठाउनु पर्दछ। मास्टर साहेबलाई केही परे यसले न हेरे कसले हेर्ने? मास्टर साहेबलाई हेर्नु पर्ने दायित्व बोकेको पहिलो व्यक्ति पनि त यो नै हो। यसले नगरे अरु कसले गर्ने?’
मेरो घरबाली दुई जिउकी छ। आज हो कि भोलि? यस्तो ……..? यस्तो बेलामा छाडेर गए, त्यसले के भन्छे, गाउँका मान्छेहरुले के भन्ने छन्?’ गाउँको स्कुलको पिउन किसोरीले बाध्यता प्रकट गर्यो।
‘बलदेव महरा, तिमी नै गई देउ न। हेर, मास्टर साहेबको म जिरतिया सिबाए यहाँ कोही पनि छैन। दाजुभाइहरु भए पनि काठमाडौमा होलान। बाँकी सबै वहाँका सन्तान विदेशमा छन्। कसरी, कसलाई बोलाउने, के गरौ? हेर, दया गर। दुख परेको बेलामा टाढाको आफन्त भन्दा नजिकका छिमेकी काम लाग्छन, भन्छन’ जिरतियाले नम्र भएर अनुरोध गरे।
‘बाजा बजाउन मैले हजारमा सट्टा बाँधेको छु। पर्सी नै बजाउनु छ। एक हजार बैना पनि लिइसकेको छु। बिहा हो कि पूजा हो राम्रो गरी थाहा छैन तर जसरी भए पन आउनु। यदि नआए ठीक हुने छैन भनी धम्क्याएको छ उसले’ बलदेव महराले विवशता प्रदर्शित गर्यो।
साथमा जाने कोही मान्छे नपाएसम्म बैद्यजीलाई गुहार गर्ने टुङ्गोमा पुगेर मास्टर साहेबलाई बीरगंज पठाउने प्रकरणले विश्राम लियो। मास्टर साहेबलाई खासै फाइदा हुन नसकेता पनि भोलिको सम्भावना ‘बीरगंज जाने’ लाई उपयोग गर्न सकिने, आशाले तेलको काम गरेको थियो निभ्न थालेको बत्तीमा र त्यही आशले मास्टर साहेबलाई बाँच्न थप उर्जा प्रदान पनि थियो। मास्टर साहेबले बेलाबेलामा भन्ने गर्नु हुन्थ्यो पनि ‘आशा बलबति राजन् शल्यौ जयति पाण्डवम …………….. ।’
आंगनमा ओछ्याइएको चटाईमा मास्टर साहेब सुतिरहेको बेला बौनी बुढियाले वहाँलाई देखेर प्रसन्न मुद्रामा भनी ‘मास्टर साहेब मेरा छोराहरु पन्जाब जान तयार भए नि, आउने पूर्णिंमामा पन्जाबतिर लाग्छन्। बल्ल बल्ल तयार भए। त्यो पनि दसवटा कथा कहानी सुनाए पछि। तर पनि मलाई संका छ। तिनीहरुलाई तपाईको अगाडि ल्याइदिन्छु, एकचोटी राम्रो गरी सम्झाई दिनुहोस् न। पन्जाब गएर धन कमाए पछि अलिकति भए पनि मति फिर्ला। मसँग घरी घरी अंश माग्ने काम छाड्लान। धन आए पछि बुद्धि पनि आउला नि।’
मास्टर साहेब सार्है सिकिस्त भएको बौनी बुढियालाई थाहा थिएन। देखेपछि मात्र थाहा पाई। नजीक पुगेर भनी ‘मास्टर साहेब, तपाँईलाई सन्चो रहेनछ। आराम गर्नुहोस्। तपाँईलाई निको भए पछि सल्लाह माग्न आउँला।’ यति भनेर बौनी बुढिया उठी।
उठ्न थालेको देखेपछि मास्टर साहेबले उसलाई बस्न आग्रह गर्नुभयो। बौनी बुढिया बसी। अलि नजीक आउन हातले इशारा गर्नु भयो मास्टर साहेबले। बिस्तारै भन्नु भयो ‘छोराहरुलाई पन्जाब नपठाउनु है। भोकै बस्छौ तर सबै जना एकै ठाउँमा बस्छौ भनी तिमीले भनेको एकदमै ठीक रहेछ। तिमीले यो कुरा मलाई धेरै वर्ष पहिले नै भन्नु पर्ने थियो। धेरै वर्ष पहिले सुनेर त्यसको अर्थ बुझ्न पाएको भए ……………… तर के गर्नु, आफू नमरी स्वर्ग देख्न पाइँदैन। म भन्दा पनि ठूलो शिक्षक त तिमी पो रहिछौ। नमरी नै स्वर्ग देख्यौ।’
यति भनी सिध्याए पछि मास्टर साहेबको पहेंले अनुहार मा आँसुको वर्षा भयो। मास्टर साहेब रोएको देखेर बौनी बुढिया पनि रोइ। मास्टर साहेबले छोराहरुलाई पन्जाब नपठाउन भनेकोमा निकै आश्चर्य चकित पनि भई। बिस्तारै आफूले मात्र सुन्ने गरी बोली ‘मास्टर साहेबले छोराहरुलाई पन्जाब पठाउन मलाई किन सल्लाह नदिएको होला? पहिले पहिले त निकै पठाऊ पठाऊ  भन्नु हुन्थ्यो। मैले नै नमानेको। खोइ के हो? केही बुझ्न सकिएन। मान्छेहरुले भनेको ठीकै रहेछ - म मान्छे कदको पनि सानो मगज पनि सानो।’
मास्टर साहेबले एकटकले बौनी बुढियालाई हेर्नु भयो।
बौनी बुढियाले आँखाको आँसु पुछ्दै भनी ‘केही सहयोग चाहिए भन्नु होला मलाई, तेतिका छोराहरु भएको के काम?’
छेउमा बसेको जिरतिया मोहन मिसिरले बौनी बुढियाको कुरामा आश्चर्य तथा खुसी प्रकट गर्दै मास्टर साहेबको अनुहारमा हेरे अनि त्यसपछि भने ‘ल अब भोलि नै बीरगंज जाने’। मोहन मिसिरको कुरा सुनेपछि मास्टर साहेबको पँहेलो अनुहारमा अलिकति लाली पोखियो।
घर फर्केपछि छोराहरुतिर हेर्दै बौनी बुढियाले भनी ‘ ए सुनेउ तिमीहरुले पन्जाब जानु हँदैन। कमाएर घर फर्किदा बाटोमा चोर डाँकुहरुले सखाप पारि दिन्छन्। ज्यानै मार्न पनि बेर लगाउँदैनन् रे।’ छोरा बोहारीहरुले बौनी बुढियालाई धेरै बेरसम्म हेर्या हेर्यै गरे।

विश्वराज अधिकारी

Monday, December 5, 2011

The Judgement - Story 12 - Bahaliya


पन्चैति

‘रामदुलारीलाई खोइ यहाँ ल्याएको? मुखिया साहेब गर्जे’।
‘अघि नै ल्याइसके मालिक। ऊ त्यो टाटको पछाडि मुख छोपेर उभिएकी छे। भन्छे जनीजात भएर त्यत्रो भरी सभामा कसरी जानू’ चौकिदार रामलखनले भारी स्वरमा भन्यो।
‘राम्रो मुखले भनेको मान्दिन त्यसले, जा लछार पछार गरेर नै भए पनि ल्या, यो भरि सभामा। त्यो रण्डीलाई छाड्नु हुँदैन’। मुखिया साहेबले आदेश दिए।
मरेको कुकुरलाई डोरीले बाँधेर घिसारे झै रामदुलारीलाई चौकिदार र उसका दुई  सहायकहरुले त्यहाँ ल्याए अनि सभाको मध्य भागतिर हुत्याए।
‘मेरो कसुर के हो मालिक? किन मरेको कुकुरलाई झै मलाई घिसारेर ल्याएको यत्रो भरिसभामा?’ रामदुलारीले सोधी।
रामदुलारी थुचुक्क भुँइमा बसी। धोतीको एउटा छेउले एउटा आँखा मात्र देखिने गरी मुख छोपेकी थिई उसले।
एक वर्ष पहिले मात्र रामदुलारीको बिहे भएको थियो। रामदुलारीले मुख छोपेकी भएता पनि शारीरिक सुसंगठनबाट नै, प्रशस्तै गरी उसको सुन्दरता प्रदर्शित भएको थियो। ज्यादै क्रोधित भएको अनुभव गर्दै मुखिया साहेबले आँखा गाडेर रामदुलारीको भूगोलको अध्ययन निकै समय लगाएर, व्यवस्थित किसिमले गरे। पन्चैतिमा उपस्थित सबैले मुखिया साहेब ज्यादै क्रोधित भएको अनुमान गरे।
रामदुलारीले पुन: दोहर्याइ ‘मालिक मेरो कसुर के हो? म जनीजातलाई किन यत्रो भरिसभामा, र त्यसमा पनि लोग्ने मान्छेहरु मात्र भएको ठाउँमा बोलाइएको?’
‘हेर त, यसको मुख कस्तो छुरा जस्तो चलेको? यसले के कसुर गरेकी छे, भनी दे ए भिखर’ मुखिया साहेबले भने।
भिखर सभाको मध्य भागमा आयो अनि न्याय पाउने शैलीमा चिच्यायो ‘मालिक, पन्च भलादमीहरु, मेरो घरमा त बज्र नै पर्यो। बज्र प्रहार गर्ने अरु कोही नभई यो रण्डी रामदुलारी नै हो। यसले मेरो छोरालाई मारी। कस्तो भलाचङ्गा थियो अस्तिसम्म त्यो। भलाचङ्गा रहेको छोरालाई के पेसना पेसि दिई यसले, हिजोदेखि पेट दुख्यो भन्दा भन्दै आज भोरबामा भगबानको घरमा गइ गयो। यो सबै ऐ रण्डीको कमाल हो। यो बड्का डाइन (बोक्सी) हो। सबै पन्चभलादमीहरुको अगाडि दुबै हात जोड्छु, दाढी समात्छु, खुट्टैमा गिरछु, न्याय पाउनका लागि। यसले या त मेरो छोरालाई जीआइ देओस्, होइन भने यसलाई पनि भगवानको घरमा पुर्याइयोस्।’
सभाका सहभागीहरु एकदमै शान्त भए, कुनै फिल्मको दुखान्त दृश्यमा दर्शकहरु शान्त भए झै।
‘तेरो छोरालाई यसले मारी भन्ने के प्रमाण छ, तँसँग?’ मुखिया साहेबले भिखरलाई प्रश्न गरे।
भिखरले सभातिर फर्केर भन्यो ‘मैले यो गाउँको महसूर धामी (झाँक्री) गोगाईलाई देखाए। उसले भन्यो- तेरो छोरालाई कुनै डाइनले पेसना पेसे जस्तो छ, त्यसैको नजर गुजरको कमाल हो, कुनै राम्रो टेकामा लैजानु पर्छ तेरो छोरालाई। अहिलेलाई भने त्यो डाइनको नजर गुजरको कम गरिदिएको छु।
भिखरले फेरि भन्यो ‘मैले गोगाई धामीलाई त्यो डाइनको नाम पनि सोधेंको थिए, त्यसले भन्यो – मैले त्यो डाइनको नाम भन्न हुँदैन। मैले नाम भने पछि मेरो धामी विद्या समापत हुन्छ, सँधैका लागि। यति मात्रै के भन्छु भने त्यो डाइन तेरो वरपर रहेको कुनै एउटा घरको हो र त्यो आइमाई हो।

भिखरले भन्ने क्रम जारी नै राख्यो ‘मेरो घर नजीक यसैको घर छ। यसलाई सबैले डाइन भन्छन्  पनि। फेरि, यसले अस्ति मेरो घरबालीलाई भनेकी थिई रे – तेरो छोरालाई काँच्चै चबाई दिनेछु। त्यसैले यो बाहेक अरु को हुन सक्छ मालिक?’ भिखरले भन्यो।
‘यसले भनेको एकदमै मनासिब हो मुखिया साहेब। एक महिना पहिले यसले तेतरीको छोरालाई पनि काँच्चै चबाई दिन्छु, भनेको थिई, नभन्दै एक महिना  भित्रमा नै तेतरीको छोरा गयो परमधाम’ आन्नदीले थप्यो भन्यो।
‘तेरो भन्नु के छ ए, डैनिया?’ मुखिया साहेबले अति क्रोधित मुद्रामा प्रश्न सोधे त्यस पछि रामदुलारीको भूगोल अध्ययन गर्न पाउने मौकालाई पुन: कुशलतापूर्वक उपयोग गरे।
रामदुलारीले भनी ‘म उसको छोरालाई निकै माया गर्दथें। कति चोटि उसलाई मछरीको तरुबा ख्याएको पनि छु। हिजो भिखर भैयाको भैसीले मेरो बारीको भरखरै बाला लाग्न थालेको लहलहाउँदो मकैको विरुवा चपाउन थालेपछि आफ्नो क्रोधलाई नियन्त्रण गर्न सकिन। आवेगमा भन्न पुगें, कुन अधर्मी, मुरकट्टको यो भैसी हो? यो भैसीले जसरी मेरो मकैको विरुवा चबायो त्यसै गरी म त्यससको छोरालाई चबाई दिनेछु। मलाई के थाहा? मैले भनेको …….त्यस्तो हुनेछ। मेरो कसुर यति मात्रै हो मालिक’ यति भनेर रामदुलारी रुन थाली।
एक छिनका लागि वातावरण अति नै शान्त भयो। केवल रामदुलारीले रोएको सुनियो। तर क्षणभर पछि नै त्यो शान्त वातावरण खलबलियो।
टेनी महराले सबैको ध्यान आफूतिर आकर्षित हुने गरी करायो ‘हेर, हेर यो रण्डीले बहाना बनाएकी। साले, नौटंकी गर्छे। यसलाई बिष्टा ख्वाउनु किन ढिलो गरेको? खोई, केही थाहा पाउन सकिएन। जय भोले शंकर ………..कस्तो दिन देख्नु परेको होला।’
अघिदेखि चुप लागेर बसेका कम्पाउण्डरले आग्रह गर्दै भने ‘मैले पनि केही भन्ने मौका पाउँछु? यो भरि सभामा?’
मुखिया साहेबले आदेश दिए ‘ल भन्नुस, के ………भन्न खोजेको हो तपाँईले।’
‘भिखरको छोरा धेरै दिन देखि बिमार थियो। सायद निमोनिया हुन सक्छ। मलाई त त्यो बच्चा निमोनियाले नै मरेको जस्तो लाग्छ’ कम्पाउण्डरले सबैले सुन्ने गरी भने।
सभाको पुछारमा बसेको गोगाइ धामी जुरुक्क उठ्यो अनि गर्ज्यो ‘निस्क्यो एउटा उपबुज्रुक्। यो कम्पाउण्डरले सत्य बोल्दैन, पन्च भलादमीहरुल। यसलाई त रामदुलारीको मिलनुआ भन्छन, गाउँका सारा मान्छेहरुले। यो नाथे कम्पाउण्डरको कुरा पत्याएर समय बर्बाद गर्ने हो भने यति ठूलो पन्चैतिको के अर्थ? उठ ए साथी भाइहरु, यस्तो पन्चैतिमा के बस्नु? कस्तो जमाना आयो? गजब रे जमाना। जय भोले शंकर, तिमीले नै रक्षा गर्नु।’
रामदुलारीको पतिलाई भने एक शब्द सम्म पनि बोल्न समेत प्रतिबन्ध थियो। रामदुलारीलाई माया गर्नेहरुले शंकाको घेरा भित्र परी अनावश्यक विवादमा मुछिनु पर्ला भन्ने भयले गर्दा केही बोलेनन्, त्यो भरि सभामा।
एक बृद्ध उठेर चर्को स्वरमा करायो ‘यो डाइनलाई त्यसै छाड्ने हो भने अरु थुप्रैलाइ यसले सखाप पार्छे। को को मर्ने हुन यसको नजर गुजरले? भगवान, प्रभू!’
कुर्सीमाथि बसेका मुखिया साहेबले धेरै बेरदेखि कायम राखेको आफ्नो मौनता भङ्ग गर्दै घोषणा गरे ‘के भएको रहेछ, सबैलाई थाहा भइ हाल्यो। अब अझै खुलस्त पार्नु पर्ने देखिदैन। यसमा पन्चभलादमीहरुको के राय छ भन्नु पर्यो, उचित फैसला गर्न सहयोग पुर्याउनु पर्यो।’
यो घोषणा सकिए पछि एक जेष्ट नागरिक उसको हातमा रहेको लठ्ठी सोझ्याउँदै उठ्यो अनि भन्यो ‘अब ढिलो के को? यो निर्लज्ज चुरैनलाई बिष्टा ख्वाएर मात्र पुग्दैन। यसलाई गाउँ भरि घुमाएर, त्यसपछि यो गाउँबाट नै लखेट्नु पर्छ।’
त्यो जेष्ट नागरिकको रायमा सबैले हो, हो, ठीक छ भन्दै आ-आफ्नो मन्तव्य पोखे। टाउको पनि हल्लाएर स्वीकृति समर्थनलाई झनै दरो पारे।
सभाको पुछारमा बसेको सहदेव माझी छेउमा बसेकाहरुलाई घचट्दै उठ्यो। दुबै हात जोडेर कराउन थाल्यो ‘ओ है, ओ है, ओ है ……….ओ है। म मनुषदेवा हुँ। उ त्यो महँआको रुखमा बस्छु। रुखमा यसले पिसाब गरेको हुनाले मैले यसलाई समातेको हो। म यसलाई अब छोडदिन, ओ है, ………ओ है।’
‘ओ है, ओ हैको आवाज सुनेर गोगाइ धामी सहदेवको ज्यादै नजीक आयो। उसले सहदेवलाई बेतको लठ्ठीले चारचोटी हिर्कायो। सहदेव भुइमा थुचुक्क बस्यो, कुटाइको पीडाले।
गोगाइ धामी करायो ‘देख्यौ सबै जनाले, धामीको लठ्ठी खाने बित्तिकै कसरी भाग्यो साले मनुषदेवा, सरकट्टा यसको जिउबाट। अब एउटा रातो भाले र एक बोतल दारु चढाउनु पर्छ, ऊ त्यो महआको गाछीमा गएर। यदि त्यस्तो नगर्ने हो भने भागेको भूत फेरि फर्कन सक्छ यसको जिउमा।’
केही दर्शकहरु कराए ‘साले भूत बल्ल भाग्यो।’
अलि परैबाट यो दृश्य हेरि रहेका कम्पाउण्डर कराए ‘सहदेव दिमागी मरिज हो। यसलाई ठूलो अस्पताल लग्नु पर्छ, नत्र………’।
कम्पाउण्डरले वाक्य पूरा गर्न पनि नपाउँदै एउटा अर्को धामी करायो ‘यो कम्पाउण्डरको मगज फिरि गएको छ। भलाचङ्गा सहदेवलाई भन्छ यसले, बौराएको। यसलाई के थाहा सहदेवलाई पनि रामदुलारीले नै पेसना पेसिदिएकि हो भन्ने कुरा।’
सहदेवको बाबुतिर हेर्दै गोगाइ धामीले आदेश दियो ‘छिटै जाऔ उ त्यो महुआको गाछीमा, यो मनुषदेवा भूतलाई बाँध्न।’
एक सानो हुल गोगाइ धामीतिर हुत्यियो। अघि अघि सहदेव पछि पछि गोगाइ धामी अनि गोगाइ धामीको पछि भूतलाई बाँधेको हेर्न उत्सुक व्यक्तिहरुको भीड।
पन्चैति चलिनै रहेको थियो। रामदुलारी मुख छोपेर रुदै थिइ। एक अति जेष्ट नागरिकले आदेश दियो ‘ल अब छिटै बिष्टा ख्वाउनु पर्यो। सहदेआलाई यसैले मनुषदेवा भूत लगाई दिएकी हो। यो चुरैन कम खतरनाक छे? यसले मसान साँधेकी छे रे। दुर्गापूजामा भगबतीको मन्दिर अगाडि यसले नाङ्गै नाचेको भैसी चरवाहाहरुले देखेका छन्। यसका नहिरामा कम डाइनहरु छन्? ओ हो, त्यो गाउँको कुरा गरेर साद्दे नै छैन। हत कस्तो ………उफ।’
रामदुलारीलाई बिष्टा ख्वाउने कार्य बडो धुमधामका साथ सम्पन्न भयो। गाउँ घुमाउने कार्यमा कुनै विवाद नै भएन। गाउँबाट लखेटिने सजायमा भने रामदुलारीले माफी मिन्हा पाई मुखिया साहेबको अनुकम्पाले। सभामा उपस्थित सबै खुसी नै देखिए। केहिले भने खुसी देखिनु पर्यो, न चाहेर पनि। रामदुलारीको रुप, यौवन, सम्पन्नता, बुद्धिमता, स्वाभिमानी र मिलनसार स्वभावदेखि जलेकाहरु भने अरुभन्दा अलि बढी नै खुसी देखिए, रामदुलारीमाथि भएको कार्यवाहीबाट।
रातको दोस्रो पहर थियो। मान्छेहरु केही पर, त्यो गाउँमा रहेको आमको फूलबाडीमा बोलेको सुनियो। रामदुलारी घरमा एक्लै थिई। उसको लोग्ने उसंग रिसाएर छेउको गाउँमा, आफ्नो फुआको घर गएको थियो। रामदुलारीले सतर्कतापूर्वक, कान ठाडो पार्दै फूलबाडीबाट आउँदै गरेको आवाज चिन्ने प्रयास गरी।
आवाजहरु यस्ता थिए ‘रामदुलारीको लोग्नेलाई यो गाउँबाट लखेट्नै पर्छ कुनै न कुनै तरिका निकालेर।’ ‘तिमीले रामदुलारी ……. त्यसो हो भने घर घडारीमा चाहिँ म कब्जा जमाउँछु, मेरो संधियार पनि त हो नि’। ‘साले दुई कौडीको कम्पाउण्डर, आफूलाई बडका भारी डांकडर सम्झिन्छ। मेरो त आम्दानी नै खतम पार्न थालेको थियो, त्यसले दबाई बेचेर। त्यसको कुरा चल्ने हो भने को आउँछ मसँग भूतप्रेत झराउन? त्यो ससुरालाई पनि गाउँ कटाउनु पर्छ।’ ‘त्यसको दबाईको दोकानलाई भोलि जय सियाराम बोलाउनु पर्छ।’ ‘बढी निहुँ खोजे भने कि गरि दिने हो, राम नाम सत्य है, त्यो ससुरा कम्पाउण्डरको।’
वातावरण एक छिन निकै शान्त भयो। कुकुरहरुले पनि कराउन छाडेका थिए। तर एक छिन पछि भने एक अन्ध्यारो दिशाबाट एक भारी स्वर गर्जियो ‘ए ससुरका नातीहरु हो, रामदुलारीको घरमा पस्नु नै थियो, त्यो काम ………..का लागि भने किन यत्रो सयौले देख्ने खालको प्रपञ्च रचेको। मलाई भनेको भए, दु चार जना खलिफाहरु पठाइ दिन्थें आप से आप तयार हुन्थी ………त्यो। आज दुइ जना मात्रै त्यसको घरमा ….बढी जाने होइन नि।’
परिचित आवाजहरु चिन्न रामदुलारीलाई खासै गार्हो भने भएन, ती आबाजहरु टाढैबाट आएको भएता पनि। अब रामदुलारीले आफूलाई गाउँबाट आफैले निकाला गर्ने फैसला गरी। आफ्नो फैसलाबाट सन्तुष्ट पनि भई ऊ, तर तत्काललागि। घरमा भएका सारा सामानहरुलाई जस्ताको त्यस्तै रहन दिएर सुटुक्क निस्की, दक्षिण तिरको गाउँमा जान, जहाँ उसको मौसीको घर थियो।
भोलि पल्ट दिउँसोको कुरा हो, मुखिया साहेब त्यस गाउँमा रहेको प्राइमरी स्कूलका शिक्षकहरुको बीचमा थिए।
एक शिक्षकले बल्लतल्ल हिम्मत झिकेर भने ‘रामदुलारी त यो गाउँ छोडेर भागी छे नि! उसलाई बिष्टा ख्वाउने काम त अलि बढी नै भयो, होइन र?’। यति भन्दा भन्दै ती शिक्षकको स्वर भावी परिणामको डरले लरबराएको थियो। आवेसमा आएर बोलेकोमा  मनमनै पछताउ पनि गरे।
मुखिया साहेब रिसाएर गर्जिनुको साटो शान्त देखिए। शान्त मुद्रामा उनले भने ‘त्यो त हो, मास्टर साहेब, तर त्यो बोक्सी भएको हुनाले नै गाउँबाट भागेकी हो। त्यो बोक्सी हो भन्ने कुरामा कुनै सन्देह छैन।’ रामदुलारी माथि गरिएको कार्यवाहीलाई उचित देखाउन मुखिया साहेबले पेश गरेको तर्क माथि त्यस गाउँका शिक्षकहरुलाई भने विश्वास भएन। तर मुखिया साहेब भने खुसी थिए, उनको योजना सफल भएकोमा, र त्यो योजनाको बारेमा शिक्षकहरुले संका समेत नगरेकोमा। तर दुखी पनि थिए राम दुलारीले गाउँ नै छाडेर गएकोमा।

विश्वराज अधिकारी



Monday, November 14, 2011

Laxminia - Story - 9 Bahaliya


लछमिनिया

‘मुर्गमुर्गी छैन, लछमिनिया?’ दरोगबाले सोध्यो।
लछमिनियाले तलदेखि माथिसम्म दरोगाबालालाई हेरी। भरिएको गाला। चौडा छाती। ओसत उँचाई। सेतो वर्ण। ठूला-ठूला आँखा। मधुरो तर प्रष्ट बोली। अनुहारले सोझो देखिएता पनि आँखामा आत्मविश्वासको चमक। लुँगी र सेन्डो गंजीमा अर्ध पारदर्शी शरीर।
प्रश्नको उत्तर दिन बिर्सेकी लछमिनियाको दृष्टि धेरै बेर दरोगबामा गाडिएकोमा झसंग हुँदै आँङ्गनमा चर्दै गरेको भालेहरु तिर हेर्न खोजेको भान पार्न खोजी अनि भनी ‘छ, उ चर्दै गरेका ती भालेहरु हुन’।
‘ऊ त्यो चाँहि भाले ठीक छ। त्यस्तै चाहिएको पनि हो। एक सेर मासु त होला नि?’ दरोगबाले अनुहारमा प्रशन्नता पोख्दै भन्यो।
‘एक सेर मात्र, डेढसेर भन्दा बढी होला’ लछमिनियाले भनी।
एउटा पोथीको छेउमा चर्दै गरेको भालेलाई लछमिनियाले केही बेर हेरी त्यसपछि दरोगबालाई सोधी ‘तिम्रो नाम के हो? अनि घर …………?’
‘मेरो नाम दरोगबा हो। यै गाउँको स्कूलमा काम गर्छु। घर मेरो अन्तै हो। यहाँ स्कूलमा नै बस्छु’ दरोगबाले भन्यो।
‘मुर्गामुर्गी कसका लागि चाहिएको हो? किनेर बेच्नका लागि हो कि?’ लछमिनियाले उत्सुकता मिश्रित मुद्राले दरोगबाको अनुहारतिर हेर्दै सोधी।
‘होइन, होइन, हेडमास्टर साहेबको लागि चाहिएको हो। आज मुर्गाको मासु खाने रे’ दरोगबाले भन्यो।
‘ए त्यस्तो हो भने अलि सस्तो मै मिलाई दिउँला नि। साच्चै लिने हो त?’ लछमिनियाले प्रश्न गरी।
लछमिनियाको बिहे भएको दुई महिना पनि भएको थिएन पूरा गाउँ नै बिग्रेको थियो। हैजाको डरले सबै थर्कमान थिए। अर्को गाउँबाट आउने मान्छेहरु त्यो गाउँको छेउबाट जान्थ्ये भने त्यो गाउँको मान्छेलाई अर्को गाउँमा जान पूर्ण निषेधित गरिएको  थियो।
प्रत्येक दिन वा बिराएर चिता जलेको दृश्य देखा पर्नु सामान्य जस्तो भइसकेको थियो। त्यसबेला जलेका चिताहरु मध्ये एक लछमिनियाको पति रोगाईको पनि थियो। एक महिनासम्म मच्चाएको हैजाको ताण्डव नृत्यले गाउँलेहरुमा घोर निरासा र त्रास छाएको थियो। मर्नेहरुमा लछमिनियाको पति बाहेक सासु, ससुरा, देवर तथा नन्दहरु पनि थिए। त्यो बेला देखि नै लछमिनिया एकलै बस्दै आएकी हो।
हैजाले परिवार सखाप पारेको पच्चिस वर्ष बित्दासम्ममा बिहे गर्ने इच्छा धेरै पटक मडारिएको थियो लछमिनियाको मस्तिष्कमा। एक बिघा खेतीहर जमीन, दुई हल गोरु र खान लगाउन प्रशस्त भएकी लछमिनियाले बिहे गर्ने निर्णय भने गर्न सकेकी थिइन तर हँसुली, काँडा, बाजु, मठ्ठा जस्ता गहनाहरु खँदिलो किसिमले बनाएकी थिई। खोँठिला, मात्रै थियो एक तोला सुनको। गाउँमा धेरै पटक डाँका लाग्दा मुस्मातसँग, त्यो पनि एक्लै बस्नेसँग के धन सम्पत्ति होला र भनेका थिए रे डाँकाहरुले। धेरै टाढाबाट डाँकाहरु आउने हुनाले उसको धन सम्पत्ति बारे सुँइको पाउन सकेका थिएनन्। वर्षेनी सत्यनारायण भगवानको पूजा गराउने हुनाले इश्वरको कृपा उसमाथि थियो की? गाउँलेहरुले त्यस्तो पनि अडकल काटेका थिए।
दरोगबाले मुर्गा किनेर लगेको धेरै दिन बिति सकेको थियो। लछमिनियाको आँखाबाट भने दरोगबाको चित्र हराउन सकेको थिएन। त्यस्ता धेरै चित्रहरु पहिले पहिले उसको आँखा अगाडि निकै मडारिने भएता पनि ती मध्ये कुनैको पनि आयु लामो हुन सकेको थिएन। लछमिनियाको आँखा आँगनमा चरि रहेको मुर्गा मुर्गीतिर भएता पनि ध्यान भने दरोगबाको सम्झनामा नै केन्द्रित थियो।
दरोगबा फेरि लछमिनियाको आँगनमा आउन थालेको देखा पर्यो। टाढैबाट लछमिनियाले दरोगबालाई देखिसकेको हुनाले सन्दुक भित्रबाट हँसुली र बाजु झिकी, राम्रो गरी पुछपाछ गरेर लगाई। बजारबाट अस्ति मात्रै किनेर ल्याएकी लहटी पनि लगाई। डोलमा राखेको पानीले मुख धोई र धेरै बेर लगाएर मुख पुछी। धोतीलाई पनि अलि व्यवस्थित गरी। कोठीमाथि राखेको ऐनामा जमेको धूलो अचराले झारी अनि ऐनामा धेरै बेरसम्म हेरी। जवानीका दिनहरुमा घाँस काट्न जाँदा उसका साथीहरुले उसको गालाको प्रशंसा गरेको सम्झी। गाला छामी, पहिले जस्तो नै लाग्यो।
आँगनमा प्रवेश गर्दै दरोगबाले भन्यो ‘गाउँभरि खोजें तर भनेको जस्तो भाले नपाएको हुनाले तिमी कहाँ आएको। तिमी कहाँ खोजे अनुसारको भाले पक्कै पनि होला जस्तो लाग्यो मलाई’।
‘छ, छ मसँग एक से एक भाले छ। फेरि मलाई भाले मात्रै पाल्न राम्रो लाग्छ पनि। बरु कस्तो चाहिने हो, ठूलो, सानो अथवा ठीक्कको?’ लछमिनियाले दरोगबाको आँखामा सम्पूर्ण दृष्टि राख्दै सोधी।
‘ठीक्कको भए हुन्छ’ दरोगबाले भन्यो। दरोगबाको ध्यान चाँहि भालेको सौदामा नै केन्द्रित थियो। कति छिटो भाले लगेर पकाउने र पाहुनाहरुलाई ख्वाउने हतार थियो उसलाई।
‘ल ल छिटै गर’ दरोगबाले भन्यो।
‘किन हतार गरेको? सूर्य त अस्ताएको छैन। रातिको खानाको लागि यत्रो हतार?’ बस, बीडी पिउँछौ? एक नम्बरको छ’ लछमिनियाले भनी अनि खुँट खोलेर बीडीको मुठ्ठा झिकी। हातमा बीडी राखेर दरोगबातिर फर्काइ। बीडी दिने क्रममा लुगा अर्ध पारदर्शी हुन गएको दरोगबा भन्दा लछमिनियालाई बढी महशूस भयो
राती अबेरसम्म मनमा अनेक कुराहरु खेलिरहेको हुनाले लछमिनियाको आँखामा निद्राको नाम निसान पनि थिएन। दरोगबा उसको घरमा घरी घरी आउनुको अर्थ खोज्दै थिई। आफैलाई प्रश्न गरी – मुर्गा मुर्गी भने जस्तो अन्त पनि त पाउन सकिन्छ। तर मेरो घर नै किन रोज्छ उसले? मेरो घरमा नै किन आउँछ घरि घरि। मेरो अगाडि ऊ किन खुल्न नसकेको? लोग्ने मान्छेहरु छिटै खुल्न सक्छन् भन्छन। त्यस्ता धेरै प्रश्नहरुको उत्तर खोज्दा खोज्दै लछमिनियालाई रातको तेस्रो पहरमा निद्रा परेको थियो।
दरोगबा यो पटक लछमिनियाको आँगनमा आउनुको कारण पनि पुरानै थियो। अन्यत्र भाउ मिल्न सकेको थिएन, मुर्गा मुर्गी किन्न मोल मोलाई गर्दा।
‘के कामले आयौ ए दरोगबा?’ लछमिनियाले हाँस्दै सोधी।
‘अरुहरुले धेरै महँगो भने। तिमी कहाँ राम्रो भाउमा पाइन्छ कि भनी आएको’ दरोगबाले भन्यो।
‘बराबर आइरहनेलाई किन महँगो गर्नु? आ, भाउ न साउ? बरु भन, आँगनमा भएका ती मुर्गाहरु मध्ये कुन लिने हो? तिमीले खोजेको भाउ मै दिन्छु’ लछमिनियाले मुहारमा प्रशन्नता ल्याउँदै दरोगबालाई खुलस्त पार्न आग्रह गरी।
‘उ त्यो रातो भाले भए हुन्छ। बरु छिटै समात्न लगाई देउ, हतार छ’ दरोगबाले भन्यो।
‘तिमी त गजबको मान्छे रहेछौ? जहिले पनि हतार नै रहन्छ तिमीलाई? तिम्री आमाले हतार मै जन्माएको हो कि क्या हो, तिमीलाई? बस। एकै छिन भए पनि बस’ भन्दै चटाई ओछ्याइ दिई, दरोगबाका लागि। लछमिनियाले भन्ने क्रम जारी नै राखी ‘बीडी पिउँछौ, कि कंकड? बीडी चाँहि गजबको छ। हिजो मात्रै कटहरिया बजारबाट किनेर ल्याएको। लङ्ग इलाइची खान्छौ भने त्यो पनि छ। अलिकति मिस्री पनि छ। चिसो पानीसँग मिस्री खुब स्वादिलो हुन्छ, चाखेर हेर्छौ। होइन भने जे खान इच्छा लाग्छ त्येही खाउ।’
भाव शून्य मुद्राले लछमिनियातिर हेर्यो दरोगबाले अनि ओछ्याएको चटाईमा बस्यो।
‘घरमा तिम्रो को को छ’? लछमिनियाले भरखरै बसेको दरोगबासँग प्रश्न गरी।
‘तीन वटी बहिनी, दुई वटा भाई अनि बाप मतारी’ दरोगबाले उत्तर दियो।
आश्चर्य भन्दा खुसी मान्दै उसले पुन: सोधी ‘अहिलेसम्म बिआह गरेको छैनौ?’
‘बच्चामा भएको थियो। सर्पले टोकेर उसको मृत्यु नहिरामा नै भयो रे। त्यसपछि, खोइ अहिलेसम्म बिआह भएको छैन’ दरोगबाले खुलस्त पार्दै बेलिबिस्तार लगायो।
‘तिमीले मेरो बिआह गरिदिनु भनेनौ, बाप मतारीलाई?’ लछमिनियाले कौतुहलतालाई रोक्न नसकी झ्वाट प्रश्न गरी।
‘आफ्नो बिआहको कुरा आफैले कसरी गर्नु? धत्’ दरोगाबाले पनि तत्कालै उत्तर दियो। बिआह नै नगरी बस्छौ त?’ लछमिनियाले प्रश्न गरी।
प्रश्नमा प्रतिप्रश्न गर्दै दरोगबाले सोध्यो ‘बिआह नगरी बस्न सकिदैन र? तिमीले पनि त यत्रो उमेर एक्लै काटे जस्तो देखिन्छ, बिआह नगरेर। तिमी पनि त नितान्त एक्लै छेउ, होइन त?’
लछमिनियालाई प्रतिप्रश्न गरि सके पछि ‘ओ हो अन्ध्यारो हुन आँट्यो’ भन्दै दरोगबाले मुर्गालाई काखी च्यापेर घरतिर लम्क्यो।
लछमिनियाले आफैले पकाएका कुराहरु खाँदा कुनै बेला हाँसो कुनै बेला रीस उठिरहेको थियो। दालमा नून सून्य। भात काँच्यै। तरकारीमा नुन अति चर्को। किन होला आज यस्तो भएको? आफैसँग प्रश्न गरी। भात लगेर आँगनमा हुर्याई।
भालेहरु रमाउँदै तँछाड मछाड गर्दै फालिएको भात टिप्न थाले। भालेहरुको कक…….कक…….कक……….आबाज सुनेर के भो कुन्नी छेउको पिंढा उठाएर त्यसलाई टाउको सम्म पुर्याउँदै हिर्काइ ती रमाउँदै गरेका भालेहरुलाई लछमिनियाले। एउटा सेतो भाले नराम्रो गरी घाइते भयो। अरु भालेहरु सुरक्षित दिशातिर लागे। घाइते भाले खुट्टा खोच्याउँदै निकै पर पुग्यो। भाले कराउँदै थियो कट्कट् कटास कट्कट् कटास। त्यो घाइते भालेलाई धेरै बेर लछमिनियाले हेरी अनि लामो साँस लिई। बिहान देखि मुजेलियामा रखेको रहरीको गेडा जाँतोमा हालेर जाँतो चलाउन थाली। घडघड घडघड घडघड घडघड आबाज धेरै बेरसम्म आएको सुनियो।
लछमिनियाको आँगनमा दरोगबा फेरि देखा पर्यो अप्रत्यसित किसिमले।
‘भाले चाहिएको होला, होइन त?’ लछमिनियाले सोधी।
‘तिमीले गरेको अनुमान बिल्कुल ठीक छ। एउटा राम्रो मुर्गा चाहिएको छ। थुप्रै पाहुनाहरु आएका छन् हेडमास्टर साहेब कहाँ, सायद ससुराली तिरका हुन कि? अन्त त्यति ठूलो भाले नपाइएला भनेर सरासर तिमी कहाँ आएको। फेरि, तिमी कहाँको भाले गजबको हुन्छ। खाए पिएर मस्त भएको। एकदम एक नम्बरको’ हतारिदै दरोगबाले भन्यो।
दरोगबातिर केही बेर नियालेर हेरे पछि लछमिनियाले जबाफ दिई ‘छैन भाले टाले’।
‘उ ती चर्दै गरेका भालेहरु तिम्रै त हुन नि?’ आश्चर्य मान्दै दरोगबाले सोध्यो।
‘ल, ल ल ती भालेहरु मेरै हुन, म बेचदिन। के गर्छौ? बेच्ने इच्छा पनि त हुनु पर्यो मलाई?’ लछमिनियाले प्रश्न गरी
‘राम्रो दाममा लिन्छु। तिमीले भनेकै ………..’ दरोगबाले आग्रह गर्यो।
‘भो भो बेचदिन’ लछमिनियाले भनी।
‘ल त भैगो, किन कर गर्नु’ भन्दै दरोगबा जुन दिशाबाट आएको थियो त्यतै लाग्यो।
ठीक वा बेठीक के गरियो, लछमिनियाले छुट्याउन सकिन तर मुख मित्र पसेको नीमको तरकारी थुक्दा हुने सन्चो जस्तो महशूस भयो उसलाई। आँगनमा उभिएर दरोगबा गएको धेरै बेरसम्म हेरी। धेरै टाढा पुग्दासम्म पनि दरोगबाको टाउको माथिको सेतो मुरेठ्ठा देखिदै थियो। एक चोटी फर्केर आउला र तिमी किन यसरी अचानक रिसाएको भनी दरोगबाले सोध्ला जस्तो लागेको थियो लछमिनियालाई। तर उसको त्यो कल्पना सत्यमा परिणत हुन सकेन। अलि अलि देखिएको दरोगबाको मुरेठ्ठा पनि सडक बीच भएको पाकडको रुखले छेकिएर अदृश्य भइसकेको थियो। पिढीमा राखेको घैला उठाएर इनार तिर लागि। बाटोमा देखा पर्ने कोही सँग पनि बोलिन् लछमिनियाले।
सोडर हालेर उमालेको लुगालाई बेस्सरी पिट्दै थिई लछमिनियाले, हातमा रहेको पिट्नाले। कुनै बेला पिट्ना पटरी बाहिर परी भुँइमा बज्रिन पुगद्थ्यो। पिटनाको भारी चोटले कुनै बेला लुगा नै च्यतिने हो कि जस्तो हुन्थ्यो। लछमिनियाले दरोगबालाई टाढैबाट देखी। दरोगबा उसको घरलाई छेउ पार्दै अगाडि बढ्दै थियो।
लछमिनिया कराई ‘हो दरोगा, यता आउ यता। मुर्गा किन्न हिँडेको हो कि क्या हो?’ अघिसम्म डरको मुद्रामा रहेको दरोगबा लछमिनियाको प्रश्न सुनेपछि तत्काल प्रशन्न मुद्रामा देखियो र हाँस्दै भन्यो ‘हो, मुर्गा नै किन हिँडेको। तर तिमीले मुर्गा नबेच्ने भनी किरिया नै खाएकी थियौ त’।
‘होइन, होइन, साच्चै, बेच्नु छ। तिलबासकरातमा मौसीको घर जानु छ, रङ्गपुर, सनेस लिएर। लाई, सठौरा, मसुलार लग्ने बिचार छ यो पटक’ भन्दै लछमिनियाले दरोगबालाई पिढीमा बस्न इशारा गरी हातले।
‘कस्तो भाले चाहिने हो तिमीलाई’ लछमिनियाले प्रश्न गरी।
‘सानो भए हुन्छ’ दरोगबाले उत्तर दियो।
‘ल ल हुन्छ’ भन्दै कोठा भित्र आउन आँखाले संकेत गरी उसले दरोगबालाई।
‘होइन, भालेहरु त बाहिर चरिरहेका छन, समात्नु पर्दैन? दरोगबाले खुलस्त पार्न अनुरोध गर्यो।
दरोगबा कोठा भित्र पस्यो। लछमिनियाले फाटक लगाई। दरोगबाले आश्चर्य मान्दै पुन: सोध्यो ‘मुर्गाहरु त बाहिर नै छन् जस्तो छ, समात्न बाहिर जानु पर्दैन र?’
'आज केही मुर्गाहरुलाई भित्रै थुनेकी छु, मैले। खुला छाडे पछि तिनलाई समात्न फेरि गार्हो हुन्छ’ भन्दै लछमिनियाले फाटकको बिलैया लगाई दिइ।


विश्वराज अधिकारी

Monday, November 7, 2011

Dharkhan's Hen - Story - 8- Bahaliya


धरखनको मुर्गा

रोग लागेर सबै मुर्गा मुर्गी मरे पछि यो एउटा बाँकी रहेको भाले माथि नै धरखनको सबै आशा अडिएको थियो। यो भाले बेचे पछि उसले मुर्गा मुर्गी नपाल्ने लगभग निर्णय नै गरेको थियो। बरु खसी पालेको भए हुने। एकै पटक हातमा धेरै पैसा पर्ने थियो। तर खसीका लागि बकरी पाल्नु पर्ने अर्को झंझटयस्ता धेरै बिचारहरुको अन्तर द्वन्दमा धरखनको भाले जवान भएको थियो। भालेको जबानीले गम्छा किन्ने धरखनको इच्छालाई पनि तरुण पारेको थियो। अब बाँकी केही थियो भने त्यो थियो कुनै राम्रो समयमा डुमरिया बजार जाने, भाले बेचेर रातो, एक नम्बरको गम्छा किन्ने।
रातो गम्छाले धरखनलाई कत्ति लोभ्याएको थियो भन्ने कुराको कुनै सीमा नै थिएन। सिउनगरको मेलामा जुगलले त्यस्तो गम्छा काँधमा राखेको उसले बिर्सन सकेको थिएन।  धेरै गाउँले साथीहरुले जुगलको गम्छाको प्रशंसा गर्दा आफूसँग त्यस्तो गम्छा नभएकोमा ग्लानिको समुन्द्र उसको टाउको माथि पोखिएको अनुभव गरेको थियो। एक चोटि त्यो गम्छा जुगलको काँधबाट खस्दा जुगलभन्दा पहिले नै धरखनले उठाएर त्यो गम्छा जुगलको काँधमा राखिदिएको थियो र त्यति खेर जुगललाई सहयोग होइन गम्छा छाम्ने उसको इच्छा पूर्ति भएको थियो। मेलामा जाँदा बाटो भरि साथीहरुले जुगलको गम्छाको प्रशंसा गर्दा धरखनको गम्छा किन्ने इच्छा तरलबाट ठोस हुन पुगेको थियो। बेलपत्तर किनेर जलढारी गरुनजेलसम्म धरखनको गिदी जुगलको त्यो गम्छा वरिपरि नै घुमेको थियो, सूर्यको वरि परि चन्द्रमा घुमे जस्तो। 
डुमरिया बजार लाग्ने दिन थियो। दिउँसो समात्न गार्हो होला भनेर बिहान नै धरखनले भालेको खुट्टामा डोरी बाँधी त्यो डोरीलाई पिँढीमा रहेको खम्बासँग अल्झ्याएको थियो। भालेको हेरचाहमा निकै चनाखो थियो। बुधनीलाई भन्यो भाले डोरी फुकाई भाग्ला। कस्तो छ, साले, मुहजोर। बिचार गर्नु, राम्रो गरी। मकैबारीबाट आउने ससुरा कटाँस तिर पनि ध्यान दिनु नि, ससुरा कटाँसको कुनै ठेगान छैन। कुनै पनि बेला बारीबाट निस्केर झपट्टा मार्न सक्छ।
बुधनीले ल ल हुन्छभन्दै हाँसी। उसलाई लोग्नेको योजना बारे पूर्ण ज्ञान थियो।
भालेलाई काखमा च्यापेर बजारको एक छेउमा बसेको थियो धरखन। भालेको अवलोकन गर्दै, ‘महँगो भयो, धेरै ठूलो भयो, छिपिएको छ, सानो भयो, कालो भाले चाहिएको हो, रातो भाले त हुँदैनभन्दै आ-आफ्नो किसिमले खोंट लगाउँदै ग्राहकहरु आउँदै जाँदै थिए। गम्छा किन्न पाइने वा नपाइने हो, टुङ्गो पनि त्यसै अनुसार हुन सकिरहेको थिएन, धरखनको लागि। कसैले केही बेर सोधखोज र मोलमोलाइ गर्दा गम्छा किन्न पाइने भयो र केवल भाले हेरेर फर्किदा गम्छा किन नपाइने भयो कि भन्ने आशा र निरासाको भूमरीमा धरखनको मस्तिष्क स्थिर हुन सकिरहेको थिएन, चक्कर काटि रहेको थियो।
छेउको चुनाबालासँग अलिकति चुना माग्यो। आफ्नो चुनौटाबाट अलिकति खैनी झार्यो। संजोगले चुनौटामा खैनी रहेछ। नभएको भए लाजमर्दो हुने थियो भन्ने लाग्यो उसलाई। चुना त सित्तिमा मागे मागे, खैनी पनि कसरी सित्तिमा माग्नु अरु सँग, सोँच्यो उसले। हातमा भएको खैनी माड्न थाल्यो। गम्छा किन्ने उसको इच्छा जुन हुरीको रुप लिएर उसको मन भित्र बसेको थियो त्यसलाई मुखसम्म आउन नदिने कोसिस गर्दै छेउको चुना बिक्रेतासँग सोध्यो होइन, आजकाल मुर्गा मुर्गीको बिक्रीमा मन्दी आएको हो कि क्या हो?  माछा त खूब बिक्री हुँदैछ। साला, पोठिया र गरई माछा किन्न पनि तेत्रो भीड? त्यो पनि बिना मोलमोलाई?  पोठिया माछा, छि, कस्तो तितो हुन्छ, त्यो?  हत, कसरी खान सक्छन् पोठिया माछा, मान्छेले। दरुआहाहरुले मात्र किन्छन होला, चिखनाका लागि
घटबार साहेब मुर्गा न किन्ने? गाउँमा त खुब खोज्नु हुन्छ? अहिले त बजार मै ल्याएको छु। गजबको मासु हुन्छ जवान भालेको। एकदम खोआ खाए जस्तोधरखनले एक साँसमा भन्यो।
मैले पनि यस्तै भाले खोजेको हो। आज हाकिम साहेबहरु आउँदै हुनुहुन्छ। हाकिम साहेबहरु लाई मुर्गाको मासु खुब मन पर्छ। बरु कत्तिमा दिने हो?’ घटबार साहेबले भने।
तपाँईले भनेको दाममा नै दिन्छुभन्दै पहिले घटबार साहेब त्यसपछि अस्ताउन थालेको सूर्यतिर हेर्यो धरखनले।
बीस रुपैयामा खरीद बिक्री गर्ने सौदा पक्का भयो।
जोडले समात्नु होला बडा बलियो छ यो ससुरा भाले गाउँको कुनै भालेलाई जित्न दिँदैन यसले धरखनले भन्यो अनि हस्तान्तरण गर्नु अघि एक चोटी राम्रो गरी सुमसुम्यायो।
भाले करायो कक कक कक  ।
ऊ त्यो रातो गम्छालाई कत्ति, अनि लिएँ भने कत्ति कम गर्ने, ठीक दाममा दिने हो, म मोलमोलाई गर्न जान्दिन, गाउँ ठाउँको मान्छे फेरि बार्ह वर्षमा एक चोटी यस्तो गम्छा किन्दै छु, तिम्रै विश्वासमा किन्दै छु, नगद पनि तिमीसँगै उधारो पनि तिमीसँगैयस्ता विभिन्न वाक्यहरु धरखनले बोलेपछि कपडा बिक्रेताले जवाफ दियो ‘एक दाम र उचित दाममा दिन्छु, फेरि तिमी त मैले चिनेको मान्छे, भवानीपुर घर होइन तिम्रो?  धरखन चौधरी नाम हो तिम्रो, पुर्वारी टोलमा घर छ, होइन त?’
कपडा बिक्रेताले यस्ता धेरै नाफामूलक व्यापारीक वाक्यहरु पोख्यो। बिक्रेताको आग्रहप्रति विश्वस्त हुँदै आफू नठगिने आशमा धरखनले हातमा लिएको गम्छा किन्ने निधो गर्यो। सेन्डो गन्जीको चोरौकाखल्तीबाट बीस रुपैया झिक्यो अनि बिक्रेतालाई बुझायो। नयाँ गम्छा काँधमा राख्यो। छेउको कलमा गएर पानी खायो र लामो डकार लियो औ  गर्दे    । खाली पेटमा धेरै पानी परेकोले घोच्यो चसक्क।
घर पुग्दा पुग्दै रात परिसकेको थियो। साँझमा एक छिन मात्र बाल्नका लागि बाँकी रहेको मटिया तेल रित्तिएर बत्तिहर बल्न थालेपछि डिबिया निभाई दिएकी थिई बुधनीले। अँध्यारोले गर्दा बुधनीलाई गम्छा देखाउने धरखनको इच्छा पूरा हुन सकेन। इजोरिया रात नभएकोमा धेरै पछताउ गर्यो उसले।
कस्तो अन्हरिया रात, हात पनि नदेखिनेबडबडायो।
धरखनको आगमन परिवारका बाँकी सदस्यहरुका लागि आकर्षणको विषय बन्न सकेको थिएन। सेबई र कचरी नल्याएकोमा कान्छो ठुस्केको थियो।
यी सबै कुराहरुको कुनै फिक्री नै थिएन, बरु कुन बेला विहान होला र गम्छा सार्वजनिक गर्न पाइएला भन्ने छटपटी थियो धरखनलाई। जुगललाई त विषेश रुपले देखाउनु थियो, उसले। मकैको रोटी, नुन र हरियो खुर्सानीसँग पनि निकै मिठो लागेको थियो। खान सकिए पछि मुख धोयो तर गम्छाले मुख पुछेन, बरु तरोताजा राख्यो भोलिका लागि, सबैलाई त्यो गम्छा नयाँ रुपमै देखाउने उद्देश्यले।
राति सुतिरहेको बेला एक्कासी निद्रा खुल्यो धरखनको, भालेको चर्को आबाजले। स्वभाविक किसिमले भालेको टाउको सुमसुम्यायो उसले। भालेलाई चुप लगाउन खोज्यो तर उसको हात छेउको खामोमा ठोकिए पछि झ्वाट्ट सम्झ्यो भाले त उसले भेचिसकेको छ। अर्ध निद्रा पूर्ण समाप्त भएर ब्युँझे पछि छिमेकीको भाले कराएको अनुमान गर्यो उसले अनि सुत्ने प्रयासमा लाग्यो।
धरखन मस्तको निद्रामा थियो। निद्रामै देख्यो, त्यो भाले चरिरहेको। मकैबारीबाट कटाँस आएर भालेलाई झम्टिन खोज्यो। छेउको बाँसको टुक्राले हिर्कायो कटाँसलाई। कटाँस मकैबारी भित्र पस्यो। सन्तुष्टिको सास लियो उसले। धेरै मुर्गामुर्गीहरु कराउँदै मकैबारीबाट बाहिर निस्के। अघिको लठ्ठी लिएर धरखन हिँड्यो मकैबारीतिर, त्यो कटाँसलाई मार्न। निद्राबाट उठ्यो धरखन अनि झसङ्ग भयो। सपना पो रहेछ भन्दै सुत्न खोज्यो र अर्ध निद्रामा पुग्यो। भाले, कटाँसबाट जोगिएकोमा खुसी हुँदै त्यसलाई समाती काखमा राख्न खोज्यो तर अर्ध निद्र भङ्ग भए पछि थाहा पायो, भालेलाई त उसले बजारमा बेचिसकेको छ।
बिहान भइसकेको थियो। टोल छिमेकका मुर्गामुर्गीहरु प्रभातको स्वागत गर्दै नब्युँझेका हरुलाई उठाउन कराउँदै थिए कुखुरी काँ …….कुखुरी काँ …….कुखुरी काँ। हात मुख धुदै गर्दा धरखनले देख्यो। मुर्गामुर्गीहरु उसकै आगन अगाडि आहार टिप्दै थिए। उसको मुर्गा जनु झुण्डमा हुने गर्दथ्यो त्यो खाली थियो। भाले बिहिन पोथीहरु दाना टिप्दै थिए। ती पोथीहरुले त्यो भालेलाई खोज्दै गरेको धरखनले महसुस गर्यो।
दोस्रो रात। रात गाढा भइसकेको थियो। शून्यतालाई चिर्दै किरा फट्याङ्ग्राहरु झि …..चिँ …….चुँ …..आबाज झिक्दै कराउँदै थिए। धरखन मस्त निद्रामा थियो। भाले उसको टाउको नजिक बसेको देख्यो। दाहिने हातले हिर्काएर छेउतिर पठाउन खोज्यो। पानी राखेको लोटामा हात ठोकिएर ब्युझ्यो। पानी पोखिएर ओछ्यान नजिक आउन थालेको देखे पछि चटाई सार्यो, फाटकतिर। पानी पोखिएकोमा उसलाई रिस उठेन बरु भाले नभएको शून्यतालाई गहिरो गरी अनुभव गर्यो। धेरै बेरसम्म कहिले चार कहिले टाटलाई हेर्यो।
बिहानी पखको कुरा हो, धरखन सरासर बहुअरी गयो। जसलाई भाले बेचेको थियो भट्यो उसलाई। त्यो भाले मलाई फर्काइ दिनुहोस, घटबार साहेब। म बेचदिन त्यो भाले। बरु पाँच रुपैया बढी नै लिनुहोस्, फिर्ता। तपाँईको दाढी समात्छु, फर्काइ दिनुहोस्, त्यो भाले। मैले भनेको दाममा दिन मान्नु हुन्न भने तपाँईले भनेको दाम नै दिन्छु। तपाँईले जति भन्नु हुन्छ त्यति नै दिन्छु। जिम्दार मालिकसँग डेढामा कर्जा लिएर आएको छु, एक शय
धरखनका यी वाक्यहरु सुनेर घटबार साहेब धेरै बेरसम्म हाँसे अनि भने तिम्रो दिमाग खुस्के जस्तो छ? तिमी संसारमा पहिलो व्यक्ति हो जसले मुर्गा बेचेको होस? बेचेका सामान पनि कहि फिर्ता हुन्छ? त्यो पनि मुर्गामुर्गी? बजारबाट ल्याएको राति नै हाकिम साहेबहरुलाई ख्वाइसकें, काट कुट गरेर।’
धरखनको कानमा भालेको आबाज गुञ्जियो कुखुरी काँ …….’। एक छिन उभिएको भुइँलाई अनि धेरै बेर क्षितिजलाई हेर्यो उसले। त्यसपछि सरासर घरतिर लाग्यो धरखन।
भाले त बेची हालेऊ। अर्को टेल्हा टेल्ही ल्याउने होइन पाल्न? फगुआको लागि छोरा छोरीलाई लुगा पनि त किन्नु छ नि, त्यसै गरी, मुर्गा मुर्गी बेचेर।
बुधनीका यी कुराहरु प्रति धरखनले केही प्रतिक्रिया जनाएन। धेरै बेर चुप लागेर बस्यो। धेरै बेर चुप लागेर बसेको देखेपछि बुधनीले पुन: सोधी मैले भनेको सुनेनौ’?
विरक्तिएको स्वरमा धरखनले उत्तर दियो ……….अब मुर्गामुर्गी, हाँस, बतक, खसी बकरी केही पनि पाल्दिन।

विश्वराज अधिकारी