Wikipedia

Search results

Showing posts with label Review. Show all posts
Showing posts with label Review. Show all posts

Thursday, December 31, 2020

Muktak Book "Muktak Marg" s Review

                            मुक्तक सङ्ग्रह "मुक्तक मार्ग" को समीक्षा


कृतिको नाम: मुक्तक मार्ग

कृतिकार: सुमन आचार्य

समीक्षक: विश्वराज अधिकारी

सुमन आचार्यद्वारा लिखित कृति ‘मुक्तक मार्ग’ – मुक्तक सङ्ग्रह हालै पढ्ने सुऔसर जुर्यो। त्यसबारे केही लेख्न पनि मन लाग्यो।

हुन त म मुक्तक विधाको जानकार होइन र मैले मुक्तकहरू लेखेको पनि छैन। केवल केही पढेको मात्र छु। त्यसकारण म यस कृतिको समालोचना गर्नै सामर्थ्य राख्दिन। तर एक पाठकको रुपमा भने उक्त कृतिबारे आफ्नो पाठकीय धारणा राख्न सक्छु जस्तो लाग्छ।

मैले भरखरै पढेको मुक्तक सङ्ग्रह भने 'बिरिमफुल' हो। यो सङ्ग्रह तीर्थ अधिकारीद्वारा लेखिएको हो। 

सुमन आचार्यका मुक्तकहरू अर्थपूर्ण र रोचक छन। तर केही मुक्तकहरू भने सामान्य किसिमका छन् र तिनलाई पाठकहरूले लामो समय सम्म स्मरण गर्न सक्ने देखिंदैनन। यथार्थका धरातलमा उभिएर भन्दा कल्पनाको बेगमा उडेर उनले केही मुक्तकहरू लेखेको अनुभव हुन्छ। जीवन र जगत् लाई जति शूक्ष्म किसिमले अवलोकन गर्यो त्येति नै गहिराइमा पसेर मानव व्यवहार र मनोविज्ञानबारे जानकारी पाउन सकिन्छ र त्यो जानकारीलाई आफ्नो रचनामा कुसलतापूर्वक, रुचिकर पारेर रुपान्तरण गर्न सकिन्छ। यसका लागि विभिन्न कृतिकारहरूको कृतिहरूको अध्ययन गर्नु पनि सहयोगी हुन पुग्छ, एक कृतिकारको लागि। यो मेरो व्यक्तिगत अनुभव म आर्चायसँग बाँड्न चाहन्छु।

जीवन र जगत्को  भोग एवं अवलोकन गरेर प्राप्त गरेका अनुभवलाई आचार्यले मुक्तकमा रोचक किसिमले रुपान्तरण गरेका गरेका छन्। यी मुक्तकहरू पढ्दा पाठकहरूले आचार्यको चिन्तन धारा र बौद्धिकता, दुबै सजिलै गरी थाहा पाउन सक्छन। मुक्तकहरूमा उनले प्राय: दृष्टा भएर पाठकहरूलाई जीवनका सुख र दु:खहरू दर्शाएको पाइन्छ। आफ्ना अनुभवहरू पाठकलाई सुनाएको पाइन्छ।

केही मुक्तकहरूले आधुनिक जीवनका विशेषताहरू पनि झल्क्याएका छन। आधुनिक जीवन दोहरो मापदण्डमा बाँचेको तथ्य प्रष्ट पारेका छन्।

नेपालमा बरिष्ठ कहलिएका साहित्यकारहरूले कनिष्ठका कृतिहरू नपढिदिने, चर्चा परिचर्चा नगरी दिने, समालोचना नगरिदिने, केवल मन्तव्य मात्र लेखिदिने एक किसिमको अव्यक्त चलन छ जुन नेपाली साहित्यिक विकासको लागि सही होइन, बाधक हो। हामीले नवोदित कृतिकारहरूको रचना, कृति अध्ययन र चर्चा गर्न आवश्यक छ। युवा पुस्ताका साहित्यकार सुमन आचार्यको यो कृति वरिष्ठहरूले पनि पढिदिनु होला, कनिष्ठहरूले पनि पढिदिनु होला भनी हार्दिक अनुरोध गर्दछु।

समग्रमा, सुमन आचार्यको यो मुक्त सङ्ग्रह ‘मुक्तक मार्ग’ पढ्ने क्रममा पाठकहरूले ‘एक खास’ किसिमको अनुभव सहितको आनन्द प्राप्त गर्ने छन् भन्नेमा म विश्वस्त छु। कृतिकार र उनको यो कृति ‘मुक्तक मार्ग’ को ख्याति विस्तार होस भनी शुभ कामना व्यक्त गर्दछु।

(C)विश्वराज अधिकारी

Thursday, May 28, 2020

Story Book Tamasuk' s Review


कथा सङ्ग्रह तमसुकको समीक्षा


कृतिको नाम: तमसुक

कृतिकार: पदम विश्वकर्मा

समीक्षक: विश्वराज अधिकारी

नेपाली साहित्य क्षेत्रमा पदम विश्वकर्मा एक सुपरिचित नाम हो। प्रवासमा रहेर पनि उनी नेपाली साहित्यको सेवामा लागेका छन्। निरन्तर क्रियाशील छन्।
यस समीक्षामा पदम विश्वकर्मा द्वारा लिखित कथासङ्ग्रह ‘तमसुक’ को विस्तृत चर्चा गरिएको छ। कथा सङ्ग्रह तमसुक बि सं २०७६ वैशाषमा प्रकाशित भएको थियो र यो कृतिको प्रकाशन शिखा बुक्स काठमाडौ, नेपालले गरेको थियो। जम्मा २२७ पृष्ठको यस सङ्ग्रहमा २३ कथाहरू समाविष्ठ छन्।
कथा सङ्ग्रह ‘तमसुक’ को पहिलो कथा हो, ‘मिठाइमा भुलेको जिन्दगी’। यो कथा एक सामाजिक कथा जस्तो देखिएता पनि यस कथाको विवरणले यो कथा एक यौन कथा रहेको पुष्टि गर्दछ। माध्यमिक स्तरको शिक्षा पनि पूरा नगरेको एक नव युवक सङ्ग एक विवाहित प्रौढ महिलाले प्रेम गरेको, ती महिलाले आफ्नो सन्तानहरू समेत त्यागेर त्यो नवयुवक सङ्ग विवाहनै गरेको तथा ती महिलाले प्रेममा आफ्नो जीवन नै उत्सर्ग गरेको स्थितिलाई यो कथाले रोचक किसिमले प्रस्तुत गरेको छ। ती प्रौढ महिला नवयुवक किस्नेसँग विवाह गर्ने मनस्थितिमा के कति कारणले पुगिन भन्ने कुरा यो कथाले भनेको छैन। तर ती प्रौढ महिलाको मनोविज्ञान (कथामा उल्लेख भए अनुसार) अध्ययन गर्दा उनको अति यौन आकांक्षाले ती महिलालाई पुन: विवाह गर्न प्रेरित गरेको अनुमान गर्न सकिन्छ। ती महिलाले आफ्ना पति (पूर्व) बाट यौन सन्तुष्टि पाउन नसकेको भान हुन आउँछ। यौन सन्तुष्टि पनि जीवनको एक प्रमुख पक्ष हो भन्ने सन्देश यो कथाले दिन्छ। र यो विषय नै यो कथाको सार हो। हुन त यो कथाको तेस्रो प्रमुख पात्र, किस्नेकी आमाले भने आफ्नो यौन आकांक्षा दबाएर, विधुवा अवस्थमा बसेर, जीवनसङ्ग सम्झौता गरेको देखिन्छ। किस्नेकी आमाको उपस्थितिलाई पनि यो कथमा महत्वपूर्ण मान्ने हो भने कथाकारले दुई महिला, किस्ने की आमा र किस्ने की पौढ पत्नी- ममता बीच तुलना गरेझै लाग्छ। एउटी महिला- किस्नेकी आमाले विधुवा अवस्थमा बसेर, यौन आकांक्षा दबाएर जीवन सँग सम्झौता गरेकी छिन भने अर्की महिलाले अतृप्त यौन आकांक्षा पूरा गर्न जीवनसँग बिद्रोह अर्को विवाह गरेको पाइन्छ। यस्तो तुलना कथाकारले गरेको पाइन्छ। कथाकारले गरेको यो एक कुसल मनोविज्ञान विश्लेषण हो।
“अधुरो सपना” यस सङ्ग्रहको दोस्रो कथा हो। यो कथाले आम नेपाललीको वर्तमान मनोविज्ञानलाई प्रतिनिधित्व गरेको पाइन्छ। वर्तमान नेपाली समाजमा विदेश पस्ने र प्रशस्त पैसा कमाएर आरामको जीवन बिताउने चाहनले यति तलसम्म जरा गाडेको छ कि अहिले नेपालीहरू जुनसुकै किसिमबाट पनि विदेश पस्न लालायित रहेको पाइन्छ। पचासौ लाख रुपैंया गैर कानूनी रुपमा मानव-तस्करहरूलाई भुक्तान गरेर काठमाडौबाट दिल्ली पुगेर, रुस हुदै दक्षिण अमेरिकाका बिभिन्न देशहरू पुग्दै मेक्सिकोबाट गैर कानूनी रुपमा अमेरिका पुग्ने नेपालीहरूको सङ्ख्या पनि कम छैन। र यसरी अमेरिका पस्दा जीवनलाई उच्च जोखिममा राख्ने, ज्याननै पनि गुमाउने नेपालीहरूको संख्या पनि कम छैन। यो कथाले प्रवासिएका नेपालीहरूको यस्तो मनोविज्ञानको चर्चा गरेको छ।
ज्यादै सुखलाई पनि मानिसले पचाउन सक्तैन भन्ने सन्देश पनि यो कथाले दिन्छ।
यस सङ्ग्रहको एक राम्रो कथाको रुपमा यस कथालाई लिन सकिन्छ। तर यस कथामा कथा स्वभाविक रुपमा नभइ कथाकारनको निर्देशनमा अगाडि बढेको पाइन्छ। अर्थात कथाको माग अनुसार नभइ कथाकारको निर्देशन अनुसार यस कथाका पात्रहरूले कार्य गरेको पाइन्छ। यो तथ्यलाई यस कथाको कमजोर पक्षको रुपमा लिन सकिन्छ।
कथा लेख्दा कथाको सङ्गठनमा कथाकारले उत्तिकै ध्यान दिनु पर्छ। यस्तो नभएमा कथा कमजोर हुन पुग्छ। यस ‘अधुरो सपना’ नामक कथामा मुख्य पात्र रामको छ बटी दिदी रहेको भनिएको छ तर पुन: अर्को प्रसङ्गमा राम जेठो छोरा रहेको भनिएको छ। तर रामका भाइहरू पनि रहेको भन्ने कतै उल्लेख छैन। जसले गर्दा राम केवल एक छोरा रहेको भान पारिएको छ।  
यस संग्रहको तेस्रो कथा ‘बाई बाई अस्मिता’ पनि आफैमा रोचक छ। यो कथाले एक यस्तो कमजोर पात्रको मनोदसाको बयान गर्छ जसले आफ्नो इच्छा विपरित, आमाबाबुको दबाबमा रहेर दोस्रो युवतीसँग विवाह गर्छ तर प्रेम गरेको पहिलो युवतीसँग विवाह गर्दैनन। अर्कोतिर आफ्नी ती प्रेमिकालाई बिर्सन पनि सक्तैन र उनलाई अर्को देश पुगेको अवस्थामा भेट्न पुग्छ पनि। यस कथाको अर्को पात्र अस्मिता, अर्थात विनयकी प्रेमिका यदि दरो र आँटिलो छन् कि विनयालाई भेट्न वीरगञ्जबाट काठमाडौ एक्लै पुग्छिन र विनयको डेरामा नै रात बिताउँ छिन। विनयको केवल एक कोठे डेरामा (जहाँ उनको भाइ पनि साथै बसेको हुन्छ र अस्मिता पुगेको रात विनयको भाइ अन्त कतै नगएर त्येही डेरामा नै बस्छ) अस्तिताले रात बिताउँ छिन। अस्मितालाई पर पुरुष (विहे नभएको अवस्थाको विनय) सँग रात बिताउन डर लाग्दैन। साथै पर पुरुषको भाइको उपस्थिति पनि डराउने कारण बन्दैन। यस कथाको मुल पात्रको रुपमा रहेकी अस्मिता यथार्थमा नै निकै आँटिलो देखिएकी छिन। एक कमजोर मनोदसाको युवकले दरो निर्णय गर्न नसक्ता उसको जीवनमा कति सम्म ठूलो परिवर्तन आउन सक्छ वा यस्तो गल्ति हुन सक्छ जुन सच्याउन सकिंदैन भन्ने कुरालाई यो कथाले सशक्त किसिमले पेश गरेको छ।
“शुषुप्त यौन” यस सङ्ग्रहको चौथो कथा हो। सामान्य भाषा र शैली प्रयोग गरेर लेखिएको तर एक उत्कृष्ट कथा हो, यो। प्रत्येक व्यक्तिमा यौन आकांक्षा प्रकृति प्रदत्त गुण हो। व्यक्ति विकलाङ्ग भएता पनि उसमा यौन भावना एक सक्षम व्यक्ति सरह नै हुन्छ। विकलाङ्गहरूमा दवित रुपमा भएता पनि, यौन आकांक्षा हरपल जागृत अवस्थामा रहेको हुन्छ। तर अफसोंच! उसको त्यो विकलाङ्गता गर्दा उसलाई आफ्नो यौन आकांक्षा पूरा गर्न कठिन हुन्छ। केही विकलाङ्गहरूले यौन आकांक्षा पूरा गर्न सकेता पनि धेरैले पूरा गर्न सक्तैनन र त्यो यौन कुन्ठाले उसको ज्यान पनि जान सक्छ, पिल्सिएर। यस्तै कथा यो आख्यानले बोलेको छ। एक विकलाङ्ग नवयुवक ‘किरण’ को यौन मनोविज्ञानलाई कथाकारले अति नै शूक्ष्म दृष्टिले हेरेका छन यस कथामा। यस कथा मार्फत कथाकार शूक्ष्म कुरा (विकलाङ्गको यौन कुन्ठा) हेर्न र त्यसको विश्लेषण गर्न सफल भएका छन। हुन त यौनमा अनेक किसिमका कथाहरू लेखिएका छन, तर यो कथा भने फरक शैलीमा लेखिएको छ। र भिन्न किसिमले प्रस्तुत गरिएको छ। 
यस कथाको पाँचौ कथा ‘तमसुक’ आम शोषित, पीडित नेपालीहरूको कथा हो। यो कथालाई प्रतिनिधि कथा बनाएर कथाकारले यस कथा सङ्ग्रहको नाम पनि ‘तमसुक’ राखेको हुनु पर्छ। गाउँ, घरमा त्यस्ता धनी साहु महाजनहरू, जो गरिबको पसिना र रगतमा आफ्नो मुनाफा देख्छन, अहिले पनि प्रशस्त छन। यिनीहरूले गाउँ घरमा समृद्धि ल्याउन होइन उल्टो गरिबी वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन। गरिबहरूलाई कंगाल, घरवार विहीन तुल्याएका छन। यस किसिमका साहुहरूद्वारा सताइएको एक अत्यन्तै गरिब हर्केको नियतिलाई कथा तमसुकले समेटेको छ। यस कथामा बेइमान साहुहरूले गरिब र निमुखाहरुलाई गर्ने चरम शोषण देखाइएको छ।
यो कथा सलल बगेको छ। यस कथाका पात्रहरूले पनि स्वभाविक रुपमा कार्य गरेको पाइन्छ। तर कथाको अन्त्यमा भने यो कथाले नाटकीय मोड लिन्छ र त्यो नाटकीय मोडले कथालाई हल्का पारि दिन्छ। कथाका मूल पात्र हर्केका दुई छोराहरू- रामे र पुन्टेले थुप्रै पैसा अप्रत्यासित ल्याउँ छन र ऋणमा डुबेका पितालाई ऋणबाट मुक्त पार्छन। कपटपूर्ण ढंगबाट बढाइको साहुको ऋण उक्त साहुलाई भुक्तान गरेर ऋण-बन्दी मात र पितालाई मुक्त पार्छन। तर ती दुई नवयुवकहरू – रामे र पुन्टले कहाँबाट र कसरी त्येति धेरै पैसा ल्याउँ छन कथाले भन्दैन र उनीहरूले चोरी गरेर, लुटेर वा त्यस्तै कुनै अपराध गरेर त्येती धेरै पैसा ल्याएको पाठकले अनुमान गर्नु पर्ने हुन्छ। अर्थात कथाले अनुमान गर्ने बाटो खुलाइ दिन्छ। र यसले गर्दा यस कथाका पात्रहरूले एउटा अपराधको अन्त्य गर्न अर्को अपराध गरेको हो कि भन्ने भान पर्छ। कथाकारले यो पक्षमा ध्यान दिएको भए हुन्थ्यो। कथालाई अलि सन्तुलित पारेर, यो कथा छिटै नसमाप्त पारेको भए हुन्थ्यो।  
आइका’ यस सङ्ग्रहको छैठो कथा हो। यो कथा पढ्दा कथा सामान्य लागेता पनि यो कथा समान्य भने छैन। कथा विशिष्ठ छ। कथाले मानव चरित्रलाई ओजपूर्ण किसिमले विश्लेषण गरेको छ। विश्लेषण के गरेको छ भने कुनै पनि व्यक्ति एकै समयमा दुई संसारमा बाँच्छ। मानिस, कल्पनाको र यथार्थको गरी दुई संसारमा बाँचिरहेको हुन्छ। कल्पनाको संसारमा व्यक्तिले आफूलाई कहिले कहाँ, कहिले कहाँ, पुगेको कहिले के गरेको, आदि आदि देख्छ। र सत्य के हो भने जो सुकै (व्यक्ति) पनि एकै साथ कल्पनाको र यथार्थको संसारमा भने अवश्य बाँचेको हुन्छ। यसैगरी, कल्पनाको संसारमा बाँचेर जीवनमा आनन्द उठाउने एक युवकको स्थितिलाई यो कथाले वर्णनन् गरेको छ।
सातौ कथा पनि रोचक छ। यो कथाले आजभोलि व्यक्तिहरूले फेसबुकको कसरी दुरुपयोग गरि रहेका छन भन्ने कुरा दर्शाएको छ। यो कथामा एक प्रौढ व्यक्तिले एक नव युवतीको यौन शोषण गरेको विवरण छ र शोषण गर्न सजिलो पारिदिने माध्यम फेसबुक बनेको छ। केवल फेसबुकमा कुराकानी भएको भरमा मात्र कसै उपर विश्वास गर्न हुँदैन भनी यो कथाले बलियो गरी सन्देश दिएको छ। साथै, आजभोलि नेपालमा, अमेरिका पस्ने बहुसंख्यक व्यक्तिहरूको एक आम सपना हुन पुगेको छ र यो सपना पूरा गर्न युवा, युवतीहरू जे जस्ता जोखिमहरु लिन पनि तयार छन भन्ने कुरा पनि यो कथाले बलियो गरी दर्शाएको छ। यो कथा अति नै समसामयिक छ र खास गरी युवापिढीले पढ्न आवश्यक छ।  
एक अति रोचक स्थितिको बयान गरेको छ यस सङ्ग्रहको आठौ कथा ‘अङ्गुरको रस’ ले। यो कथा पनि एक विशिष्ठ कथा हो। जीवन र जगत्लाई यी कथाकारले कतिसम्म शूक्ष्म किसिमले हेरकेका रहेछन भन्ने कुराको पुष्टि यस कथाले गर्दछ। कथाकार केवल एक अवलोकनकर्ता मात्र होइन रहेछन, अन्वेषक पनि रहेछन, यो कथाको प्रस्तुतिले यस्तै भन्छ। कथाकारले यो कथाको माध्यमबाट ‘धार्मिक प्रवृति’ र ‘धर्म-वृति’ दुई पृथक पृथक कुरा हो भन्ने रहस्य उद्घाटन गरेका छन्।
कथाकार पदम विश्वकर्मासङ्ग अनेक जीवनका अनेक अनुभवहरू छ। कतै उनले कथाको खोजि गरेको पनि पाइन्छ भने कतै उनले एक सामान्य परिस्थितिलाई विशेष किसिमले अवलोकन गरेर कथाको रुप दिएको पाइन्छ। यस किसिमबाट, पदम विश्वकर्मा, कथा लेखनको प्रारम्भमा नै एक राम्रो कथा सिल्पी बनेका छन।
यस सङ्ग्रहको नवौं कथा ‘द लास्ट मैन एट द होटेल’ प्रस्तुतिको दृष्टिकोणले एक कमजोर कथा हो। सामाजिक कथा जस्तो देखिएता पनि यो एक यौन कथा हो तर कथामा यौन पक्षलाई फितलो किसिमले प्रस्तुत गरिएको छ। कथाको मूल पात्र राजीव हो वा अर्को पात्र वन्दना हो छुट्याउन कठिन त छ नै, साथै राजीवबाट वन्दनाले यौन आकांक्षा पूरा गर्न खोजेको हो वा राजीवप्रति प्रेम दर्शाउन खोजेको हो बुझ्न कठिन हुन्छ वा परिएको छ। यदि यौन आकांक्षा पूरा गर्न खोजेको हो भने वन्दनालाई राजीव बाहेक अन्य पुरुषहरू पनि उपलब्ध हुन सक्थ्ये। यो कथा एक सशक्त यौन कथा हुन सक्थ्यो तर कथाकारले त्येता पट्टी ध्यान न दिए जस्तो देखियो। भविष्यमा कथाकारले यस्तो कमजोरी तर्फ ध्यान दिनु पर्ने देखिन्छ।
यस सङ्ग्रहको दसौं कथा रहेको छ, ‘खाडीबसाइको मूल्य’ जुन एक सामाजिक कथाझै प्रतीत हुन्छ तर कथाको विषयवस्तुले यो यौन कथा रहेको संकेत गर्छ। त्यसकारण यो यौन कथा पनि हो, सामाजिक कथा पनि हो।
यस कथामा उठान् गरिएको विषय वस्तु पुरानै भएता पनि यसले नेपाली समाजलाई अहिलेसम्म पनि पिरोलीरहेको छ। स्वदेशमा रोजगारी नपाएर नेपाली युवाहरू मुख्यत: खाडीका देशमाहरूमा जानु पर्ने वाध्यता एकातिर छ भने अर्कोतिर रोजगारीका लागि खाडी पुगेका युवाहरूका पत्नी जो स्वदेशमा रहेका छन उनीहरूले कुण्ठित यौन जीवन बिताउनु पर्ने समस्या छ। र यो समस्याले गर्दा नेपालमा रहेका केही पत्नीहरूले पर पुरुष सँग यौन सम्पर्क गर्नु परेको वा दोस्रो विवाह गर्नु पर्ने जटिल स्थिति सृजना भएको छ। यो स्थितिलाई कथाले सशक्त किसिमले उठाएको छ। प्रख्यात अमेरिकी मनोविज्ञानविद् अब्राहम मज्लो भन्छन, ‘यौन पनि व्यक्तिहरूको निद्रा, भोजन, आराम जस्तै आधारभूत आवश्यकता हो। यो आवश्यकता पूर्ति नहुँदा व्यक्ति कुण्डित हुन पुग्छ।’ त्यसकारण परदेसिएका पत्नीहरूले पर पुरुषसँग यौन सम्बन्ध राख्नु अपराध होइन, यस्तो विचार राख्नेहरू पनि धेरै छन। अर्कोतिर स्वदेशमा रोजगार नभएर युवाहरू विदेश जानु नै पर्ने वाध्यता छ। यो जटिल विषय यस कथाको आधारभूमि बन्न पुगेको छ। सामाजिक समस्यालाई बलियो गरि उठाउने श्रेयता यो कथाले पाएको छ।
एघारौं कथा ‘कुलतले भत्काएको घर’ एक समाजिक कथा हो। यो कथामा, नेपालमा रहेका भुटानी शरणार्थीहरूको समस्या सहित अनेक विभिन्न समस्याहरूको चर्चा गरिएको छ। नेपालबाट अमेरिका आइपुगेका भुटानी शरणार्थीहरूले अमेरिका बसाइको क्रममा भोग्नु पर्ने अनेक समस्याहरू पनि देखाइएको छ। अमेरिका आए पछि जीवन सरल हुन्छ भन्ने आम धारणा सही होइन पनि भन्न खोजिएको छ। तर यस कथाको मूल विषय भने कुलतमा फंसेको व्यक्तिले आफ्नो मात्र होइन परिवारको भविष्य समेत पनि खराब पार्छ भन्ने रहेको छ। यस कथाको मूल पात्र लक्मीकान्तको जीवन पनि कुलतले गर्दा बरबाद भएको छ। अमेरिकामा बस्ने सबै नेपाली (भुटानी शरणार्थी सहित) हरूको जीवन सरल छैन भन्ने कुरा यो कथाले कुशलतापूर्वक चित्रित गरेको छ। यो एक औसत कथा हो। यस कथमा पात्रहरूको मनोविज्ञानको विश्लेषण भन्दा पनि कथाकारले कथाका पात्रहरूले जे गरेका छन त्येही लेख्ने प्रयास गरेका छन्। कथा लेखनको यो एक राम्रो शैली हो।
अति समृद्धिले दु:ख ल्याउन सक्छ। दु:खी जीवन भित्र सुख पनि हुन सक्छ। यस विचारको प्रमाण पेश गर्दै कथाकार, यो कथा मार्फत भन्छन- कथाका मूल पात्र लक्ष्मीकान्त बरु गरिबीको अवस्थामा नेपालमा बाँचेका त थिए तर अमेरिका आएर, अति समृद्धिले गर्दा मरे। आर्थिक समृद्धि नै उनको मृत्युको कारण बन्यो।
बार्हौ कथा ‘पीडामय दामपत्य जीवन’ यस सङ्ग्रहको एक सामाजिक कथा हो र यसले एक ग्रामिण परिवेसलाई प्रतिनिधित्व गरेको छ। शीलवान भन्दा पनि धनवानसँग छोरीको विवाह गराएर सन्तानको भविष्य सुरक्षित देख्ने आमाबाबुले आफ्नो सन्तान (छोरी) को भविष्य बरवाद गरेको स्थितिलाई यो कथाले प्रभावकारी किसिमल चित्रित गरेको छ। हाम्रो समाज लोभी समाज हो। आफूले कठोर परिश्रम गरेर धन आर्जन गर्नु भन्दा पनि धन कसरी अप्रत्यासित रुपमा हात पार्न सकिन्छ भन्ने हाम्रो सामाजिक मनोविज्ञान पनि हाम्रो पछौटेपनको कारण हो। हामी कर्म भन्दा भाग्यमा विश्वास गर्छौ जुन गलत हो। यस्तो सन्देश पनि यो कथाले दिन्छ। साथै गाउँघरमा पुरुषहरुले गर्ने महिला शोषणका मुद्दाहरू पनि यो कथाले उठाएको छ। यो कथा गाउँघरमा देखिने सामान्य कथा हो र यो कथमा कथा-शिल्प कमजोर रुपले प्रस्तुत भएको छ।   
“पनाको देशमा कष्टकर जीवन” यस सङ्ग्रहको तेर्हौ कथा हो र अत्यन्तै उपयोगी कथा हो। यस्ता कथाहरू खुब लेखिनु पर्छ। नेपालको कष्टकर जीवन, अभावयुक्त जीवन, सङ्घर्षमय जीवन भन्दा अमरिकासको सुविधायुक्त जीवन अत्यन्त सुन्दर हो। आम नेपालीमा व्याप्त यो भावना पूर्णतया गलत हो। अमेरिकाको सुविधयुक्त जीवन पाउन सङ्घर्षको एउटा विशाल पहाड नै फोड्नु पर्छ भने अनेक ठूल ठूला त्यागहरू पनि गर्नु पर्छ। र ती त्यागहरू यस्ता हुन्छन जसको पूर्ति यो जीवनकाल भरिमा गर्न सकिंदैन। आफ्नो माटो, आफ्नो समाज, परम्परा, संस्कृति आदि सबै स्वदेशमा छाडेर विदेशमा नितान्त एक्लो, निरस जीवन बिताउनु पर्छ, अमेरिकामा। यो स्वयं यो समीक्षकले अनुभव गरेको तथ्य हो।
यो कथामा पनि कथाकारले प्रश्न गरेका छन्- नेपालमा कष्टकर जीवन बिताएर बाँच्न पाएको स्थिति ठिक वा अमेरिकामा आएर सुविधायुक्त जीवन बाँच्न पाउँला भन्ने आशमा दियोको छेउमा पुगेर पुतलीझै डढेर मर्नु उचित। डीभी परेर अमेरिका आएका यस कथाका मूल पात्र वशन्त सवारी दुर्घटनामा परेर मरेका छन। उनी यदि नेपालमा भइदिएको भए जोखिमयुक्त जीवन बाँच्नु नपरेर, बाँचेका हुन्थे। यसरी नै, अमेरिका आएका वशन्तकी श्रीमती निशाको जीवन पनि अमेरिकामा अति नै कष्टकर हुन पुगेको छ। उनी नेपालमा भइदिएको भए त्यस्तो हुने थिएन।
यथार्थ के हो भने स्वयं अमेरिकीहरूले पनि यस्तो आर्थिक समृद्धि पाउन जीवनका अनेक सुखहरू र शान्ति समेत पनि गुमाएका छन्। अमेरिकीहरूको जीवन पनि सुखमया छैन, बाहिरबाट देखिए जस्तो। अमेरिकीहरूले अनेक सामाजिक समस्याहरू भोगिरहेका छन्। यस्तै सन्देश यो कथाले अविष्मरणीय गरी पाठकहरूलाई दिएको छ।
यस सङ्ग्रहको चौधौं कथाको रुपमा रहेको छ ‘हुनेवाला ज्वाइँ’ कथा। यो कथाको खास विशेषता के छ भने यस कथाका घटनाहरू नाटकीय किसिमले अगाडि बढ्छन। र यो कथा, यथार्थ भन्दा पनि कथाकारको कल्पना हो कि जस्तो लाग्छ किनभने कथाका पात्रहरू आफ्नो स्वभाविक प्रवृति अनुसार सञ्चालित नभएर कथाकारको निर्देशन अनुसार सञ्चालित भएको पाइन्छ। कथाकारले पात्रहरूलाई यसो गर, उसो गर भनेको र पात्रहरूले पनि त्यसै अनुसार गरेको पाइन्छ। फरकधारका कथाकारहरूले भने कथाका पात्रहरूले जे गरेका हुन्छन, उनीहरू (कथाकारहरू) ले केवल त्येही कुरा प्रस्तुत गर्छन र आफू केवल एक प्रस्तोता मात्र बनिदिन्छन। कथा त्यस किसिमबाट पनि लेखिएको पाइन्छ।
यस कथामा नेपालका एक युवक र अमेरिकामा बस्ने एक नेपाली युवतीको प्रेम र बिछोड प्रस्तुत गरिएको छ। र त्यो बिछोड ती युवा युवतीका लोभी पिताहरूको कारणले गर्दा भएको छ। कथाको मूल सन्देश भने लोभले गर्दा मानिसले तुच्छ काम पनि गर्न पुग्छ भन्ने रहेको छ। यो कथा आफैमा रोचक पनि छ।  
यस कथा सङ्ग्रहको पन्ध्रौं कथा ‘किड्स डैड’ अमेरिकी पात्रहरूको जीवनमा आधारित कथा हो। कथामा वर्णनन् गरिए अनुसार ‘किड्स डैडको आसय हो,  ऊ मेरो बच्चाको पिता हो तर ऊ मेरो पति भने होइन। यस किसिमको जीवन पद्धति अमेरिकी जीवनको विशेषता हो। पतिलाई पारपाचुके दिएर ‘ब्वाइ फ्रेन्ड’ सङ्ग बस्नु र पहिलो ब्याइ फ्रेन्डसँग कुरा नमिले दोस्रो ब्याइ फ्रेन्डसँग बस्नु अमेरिकी जीवनमा सामान्य कुरा हो। पतिको मृत्यु भएमा महिलाले तुरुन्त विहे गर्नु पनि सामान्य कुरा हो, अमेरिकी जीवनमा। यस कथाको मुल पात्र तानिया पनि एक स्वतन्त्र महिला हुन जसको पूर्व पति पनि सम्पर्कमा छ र बस्न पनि आफ्नो ब्याइ फ्रेन्डसँग बसिरहेकी छिन। यो कथाको मूल आशय के हो त्यो बुझन गार्हो छ र मूल आशय या त कथाकारलाई थाहा होला वा पाठकहरू स्वयंले पत्ता लगाउनु पर्ने हुन्छ। एक समीक्षकको आँखामा भने यो कथाले अमेरिकी महिलाहरूको स्वतन्त्र एवं निर्भिक जीवन देखाउन खोजेको छ। र यस किसिमको जीवन महिलाहरूको लागि विश्वका अन्य मुलुकमा नरहेको देखाउन खोज्नु पनि हो।  
यस सङ्ग्रहको सोर्हौ कथा ‘कर्णेलको छोरा’ आम लाहुरेहरूको प्रतिनिधि कथा हो। ब्रिटिस-गोर्खामा भर्ना भएर आर्थिक जीवन सरल पार्ने सपना देख्ने पिताहरूका नेपालमा रहेका सन्तानहरूले कसरी उज्यालो त्यागेर स्वेच्छाले अँध्यारो रोज्छन र आफ्नो सुनौलो जीवन बरबाद पार्छन भन्ने स्थिति यो कथामा देखाइएको छ।
लाहुरेहरूको सामाजिक जीवनमा पहिलो पुस्ता (जो सेनामा भर्ना भएको हो) ले कठोर परिश्रम र ठूलो सङ्घर्ष गरेर आफ्नो जीवन सफल र सार्थक तुल्याउँदै परिवारमा खुसी ल्याउन खोज्छ भने दोस्रो पुस्ता (लाहुरेका सन्तानहरू) ले आफ्नो पिताको त्यो परिश्रम र सङ्घर्षलाई बुझिदिंदैन। पिताकोको आम्दानीलाई खराब कुराहरू (चुरोट, रक्सी, गाँजा, लागू पदार्थ खान) मा प्रयोग गर्छ भन्ने कुरा कथाकारले यो कथामा प्रभावकारी किसिमले देखाउन खोजेका छन्।
आफू (मातापिता) ले राम्रो आम्दानी गरेर सन्तानलाई सुसंस्कृत तुल्याउन सकिंदैन बरू निर्धनतामा रहेर नै पनि आफूले राम्रो संस्कृति दिएर सन्तानलाई सुसंस्कृत तुल्याउन सकिन्छ भन्ने सन्देश पनि यो कथाले दिएको छ। 
रक्सीमा डुबेको जीवन’ यो सङ्ग्रहको सत्रौं कथा हो। भुटानबाट निर्वासित भएर नेपाल पसेका अनि नेपालबाट अमेरिका आउन पुगेका भुटानी-नेपालीहरूका अमेरिकी जीवनका अनेक दु:खान्त कथाहरू मध्ये एक कथालाई ‘रक्सीमा डुबेको जीवन’ ले समेटेको छ। कथाको मूल पात्र आकास, जो नेपालबाट भुटानी शर्णाथीको रुपमा अमेरिका आएको छ, ले अमेरिका जस्तो सम्भावनाले भरिएको देशमा आएर पनि आफ्नो जीवन रक्सीको कुलतमा परेर बर्बाद गरेको छ। जीवन समाप्त पारेको छ। यो स्थितिलाई यो कथाले मार्मिक किसिमले देखाएको छ। तर आकास अमेरिका आएर कसरी रक्सीको कुलतमा पर्न जान्छ भन्ने कुरा यो कथाले नभनेको हुनाले (यो) कथा विशेष कथा हुने सामाग्री हुँदा हुँदै पनि एक सामान्य वा औसत कथा हुन पुग्छ। कथाकारले यस्तो विषयमा ध्यान दिनु पर्ने देखिन्छ।
अठारौं कथाको रुपमा ‘जोन, जसिका र जेकब’ रहेको छ। र यो कथाले स्वतन्त्र, स्वछन्द एवं उन्मुक्त अमेरिकी जीवनको बयान प्रभावकारी किसिमले गरेको छ।
अमेरिकीहरू समाजिक नियमका लागि होइन आफ्नो रहर र इच्छाका लागि बाँच्ने गर्छन। सामाजिक नियमको घेरा भित्र रहेर होइन आफ्नो चहनाद्वारा निर्देशित भएर बाँच्न चाहन्छन। अमेरिकी जीवनका अनेक सामाजिक समस्याहरू त छन तर अमेरिकी जीवनमाथि कसैको (समाज, परम्परा, धर्म, संस्कृति) अंकुस छैन। हरेक अमेरिकन आफ्नो इच्छा अनुसार बाँच्न स्वतन्त्र छ र उसको त्यो स्वतन्त्रता माथि न त समाज र न त परिवारले नै चियो चर्चा वा टिका टिप्पणी वा आलोचना गर्छ। यस्तै कुराहरूलाई यो कथाले सन्देशको रुपमा प्रस्तुत गरेको छ।
‘दुर्घटित सपना’ यस सङ्ग्रहको उनाइसौं कथा हो। नेपालबाट अमेरिका पढ्न आउनेहरूका लगि अमेरिकामा पढ्न सजिलो छैन। मुख्य गरी आर्थिक समस्याले गर्दा नेपालबाट अमरिका पढ्न आएका नेपाली युवाहरूमा विचलन ल्याइ दिन्छ। कतिपयको अमेरिका बसाइ गैर कानूनी हुन पुग्छ। कतिपयले पैसाको समस्याले गर्दा अध्ययन गर्न सक्तैनन। गैर कानुनी रुपमा काम गर्न थाल्छन। कतिपयमा घोर निरासा उत्पन्न भएर सडकमा मगन्ते हुन पुग्छन भने कतिले आत्म हत्या समेत गरेका छन्। यी तथ्यहरूलाई यो कथाले बयान गरेको छ। यो कथा सत्य घटनाहरूको वरिपरि घुम्दछ।
माओवादीले आरम्भ गरेको अति रक्तपातपूर्ण हिंसाले गर्दा देशको शिक्षा क्षेत्र तहस नहस भएको र त्यसले गर्दा चरम निराशामा डुबेका युवाहरू स्वेच्छाले नभइ बाध्यतावस अमेरिका आएका तथ्य पनि यो कथाले दर्शाएको छ। कथा सुन्दर, सन्देशमूलक छ।
अन्य देशमा पुगेर नेपाली प्रतिभाहरू पीडित एवं कुण्डित हुनु भन्दा स्वदेशमा नै रहेर कुनै रचनात्मक कार्यमा लाग्नु बेस भन्ने सन्देश पनि यो कथाले दिएको छ। यो कथाको विषय वस्तु नौलो भने होइन।
यस सङ्ग्रहको बिसौं कथा ‘तथाकथित बुद्धिजीबीको सोंच’ मा नेपालमा जातीय एवं छुवाछुत भावले समाजमा कतिसम्म जरा गाडेको छ भन्ने कुरा अति नै प्रभावकारी किसिमले दर्शाइएको छ। यो कथालाई यस सङ्ग्रहको सुन्दर कथाको रुपमा लिन सकिन्छ। यस कथामा मूल रुपमा दुई तथ्यहरू प्रस्तुत गरिएको छ। पहिलो तथ्य, नेपालमा आफूलाई शिक्षित एवं बुद्धिजीवी भन्ने केही व्यक्तिहरू अहिले पनि जातीय विभेद ल्याउने कार्यमा सक्रिय छन्। जातीय सद्भाव-व्यवहार उनीहरूद्वारा प्रस्तुत गरिने केवल एक नाटक हो। ढोंग मात्र हो। दोस्रो, अमेरिका, ग्रेट ब्रिटेन, क्यानाडा, जर्मनी, फ्रान्स जस्ता विकसित मुलुकहरू, जहाँ जातीय भेदभाव छैन, मा बस्ने केही नेपालीहरू जातीय विभेद कार्यमा दृश्य र अदृश्य किसमले र सक्रिय रुपले पनि, लागेका छन तर त्यो कार्यलाई ढाकछोप गर्न सफल पनि भएका छन। तर आफ्नो त्यो ढोंगप्रति उनीहरूमा रत्ति पनि पश्चातभाव छैन।
जातीय विभेद-भावना रोग नेपालीहरूको लागि एक अत्यन्तै गम्भीर रोगको रुपमा रहेको छ। र यो रोगबाट अहिले पनि धेरै नेपालीहरू पीडित छन। यो भावनाबाट पीडित रोगीहरूले सयौंको ज्यान केवल जातीय द्वेषको कारणले लिएका छन्।  यो कथा यसै तथ्यको वरिपरि घुम्दछ।
यस सङ्ग्रहको एकाइसौं कथा ‘जेम्स होम र सेन्चुरी ट्वान्टी फस्ट’ अन्य कथाहरू भन्दा नितान्त पृथक किसिमको रहेको छ किनभने यो कथाको आधारभूमि कथाकारको कल्पना नभएर यथार्थ घटना रहेको छ। यस कथाको विषय-वस्तु अमरिकाको कोलोराडो राज्यको अरोरा सहर स्थित एक चलचित्र घरमा भएको एक विभत्स गोली-काण्ड रहेको छ। यस घटनामा, सिनेमा हेर्न आएको एक युवक, जसको नाम जेम्स होम  रहेको छ, ले हल भित्र, निरुउद्देश्य, अन्धाधुन्ध किसिमले (अत्याधुनिक बन्दुक प्रयोग गरी) गोली चलाउँदा, चलचित्र घर भित्र, चलचित्र हेरिरहेका २६ जना (विकीपेडियामा १२ जना लेखिएको छ) को ज्यान गएको छ। यो घटना जुलाई २०, २०१२ मा घटेको थियो।  होम, एक मानसिक रोगी थिए र त्यो आधारमा उनलाई सजाएँमा केही सहुलियत दिनु पर्छ भन्नेहरू पनि थुप्रै थिए।
अति नै ठूलो, विभत्स, जघन्य अपराध गरेको हुनाले जेम्स होमले कहिले जेलबाट नछुट्न सक्ने गरि आजीवन कारावासको सजाएँ पाए। उनले १२ ओटा जन्म कैद तथा थप ३ हजार ३ सय १८ वर्षको करारागार सजाए पाएका थिए जुन कुरा विकिपेडियामा उल्लेख छ।
‘गन भाएलेन्स’ अमेरिकाका लागि एक गम्भीर समयस्या रहेको छ। बिना कुनै उद्देश्य पनि, अमेरिकामा गोली हान्ने घटना घटित हुन्छ किनभने यहाँ बन्दुक राख्न सजिलो छ, धेरै किसिमका कानूनी झन्झट छैन। कतियप व्यक्तिहरू के भन्छन भने बन्दुक आफूसँग राख्न पाउनु अमेरिकीहरुको स्वतन्त्र अधिकार हो, भने केही भन्छन बन्दुक राख्न सजिलो भएको हुनाले नै अमेरिकामा गोलीबारीको घटना बढी हुने गरेको हो। यस्ता विषयहरूलाई प्रस्तुत गर्नु नै यस कथाको उद्देश्य रहेको छ।
यो कथामा कथाकारले केवल एक घटनाको विवरण मात्र पेश गरेको पाइन्छ। कथामा उनको आफ्नो कथा शिल्पको प्रयोग भएको पाइँदैन। तर कथा शिल्प प्रयोग गर्न पाउने औसर भने कथाकार सँग पर्याप्त मात्रमा थियो किनभने यो कथा हो, कथामा कल्पना प्रयोग गर्न पाइने छुट हुन्छ। तर पनि, कथाकारले यस कथा मार्फत अमेरिकाको एक गम्भीर समस्या प्रस्तुत गरेका छन जुन अमेरिका बाहिरका पाठकहरूका लागि जानकारीमूलक हुन सक्छ।
कथा ‘प्रतिज्ञा’ यस सङ्ग्रहको बाइसौं कथा हो। यो एक प्रेम कथा हो। साथै सुखान्त कथा पनि हो। यो कथाका प्रमुख पात्र द्वय विमला र प्रतीकले प्रेम गर्छन। प्रेम पश्चात विवाह पनि गर्छन। अर्थात एकले अर्कोलाई धोखा न दिएर विवाह गर्छन, विवाह गर्ने प्रतिज्ञा पूरा गर्छन। यो कथाको मूल सन्देश भनेको सबै कथाहरू केवल दु:खान्त एवं समस्याको दस्तावेज मात्र हुँदैनन। केही कथा सुखान्त एवं समाधान दिने किसिमका पनि हुन्छन। सुखद हुन्छन। यो एक सामान्य कथाको।
‘छायाँको भुत’ कथा यस सङ्ग्रहको अन्तिम कथाको रुपमा रहेको छ। यो कथा एक किसिमले संस्मरण जस्तो लाग्छ। यस कथामा मानिसले कुनै वस्तुको यथार्थ रुप देख्न नपाए पछि त्यसको अनेक अर्थ (विभिन्न रुप रहेको अनुमान) लगाउँछ भन्ने कुरा देखाउन खोजिएको छ।
हुन पनि, कुनै पनि व्यक्तिले भुत देखेको हुँदैन तर भूतको अनेक रुप रहेको कल्पना गर्छ। भूतसंग अनेक शक्ति रहेको कल्पना गर्छ। भुत यथार्थमा न भएता पनि भुत रहेको अनेक अनुमान एवं कल्पना गर्छ किनभने उसले भुतको बारेमा सुनेको हुन्छ तर देखेको भने हुँदैन।
यस कथामा, कथाको विश्लेषण गर्दा, कथाका मूल पात्रको पिता निकै निर्दयी एवं स्वार्थी देखिएका छन। समाजमा त्यस्ता धेरै माता पिता पनि छन जो सन्तानको लागि स्वार्थी छन। सन्तानसँग स्वार्थी व्यवहार गर्छन। यो कथाले माता पिता जति सबै असल हुन्छन भन्ने परम्परागत मान्यता न राख्न पनि पाठकहरूलाई आग्रह गरेको छ। 
यस सङ्ग्रमा समाविष्ठ कथाहरू लामा लामा छैनन। पढ्दा पट्यार लाग्दैन। कथाहरूले अनेक विषय र क्षेत्रहरू समेटेकाले कथाहरू रोचक छन। विषयप्रधान छन्।
विश्वकर्माका कथाहरू पढ्दा यिनले जीवनमा निकै संघर्ष गरेको पाइन्छ। र संघर्षको क्रममा उनले संगालेका अनुभवहरुले नै कथाको रुप लिएको अनुभव गर्न सकिन्छ।
विश्वकर्माका कथाका पात्रहरू अति सामान्य छन। ती पात्रहरूले सामान्य जीवनका प्रतिनिधित्व गरेका छन्। त्यसकारण उनको यो संग्रह आम नेपालीको प्रतिनिधि कथा हुन पुगेको छ।
व्यक्तिगत रुपमा पनि विश्वकर्मा एक अति नै भद्र व्यक्ति हुन। सबैको भलो चिताउने मनोविज्ञानले उनको एक खास किसिमको व्यक्तित्व निर्माण गरेको छ। सरल र मृदु भाषी पदम विश्वकर्मासँगको छोटो समयको सम्पर्कमा पनि, कोही पनि व्यक्ति, उनीबाट प्रभावित हुन पुग्छ।  यस्तो कुरा पनि कृति समीक्षा गर्दा उल्लेख गर्नु पर्ने देखिन्छ। कतिपय कृतिकारका कृतिहरू आदर्शले भरिएको हुन्छ तर उनीहरूको व्यवहार भने विपरित हुन्छ। अनेक किसिमका शुभ लाभमा लागेका हुन्छन।
विश्वकर्माका कथाहरूमा भाषागत त्रुटी एवं कथ्य शैलीको कतै कतै अभाव देखिन्छ। यसै गरी, कतै कथाको सङ्गठनाम ध्यान दिन नसकेको देखिन्छ। उदाहरणको लागि पृष्ठ २०२, कथा ‘तथाकथित बुद्धिजीवीको सोंच’ मा, पहिलो पाराग्राफमा यसरी भनिएको छ, ‘प्रतीक समाजसेवाको क्षेत्रमा निकै योगदान गर्दै आएको व्यक्ति थियो। ऊ साहित्यिक क्षेत्रमा पनि निकै कहलिएको छ।’ यहाँ एउटै स्थिति (एउटै काल) को बयान गर्न दुई कालहरू- भूत र वर्तमान, प्रयोग गरिएको छ। यसले गर्दा कथाको सङ्गठन फितलो हुन पुगेको छ। कथाकारले यस तर्फ ध्यान दिनु पर्ने देखिन्छ। हुन त कथाकार स्वयंले भनेका छन् ‘कथा विधामा यो मेरो पहिलो प्रयास हो। पहिलो कृतिमा अनेक गल्ती तथा कमजोरी पनि हुन सक्छन। मेरा गल्ती, कमजोरीहरूलाई औंल्याउँदै रचनात्मक सुझाब दिई मलाई यस यात्रामा प्रोत्साहन दिनुहुनेछ भन्ने विश्वास मैले मेरा आदरणीय पाठकहरूबाट गरेको छु।’
कथाकारको उपरोक्त भनाइबाट उनी खुला हृद्यको भएको र आफ्ना कमजोरीहरू स्वीकार्न तयार रहेको ज्ञात हुन आउँछ। साहित्यकारहरूमा यस किसिमको विशेषता हुन राम्रो कुरा हो।
यस्तो भन्नु विश्वकर्माको भद्रता हो। कथाकारको सफलताको म हार्दिक कामना गर्दछु।

(c) Bishwa Raj Adhikari

Sunday, March 15, 2020

Story Book "Nabolneharu" 's Review


कथा सङ्ग्रह ‘नबोल्नेहरू’ को समीक्षा

कृतिकार: महेश्वर पन्त
समीक्षक: विश्वराज अधिकारी
मिति: मार्च 15, 2020

कथाकार महेश्वर पन्तको आख्यान कृति, कथा सङ्ग्रह ‘नबोल्नेहरू’ अनेक विशेषताहरूले युक्त छन्। विभिन्न विषयमा लेखिएक कथाहरूले केवल मनोरञ्जन मात्र होइन ज्ञान पनि दिन्छन। वहुसंस्कृति समेटेका उनका कथा-कृतिले जीवनका अनेक पक्षहरूलाई सशक्त किसिमले बयान गरेको छ। कथाहरू रोचक छन्, घोचक छन, अनि मनमोहक पनि छन्।  
कथा सङ्ग्रह ‘नबोल्नेहरू’ को पहिलो कथा हो रजस्वला। यस कथामा परम्परागत नेपाली समाजमा एक नव युवतीले प्रथम रजस्वला हुँदा खप्नु पर्ने शारिरीक र मानसिक पीडा अति नै मार्मिक किसिमले बयान गरिएको छ। परम्परागत समाजले रजस्वला हुनुमा अहिले पनि युवतीहरूलाई नै दोषी देख्छ र रजस्वला हुनेहरूसँग ठूलो भेदभाव गर्छ। रजस्वला हुने महिलाहरूलाई पीडा दिनमा महिलाहरू नै सक्रिय रहेको देखिएको छ। यो तथ्यलाई यो कथाले यथार्थ किसिमले बयान गर्दै, प्रष्ट पारेको छ। यो कथाले नै भन्छ- पुरुषहरू भन्दा पनि बढी महिलाहरूमा यो रुढीवादी सोंचले गहिरो जरा गाडेको छ।
प्रथम रजस्वला हुँदा एक नव युवतीको मनोविज्ञान कस्तो हुन्छ? उसले कस्तो मानसिक एवं भौतिक पीडा भोग्नु पर्छ? जस्ता प्रश्नहरूको उत्तर यो कथाले प्रभावकारी किसिमले दिएको छ। साथै यो कथाले कथाकारमाथि एउटा प्रश्न पनि खडा गरेको छ- रजस्वला, गर्भधारण, प्रशव पीडा आदि महिलाहरूले अनुभूत गर्ने कुरा हो। यो पीडाको प्रकृति र गहिराइ पुरुषहरूलाई बोध हुन सक्तैन। तर कथाकारले यस कथामा प्रथम रजस्वल भएको एक युवतीको मनोदासको शूक्ष्म विश्लेषण गरेका छन्। उनको त्यो विश्लेषणले के नारी प्रकृतिको प्रतिधिनित्व गर्ला? कथाकारले यस्तो गर्नु उनको कथा लेखनको विशेषता हो वा कमजोरी? यो प्रश्नको उत्तर दिने जिम्मा पाठकहरूमा नै छोड्न चाहन्छु।
यो कथाको मध्य भागसम्म आउँदा कथाका पात्रहरूले आफ्नो चरित्र अनुसार कार्य गरेको देखिन्छ। तर मध्य भाग पछि कथाका पात्रहरूलाई कथाकारले यसो गर, त्यसो गर भनेर निर्देशित गरेको पाइन्छ। मेरो विचारमा कथाकारले कथाका पात्रहरूलाई निर्देशित गर्नु हुन्न। उनीहरूको प्रकृति र चरित्र अनुसार कार्य गर्न दिनु पर्छ। कथालाई बढी रुचिकर एवं जनउपयोगी वा सन्देशमूलक बनाउन कथाकारले त्यस्तो गरेको हुनु पर्छ जस्तो लाग्छ।
यस कथा सङ्ग्रहको दोस्रो कथा हो ‘द्रोपदीको सुहागरात’। यस कथामा सडकको छेउमा सञ्चालित एक होटल र त्यसमा कार्य गर्ने एक युवतीको कथा समेटिएको छ। एक युवती यौन व्यवसायमा लागेको र त्यस्तो गर्न समाजले नै उनलाई बाध्य तुल्याएको स्थिति निकै मार्मिक किसिमले उल्लेख गरिएको यो कथामा सच्चा प्रेम गर्न आउनेले पनि ती युवतिलाई कसरी ठग्यो र विवाह गर्ने भन्दै झुक्याएको स्थितिको वयान प्रभावकारी छ।
तेस्रो कथा ‘नबोल्नेहरू’ मा एक अपांगको मनोदसाको प्रभावकारी चित्रण गरिएको छ। यो एक आदर्श कथा हो जुन यथार्थ भन्दा पनि कथाकारको कल्पनाले बढी काम गरेको देखिन्छ। अपांगहरू शरीरले विकलांग भएता पनि बौद्धिक रुपमा मेधावी हुन सक्छन भने सन्देश दिन खोजेको यो कथाले ‘मानिसहरुले अपांगहरूलाई यसरी बुझिदिए हुन्थ्यो’ जस्तो किसिमको अपेक्षा यस कथामा गरिएको देखिन्छ। यस कथामा कथाकारको कल्पना पक्ष निकै सक्रिय भएको देखिन्छ। यो कल्पनाको कारणले गर्दा नै यस कथाको प्रमुख पात्र शान्तरामलाई कथाकारले यसो गर, त्यसो गर भनेर निर्देशित गरेको पाइन्छ। शान्तिरामले आफ्नो मनस्थिति भन्दा कथाकारको निर्देशन अनुसार कार्य गरेको देखिन्छ। यो कारणले गर्दा यो यथार्थ नभएर एक आदर्श कथा हुन पुगेको छ।
यस कथा सङ्ग्र्हको चौथो कथा हो ‘पदुवाकाजी’ जुन एक हास्य कथा हो। यस कथा मार्फत कथाकारले जीवनमा अनेक रङ्ग हुन्छ भन्ने सन्देश दिन खोजेझै देखिन्छ। जीवन केवल गम्भीर घटनाहरूको सृङ्खला मात्र होइन, जीवनमा हाँसो, उमङ्ग, मनोरञ्जन पनि उत्तिकै छ भन्ने कुरामा कथाकार विश्वस्त रहेको देखिन्छ। पदुवाकाजी एक पदुवा व्यक्तिको प्रकृति-चित्रण हो जसमा एक व्यक्ति आफ्नो पदुवा विमारी वा बानीले गर्दा अमार्यादित किसिमले पाद्न बाध्य छ। र हाँसोको पात्र बनेको छ।
यो कथा एक हास्य कथा हो र यसले जीवन नौ रस (आश्चर्य, श्रृङ्गार, हास्य, वीर, करुणा, शान्त, भयानक, रौद्र, वीभत्स) को संयोग हो भन्ने सन्देश दिन्छ। केवल गम्भीर र दु:खद घटनाहरू मात्र कथा मार्फत प्रस्तुत गर्नु हुँदैन हास्य र व्यंगका कथाहरू पनि प्रस्तुत गर्नु पर्छ भन्ने संकेत यस कथा मार्फत कथाकारले व्यक्त गरेको पाइन्छ। यो एक अति नै सामान्य कथा हो।
‘नजलेका लाशहरू’ यस कथा सङ्ग्रहको पाँचौ कथा हो। यस कथाको मूल आशय माओवादीका हिंसक आन्दोलनमा तत्कालीन राज्य पक्ष र मावोवादीहरूबाट अतिनै क्रूरतापूर्वक सोझासाझ व्यक्तिहरूको हत्या भएको यथार्थ दर्शाउनु हो। माओवादीका नेताहरूले सुखद जीवनको सपना देख्ने युवा युवतीहरूलाई लडाकू बनाएर कसरी आफ्नो स्थार्थ (सत्तामा पुग्ने) पूरा गरे, युवा युवतीका रहरहरूलाई चेक बनाएर कसरी साटे, निर्थक माओवदी अति रक्तपातपूर्ण बिद्रोहले राष्ट्रको हितमा कुनै काम गरेन उल्टो हजारौ निर्दोष व्यक्तिहरूले ज्यान गुमाए जस्ता तथ्यहरूलाई यस कथाले समेटेको छ।
यस कथाको प्रस्तुती नितान्त नौलो किसिमको छ। कथाका पात्रहरू मृत आत्माहरू छन्। राज्य पक्ष र माओवादीद्वारा हत्या गरिएकाहरूका आत्मा अहिले पनि यस लोकमा भड्किरहेका छन्। प्रेत आत्मामा परिणत भए पछि भने उनीहरू बीच कुनै किसिमको द्वेष छैन, द्वन्द छैन। यस किसिमका भावहरु यस कथामा प्रस्तुत भएका छन्। कथालाई रोचक बनाउन प्रेत आत्माहरूको प्रयोग गरिएको हुन सक्छ तर त्यो प्रयोगले यो कथालाई रोचक तुल्याउन सकेको छैन। कथाका विषय सामान्य छ किनभने माओवादी द्वन्दका पीडाहरू समेटिएका थुप्रै कथाहरू लेखिसकिएका छन्। कथाको विषय वस्तु नितान्त नौलो भने छैन। यो पनि एक सामान्य कथा हो।
यस कथा संग्रहको छैठो कथा हो ‘न्यूयोर्कको गन्धर्व’ जुन एक अति हवाइ कल्पना प्रयोग गरिएको कथा हो। कथामा कल्पनाको पनि प्रयोग गर्नु पर्छ भन्ने मान्यतालाई मान्ने हो भने बेग्लै कुरा हो तर अति हवाइ कल्पनाले कथालाई दन्त कथा बनाइ दिन्छ भन्ने तर्क पत्याउने हो भने यो कथा कथाकारको हवाइ कल्पना हुन पुगेको छ र यो हवाइ कल्पनाले कथाको वजनमा कमी ल्याइदिएको छ।
एक अमेरिकी अश्वेत युवती (अफ्रिकन अमेरिकन) नेपाल पुगेको बेलामा पोखरामा एक नेपाली युवक सँग प्रेम हुनु। विभिन्न परस्थितिको चपेटामा परेर उनीहरूको मिलन हुन नसक्नु। पछि त्यो युवती अमेरिका फर्के पछि एक यौन- दुर्घटनामा शिकार हुनु। ऊ अपांग हुनु। त्यो युवतीबाट जन्मेको छोराले न्यूयोर्कमा भिख माग्नु। भीख माग्ने क्रममा उसले एक नेपालीलाई भेट्नु र त्यो नेपालीलाई आफ्नी आमासँग भेट गराइ दिनु। भिख माग्ने त्यो केटोले आफ्नी आमासँग भेट गर्ने त्यो नेपाली व्यक्ति आमाको प्रेमी हुनु। र अन्त्यमा, पोखराको त्यो व्यक्तिले बर्षौपछि न्यूयोर्कमा आफ्नी प्रेमीकालाई भेट्नु तर भेटे पछि आफ्नो प्रेमिकालाई त्येतिकै उसको घरमा नै छाड्नु, कुनै किसिमको मदद गर्ने तत्परता न देखाउनु। यस्ता अनेक घटना परि घटनाहरूले यो कथाको विषय वस्तु र प्रस्तुती दुबैलाई हल्का पारिदिएको छ। कथा पढि रहँदा लाग्छ यो कथा, कथा लेख्नका लागि लेखिएको कथा हो। हुन त यो कथाले नेपाल, अमेरिका र हाइटीसम्मका घटनाहरू लाई समेटेको छ। कथाकमा प्रस्तुत घटना हुन सक्ने घटना हो ( वा भएको घटना हो) भने यस कथाबारे मैले गरेको समीक्षा कमजोर समीक्षा मान्नु पर्ने हुन्छ। यो कथामा वर्णनन गरिएको घटना सत्यको कति वरपर छ (वा छैन) भनी पत्ता लगाउने जिम्मा पाठकहरूमा नै छाड्न चाहन्छु।
यस कथामा कथ्य रचना पक्ष भने निकै बलियो छ। कथाले विभिन्न उपकथाहरुलाई जोडेर एक अर्को कथा बनाएको छ जुन कुरा कथाकारको कथा लेख्ने विषेशता हुन पुग्छ।
सातै कथा ‘चनेकी थममायाँ’ यस सङ्ग्रहको एक औसत कथा हो। यस कथमा नेपालको एक खास जातिमा विद्यमान रहेको संस्कृतलाई रोचक किसिमले दर्शाउने प्रयास गरिएको छ। यस कथाको मूल पात्र चनेको मनोविज्ञानको विश्लेषण कथाकारले शुक्ष्म किसिमले गर्न खोजेको पाइन्छ।    
यस सङ्ग्रहको आठौ कथा निकै रोचक किसिमको छ। कथाको शिर्षक ‘कमिनिष्ट बाउसाप’ ले नै कथामा रोचकता रहेको पुष्टि गर्छ। यो कथा विषय पुरानै भएता पनि प्रस्तुति पृथक र नौलो किसिमको छ, आकर्षक पनि छ। यो कथाले नेपाल भएको माओवादी सङ्घर्षमा सामान्य व्यक्तिहरू पनि कसरी माओवादी हुन पुगे, परिस्थितिले उनीहरूलाई कसरी माओवादी बन्न बाध्य तुल्यायो, सामान्य व्यक्तिहरू परिस्थितिले गर्दा माओवादी बनेपछि माओवादीका चलाख नेताहरूले त्यो स्थितिको कसरी फाइदा उठाए जस्ता मुद्दाहरू प्रभावकारी एवं विश्वनीय किसिमले प्रस्तुत गरेको छ। यो कथा यस सङ्ग्रहको बेजोड कथा हो। गाउँका शोषकहरूको क्रियाकलापले गर्दा पनि कतिपय व्यक्तिहरू माओवादी हुने पुगे भन्ने कुरालाई पनि यो कथाले खास किसिमले उजागर गरेको छ।
‘पातालको नर्क’ यस सङ्ग्रहको नवौं कथा हो। यो कथा अमेरिकामा थुप्रै नेपाली विद्यार्थीहरूले भोग्ने सत्य कथा हो। यो कथाले ठूलो सपना बोकेर नेपालबाट अमेरिका आउने एक युवतीको पीडा वर्णनन् अति नै मार्मिक किसिमले गरेको छ। केवल क्षमतावान् व्यक्तिहरूको लागि मात्र अमेरिका सपनाको देश हो, सामान्य व्यक्तिहरूको लागि भने अमेरिका जता ततै समस्याहरूको पहाडै पहाड भएको देश हो। त्यसकारण क्षमता (सिप, शिक्षा, कला, वौद्धिकता, आंट) भएका व्यक्तिहरू मात्र अमेरिका आउन उपयुक्त हुन्छ। सामान्य व्यक्तिहरू स्वदेश (नेपाल) मा बस्नु नै बेस हुन्छ। यस किसिमका सन्देशहरू बोकेको यो कथा एक सशक्त कथा हो। यो कथाले नेपाली विद्यार्थीहरूले अमरिकामा भोग्ने यथार्थ समस्याहरू दर्शाएको छ। अमेरिका सबैको लागि स्वर्ग हुन सक्तैन। कसैको लागि मृत्यु पनि हुन सक्छ। यो कथाले यसरी नेपालबाट आउने युवा युवती एवं तिनका अभिभावकहरूलाई सचेत गराएको छ। यस कथामा नेपाली विद्यार्थीहरूको अमेरिकी बसाइ-पीडाको चर्चा भएझै यो समीक्ष स्यवंले एक नेपाली युवकले अमेरिकामा भिक्षा माग्दै हिंडेको देखेको छ।
यस्ता कथाहरू अझै लेखिनु पर्छ र नेपालमा भएका व्यक्तिहरू जसले अमेरिकामा पैसाको बोट छ र त्यहँ पुगेर पैसा टिप्न सकिन्छ भन्ने किसिको सपना देख्छन, त्यस किसिमका व्यक्तिहरू त्यो सपना यस्ता कथाहरू लेखेर तोडिनु पर्छ।
‘सिपाहीको बढुवा’ यस सङ्ग्रहको दसौं कथा हो। यो कथालाई यस सङ्ग्रहको उत्कष्ट कथाको रुपमा लिन सकिन्छ। नेपालको कर्मचारी तन्त्रको जाँतोमा सोझा सोझा र इमान्दार राष्ट्रसेवकहरु कसरी पिसिएर धूलो हुन पुग्छन, सोर्स-फोर्स नेपालको कसरी संस्कृति हुन पुगेको छ, हाकिमको चाकडी गरेर छोटो समयमा माथिल्लो ओहदामा कसरी पुग्न सकिन्छ, इमान्दा कर्मचारीहरुलाई आफ्नो स्वाभिमानको रक्षा गर्दै काम गर्न कति कठिन छ भन्ने यथार्थहरू यस कथामा सजीव एवं नौलो किसिमले दैखाइएको छ।
यो कथा एक मनोवैज्ञानिक कथा पनि हो। यो कथामा कथाकारले यस कथाको मुल पात्रको मनोविज्ञानको विश्लेषण अति नै प्रभावकारी किसिमले गरेका छन। प्रेत्येक व्यक्तिले आफ्नो निराशा एवं क्रोधको निकास खोज्छ र ती कुराहरू उचित स्थानमा पोख्न नपाए कुण्डित भएर एक विशेष किसिमको मनोविज्ञानको सिकार हुन पुग्छ। यो विषयलाई सिपाहीको बढुवा कथाले रोचक एवं प्रभाव किसिमले प्रस्तुत गरेको छ।
“एS नारना !’ यस कथा सङ्ग्रहको एघारौं कथा हो। यो कथा अनेक विशेषाहरूले युक्त छ र यो यस सङ्ग्रहको उत्कृष्ट कथा पनि हो। यस कथाको प्रमुख विशेषता के हो भने यो कथा पढ्न आरम्भ गरेपछि कतै नरोकिएर कथा समाप्त गर्न मन लाग्छ। अर्थात यो कथाले पाठकलाई निरन्त बाँधिनै रहन्छ। यो कथा पढिरहँदा यस पछि के हुन्छ, यस पछि के हुन्छ भन्ने खुलदुली पाठकको मनमा निरन्तर चलिनै रहन्छ। कथाहरूमा यस्तो विशेषता हुनु पर्दछ।
यो एख कथाको रुपमा प्रस्तुत भएता पनि यसले उपन्यासको रुप लिन सक्ने क्षमता राखेको पाइन्छ। यो कथामा एउटा चलचित्र नै पनि बनाउन सकिन्छ। यस कथाका पात्रहरू सशक्त भूमिका लिएर उपस्थित भएका छन। उनीहरुका कार्य पनि समाजका लागि उपयोगी एवं उदाहरणीय छन्।
सत्यको वरपर चक्कर काट्ने यो कथाले एक खास सन्देश दिन्छ जुन पाठकले पढे पछि मात्र थाहा पाउँछ। नेपाल र अमेरिका जोड्ने यो कथाले एक खास परिस्थितिको सजीव चित्रण गर्दछ जुन अति नै कौतुहलतापूर्ण अनि रोचक पनि छ। कथाकारले यस कथामा सामान्य शब्द  र भावहरू प्रयोग गरेर उत्कृष्ट कथा-शिल्पको प्रयोग गरेका छन्। वोधगम्य र सरलशैलीको यो कथा यति शक्तिसाली छ कि यो कथा पढेको कैयौं दिनसम्म यो कथा पाठकको दिमागमा नाचिरहन्छ। कथाका पात्रहरू पाठकको मानस पटलबाट छिटै हराउँदैनन्, हिन्दी ‘कला फिल्ल’ का पात्रहरूझै। यो कथाले एक चर्चित हिन्दी फिल्मको यो गीत “ठोकर तु जबतक नखाएगा, जिन्दगी है चिज क्या नही जान पाएगा, रोता हुआ आया है रोता चला जाएगा’ याद गराउँछ।
बारौं कथा ‘पिटर जोनले देह त्याग्यो’ पूर्णतया अमेरिकी जीवनको कथा हो। धनी र शक्तिसाली राष्ट्र हुनाका लागि अमेरिकीहरूले कति मूल्य चुकाएका (भावना, माया, दया, प्रेम हराएका) छन् भन्ने कुराको व्यवस्थित किसिमले यो कथाले पुष्टि गरेको छ। अमेरिकीहरू धनी त छन् तर धेरे निरास पनि छन्। जिन्दगीको ‘भागदौड’ मा यति दौडिरहेका छन् कि जिन्दगी के हो भनी गहिरिएर बुझ्ने उनीहरूसँग समय छैन। प्रत्येक पललाई डलरमा रुपान्तरण गर्दा उनीहरूसँग केवल डलर र समयको मात्र गणना छ, भौतिक साधनहरू प्राप्तिको पहाड-चाहनाहरू छ तर भावना र प्रेम छैन। यथार्थ रुपमा जिन्दगीले के खोजेको हो र के कुराले जिन्दगीलाई खुसी तुल्याउँ छ भन्ने यथार्थ थाहा पाउन पनि उनीहरूसँग समय छैन। कार्यस्थलमा ‘व्यवसायिक हाँसो’ हाँस्दा हाँस्दै उनीहरूले यथार्थ हाँसो के भन्ने कुरा पनि भूल्ने स्थिति भइसकेको छ। यस्ता यस्ता अनेक सन्देश यो कथाले दिन्छ। यो कथाको मूल भाव के हो भने अमेरिकीहरू बाहिरबाट जति खुसी देखिन्छन त्येति खुसी भित्रबाट छैनन र व्यस्त अमेरिकी जीवनले उनीहरूलाई मानवबाट यन्त्र तुल्याइ दिएको छ र यो यथार्थ उनीहरूलाई पनि थाहा छैन। यो कथामा पनि कथाकारले अति राम्रो कथा-शिल्पीको प्रयोग गरेको पाइन्छ। यथार्थ समस्या बोल्ने यो कथा पनि यस सङ्ग्रहको एक उम्दा कथा हो।
यस सङ्ग्रहको अन्तिम कथा ‘हजुरबाको पुनर्जन्म’ एक ऐतिहासिक कथा हो। यो कथा ‘सत्य कथा’ हो जस्तो लाग्छ। कथामा वर्णनन् गरिएका घटनाहरू यथार्थ जस्तो लाग्छन। कथाका मूल पात्र पनि कुनै राजनीतिक व्यक्तिझै लाग्छन। त्यसकारण, यो कथाको अन्तमा ‘सत्य कथा’ लेखिदिएको भए पाठकहरूलाई स्पष्ट हुन सजिलो हुने थियो। र कथालाई यथार्थ कथा मानेर कथाको विषयमा केन्द्रित हुन्थै।  
नेपाली राजनीतिक इतिहासका विभिन्न कालखण्ड जान्न र नेपालमा भएका विभिन्न राजनैतिक परिवर्तनहरू बुझ्न यो कथाले पाठकहरूलाई सहयोग पुर्याउँछ। संस्मरणलाई केन्द्रमा राखेर लेखिएको यो कथा एक सामान्य कथा हो तर एक ऐतिहासिक घटनाको सशक्त विवरण पनि हो।  
ज्यादै सरल किसिमले प्रस्तुत गरिएकोले यस सङ्ग्रहका कथाहरूमा क्लिष्टता छैन जसले गर्दा कथाहरू बुझन सजिलो छ। अर्थात कथा सङ्ग्रह सुवोध छ। कथाकारको यो मौलिकतालाई उनको विशेषताको रुपमा लिन सकिन्छ।
कथाहरू पढिरहँदा आफू गाउँघरमा डुलेझै लाग्छ। कुनै बेला भने अमेरिका पुगेझै पनि लाग्छ। कथाका पात्रहरू सँग आफूले पनि विभिन्न स्थानहरूको विचरण गरेझैं लाग्छ। कथाहरूमा कहिं कहिं भने लामा लामा बयानहरू भएको पाइन्छ। यो कारणले गर्दा पाठकको ध्यान कतै कतै विकेन्द्रित हुन पुग्छ। यथार्थमा केही कथाहरूलाई छोटो छोटो पनि पार्न सकिन्थ्यो। तर कतिपयको विचारमा आख्यानहरू लामा लामा नै हुन्छ भन्ने पनि छ।
कथाहरू अति सरल किसिमका छन्। बुझ्न कुनै पनि किसिमको कठिनाइ हुँदैन। र कथाकारको यो तरिकालाई उनको लेखन-विशेषताको रुपमा लिन सकिन्छ। कथाहरूमा विविधता छ। केही कथाल सशक्त विषयहरू ऊठएका छन् भने केहीले अति नै सामन्य विषय उठाएक छन। वहु प्रतिभाका धनी महेश्वर पन्तले आफू साँच्चै वहु प्रतिभाको धनी रहेको भन्ने प्रमाण, परीक्षा उतिर्ण गरेर (असल कृति- नबोल्नेहरू लेखेर) प्रमाणित गरेका छन्। विभिन्न किसिमका अनुभब बटुलेका एवं वहुसंस्कृतिका अध्येता पन्त एक असल प्रस्तोता पनि हुन पुगेका छन्। कथाहरूहरूमा सामान्य किसिमका भाषागत त्रुटीहरू छन् तर ती क्षम्य छन्।
कथाकार महेश्वर पन्तको कथा-यात्राको सफलताको कामना गर्दछु। यस किसिमको कृति प्रकाशन गरेकोमा शिखा प्रकाशन, काठमाडौलाई धन्यवाद दिन चाहन्छु।

 Bishwa Raj Adhikari
Sunday, March 15, 2020

Thursday, March 28, 2019

Book Review - Yogmaya



उपन्यास "योगमाया" को समीक्षा

निहारिकाको लेखन कला

अहिलेको यो अति व्यस्त समयमा मात्र पाँच सात पाना लामो कथा पनि लेख्न वा पढ्न कठिन हुने अवस्थामा सयौं सयौं पाना भएको उपन्यास लेख्न सक्नु आफैमा एउटा ठूलो र प्रशंसनीय कार्य हो। निलम कार्की निहारिकाले लेख्नु  भएको उपन्यास ‘योगमाया’ मा ५३८ पानाहरू छन्। यो एक अति मोटो उपन्यास हो। रवीन्द्र नाथ ठाकुर-लिखित ‘गोरा’ उपन्यास मैले पढे पछि मैले पढेको यो दोस्रो ठूलो उपन्यास हो।
मोटो पुस्तक पढ्दा पाठकको पढ्ने धैर्य टुट्ने सम्भावना धेरै हुन्छ। तर योगमाया पढ्दा मेरो पढ्ने धैर्य भने टुटेन, योगमाया उन्यासको मूल पात्र माया न्यौपानेको जीवन-लिला कसरी समाप्त हुन्छ भन्ने कुरा मैले थाहा पाउँदा पाउँदै पनि। विभिन्न घटनाहरू थाहा पाउँदा पाँउदै पनि। यसप्रकार, यस उपन्यास (कथा) लाई रोचक एवं कौतुहलतापूर्ण पार्न निहारिका सफल भएकी छन्। उनीहरूद्वारा, उनकै शब्द र सोंचाइ एवं व्याख्यामा, प्रस्तुत गरिएका योगमाया सम्बन्धीत घटनाहरू लेखकीय दृष्टिकोणले अत्यन्तै प्रभावकारी छन। डायमन शमशसेरको ऐतिहासिक उपन्यास ‘सेतोबाघ’ पढ्दा मलाई जति आनन्द आएको थियो, जति जानकारी प्राप्त भएको थियो, त्यतिकै आनन्द मलाई योगमाया पढदा पनि आयो। त्यस्तै किसिमले जानकारी पनि पाएँ। यहाँ मैले निहारिका र डायमन शमशेरको तुलना गर्न खोजेको भने होइन, दुबै उपन्यासकारका आफ्नै किसिमको विशेषता छन। शमशेरको प्रशंग मैले यहाँ ल्याउनुको मूल उद्देश्य भने ऐतिहासिक घटनालाई प्रभावकारी किसिमले प्रस्तुत गर्ने क्षमता निहारिकामा र शमशेरमा उस्तै उस्तै रहेको दर्शाउनु हो। यस किसिमबाट मुलुकमा क्षमतावान् आख्यानकारहरूको वृद्धि हुँदै जानु, उनीहरूबाट स्तरीय कृति सृजना हुनु नेपालको साहित्य विकासको लगि खुसीको कुरा हो। यो मेरो निहारिकाप्रतिको नि:स्वार्थ दृष्टिकोण हो। यी कुराहरू लेखेर मलाई कुनै लाभ प्राप्त हुने होइन र त्यस्तो अपेक्षा पनि छैन। मैले आजसम्म निहारिकालाई व्यक्तिगत रुपमा भेटको पनि छैन। म केवल के चाहन्छु भने समालोचकहरूले कृतिहरूको निष्पक्ष भएर समालोचना गरि दिउन। कृतिकारहरू नया पुराना, स्थापित वा विस्थापित (ओझलमा परेका) वा जस्तो सुकै भएता पनि।

कथाको आधारभूमि र मूल पात्र

उपन्यास (कथा) को आधारभूमि माया न्यौपाने (कतै ठूलीहजुर पनि भनिएको छ त कतै योगमाया पनि भनिएको छ) को जन्मस्थल वा माइतीघर भोजपुरको मझुवावेशी भन्ने स्थानमा भएता पनि कथाको आधारभूमि बनारस, आसाम, काठमाडौ, वीरगञ्ज, मुक्तीनाथ, धनकुट्टा आदि जस्ता स्थानहरूसम्म पनि फैलिएको छ। कथा वा उपन्यासको मूल पात्रको रूमपमा रहेकी माया न्यौपाने लाई उपन्यासभरि (प्राय:) ठूलीहजुर पनि भनिएको छ। कथाको मूल पात्र माया भएता पनि कथमा अनेक विभिन्न पात्रहरू पनि छन। सानीहजुर (गङ्गा,) प्रेमनारायण, दुखुना, नैनकला, गन्जबहादुर आदि पनि सशक्त भूमिकामा छन्।

माया न्यौपानेको समाकालीन समाज

माया न्यौपानेको समाकालीन समाज (सन् १८६७ जन्म-१९४१ मृत्यु) ज्यादै नै रूढीवादी, परम्परावादी, लिंगविभेदी एवं अनुदार देखिएको छ। त्यसबेला प्रचलित वालविवाह, वहुविवाह आदि जस्ता कुरीतिहरूले समाज र खासगरि महिलाहरूको जीवनलाई पीडायुक्त एवं पशुतुल्य तुल्याइ दिएको छ। त्यस कालमा ‘कमारा’ ‘कमारी’ हरू केवल घरमा राखिने मात्र होइन, उपभोग्य वस्तु बजारमा बिक्री भएझै बिक्री भएको पाइन्छ। पतिको मुत्युमा ‘शती’ जान नामन्ञ्जुर गर्ने पत्नीहरूलाई परिवार, छिमेक एवं समाजले बलपूर्वक चितामा बसाएको र नमान्नेलाई लठ्ठिप्रहार गरी पतिको चितामा बस्न बाध्य पारेको जस्तो वर्वरतापूर्ण कार्यहरू त्यस समयमा सामान्य रहेको पाइन्छ। तत्कलीन समाजमा व्याप्त यस किसिमका अनमानवीय कार्यहरू बन्द गर्न माया न्यौपानेले संघर्षसहित नेतृत्वदायी भूमिका निर्वाह गरेको देखिन्छ। शान्तिपूर्ण किसिमबाट समाजमा परिवर्तन ल्याउन तपस्वीनी वा जोगिनी भएको पनि देखिएन्छ। समाजमा सुधार ल्याउन तत्कालीन सरकार (श्री ५ छायामा रही श्री ३ हरूको हातमा राज्य शक्ति रहेको अवस्थामा) संग माया न्यौपानेले जोडदार रूपमा माग गरेको र उनको त्यस किसिका मागहरू सरकारले पूरा नगरि दिएकोले योगमाया वा ठूली हजुर (माया न्यौपाने) ले विरक्तिएर तथा भावावेशमा आएर आफू सहित आफ्नी छोरी (नैनकला), भाइकी पत्नी (गङ्गा), भाइकी छोरी (दुखुना) लगायत आफ्ना केही अनुयायीहरू समेत गरी, पहाडको एक चट्टानमा चढेर अरूण नदीमा फाल हानेर (डुबेर ) जुलाई ५, १९४१ मा जलसमाधी (मृत्यु वरण) गरेको पाइन्छ। छोटकरीमा भन्दा तत्कालीन राज्य व्यवस्था र समाजले माया न्योपानेले ‘धर्म राज्य’ स्थापना गर्न चाहेको उनको उद्देश्य पुरा हुन नदिएकोले उनीले सामुहिक आत्म हत्या गरेको देखिएन्छ। यसरी सयौ वर्ष पहिले नेपालमा समाज सुधारक र महिला आधिकारवादीको रूपमा माया न्यौपानेको उदय भएको पाइन्छ। निलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘योगमाया’ ले यस्तै यस्तै भन्छ। योगमाया र उनको समकालीन समाजलाई सत्य (घटना, मिति, व्यक्ति, प्रशासनिक व्यवस्थ) र रोचक किसिमबाट प्रस्तुत गर्न निहारिका पूर्ण रूपमा सफल भएकी छन्। यो निहारिकाका लागि मात्र होइन, आम पाठकको लागि पनि खुसीको कुरा हो। योगमायाको तेस्रो संस्करण पनि प्रकाशित हुनुले नेपाली साहित्य बजारले विकास गर्दै गएको पनि प्रस्ट सन्देश दिन्छ।


योगमायाको मनोविज्ञान

योगमायालाई यस उपन्यासले एक उदार, सङ्घर्षशील, निडर, त्यागी, न्यायी देखाएको छ जुन सत्य पनि हो। तर, यो उपन्यासलाई आधार मानेर हेर्दा मेरो समालोचकीय देष्टिकोणले भने केही फरक मत राख्छ। र केही प्रश्न पनि गर्छ। प्रश्नहरू यस्ता छन: १. योगमायाको उत्तरार्ध समयमा राणाहरू कमजौर हुँदै गएका थिए। आफ्ना मागहरू भविष्यमा पूरा हुने भन्नेतर्फ आशावादी नभएर योगमायाले आत्म हत्या जस्तो (पराजित भएको स्थिति झल्किने) बाटो किन रोजेको होला, उनी जस्तो निडर व्यक्तिले? २. योगमायाले सामुहिक आत्म दाह (पहिलो प्रयासमा) र जल समाधी लिएर सामुहिक आत्महत्या किन गर्न खोजेको होला, थप संघर्ष गर्नुको सट्टा? ३. योगमायाले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गरेको वा बाध्य पारेको हो? वा उनीहरू स्वेच्छाले आत्म हत्या गर्न तयार भएका थिए? ४. छोटो समयमा नै, वा एकै पटक धेरै परिवर्तनहरू ल्याउन उनले किन खोजेको होला? ५. एकातिर उनले जातपातको, ढोंगी धर्मको विरोध गरेको देखिन्छ भने अर्कोतिर उनी बढी समय पूजाआजामा रहने र तपस्या नै गर्ने गरेको देखिन्छ। यस्तो किन भएको होला?  यी सबै प्रश्नहरूको सेरोफेरोमा माया न्यौपाने भावनमा बढी बग्ने वा लहडमा चल्ने व्यक्ति जस्तो देखिन्छिन। एक सफल नेतृत्व दिने क्षमता उनीमा हुँदा हँदै पनि आफ्नो त्यो क्षमताको उनले उपयोग गर्न नसको देखिन्छ। हुन पनि पछिल्ला समयामा योगमायाको अनुयायीहरूको संख्यामा वृद्धि भएर गएको देखिन्छ। यसकारण म दोधारमा हुन पुगेको छु। योगमाया कथा हो वा लोककथा? भन्ने विषयमा म अल्मलिएको छु।

योगमाया समालोचकीय दृष्टिकोणमा

योगमाया (उपन्यास) मा घटना, स्थिति, परिस्थिति बयानगर्दा उपन्यासकार निलम कार्की नियाहरिकाले कतै कतै आवश्यक भन्दा बढी बयान गरेको पाइन्छ र यस कारणले गर्दा पनि यो उपन्यास निकै मोटो हुन गएको प्रष्ट हुन्छ। उपन्यासको मूल्य (रू ५९५।-) बढी हुनु, यो मोटो हुनुले गर्दा भएको जस्तो लाग्छ। उपन्यासलाई अझै पातलो र कम मूल्यको पारेको भए कमजोर आर्थिक स्थितिका पाठकहरूले पनि सहजै यो उपन्यास खरिद गर्ने सक्थ्ये। नेपालमा कमजोर आर्थिक स्थिति भएका पाठकहरूको संख्या थुप्रो छ।
यस उपन्यासमा, कथाका पात्रहरूले बोल्दा कतै कतै उपन्यासकारले बोलेको वा ती पात्रहरूलाई यो बोल, त्यो बोल भन्न लगाएको, वा उपन्यासकारले  पात्रहरू लाई निर्देशित गरेको देखिन्छ। पात्रहरूले स्वभाविक रुपमा नबोलेर उपन्यासकारले बोल्न लगाएको भान हुन्छ। कतैकतै घटना घट्ने कारणमा परिस्थि भन्दा लेखकको सोंच अगाडि आएको देखिन्छ। कतैकतै सहपात्रहरूको बयान हुँदा मूल पात्र (माया) छायामा पर्न गएको पनि देखिएको छ। धेरै स्थानहरूमा,  घटना र व्यक्तिका बारे गरिएका बयानहरू उपन्यासकारले अनावश्यक रुपमा लामो पारेको प्रष्ट गरी थाहा हुन्छ।।

निष्कर्ष

नेपाली साहित्यमा ‘योगमाया’ उपन्यास एक स्तरीय कृतिको रुपमा आएको छ। यस उपन्यासमा, अनावश्यक रूपमा यौनका कुराहरू नल्याएको हुनाले परिवारका सदस्यहरूले मिलेर पढ्न सक्ने, त्यस माथि चर्चा परिचर्चा गर्ने सक्ने, उपयन्यासमा आफ्नो मौलिक दृष्टिकोण समेत राख्न सक्ने हुनाले यो उपन्यास परिवारका सबै सदस्यहरू मिलेर हेर्न सक्ने एक सामाजिक “चलचित्र’ जस्तो भएको छ। यो विशेषतालाई एक सुखद पक्षको रूपमा लिन सकिन्छ। तर यसको अर्थ यौनका कुरा ल्याउनु हुँदैन भन्ने होइन, कथाले मागेको खण्डमा त ल्याउनै पर्छ।
अन्त्यमा,

एक राम्रो कृति पाठकहरूलाई दिन सकेकोमा निहारिकालाई शुभ कामना! 

(C) Bishwa Raj Adhikari

Saturday, November 3, 2018

"Khusi" Review-Article-221


विजय कुमारको “खुसी” पढेपछि मनमा लागेका केही कुराहरू



साहित्य (पुस्तक वार्ता)

सत्यलाई साहसका साथ इमान्दारीपूर्वक भन्न सक्ने मेधावी पत्रकारको रूपमा विजय कुमार जस्तो प्रतिभा आफ्नो देशले पाएकोमा नेपाली समाजले गर्व गर्नै पर्छ। म स्वयंले अति प्रजातन्त्रवादी देशका अनेक निष्पक्ष पत्रकारहरूलाई देखेको छु। तर उनीहरूको माझमा मैले विजय कुमारलाई कम देखिन, अब्बल नै देखे। जन रूचिका समाचार एवं विचारहरू सम्प्रेषण गर्दा उनको स्वार्थ त्यस भित्र पटक्कै लुकेको हुँदैन।
अब कुरा गरौ “खुसी” बारे।
विजय कुमारद्वारा रचित पुस्तकक “खुसीको अध्ययन पछि मेरो निष्कर्षले के भन्छ भने मदन पुरस्कार कृति (खुसी) ले पाएको होइन, कृतिकारले पाएको हो। अर्थात यो पुरस्कार पत्रकार विजय कुमारले पाएको हो।
उनीद्वारा कृतिको नाम खुसी राखिएता पनि जीवनमा सुखी (खुसी) कसरी रहने वा हुनेबारे यस कृतिमा यथेष्ट चर्चा छैन। खुसी कसरी रहने कला बारेमा स्पष्ट रूपमा भन्न यो कृति सक्षम भएको मैले देखिन। जबकि खुसी (जीवनलाई कसरी सुखमय तुल्याउने) लाई पुस्तकको केन्द्र बिन्दु मानिएको छ, जस्तो लाग्छ। बरू विजय कुमारले “ठूला”, “बडा”, “शक्तिसाली” कहलिएका विश्वका विभिन्न व्यक्तिहरूसँग सँघत गरेको, उठवस गरेको वा ती व्यक्तिहरूबाट विजय कुमारले निकै इज्जत पाएको चर्चा बढी छ। त्यस किसिमको चर्चा करिब करिब पुस्तक भरि नै छ। विजय कुमारले साना साना, कमजोर, निरही, निमुखा व्यक्तिहरूसँग उठबस गरेको चर्चा, जुन पाठकहरू ब्यग्रताका साथ पढ्न चाहन्छन्, ज्यादै कम छ।
“खुसी” पढिरहँदा लाग्छ विजय कुमार आफ्नो छेउमा नै उभिएर भन्दै छन्, आफ्ना मनका कुराहरू पोख्दै छन्। घटनाहरूको बयान गर्दै छन्। उनको यो शैली उत्कृष्ट छ। तर विजयका अनुभवहरू सुनिरहँदा लाग्छ, उनले जीवनलाई कसरी खुसी तुल्याउने कला सिकाउने, उल्लेख गर्ने भन्दा पनि आफ्नो आत्म वृतान्त पाठकहरूलाई भनि रहेका छन। यो तथ्यलाई मध्य नजर गर्दा उनले यस कृतिको नाम “खुसी” को साटो “मेरो कथा” वा यस्तै कुनै अन्य नाम राखेको भए बेस हुने थियो।
यस कृतिमा विजय भगवान् श्री कृष्ण झै गुरू रूपमा प्रस्तुत हुन्छन र अर्जुन (पाठक) लाई अर्ति उपदेश दिन थाल्छन। पुस्तक पढिरहँदा यो अनुभूतिको घेराबाट पाठक बाहिर आउन सक्तैन। लेखकको रूपमा म केवल एक प्रस्तोता हुँ, जे देखें, जे भोगें त्यही लेखें भन्ने कुरा अनुभूत गराउन विजय यस कृतिमा सफल भएको मैले पाइन। पुस्तक भरि उनी “भगवान् श्रीकृष्ण” को रूपमा नै केन्द्रीय भूमिका रहन यत्नशील रहेको प्रतीत हुन्छ।
पुस्तक पढि रहँदा लाग्छ उनी आफ्नै विचारप्रति स्पष्ट छैनन्। द्विधायुक्त (Confused) छन्। उनले पुस्तकको विभिन्न ठाउँमा आफू भ्रम मुक्त भएको उदघोष गरेता पनि उनी द्विविधायुक्त रहको सहजै वोध हुन्छ। पुस्तकको विभिन्न अनुच्छेदहरूमा उनले प्रस्ट गरि के भनेका छ भने पद, पैशा, र शक्ति केही होइन। यी कुराहरूद्वारा व्यक्तिको सफलता मापन गर्नु सही होइन। तर आफ्नो पुस्तकको एक स्थानमा उनी भन्छन् “यो नठानियोस् कि प्रसिद्ध हुनु, धनी हुनु, शक्तिवान हुनु वा रूपवान हुनु आफैमा कुनै नराम्रो अनुभव हो। बेनाम हुनु, गरिब हुनु, कमजोर हुनु वा थोरै रूपवान हुनु भन्दा अघिल्लो विकल्प धेरै श्रेयकर हो। अर्को जुनीमा पनि कुनै गुमनाम, बेनाम मानिस हुनु भन्दा म धेरथोर नाम चलेको मानिस नै हुन रूचाउँछु।” उनको यो भनाईले उनी भौतिक सुख (नाम, दाम र शक्ति) को लालसा रुपि बन्धनबाट अझै मुक्त हुन सकेका छैनन्। जगडिएका छन्। अर्थात उनी आफै अहिलेसम्म पनि “कन्फ्युज्ड” छन्।
मदन पुरस्कार प्रदान गरिने पद्धति प्रति नै मेरो असन्तुष्टि छ। कृतिकारहरूले मदन पुरस्कार पाउनका लागि निवेदन हाल्नु पर्ने पद्धति आफैमा न्यायोचित छैन। रचनाकारले मेरो कृतिलाई मदन पुरस्कार प्रदान गरियोस भनेर याचना गर्ने होइन। कृतिकारहरूलाई “याचक” बनाउनु राम्रो पनि होइन। बजारम रहेका प्रकाशित पुस्तकहरूप्रति पाठकहरूको दृष्टिकोण कस्तो छ? कुनै खास कृतिबारे जनमतले के भन्छ त्यसलाई आधार मानेर मदन पुरस्कार दिनु न्यायसंगत हुन्छ। केवल केही व्यक्तिहरू (निर्णायक समिति) ले यो पुस्तकलाई मदन पुरस्कार दिन उचित हो भनेको आधारमा पुरस्कार दिनु उचित हो? यो पुस्तक, विभिन्न पुस्तकहरूको माझ उत्कृष्ट हो भन्ने कुरा “जनमत” (Opinion Poll) बाट निर्धारण हुनु पर्द्छ। पुरस्कार दिने संस्थाहरूले जनमतको आधारमा पुरस्कार दिन आवश्यक छ। अहिलेको स्थितिमा केवल केही व्यक्तिहरूले यो पुस्तक उत्कृष्ट छ (पुरस्कृत गरेर) भनेको आधारमा बाँकि सम्पूर्ण पाठकहरूले यो पुस्तक उत्कृष्ट छ भनेर पढ्नु पर्ने रिति छ।
माथि भनिएका कुराहरू केवल एक पाठकको पाठकीय दृष्टिकोण हो। विजय कुमार प्रति मेरो न अति प्रेम छ, न त पूर्वाग्रह नै। “कवीरा खडा बाजार मे सब के मागे खैर, ना किसि से दोस्ती ना किसी से बैर”, म यो विचारप्रति पूर्ण विश्वास राख्ने मात्र होइन, साहित्यमा यो विचारको अनुपालन पनि गर्दछु।
विजय कुमार- रचित ३२६ पृष्ठको “खुसी” नामक कृतिले २०७१ सालको  लागि मदन पुरस्कार पाएको थियो।

प्रतीक दैनिकमा प्रकाशित Saturday, November 03, 2018
विश्वराज अधिकारी