Wikipedia

Search results

Showing posts with label Special Characteristics of American Economy. Show all posts
Showing posts with label Special Characteristics of American Economy. Show all posts

Friday, May 10, 2019

Special Characteristics of Nepalese Economy-Family Structure-246


अमेरिकी अर्थव्यवस्थाका विशेषता

पारिवारिक संरचना

अमेरिकी समाजमा प्रचलित पारिवारिक संरचनाले अमेरिकालाई धनी तुल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। यो कुरा सुन्दा अपत्यारिलो वा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो। यो निचोड हतार वा अपरिपक्व अनुवभको आधारमा प्राप्त भएको होइन, वरन् यो समाजलाई दशकौं नजीकबाट हेरेर, भिजेर प्राप्त भएको हो।
    पारिवारिक संरचनाले मुख्यगरी सामाजिक पक्षसँग सरोकार राख्ने भए तापनि अमेरिकाको सन्दर्भमा पारिवारिक संरचनाले आर्थिक पक्षसँग बढी सरोकार राख्दछ। त्यस्तो कसरी सम्भव भएको होला त?
    स्वतन्त्र, स्वच्छन्द, सहिष्णु र उदार पारिवारिक वातावरणमा हुर्केका अमेरिकी युवाहरू सानै उमेरदेखि उद्यमी प्रवृत्तिका हुन्छन्। कुनै नयाँ कुरा गरौ भन्ने भावनाले प्रेरित हुन्छन्। आफूबारे स्वतन्त्र किसिमले निर्णय लिन सानैदेखि, परिवारबाट नै सिकेका हुन्छन्। असफलतादेखि न डराउने एवं विचलित नहुने मनोवैज्ञानिक वातावरणमा हुर्केका हुन्छन्। छोरा वा छोरी, दुवैलाई माता पिताले समान व्यवहार गरेर हुर्काएका हुन्छन्। खाडीका देश, मध्य पूर्व एवं दक्षिण एशियाका मुलुकहरूमा जस्तो छोराहरूलाई बढी छुट तर छोरीलाई बढी नियन्त्रणमा राख्ने परिपाटी अमेरिकी समाजमा देख्न पाइँदैन। परिवारभित्र रहेर छोरा एवं छोरी दुवैले समान सामाजिक स्वतन्त्रता उपभोग गर्छन्।
    अमेरिकी समाज जातविहीन समाज हो। विवाह गर्दा जातपात होइन, दुई पक्ष (युवक र युवती) बीचको सझदारीलाई महत्व दिने गरिन्छ। एक अमेरिकन युवतीले कुनै एशियन युवकसँग बिहे गरेमा युवतीको परिवारले त्यस्तो युवक (विजात) सँग किन विवाह गरेको भन्दै रोकछेक गर्ने प्रश्न नै उठ्दैन, उल्टो त्यो परिवारले आफ्नो सन्तानले गरेको त्यस्तो निर्णयको स्वागत गर्दछ। यो कारणले गर्दा अमेरिकी समाजमा दाइजो, तिलक वा दाउरीको कुनै समस्या छैन। अमेरिकी आमाबाबुले भोलिका दिनमा सन्तानको विवाह गर्न (दाउरी, दाइजो, तिलक दिन) धन सञ्चय गर्नुपर्छ भन्ने स्थिति नै आउँदैन। तर दक्षिण एशियामा भने दाइजोले मातापितालाई यतिसम्म सताएको छ कि बिचरा मातापिता, फूले गरेको आर्जन पनि सन्तोषजनक किसिमले उपयोग गर्न पाउँदैनन्। मौरीले थोपाथोपा मह सञ्चय गरेझै मातापिताले छोरीको बिहेमा दाइजो दिन वा सन्तानको बिहेबारीमा खर्च गर्न थोपाथोपा गरी आम्दानी सञ्चय गर्नुपर्छ।
    यस्तै स्थिति शिक्षामा पनि छ। दक्षिण एशियाका मातापिताहरूले आफ्नो सन्तानको शिक्षाको लागि धन सञ्चय गर्नुपर्छ। आफ्नो पेट काटेर भएपनि पैसा जोगाउनुपर्छ। आफ्ना सन्तानलाई केवल प्राथमिक शिक्षा (१ देखि ५ कक्षा सम्म) दिन पनि अभिभावकहरूले आफ्नो मासिक आम्दानीको ठूलो हिस्सा खर्च गर्नुपर्छ।

अझै निजी विद्यालयहरू (प्रचलित भाषामा बोर्डिङ भन्ने गरिन्छ) मा पठाउने मातापिताहरूले त सन्तानको शिक्षामा ठूलै रकम खर्च गर्नुपर्छ। निजी विद्यालयहरू ज्यादै महँगा हुन्छन् भन्ने यथार्थ हामी सबैले देखेभोगेकै कुरा हो। अर्कोतिर निजी विद्यालयमा सन्तानलाई पढाउँदा सामाजिक प्रतिष्ठा बढ्छ भन्ने मनोविज्ञानले पनि हाम्रो समाजलाई कहिले निको नहुने रोगले जस्तो ग्रस्त पारेको छ। अमेरिकामा उच्च माध्यमिक विद्यालयसम्मको शिक्षा नि:शुल्क छ। अभिभावकहरूले उच्च शिक्षाका लागि कुनै खर्च गर्नुपर्दैन। ब्याचलर लेबलको पढाइ हुने सामुदायिक कलेजहरू पनि खर्चिला हुँदैनन्।
    सन्तानको बिहेबारीमा गरिने अधिक खर्च (तिलक, दाइजो आदि) ले उनीहरूको मनोविज्ञानमा कस्तो असर पार्छ? त्यस्तो कार्यको प्रत्यक्ष र अप्रत्यक्ष असर के पर्छ भने सन्तानमा आत्मनिर्भरताको विकास हुन पाउँदैन। अझै धनी माता पिताका सन्तानमा त झनै गैरजिम्मेवार भावना विकसित हुन्छ। परिश्रम गर्ने होइन, शान देखाउनुपर्ने, समाजमा मेरो हैसियत यस्तो छ भन्ने मनोविज्ञान निर्मित हुन्छ। दाइजो, तिलक आदिले सन्तान (छोरी) को मनोविज्ञान कमजोर तुल्याउँछ। यस किसिमबाट कमजोर मनोविज्ञान भएका सन्तान (छोरी) ले आफैले कुनै किसिमको व्यवसाय वा व्यापार गर्न सोच्न पनि सक्तैनन्।
    अमेरिकी समाजले आफ्ना परिवारका सदस्य (सन्तान) हरूलाई स्वावलम्बी हुन शैशवकालदेखि नै सिकाउँछ। उनीहरूको लालनपालन पनि उनीहरूलाई आत्मनिर्भर हुने किसिमबाट गर्छ।
    अमेरिकी समाजमा स्कूल समाप्त हुनासाथ छोराछोरी आफ्ना मातापिताको घर छाडेर स्वतन्त्र किसिमले बस्न घरबाट बाहिरिन्छन्। आफ्नो नयाँ परिस्थिति विकास गर्छन्। आफ्नो पति/ पत्नी आफै खोज्छन्। मातापिताले खोजेर बिहे गरिदिने वा मागी बिहे गर्ने परिपाटी अमेरिकी समाजमा छैन। यसरी युवाहरूले आफ्नो वर/वधू खोज्ने हुनाले परिवारले अनावश्यकरूपमा आर्थिक समस्या भोग्नुपर्दैन।
    मातापिता अत्यन्तै धनी भए पनि आफ्नो स्वतन्त्रताको पूर्ण उपभोग गर्न छोराछोरीहरू उनीहरूसँग बस्दैनन्। हुन त यो पद्धति युरोपमा पनि छ। तर युरोपभन्दा पनि अमेरिकी युवाले स्वतन्त्रताको निकै उपयोग गर्छन्। अमेरिकी समाजले अनेक किसिमका औपचारिकताभन्दा व्यक्तिस्वतन्त्रता र व्यक्तिगोपनीयतालाई अत्यधिक महत्व दिन्छ। औपचारिकताको बढी प्रदर्शनमा ध्यान दिंदैन। उदाहरणका लागि अमेरिकी समाज (खासगरी अंग्रेजी भाषीहरू) मा भर्खर जन्मेको बालकलाई सम्बोधन गर्दा पनि यु’ (You) भनिन्छ। १०० वर्षको व्यक्तिलाई सम्बोधन गर्दा पनि युनै भनिन्छ। एक व्यक्तिको हिसाबले दुवैलाई समान किसिमको सामाजिक हैसियत (इज्जत) प्रदान गरिन्छ। भाषाद्वारा नै व्यक्तिलाई (उसको आर्थिक अवस्था अनुसार)) विभेद गरिंदैन। सानै देखि सामाजिक विभेद खप्न नपरेकोले व्यक्तिहरूमा बलियो मनोविज्ञान विकसित हुन्छ।
    मातापिता धनी भए तापनि छोराछोरीहरूले आफ्नो आम्दानीले नै आफ्नो कलेज, घर भाडा, खाना आदिको खर्च टार्छन्। युवाहरूले काम गरेर, त्यसबाट प्राप्त भएको आम्दानीबाट वा विद्यार्थी ऋण (Education loan), जुन सरकारले सस्तो ब्याजदरमा उपलब्ध गराएको हुन्छ, लिएर त्यसबाट शिक्षामा लाग्ने खर्च बेहोर्छन्। अर्थात् युवा अवस्थादेखि नै आत्मनिर्भर हुन सिक्छन्।
    न मातापिता सन्तानका लागि (आर्थिकरूपमा) भार बन्छन्, न सन्तान मातापिताका लागि भार बन्छन्। दुवैथरी आफ्नै किसिमले बाँच्छन्। आआफ्नो आम्दानी आफ्नै किसिमले खर्च गर्न स्वतन्त्र हुन्छन्। तर सन्तानप्रति मातापिताको र मातापिताप्रति सन्तानको माया घटेको भने हुँदैन। आफ्नो मातापितालाई भेट्न सन्तान र सन्तानलाई भेट्न मातापिताहरू उनीहरूको निवासमा नियमित वा समयसमयमा अवश्य जान्छन्।
    अमेरिका एक बहुसंस्कृतिको सङ्गम स्थल हो। यहाँ विवाह वा परम्परामा कुनै पनि किसिमको कट्टरता छैन। बहुसांस्कृतिक मुलुक भएकोले नै सामाजिक व्यवस्थामा यो मुलुक निकै उदार छ र यो उदारताले आर्थिक विकास गर्न अमेरिकीहरूलाई सघाएको छ।
    अमेरिकी समाजमा सृजित चिन्तन फ्नो आफैले आर्जन गरले प्रत्येक व्यक्तिलाई सानै उमेरदेखि उद्यम गर्न अभिप्रेरित गर्छ र बाध्य पनि पार्छ।
    व्यापारको क्षेत्रमा अभूतपूर्व प्रगति हासिल गरेका अमेरिकी नागरिक बिल गेट्स हुन्, वा मार्क जुकरबर्ग, कुनैले पनि आफ्नो मातापिताले दिएको पैसा लिएर व्यवसाय (व्यापार) शुरू गरेका होइनन्। आफ्नै आम्दानी (लगानी) बाट व्यवसाय शुरू गरेका हुन्। जे गर्ने हो आफैले गर्ने होभन्ने मान्यतामा अमेरिकी समाजले बलियो विश्वास राख्छ र अभ्यास पनि उत्तिकै गर्छ।
    युवाहरूले आफ्नो विवाहको लगि खर्च पनि आफैं जुटाउँछन्। विवाहका लागि मातापितामा भर पर्नु, मातापिताले वर वा वधू खोजिदिनु जस्तो चलन अमेरिकीहरूको नजरमा अनौठो मानिन्छ।
    अमेरिकी समाज गतिशील समाज हो। खाडीका देशहरूमा झै अति धार्मिक तथा सामाजिक कट्टरता अमेरिकी समाजमा देखिंदैन। यहाँ परिवारले, परिवारको संरचनाले नै सामाजिक गतिशीलता सिकाउँछ।
    कुनै पनि मुलुक आर्थिकरूपमा सम्पन्न हुनका लागि त्यस देशमा सामाजिक गतिशीलता हुन आवश्यक छ।
    नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान आदि मुलुकमा व्याप्त ठूलो परिवार (Extended family) परम्पराले पनि यी देशका नागरिकलाई गरीबीबाट बाहिर आउन दिइरहेको छैन। यस्तै स्थिति अफ्रिकी महादेशका मुलुकहरूमा पनि छ। बृहत् परिवारमा बस्दा व्यक्तिहरू स्वतन्त्र भएर बाँच्न सक्तैनन्, साथै परावलम्बी पनि हुन्छन्। अनेक किसिमका औपचारिकता पालन गर्न बाध्य हुन्छन्। अमेरिकीहरू बृहत् होइन, स- सानो, अति सानो (Nuclear)  परिवारमा बस्छन् परिवारमा मातापिता र स्कूले सन्तानमात्र समाविष्ट हुन्छ। एक व्यक्ति (पारपाचुके भएको, वा विवाह न भएको) को पनि परिवार हुन सक्छ। एक्लै रहेर पनि, तर स्वतन्त्रता पूर्ण उपभोग गरेर बाँच्नुपर्छ भन्ने मान्यतामा अमेरिकीहरू बलियो विश्वास गर्छन्।
    अमेरिकाको अभूतपूर्व आर्थिक विकासले पारिवारिक संरचना र व्यक्ति एवं मुलुकको आर्थिक विकासबीच नङ र मासुको झै सम्बन्ध हुन्छ भन्ने तथ्य प्रमाणित गरिदिएको छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, May 10, 2019

Friday, May 3, 2019

Special Characteristics of American Economy: Transportation-Article-245


अमेरिकी अर्थव्यवस्थाका विशेषता
यातायात
    एउटा भनाइ छ–‘अमेरिकामा उपलब्ध रहेका सबै सडकहरूलाई जोड्ने हो भने त्यसको लम्बाइले यो पृथ्वीलाई एकपटक बेर्न पुग्छ। यसैगरी एउटा अर्को भनाइ के पनि छ भने अमेरिकी राजमार्ग हरू यति फराकिला छन, र सीधा छन् कि आपतकालमा पाइलटहरूले सडकमा नै पनि हवाईजहाज अवतरण गर्न सक्छन्। यी भनाइहरू सत्य हुन् वा केवल भनाइ हो त्यो आफ्नै ठाउँमा छ तर सडक निर्माण, विस्तार र सेवामा अमेरिकाको स्थान विश्वमा नै अग्रणी छ। र सडक सुविधा अमेरिकाको आर्थिक विकासको मेरुदण्ड नै हो। सडक सुविधाले अमेरिकालाई विश्वको एक नम्बर आर्थिक महाशक्ति बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। अमेरिकाका सबै सडकहरूलाई जोड्ने हो भने सडकहरूको कुल लम्बाइ ६५ लाख ८ हजार किलोमिटर हुन आउँछ। अमेरिकाको सडक व्यवस्थालाई संसारकै ठूलो, लामो र अति व्यवस्थित मानिन्छ। आर्थिक विकासको लागि सडक कति महत्वपूर्ण हुन्छ भन्ने कुरा अमेरिकीहरूले सयौं वर्ष पहिले बुझिसकेका थिए, विकासको पथमा तीव्र गतिमा लम्केका राष्ट्रहरू भारत, चीन, ब्रजील आदिले अहिले बुझ्दैछन्।
    सडक निर्माणमा अमेरिकाले केही क्षेत्रमा चमत्कार नै गरेको छ, जुन कहिलेकाहीं कल्पना हो कि जस्तो लाग्छ। कल्पना यस हुनाले लाग्छ कि इन्जिनीयरिङ्ग हिसाबले पनि त्यस किसिमको सडक निर्माण अति नै जटिल एवं चुनौतीपूर्ण हुन्छ। त्यस्तै चमत्कारी ढङ्गले अमेरिकाले आफ्ना विभिन्न शहरहरूमा तल्ले सडकहरू निर्माण गरेको छ। अमेरिकाका तल्ले सडकहरू मध्ये टेक्सास राज्यको डालसमा रहेको पाँच तल्ले सडक (निर्माण सन् १९६०) निकै प्रख्यात छ। यस किसिमका तल्ले सडकहरूले, जुन आकाशे पुलको रूपमा रहेका हुन्छन्, एउटा सडकबाट अर्को सडकमा प्रवेश गर्दा हुन सक्ने ट्राफिक जाम कम पार्छ साथै सवारी दुर्घटना घटाउन पनि महत्वपूर्ण भूमिका खेल्छ।
    सडकलाई व्यवस्थित गर्न पुल निर्माणमा पनि अमेरिकाले उत्तिकै महत्व दिएको पाइन्छ। लामालामा पुलहरूको सङ्ख्या पनि अमेरिका धेरै छ। लुजियाना राज्यको न्यु ओर्लियन्स शहरमा अवस्थित लेक पोन्चाट्रेन माथि रहेको पुल (Lake Pontchartrain Causeway) लाई संसारको नै सर्वाधिक लामो पुल मानिन्छ। यस पुलको लम्बाइ ३८.४ किलोमिटर छ। केवल पानीमाथि रहेको यो पुलको ८ किलोमिटर भागबाट हेर्दा चारै दिशातिर कतै जमीन देखिंदैन। लुजियाना राज्यमा यस्ता पुलहरू धेरै छन्। लुजियानामा सीमसार क्षेत्र धेरै भएकोले पनि लामा लामा पुलहरूको निर्माण गरिएको हो।
    सडक व्यवस्थापनमा अमेरिका यति कुशल छ कि यहाँ कुनै पनि किसिमको बस्ती होस्, ठूला शहर वा साना शहर, (स्मरण होस् अमेरिकामा गाउँ छैन, हाँका बस्तीहरूलाई टाउन, सिटी र मेट्रोपोलिटन सिटी भन्ने गरिन्छ) होस्, त्यहाँका हरेक घरलाई कार, ट्रक गुड्ने सडकले छोएको नै हुन्छ। यो एक किसिमको अनिवार्यता पनि हो। जसरी प्रत्येक घरलाई सडकले छुनुपर्छ भन्ने अनिवार्य शर्त हुन्छ, त्यसैगरी प्रत्येक घरको आफ्नो पहिचानका लागि प्रत्येक घरको आफ्नो घर नम्बर पनि हुनुपर्छ भन्ने अनिवार्यता छ। सय तल्ले होस् वा केवल दुई कोठे एक तल्ले घर होस्, सानो वा गगनचुम्बी घर होस्, प्रत्येक घरको आफ्नो तोकिएको एउटा नम्बर हुन्छ। विनापहिचान वा नम्बरको अमेरिकामा घर हुँदैन। अमेरिकामा शहरभित्रको टोलको नाम सडकको नामले राखिन्छ। अर्थात् सडकको नामले कुन टोल हो भन्ने परिचय थाहा हुन्छ।
    अमरिकामा कतिपय यस्ता पनि घर देखिन्छन्, जसलाई तीन एवं चारैतिरबाट मोटर बाटोले छोएको हुन्छ। आवागमनका लगि वा मालसामान ओसारपसार गर्नका लागि अमेरिकामा सडक निर्माणलाई ज्यादै महत्व दिने गरिन्छ। प्रत्येक ठूलो शहरमा विमानस्थल भएझै प्रत्येक बस्तीमा सडक सुविधा (ठूला सवारीहरू ओहरदोहर गर्न सक्ने) हुन्छ नै। सडकलाई अमेरिकी जीवन पद्धतिले एक नम्बर प्राथमिकतामा राखेको हुन्छ।
    अमेरिकाका अति लामो, फराकिलो र व्यवस्थित राजमार्गहरूले देशको एउटा कुनामा उत्पादित वस्तु देशको अर्को कुनामा छोटो समयमा पुर्याउन उल्लेखनीय भूमिका मात्र खेलेका छैनन्,  ती वस्तुलाई सस्तोमा उपभोक्तासमक्ष पुर्याउन पनि अहम् भूमिका खेलेका छन्। यी सडकहरूको योगदानले गर्दा कृषकहरूले आना उत्पादन विभिन्न बजारमा उपभोक्ताहरूले खोजेको समयमा पुर्याउन सकेका छन्। अमेरिकामा उपलब्ध रेल, हवाईजहाज, सडक, पाइपलाइन, जल, यातायातले खासगरी शीघ्र नाशवान वस्तु उपभोक्ताहरूले माग गरेको स्थलमा पु¥याउन उल्लेखनीय भूमिका खेलेका छन्। यातायात सुविधा सर्वसुलभ र सस्तो भएकोले कम मूल्य (Law value) का वस्तुहरू जस्तै साग, तरकारी, फलफूल, मासु, पिउने पानी, बरफ, अन्न आदि ओसारपसार गर्न ज्यादै सजिलो हुन पुगेको छ। यातायातको विस्तारले गर्दा नै वस्तुहरूको आपूर्ति सस्तो भएर कम आय भएका व्यक्तिहरूको जीवनयापन सजिलो भएको छ। अर्को किसिमले भन्ने हो भने उनीहरूको क्रयशक्ति बलियो हुन पुगेको छ। सस्तो यातायात लागतले अमेरिकामा निर्वाह लागत  (Living costs) कम पारेको छ।
    अमेरिकामा देशभित्र उत्तरदक्षिण र पूर्वपश्चिमगरी फैलिएका राजमार्गहरू धेरै छन्। यी राजमार्गहरूले देशका विभिन्न राज्यलाई यातायात सेवा पुर्याइरहेका छन्। यस्तै राजमार्गमध्येको एक हो अन्तर्राज्य राजमार्ग (Interstate Highway: I-90) -९०, जुन अमेरिकाको पूर्व र पश्चिममा फैलिएको छ। कुल लम्बाइ ५ हजार ४ सय १५ किलोमिटर रहेको यो राजमार्गले पूर्वमा मासाचुसेट्स राज्यलाई छुन्छ भने पश्चिममा ओरेगन राज्यलाई छुन्छ। यो अन्तर्राज्य राजमार्गलाई अमेरिकाको सबैभन्दा लामो राजमार्ग मानिन्छ। यो राजमार्गले अमेरिकाका ओरेगन, आइडाहो, मोन्ताना, वाएमिंग, नेब्रास्का, आइवा, इलिन्वाए, इन्डियाना, ओहायो, पेन्सिलभेनिया, न्युयोर्क र मासाचुसेट्स राज्यहरूलाई जोड्छ। यसैगरी एउटा अर्को उत्तरदक्षिण फैलिएको अन्तर्राज्य राजमार्ग (Interstate Highway: I-35) - ३५ ले टेक्सास, ओक्लोहोमा, क्यान्सस, मिजोरी, आइवा र मिनेसोटा राज्यलाई जोड्छ। यो राजमार्गले पनि सामान ओसारपसार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
    अमेरिकामा राजमार्ग किन निर्माण गरियो त्यसबारे छोटो चर्चा गरौं। अमेरिकामा शहरी सडक र राजमार्ग गरी सडकलाई दुई भागमा विभाजन गरिएको छ र त्यससम्बन्धी व्यवस्था पनि पृथकपृथक किसिमले गरिएको छ। शहरी सडकहरूमा ट्राफिक लाइटहुन्छ र बस्ती एवं  क्षेत्र (आवास, सपिंग सेन्टर, स्कूल, कलेज, पुस्तकालय, चर्च) अनुसार सवारी साधन गुड्ने गति तोकिएको हुन्छ। तोकिएको गतिमा सवारी साधन नगुडाए वा गति ज्यादै तीव्र गरेमा प्रहरी कारबाहीमा परिन्छ। सवारीको गति व्यवस्थित गर्न प्रहरीले कडाइका साथ गति निरीक्षण गर्ने व्यवस्था गरेको हुन्छ।
    शहर वा बस्तीभित्रका सडकहरूमा सवारी साधनहरू गुड्दा विभिन्न स्थानमा विभिन्न किसिमका गति सीमा हुने र त्यसले गर्दा गाडीहरूको गति सुस्त हुन जाने भएकोले यो समस्या निराकरण गर्न वा तीव्र गतिमा गाडी चलाउन सकिने उद्देश्यका साथ राजमार्गहरूको निर्माण गरिएको पाइन्छ । राजमार्गहरूमा ट्राफिक लाइट हुँदैन र एउटा तोकिएको गति (जस्तै ६०७५ माइल प्रति घण्टा) मा सयौ माइलसम्म विनाअवरोध गाडी कुदाउन पाइन्छ। कुनै बाधाव्यवधान नपरी छोटो समयमा लामो दूरी पार गर्न सकियोस् भन्ने सोचले नै हाइवे वा राजमार्गहरूको निर्माण गरिएको हुन्छ। हुन पनि राजमार्गहरूलाई शहर वा बस्तीको छेउबाट लगिएको हुन्छ। राजमार्ग निर्माणको प्रमुख उद्देश्य नै चालकहरूलाई विनाअवरोध तीव्र गतिमा गाडी चलाउन सक्ने सुविधा प्रदान गर्नु हो।
    माथि उल्लेख गरिएका प्रकृतिका लामालामा राजमार्गहरू अमेरिकामा धेरै छन्। युयस२० (३,३६५ माइल), युयस६ (३,२२७ माइल), युयस३० (३,०७३ माइल), आई९० (३,०२२.४४ माइल), युयस५० (३,००७ माइल), आई८० (२,८९९.५९ माइल), युयस२ (२,६४३ माइल), युयस१ (२,५९३ माइल), आई४० (२,५५६.६१ माइल), आई१० (२,४६०.३४ माइल), युयस६४  (२,३२६ माइल), आई७० (२,१५०.५७ माइल), युयस५२ (२,०७२ माइल), आई९५ (१,९१९.३१ माइल), आई७५ (१,७८६.४७ माइल), आई९४ (१,५८५.२० माइल), आई३५ (१,५६८.३८ माइल), आई२० (१,५३९.३८ माइल), आई१५  (१,४३३.५२ माइल), आई५ (१,३८१.२९ माइल), आई२५ (१,०६१.६७ माइल) जस्ता राममार्गहरू अमेरिकाका अति व्यस्त तथा ज्यादै प्रचलित राजमार्गहरू हुन्।
    सडक यातायातका साथै अमेरिकामा रेलरोड पनि एउटा महत्वपूर्ण यातायात व्यवस्थाका रूपमा रहेको छ। अमेरिकामा ७०० रेलरोडहरू छन् भने रेल यातायात व्यवस्था २ लाख ४० हजार किलोमिटरमा फैलिएको छ। कार, ट्रक, हवाईजहाज आदिमा भएको अति नै आधुनिकीकरणले गर्दा वर्तमान समयमा रेलको प्रयोग भने बढी मात्रामा सामानहरू ओसारपसारमा मात्र प्रयोग भएको पाइन्छ। मानिस ओसारपसार गर्नुभन्दा सामान ओसारपसारमा रेलको प्रयोग बढी भएको पाइन्छ ।
    अमेरिकामा पाइपलाइन, पानी जहाज, हवाईजहाज, रेल आदिको प्रयोग मालसामान ओसारपसार गर्नका लागि भए तापनि ट्रकको प्रयोग भने ठूलो मात्रामा गरिन्छ। साँच्ची भन्ने हो अमेरिकाको मालसामान ढुवानी व्यवस्था ट्रकमा निर्भर गर्छ। कुल ढुवानीमध्ये ट्रकले लगभग ७० प्रतिशत ढुवानी गर्छ। यसरी सडक यातायातमा अमेरिकी अर्थ व्यवस्था बढी निर्भर गर्दछ।
    यातायातको प्रभावकारी व्यवस्थाले अमेरिकालाई धनी राष्ट्र तुल्याउन प्रमुख भूमिका खेलेको यथार्थले के पनि प्रस्ट पार्दछ भने कुनै पनि देशले आर्थिक विकास गर्न, वा धनी हुन त्यो देशले यातायातलाई ज्यादै महत्व दिनुपर्ने रहेछ। यातायातको अभावमा देशको आर्थिक विकास निकै कठिन हुने रहेछ
त्यसकारण देशको आर्थिक विकासका लागि सर्वप्रथम यातायात सुविधामा वा सडक निर्माणमा जोड दिन आवश्यक छ, अमेरिकाको आर्थिक विकासले त्यही भन्छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 03, 2019