Wikipedia

Search results

Showing posts with label Terrifying Effects of Postmodernism. Show all posts
Showing posts with label Terrifying Effects of Postmodernism. Show all posts

Friday, January 12, 2024

Terrifying Postmodernism Part 31 Last

 उत्तर आधुनिक युगको त्रासदी

३१

चरम उपभोक्तावाद

उत्तर आधुनिक युगमा उपभोक्ता वस्तुहरूको संख्यामा ब्यापक वृद्धि हुनेछ। जुन अनुपातमा उपभोक्ता वस्तुहरू ठूलो संख्यामा बजारमा आउने छन्, सोही अनुपातमा समाजमा उपभोक्तावादमा वृद्धि हुनेछ। अनेक उपभोक्ता वस्तुहरू उपभोग गर्न उपभोक्ताहरू लालायित रहने छन। बजारमा ठूलो संख्यामा रहेका उभोक्ता वस्तुहरूले उपभोक्ताहरूलाई ती उपभोक्ता वस्तुहरू प्राप्त गर्न अतिनै उत्प्रेरित गर्ने छन। अर्थात उपभोक्ता वस्तुहरूले नै उपभोक्ताहरूलाई उत्प्रेरित गर्नेछन। वस्तुका विशेषता, आकार, प्रयोग विधि आदि नै प्रेरक तत्व हुनेछन।

बलियो क्रय शक्ति भएका वा राम्रो आम्दानी भएका ब्यक्तिहरूले त सजिलै गरी ती उपभोक्ता वस्तुहरू प्राप्त गर्ने छन तर कमजोर आम्दानी भएकाहरूले खल्तीमा कम पैसा भएको कारणले बजारमा भएका कम मात्र उपभोक्ता वस्तुहरू खरिद गर्न सक्ने छन। र यसरी कम उपभोक्ता वस्तुहरू खरिद गर्न पाएको वा परेकोमा तथा केही उपभोक्ता वस्तु खरिद गर्न नपाएकोमा, कमजोर आम्दानी भएका उपभोक्ताहरूकमा ठूलो अशन्तोष देखिने छ। त्यो अशन्तोषले उनीहरूमा आफूले प्राप्त गर्ने खोजेको वस्तु अपराध कर्म गरेर भए पनि वा भ्रष्टाचार गरेर भए पनि प्राप्त गर्ने सोंच वा दृढता उत्पन्न गराउने छ। उनीहरूको सोंच भ्रष्टाचार वा अपराध गर्ने तर्फ उन्मुख हुनेछ। अर्को स्थितिमा, आफूले प्राप्त गर्न खोजेको वस्तु खरिद गर्ने नपाएका उपभोक्ताहरूमा लघुताभाषले स्थान बनाउने छ।

उपभोक्ता वस्तु भनेको के हो?

उपभोक्ता वस्तुहरू निम्न चार प्रकारका हुन्छन:

१ अति आवश्यक्ताका उपभोक्ता वस्तु

२ आवश्यकताका उपभोक्ता वस्तु

३ अर्ध विलासी उपभोक्ता वस्तु

४ विलासी उपभोक्ता वस्तु

अति आवश्यक्ताका वस्तु

दैनिक जीवन यापन गर्नका लागि आवश्यक पर्ने वस्तुहरू उपभोक्ता वस्तुहरू हुन्। यिनीहरूको अभावमा जीवन यापन गर्न सम्भव हुँदैन। यस्ता वस्तुहरूलाई अति आवश्यकताका उपभोक्ता वस्तुहरू भन्ने गरिन्छ। जस्तै दाल, चामल, तरकारी, पानी वा भोजन भित्र पर्ने अनेक वस्तुहरू उपभोक्ता वस्तुहरू हुन।

२ आवश्यक्ताका उपभोक्ता वस्तु

जीवन सरल तुल्याइ दिने वस्तुहरू आवश्यक्ताका उपभोक्ता वस्तुहरू हुन्। यी वस्तुहरूको अभावमा बाँच्न सकिन्छ तर यी वस्तुहरूको उपस्थितिले जीवन कठिन हुन पाउँदैन। जस्तै सार्वजनिक सवारीका साधन, फर्निचर, कपडाहरू, ऊर्जा आदि आवश्यकताका उपभोक्ता वस्तुहरू हुन्।

३ अर्ध विलासी वस्तु

केवल प्रदर्शन गर्न, आत्मसन्तुष्टि वृद्धि गर्न, प्रतिस्पर्धा गर्न प्रयोग गरिने वस्तुहरू अर्ध विलासी वस्तुहरू हुन्। यी वस्तुहरूको अभावमा बाँच्न सकिन्छ। अर्ध विलासी वस्तुको प्रकृति कस्तो हुन्छ भने कुनै समयमा, कसैको लागि यो आवश्यक्ताको उपभोक्ता वस्तु हुन पुग्छ। जस्तै दाउरा प्रयोग गरेर खाना पकाउने परिवारको लागि गैस प्रयोग गरेर खान पकाउने चुल्हो अर्ध विलासी वस्तु हुन पुक्छ। सामान्य कुर्सी खरिद गर्न सक्नै क्रय शक्ति भएको ब्यक्तिको लागि घुम्ने कुर्सी अर्ध विलासी वस्तु हुन सक्छ।

४ विलासी वस्तु

आफ्नो सन्तुष्टि वृद्धि गर्न, प्रदर्शन गर्न, आफू अन्य भन्दा फरक रहेको बोध गराउन जस्ता अनेक मनोवैज्ञानिक कारणबाट प्रेरित भएर खरिद गरिने वस्तुहरू विलासी वस्तुहरू हुन। विलासी वस्तुहरूको अभावमा बाँच्न कुनै पनि किसिमको कठिनाई हुँदैन। आवश्यता होइन, लघुताभास वा उच्चताभाष जस्तो मनोभावबाट प्रेरित भएर खरिद गरिने वस्तुहरू विलासी वस्तुहरू हुन्। विलासी वस्तुहरू महँगा प्रकृतिका हुनुका साथै सजिलै, जुन बेला पनि, जहाँ पनि प्राप्त हुने किसिमका हुँदैनन। हिरामोति जडित गहना, सुनका गहना, दरबार जस्तो भवन, अति महँगो आरामदायी कार, निजी विमान आदि विलासी वस्तुका उदाहरणहरू हुन्।

उपभोक्तावाद भनेको के हो?

उत्तर आधुनिक युगमा उपभोक्तावादमा ब्यापक अभिवृद्धि हुनेछ भनी चर्चा गर्नु पूर्व उपभोक्तावाद भनेको के हो त्यो बुझ्न आवश्यक छ। उपभोक्तावादको परिभाषा विभिन्न किसिमले दिइएको पाइन्छ। आफ्नो हक र हित संरक्षण गर्न उपभोक्ताहरू सुसूचित र संगठित हुनुलाई कसैले उपभोक्तावाद भनेको पाइन्छ। आफ्नो अहित हुन बाट जोगिन उपभोक्ताहरू सङ्गठित हुनु उभोक्तावाद हो।

तर वर्तमान सन्दर्भमा, र यो पुस्तकको विषयसङ्ग सम्बन्धित भएर भन्नु पर्दा उपभोक्तावाद भनेको अत्यधिक उपभोक्ता वस्तुहरू उपभोग गर्न खोज्नु हो। आवश्यक्ता नभएका वस्तुहरू पनि उपभोग गर्न खोज्नु हो। एउटै किसिमको आवश्यक्ता परिपूर्ति गरिदिने किसिमको वस्तु भएता पनि उक्त वस्तुका अनेक प्रकारहरू उपभोग गर्न खोज्नु हो। उदाहरणका लागि कुनै सामान्य किसिमको जुत्ताले आफ्नो आवश्यकता परिपूर्ति हुने स्थिति भएता पनि १० ओटा ख्याति प्राप्त ‘ब्रान्ड’ का जुताहरू खरिद गर्नु उपभोक्तावादको राम्रो उदाहरण हो। यो स्थितिमा उभोक्ताले आफ्नो आश्वयताकतालाई होइन जुत्ताको ब्राण्डलाई आधार मानेर जुत्ता खरिद गरेको छ। महँगो ब्राण्डका जुत्ता खरिद गरेको छ।

बढी भन्दा बढी वस्तु प्रयोग गर्नु, नया नया वस्तुहरू प्रयोग गर्न सदा तत्पर रहनु, आवश्यकता नभएका वस्तुहरू खरिद गर्नु, उपयोगी अवस्थामा रहेका पुराना वस्तुहरू फालेर नया वस्तुहरू खरिद गर्नु, उपभोक्ता वस्तुहरूको खरिदमा आफ्नो आम्दानीको ठूलो भाग खर्च गर्नु उपभोक्तावादका लक्षणहरू हुन्। सक्षेममा भन्ने हो भने उपभोक्तावाद अनेक अनके वस्तुहरू उपभोग गर्ने सीमाहीन इच्छा हो। आफूले खोजेका वस्तुहरू उपभोग गर्न नपाएमा कुण्ठाको शिकार हुनु हो।  

विकसित देशहरूमा उपभोक्तावाद झनै चर्को स्थितिमा छ। एउटा उदाहरण मात्र हेरौं। तथ्याङ्कहरूले देखाए अनुसार अमेरिकाको एउटा परिवारले आफ्नो जीवनकालमा ३ लाख भन्दा बढी वस्तुहरू उपभोग गर्छ। अर्थात अमेरिकाको एउटा परिवारको घरमा ३ लाख भन्दा बढी वस्तुहरू रहेको पाइएको छ।

अमेरिकामा कतिपय वस्तुहरू केवल कुनै एक क्षण, एक घण्टा, वा केही समयको लागि मात्र प्रयोग हुने त्यसपछि त्यसको पुन: प्रयोग नहुने वस्तुहरूको संख्या हजारौ होला। उदाहरणका लागि, जन्मदिनको दिन काटिने केकमा राखिएको मैन बत्ति पुन: प्रयोग हुँदैन। १० वा १२ जन्मदिन भनेर लेखिएको बैलुन पुन: प्रयोग हुँदैन। यसैगरी सन् २०२३ भनेर लेखिएको ओर्नामेन्ट (क्रिसमस ट्री सजाउन प्रोयग गरिने सेरामिकको वस्तु) पुन: २०२४ मा प्रयोग हुँदैन। अमेरिका लगायत संसारका अन्य विकसित देशहरूमा केवल एक पटक वा खास क्षणमा प्रयोग हुने वस्तुहरूको संख्या हजारौं छ।

गरिव देशहरूले पनि अहिले धनी देशहरूलाई पछ्याइ रहेका छन्। गरिब देशहरूमा पनि ठूलो संख्यामा उपभोक्ता वस्तुहरू उपभोग भइरहेको छ। अनुमानहरूले देखाए अनुसार गरिब देशहरूमा एउटा परिवारको घरमा ५० हजार उपभोक्ता वस्तुहरू रहेको देखिएको छ। अर्थात गरिब देशका नागरिकहरूले आफ्नो जीवन कालमा ५० हजार भन्दा बढी वस्तुहरू उपभोग गरेको पाइन्छ।

उत्तर आधुनिक युगमा उपभोक्ताहरूले चारै किसिमका उपभोक्ता वस्तुहरू- १. अति आवश्यक्ताका उपभोक्ता वस्तु, २. आवश्यकताका उपभोक्ता वस्तु, ३. अर्ध विलासी उपभोक्ता वस्तु र ४. विलासी उपभोक्ता वस्तु, ठूलो संख्यामा उपभोग गर्ने छन्। उत्पादक एवं बिक्रेताहरूले पनि मुनाफा अभिवृद्धि गर्न र छोटो समयमा करोडौ रुपैंया कमाउन ठूलो संख्यामा नया नया उपभोक्ता वस्तुहरू बजारमा ल्याउने छन। नया नया उपभोक्ता वस्तुहरूको आविष्कार गर्नेछन।  

उत्तर आधुनिक युगमा देखिएको चरम उपभोक्तावादले समाजमा थप असन्तुलन ल्याउने छ। नागरिकहरूमा निरासा अभिवृद्धि गराउने छ। प्रेम, सद्भाव, दया, करुणा जस्ता भावमा कमी आएर मान्छे मेसीन हुनेछ।

उत्तर आधुनिक युगमा मानिसले मेसिन जस्तो भएर निकै धन कमाउन खोज्ने छ। ठूलो आम्दानी गर्ने इच्छा राख्ने छ। र ठूलो आम्दानी सहित बजारमा पुगेर अनेक अनावश्यक उपभोक्ता वस्तुहरू खरिद गर्ने छ।

बढ्दो उपभोक्तावाद उत्तर आधुनिक युगको एक ठूलो त्रासदी हुनेछ।      

 

 उत्तर आधुनिक युगको त्रासदी

३०

युद्ध र परोक्ष युद्ध

उत्तर आधुनिक युगमा परोक्ष युद्ध (Proxy War) सर्वाधिक हुनेछ। अहिले, वर्तमान विश्वमा तिन देशहरूमा परोक्ष युद्धहरू भइरहेका छन। यदि रुस र अमेरिका बिच राम्रो समझदारी भएन भने, चीन र भारतको महाशक्ति बन्ने इच्छ चुलिएर गयो भने, भविष्यमा परोक्ष युद्ध झनै विस्तार हुने खतरा छ। विभिन्न देशहरू परोक्ष युद्धमा तानिने खतरा छ।

प्रत्यक्ष रुपमा संलग्न नभएर केवल हात हतियार पठाएर, प्राविधिक सहयोग गरेर तथा नैतिक समर्थन प्रदान गरेर गरिने युद्धलाई परोक्ष युद्ध भन्ने गरिन्छ। परोक्ष युद्ध अर्को कुनै देशमा पुगेर, त्यो देशको जनतलाई उपयोग गरेर लड्ने गरिन्छ। परोक्ष युद्धमा एउटै देशका विभिन्न शक्तिहरू विभाजित भएर युद्ध गर्छन। र विभाजित शक्तिहरूलाई विभिन्न देशहरूले शैन्य सहयोग गर्छन। कुनै देशको सरकर र विद्रोही पक्ष बिचमया युद्ध हुनु र उक्त देशको सरकार तथा विद्रोही पक्षलाई विभिन्न देशका सरकारहरूले सहयोग गर्नु परोक्ष युद्ध हो। परोक्ष युद्ध कुनै देशको सरकार तथा त्यस देश भित्र रहेको कुनै विद्रोही संगठन बिच संघर्ष भएको देखिएता पनि यथार्थमा, परोक्ष युद्धमा, कुनै देशलाई स्थल तथा माध्यम बनाएर अन्य देशहरूले एक अर्कासङ्ग युद्ध गर्दछन।  

निम्न चार देशको परोक्ष युद्ध अहिले डरलाग्दो किसिमको देखिएको छ।

१ सिरियाको परोक्ष युद्ध

२ यमनको परोक्ष युद्ध

३ फिलिस्तिनको परोक्ष युद्ध

४ युक्रेन-रसिया युद्ध

सिरियाको परोक्ष युद्ध

सिरिया परोक्ष युद्ध २१ सौं सप्ताब्धिको सर्वाधिक घातक एवं डरलाग्दो परोक्ष युद्ध हो। भन्नलाई त यसलाई सरियाको गृह युद्ध भन्ने गरिन्छ तर यो यथार्थमा परोक्ष युद्ध हो। यो युद्धलाई गृह युद्ध मान्नेहरूले २१ सप्ताब्धिको ‘कंगो’ युद्ध पछिको दोस्रो ठूलो डरलाग्दो युद्ध मान्ने गर्दछन। मानवीय क्षतिको हिसाबले यो अति नै हृदयविदारक युद्द हो। सिरियाको गृह युद्धमा अहिलेसम्म (सन् २०२३ डिसेम्बर) मा ६ लाख १० हजार ब्यक्तिहरू मारिएको अनुमान गरिएको छ।

सिरियाको परोक्ष युद्धमा टर्की, इरान, जोर्डन, लेबेनान, संयुक्त राज्य अमेरिका, रसिया, नाटो राष्ट्रहरू संलग्न भएको देखिएता पनि सिरियालाई स्थल बनाएर यो परोक्ष युद्ध रसिया र अमेरिका बिच भएको हो। क्षेत्रीय राजनीतिक र शैन्य शक्ति सन्तुलनमा आफ्नो प्रभुत्व विस्तार गर्न सिरियाको परोक्ष युद्ध रसिया र अमेरिका बिच भएको हो। यो युद्ध बाहिरबाट हेर्दा सिरियाको गृह युद्धझै देखिन्छ। हुन पनि यो परोक्ष युद्धको प्रारम्भ सिरियाका तत्कालीन राष्ट्रपति बसार अल-असदको तानाशाही सरकारको बिरुद्ध सरियाली जनताले सन् २०११ मा गरेको प्रदर्शनबाट भएको थियो। प्रारम्भमा यो गृह युद्ध नभएर केवल बसारको विरोधमा गरिएको केवल जन प्रदर्शन मात्र थियो। तर पछि यो जन प्रदर्शनलाई अन्य राष्ट्रहरूले आआफ्नो हितमा उपयोग गर्न आरम्भ गरे।

२ येमनको परोक्ष युद्ध

येमनको परोक्ष युद्धको चर्चा नगर्ने हो भने परोक्ष युद्धको चर्चा अधुरो हुनेछ।

सन् २०१४ मा आरम्भ भएको येमनको परोक्ष युद्ध जति बढी दर्दनाक छ त्येतिनै बढी जटिल पनि छ। बुझ्न अति नै कठिन पनि छ। तर सरल किसिमले बुझ्ने हो भने यो येमनको गृह युद्धमा येमन तानिए पनि, युदध भूमि येमन भए पनि, युद्ध भने इरान र साउदी अरेबिया बिच भइरहेको छ। येमनको गृह युद्धमा अहिलेसम्ममा १ लाख ५० हजार ब्यक्तिहरूको हत्या भइसेको छ। तर अर्को दु:खद कुरा, युद्धबाट जति बढी ब्यक्तिहरूको मृत्यु भएको छ त्यो भन्दा बढी युद्धबाट प्रभावित भएर मृत्यु भएको छ। येमनको गृह युद्धबाट प्रभावित भएर अर्थात भोकमरीले गर्दा र समयमा स्वास्थ्य सुविधा नपाएर २ लाख २७ हजार ब्यक्तिहरूको ज्यान गइसेको छ। युद्धको कारण जे भएता पनि, जे उल्लेख गरिएता पनि, मुख्य कुरा भने येमनका दुई शक्तिहरूलाई इरान र साउदी अरेबियाले प्रयोग गरिरहेका छन। आफ्नो स्वार्थ सिद्धिका लागि साउदी अरेबिया र इरानले येमनका दुई शक्तिहरू बिच युद्ध गराइ रहेका छन। इरानलाई अन्य विभिन शक्ति राष्ट्रहरूले सहयोग गरेका छन भने साउदी अरेबियालाई अमेरिकाले सहयोग गेको छ। अमेरिकाले येमनका संघर्षरत दुई शक्तिहरू मध्ये एउटालाई प्रत्यक्ष रुपले शैन्य सहयोग गरिरहेको छ।

इरान र साउदी अरेबियाको परोक्ष युद्धमा, येमनको प्रेसिडेन्सिएल लिडरसिप काउन्सिलका अध्यक्ष रशद अल-अलिमी र सुप्रिम पोलिटिकल काउन्सिलका अध्यक्ष महादी अल-मासतले आफ्ना अन्य सहयोगीहरूसङ्ग मिलेर एक अर्कासङ्ग युद्ध गरेता पनि उनीहरूले आफ्नो हितका लागि युद्ध गरेको देखिएता पनि युद्ध भने इरान र साउदी अरेबियाका लागि गरेका हुन्। दुई संघर्षरत पक्षहरू मध्ये हादी पक्षलाई साउदी अरेबियाले सहयोग गरेको छ भने हुथी पक्षलाई इरानले सहयोग गरेको छ। संघर्षरत दुबै पक्षहरूले येमनको सत्ता आफ्नो हातमा लिन खोजिरहेका छन। पर्दा अगाडि यो तथ्य देखिएता पनि येमनमा इरान र साउदी अरियाले आफ्नो समर्थक शक्तिलाई येमनको सत्तामा पुर्याउन खोजिरहेका छन।

अहिले येमनको स्थिति यति भयावह छ कि त्यहाँ युद्धले जन्माएको भोकमरीले गर्दा थप लाखौको ज्यान जाने स्थिति उत्पन्न भएको छ। साधन सम्पन्न देश येमन, परोक्ष युद्धले गर्दा , परोक्ष युद्धले सृजना गरेको गरिबीले गर्दा, जरजर स्थितिमा पुगेको छ। येमनको अर्थ ब्यवस्था अति नै कमजोर हुन पुगेको छ।  

३ फिलिस्तिनको परोक्ष युद्ध

फिलिस्तिनको परोक्ष युद्ध भने झनै बुझ्न कठिन किसिमको छ। पर्दा अगाडि फिलिस्तिनीहरूले स्वतन्त्रताका लागि इजराइलसङ्ग युद्ध गरेको देखिएता पनि यथार्थमा फिलिस्तिनीहरूले इरानका लागि इजराइलसङ्ग युद्ध गरिरहेका छन। तर यो मात्र पनि सम्पूर्ण यथार्थ होइन। फिलिस्तिनका वहुसंख्यक नागरिकहरूले स्वतन्त्रताका लागि इजराइलसङ्ग अनवरत युद्ध गरेता पनि फिलिस्तिनका अल्पसंख्य नागरिकहरूले इरानका लागि इजराइलसङ्ग युद्ध गरिरहेका छन। ती अल्प संख्यक फिलिस्तिनीहरू, जसले फिलिस्तिनको स्वतन्त्रताका लागि होइन इरानको लागि इजराइलसङ्ग युद्ध गरिरहेका छन, ले इजराइलाई विश्व मानचित्रबाट नै हटाउन खोजेका छन। हमास नाम गरेको राजनीतिक सङ्गठन, जो फिलिस्तिनी क्षेत्रको एक सानो भागमा मात्र सीमित छ, लाई केहीले इरानको शेना पनि भन्ने गरेका छन।

विश्व समुदायले अघि सरेको ‘दुई राष्ट्र- इजराइल र फिलिस्तिन समाधन’ मा इजराइल र फिलिस्तिनले सहमती जनाए पनि, फिलिस्तिनलाई एक स्वतन्त्र राष्ट्रको दर्जा इजराइलले दिएता पनि, इरानले हमासलाई प्रयोग गर्न छाड्ने छैन। फिलिस्तिनमा शान्ति स्थापना हुन दिने छैन। इरानले इजराइललाई विश्व मानचित्रबाट नै हटाएर त्यस क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न खोजिरहेको छ, अरब जगत्मा महाशक्ति राष्ट्र हुन खोजिरेहको छ। यदि दुई राष्ट्र अवधारणले सफलता पाएता पनि इरानले समास र हजबुल्ला, यी दुई आफ्ना समर्थक सङ्गठनहरूलाई इजराइलको बिरोधमा प्रयोग गर्ने छ। यी विभिन्न कारणले गर्दा इजराइल- फिलिस्तिन समस्याको समाधन एक जटिल विषय हुन पुगेको छ।  

अरब राष्ट्रहरूलाई तह लगाउन अमेरिकाले इजराइलको स्थापन गरेको भन्नेहरू पनि धेरै नै छन। हुन पनि एक्लो इजराइल चारैतिरबाट मुस्लिम देशहरूबाट घेरिए रहेको छ। इजराइलको उपस्थिति र अवस्थितिले गर्दा नै अमेरिकाले अरबका राष्ट्रहरूमा आफ्नो नियन्त्र कायम गर्न सकेको छ।

फिलिस्तिन र इजराइल युद्ध यी दुई देशहरूको हितमा नभएर इरान र अमेरिकाको हितमा भएकोले यो युदध कुनै पनि पनि किसिमको सम्झौता वा सहमतिद्वारा समाप्त हुने देखिंदैन। यो पृथ्वीको अस्तित्व रहेसम्म, फिलिस्तिन र इजराइलको अस्तित्व रहेसम्म, इजराइल र फिलिस्तिन युद्ध समाप्त हुने लक्षण देखिंदैन। फिलिस्तिन र इजराइल युद्ध पनि एक किसिमको अमेरिका र इरान बिचको परोक्ष युद्ध नै हो। १९४८ मे १४ मा इजराइलको स्थापना भएको थियो। इजराइलको स्थापना भए पछि आरम्भ भएको इजराइल फिलिस्तिन युदध जुन आधुनिक मानव सभ्यताको घाउको रुपमा देखिएको छ, कहिले नछुट्ने वा समाप्त नहुने जस्तो देखिएको छ।  

भारत नियन्त्रित कश्मिरमा पनि परोक्ष युद्ध नै भइरेहको हो। युद्ध भूमि कश्मिर भएता पनि परोक्षामा भने भारत र पाकिस्तान बिच युद्ध भइरहेको छ। कश्मिर युद्ध पनि समाप्त हुने लक्षण देखिएको छैन। यो परोक्ष युद्ध भएको हुनाले समाप्त हुने प्रश्न नै उठ्दैन। प्रत्यक्ष युद्ध समाप्त हुन सक्छ तर परोक्ष युद्ध समाप्त हुने कठिन हुन्छ। परोक्ष युद्धमा परोक्षबाट युद्ध गर्ने राष्ट्रहरूले ठूलो क्षति नबेहोर्नु परेको हुनाले उनीहरूले प्रयोग गर्ने राष्ट्रमा युद्ध गराइनै रहन्छन।  भारत र पाकिस्तान, यी दुई राष्ट्रहरू विश्व मान चित्रमा रहेसम्म कस्मिर भित्र हुने भारत- पाकिस्तान परोक्ष युद्ध यो पृथ्वीमा मानव सभ्याता रहेसम्म समाप्त हुने सम्भावना छैन।

संसार भरिमा अहिले अनेक देशमा परोक्ष युद्ध भइने रहेको छ। माथि उल्लेख गरिएका परोक्ष युद्धहरू भने ठूलो आकारका भएका र क्षति पनि ठूलो पुर्याएका हुनाले यी परोक्ष युद्धहरूको चर्चा बढी गरिएको हो। 

उतर आधुनिक युगमा युद्धहरू ठूलो संख्यामा नभएता पनि युद्ध भने भइनै रहने छ। तर सर्वाधिक ठूलो संख्यामा भने परोक्ष युद्ध हुनेछ। करोडौं ब्यक्तिहरूको हताहति हुनेछ।

४ युक्रेन-रसिया युद्ध

फेब्रुअरी २०, २०१४ मा प्रारम्भ भएको युक्रेन-रसिया युद्ध बाहिरबाट हेर्दा यी दुई राष्ट्रहरू बिचको युद्ध जस्तो देखिएता पनि यो युद्ध परोक्ष युद्ध नै हो। फरक मात्र के छ भने यो युद्धको एउटा पक्ष (रसिया) ले स्वयंको लागि युद्ध गरिरहेको छ भने अर्को पक्ष (युक्रेन) ले अन्य राष्ट्रहरूको लागि युद्ध गरिरहेको छ। अर्थात रसियाले आफ्नो लागि यो युद्द लडिरहेको छ भने युक्रेनले अमेरिका र नाटो देशका लागि वा भनौ युरोपियन युनियन राष्ट्रहरूको लागि यो युद्ध लडिरहेको छ। यो युद्धको अर्को पनि एउटा विशेषता छ। त्यो विषेशता के हो भने रसियालाई सहयोग गर्नेहरू राष्ट्रहरू पनि छन्। केही राष्ट्रहरूले रसियालाई प्रत्यक्ष, सबैले देख्न सक्ने गरी सहयोग गरिरहेका छन भने केहीले अप्रत्यक्ष सहयोग गरिरहेका छन। इरान, सिरिया आदिले रसियालाई प्रत्यक्ष सहयोग गरिरहेका छन भने चीन, क्युवा आदिले अप्रत्यक्ष सहयोग गरिरहेका छन। युक्रेन-रसिया युद्धमा आजसम्म (डिसेम्बर २०२३) मा युक्रेन तर्फ मृत्यु तथा घाइते हुनेहरूको संख्या ३ लाख ८३ हजार पुगेको छ। सन् २०२२ को सेप्टम्बर सम्ममा भने यो युद्धमा ५ हजार ९३७ रुसी सेनाहरूको मृत्यु भएको थियो भने ६१ हजार २०७ युक्रेनी सेनाहरूको मृत्यु भएको थियो।

युक्रेन-रसिया युद्धले के सन्देश प्रष्ट रुपमा दिएको छ भने उत्तर आधुनिक युगमा साना राष्ट्रहरूको अस्तित्व संकटमा हुनेछ। यो विषयमा माथि पनि चर्चा गरिसकिएको छ।

चीनको बढ्दो शैन्य शक्तिले ताइवानको अस्तित्व संकटमा पर्ने छ। हङ्कङ माथिको चीनको नियन्त्रण झन कडा हुनेछ। यसैगरी भारतको बढ्दो शैन्य शक्तिले गर्दा पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, नेपाल आदिको अस्तित्व संकटमा पर्नेछ। नेपाल, भुटान, श्रीलङ्का जस्ता साना र शैन्य शक्ति कमजोर भएका राष्ट्रहरूमा भारतले आफ्नो स्वार्थ अनुसारको काम गर्ने ती देशहरूमा आफ्नो समर्थन गर्ने सरकारको स्थापना गर्ने रणनीति प्रयोग गर्नेछ। स्पष्ट भाषामा भन्ने हो भने दु:ख दिने छ।

ठूला र शैन्य शक्तिमा बलियो हुने राष्ट्रहरूले अफ्रिका, दक्षिण अमेरिका, युरोपमा साना राष्ट्रहरूको अस्तित्व संकटमा पार्ने छन।

उत्तर आधुनिक युगमा युद्ध कम भएता पनि परोक्ष युद्ध भने ठूलो संख्यामा हुनेछ। अमेरिका, चीन, रसिया, इरान आदिको विदेश नीतिले परोक्ष युद्धमा वृद्धि ल्याउने छ।  

Terrifying Postmodernism Part 29

 उत्तर आधुनिक युगको त्रासदी

२९

हेकिंगको खतरा

कम्युटर आधुनिक सभ्यताको मुटु हो। कम्युटरको प्रयोगले हाम्रो जीवन सरल पारेको छ। स्कूल, कलेज, अस्पताल, सरकारी कार्यालाय आदिमा कम्युटरको ब्यापक प्रयोग हुन्छ। ब्यापार क्षेत्रमा त कम्युटरको झनै अत्यधिक प्रयोग हुन्छ। यो समय बिन्दुमा, यदि कम्युटर न हुने हो भने ब्यापार गर्न नै असम्भव हुने स्थिति सृजना भएको छ। अमेजन, इवे जस्ता विश्वविख्यात कम्पनीहरूले कम्प्युटर प्रणाली प्रयोग गरेर, इन्टनेटको सहयोगबाट, ठूलो परिमाणमा ‘अनलाइन ब्यापार’ गरिरहेका छन। कम्प्युटर प्रणालीले गर्दा नै इ ब्यापार (E-Commerce) सम्भव भएको छ।

आधुनिक बैंकिक प्रणाली त कम्युटरको जगमाथि नै उभिएको छ। बैकिंग प्रणालीबाट कम्युटर झिकिदिने हो भने बैंकिग प्रणाली नै धरासायी हुने स्थिति छ। बैंकिग प्रणाली आधुनिक युगमा यति जटिल हुन पुगेको छ कि त्यो केवल मानवीय श्रमद्वारा गर्न सम्भव छैन, कम्प्युटर प्रयोग गर्नु पर्छ नै। कोष एक ठाउँबाट अर्को ठाउँ पुर्याउन, ब्याज गणना गर्न कम्युटरको निकै प्रयोग हुन्छ। यी कार्यहरू कम्युटर नभएमा मानिसले गर्न सम्भव छैन।

कम्प्युटर नहुने हो भने यो युगमा ‘स्टक’ वा शेयर खरिद बिक्री गर्न असम्भव नै हुनेछ।

स्वास्थ्य क्षेत्रमा त झन कम्युटरको महत्व चुलिएर गएको छ। कुनै एक बिरामीको स्वास्थ्य-अभिलेख कम्युटरको प्रयोग नगरिएमा राख्न असम्भव भएको छ। कुनै एक विरामीलाई विगतमा के कस्ता विरामीहरू भए, उसले के कस्ता औषधीहरू खायो, उसको स्वास्थ्य परीक्षणका नतिजाहरू कस्ता थिए, आदि जस्ता स्वास्थ्य अभिलेख राख्न  कम्युटर अहिले वरदान साबित भएको छ। कुनै एक विरामीको मुटुको गति हेर्न, स्वास प्रस्वासको स्थिति हेर्ने, रक्तसञ्चारको स्थिति हेर्ने आदि जस्ता कार्य पनि कम्प्युटरले गर्न थालेको छ। यी कार्यहरू गर्न स्वास्थ्यकर्मी नचाहिने भएको छ।

हावा, पानी, घाम आदि मानव सभ्याताका अभिन्न अंग भएझै कम्प्युटर पनि मानव सभ्यताको एक अभिन्न अंग भएको छ। तर साथै कम्प्युटर हैकिंगको समस्या पनि बढेर गएको छ। कम्प्युटर हैंकिग अहिले ठूलो चुनौति हुन पुगेको छ। आफ्नो सूचना प्रणाली कसरी हैकरहरूबाट जोगाउने भन्ने चिंता ब्यक्ति, संस्था एवं सरकारहरूमा बढेर गएको छ। हैकरहरूले चाहेमा कुनै पनि व्यक्ति वा संस्थाको कम्प्युटर वा सूचना प्रणाली भित्र पसेर सूचना प्रणालीलाई ठूलो क्षति पुर्याउन सक्ने, त्यसलाई नष्ट नै समैत पनि पार्न सक्ने भएकोले म्प्युटरको क्षेत्रमा हैकिंग अहिले अत्यधिक ठूलो समस्या हुन पुगेको छ। सूचना, जानकारी, अभिलेख र व्यक्तिगत विवरणहरू कसरी सुरक्षित पार्ने भनी चिन्ता बढेको छ।  

उत्तर आधुनिक युगले ल्याउने त्रासदी मध्ये कम्प्युटर हैकिंग पनि एक हुनेछ। उत्तर आधुनिक युगमा व्यक्तिहरूका महत्वपूर्ण सूचना, जानकारी आदिको ठूलो दुरुपयोग हुनेछ।

अब, कम्युटर हैकिंग के हो त्यसबारे चर्चा गरौं।

हैकिंग भनेको कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र रहेको कमजोरी सुनोयोजित एवं जानाजानी पत्ता लगाएर कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र अनाधिकृत किसिमबाट प्रवेश गर्नु हो।

हैकिंग कार्य असल र खराब दुबै किसिमका उद्देश्यका साथ गरिन्छ। असल उद्देश्यका साथ हैकिंग कार्य गर्नेलाई ‘ह्वाइट हैट हैकर’ (White Hat Hacker) भनिन्छ। खराब उद्देश्यका साथ हैकिंक कार्य गर्नेलाई ‘ब्लेक हैट हैकर (Black Hat Hacker) भनिन्छ।

मुख्यगरी अनेक संस्था वा संगठनहरूको कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र रहेका कमजोरी पत्ता लगाउन तथा ती कमजोरीहरूको सुधार गरी खराब नियत भएका हैकरहरूलाई कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र अनाधिकृति किसिमले प्रवेश गर्न नसक्ने गरी कम्प्युटर प्रणाली तथा सञ्जाललाई बलियो तुल्याउन ह्वाइट हैट हैकरहरूको प्रयोग गरिन्छ। ह्वाइट हैट हैकरहरूले कम्प्युटर प्रणाली एवं सञ्जाललाई सुरक्षित पार्ने कार्य गर्दछन। ह्वाइट हैट हैकरहरू कम्प्युटर प्रणाली तथा सञ्जालका पहरेदारहरू हुन्।

ब्लैक हैट हैकरहरूको काम भने आफ्नो उच्च एवं अति विशिष्ठ कम्प्युटर सम्बन्धी ज्ञानको प्रयोग गरेर ब्यक्ति वा संस्थाको कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र अनाधिकृत किसिमले प्रवेश गर्नु र आफूलाई चाहिएको सूचना एवं जानकारीहरू कम्प्युटर प्रणाली तथा सञ्जालबाट चोरी गर्नु हो। र त्यसरी चोरेका सूचना एवं जानकारी अन्यत्र प्रयोग गरेर ठूलो पैसा हात पार्नु हो। ब्लैक हैट ह्याकरहरूले मुख्य गरी दुई कार्यहरू गर्दछन। पहिलो कार्य, कुनै ब्यक्ति वा संस्थाको कम्प्युटर प्रणाली भित्र प्रवेश गरेर महत्वपूर्ण सूचना एवं जानकारीहरूको चोरी गर्नु र चोरिएका सूचना एवं जानकारीहरूको दुरुपयोग आफ्नो आर्थिक फाइदाक लागि गर्नु। दोस्रो कार्य, कुनै व्यक्ति वा संस्थाको कम्प्युटर प्रणाली वा सञ्जाल भित्र प्रवेश गरेर उक्त प्रणाली वा सञ्जालको उचितसङ्ग कार्य गर्ने क्षमता एवं कुसलता नष्ट पारिदिनु। ब्लेक हैट हैकरहरू अपराधीहरू हुन्। आफूले चोरेको सूचना सार्वजनिक गरिदिने वा कुनै व्यक्ति वा संस्थाको कम्युटरको कार्य प्रणाली नै ध्वस्त पारिदिने भनी ब्लेक हैट हैकरहरूले ठूलो रकम पीडितसङ्ग माग पनि गर्दछन।

ब्लैक हैट हैकरहरूले आफ्नो कम्प्युटर प्रणाली भित्र पसेर क्षति पुर्याउन नसकुन भनेर कतिपय ठूला कम्पनीहरूले ह्वाइट हैट हैकर वा नैतिकवान हैकर (Ethical Hackers) नियुक्त समेत गरेका हुन्छन। समाचारहरूमा उल्लेख गरिए अनुसार टेस्ला, बैंक अफ अमेरिका, लेनेभो, गुगल, हेकररेन्क, आइबिएम, लिटिल सिजर, क्राउडस्ट्राइक जस्ता कम्पनीहरूले आफ्नो कम्पनीको कम्प्युटर प्रणाली ब्लैक हैट हैकरहरूबाट  सुरक्षित राख्न नैतिकवान हैकरहरू नियुकत गरेको पाइएको थियो।

सन् २०२३ मा ब्लैक हैट हैकरहरूले टी-मोबाइल, केएफसी, टाको बेल, पिजा हट, चिक-फिल-ए जस्ता कम्पनीहरूको कम्प्युटर प्रणाली एवं सञ्जाल भित्र पसेर ठूलो क्षति पुर्याएको सुनिएको थियो।

कतिपय हैकरहरूले पैसाको लागि हैकिंग कार्य गर्दछन भने कतिपयले आफ्नो देशको सरकारको निर्दैशनमा अर्को देशको महत्वपूर्ण सूचना एवं जानकारी तथा सुरक्षा सम्बन्धी गोप्य कुराहरू थाहा पाउन हैकिंग गर्दछन। कतिपयले केवल मनोरंजन वा आफ्नो कम्प्युटर-ज्ञान क्षमताको जाँच गर्न पनि हैकिंग कार्य गर्छन।  

केभिन मिटनिक, अज्ञात, एड्रियन लामो, अल्बर्ट गोन्जालेज, मैथ्यु बेभेन एण्ड रिचार्ड प्री, जिएसन जेम्स अन्चेला, माइकल काली, केल्भिन पौल्सेन, जोनाथेन जेम्स र अस्त्र लाई संसारका सर्वाधिक दस ठूला कुख्यात हैकर मान्ने गरिन्छ।

केही हैकरहरूले भने अपराध कर्म (हैकिंग) परित्याग गरेर सही बाटोमा लागेको पाइएको छ। त्यस्ताहरूले ह्वाइट हैट हैकर भएर काम गरेको सुनिएको छ। उनीहरूले समाज र सरकारलाई सहयोग गरेको देखिएको पनि छ।

ब्लेक हैट हैकरहरूबाट कुनै समाजिक वा ब्यापारिक संगठनहरू मात्र पिडीत हुँदैनन, सामान्य उपभोक्ताहरू समेत पनि पीडित हुन पुग्छन। ब्लैक हैट ह्याकरहरूलाई अन्य गम्भीर प्रकृतिका अपराध गर्ने अपराधी सरह नै दण्ड दिने गरिन्छ।

उत्तर आधुनिक युगमा हुने अनेक कुकर्महरू मध्ये हैकिंग पनि एक हुनेछ। कम्युटर प्रणालीको जगत्मा ठूला ठूला अपराधहरू हुने छन्। यति मात्र होइन, हैकरहरूले कुनै देशको सुरक्षा प्रणाली (कम्प्युटर प्रणाल) भित्र पसेर न्युक्लिएर हतियार पनि प्रयोग गर्न सक्ने सम्भावना छ।  

उत्तर आधुनिक युगमा हैकरहरूको शक्ति देखर कम्प्युटर मानव सभ्यताको शत्रु वा मित्र के हो भनी निर्धारण गर्न मानिसहरूलाई कठिनाइ हुनेछ।   

Terrifying Postmodernism Part 28

 उत्तर आधुनिक युगको त्रासदी

२८              

धनको चर्को स्वर

उत्तर आधुनिक युगमा धनको चर्को स्वर हुनेछ। समाजलाई धनीहरूले नराम्रो गरी प्रभावित गर्ने छन। धनले धर्म, संस्कृति, राजनीति आदिलाई पनि बलियो गरी प्रभावित गर्ने क्षमता राख्ने छ। नैतिकता, मूल्य, मान्यता आदि भन्दा धनको स्थान उच्च हुनेछ।  

उत्तर आधुनिक युगमा धनीहरूको समाजमा ठूलो रवाफ हुने भएको र धनीहरूले बढी इज्जत पाउने हुनाले सबैले धनीहुन भगीरथ प्रयत्न गर्ने छन। र यो कार्यले समाज प्रदुषित हुनेछ। कलह बढ्ने छ।

उत्तर आधुनिक युगमा धनको महत्व दुई कारणले अत्यधिक रुपमा बृद्धि हुनेछ। पहिलो कारण हो राजनीतिक चुनाव। कुनै पनि उम्मेदवार, इमान्दार वा बेइमान, दुई थरीलाई चुनाव लड्न र विजयी हुन पैसा आवश्यक पर्ने छ। खासगरी विकासशील देशहरूमा मतदाताहरूले आफ्नो मत पैसा र सुविधा सङ्ग साट्ने छन् अनि मतदाताहरूको मत बटुल्न उम्मेदवारहरूले अनिवार्य रुपमा धनको जोहो गर्नु पर्नेछ।

चुनावमा उम्मेदवारको चरित्र, इमान्दारी भन्दा उसको धन बाँड्ने क्षमता महत्वपूर्ण हुने भएकोले चुनावमा विजयी हुन र सत्तामा पुग्न राजनीतिक कर्मीहरूले जसरी पनि धन आर्जन गर्नु पर्नेछ। उनीहरूले धन आर्जन गर्न आर्थिक र राजनीतिक भ्रष्टाचार गर्ने छन्।   

दोस्रो कारणमा अर्ध एवं पूर्ण विलासी वस्तुहरूको बाजरमा ठूलो आपूर्ति हुनु रहने छ। दैनिक आवश्कताका वस्तुहरू जस्तै भोजन, फर्निचर, कपडा, आदि उत्पादन गरेर बिक्री गर्दा त्यस्ता वस्तुका उत्पादक एवं बिक्रेताहरूलाई तुलनात्मक रुपमा कम आम्दानी हुन्छ। यो सबैलाई थाहा भएको कुरा हो। यो कारणले गर्दा उत्पादकहरूले बढी मुनाफा हुने वस्तुहरू, अर्थात अर्ध एवं पूर्ण विलासी वस्तुहरूको उत्पादनमा जोड दिने छन्। बिक्रेताहरूले पनि अर्ध एवं पूर्ण विलासी वस्तुहरू बिक्री गर्दा बढी मुनाफा हुने भएकोले त्यस किसिमका वस्तुहरू बिक्री गर्नमा जोड दिनेछन। बिक्री बृद्धि गर्न अनेक किसिमका विज्ञापन समेत पनि गर्ने छन्।

उत्तर आधुनिक युगमा उत्पादक एवं बिक्रेताहरूले बढी मात्रामान नया नया अर्ध एवं पूर्ण विलासी वस्तुहरू ल्याउने छन। यस किसिका वस्तुहरूको विकास गर्न अनुसन्धान तथा विकासमा निकै लगानी पनि गर्नेछन।

नया नया वस्तुहरूको विज्ञापन पनि उपभोक्ताहरूमा खरिद गर्ने इच्छा तत्काल जागृत हुने किसिमबाट गर्ने छन्।। वहुसंख्यक मात्र होइन, कुनै पनि बजार वा देशका सम्पूर्ण उपभोक्ताहरूले त्यस्ता वस्तुहरू खरिद गर्ने तत्परता देखाउने छन। धन भएमा त्यस्ता वस्तुहरू सजिलै खरिद गर्न सकिने यथार्थलाई बुझ्दै समाजका सबै नागरिकहरुले धनलाई महत्व दिनेछन।

अर्ध एवं पूर्ण विलासी वस्तुहरू बजारमा ल्याउँदा उत्पादकहरूलाई बढी फाइदा हुने कारणले उनीहरूले अत्यावस्यक र आवश्यक वस्तुको बिक्री भन्दा अर्ध एवं पूर्ण विलासी वस्तुहरूको बिक्रीमा विशेष जोड दिने कारणले एकातिर अर्ध एवं पूर्ण विलासी वस्तुहरूको उपस्थिति बजारमा ठूलो संख्यामा हुने अर्कोतिर त्यस्ता वस्तुहरू जसरी पनि प्राप्त गर्ने तिब्र इच्छा क्रेता वा उपभोक्ताहरूमा हुने भएकोले उत्तर आधुनिक युगको धनको चर्चको स्वर हुनेछ। यो सबैलाई थाहा भएको कुरा हो अधिक भन्दा अधिक विलासी वस्तुहरू खरिद गर्न अधिक धन वा पैसा चाहिन्छ नै।

यो युगमा जालझेल गरेर, भ्रष्टाचारमा लिप्त भएर, कालो कार्य गरेर वा समग्रमा भनौ जस्तो सुकै अपराध कार्य गरेर भए पनि धन आर्जन गरेमा समाजमा के कस्तो कार्य गरेर धन आर्जन गर्यो भनी खोजि नहुने र उल्टो त्यस्ता कार्य गरेर धनी हुनेहरूलाई समाजले बढी इज्जत दिने भएकोले इमान्दारीपूर्वक जीवन निर्वाह गर्दा गरिब हुने हरूलाई बाँच्न कठिन हुनेछ। अर्कोतिर, धन नभएको कारणले गरिबहरूले समाजमा इज्जत पाउन कठिन हुनेछ पनि। यी र यस्ता अनेक कारणले गर्दा धनले समाजमा सर्वोच्च स्थान पाउने छ। यो स्थिति विश्वका प्राय: गरिब तथा राजनीति अस्थिर हुने राष्ट्रहरूमा बढी देखिने छ।

कृषि युग राम्रो थिएन भन्नु पूर्व हामीले कृषि युग के कारणले नराम्रो थियो भनी खोजि गर्नु पर्ने पनि हुन्छ। कृषि युगमा आवश्यकता सीमित भएकोले मानिसको प्रमुख आवश्यकता भनेको केवल जीवन निर्वाह गर्नु मात्र थियो। त्यस समयमा अनेक किसिमका वस्तुहरू पनि थिएनन, ती वस्तुहरू जसरी पनि प्राप्त गर्नु पर्छ भनी जनसमूहमा ठूलो लालसा पनि थिएन। तर यो युगमा, आर्टिफिसिएल इन्टेलिजेन्स युगमा, उत्तर आधुनिक युगमा, अनेक किसिमका वस्तुहरू बजारमा उपब्ध भएकोले जनसमूहमा ती वस्तुहरू जसरी पनि प्राप्त गर्ने लालसा छ। ती वस्तुहरू आफूले उपयोग गर्न नपाउँदा आफू गरिब देखिने भय पनि छ। अब यदि मानौ, यो आर्टिफिसिएल इन्टेलिजेन्सको युगमा माथि भनिएका कारणहरूले गर्दा जन समूहमा अत्याचारी, अपराधी प्रवृतिमा वृदधि भयो भने के हामीले कृषि युग अँध्यारो युग र वर्तमान उत्तर आधुनिक युग उज्यालो युग भन्न मिल्छ होला?

धनले जति महत्व पाउँछ, समाजमा सोही अनुपातमा अपराध पनि वृद्धि हुन्छ। अपराधको कुरा गर्ने हो भने अहिले नै पनि दक्षिण अमेरिकाका देशहरूमा ठूलो संख्यामा अपराध ब्याप्त छ। भेनेजुएला, कोलम्बिया, गुएना, ब्राजिल, पेरु, बोलिभिया, एक्वेडोर र पारागोए दक्षिण अमेरिकाका क्रमश: पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैठौ, सातौं र आठौ अति डरलाग्दो र अति सुरक्षित देशहरू हुन्। यी देशहरूमा भ्रमणमा जाने पर्यटकहरूलाई यसबारे जानकारी गराइएको हुन्छ।  

जव मुद्राको आविष्कार भयो धन संचय गर्ने कार्य सजिलो भयो। धन संचय गर्न सजिलो भएकोले गरिब र धनी हुने प्रकृयामा पनि बृद्धि भयो। समाज गरिब र धनी गरी दुई वर्गमा विभाजित भयो। धनीहरूको संख्यामा वृदध् भयो अपराध र अपराधीहरूको संख्यामा पनि वृद्धि भयो। मुद्राको अविष्कारले मानव सभ्यतालाई आधुनिक युगमा प्रवेश गरायो तर साथै त्यो आविष्कारले चोरी, डकैती, घुसखोरी जस्ता अनेक विकृति पनि ल्यायो।

यस पृथ्वीमा ८४ लाख प्राणीहरू रहेको विश्वास गरिन्छ। र अचम्म! ती ८४ लाख प्राणीहरू मध्ये केवल मानिस भन्ने प्राणीले मात्र धन सृजना गर्छ, धन लगानी गर्छ, धन-लाभ प्राप्त गर्छ। मानिसले धन सञ्चय पनि गर्छ। तर अन्य प्राणीहरूले न त धन सृजना गर्छन, न त सञ्चय नै गर्छन। तर पनि उनीहरूको जीवन निर्वाह भइरहेको छ। अर्थात हामी धन सृजना नगरेर, सञ्चय नगरेर पनि अरु प्राणी जस्तो भएर बाँच्न सक्छौ। तर त्यस्तो गर्दैनौ।

अन्य प्राणीहरूले झैं, हामीले पनि केही नगरेर पनि बाँच्न सक्ने स्थिति हामीलाई प्रकृतिले दिएको छ। तर हामी त्यस्तो गर्दैनौ। र यस्तो कुरा गर्नुलाई मूर्खता ठान्छौ। तर यो कुरा सत्य त हो नि! धन केवल मानिसलाई मात्र चाहिएको हो।  

संसार भरिबाट प्रत्येक दिन ठूलो संख्यामा स्थान्तरण भइरहेको छ। गरिब देशका नागरिकहरू धनी देशहरूमा कानूनी एवं गैर कानूनी रुपमा प्रवेश गरिरहेका छन। जीवन जोखिमा, यात्राको क्रम ज्यान नै जाने स्थिति देखेर पनि धनी देशतिर प्रस्थान गरि रहेका छन। नेपालबाट प्रत्येक दिन ठूलो संख्यामा युवा युवतीहरूले विदेशतिर लागिरहेका छन्? विश्व भरि किन यति ठूलो संख्यामा स्थान्तरण भएको हो? यो प्रश्नको उत्तर सरल छ। धनका लागि जीवन जोखिममा राखेर भए पनि मानिसहरू गरिब देशबाट धनी देशतिर गइ रहेका छन्। यो स्थिति धनको चर्चको स्वरले गर्दा आएको हो।

कृषी युगमा धन सञ्चय गर्न कठिन थियो। मुद्राको आविष्कार पनि भएको थिएन। धनको महत्व पनि थिएन। यो कारणले गर्दा यती ठूलो संख्यामा स्थानन्तरण हुन्थेन। आफ्नो गरिब देश छाडेर मानिसहरू धनी देशतिर जान्थेनन्।

उत्तर आधुनिक युगमा धनी आर्जन गर्नु पर्छ, जसरी पनि गर्नु पर्छ, भन्ने भावले मानिसहरूलाई शान्तिपूर्वक तथा यथास्थितिमा बस्न दिने छैन।

Thursday, January 11, 2024

Terrifying Postmodernism Part 27

 उत्तर आधुनिक युगको त्रासदी

२७

इन्टरनेट एक चुनौति

हामी सबैलाई ज्ञात भएको कुरा हो सन् १९९० को दसक भन्दा पहिले इन्टरनेटको प्रयोग अहिले जस्तो ब्यापक भइसेके थिएन। इन्टरनेटको प्रयोग सीमित स्थानहरूमा मात्र हुन्थ्यो। सामाजिक सञ्जालहरू जस्तै फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सअप आदि प्रयोग गर्न पाउनुन सपनाको कुरा जस्तो थियो। तर सन् १९९० को दसक पछि र मुख्य गरेर सन् २००० पछि इन्टरनेटको प्रयोगमा ब्यापकता आउन आरम्भ भयो। इन्टरनेट प्रयोग गर्नु जीवनका अनेक महत्वपूर्ण गर्नु पर्ने कार्य मध्ये एक हुनु जस्तो भयो। भौगोलिक रुपमा जतिसुकै पर भएता पनि मानिस-मानिस बिच सम्पर्क हुनु, सम्वाद हुनु, अन्तरक्रिया हुनु ज्यादै सहज हुनु पुग्यो। इन्टरनेटको प्रयोग जति सामाजिक जीवनमा ब्यापक भयो त्यतिकै ब्यापक ब्यापारिक जगत्मा पनि भयो। वस्तुहरू अनलाइन खरिद गर्न पाउनु, खरिद गरिएका वस्तुहरूको भुक्तानी अनलाइन गर्न पाउनु अति नै सहज हुन पुग्यो।

सन् २०२० पछि त इन्टरनेटको संसारमा सुनौलो क्रान्ति नै आयो। यही समयमा मानव मष्तिष्कले भन्दा पनि तिब्र गतिले सोंच्ने एंव कल्पना गर्न नसकिने संख्यामा जानकारी संकलन गर्ने, संकलित जानकारीको विश्लेषण गर्ने तथा विश्लेषण पछि, विश्लेषणको परिणाम दिने ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ को विकास भयो। आर्टिफिसिएल इन्टेलिजेन्सको प्रयोग ब्यापक रुपमा हुन थाल्यो।  सन् २०२२ मा विकास भएको एक सफ्टवेयर च्याटजिपिटी (ChatGPT) ले इन्टरनेटको जगत्मा तहल्का नै मचायो। आफूले खोजेको जानकारी उपलब्ध गराउने मात्र होइन, मान्छेलेझै कार्य गर्ने च्याटजिपिटीको प्रयोग अति नै हुन थाल्यो। यस्तो किसिमको कार्य गर भन्दा सो गर्न तयार रहने च्याटजिपिटीले प्रयोगकार्ताको आदेश, प्रयोगकर्ताले भनेको भाषामा कवित, गीत, कथा आदि पनि लेख्ने क्षमता राख्यो।

इन्टरनेटको प्रयोगले खरिद कार्य यति सजिलो भयो कि उपभोक्ताहरूले अनलाइन खरिद गरेका सामाग्री आफ्नो निवासमानै प्राप्त गर्न थाले। अनलाइन सपिंगले यति लोकप्रियता पायो कि मानिसहरू सामान खरिद गर्न खुद्रा भण्डारहरूमा जान छाडेर अनलाइन खरिद गर्नमा नै अति रमाउन थाले। खुद्रा भण्डारमा जानेहरूको संख्या कम भएर धेरै खुदा भण्डारहरू बन्द हुने स्थिति सृजना भयो। यो स्थिति अमेरिकमा बढी देखियो। सन् २०२० पछि, अमेरिकामा ठूलो संख्यामा खुद्रा भण्डार (भवनसहितका पसलहरू) बन्द भए। मलहरू भित्र रहेका खुदा भण्डारहरू पनि ठूलो संख्यामा बन्द भए।

इन्टरनेटको दुष्परिणमाको महत्वपूर्ण उदाहरण अनलाइन सपिंग ब्यवहारमा वृद्धि हुनु र पसल सहितका खुद्रा भण्डारहरू बन्द हुन पुग्यो। यो स्थितिले साना ब्यापारीहरू, जसले ब्यापार संचालन केवल जीवन निर्वाहका लागि गरेका हुन, मा निरासा देखियो। उनीहरूको रोजगार हरिएको अनुभव गरियो।

इन्टरनेटको प्रयोगले मानव जीवनलाई अति सरल पार्यो। तर इन्टरनेटले चुनौतिको पहाड पनि खडा गरिदियो। अर्थात इन्टरनेटको ठूला ठूला दुर्गुणहरू पनि देखिन थाले। ती दुर्गुणहरू पीडाको रुपमा अनुभूत भए।

इन्टरनेटले जन्म दिएको एउटा पीडाबारे यहाँ चर्चा गरौं।

सामाजिक संजालका प्रयोगकर्ताहरूले ह्वाट्सअप, इन्स्टाग्राम, फेसबुक आदिमा आफ्ना क्रियाकलापका अनेक तस्विरहरू सजिलै राख्न सक्छन। विवाहको, भोजको, पार्टीको, अनेक स्थान भ्रमण गरेको फोटोहरू राख्न र ती फोटोहरू सार्वजिनक रुपमा प्रदर्शन गर्न सामाजिक संजालहरूले सजिलो पारिदिएका छन। यो स्थितिमा, मानौ कुनै व्यक्ति अति नै धनी  छ र ऊ प्रत्येक महिना कुनै अर्को देशमा पुग्ने गरेको छ,  त्यहाँ पुगेर भ्रमण गरेको तस्विर ‘फेसबुक’ मा राख्ने गरेको छ भने उक्त धनी ब्यक्तिको लागि फेसबुक आफू धनी छु, दस ओटा देशका विभिन्न स्थानहरूमा घुम्ने हैसियत राख्छु भनी देखाउने ‘प्लेटफार्म’ बन्छ। अर्कोतिर, ती सम्पूर्ण गरिबहरू जसले उक्त ब्यक्ति अनेक देशमा पुगेर उसले अनेक स्थान भ्रमण गरेको उक्त ब्यक्तिले फेसबुकमा राखेको फोटोहरूबाट देख्छ तब ती गरिबहरूमा पनि विश्वका अनेक स्थानहरूमा पुगेर फोटो खिच्ने इच्छा जागृत हुन्छ। आफू गरिब भएर विश्वका अनेक देशहरूमा पुग्न नपाएकोमा ती गरिब ब्यक्तिहरूमा एक किसिमको इर्ष्या वा कुण्ठा जागृत हुन्छ। आफ्नो गरिबीलाई उनीहरूले सहज किसिमले नलिएर अब, यो नया परिस्थितिमा, अभिषापको रुपमा लिन थाल्छन। आफ्नो गरिबलाई अभिसाप अनुभूत गर्न थाल्छन।

सामाजिक सञ्जालको उपस्थितिले दुई स्थिति (गरिब र धनिक) हरूको तुलना गर्न र प्रभाव बोध गर्न सजिलो पारिदिएको छ।

अब अर्को स्थितिको कुरा गरौं। यदि कुनै एक ब्यक्तिले आफ्नो साथी वा कुनै एक परिचित ब्यक्ति संसारका अनेक देशका अनेक स्थानहरूमा पुगेर फोटो खिचेको र ती फोटोहरू फेसबुकमा राखेको देखेको छैन भने सो ब्यक्तिमा विदेशका विभिन्न सहरहरू घुम्ने र फोटो खिच्ने रहर कृत्रिम रुपमा जागृत हुँदैन।

सामाजिक सञ्जालले कृत्रिम इच्छा, कृत्रिम माग सृजना गर्ने कार्य गरिरहेको छ। मनसिक पीडा थप्ने कार्य गरिरहेको छ।

सामाजिक सञ्जालका धनीहरूलाई जति आफ्नो सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भयो उत्तिनै बढी फाइदा हुने स्थिति छ। यो कारणले गर्दा सामाजिक सञ्जालका धनीहरू सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको संख्यामा वृद्धि गर्न भगीरथ प्रयत्न गरिरहेका छन्।

मानिस एक अति नै संवेदनशील प्राणी हो। मानिसलाई बाहिर भएका घटना, स्थिति, वातावरणले अति नै प्रभावित पार्छ। अर्थात मानिसलाई देखासिकी गर्न अति मन लाग्छ। अर्कोतिर फेसबुकले देखासिकी गर्न सजिलो पारिदिएकोले मानिसलाई देखासिकी गर्न सजिलो पनि भएको छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, हाम्रो समाजिक जीवनमा ‘बर्थ डे सेलिब्रेसन’ ‘विडिङ्ग एनभर्सरी पार्टी’, तिज पार्टी आदिको संख्यामा ब्यापक वृद्धि हुनु नेपाली समाजमा फेसबुकको अति उच्च प्रयोगको परिणाम हो।

इन्टरनेटले गर्दा असंख्य अनावस्यक मागहरू मानिसहरूलाई आवश्यक माग हुन भनी बोध गर्ने बाध्य पारिदिएको छ। र ती अनावस्यक मागहरू पूरा नभएमा मानिसहरूमा कुण्डा, पीडा, बृद्धि हुने स्थिति देखिएको छ।

इन्टरनेट अहिले चुनौतिको पहाडको रुपमा देखिएको छ। कसरी? यसका फाइदा कम छन तर बेफाइदा भने असंख्य छन्। यसको प्रयोग व्यवस्थित किसिमले नगर्ने हो भने मानव सभ्यता बर्बाद हुने भएको छ। तर इन्टरनेट ब्यवस्थित किसिमले कसरी प्रयोग गर्ने? यो प्रश्नको उत्तर छैन। यो कारणले गर्दा इन्टनेट एक ठूलो चुनौति हुन पुगेको छ। कतिसम्म इन्टरनेट प्रयोग उचित र कति प्रयोग अनुचित कसरी छुट्याउने? र छुट्याउने मापदण्ड के?

इन्टरनेट मानव सभ्यताको लागि वरदान वा अभिशाप? यो पश्नले उत्तर आधुनिक युगमा प्रत्येक ब्यक्तिलाई पछ्याइनै रहने छ।