Wikipedia

Search results

Thursday, September 15, 2011

लघु कथा - ९ इनार


आज पनि हिँजोको जस्तै दृस्य छ त्यहाँ। त्यो इनारको छेउ छाउमा पानी तान्न हजारौ मनिस प्रतिस्पर्धा गरिरहेका छन्। सबैको उद्देश्य एउटै छ- कसरी बढी पानी तान्ने अनि त्यो इनारको पानी खाएर मनको इच्छा पुरा गर्ने। पानी तान्ने प्रतिस्पर्धामा धेरै घाइते भए। केही त अपाङ्ग नै भए। र दुई चार जनाले सद्गति समेत पाए। तर पानी तान्नेहरुको संख्यामा कुनै कमी आएको छैन, झन दिन प्रतिदिन वृद्धि हुँदैछ। कमी आओस् पनि कसरी? त्यो इनारको पानी खाएमा मनले जे इच्छा गरेको छ त्यो अवश्य पुग्छ भनी हल्ला फैलिएको छ। र त्यो हल्लाले निर्माण भएको विश्वासले गर्दा बालकदेखि वृद्धसम्म, सबैको शक्ति प्रदर्शन गर्ने केन्द्र बनेको छ, यो इनार।
त्यो इनारको छेउमै घर हुने नरेलाइ भने अचम्मको उकुसमुकुस भइरहेको छ। धेरै दिन देखि त्यस्तो दृस्य हेर्दै आउँदा पनि नरेलाइ केही भएको थिएन। र त्यो इनारको पानीमा चमात्कार छ भनी धेरै मानिसले लिएको विश्वासमा उसलाई भने पट्टकै विश्वास थिएन। तर किन हो, आज जस्तो बिचलित ऊ कहिले भएको थिएन। त्यो इनारको पानींमा आज उसलाइ पनि विश्वास लाग्न थालेको छ। हुन पनि उसले धेरैले भनेको सुनिसक्यो, त्यो इनारको पानीको चमात्कार। त्यो इनारको पानी खाएर केहीको भंसारमा सरुवा भए। केही मन्त्री भए। केही साहु। केही नेता। आदि आदि। धेरै वर्ष निसन्तान रहेका बाल बच्चेदार भए।
नरेले मुन्टो बटार्यो। इनारको बिपरित दिशामा मुख फर्कायो। इनार छेउको दृश्यलाइ बिर्सेर मन कतै अन्त लगाउन खोज्यो। तर उसको प्रयास सफन हुन सकेन किनभने पानी तान्न त्यो इनार छेउमा बनेको लाइन पहिले भन्दा केही व्यवस्थित भइ त्यसको लम्बाइमा अभूतपूर्व किसिमले वृद्धि भएको रहेछ।  त्यो लाइन यति लामो भएछ कि नरेले विपरित दिशामा हेर्दा पनि तिनै पानी तान्ने व्यक्तिहरुको भीड देख्यो। आँखामा कौतुहलता बोकी सबै उभिएका थिए, बढी भन्दा बढी र छिटो भन्दा छिटो पानी तान्न र मनले चिताएको इच्छा पूरा गर्न।  
नरेलाई पटक्कै विश्चास भइरहेको थिएन किनभने उसलाई शिक्षा दिने र अन्धविश्वासको बिरोध गर्न सिकाउने गुरु पनि त्यो पक्तिमा उभिएका थिए, त्यो इनारको पानी तान्न। अझै अचम्मको कुरा त के भने त्यो गाउँका बासिन्दाहरु लाई गरीबीको बिरोधमा संगठित हुन, परिश्रम गर्न,  भाग्यवादी नबनेर आफ्नो पाखुरामा विश्चास गर्न सिकाउने महान जननेता पनि त्यो पंक्तिको शोभा बनेका थिए। यस्ता दृश्यहरु माथि नरेलाइ विश्वास गर्न गार्हो परिरहेको थियो। इनारको पानी तान्न लाइनमा अरु को को उभिएका छन भनी थाहा पाउन नरे ब्यग्र भयो। आँखामा जोड दिएर हेर्न थाल्यो।
नाम चलेका, कहलिएका कवि, साहित्यकार, दार्शनिक, चिन्तक, विचारक, सन्त, महन्त, सबै त्यो इनारको अगाडि रहेको लाइनमा उभिएका थिए। सबैको आँखामा व्याकुलताको भाव झल्किन्थ्यो त्यो इनारको पानी तान्न। इनारको नजीक पुग्न सबैले आ-आफ्नो ज्ञान, आँट र विवेकको प्रयोग गरेर दाउपेच खेल्दै थिए, त्यो इनारको पानी तान्न।
नरेलाइ मन थाम्न गार्हो भयो। छाती भित्र डाहा हुन थाल्यो। ऊ भयभीत भयो एकछिन मात्र पनि लाइनमा उभिन ढिलो गर्ने हो भने त्यो इनारको पानी सकिएला भन्ने बिचार गर्दै। नरले सोंच्यो, ऊ केवल त्यो भीडको दर्शक मात्र हुनु उसको मूर्खता ठहर्ने छ। नरेले तिघ्रा दरो पार्यो। अनि  आफ्नो घरको छाना माथि पुग्यो। छानाबाट  त्यो इनारको छेउमा पुग्ने गरी हामफाल्यो । पानी लिने सुरमा त्यसरी इनारको छेउमा हामफाल्दा ऊ इनारको  छेउमा, इनार भित्र वा कता खस्ने हो भनी नरेले सोच्न सम्म सकेन, हामफाल्नु भन्दा पहिले।

विश्वराज अधिकारी


Wednesday, September 14, 2011

लघुकथा - ८ मनु

घोडा भनेको एक भारी बोक्ने पशु हो। आदिकालदेखि नै घोडाको उपयोग मान्छेको भारी बोक्ने कार्यमा भएको छ र भविष्यमा पनि भइ नै रहने छ। तर सबै घोडाले केवल भारी नै बोक्छन भन्ने पनि छैन। केहीले मानिस बोकेको, केहीले रथ तानेको र केहीले युद्ध मैदानमा योद्धालाई युद्ध गर्न साथ दिएको सुनिएको छ। तर जे होस घोडा जतिसुकै बलियो भएता पनि , बहादुर भएता पनि अनि बुद्धिमान भएता पनि हरेक युगमा यसले मानिसको दासता स्वीकार गरेको छ। अनि मानिसको इशारामा हिडेको, उफ्रेको छ, दौडेको छ। सामान वा मानिस जे बोके पनि भारी नै बोकेको छ। मालिकको इच्छा अगाडि घोडाको इच्छा पानीमा उठेको फोंका जस्तो हुन पुग्छ। एक छिन मै फुस्सस हुने पानी माथि उठेको फोंका

यो कथा त्यही घोडाको वंशज एक नाती घोडाको हो, जसको बाबु- बाजे पुस्ता दरपुस्ताहरुले भारी बोक्दै आए। त्यो घोडाको नाम थियो मनु। मनु एक नेता प्रसाद नाम भएको व्यक्तिको घरमा बस्ने गर्दथ्यो। नेता प्रसाद आफ्नो गाउँको मुख्य मान्छेको रुपमा स्थापित थियो। कतै बाहिर जानु पर्यो मनुको पुठ्युँमा सवार हुन्थ्यो। एक दिन मनुको मनमा एउटा विचार के आयो भने ऊ आफ्नो मालिकबाट ठगिएको छ। मालिक र उसले गरेको परिश्रम समान पनि छैन। ऊ हिडछ, मालिक हिडदैन। मालिक केवल उसको पुठ्युमाथि सबार हुन्छ, उल्टो कोर्राले हिर्काउँछ। आफू कोठा भित्र सुत्छ। उसलाई कोठा बाहिर तबेलामा सुत्न दिन्छ। यताउता कतै जाला र उसको इच्छा अनुसार कार्य नगर्ला भन्ने भयले आफ्नो नियन्त्रणमा राख्न लगाम लगाई दिने गर्छ। कहिले काहि थाकेर बिस्तारै हिंडन खोज्दा कोर्राले हिर्काउँछ र मुखै चिरिने गरी लगाम तान्छ। यस्तो निर्दयी मालिक कहाँ के बस्नु । अन्त कतै जानु पर्यो।

मनले मुख्य प्रसादको घरमा काम पायो, नेता प्रसादको घर त्यागे पछि। मुख्य प्रसादले मनुको निकै सेवा गर्यो। एउटा सइस नै सेवा सुसुल्कामा नियुक्त गर्यो मनुका लागि। मनु पहिले भन्दा निकै मोटो घाटो भयो। अनि बलियो पनि तर अचम्म! केही दिन पछि मुख्य प्रसादले मनुको पिठ्युमा भारी राखेर सामन ओसार पसार गर्न थाल्यो। भारी पनि अति नै। कहिले काहि भारीले नै थिचिनु पर्ने हुन्थ्यो। एक दिन भारीले थिचिएर लड्दा झण्डै खोलामा खस्ने स्थिति उत्पन्न भएको थियो। मनुलाई त्यहाँ पनि बस्न मन लागेन। नयाँ मालिकले भारी बोकाउनको लागि उसको चाकडी गरेको थाहा पायो।

मनु अब तेस्रो मालिकको घरमा काम गर्न आयो। तेस्रो मालिककको नाम थियो विवेक। विवेकले अचानक ठूलो रहर लाग्दो घोडा आफ्नो आंगनमा उभिएको देखेर ज्यादै खुसी भयो। बलियो मोटो घोडा उसको लागि ईश्वरले नै पठाएका हुन। अब उसको भाग्यको ढोका खुल्यो भनी गाउँभरिका मानिसलाई नाची नाची सुनायो। गाउँलेहरुले पनि मनुलाई हेरे। अनि विवेकको भाग्यमाथि डाहा गरे। मनुका लागि राम्रो खाने बस्ने राम्रो प्रबन्ध मिलायो, तेस्रो मालिकले। मनु अचम्ममा पर्यो, उसको नयाँ मालिकले भारी बोकाउने सुरसार नगरेकोमा। जबकी घोडाको कामनै हो भारी बोक्नु। मनुले बिचार गर्यो, ऊ ज्यादै दयालु मालिकको घरमा आउन पुगेछ। बसी बसी खान पाइन्छ। भारी पनि बोक्नु पर्दैन। कोरा पनि खानु पर्दैन। दौडिनु पनि पर्दैन। र सबैभन्दा ठूलो कुरा लगाम पनि लगाउनु पर्दैन। मालिकले दिएको सुविधाबाट मनुलाई शंका लाग्न थाल्यो। मनुको शंका निराधार पनि भएन। एक दिन, रातिको समयमा विवेकले मनुको ज्यान लिई गाउँमा मासु बेच्ने योजना गरेको थाहा पायो र त्यो तयारी मनुले आफ्नै आँखाले देख्यो। हत्याराहरु आउनुभन्दा पहिले नै मनुले सुँइकुच्चा ठोक्यो, त्यहाँबाट

 मनुको चौथो मालिकको नाम थियो गुरुदेव। गुरुदेवको घरमा मनुलाई निकै रमाइलो लाग्यो। मालिकलाई पुठ्युमा राखेर गाउँ गाउँमा पुर्याउनु भन्दा बाहेक अरु केही गर्नु पर्दैन्थ्यो। गुरुदेव विभिन्न गाऊँहरुमा गई सेवा र कर्तव्यको बारेमा प्रवचन दिने गर्दथे। श्रोताहरुले गुरुको सेवा गर्नुको साथै गुरुजीको घोडा भनी मनुको पनि सेवा गर्दथे। तर केही दिन पछि गुरुदेवको घरमा पनि मनुको पुरानो दु:ख दोहरियो। खान मुस्किल। जति हिडे पनि, जति गाउँहरु चाहारे पनि छुच्चो गुरुले पेटभरी खानसम्म पनि दिदैन्थ्यो। मनुको हाड छाला मात्र बाँकी रह्यो। के गर्ने, ज्यान जोगाउन त्यहाँबाट उम्किनु बाहेक अन्य कुनै  विकल्प रहेन, मनुका लागि

मनुले अब कहिलै, कुनै किसिमको दासता स्वीकार नगर्ने अठोठ गर्यो। एउटा अर्कै गाउँको ठूलो चउरमा स्वतन्त्र भई बस्न थाल्यो। आफ्नो इच्छा अनुसार त्यो चउरमा हिडने, दौडिने र चर्ने गर्न थाल्यो। जीवन निकै आनन्दमय थियो, मनुका लागि

एउटा घोडा त्यो चउरमा बेबारिसे अवस्थामा धेरै दिनदेखि बसेको गाउँ भरिका आवारा केटाहरुले थाहा पाए। ती केटाहरु बीच त्यो घोडा माथि चढ्न हुने प्रतिस्पर्धामा कहिले ती केटाहरु घाइते हुन्थ्ये भने कहिले मनु। मनु अब त्यो गाउँका लागि रमाइलोको स्रोत बन्यो। केही त्यो रमाइलो हेर्ने मात्र गर्दथ्ये  भने केही त्यो रमाइलोमा सरीक पनि हुन्थे।

एकदिन एउटा उरन्ठ्याउलो केटाले मनुको खुट्टा भाँच्चिने गरी हिर्कायो। मनु सँधैको लागि लँगडो भयो। मनुलाई त्यहाँ पनि बस्न मन लागेन। मनु थाक्यो। सबैले उसको शोषण नै गरे। स्वतन्त्र भए पनि ऊ सुरक्षित हुन सकेन। बाँच्न गार्हो भयो। स्वतन्त्रता उसको लागि अति कष्टकर भयो। जसलाई मनलाग्यो ऊ मनुमाथि सवार हुनथाल्यो। एकदिन मनुले निश्चय गर्यो अब ऊ एउटा अर्कै स्थानमा फर्कने छ।

नेतप्रसाद अचम्म पर्यो अनि मुसुक्क हास्यो पनि आफ्नो घरको आँगनमा मनुलाई देखेर  मनुको पिठ्युमा हात राख्दै लगाम समात्यो अनि भन्यो मनु, संसार कस्तो रहेछ? देखिस, आफ्नै आँखाले। मैले त केवल तँलाई तबेलामा राखेको मात्र थिएँ र भिन्नता हामी बीच केवल हाम्रो बसाईमा मात्र थियो।’ मनुले कुनै प्रतिक्रिया देखाएन, नेता प्रसादको त्यो भनाइमा। बरु चुपचाप बस्यो। नेता प्रसाद घोडामाथि चढ्यो। कोर्राले घोडालाई हिर्कायो। घोडा दौडियो। तर खुट्टा खोल्च्याङ्ग खोल्च्याङ्ग गर्दै। घोडाले खुट्टा खोल्च्याङ्ग खोल्च्याङ्ग गरेकोमा नेताप्रसाद दिक्दार भएन। बरु सन्तुष्ट भयो, लँगडो घोडाले वाध्यतावस पनि अब उसको घर छाडेर नजाने कटु यथार्थ थाहा पाएर।

विश्वराज अधिकारी 

                         

लघुकथा - ७ कुखुराको भाले


भालेहरु गजब गरी एक अर्का सँग लडदै छन युद्ध मैदानमा उभिएका सम्पूर्ण केटाकेटीहरुले एकै स्वरमा कराए।कस्तो अचम्मको भीडन्त? एक बालकले आफ्नो समकालिनतिर हेर्दै आश्चर्य प्रकट गर्यो। आज भाले भिडन्त अति नै रमाइलो होला जस्तो छ, है कुनै युवक स्वरमा निस्केको यो प्रतिक्रियामा त्यहाँ उपस्थित कसैले पनि बिरोध जनाएन। त्यसैले कुनै वाद विवाद पनि भएन। केही छिन मै गाउँका लगभग सबै व्यक्तिहरु भाले-भीडन्त हेर्न झुम्मिए। भाले-भीडन्त भइरहेको त्यो युद्ध भूमिमा केवल ती दुई भालेका मालिकहरु मात्र थिएनन्। मालिकहरु त्यहाँ भएको भए युद्ध नै हुन्नथ्यो होला। त्यति महँगो भालेको खति गराएर भीडन्त हेर्ने रहर के गर्थे होला, कुखुराका मालिकहरुले
भालेहरुको युद्ध झन झन चर्कियो। केही व्यक्तिहरु एउटा भालेको पक्षमा थिए भने केही अर्कोको। दुवै मध्ये कुनैको जीत हार हुँदा दु:ख र सुख मनाउने व्यक्तिहरुको कमी थिएन त्यो ठूलो भीडमा। पहिलो भालेले दोस्रोलाई आक्रमण गर्दा एकथरी निकै उत्साहित हुन्थ्ये। कराउँदथ्येस्यावास भाले। बलियो भाले। फुर्तिलो भाले। हो, यसै गरी हिर्का। त्यो भालेलाई ढाल। अब एक चोटी जोडले हिर्काए पछि मोरो भाले ढल्छ।’ भीडबाट आएको त्यस्तो आबाजले त्यो भाले निकै उत्साहित हुन्थ्यो। उसले प्रतिद्वन्दीलाई प्रहार गर्दा भीडबाट आएको तालीको आबाजले उसको शरीरमा ऊर्जा थपिए जस्तो हुन्थ्यो। उसको पक्षमा जति बढी ताली बज्दथ्यो ऊ त्यति नै बढी उत्साहित भई निर्णायक प्रहार गर्न तयार हुन्थ्यो।
यसै गरी दोस्रो भालेले पहिलोलाई आक्रमण गर्दा पनि भीडबाट कराएको आबाज आउँदथ्योवीर भाले। वीर बहादुर भाले। सूरवीर भाले। निडर भाले, ढिड भाले। न हार। न थाक। अब तेरो पालो हो। हिर्का। टाउकोमा जोडले हिर्का। पखेटामा हिर्का।’ यो भाले पनि मानिस चिच्याएको आवाज सुनेर निकै उत्साहित हुन्थ्यो। चोट खाएर ढलपल गर्दै खस्ने जस्तो भए तापनि भित्रबाट बल झिकेर प्रहार गर्दथ्यो। कति पटक त्यो भाले एक छिन सम्म भूइँमा खसेको खस्यै भयो। तर किन हो तालीको गडगडाहटले उसको खुट्टा र चुच्चोमा शक्तिको सञ्चार हुन्थ्यो। जुरुक्क उठदथ्यो अनि बेस्सरी प्रहार गर्दथ्यो, प्रतिद्वन्दीलाई
उद्देश्यहीन युद्धका लक्ष्यहीन योद्धाहरु युद्ध गर्दै थिए। वीरताका साथ। रगतले लथपथ भएर। दुबैको स्थिति दयनीय थियो अनि विभत्स पनि। कुनै बेला यस्तो पनि देखिन्थ्यो कि उनीहरु युद्ध छाडेर भाग्न चाहन्छन्। आफ्नै दाजुभाई, आफ्नै खानदान र आफ्नै समूहमा के युद्ध गर्नु भन्ने भावना पनि उनीहरुको मनमा आउँदथ्यो कि क्या हो, कुनै बेला? तर भीडले घेरिएको हुनाले युद्ध छाडेर भाग्न सम्भव थिएन उनीहरुको लागि
भीडबाट  आएको ‘स्यावास भाले। मुटु फुट्ने गरी हिर्का जस्ता आबाज सुने पछि ती भालेहरु आफूहरुले गरिरहेको युद्धको उद्देश्य र औचित्य बिर्सिन्थ्ये, त्यस्तो प्रतित हुन्थ्यो किनभने भीडबाटएको उत्साहित गर्ने  सुन्नासाथ दुवै युद्ध गर्न तयार हुन्थ्ये। एक अर्कालाई  कस्सिएर प्रहार गर्दथे। युद्धको बारेमा सोंच्नसम्म उनीहरुलाई फुर्सत हुन्थेन। जबकी उनीहरु त्यो खेल मैदानमा मनो विनोदका लागि खेल्न भनी आएक थिए र पहिलो प्रहार एक अर्काले ख्याल ख्यालमा  गरेका थिए।
दुई भालेका युद्ध हेर्न उपस्थित तमासेहरु पनि विभाजित थिए। भालेहरु शारीरिक रुपमा भीडन्तमा थिए भने उपस्थित तमासेहरु मानसिक रुपमा। तमासेहरु पनि एक अर्कासँग भावनात्मक युद्ध गर्दै थिए तर केवल रमाइलोको लागि। आन्नदको लागि।
भालेहरु अब उठ्न सक्ने अवस्थामा थिएनन् युद्ध गर्ने क्षमता दुवैमा सदाका लागि समाप्त भइ सकेको थियो। दुवैको चुच्चो र सिउर निको नहुने गरी क्षत विक्षत भएक थि। एउटाको त सिउरको अवशेषसम्म पनि थिएन, टाउकोमादुबैका पखेटाहरुमा प्वाख थिएनन्उनीहरुको शरीरबाट निरन्तर रगत बगिरहेको थियो।
पहिलो भाले दोस्रको शरीरमा ढल्यो। दोस्रोले कुनै प्रतिक्रिया देखाएन। दुबैले एक अर्कालाई अँगालो हाले जस्तो देखिन्थ्यो। कुनैले फेरि आक्रमण गरेन, अर्कोलाई
भीडबाट एउटाले करायोदुबै भाले थाके जस्तन्।’ केही दर्शकहरुले हात माथि उचालेर मुठ्ठी कस्दै एकै पटक कराएउठ भाले, उठ। हिर्का आफ्नो प्रतिपक्षीलाई, आफ्नो सत्रुलाईहेर, माया नगर, बेस्सरी हिर्का।’ तर ती भालेहरु उठेनन्। उनीहरुको इहलिला समाप्त भइसकेको थियो। एउटा बालक ‘भाले कुखुराको मासु मिठो हुन्छ भन्दै अगाडि बढ्यो अनि ती भालेहरलाई हातले उठाउन खोज्यो। त्यो बालकलाई त्यसो गर्न रोक्दै एक वृद्धले हप्कायोबुद्धिहीन, मरेको कुखुराको मासु खानु हुदैन भन्ने थाहा छैन तँलाई।’ त्यो बालक डरायो। उसले उठाउने आँट गर्न सकेन। केही क्षण पछि भूस्याहा कुकुरहरुको एउटा हूल त्यहाँ आयो। कुकुरहरुको बीचमा भालेको मासु खान लुछाचुड र झगडा हुन थाल्यो। केही कागहरु पनि आए त्यहाँ। अनि गिद्धहरु पनि
कुखुराका ती दुई भालेहरुको उद्देश्यहीन भीषण भीडन्त सकियो। त्ो युद्धको साथ साथै त्यो भीडको लागि रहेको त्यो रमाइलो पनि सकियो। भीडले बाटो समात्यो। भीडबाट एउटाले करायोछिटै जाऊँ, गजबको रमाइलो छ त्यहाँ। त्यो अर्को टोलमा दुईवटा बडेमाक साँढेहरु युद्ध गर्दैछन्। दुवैले एक अर्काको सिंग भाँचिसकेका छन रे। टाउको रगत रगताम्ये छ, ती साँढेहरुको।’ त्यो भीड तिब्र गतिमा साँढेहरुको युद्ध हेर्न दौडियो, दुई भालेहरुको भीषड युद्ध हेरे पछि

विश्वराज अधिकारी

Poverty and Economics - 2

 श्रमका कमजोरीहरु

श्रमको अर्को कमजोरी के हो भने श्रमलाई श्रमिकबाट अलग पार्न सकिँदैन। कुनै श्रमिकले आफू बीरगंज बसरे आफ्नो श्रमलाई सिमरा वा जितपुर पठाउन सक्तैन। तर पूँजीपतिले आफ्नो पूँजी आफू बीरगंजमा बसरे आफ्नो पुँजीको लगानी सजिलैसँग सिमरा वा जितपुर मात्र होइन बजारको अवस्थाले भ्याएसम्म एशिया, युरोपसम्म पनि गर्न सक्छ। विश्वमा भएको वैकिङ्ग सेवाको अभूतपूर्व विकासले गर्दा त विकसित मुलुकहरुमा कुनै एक व्यक्तिले सजिलैसँग आफ्नै देशमा बसेर अन्य देशहरुमा लगानी गर्न सक्छ। श्रमको अर्को कमजोरी के हो भने लघुकालमा श्रमको आपूर्ति बढाउन सकिँदैन। उदाहरणका लागि बीरगंजको कुनै उद्योगको क्षमता १ गते ४००० इकाइ उत्पादन गर्ने थियो र त्यो क्षमतामा बिस्तार भएर( उद्योगले कच्च पदार्थ बढी खरीद गर्न सकेर) २ गते त्यो उद्योगले ८००० इकाइ उत्पादन गर्न स्थिति भयो भने वृद्धि भएको सो क्षमता अनुसार वीरगंजको श्रमिकको संख्यामा (सबै परिस्थिति सामान्य रहेमा) तत्काल वृद्धि गरेर उत्पादनको परिणाममा वृद्धि गर्न सकदैन। यहाँ भन्न यो खोजिएको हो कि श्रम बजारमा भएको श्रम को माग वृद्धिको फाइदा मौजुदा श्रमिकहरुले लिन पाउँदैनन। एउटा श्रमिकले श्रम बजारमा उसको श्रमको माग जति बढी भएता पनि दिनमा ८ या १० घण्टा भन्दा बढी श्रम गर्न सक्दैन, अथवा थप श्रम बेच्न सक्दैन, श्रमको मागमा तत्काल वृद्धि भएता पनि। अर्को उदाहरणमा, मानौ, एउटा कुनै सैलुन संचालक, जसले एक्लैले सैलुन संचालन गरेको छ, कुनै एक दिनमा कपाल काट्नेहरुको संख्यामा व्यापक वृद्धि भयो र मानौ उसको सैलुनमा २०० जना कपाल काट्न एकै चोटी आए भने उसले केवल आफ्नो क्षमता अनुसार त्यो एक दिनमा २० या २५ जनाको मात्र कपाल काट्न सक्छ। बाँकी अरुको सक्दैन र ती ग्राहकहरु अर्को सैलुनतिर लाग्छन। र यसरी त्यो सैलुन संचालकले १७५ वा १८० जना थपको कपाल काटेर आउने रकम गुमाउँछ। तर कुनै व्यापारीलाई भने यस्तो अवस्थामा श्रमिकलाई जस्तो असर पर्दैन। जस्तै कुनै व्यापारीले दिनको १०० थान सलाई बिक्री गरिरहेको छ र आजै कै दिनमा त्यो सलाईको माग बढेर २०० थान भयो भने उसले थप १०० थान सलाईको आपूर्ति सजिलैसँग गरेर थप मुनाफा कमाउन सक्छ। यी कुराहरुको चर्चा किन गरिएको हो भने श्रमका विभिन्न किसिमका कमजोर पक्षहरु रहेकोले श्रमिकहरुले वा श्रम संगठनहरुले रोजगारदाता वा उसका प्रतिनिधिसँग सौदाबाजी (Collective bargaining) गर्दा बढो ध्यान पुर्याएर गर्नु पर्दछ। श्रमिकहरुको हितको रक्षा दीर्घकालमा कसरी हुन सक्छ त्यसतर्फ ध्यान बढी केन्द्रित गर्नु पर्दछ। श्रमिकहरुले आफ्नो हितको रक्षा कारखान संचालनमा राखेर गर्नु पर्दछ किनभने कारखाना बन्द हुँदा रोजगारदाता भन्दा बढी घाटा श्रमिकहरुलाई हुन्छ। जुन दिन श्रमिकले काम गर्न सकेन त्यो दिनको श्रमको उपयोग उसले फेरि गर्न पाँउदैन तर रोजगारदाताले यदि कुनै दिन उत्पादन गर्न पाएन भने उसले उत्पादन हुन नसकेको दिनको जति उत्पादन भोलि या पर्सी या आउँदा दिनहरुमा गरेर उत्पादन नभएको दिनको क्षतिपूर्ति गर्न सक्छ।
विज्ञान र प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले गर्दा पनि श्रमिकहरुका लागि थप चुनौति खडा गरिदिएको छ। र यो समस्या खास गरी विकसित मुलुकहरुमा बढी देखिएको छ। तर यो समस्या विस्तारै नेपाल जस्तो विकासशील मुलुकमा पनि देखा पर्न सक्छ। श्रम बजारमा अहिले देखिएको ठूलो चुनौति के हो भने मानवीय प्रत्यक्ष श्रमको उपयोगलाई स्वचालित मेसिनहरुद्वारा विस्थापित गर्नु। र यस्तो कार्यबाट नेपाल जस्तो देश, जहाँ श्रमको आपूर्ति भन्दा माग ज्यादै कम छ, का श्रमिकहरु बढी प्रभावित हुन सक्छन। उदाहरणको रुपमा, अमेरिका, युरोप लगाएत अन्य केही देशहरुमा भेन्डिङ्ग( Vending Machine) मेसिनको प्रयोग व्यापक मात्रामा भएको पाइन्छ। भेन्डिङ्ग मेसिनबाट बिक्री गर्दा विक्रेताको आवस्यकता पर्देन। क्रेताले तोकिएको वस्तुको लागि तोकिए वरावरको मुद्रा सो मेसिनमा राखेर आफूले खरिद गर्न खोजेको वस्तु प्राप्त गर्न सक्दछ। मानिसहरुको ओहर दोहर बढी हुने ठाउँहरु- कलेज, पार्क, सिनेमा हल, मल आदिमा  भेन्डिङ्ग मेसिनहरु (सिसाको ढोका भएको पारदर्शी दराज जस्तो) निकै राखिएको हुन्छन। यस्ता भेन्डिङ्ग मेसिनहरुमा विक्रेता राख्नु नपर्ने हुनाले संचालक( बिक्रेता) ले सजिलै विक्रेतालाई दिनु पर्ने तलब जोगाउन सक्छ। 

विश्वराज अधिकारी


(प्रतीक दैनिकमा प्रकाशित)