Wikipedia

Search results

Saturday, May 26, 2012

Like That-2-Poem of the week-30


यस्तो पनि (२)

हरेक दिन म मेरो इच्छा र रहरलाई आफ्नै न्यायालयको कठघेरामा उभ्याउँछु
कुनैलाई आजिवन कारावास भने कुनैलाई मृत्युदण्डको फैसला सुनाउँछु

मनै त नि हो हजूर के गर्नु मायाको रापले मैन झै पग्लि दिन्छ
हेर्दा हेर्दै छेक्दा छेक्दै पोखिएर चारैतिर रोके पनि यता उता बगि दिन्छ

न काँढा भन्दा बढी दुख्छ हजूर घोचिए पछि बचन काँढा
सँग सँगै बसरे के गर्नु हजूर मन नमिले भइन्छ धेरै धेरै टाढा

ठानेर सँधै तिमीले यो जिवनलाई आम्दानी केवल कारोबारी
बेचेर दया माया सबै नाफामा भयौ एक अति धनी बेपारी

१०
भत्भति पोल्ने घाम पनि जाडोमा भइ दिन्छ हजूर न्यानो कस्तो
मायाको रापले कठोर मन पनि मैन झै पग्लिएर हजूर बगे जस्तो 


विश्वराज अधिकारी



Friday, May 25, 2012

Would Greece Remain in the Euro Zone?-Article-43


के ग्रिस यूरो जोनमा रहला?

विश्व अर्थ व्यवस्थामा अहिले सुस्तता देखिएको छ, र त्यो पनि मुख्य गरी यूरोपमा। यूरोपको त्यस्तो आर्थिक अवस्थाले विश्व अर्थ व्यवस्थालाई नै नराम्रो गरी प्रभावित गर्ने हो कि भनी अनुमान गर्न थालिएको छ। यूरोपका, यूरो जोनमा रहेका सत्र मुलुकहरु मध्ये सात मुलुकहरु- आएरलैण्ड, ग्रिस, स्पेन, इटाली, साइप्रस, निदरलैण्डस्, पोर्चुगल र स्लोभेनियाको आर्थिक स्थिति अहिले राम्रो छैन। यी राष्ट्रहरु मध्ये सबै भन्दा चिन्ताजनक स्थिति भने ग्रिसको छ। ग्रिसमा बेरोजगारी कहाली लाग्दो किसिमले बढेको छ। त्यहाँ मानिसहरु बेरोजगारीको कारण उत्पन्न गरिबीले गर्दा घरवार बिहीन मात्र भएका छैनन् कतिपयले त कष्टकर आर्थिक जिवनको पीडा सहन नसकेर आत्महत्या समेत गरि रहेका छन। जिवन एक कठिन संघर्ष हुन पुगेको छ, अहिले, ग्रिसका जनताका लागि। त्यहाँको जनतामा अहिले घोर निरासा छ।  गत वर्ष ग्रिसमा पाँच जनामा एक जना बेरोजगार रहेको पाइएको थियो।
ग्रिसको आर्थिक स्थितिलाई यस्तो पार्नमा आर्थिक अनुशासन (Austerity) ले नै महत्वपूर्ण भूमिका खेलेको हो भन्नेहरु पनि धेरै छन। ग्रिसले आर्थिक समृद्धि हासिल गर्नका लागि आफूलाई यूरो जोनमा समाविष्ट गरेको थियो। यूरो जोनमा पर्ने राष्ट्रहरु – अष्ट्रिया, बेल्जियम, साइप्रस, इस्टोनिया, फिनलैण्ड, फ्रान्स, जर्मनी, ग्रिस, आएरलैण्ड, इटाली, लक्जेमबर्ग, माल्टा, निदरलैण्डस्, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया र स्पेन सबैले एउटै साझा मुद्रा ‘यूरो’ प्रयोग गर्छन। यूरो जोन, जसलाई यूरो एरिया पनि भन्ने गरिन्छ, एक आर्थिक तथा मौद्रिक संघ हो। यसको स्थापना १ जनवरी १९९९ मा भएको थियो।
यूरो जोनमा प्रवेश गरेमा अझै आर्थिक प्रगति होला भन्ने विश्वास ग्रिसले  लिएको थियो। तर भयो उल्टो। यूरो जोनमा प्रवेश गरे पछि ग्रिसको आर्थिक स्थित झन झन खराब हुन थाल्यो। यूरो जोनमा प्रवेश गरे पछि एकातिर ग्रिसको आर्थिक स्थिति खराब हुन थाल्यो भने अर्को तिर बिग्रदो आर्थिक स्थितिमा सुधार ल्याउन आर्थिक अनुशासन (Austerity)  का तरिकाहरु कडाइका साथ पालन गर्न ग्रिसमाथि दबाब बढ्दै गयो। ग्रिसले आर्थिक अनुशासनका तरिकाहरु अवलम्बन गर्यो- सरकारी खर्चमा कट्टौति गर्यो। तर त्यस्तो गरेर राष्ट्रिय ऋणमा कमी आउनुको साटो राष्ट्रिय ऋण झन झन बढन थाल्यो। राष्ट्रिय ऋणमा ब्यापक वृद्धि भएकोले, ऋणको भार बढेकोले सरकारले खर्चमा कट्टौति गर्नु पर्यो। खर्चमा कट्टौति गर्दा जनताको आम्दानीमा कमी आयो। जनताको आम्दानीमा कमी आएकोले उपभोग प्रभावित भयो र उपभोग प्रभावित भएकोले उत्पादनमा कमी आयो। उत्पादनमा कमी आउन थाले पछि रोजगारीको क्षेत्र संकुचित हुन थाल्यो।  यसरी ग्रिसमा असहजताको स्थितिमा झन झन वृद्धि हुन थाल्यो। गरिबीमा कमी हुन सकेन।
अहिले ग्रिसमा जनस्तरबाट नै आर्थिक अनुशासन (Austerity) को व्यापक बिरोध भइ रहेको छ। त्यहाँका जनताले मुलुको आर्थिक स्थिति बिग्रिनुमा आर्थिक अनुशासनको हात रहेको भन्दै छन। ग्रिसका जनताले सरकारलाई आर्थिक अनुशासनको अन्त्य गर्न, यूरो जोनबाट बाहिर आउन दबाब दिइ रहेका छन। रोजगारी गुमेको, दैनिक पेट भर्न समेत धौ धौ परेकोले जनताको विश्वास आर्थिक अनुशासनबाट उठेको छ। बरु पहिले कै अवस्थामा रहे जनताको आर्थिक जिवन विस्तारै सजह बन्दै जाने आशा ग्रिसका जनताले लिएका छन। तर अर्को तिर, ग्रिसको आर्थिक स्थितिमा सुधार ल्याउन उसले आर्थिक अनुशासनलाई अझै कठोरताका साथ पालना गर्नु पर्ने भनी दबाब बढि रहेको छ। खास गरी जर्मनीले ग्रिसलाई आर्थिक अनुशासन अझै कठोरताका साथ पालन गर्न दबाब दिइ रहेको छ। ग्रिसको आर्थिक स्थितिमा सुधार ल्याउन आर्थिक अनुशासन नै उत्तम उपाए रहेको भन्दै छ। यस्तो परिस्थितिमा ग्रिसको सरकारले आर्थिक अनुशासन अझै बढी कठोरताका साथ पालन गर्ने वा ग्रिसलाई यूरो जोनबाट बाहिर ल्याउने, के गर्ने हो, त्यो कुरा आउने समयले नै देखाउने छ। तर ग्रिसको सरकारमाथि यूरो जोनबाट बाहिर आउन झन झन दबाब भने बढि रहेको छ।
ग्रिसले यूरो जोनमा प्रवेश गरेर वा यूरोलाई साझा मुद्राको रुपमा अपनाएर आर्थिक प्रगतिको गतिलाई तिब्र पार्नुको साटो उल्टो दिशातिर गएको वा अर्को शब्दमा,  ग्रिसमा आर्थिक दूरा अवस्थाको शुरुवात भएको भन्नेहरु पनि धेरै छन। विश्लेषकहरुको बिचारमा ग्रिसले यूरो जोनमा प्रवेश गरेर आर्थिक फाइदा लिन सकेन बरु अरु राष्ट्रहरुले लिए। उनीहरुको विचारमा यूरो जोनको स्थापनाबाट वा यूरोलाई साझा मुद्राको रुपमा प्रयोग गरिए बाट बढी फाइदा अन्य राष्ट्रहरुलाई भएको छ, र खास गरी जर्मनीलाई बढी फाइदा भएको छ।
ग्रिसको खस्किंदो आर्थिक स्थितिले गर्दा यूरो जोनको भविष्य माथि प्रश्न चिन्ह लागेको छ। साझा मुद्राको रुपमा रहेको यूरो ले निरन्तरता पाउने छ त? भनि विश्लेषकहरुले संका गर्न थालेका छन। धेरै विश्लेषकहरुले त के पनि भन्न थालेका छन भने अब ग्रिस यूरो जोनबाट बाहिर आउने छ र त्यस स्थितिको अनुशरण अन्य राष्ट्रहरुले पनि गरेर यूरो जोनको अस्तित्व नै समाप्त हुने छ। यूरो जोनले केही राष्ट्रहरुलाई मात्र फाइदा पुर्याएको हुनाले यसको अस्तित्वले निरन्तरता पाउन नसकेको केहीको विश्वास छ।
यूरोपको आर्थिक स्थिति झन झन खराब हुँदै गएमा त्यसले विश्व अर्थ व्यवस्थालाई पनि प्रतिकूल असर पार्ने छ। खास गरी अफ्रिका र एशियाका गरिब राष्ट्रहरु बढी प्रभावित हुने छन। विश्वमा उत्पन्न हुन थालेको विषम आर्थिक परिस्थितिको सामना गर्न राष्ट्रहरुले आ-आफ्नै किसिमले तयारी गर्न जरुरी देखिएको छ, देशबासीलाई डर लाग्दो गरिबी र बेरोजगारबाट जोगाउन। उद्योगप्रतिको निर्भरता बढाउनु पर्नेमा सेवा व्यवसायप्रति नेपालको अर्थ व्यवस्था आश्रित हुँदै गएको, ब्यापार घाटा बढ्दै गएको, रोजगारीको क्षेत्र झन झन संकुचित भएर वहु संख्यक नेपाली बेरोजगार हुनु परेको र विदेशिनु समेत परेको परिप्रेक्ष्यमा नेपालले विश्व अर्थ व्यवस्थामा हुन सक्ने उथल पुथलको स्थितिबाट जनतालाई जोगाउन विषेश तयारी गर्नु पर्ने देखिन्छ।
तर सरकार ज्यादै कमजोर रहेको, नेताहरु आफ्नै स्वार्थमा लिप्त देखिएको, राजनैतिक दलहरु जनताको सेवा भन्दा सत्तारोहणको दाउपेंचमा लागेको जस्ता समस्याहरुले गर्दा नेपालले विश्व अर्थ व्यवस्थामा आउन सक्ने उथल पुथलबाट नेपाली जनतालाई जोगाउन केही ठोस कदम चाल्ला भनी विश्वास गर्ने आधार देखिँदैन। विश्व अर्थ व्यवस्थामा उत्पन्न हुन सक्ने खराब स्थितिबाट जोगिन केही ठोस उपायहरु सोंच्नुको साटो नेपाल अहिले जातीय र पहिचानको संघर्षमा होमिएको छ।
 जातीय र पहिचानको संघर्षले, पहिले देखि नै अति गरिब नेपालीलाई, झन कति गरिब बनाउने हो, अहिलेको यो कठिन समयमा सर्वाधिक चिंताको विषय हुन पुगेको छ। हाते मालो गर्दै सबै जात, जाति र समुदाय मिलेर मुलुकको आर्थिक प्रगति तर्फ लम्किनु पर्नेमा केवल भावनामा बगेर, जातीय र पहिचानको संघर्षमा किन नेपालीहरु होमिएका होलान, बुझ्न सकिएको छैन। तर जातीयता र पहिचानको हावा भने नेपाल भरि, वन डढेलो झै फैलिएको छ। वर्षौ देखि, मठ, मन्दिर, धर्मशाला, स्कूल, कलेज आदिको निर्माणमा संलग्न रही सामाजिक कार्यहरु गर्दै आएको, विभिन्न किसिमका आर्थिक क्रियाकलापहरु गरेर देशको आर्थिक विकासमा ठोस योगदन पुर्याएको, जातीय द्वन्द वा संघर्षमा नलागेको  र तुलनात्मक रुपमा शान्त समुदायको परिचय बोकेको नेपालको मारवाडी समुदाय पनि अहिले जातीय संघर्ष तर्फ आकृष्ट हुनुले नेपालमा जातीय सद्भाव कुन स्तरमा खलबलिएको छ भन्ने कुराको अनुमान सहजै लगाउन सकिन्छ।

विश्वराज अधिकारी

Saturday, May 19, 2012

Like That-1-Poem of the week-29


यस्तो पनि (१) 

जिवनको पाइलाले जब उमेरको चुचुरो छुन्छ
आफ्नो सुकर्म र कुकर्म मान्छेले मनमनै गुन्छ

आफू बाहेक अरु सबैलाई मूर्ख देख्छ एक थरि मान्छे
होच्याउँदै अरुलाई ठान्छ सर्व श्रेष्ठ आफू अर्को थरि मान्छे

भीडमा कसैको पछि पछि लागेर जिन्दगी बिताउँछ एक थरि मान्छे
झुक्याएर सधैं भरि थुप्रैलाई आफ्नो पछि पछि लगाउँछ अर्को थरि मान्छे

कहिले दिन काट्नु पर्छ कहिले दिन आफै कट्छ
दिन त सबै उस्तै हुन भोगाईको अनुभूतिमा भर पर्छ

सुख सयल मात्रै नै भएको छ यो कारोबारी जिवनको सार
त्यसैले हुन थालेको छ आजभोलि भावनाको पनि व्यापार

क्रमश:

विश्वराज अधिकारी

Wednesday, May 16, 2012

Revolutionary Bimala Sister-Story-25


क्रान्तिकारी बिमला दिदी

सरला दिदीसँग मेरो निकै लामो समयको अन्तराल पछि भेट भएको थियो, यस्तै अठार बीस वर्ष पछि, काठमाडौको नया सडकमा, एउटा गहना पसल नजिक, २०५३/ ५४ साल तिर। मेरी पत्नी, निशाले गहना छान्न अति नै समय लाएकोले म सडक बाहिर उनको बाटो कुर्दै थिएँ र त्यही क्रममा मेरो सरला दिदी सँग बाटोमा भेट भयो, अनि कुराकानी पनि। सरला दिदीसँग निकै नै लामो समयसम्म कुराकानी भएको थियो। अब तपाँई स्वयंले अन्दाज गर्नुस मेरी धर्म पत्नीले गहना किन्न कति समय लगाएकी होलिन किनभने उनी गहना किनेर बाहिर आए पछि मात्र मेरो र सरला दिदी बीचको कुराकानी सकिएको थियो। सरला दिदी सँग भएका सम्पूर्ण कुराकानीको फेहरिस्त त म प्रस्तुत गर्न सक्तिन केवल सानो अंश मात्र प्रस्तुत गर्छु, यहाँ। सरला दिदी आइ.. मा पढदा म दस कक्षामा पढथें, नेपाल राष्ट्रिय विद्यापीठ स्कूल, श्रीपुर, बीरगंजमा। अँ, सरला दिदी सँग त्यस्तो किसिमले कुराकानी गर्न सक्ने घनिष्टता कसरी भयो, त्यो भने पछि सुनाउँला।
मेरो र सरला दिदी बीच कुराकानीको क्रम शुरू भयो। कुराकानी लाई अगाडि बढाउँदै सरला दिदीले हाँस्दै भन्नु भयो ‘कसैद्वारा मेरो जिवनी लेखिएको छ र त्यो जिवनीमा बिमला दिदीको कतै पनि चर्चा गरिएको छैन भने या त त्यो जिवनी नै अधुरो छ या त्यो लेख्ने मान्छेले मेरो बारेमा त्यति जानेको नै रहेन छ।’
मैले पनि हास्दै प्रश्न गरे- किन होला त्यस्तो, हँ, सरला दिदी? सरला दिदीले एकै छिन केही सोँचे झै गर्नु भयो अनि भन्नु भयो ‘मेरो जिवनमा बिमला दिदीको विचार, सिद्धान्त, आदर्श र भन्ने हो भने वहाँको सम्पूर्ण व्यक्तित्वको ज्यादै बलियो प्रभाव परेको थियो त्यो बेला जुन बेला म बीरगंजको ठाकुर राम क्याम्पसमा पढ्थे। त्यो प्रभाव अहिले पनि कायम छ, धेरै हदसम्म। सेतो कपडालाई कुनै रंगको घोलमा राखे पछि त्यो सेतो कपडा त्यो रंग रंगिए जस्तै मेरो व्यक्तित्व पनि बिमला दिदीको विचारले रंगिएको छ। वहाँका हरेक कुरा- बोल्ने तरिका, व्यवहार, जिवन प्रतिको दृष्टिकोण,  सिद्धान्त सबै मेरो लागि आदर्श हुन्थे, त्यति बेला। यति सम्म कि म घरमा आएर वहाँले बोल्ने तरिकाको नक्कल समेत गर्थे। परिवारको सदस्य, साथी, परिचित वा अन्य कुनै व्यक्तिसँग कुराकानी गर्दा वा वादविवाद हुँदा पनि,  म बिमला दिदीले झै गर्थ्ये, वहाँ झै प्रस्तुत हुन खोज्थे। हामी दुई नै ठाकुर राम क्याम्पस, बीरगंजमा पढ्थ्यौ। म आई.. तर वहाँ भने बि.. मा। पढेको समय भने यस्तै २०३३ वा ३४ साल हुनु पर्दछ।
मैले सरला दिदीको भनाइमा छोटो प्रतिक्रिया जनाए- होइन, त्यस्तो, ज्यादै ठूलो, प्रभाव परेको थियो तपाँईंमाथि वहाँको व्यक्तित्वको।  यो पटक भने केही गंभिर मुद्रामा प्रस्तुत हुनु भयो सरला दिदी। अघि देखि मुहारमा देखिएको हाँसोलाई चिंतामा रुपान्तरित गर्दै भन्नु भयो ‘हो, अति नै प्रभाव पारेको थियो, बिमला दिदीको बिचारले। हुन त वहाँको व्यक्तित्व नै त्यस किसिमको थियो, जो पनि छिटै प्रभावित हुन्थ्यो वहाँबाट, कुरा गरेको एकै छिनमा। तर म भने अलि बढी नै प्रभावित भएको थिएँ बिमला दिदीबाट, खोइ किन हो कुन्नी ………………..।’
सरला दिदीले फेरि भन्नु भयो ‘बिमला दिदी विचारमा प्रष्ट हुनु हुन्थ्यो। सिद्धान्तमा पनि त्यतिकै अडिग। अति नै दृढ निश्चयी अनि आफूमा विश्वास पनि उत्तिकै। वहाँका यिनै विषेशताहरुले नै मलाई आकर्षित गर्थ्ये। पछि वहाँका तिनै विषेशताहरु मेरा आदर्श बने। सबै भन्दा त, वहाँको पुरुषहरु प्रतिको दृष्टिकोणले मलाई अति नै प्रभावति पारेको थियो। बिमला दिदी जहिले पनि के भन्नु हुन्थ्यो भने नारी-शोषणको आधार भूमि यो पितृ-सत्तात्मक पुरुष-प्रधान समाज हो। एउटा सबल बिद्रोह द्वारा यो पुरुष-प्रधान समाजलाई तहस नहस पार्नु पर्छ। नारीको भूमिकालाई समाजमा महत्वपूर्ण पार्नु पर्दछ। पुरुष-प्रधान समाज सामन्ति संस्कृतिको अवशेष हो। त्यसकारण हामीले अहिलेदेखि नै आफूमा विद्रोही स्वभावको विकास गर्नु पर्दछ, सामन्ति संस्कृतिको त्यो अवशेषलाई समाप्त पार्न। आफूलाई सफल विद्रोही तुल्याउनु पर्दछ। पुरुषहरुले नारीहरु माथि लगाएको अंकुशलाई टुक्रा टुक्रा पार्नु पर्दछ। पुरुषहरुले धेरै हुकुम चलाए नारीहरु माथि। पुरुष-प्रधान समाज प्रतिको आफ्नो बिरोधी विचारलाई चट्टान झै बलियो र अडिग पार्नु पर्छ। पुरुष- प्रधान समाज प्रतिको वहाँको त्यस्तो नकारात्मक दृष्टिकोण देखेर मैले एकचोटी क्याम्पसबाट फर्किंदा सोधेको थिए, वहाँलाई- बिमला दिदी, तपाँईले बिहे गर्ने व्यक्ति यदि नारीलाई दबाउने किसिमको परे भने के गर्नु हुन्छ नि? मेरो त्यो प्रश्नको उत्तरमा वहाँले भन्नु भयो – के को बिहे गर्नु? बिहे नै गर्दिन। किन र? के बिहे गर्न आवश्यक छ र? लोग्ने मान्छेको साहारा चाहिन्छ नै आइमाईलाई बाँच्नका लागि? यदि चाहिन्छ भने म लोग्ने मान्छे बिनाको जिवन बाँचेर यो समाजलाई देखाइ दिन्छु, बुझ्यौ। यदि विज्ञानले, आउने दिनहरुमा पुरुषको सम्पर्क बिना बच्चा जन्माउने प्रविधिको विकास गरे छ भने म पुरुषको सम्पर्क बिना बच्चा जन्माएर देखाइ दिन्छु यो ढोंगी, यो पाखण्डि समाजलाई। म प्रगतिशील नारी पो हो त। म पौराणिक कालको सीता होइन, अग्नी परिक्षा दिने। म त आधुनिक युगको बिमला हो।’
यति भनेर सरला दिदी केही छिन मौन हुनु भयो। एकै छिनको मौनता पछि फेरि भन्नु भयो ‘एक चोटी हामी बीरगंजबाट रक्सौलको कृष्णा टाकिजमा सिनेमा हेर्न जाँदै थियौ, रिक्सा चढेर। हाम्रो रिक्सा रक्सौल पस्न मात्र केही समय बाँकी थियो अर्थात हामी सिर्सिया नदीको पुल माथि थियौ। बिमला दिदीले भन्नु भयो – हेर सरला, महिलाहरु कहिले स्वतन्त्र भएर बाँच्न पाउँदैनन, यो नारी-शोषणको युगमा, यो बुर्जुआ समाजमा, यो आधुनिक युगमा पनि। नारीले जहिले पनि एक किसिमको बन्धनमा बाँच्नु पर्छ, गाई गोरुले डोरीमा बाँधिएर बस्नु परे झै। बिहे भन्दा पहिले बाबुको बन्धनमा। बिहे पछि लोग्नेको बन्धनमा। लोग्ने पछि, छोरा ठूलो भए पछि, छोराको बन्धनमा। अनि यदि छोरा छैन भने कुरौटो छिमेकी वा समाजको बन्धनमा। यसरी एउटा नारीको जिवन बन्धनबाट शुरु भएर बन्धनमा नै समाप्त हुन्छ। त्यस कारण अब हामीले त्यो बन्धनबाट आफूलाई मुक्त पार्नु पर्छ। दासतबाट आफूलाई उन्मुक्त पार्नु पर्छ। बिमला दिदीका यस्ता कुराले म निकै प्रभावित हुने गर्थ्ये त्यो बेला।’
म मौन भएर केवल सरला दिदीको कुरा सुनि रहेको थिएँ। सडकमा उभिएर कुरा गर्न गार्हो भएकोले मैले रेष्टुरेन्टतिर जान आग्रह गरे। मलाई विश्वास थियो, हामी रेष्टुरेन्टबाट फर्किंदासम्म पनि निशाको गहना किन्ने क्रम जारी नै रहने छ। चिया खान जाउँ भन्ने मेरो प्रस्ताबमा सरला दिदीले स्वीकृति जनाउनु भएन। बरु कुराकानीको क्रमलाई अगाडि बढाउँदै भन्नु भयो ‘म त्यस बेला, क्याम्पसमा पढदा, एउटा मसँग नै पढ्ने, नारायणघाटको केटाले निकै हैरान पारेको थियो मलाई। कुनै व्यापारीको सन्तान जस्तो लाग्दथ्यो त्यो, लबाइ खबाइ हेर्दा। म प्रति हुरुक्कै हुन्थ्यो तर भद्र तरिकाले। ऊ प्रति म पनि आकर्षित थिएँ तर किन हो म आफूले नै पनि स्वीकार गर्न चाहन्थिन कि म पनि उसलाई मन पराउँछु भनेर। कुनै बेला लाग्थ्यो त्यो केटा पनि त्यै पुरुष-प्रधान संस्कृतिको प्रतिनिधि हो। मैले यो सँग बिहे गरेमा यसले मेरो शोषण बाहेक केही गर्दैन। मेरो शोषण, मेरो शरीरको शोषण। यसको अहिलेको मप्रतिको आकर्षण केवल मेरो उमेर प्रतिको हो, मेरो जवानी प्रतिको हो। उसको मप्रतिको आकर्षण केवल ……………… को भोक हो।’
सरला दिदी एकै छिन शान्त हुनु भयो। न्युरोडमा मोटरको चाप बढदै थियो। गाडीहरुबाट निस्केको आबाजले हामीलाई अलि चर्को स्वरमा बोल्न बाध्य पारेको थियो। सरला दिदीले हाँस्दै भन्नु भयो ‘त्यो केटाको नाम नरेन्द्र थियो। नरेन्द्रले कति पटक उसको आँखामा केही पर्यो भन्दै मलाई झिकी दिन आग्रह गरेको अहिले पनि मलाई याद छ, क्याम्पसमा। त्यसको आँखामा के को केही पस्नु। त्यो त उसको केवल बहाना हुन्थ्यो मलाई ज्यादै नजिकबाट हेर्ने। म पनि उसको आँखामा हेर्थ्ये केहि छिन, र केही छैन आँखामा, त्यतिकै चिलाएको होला भन्थ्ये। ऊ मेरो ज्यादै नजीक हुन खोजे पनि मेरो नजीक त हुन दिएँ उसलाई तर मेरो मनको नजिक हुन दिइन, कहिले पनि। केवल मेरो वरिपरि चक्कर काट्यो मात्र, लामो समयसम्म। पछि थाकेर मेरो पछि लाग्न छाड्यो। मैले त्यस बेला उसलाई देखाएको त्यस्तो व्यवहार बिमला दिदीले निर्माण गरि दिएको त्यस किसिमको मेरो मनोविज्ञानको कारणले हुन सक्छ। त्यस्तो अब लाग्दै छ। त्यो केटा, केटा के भन्नु अब,  संयोगले अहिले म बसेको टोलमा नै बस्छ, यही काठमाडौंमा नै। भद्र र  अशल किसिमको जिवन बिताई रहेको छ उसले, त्यस्तो लाग्छ मलाई, उसलाई हेर्दा।
धेरै बेरदेखि म केवल मौन बसेकोले मलाई पनि केही बोल्न मन लाग्यो। सरला दिदीको कुरा बिमलामा केन्द्रित हुन छाडेर नरेन्द्रमा बढी केन्द्रित हुन थालेको देखेर झनै केही बोल्न बाध्य भएँ म। म भने बिमलाको बारेमा जान्न उत्सुक थिए। मैले भने- सरला दिदी, पुरानै प्रशंगमा फर्कौ न, हुँदैन? तपाँईलाई त्यति बढी प्रभावित गर्ने तपाँईको आदर्श, बिमला दिदी कहाँ हुनु हुन्छ नि, अहिले? अनि के गर्नु हुन्छ, नि?
सरला दिदीले छोटो उत्तर दिनु भयो ‘राजनीति गर्नु हुन्छ।’
मैले फेरि प्रश्न गरे- अनि, तपाँइको बिमला दिदीले बिहे गर्नु भयो कि भएन नि?
सरला दिदीले भन्नु भयो ‘किन नगर्नु, गर्नु भयो नि। छोरा छोरी छन। बिराटनगरमा हुनु हुन्छ।’
सरला दिदीले हाँस्दै भन्नु भयो ‘सुन्नुस न, मैले आइ.. सक्याएको दुई तिन वर्ष पछिको कुरा हो, बिमला दिदीलाई बिराटनगरमा भेटेको थिएँ, एक पटक। वहाँको, बि.. सकिएको पनि त्यतिकै समय भएको थियो। बिराटनगरमा, एउटा बिहेमा भेट भएको त्यो बेला, मैल आश्चर्य मान्दै सोधे- तपाँईको काखको बच्चा कसको हो, बिमला दिदी? तपाँई कै त होइन? बिमला दिदीले हाँस्दै भन्नु भयो- हो, मेरो छोरा हो, यो। यसको नाम गौरव हो।’
मेरो आँखामा फैलिएको आश्चर्यको बाढीको अर्थ बुझ्न बिमला दिदीलाई समय लागेन।
मेरो काँधमा हात राख्दै भन्नु भयो ‘जिवनमा धेरै मोडहरु आउँदा रहेछन। सोंचे जस्तो हुँदो रहेनछ, यो जिवनमा। विद्यार्थी बेलाको कुरा गरेर के साद्दे लाग्छ। वद्यार्थी बेलाको, आलो काँचो बुद्धि………….।’
बिमला दिदीको पछिल्लो कुरा सुने पछि वहाँसँग थप कुरा गर्न रहर नै भएन मलाई। वितृष्णा जागेर आयो, वहाँ प्रति। बेहुलीलाई भेट्नु छ भन्दै पन्छिए म बिमला दिदीबाट।’ यति भनेर एक छिन सम्म न्युरोड गेटलाई हेर्या हेर्यै गर्नु भयो सरला दिदीले।
मैले कुरा सक्याउने बिचार गरे। मेरी पत्नीको गहना किनमेल सकिन थालेको अनुमान पनि गरे। हुन पनि उनले गहना किन्न लगाएको समय दुई घण्टा भन्दा बढी भइ सकेको थियो। सरला दिदीको त्यो एकहरो हेराइलाई तोड्दै मैले प्रश्न गरे- अनि, सरला दिदी, तपाँईले बिहे गर्नु भयो कि भएन, हँ?
सरला दिदीले भन्नु भयो ‘गरिन।’
मैले पुन: प्रश्न गरे- किन? किन नि?
सरला दिदीले भन्नु भयो ‘गर्न मन लागेन।’
छुट्टिनु बेलामा मतिर केही बेर हेर्दै सरला दिदीले भन्नु भयो ‘हुँ, क्रान्तिकारी बिमला दिदी रे।’

विश्वराज अधिकारी