Wikipedia

Search results

Friday, February 15, 2019

Economic Development and Our Misconception-Article-235


आर्थिक विकासप्रतिको हाम्रो गलत अवधारणा

नेपालमा अहिले एउटा खबरले निकै चर्चा पाइरहेको छ। विदेशमा पनि नेपालीहरू माझ यो खबरले उत्तिकै चर्चा पाइरहेको छ। र त्यो चर्चामा यो खबरको पक्षभन्दा विपक्षमा चर्को स्वर सुनिएको छ। के होला त्यस्तो सर्वत्र चर्चा पाउने खबर? खबर हो धुर्मुस सुन्तली फाउन्डेशनले भरतपुर नगरपालिकाभित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्ने र त्यो निर्माण खर्च बेहोर्न देश र विदेशमा रहेका नेपालीहरूसँग धुर्मुससुन्तली फाउन्डेशनले चन्दा लिने।
    धुर्मुससुन्तली फाउन्डेशनले गर्ने सो कार्यको विरोध भने यस किसिमका छनः
    मनोरञ्जन क्षेत्रमा लागेका व्यक्तिधुर्मुस र सुन्तलीहरूले आफ्नो क्षेत्रमा नै काम गर्नु राम्रो। यस किसिमको निर्माण (व्यापारिक) कार्यमा आउनु उचित होइन।
    यस किसिमको निर्माण (स्टेडियम, सडक आदि) गर्ने अभिभारा सरकारको हो। यस्तो निर्माणमा गरीब जनता (चन्दा गरीबहरूले पनि दिनेछन्) को पैसा खर्च गरेर उनीहरूको पेट काट्नु राम्रो होइन।
    अस्पताल वा शिक्षालय आदिको निर्माण गर्न चन्दा सङ्कलन गर्नु उचित होला तर क्रिकेट स्टेडियमाजस्तो मनोरञ्जन स्थलको निर्माणमा गरीब जनताको पैसा खर्च गर्नु उचित होइन।
    नेपालजस्तो गरीब देशमा अस्पताल वा स्वास्थ्य सेवा निर्माणमा बढी जोड दिनुपर्छ। क्रिकेटजस्तो सोखिन खेलमा यति ठूलो लगानी गर्नु उचित होइन।
    सरकारले गर्ने काम व्यक्ति विशेषलाई गर्न दिएर उनीहरूलाई अनावश्यक चर्चा कमाउन दिनु उचित होइन। ती व्यक्तिविशेष (धुर्मुस र सुन्तली) ले उक्त निर्माणमा आफ्नो पैसा खर्च गरेका पनि छैनन्।
    धुर्मुससुन्तली फाउन्डेशनले गर्ने उक्त निर्माण कार्यको विरोधमा आएका विभिन्न विचार कति सही वा कति गतल छन् भन्ने कुराको ठीक उत्तर समयले देला नै। यस आलेखमा  भने विकास कार्यमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ र अस्पतालजस्तो अति आवश्यकीय संस्थाका साथै स्टेडियमको निर्माण पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुराको चर्चा गरिने छ।
    हामी नेपालीहरू लामो समयसम्म राजसंस्थामा हुर्केको हुनाले देशभित्र हुने सबै किसिमका विकास कार्यहरू सरकारले गर्नुपर्छ भन्ने मान्यता राख्छौं। यहाँसम्म कि आफ्नै गाउँ वा शहर सफा राख्ने सन्दर्भमा पनि आफ्नो भूमिका शून्य देख्छौ। आफूले नै फालेको घर अगाडिको फोहर सरकारले फालिदेओस् भन्ने अपेक्षा गर्छौ। देशभित्र हुने विकास एवं निर्माण कार्यको कुनैपनि किसिमको जिम्मेवारी लिन चाहँदैनौं। विगत (राजतन्त्रकाल) मा विकास एवं निर्माणसम्बन्धी सम्पूर्ण कार्यहरू राजदरबारबाट निर्देशित र नियन्त्रित हुन्थ्यो। त्यसकारण हामी त्यसरी सोच्दथ्यौं। तर अब समय बदलिएको छ। देशमा राजतन्त्र छैन। तरपनि हाम्रो पुरातन सोच बदलिएको छैन। अहिलेपनि हामी विकास एवं निर्माणप्रति कुनै किसिमको जिम्मेवारी लिन चाहँदैनौं र आफ्नो घरको फोहर, फ्नो घर अगाडिको सडकमा फाल्न हच्किदैनौं। फोहर फालेपछि सरकारले त्यो फोहर लगोस् भन्ने अपेक्षा गर्छौं। अनि विकास भएन भनेर ठूला गफ र विरोधी कुराहरू पनि गर्छौ
    आर्थिक विकासप्रति हाम्रो अवधारणा अति नै गलत छ। विकासप्रति हाम्रो अवधारणा गलत भएको हुनाले नै हामी आर्थिक विकासको बाटोमा निकै पछाडि छौं। देशमा विकास एवं निर्माणको जिम्मेवारी जनताले लिने हो। आआफ्नो स्थानको विकास स्थानीय जनताले गर्ने हो। आम्दानी पनि आफैंले सृजना गर्ने हो। सरकार केवल माध्यम हो। सरकारले न आम्दानी गर्छ, न खर्च नै गर्छ। जनताले भुक्तान गरेको करको माध्यमबाट एउटा राष्ट्रिय कोषको निर्माण भएको हुन्छ। र त्यो कोषबाट के, कति कुनकुन क्षेत्रमा खर्च गर्ने (राष्ट्रिय बजेटको माध्यमबाट) भन्ने कुराको निर्णय जनता (संसद्) ले गर्छ। यसरी आम्दानीपनि जनताले गर्छ र कुन कुन क्षेत्रमा कति खर्च गर्ने भन्ने निर्णय पनि जनताले नै गर्छ। राष्ट्रिय आम्दानी र खर्चमा सरकारको कुनै भूमिका हुँदैन। हुन पनि सरकारको काम केवल देशमा प्रशासन चलाउनु हो। नीति नियमको उचित कार्यान्वयन गराउनु हो। विकसित देशहरूमा सरकारहरूले यही धारणा अनुसार कार्य गर्छन्। विकासप्रति हाम्रो अवधारणा गलत भएको हुनाले नै जति खेर (आजभन्दा सय वर्ष पहिले) पश्चिमी देशका नागरिकहरू मोटरकारमा चढेर यात्रा गर्थे त्यति खेर हामी बयलगडीमा चढेर वा पैदल हिंडेर यात्रा गर्थ्यौ। नेपालका कतिपय क्षेत्रमा अहिले पनि मोटर पुग्न सकेको छैन। यदि पहाडले गर्दा यस्तो भएको भन्ने हो भने अमेरिका वा स्वीटजरल्यान्डको पहाडी भूभागमा उपलब्ध सडक सुविधा हेरे हुन्छ। कुनै पनि मुलुकको आर्थिक विकास जनताले नै गर्ने हो, सरकारले गर्ने होइन। विकासको लागि जहिलेपनि सरकारको मुख ताक्ने हो भने नेपालको स्थिति पनि अफ्रिकाको कुनै ज्यादै निर्धन राष्ट्रजस्तो हुनेछ। यस सन्दर्भमा भरतपुरमा क्रिकेट स्टेडियमको निर्माण गर्न निजी क्षेत्र (धुर्मुससुन्तली फाउन्डेशन) सक्रिय हुनु सर्वथा अनुचित होइन।
    गरीब जनताले दिने चन्दाको उपयोग अस्पतालजस्तो संस्थाको निर्माण गर्नुको साटो विलासी सेवा (क्रिकेट स्टेडियम) को निर्माणमा किन गर्ने? आउनुहोस् अब यस प्रश्नको उत्तर खोजौं। क्रिकेट खेल विलासी हो वा होइन? यो विवादलाई थाती राखौं, अहिलेलाई। कुनैपनि किसिमको खेलकूदको राष्ट्रिय पर्यटन विकाससँग गहिरो सम्बन्ध हुन्छ। देशभित्र हुने विभिन्न किसिमका खेलकूदहरू हेर्न संसार भरिबाट खेलप्रेमी (पर्यटक) हरू आउँछन् र उनीहरूले होटल, लज, रेस्टुरा लगायत विभिन्न वस्तु एवं सेवाको खरिदारीमा पैसा खर्च गर्छन्। जनतालाई आम्दानी गर्ने बाटो बनाइदिन्छन्। यसरी खेलकूदले पर्यटन विकासमा योगदान पुर्याएर देशले राम्रो आम्दानी गर्ने अवसर सृजना गरिदिन्छ। यस किसिमको उद्देश्य लिएर नै कतारले सन् २०२२ मा विश्व कप फुटबलको आयोजना गर्दैछ। भन्ने हो भने कतारको लगि पर्यटन उद्योग नै राम्रो आम्दानी दिने क्षेत्र हुन पुगेको छ। कतार अहिले हवाईसेवाका लागि हबहुन पुगेको छ। हवाईमार्गबाट एक देशबाट अर्को देश जाँदा बहुसङ्ख्यक व्यक्ति कतार हुँदै पुग्छन्, किनभने कतारमा थुप्रै देशका हवाइजहाजहरू आउँछन् र त्यहाँबाट जान्छन्। पर्यटन क्षेत्रको योगदानले गर्दा नै कतार अहिले विश्वकै धनी राष्ट्रहरू मध्ये एक हुन पुगेको छ।
    भरतपुरमा निर्माण गरिने स्टेडियमबाट आएको आम्दानीले त्यस क्षेत्रमा अनेक सुविधायुक्त, सर्वसुलभ र सस्तो अस्पताल निर्माण गर्न सकिन्छ। खेलकूद हेर्न प्रायः धनीहरू आउँछन्। उनीहरूको पैसालाई (स्टेडियमको माध्यमबाट) गरीबहरूसम्म (अस्पतालको सेवा प्रदान गरेर) सम्म पुर्याउन सकिन्छ। यस सन्दर्भमा पनि धुर्मुस सुन्तली फाउन्डेशनले स्टेडियम निर्माणमा सक्रियता देखाउनु निरर्थक देखिंदैन।
    बरु धुर्मुससुन्तली फाउन्डेशनले निर्माण गर्ने कोष र त्यो कोषको उपयोग (खर्च) लाई कसरी पारदर्शी तुल्याउन सकिन्छ त्यसतर्फ सोच्न आवश्यक छ। निर्माणको सन्दर्भमा, हाम्रो प्रशासनिक संयन्त्रहरू भ्रष्ट छन्, तिनलाई कसरी इमानदार तुल्याउन सकिन्छ, त्यसतर्फ ध्यान दिनु आवश्यक छ। हुनत हाम्रो प्रशासनिक संयन्त्र र सरकारप्रति जनताको विश्वास नभएर नै जनताले धुर्मुससुन्तली फाउन्डेशनलाई पत्याएको हो। अबको समयमा धुर्मुससुन्तली फाउन्डेशनमाथि रहेको जनताको विश्वासलाई हामीले कसरी कुशलतापूर्वक उपयोग गर्न सक्छौं त्यसतर्फ सोच्नु बुद्धिमानी देखिन्छ, यो फाउन्डेशनको उक्त कार्यको विरोध गर्नुभन्दा।
    यो फाउन्डेशनबाट निर्माण हुने स्टेडियमलाई एउटा कम्पनीको रूपमा दर्ता गर्नु उचित हुनेछ। स्थानीय निकाय (नगरपालिका) को स्वामित्व राखेर यसलाई सञ्चालन गर्न (निजी क्षेत्रका व्यापारीलाई) लिजमा दिनु उपयुक्त हुनेछ। यसैगरी यस कम्पनी (क्रिकेट स्टेडियम) बाट आएको वार्षिक आम्दानीबाट वार्षिक खर्च कट्टा गरेर बाँकी हुन आएको रकम चन्दादाता (स्टेडियम निर्माणमा चन्दा दिने) हरूलाई लाभांशको रूपमा, वर्षेनी, वितरण गर्नु उपयुक्त हुनेछ। यस्तो गरिएमा चन्दादाताहरू पनि आफ्नो चन्दाको सदुपयोग भएको ठानेर भविष्यमा हुने यस किसिमको निर्माणमा चन्दा दिन स्वतः उत्प्रेरित हुनेछन्। चन्दा सङ्कलन (जनताको लगानी) को माध्यमबाट नै देशमा ठूला ठूला निर्माणहरू हुनेछन्। हुनत नेपलामा पूँजीको न खाँचो थियो, न अहिले छ। खाँचो छ भने कुशल योजना र इमानदार प्रशासनको। नेपाल धेरै धनीहरूको बसोवास रहेको तर गरीब देश हो। ती धनीहरूको पैसा (करको माध्यमबाट) गरीबहरूसम्म पुग्न सकेको छैन।
धुर्मुस (सीताराम कट्टेल), सुन्तली (कुञ्जना घिमिरे) जस्ता मनोरञ्जनको क्षेत्रमा लागेका र चर्चा कमाएका व्यक्तिहरू यस किसिमको सेवा (व्यापारिक) कार्यमा लाग्नु उचित होइन भन्ने सन्दर्भमा विचार गर्दा उनीहरू यस किसिमको सामाजिक सेवामा लाग्नु अनुचित देखिंदैन। संसारमा चर्चित व्यक्तिहरू समाजसेवामा लागेको, उनीहरूले चन्दा सङ्कलन गरेको धेरै उदाहरण देख्न सकिन्छ। अमेरिकाकी चर्चित अभिनेत्री एन्जेलिना जोली समाजसेवामा दत्तचित्त दिएर लागेको पाइन्छ। बलिउडका कलाकारहरू आशा पारेख, सुनील दत्तआदि पनि समाज सेवामा लागेको पाइएको छ। अमेरिकाका सफल व्यवसायी बिल गेट्सपनि समाज सेवा (Bill and Melinda Gates Foundation) मा लागेको पाइएको छ । यसैगरी अमेरिकाका पूर्व राष्ट्रपतिहरू जिम्मी कार्टर (Carter Center), बिल क्लिन्टन (Clinton Foundation) पनि समाजसेवामा लागेको पाइएको छ। यस परिदृश्यमा हेर्दा धुर्मुस र सुन्तलीको समाज सेवाप्रतिको आकर्षण प्रशंसनीय छ।
    कहिलेकाहीं लाग्दछ जे कुराको पनि विरोध गर्ने हाम्रो बानीले गर्दा हामी असल कुराको पनि विरोध गर्न पुग्छौं। स्थिर सरकारको कुरा गर्छौं, कुनै सरकारले दुई वर्ष पनि पूरा गरेको हुँदैन, त्यसलाई कसरी पतन गराउने भनी सोच्न थाल्छौं। अहिले ओली सरकारको विरोध भएजस्तो। ओली सरकार वा कुनै यस्तै अर्को सरकारको गलत कार्यको विरोध गर्नुपर्छ तर सरकार नै पतन गराउनेतिर लाग्नुहुँदैन, किनभने छोटो समयमा हुने सरकार परिवर्तनले राष्ट्रिय खर्चमा वृद्धि त हुन्छ नै, राष्ट्र नै पनि अस्थिर भएर जान्छ।
    हालै बेलायतमा, त्यहाँको प्रम टेरिजा मेको ब्रेक्जिटसम्बन्धी नीतिको व्यापक विरोध भयो। उनकै दलका सांसदहरूले उनको त्यो नीतिको चर्को विरोध गरे। तर उनीमाथि विपक्षी दलले राखेको अविश्वासको प्रस्ताव पारित हुन सकेन। मे अहिले पनि प्रमको रूपमा कार्यरत छिन्। यस्तो अवस्थामा प्रम परिवर्तन गर्नु उचित होइन भन्ने कुरा बेलायतीहरूले प्रस्ट गरी आफ्नो व्यवहारद्वारा अभिव्यक्त गरे।

विश्वराज अधिकारी
akoutilya@gmail.com 
प्रतीक दैनिकमा प्रकाशित (Friday, February 15, 2019)     

Friday, February 8, 2019

Special Characteristics of American Economy-Diversity-234


अमेरिकी अर्थ व्यवस्थाको विशेषता

१५. सामाजिक सम्मिश्रण

    संयुक्त राज्य अमेरिकालाई देशहरूको देश भन्ने गरिन्छ। हुनपनि अमेरिकामा लगभग संसारभरिका देशका नागरिकको बसोवास रहेको देख्न सकिन्छ। अर्थात् अमेरिका आफैंमा छुट्टै एउटा अर्को संसार हो भनेपनि हुन्छ। एशिया, युरोप, दक्षिण अमेरिका र अफ्रिका महादेशका साना वा ठूला, अनेक राष्ट्रका नागरिकको अमेरिकामा बसोवास रहेको पाइन्छ। अमेरिका विभिन्न भाषाभाषी र विभिन्न समुदाय (Diversity) को आश्रयस्थल हो। र अमेरिका विभिन्न समुदायको आश्रयस्थल हुनु नै आर्थिक विकासको एउटा बलियो पूर्वाधार हो। विभिन्न समुदायको बसोवासले अमेरिकालाई धनी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। अमेरिकाको आर्थिक विकासले त्यही दर्शाउँछ।
    अमेरिकामा जर्मन, अफ्रिकन अमेरिकन, मेक्सिकन, आइरिस, इङ्गलिश, इटालियन, पोलिस, फ्रेन्च, स्कटिस, पोर्टोरिकन, नर्वेजियन, डच, स्वीडिस, चाइनिज, एशियन इन्डियन, स्कचआइरिस, रूसी, वेस्ट इन्डियन, र फिलिपिनोहरूको भने बाक्लो बसोवास रहेको पाइन्छ। सानो सङ्ख्यामा भन्ने हो भने सुडान, नाइजेरिया, सोमालिया, केन्या, नेपाल, पाकिस्तान, भियतनाम, थाइल्यान्ड, इरान, इराक, इजराइल, सिरिया, क्युबा, भेनेजुएलाजस्ता अनेक राष्ट्रका नागरिकको बसोवास रहेको पाइन्छ। यो कारणले पनि अमेरिकालाई आप्रवासीहरूको देश भन्ने गरिएको हो।
    अहिलेसम्मको अध्ययन, अनुसन्धान र अनुभवले के देखाउँछ भने समाज जति बढी बहुभाषी र बहुसाम्प्रदायिक भयो त्यति नै बढी आर्थिक विकास हुने रहेछ। सामाजिक सम्मिश्रण जति बढी भयो त्यति नै बढी आर्थिक विकास हुन्छ। हुनपनि अमरिकाको स्थितिले नै यस कुराको पुष्टि गर्छ।
    चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायत दक्षिण एशियाका अन्य राष्ट्रहरू यस्ता मुलुकहरू हुन् जहाँ सामाजिक सम्मिश्रण ज्यादै कम छ, कमजोर छ। यो कारणले गर्दापनि यी राष्ट्रहरू आर्थिक विकासको मामिलामा धेरै वर्षसम्म पछाडि रहे। वर्षौपछि आएर अहिले चीनले सामाजिक सम्मिश्रणको दर बढाउँदै लगिरहेको छ। विभिन्न देशका नागरिक अहिले चीनतिर बसोवास वा कारोबार गर्न आकर्षित भएका छन्। तरपनि चीन, अहिलेसम्म पनि, स्थायी किसिमले विदेशीहरू वा आप्रवासीहरूलाई बस्न दिने मनस्थितिमा रहेको देखिएको छैन।
    भारतमा पनि सामाजिक सम्मिश्रणको स्थिति राम्रो रहेको मान्न सकिंदैन। उदाहरणका लागि पश्चिम बङ्गालमा बङ्गलाभाषीहरू बहुसङ्ख्य छन् भने पञ्जाबमा पञ्जाबीभाषी। यस्तै स्थिति महाराष्ट्र, गुजरात, बिहार, आदिमा पनि छ। अर्थात् भारतको कुनै एक राज्यमा विभिन्न समुदाय वा विभिन्न भाषाभाषीहरूको बसोवास छैन। मुम्बई, दिल्ली आदि ठूला शहरहरूमा बहुभाषी बसोवास भए तापनि साना शहरहरूमा त्यो स्थिति छैन। यो कारणले पनि भारत आर्थिक विकासको मामिलामा स्रोत र साधनहरूको बावजूद निकै पछाडि रह्यो। भारतको आर्थिक विकासलाई त त्यहाँ प्रचलित जातीय विभाजन (ठूलो जात र सानो जातअछूत) ले अति नै नकारात्मक प्रभाव पार्यो। अंग्रेजहरूले आर्थिक विकासका पूर्वाधार (रेल, सडक, विद्युत्, जल यातायात, प्रशासनिक संरचना आदि) हरूको निर्माण नगरिदिएको भए भारतको आर्थिक स्थिति अहिले जस्तो पनि हुने थिएन। आर्थिक विकासको क्षेत्रमा निकै पछाडि हुन्थ्यो।
    बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक वा सामाजिक सम्मिश्रणको दृष्टिकोणले त पाकिस्तानको स्थिति झनै दयनीय छ। पाकिस्तान एकल समुदाय (मुस्लिम) भएको देश हो भने पनि हुन्छ। त्यहाँ हिन्दू र क्रिस्चियनहरूको ज्यादै सानो सङ्ख्यामा बसोवास छ। आर्थिक विकासको दृष्टिकोणले भारतको हाराहारीमा आउनपनि पाकिस्तानलाई धेरै वर्ष लाग्न सक्छ। यस्तै स्थिति साउदी अरेबियाको पनि छ। साउदी अरेबिया पनि एकल समुदाय भएको राष्ट्र हो। जसरी साउदी अरेबिया एकल समुदाय भएको राष्ट्र छ, त्यस स्थितिमा, त्यहाँ तेल भण्डार नभएको भए साउदी अरेबियाको स्थिति पनि कुनै अति गरिब अफ्रिकी राष्ट्रजस्तो हुने थियो। तुलनात्मक रूपमा कतार र युएईमा बढी मात्रामा बहुसांस्कृतिक र बहुभाषीहरूको बसोवास रहेकोले यी मुलुकहरूले मिडिल इस्टमा निकै आर्थिक प्रगति गरेका छन्। कतार त आर्थिक विकासको पथमा झनै अगाडि छ।
    एकै किसिमको समुदायको बसोवास रहेकोले आर्थिक विकासको मामिलामा निकै पछाडि रहेको अर्को राष्ट्र हो अफगानिस्तान। एकै समुदाय (मुस्लिम) को ठूलो सङ्ख्यामा बसोवास भएकोले पनि त्यो देशमा शान्ति आउन सकेको छैन। उल्टो एकै समुदायका नागरिक भए तापनि उनीहरूबीच ज्यादै ठूलो विभाजन छ। अफगानिस्तानमा रहेको साम्प्रदायिक विभाजन र त्यो विभाजनले ल्याएको अति रक्तपातपूर्ण गृह कलह, सङ्घर्ष, मतभेद हेर्दा लाग्छ अफगानिस्तानले भविष्यमा एक राष्ट्रको रूपमा आफ्नो अस्तित्व कायम राख्नसमेत ज्यादै कठिन छ। गएको पाँच वर्षमा अफगानिस्तानमा विभिन्न विद्रोही समूहहरूको आक्रमणमा परी ४० हजार अफगानी सुरक्षा कर्मचारी (सेनालगायत) को ज्यान गइसकेको छ। विदेशी सुरक्षा कर्मचारीहरू पनि धेरै मारिएका छन्। त्यहाँ रहेका विदेशी सेनाहरूको सहयोग नहुने हो भने अफगानिस्तानले सरकार चलाउन पनि सम्भव हुनेछैन। अनुभवले त्यही भन्छ।
    सामाजिक सम्मिश्रणले आर्थिक विकास मात्र होइन, राजनीतिक सन्तुलन कायम राख्न पनि सहयोग पुर्याउँछ। अर्कोतिर आर्थिक विकास गर्नका लागि राजनैतिक सन्तुलन अति आवश्यक हुन्छ। अमेरिकामा सामाजिक सम्मिश्रण ज्यादै बलियो भएकोले वर्षौदेखि यो मुलुकमा राजनैतिक सन्तुलन पनि कायम छ, स्थिर छ।
    कुनै पनि मुलुकमा विभिन्न समुदायको बसोवास हुँदा विभिन्न समुदायका व्यक्तिहरूले आआफ्नो बौद्धिक क्षमता प्रयोग गरेर नयाँनयाँ किसिमका खोज एवं अविष्कारहरू गर्छन्। नयाँ नयाँ व्यापारका तरिकाहरूको आविष्कार एवं प्रयोग गर्छन्। विभिन्न संस्कृतिबाट आएका हुनाले विभिन्न व्यक्तिहरूले नयाँ नयाँ सोच, खास किसिमका प्रचलनहरू ल्याएका हुन्छन्। अमेरिकामा ठीक यस्तै भएको छ। उदाहरणको लागि बेलायतमा औद्योगिक क्रान्ति (सन् १७६० देखि १८४०) भएको समयमा बेलायतबाट अमेरिका आएका अंग्रेजहरूले अमेरिकाको औद्योगिक विकासमा आफ्नो ज्ञान र सीप प्रयोग गरेर ठूलो योगदान पुर्याए। यसैगरी अमेरिकाको बौद्धिक एवं व्यापारिक क्षेत्रमा जुइस समुदायको महत्वपूर्ण योगदान छ। त्यस्तै योगदान हिस्पेनिकहरूको पनि छ। रेष्टुरेन्ट व्यापारमा हिस्पेनिकहरूको ठूलो योगदान छ।
    अमेरिकामा विभिन्न समुदायको बसोवासले व्यापारिक क्षेत्रमा र खासगरी पर्यटनको क्षेत्रमा ठूलो योगदान पुर्याएको छ। रेस्टुरा व्यापार त झनै फस्टाएको छ। अमेरिकामा कुन देशको खाना पाइँदैन? संसारभरिका लगभग हरेक देशको खाना पाइन्छ। सानासाना शहरहरूमा पनि चाइनिज, इन्डियन, मेक्सिकन, मिडिल इस्टका खानाहरू पाइन्छ। न्युयोर्क, शिकागो, सान फ्रान्सिस्कोजस्ता ठूला शहरमा त झनै संसारभरिको खाना पाइन्छ। के अफ्रिकन, के फिलिपिनो, के थाई, के बोलेभियन, के पेरूभियन, सबै किसिमको खाना पाइन्छ। अमेरिकामा संसारभरिकै खाना पाउनु सामाजिक सम्मिश्रण बलियो हुनुको प्रत्यक्ष उदाहरण हो।
    संसारभरिमा नै अमेरिकामा सर्वाधिक अन्तर्जातीय, अन्तर्सांस्कृतिक, अन्तर्धार्मिक विवाह हुने वा भएको देख्न सकिन्छ। एउटा महादेश (जस्तै एशियाको नेपाल) को युवक वा युवतीले अर्को महादेश (जस्तै दक्षिण अमेरिकाको कोलम्बिया) की युवती वा युवकसँग विवाह गरेको देख्न सकिन्छ। यसैगरी प्रवासीका रूपमा आएका विभिन्न देशका नागरिकले धेरै रैथाने अमेरिकनसँग विवाह गरेको देख्न सकिन्छ। त्यस्ता धेरै रैथाने अमेरिकनहरू देख्न सकिन्छ जसका पत्नीहरू भारतीय, नेपाली, पाकिस्तानी, थाई, फिलिपिनो, सिरियाली, इरानी, मेक्सिकन आदि छन्। यस्तै स्थिति रैथाने अमरिकीहरूका पतिको सन्दर्भमा पनि देख्न सकिन्छ।
    अमेरिका पूर्णतया जातिहीन समाज हो। अमेरिकामा जात, जाति भन्ने छैन। छूत, अछूत पनि छैन। सानो जात र ठूलो जात भन्नेपनि छैन। सबैको सामाजिक हैसियत समान छ। जातीयताको आधारमा कुनै किसिमको भेदभाव छैन। न त जातीय सङ्गठनहरू नै छन्। जातिहीन सामाजिक स्थितिले अमेरिकाको आर्थिक विकासमा ठूलो योगदान पुर्याएको छ। असल सामाजिक सन्तुलन कायम गर्न पनि ठूलो योगदान पुर्याएको छ।
    यस्ता धेरै कुरा छन्, जसले अमरिकालाई संसारका धनी राष्ट्र तुल्याउन महत्वपूर्ण योगदान पुर्याएका छन्। अमेरिका त्यस्ता देशमध्ये पर्दछ जहाँ धर्म मान्न र नमान्न स्वतन्त्रता छ। कुनै खास किसिमको धर्म मान्न अमेरकी कानूनी व्यवस्थाले कुनै पनि अमेरिकीलाई बाध्य पार्दैन। कुनै व्यक्तिले भन्छ म कुनै पनि धर्म मान्दिनँ भने उसको त्यस किसिमको त्यो अधिकारको अमेरिकी कानूनी व्यवस्थाले रक्षा गर्दछ। जबकि संसारमा त्यस्ता धेरै राष्ट्रहरू छन् जसले आफ्ना नागरिकहरूलाई खास किसिमको धर्म मान्न राज्यको कानूनद्वारा नै बाध्य पार्छन्। एशियालगायत अरबका त्यस्ता धेरै राष्ट्रहरू छन् जसको आफ्नो एउटा र खास राष्ट्रिय धर्म छ।
    कुनैपनि मुलुक त्यहाँ उपलब्ध अनेक प्राकृतिक साधनभूमि, जलवायु, खानी आदिले धनी हुने होइन रहेछ। त्यस्तो भइदिएको भए दक्षिण अफ्रिका संसारभरिमा सबैभन्दा बढी धनी राष्ट्र हुने थियो। दक्षिण अफ्रिकाले संसार भरिमा सर्वाधिक (सन् २००६ सम्म) सुन उत्पादन गर्छ। यसैगरी भेनेजुएलापनि संसारभरिमा नै धनी राष्ट्र हुने थियो किनभने भेनेजुएलामा संसारभरिमा सर्वाधिक ठूलो तेल भण्डार छ। भेनेजुएलाले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ उत्पादन एवं निर्यात गर्छ। तर भेनेजुएलाको गरिबी र गृह कलह विश्वभरि अहिले चिन्ता र चर्चाको विषय हुन पुगेको छ। गृह कलह र गरिबीले गर्दा ज्यान जोगाउने उद्देश्यले अहिले ३० लाख भनेजुएलाका नागरिकले देश छाडेका छन्। भनेजुएलामा महँगीले अहिले आकाश छोएको छ। त्यहाँ जीवन अति नै असुरक्षित र कष्टकर हुन पुगेको छ।
    नयाँ खोज र अनुसन्धानहरूले भन्छ कुनै पनि देशलाई त्यहाँका नागरिकको सकारात्मक चेतनाको स्तरले धनी तुल्याउँछ, धन, सम्पत्ति, रुपियाँपैसाले होइन। एक आपसमा मिलेर बस्ने स्वभाव, विकासप्रतिको चाहना, सामाजिक सम्मिश्रण, स्वतन्त्रता, शिक्षाको स्तर, जातिहीन भावना आदिले कुनैपनि राष्ट्रलाई धनी तुल्याउन महत्वपूर्ण भूमिका खेल्दो रहेछ। अमेरिकामा ती कुराहरू विद्यमान छन्।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 08, 2019

Friday, February 1, 2019

Special Characteristics of American Economy-Hardworking-233

अेमरिकी अर्थ व्यवस्थाका विशेषता

१४. कठोर परिश्रम

    अमेरिकीहरू औसत व्यक्तिभन्दा बढी र कडा परिश्रम गर्छन्। फरक यति मात्र के छ भने अमेरिकामा श्रम गर्दा कोरा श्रमको प्रयोग विरलै हुन्छ। लगभग प्रत्येक कार्य गर्दा मेशिन, औजार वा उपकारणको प्रयोग गरिन्छ। तर पनि ती मेसीन वा औजारको प्रयोग गर्न मानवीय श्रमको प्रत्यक्ष प्रयोग हुन्छ। मेशिन र उपकरणहरूको प्रयोग मानवीय श्रमले गर्ने हुँदा व्यक्तिले कार्य गर्नु  अनिवार्य हुन आउँछ।
    अमेरिकामा राजाको काम कहिले जाला घामभन्ने भावना कार्यस्थलमा देख्न पाइँदैन। प्रत्येक व्यक्तिमा सुम्पिएको कार्य गर्नुपर्छ भन्ने भावना बलियोगरी कायम रहेको पाइन्छ। सुम्पिएको काम विनाकुनै निरीक्षण वा उत्प्रेरण सम्पन्न गर्नु अमेरिकी कार्य जीवनको महत्वपूर्ण विशेषता नै हो। सुम्पिएको कार्य, जसको निम्ति भुक्तानी प्राप्त हुन्छ, इमानदारीपूर्वक गर्नुपर्छ भन्ने बलियो संस्कार अमेरिकीहरूमा विकसित भएको छ। यो भावना सरकारी एवं निजी दुवै क्षेत्रको काममा देख्न सकिन्छ।
    अमेरिकामा एक खास किसिमको सुविधा देख्न पाइन्छ र त्यो हो ड्राइभ थ्रु। अर्थात् गाडीमा चढेर नै सामान खरिद गर्न पाइने सुविधा। यो सुविधाको बढी प्रयोग रेस्टुरामा भएको पाइन्छ। मानिस गाडीमा चढेको अवस्थामा खाद्य सामग्री अर्डरगर्छन्। गाडीमा चढेको अवस्थमा नै भुक्तानी गर्छन्। र गाडीमा चढेको अवस्थामा नै खाद्य सामग्री प्राप्त गर्छन्। गाडीमा रहेको अवस्थामा नै खाद्य सामग्री खाएर काममा जान्छन्। वा भनौ गाडीमा बसेर नै खान्छन् । अर्थात् काममा यति व्यस्त हुन्छन् कि गाडीमा बसेर खानुपर्ने स्थिति उत्पन्न हुन्छ। अर्थात् कामले मानिसलाई यतिसम्म व्यस्त पारेको हुन्छ।
    अमेरिकामा एक अर्को प्रचलन पनि निकै रोचक छ। त्यो प्रचलन होखाने कुरा लगभग जहाँ पनि खान पाइन्छ। निर्धारित स्थान, घर वा रेस्टुरामा नै खानुपर्छ भन्ने छैन। पुस्तकालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूले पुस्तकालयमा, बसको लागि पर्खिरहेका यात्रुहरूले बस स्टेन्डमा, हवाइयात्राका लागि विमानस्थलमा पर्खिरहेका हवाइ यात्रीहरूले विमानस्थलमा, कुनै सभा सम्मेलनमा भाग लिन उपस्थित भएकाहरूले सम्मेलनस्थलमा, बाटो हिंडिरहेका यात्रुले बाटोमा नै खाएको देख्न सकिन्छ। वा त्यस किसिमबाट खाने चलन छ। अर्थात् काम गर्नु र खानु, यी दुई कार्य जीवनका महत्वपूर्ण कार्य हुन् भन्ने विश्वासले अमेरिकी समाजमा बलियोगरी जरा गाडेको पाइन्छ। काम गर्न र खान लाज मान्नुहुँदैन भन्ने एक किसिमको प्रचलन छ।
    काम गर्दा केवल त्यो तोकिएको काम मात्र गर्ने प्रचलन पनि अमेरिकी कार्य जीवनको एक महत्वपूर्ण विशेषता हो। काम गर्दा अन्य कुरामा अलमल गर्ने वा कामलाई कम महत्व दिने गरिएको पाइँदैन। तोकिएको कार्य गरिरहेको समयमा त्यही प्रमुख कार्य हो भन्ने मान्यताका साथ प्रत्येकले कार्य गरेको पाइन्छ। गरिरहेको काममा नै केन्द्रित हुने अमेरिकी कार्य जीवनको एक प्रमुख विशेषता नै हो। उदाहरणका लागि कुनै एक बिक्रेताले कुनै एक ग्राहकलाई सेवा पुर्याइरहेको छ भने अर्को ग्राहकले उक्त बिक्रेतालाई स्वतन्त्र किसिमले कार्य गर्न दिन्छ। कुनै किसिमको प्रश्न गरेर बिक्रेताको काममा कुनै बाधा उत्पन्न गर्दैन। कसैलाई पनि स्वतन्त्र किसिमले जिम्मेवारी निर्वाह गर्न दिनुपर्छ भन्ने मान्यताले काम गरेको पाइन्छ।
    कामप्रति कुनै किसिमको भेदभावपूर्ण दृष्टिकोण नराख्नु, यो सानो काम र यो ठूलो काम नभन्नु, सानो भनिएको कार्य गर्नेलाई कम र ठूलो भनिएको काम गर्नेलाई बढी सम्मान दिने प्रचलन पनि अमेरिकी कार्य जीवनमा देख्न पाइँदैन। सबै किसिमको कामप्रति समानको किसिमको इज्जत भाव राखिने हुनाले मानिस जस्तो किसिमको काम गर्न पनि सदा तत्पर रहन्छन्। यो काम ठूलो र यो काम सानो भनेर कामको वर्गीकरण गरिंदैन।
    अमेरिकामा सुन, चाँदी वा बहुमूल्य धातुहरूको भण्डार भएको, जताततै कृषियोग्य भूमि भएको, अन्य प्राकृतिक स्रोतहरू अपार भएको हुनाले नै अमेरिका अति समृद्ध राष्ट्र हुन पुगेको र विश्वमा नै एक नम्बर धनी राष्ट्र हुन पुगेको हो भन्ने भ्रम धेरै व्यक्तिमा हुन सक्छ। यो भ्रम कसैमा छ भने त्यो त्यागिदिए हुन्छ। अमेरिकालाई प्राकृतिक स्रोतहरूले होइन, अमेरिकीहरूको कठोर परिश्रमले धनी तुल्याएका हुन्। कठोर परिश्रम प्रयोग गरेर अमेरिकीहरूले चीसोभन्दा चीसो ठाउँलाई पनि कृषिको लागि उपयुक्त तुल्याएका छन्। कडा परिश्रम गरेर विषम परिस्थितिलाई सम तुल्याएका छन्। कठोर परिश्रम गरेर अमेरिकीहरूले प्रकृतिमा नियन्त्रण कायम गरेका छन्। कडा परिश्रमद्वारा नै अमेरिकीहरूले कृषिको क्षेत्रमा ठूलो उपलब्धि प्राप्त गरेका छन्। कठोर परिश्रमको कारणले गर्दा नै अमेरिका केही कृषि वस्तु उत्पादन गर्नमा विश्वमा नै अग्रणी स्थानमा छ। र जनतालाई सस्तोमा खाद्यान्न उपलब्ध गराउन सक्षम भएको छ। विश्वभरिमा कहींभन्दा पनि अमेरिकामा खाद्य सामग्री सस्तो पाइन्छ। यसले गर्दा अमेरिकीहरूको आम्दानीको ठूलो भाग केवल जीवन निर्वाहमा नै खर्च गर्नुपर्दैन।
    अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ एक डलरले पनि एक छाक पुग्ने खाद्य पदार्थ खरिद गर्न सकिन्छ। अमेरिका मुद्राको विनियम क्षमता ज्यादै बलियो छ भन्ने कुराको यो बलियो प्रमाण हो। अमरिकाले यो स्थिति कृषि क्षेत्रमा गरेको ठूलो चमत्कारले प्राप्त गरेको हो। दक्षिण एशियाली राष्ट्रहरूमा त्यहाँको मुद्राको सबैभन्दा सानो एकाइले एक छाक पुग्न सक्ने खाद्य सामग्री खरिद गर्न सकिएला?
    विश्वको एक नम्बर धनी राष्ट्रको नागरिक भएरपनि अमेरिकीहरू अन्य विकसित मुलुकका नागरिकभन्दा बढी समय काम गरेको अनुसन्धानले देखाएको छ। जर्मनहरू विश्वमा नै कम समय काम गर्छन्। वर्षमा औसत जर्मनले १ हजार ३ सय ६३ घण्टा काम गर्छ। डेनमार्कका नागरिकहरू वर्षमा १ हजार ४ सय १० घण्टा काम गर्छन्। यसैगरी नर्वे, निदरल्यान्ड्स, फ्रान्स, लक्जेम्बर्ग, बेल्जिियम, स्वीटजरल्यान्ड र अस्ट्रियाका नागरिक वर्षभरिमा क्रमशः १४२१, १४३०, १४७२, १५१२, १५५१, १५९० र १६०१ घण्टा काम गर्छन्। तर अमेरिकीहरू वर्षभरिमा औसत १७८३ घण्टा काम गर्छन्। बढी समय र कठोर परिश्रमसहित काम गर्ने हुनाले नै अमेरिकामा विभिन्न नयाँ वस्तु एवं सेवाको आविष्कार सम्भव भएको हो। परिश्रमी संस्कारले नै नयाँनयाँ किसिमका वस्तु एवं सेवाको अविष्कार गर्न अमेरिकीहरूलाई अभिप्रेरित गरेको हो।
    एक अर्को अमेरिकी संस्कृति पनि उल्लेखनीय छ। जीवनमा परिआउने सम्पूर्ण काम आफैंले गर्न सम्भव नभए पनि जीवनमा परिआउने धैरैजसो काम आफैंले गर्नुपर्छ भन्ने भाव आम अमेरिकीहरूमा रहेको देख्न सकिन्छ। अर्थात परनिर्भर होइन, स्वावलम्बी भएर बाँच्न अमेरिकीहरूलाई सामाजिक संस्कारले नै सिकाउँछ। यी कारणले गर्दा नै युवक वा युवती एक निश्चित उमेरमा पुगेपछि (१६२२ माथि उमेरको भए पछि) बाबुआमाको परिवारबाट बाहिर जान्छन् र स्वतन्त्र भएर बस्न आरम्भ गर्छन्। आफ्नो जीवनयापनका लागि आफैंले आम्दानी गर्छन्। बाबु आमाको आम्दानीमा भर पर्दैनन्। यसरी कलिलो उमेरदेखि नै काममा संलग्न भइसकेका हुन्छन्। बाँच्नका लागि काम कति महत्वपूर्ण हुन्छ भन्ने यथार्थ बोध गरिसकेका हुन्छन्। कलिलो उमेरदेखि नै कामप्रति समर्पित हुने गरेकाले अमेरिकीहरूले कामको महत्व बढी हुन्छ भन्ने कटु सत्य बुझिसकेका हुन्छन्।
    यसरी के देखिन्छ भने नागरिकहरूमा कठोर परिश्रम गर्नुपर्छ भन्ने भावले नै अमेरिकालाई विश्वमा एक नम्बर धनी राष्ट्र तुल्याएको हो। काम आफ्नो लागि गरिएको होस वा अरूको लागि, उक्त काम इमानदारीपूर्वक र पूरा समय गर्नुपर्छ भन्ने भावनाले अमेरिकीहरूलाई समृद्ध तुल्याएको हो। कोरा कल्पनाले होइन। हरेक कामप्रतिे समान दृष्टिकोण र सबै कामलाई उत्तिकै मर्यादा दिने अमेरिकी संस्कृतिले पनि अमेरिकालाई धनी र शक्तिशाली राष्ट्र तुल्याएको हो।
    अर्थशास्त्रका ठूलाठूला सिद्धान्तहरूले मात्र होइन, दुई सक्रिय हातहरूका योगदानले अमरिकालाई धनी तुल्याएको हो।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, February 1, 2019