Wikipedia

Search results

Friday, August 7, 2026

Hiking Inflation in Nepal-Article-641

 महँगीले थिचिएको गरीब जनता

नेपालमा महँगी अहिले कुन स्तरमा छ भन्न सकिने स्थिति छैन। सरकारी तथ्याङ्क अनुसार अहिले महँगी वा मुद्रा स्फीति ५ देखि ७ प्रतिशतको बीच रहेको छ। स्वतन्त्र अनुमानले भन्छ अहिले नेपालमा मुद्रास्फीति १० देखि १५ प्रतिशतको बीच रहेको छ। नेपालको आर्थिक स्थिति अहिले अति जर्जर स्थितिमा छ। विप्रेषण नआउने हो भने लाखौं परिवारले खान नपाउने स्थिति छ। सङ्क्षिप्तमा भन्ने हो भने देशको अर्थ व्यवस्था अहिले विप्रेषणमा आधारित हुन पुगेको छ। अन्तर्राष्ट्रिय श्रम बजारबाट नेपालीहरूले आर्जन गरेर नपठाउने हो भने सरकार चलाउनसमेत कठिन हुने स्थिति छ। यो ज्यादै दुःखद स्थिति हो। देशको अर्थतन्त्र अन्तर्राष्ट्रिय श्रम बजारमा आश्रित हुनु चिन्ताको विषय हो। देशको अर्थ व्यवस्था विप्रेषणमा अति निर्भर हुँदै गएकोले पनि नेपालमा महँगी आकाशिएको हो। देशको उत्पादन व्यवस्था कमजोर भएर नेपालमा महँगी आकाशिएको हो।

महँगी मापन गर्ने केही माध्यमबारे चर्चा गरौं। महँगी मापन गर्ने सबैभन्दा सजिलो तरीका हो मुद्राको क्रयशक्ति मापन गर्नु। अर्थात् बजारमा रहेका नोटहरूको क्रयशक्ति मापन गर्नु। नेपाली बजारबाट रु १ र २ को नोट उहिले हराइसके। यी नोटहरू प्रचलनमा छैनन्। यी नोटहरूको क्रयशक्ति नरहेको अर्थात् रु १ र २ बाट कुनै पनि वस्तु खरीद गर्न नसकिने स्थिति रहेको हुनाले यी नोटहरू प्रचलनबाट हराएका हुन्। रु १ र २ को विनिमय क्षमता नहुनुको अर्थ महँगी बढ्नु हो। सानासाना नोटहरूले आफ्नो विनिमय क्षमता गुमाउनु हो।

बजारमा रहेका रु ५, १० र २० का नोटहरूको पनि आफ्नो स्वतन्त्र तथा बलियो विनिमय क्षमता छैन। रु ५ मा घरेलु प्रयोजनका कुनै पनि वस्तु खरीद गर्न सकिने स्थिति छैन। रु १० को नोटको पनि यस्तै स्थिति छ। रु २० को नोटको स्थिति भने ५ र १० को नोटभन्दा केही राम्रो छ। तर यो नोटको स्वतन्त्र तथा बलियो क्रयशक्ति छैन। रु ५०, १००, ५०० र १००० को नोटको भने बलियो क्रयशक्ति छ तर रु ५०, १०० र ५०० को नोटको क्रयशक्ति जति बलियो हुनुपर्ने हो त्यति छैन। रु ५०० मा एउटा पैन्ट वा सर्ट पाउन सकिने स्थिति छैन। अहिले बजारमा बलियो क्रयशक्ति भएको कुनै नोट छ भने त्यो रु १००० को नोट हो। रु १००० को नोटको क्रयशक्ति बलियो भएकोले प्रचलनमा यो नोट बढी देखिन्छ। तर यो नोटको क्रयशक्ति ज्यादै बलियो भएको हुनाले प्रचलनमा कम देखिनुपर्ने हो, रु ५०० र १०० को नोट बढी देखिनुपर्ने हो, त्यस्तो भने हुन सकेको छैन। बजारमा केवल रु १००० को नोटको मात्र बलियो क्रयशक्ति हुनु अर्थतन्त्रको लागि सुखद कुरा होइन। 

सानासाना (रु १, , , २०) नोटको क्रयशक्ति क्षीण हुँदै जानु र ठूला–ठूला (रु ५०, १००, ५००, १०००) नोटको मात्र क्रयशक्ति बलियो हुनु राम्रो स्थिति होइन। सानासाना नोटहरूको क्रयशक्ति कम हुनु भनेको गरीब परिवारको आर्थिक जीवन कष्टकर हुनु हो। दैनिक उपभोगका अनेक सामग्री बजारबाट खरीद गर्न उनीहरूलाई कठिन हुनु हो।

मुख्यतः मागको तुलनामा उत्पादन कम भएमा वा मुद्राको आपूर्ति बढी भएमा मुद्रास्फीतिको अवस्था उत्पन्न हुने गर्दछ। मुद्रास्फीति उत्पन्न हुने अनेक कारण हुन सक्छ। वर्तमानमा, नेपालमा मुद्रास्फीति वा महँगी, कम उत्पादनको कारण भएको हो। नेपालमा अहिले उत्पादन ज्यादै कम भइरहेको छ। औद्योगिक वस्तुको उत्पादन शून्य बराबर छ। देश आयातमुखी हुन पुगेको छ। राष्ट्रलाई आवश्यक पर्ने वस्तुहरूमध्ये लगभग ९० प्रतिशत वस्तु आयात गर्नुपर्ने अवस्था छ। नेपाल अहिले चीन र भारतको भरपर्दो बजार हुन पुगेको छ। यी मुलुकबाट अहिले ठूलो सङ्ख्या र परिमाणमा वस्तुहरू आयात हुने गरेको सहजै देख्न सकिन्छ।

अनुमान गरिए अनुसार अहिले करीब १ करोड नेपाली स्वदेश बाहिर छन्, विदेशमा छन्। संसारका अनेकौं राष्ट्रमा काम गरिरहेका छन्। नेपालीहरूको श्रम र सीपको सदुपयोग राष्ट्रभित्र हुन सकेको छैन। पहाड र तराईका जमीन, जुन कृषियोग्य छ, उपयोग हुन सकेको छैन। तराईका केही जमीन तरकारी एवं फलफूल खेतीका लागि उपयोग भए पनि पहाडका उब्जाउ जमीन पनि लाभदायक किसिमले उपयोग हुन सकेको छैन। नेपाली श्रम र सीपको उपयोग नेपालमा हुन सकेको छैन। यदि नेपाली श्रम र सीपको उपयोग नेपालमा ठूलो मात्रामा हुने हो, नेपालमा उपलब्ध कृषियोग्य जमीनको यथेष्ट उपयोग हुने हो र हाम्रो अर्थनीति उत्पादनमुखी हुने हो भने नेपालभित्र ठूलो मात्रामा अनेकौं वस्तु उत्पादन गर्न सकिन्छ। माग अनुसार आपूर्ति गरेर महँगी नियन्त्रण गर्न सकिन्छ। मुद्रास्फीतिमाथि नियन्त्रण कायम गर्न सकिन्छ।

अहिले हाम्रो अर्थतन्त्रको लागि कुनै ठूलो चुनौतीको विषय छ भने त्यो हो ‘कसरी उत्पादन वृद्धि गर्ने?’ राष्ट्रिय उत्पादन वृद्धि गर्नु नै हाम्रो लागि अहिले सर्वाधिक महत्त्वपूर्ण कुरा हो। हाम्रो अर्थनीति यसै चुनौतीको वरिपरि घुम्नुपर्दछ। उत्पादनमा व्यापक वृद्धि गरेर मात्र हामीले बढ्दो महँगी रोक्न सक्छौं। हामीले सियोदेखि मोटरसम्म नेपालभित्रै उत्पादन गर्ने लक्ष्य राख्नुपर्छ। सर्वप्रथम हामी उत्पादनमा आत्मनिर्भर हुनुपर्दछ। उत्पादनमा आत्मनिर्भर हुने दीर्घकालीन योजना तयार पार्नुपर्दछ। लागत र प्रविधिको हिसाबले असम्भव हुनेबाहेक हरेक वस्तु नेपालभित्रै उत्पादन गर्ने हाम्रो लक्ष्य हुनुपर्दछ।

हाम्रो अर्थतन्त्र आयातमुखी भएको दशकौं भयो। अब हामीले यो स्थितिको अन्त्य गर्नुपर्छ। विदेशमा रहेका नेपालीहरूको सीप र श्रम नेपालमै उपयोग हुने वातावरण तयार पार्नुपर्दछ। 

नेपालको अर्थतन्त्रको लागि सर्वाधिक ठूलो समस्या भनेको नेपालको राजनीति हो। नेताहरूको सत्तालोलुप चरित्र हो। हाम्रा नेताहरू सत्ताका लागि पानी नहुँदा माछा छटपटिएझैं छटपटिने गर्दछन्। सत्ताको र स्वार्थका लागि कुनै पनि बेला फुट्ने र कुनै पनि बेला जुट्ने नेताहरूको अति स्वार्थी चरित्रले गर्दा राष्ट्रले तीव्र गतिमा आर्थिक विकास गर्न सकिरहेको छैन। आर्थिक विकास हुनका लागि देशमा शान्ति चाहिन्छ। स्थिर सरकार चाहिन्छ। यी दुई स्थितिले मात्र देशमा आर्थिक विकासको वातावरण सृजना हुन्छ। तर स्वार्थी र सत्तालोलुप नेताहरूले नेपालमा न कहिले शान्ति हुन दिन्छन्, न सरकारलाई स्थिर भएर काम गर्न दिन्छन्।

हामी के बुझ्न ढिलो गर्नुहुँदैन भने नेताहरूको स्वार्थी र सत्तालोलुप चरित्रले गर्दा नेपालको राजनीति स्थिर हुन सकिरहेको छैन। नेपालको राजनीति स्थिर हुन नसकेकोले द्रुततर गतिमा आर्थिक विकास हुन सकिरहेको छैन। द्रुततर गतिमा आर्थिक विकास हुन नसकेकोले देशमा रोजगारको क्षेत्र विस्तार हुन सकिरहेको छैन। देशभित्र पर्याप्त मात्रामा रोजगारको अवसर नभएकोले हामी जीवन निर्वाहका लागि विदेशिन बाध्य छौं। रोजगारका लागि विदेशिन बाध्य छौं।

नेपालमा महँगी बेपत्ता वृद्धि हुनु पनि राजनीतिक अस्थिरताले गर्दा हो। नेपालको राजनीति स्थिर हुने हो भने अवश्य पनि महँगी नियन्त्रण गर्न सकिन्छ। महँगीले थिचिएको जनतालाई त्राण दिनका लागि राजनीति स्थिर हुन आवश्यक छ। सरकारले स्थिरता पाउन आवश्यक छ। जुनसुकै दलको सरकार होस्, त्यसले आफ्नो कार्यकाल पूरा गर्न पाउनुपर्दछ।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, August 7, 2026

 https://www.eprateekdaily.com/detail/100098

No comments:

Post a Comment