Wikipedia

Search results

Saturday, August 15, 2026

Problems in International Labor Market: 642

 अन्तर्राष्ट्रिय श्रम बजारको पीडा

अन्तर्राष्ट्रिय श्रम बजारमा, २०४७ सालको राजनीतिक परिवर्तनपछि, नेपालीहरूको पहुँच सुगम भएको हो। २०४७ सालपछि बनेका सरकारहरूले लचिलो श्रम नीति ल्याएपछि, नेपाली युवाहरूलाई संसारका अनेकौं राष्ट्रमा कामका लागि जान सजिलो भएपछि, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरूको पहुँच अति सरल भएको हो। २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपाली युवाहरू ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय श्रम बजारमा पुग्न थाले। विदेशमा रोजगारको सुनिश्चितता र नेपालको तुलनामा राम्रो आय–आर्जन हुने स्थितिले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय श्रम बजारले निकै आकर्षित गर्यो। परिणामस्वरूप, कतार, साउदी अरेबिया, मलेशिया, संयुक्त अरब इमिरेट्स, कुवेत, बहरेन जस्ता नेपालनजीक रहेका राष्ट्रहरूमा ठूलो सङ्ख्यामा नेपाली युवाहरू रोजगारका लागि पुगे।

तर भरपर्दो जानकारीको अभाव, विदेशमा रोजगार पाउन सजिलो हुन्छ भन्ने हल्ला, तलब र सुविधाहरू आकर्षक हुन्छ भन्ने झूठो प्रचारजस्ता क्रियाकलापहरूले गर्दा नेपाली युवाहरू पूर्वी युरोपका गरीब देशहरूमा पनि पुगे। पुगेका देशहरूमा काम नपाएर महीनौं अलपत्र भएर बसे। मानव तस्करहरूले दिएको झूठो जानकारीको मूल्याङ्कन–विश्लेषण नगरी संसारका अनेक देशमा पुगेका नेपाली युवाहरूले ठूलो कष्ट पाए, ठूलो आर्थिक क्षति पनि बेहोरे। वर्षौंको द्वन्द्वले थला परेको देश–सिरिया, इराकसम्म पनि मानव तस्करहरूले नेपाली युवाहरूलाई रोजगारका लागि पुर्याए।

राम्रो आम्दानी भए तापनि, सुरक्षा व्यवस्था भरपर्दो भए तापनि, हमास वा हिजबुल्लाले कुन बेला, कहाँ र कुन अवस्थामा आक्रमण गर्ने हो भनी अनुमान समेत गर्न नसकिने उच्च जोखिमयुक्त स्थिति भएको देश इजराइलमा समेत रोजगारका लागि नेपाली युवाहरू पुगे, पुर्याइए। सन् २०२३ को अक्टोबर महीनाको ७ तारिखमा हमासले इजराइलको एक सार्वजनिक स्थलमा आक्रमण गर्दा १० जना नेपालीको ज्यान गयो। जबकि नेपालीहरूलाई इजराइल र इरानबीच दुश्मनीसँग कुनै लिनुदिनु थिएन। केवल रोजगारका लागि, सुरक्षित आर्थिक जीवनका लागि ठूलो सपना बोकेर नेपाली युवाहरू इजराइल पुगेका थिए। इजराइल पुग्नु मात्र हमासको शत्रु हुनु थियो। हमासका लडाकूहरूले नेपाली युवालगायत सयौं व्यक्तिको बर्बरतापूर्ण हत्या गरे।

इजराइल यस्तो देशको जुन चारैतिरबाट शत्रु राष्ट्र (लेबेनान, सिरिया, इरान, जोर्डन)हरूबाट घेरिएको छ। इरानले इजराइलको अस्तित्व नै स्वीकार गर्दैन। इजराइललाई राष्ट्र नै मान्दैन। इजराइलजस्तो अति जोखिमयुक्त राष्ट्र जान पनि नेपालीहरूले छाडेका छैनन्। यो क्रम अहिले पनि जारी छ। 

लिबिया, इराकका अनेक डान्सबारहरूमा नेपाली युवतीहरू अति असुरक्षित अवस्थामा कार्यरत रहेको सुनिएको छ। मानव तस्करहरूले केवल आफ्नो फाइदाका लागि नेपाली युवाहरूलाई नर्कमा पुर्याउनसमेत बाँकी राखेका छैनन्।

सन् २००४ मा अलकाइदाका लडाकूहरूले कामका लागि इराक पुगेका १२ नेपालीहरूको सार्वजनिक स्थलमा टाउको काटेर बीभत्स हत्या गरेका थिए। त्यसरी हत्या हुनुपर्ने गरी नेपालीहरूले कुनै कसूर गरेका थिएनन्। न अलकाइदाको विरोधमा कुनै कार्य गरेका थिए। कसूर थियो भने, नेपालीहरू रोजगारका लागि, उज्ज्वल भविष्यका लागि इराक पुगेका थिए।

मानव तस्कहरूको जालमा परेर, मेक्सिकोको सीमा हुँदै संयुक्त राज्य अमेरिकामा गैरकानूनीरूपमा प्रवेश गर्ने उद्देश्य बोकेर हिंडेका नेपाली युवाहरूले अमेरिकाको सीमामा पुग्नुपूर्व नै, बाटामा पर्ने अनेक देशमा हराएर, खान नपाएर, उच्च जोखिमयुक्त यात्रा गर्दा, कुन सङ्ख्यामा ज्यान गुमाए नेपाल सरकारसँग पनि सही तथ्याङ्क छैन। सुनिए अनुसार मानव तस्करहरूले एकजनासँग बढीमा रु एक करोडसम्म लिएका हुन्छन् र नेपाली युवाहरूसँग उनीहरू सजिलै अमेरिका प्रवेश गर्न सक्ने वाचा गरेका हुन्छन्। यात्रा सुगम हुने भनी विश्वस्त पारेका हुन्छन्। र अमेरिकामा सजिलै जागीर पाउने कबुल गरेका हुन्छन्। तर यथार्थमा त्यस्तो छैन। गैरकानूनीरूपमा अमेरिका पस्न सजिलो छैन। अमेरिकी सिमानामा सुरक्षा व्यवस्था अति कडा हुन्छ। अर्कोतिर अमेरिकामा गैरकानूनी आप्रवासीहरूले काम पाउन ज्यादै कठिन छ। गैरकानूनी आप्रवासीले काम गरेको पाइएमा, अमेरिकी सरकारले त्यस्ता कामदारलाई ‘डिपोर्ट’ गर्न सक्छ।

बहरेन, कुवेत, साउदी अरेबिया, कतारजस्ता जलवायु अति गर्मी रहने देशहरूमा पनि नेपालीहरूको लागि काम गर्न सजिलो छैन। एसी जडान भएको भवनभित्र रहेर काम गर्न सजिलो हुन सक्छ। जस्तै भण्डार, विमानस्थल, होटल, रेस्टुरेन्ट आदिमा काम गर्न सजिलो हुन सक्छ। तर खुला स्थान, कृषि फार्महरूमा काम गर्न अति कठिन हुन्छ। त्यस्ता स्थानहरूमा अति गर्मी हुन्छ। नेपालको तराईका केही स्थानबाहेक नेपालभरि नै अति गर्मी हुँदैन। हिमाली भागहरूमा त सदा चीसो नै हुन्छ। पहाडी भागहरूमा पनि अति गर्मी कहिले हुँदैन। जलवायु अनुकूल रहेको स्थानबाट गएका नेपाली युवाहरूलाई खाडीका गर्मी देशहरूमा काम गर्न अति नै कठिन हुन्छ। यो कठिनाइ त्यहाँ पुगेर, भोगेर आएकाहरूलाई थाहा हुन्छ तर खाडी देशमा पुग्ने सपना बोकेकाहरूलाई थाहा हुँदैन।

नेपालभित्र अन्तर्राष्ट्रिय श्रम बजारलाई जति सजिलो र लाभदायक भनेर प्रचार गरिएको छ। यथार्थमा त्यस्तो छैन। अन्तर्राष्ट्रिय श्रम बजार अनेक पीडाले भरिएको छ। रोजगारका लागि संसारका अनेक भागमा पुगेका नेपाली युवाहरूले मनोवैज्ञानिक र सामाजिक पीडा पनि उत्तिकै भोगिरहेका हुन्छन्। 

आफ्नो देश, आफ्नो परिवेश छाडेर परदेशमा काम गर्न कसैलाई पनि मन लाग्दैन। बाध्यतामा परेर मात्र त्यस्तो स्थितिमा काम गरिने हो। सबैलाई स्वदेशमा नै बसेर काम गर्न मन लाग्छ। वैदेशिक रोजगारको सामाजिक पक्ष पनि चिन्ताजनक छ। अहिले नेपालमा, परदेशमा रहेका पति वा पत्नी र स्वदेशमा रहेका पत्नी वा पतिबीच सम्बन्ध कतिपय परिवारमा सन्तुलित देखिएको छैन। वैदेशिक रोजगारले पति एवं पत्नीबीच सम्बन्धमा अविश्वास थपिदिएको छ। सङ्कट उत्पन्न गरिदिएको छ।

हाम्रो देश आर्थिक विकासमा परिपक्व नभएर विकासोन्मुख रहेकोले यहाँ विकासका अनेक सम्भावना छन्। नेपालमा अनेकौं उद्योग स्थापना गरेर राम्रो आय–आर्जन गर्न सक्ने स्थिति छ। नेपालले व्यापारबाट पनि राम्रो आर्जन गर्न सक्छ। नेपालको पहाडी भूभागलाई कृषि र पर्यटन, दुवै क्षेत्रमा उपयोग गर्न सकिन्छ। देशमा पर्याप्त पूँजी छ। प्रविधिमा हामी पछाडि छैनौं। हाम्रा देशका प्राविधिक एवं विशेषज्ञहरूले विश्वका अनेकौं राष्ट्रमा ख्याति आर्जन गरेका छन्।

विकासका लागि चाहिने सबै पूर्वाधार हाम्रो देशमा उपलब्ध छन्। मात्र एउटा पूर्वाधार छैन र त्यो हो, नेताहरूमा राजनीतिक संस्कारको अभाव। मात्र त्यो पूर्वाधारको अभाव छ। नेताहरूमा राजनीतिक संस्कार नभएको अर्थात् नेताहरूमा अति नै शक्ति र सत्तालिप्सा भएकोले नेपालको राजनीति कहिले पनि स्थिर हुन सकिरहेको छैन। राजनीति स्थिर नभएकोले राष्ट्रले स्थिर सरकार पाउन सकिरहेको छैन। देश अस्थिर राजनीति र सरकारबाट सञ्चालित भएकोले मुलुकले द्रुततर गतिमा आर्थिक विकास गर्न सकिरहेको छैन। आर्थिक विकासको गति सुस्त भएकोले रोजगारका नयाँनयाँ अवसरहरू सृजना हुन सकिरहेका छैनन्। स्थिति यस्तो भएकोले नेपाली युवाहरू वैदेशिक रोजगारमा जान बाध्य छन्। अनेक भवितव्य वा अनेक दुर्घटनामा परेर बक्सामा बन्द भएर स्वदेश फर्किन बाध्य छन्।

नेताहरू! गम्भीरतापूर्वक सोच्नुहोस्। तपाईंहरू अति चतुर भएको हुनाले अनेक कुटिल नीति ल्याएर, गुट–फुट–जुट गर्न भ्याएर शक्ति र सत्तामा पुग्न सफल हुनुभएको छ। र भविष्यमा पनि सफल हुनुहोला। तर तपाईंका सन्तानहरू तपाईंहरू जति चतुर नहुन सक्छन्। तपाईंका सन्तानहरू चतुर नहुँदा अन्य चतुरहरूले उनीहरूलाई ठग्नेछन्। तर तपाईंहरूले स्वार्थी राजनीति परित्याग गरेर राम्रो राजनीतिक संस्कृतिको विकास गर्नु भएमा तपाईंका सोझा सन्तान मात्र होइन, कुनै पनि सोझा नेपालीलाई बाँच्न सजिलो हुनेछ। त्यस कारण, नेताहरू, कृपया असल राजनीति संस्कारको निर्माणमा लाग्नुहोस्। त्याग देखाउनुहोस्। केवल शक्ति र सत्तामा मात्र अर्जुनदृष्टि नराख्नुहोस्। 

नेताहरू! तपाईंहरूले फुटेर होइन जुटेर, लोभी होइन त्यागी भएर राजनीति गर्ने हो भने देशमा आर्थिक विकासका नयाँनयाँ ढोकाहरू खुल्नेछन्। आर्थिक विकासको गति तीव्र हुनेछ। देशमा पर्याप्त रोजगारका अवसर सृजना भएर बाध्यात्मक अवस्थामा रोजगारका लागि विदेश जानुपर्ने स्थिति अन्त्य हुनेछ।

सत्ता र शक्तिमा पुग्न होइन, असल राजनीतिक संस्कृति निर्माण गर्न जोड दिनुहोस्। यस्तो गर्नुभयो भने तपाईंहरूका नाति, पनातिनी, पनातिहरूले रोजगारको लागि विदेश जानुपर्ने बाध्यता बेहोर्नुपर्नेछैन।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, August 14, 2026

https://www.eprateekdaily.com/detail/100191 

No comments:

Post a Comment