Wikipedia

Search results

Saturday, August 22, 2026

Intellectual Capital and Its Importance-Article- 643

 बौद्धिक पूँजी र त्यसको महत्त्व

पूँजी दुई किसिमको हुन्छ– भौतिक र बौद्धिक। हुनत भौतिक पूँजी पनि बौद्धिक पूँजीको नै उपज हो, तर भौतिक पूँजी एक व्यक्तिबाट अर्कोमा सजिलै हस्तान्तरण हुन सक्छ, जबकि बौद्धिक पूँजी हुँदैन। भौतिक पूँजीलाई सजिलै एकबाट अर्कोमा हस्तान्तरण गर्न सकिन्छ जस्तो कि कुनै व्यक्तिले आफूसँग रहेको सम्पत्ति (नगद, जग्गा वा अन्य मुद्राद्वारा मूल्य तोकिएको वस्तु) आफ्नो सन्तानलाई वा अरूलाई दिनु। यसैगरी, सो व्यक्तिले अन्त कतै लगानी गर्नु। बौद्धिक पूँजी भने एक व्यक्तिबाट अर्कोमा हस्तान्तरण हुन सक्दैन। जोसँग बौद्धिक पूँजी (प्रतिस्पर्धात्मक रचनात्मक बौद्धिक क्षमता) छ, उसले मात्र आफ्नो त्यो क्षमताको प्रयोग गर्न सक्छ, अरूले सक्तैन। जस्तै व्यापारी, शिक्षक, चिकित्सक, वकील, वैज्ञानिक आदिहरूसँग रहेको बौद्धिक क्षमता उनीहरूको पूँजी हो र त्यो पूँजीको उपयोग गरेर उनीहरू फाइदा (प्रतिफल) प्राप्त गर्न सक्छन्। यहाँ चर्चा गर्न खोजिएको चाहिं व्यक्तिद्वारा प्रयोग गरिने बौद्धिक क्षमताको हो, बौद्धिक पूँजीको हो।

अहिलेको यो अति उन्नत सञ्चारको युगमा व्यक्तिहरूले आफ्नो बौद्धिक क्षमताको उपयोग गरेर करोडौं रुपियाँ कमाउन सक्छन्। अर्थात् अहिलेको यो युगमा ठूलो आर्जन गर्नका लागि व्यापार सञ्चालनको प्रारम्भिक अवस्थामा नै ठूलो लगानी गर्नुपर्ने बाध्यता छैन। अर्को शब्दमा भन्ने हो भने व्यक्तिहरूले ठूलो रकम लगानी नगरेर, बौद्धिक क्षमताको उपयोग गरेर, छोटो समयमा अरबौं रुपियाँ कमाउन सक्छन्। धन आर्जन गर्नका लागि पुख्र्यौलीदेखि प्राप्त बुबा–बाजेको सम्पत्ति प्रयोग गर्नुपर्दैन। त्यस कारण यो युग ज्ञान–युग हो, केवल पूँजी (भौतिक) युग होइन। यस तथ्यका उदाहरणहरू धेरै छन् । यहाँ भने न्युयोर्क राज्यमा जन्मेका, अमेरिकी नागरिक मार्क जुकर्बर्गको सफलतालाई यो ज्ञानको युगको भन्ने तथ्यसँग जोडेर, केवल ज्ञानको उपयोग गरेर मात्र पनि व्यक्ति आफ्नो जीवनमा, छोटो समयमा कसरी सफल (मुख्यगरी आर्थिकरूपमा) हुन सक्छ भन्ने उदाहरण दिन खोजिएको छ।

संसारको जुनसुकै कुनामा बस्ने व्यक्तिलाई पनि फेसबूकको लोकप्रियता र प्रयोगबारे अवश्य थाहा हुनुपर्छ। संसारभरि नै ज्यादै लोकप्रिय रहेको सामाजिक सञ्जाल फेसबूकको सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०१० मा ५०० मिलियन थियो र त्यो सङ्ख्यामा व्यापक वृद्धि भएर सन् २०१२ मा एक बिलियन हुन पुग्यो। अहिले (सन् २०२६ मा) फेसबूक प्रयोगकर्ताको सङ्ख्या ३.७ बिलियन (मासिक प्रयोगकर्ता) रहेको अनुमान गरिएको छ।

फेसबूकको प्रयोगकर्ताहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ। तस्वीर र सन्देश दुवैद्वारा विश्वको एक कुनामा रहेको व्यक्तिलाई विश्वको अर्को कुनामा रहेको व्यक्तिसँग सजिलै जोड्ने तथा प्रयोगकर्ताहरूलाई समाचार (प्रयोगकर्ताहरूसँग सम्बन्धित)लगायत मनोरञ्जनसमेत प्रदान गर्ने विशेषता फेसबूकले बोकेको हुनाले छोटो समयमा नै यो सामाजिक सञ्जाल ज्यादै लोकप्रिय हुन पुगेको छ, जुनसुकै उमेर समूहका व्यक्तिहरूमा पनि। सजिलै इन्टरनेट सुविधा प्राप्त गर्न नसक्ने व्यक्तिले पनि र दिनभरि बेफुर्सती रहने व्यक्तिले पनि, यसो एक छिन समय निकालेर फेसबूक हेर्छ नै। केहीको लागि त फेसबूक, दिनचर्या जस्तो भएको छ। तर पहिले कसैले सोचेको पनि थिएन होला, कुनै व्यक्तिले आफ्नो बौद्धिक क्षमता प्रयोग गरेर यस्तो (फेसबूक जस्तो) सशक्त सामाजिक सञ्जाल प्रयोगमा ल्याउनेछ र त्यसको प्रयोगकर्ता यति ठूलो सङ्ख्यामा हुनेछ। त्यो सामाजिक सञ्जालले संसारभरि छरिएर रहेका व्यक्तिहरूलाई जोडिरहेको छ। प्रयोगकर्ताहरूले पनि त्यसबाट निकै फाइदा उठाइरहेका छन्। र त्यो सामाजिक सञ्जालको विकासले चिठीपत्र, फोन आदिको व्यवसायलाई निकै प्रभावित गरेको छ। त्यही अति लोकप्रिय सामाजिक सञ्जाल फेसबूकका पाँच जन्मदाताहरूमध्ये एक हुन्– मार्क जुकर्बर्ग। कुनै बेला विद्यार्थी अवस्थामा डर्मिटोरी (छात्रावास) मा बस्ने जुकर्बर्ग, फेसबूकको विकास गरेर अहिले बिलेनियर भएका छन्, धनाढ्य भएका छन्। मार्क जुकर्बर्ग अहिले (सन् २०२६ मा) सर्वाधिक एक नम्बर धनी इलोन मस्कपछि पाँचौं धनी (२२६ बिलियन अमेरिकी डलर सम्पत्ति) भएका छन्।

साम्यवादीहरूले भने बौद्धिक पूँजीको बेवास्ता गर्छन् र पूँजीलाई केवल रुपियाँ–पैसा, धन–सम्पत्ति (जग्गा, घर, भौतिक वस्तु आदि)को रूपमा मात्र परिभाषित गर्छन्। पूँजीद्वारा श्रमको शोषण हुन्छ भन्ने यथार्थ स्थापना गरेर त्यसमाथि अटल विश्वास गर्छन्। पूँजीमाथि एकल वा केही व्यक्ति तथा निजी क्षेत्रको स्वामित्वको अन्त्य गरेर राज्यको स्वामित्व कायम गर्छन्, समूह वा राज्यको पूँजीको रूपमा त्यसलाई लिन्छन्। परिणामस्वरूप पूँजीको विकास हुन पाउँदैन, किनभने पूँजीको लगानीबाट हुने फाइदा कुनै खास तोकिएको समूह वा राज्यलाई जाने हुनाले कुनै एक व्यक्ति वा समूह आफ्नो बौद्धिक क्षमताको प्रयोग गरेर पूँजीको विकास गर्नपट्टि लाग्दैन, पूँजीको विकासप्रति पूर्णरूपमा उदासीन हुन पुग्छ। मानिस स्वभावले स्वार्थी प्राणी हो। र त्यो स्वार्थी प्रवृत्तिले गर्दा नै मान्छे भन्ने प्राणीको यति बढी विकास भएको हो। आफ्नो स्वार्थपूर्ति हुने नदेखेसम्म व्यक्ति कुनै काम गर्न अग्रसर हुँदैन। व्यक्तिको लगभग प्रत्येक क्रियाकलाप अर्थद्वारा निर्देशित हुन्छ। यस यथार्थको वामपन्थीहरू बेवास्ता गर्छन्। कठोर निमय र कानून लादेर, अनुशासनभित्र बस्न बाध्य पारेर, भौतिक सजायको डर देखाएर मान्छेलाई निस्स्वार्थी वा विवेकी बनाउन सकिन्छ भन्ने काल्पनिक मान्यतामाथि विश्वास गर्छन्। सम्पत्ति निजी नभएसम्म पूँजीको विकास हुन सक्तैन भन्ने तथ्यलाई बुझेर होला चीनले अहिले पूँजीमाथि राज्यको होइन, व्यक्ति (लगानीकर्ता वा व्यवसायी) को स्वामित्व कायम हुन दिएको छ। सरकारले गरेको यस किसिमको व्यवस्थाले गर्दा लगानीकर्ताहरूले आफ्नो क्षमता प्रयोग गरेर, लगानीद्वारा राम्रो प्रतिफल प्राप्त गर्दै, आफू र देशलाई समेत छोटो समयमा धनी बनाउन सफल भएका छन्। अहिले चीनले आफ्नो लगानी संसारभरि फिजाएको छ। पूँजीमाथि निजी क्षेत्रको स्वामित्व कायम हुन नदिएको भए, मुलुकको आर्थिक विकासमा बौद्धिक पूँजीको ठूलो महत्त्व हुन्छ भन्ने यथार्थ बोध नगरेको भए, चीनले यति चमत्कारी किसिमले आर्थिक प्रगति गर्थेन होला।

राष्ट्रिय अर्थतन्त्रको विकासमा पूँजीको महत्त्व सर्वाधिक हुन्छ भन्ने तथ्यलाई हृदयङ्गम गरेका वा पूँजीवादलाई राष्ट्रिय अर्थतन्त्रको निर्देशक सिद्धान्त मानेका मुलुकहरूले बौद्धिक पूँजीलाई अत्यधिक महत्त्व दिएका हुन्छन्। नियम कानूनको निर्माण बौद्धिक पूँजीको विकास र विस्तार सजिलै किसिमले होस् भन्ने किसिमबाट गरेका हुन्छन्। राज्यको नियम कानूनलाई बौद्धिक पूँजीको विकास हुने किसिमबाट लचिलो र खुकुलो पारेका हुन्छन्। परिणामस्वरूप मुलुकमा नयाँ नयाँ वस्तु तथा सेवाको विकास हुन पुग्छ र त्यसको बिक्रीबाट विकासकर्ता वा व्यवसायीले त राम्रो आय आर्जन गर्छ नै, मुलुकले पनि राम्रो लाभ प्राप्त गर्छ। थप रोजगारका अवसर सृजना हुने हुनाले रोजगारको क्षेत्र पनि विस्तार हुन पुग्छ। संरा अमेरिकाले बौद्धिक पूँजीको विकास र प्रयोगमा जोड दिएको हुनाले नै गूगल, युट्युब, फेसबूक, इबे, अमेजन डटकमजस्ता नयाँनयाँ सेवाको विकास प्रभावकारी किसिमले हुन सकेको हो।

तर विडम्बना, गरीब भनौं वा विकासशील राष्ट्रहरूमा, मुलुकको केन्द्रीय वा क्षेत्रीय राजनीतिमा, वामपन्थीहरूको ज्यादै बलियो प्रभाव हुन्छ। उनीहरू पूँजीमाथि राज्यको नियन्त्रण हुनुपर्छ भन्ने कुराको वकालत गर्छन्।

वामपन्थीहरूले बौद्धिक पूँजीलाई महत्त्व दिंदैनन्। पूँजीप्रति वामपन्थीहरूको धारणा यस किसिमबाट ज्यादै प्रतिकूल रहेको हुनाले नै गरीब मुलुकहरू गरीबीको दुश्चक्रबाट बाहिर आउन सकिरहेका छैनन्। तुलनात्मकरूपमा गरीब मुलुकहरूमा गरीबी झन्झन् बढिरहेको छ। गरीब मुलुकहरू तुलनात्मकरूपमा झन्झन् गरीब भएका हुनाले ठूलो सङ्ख्यामा गरीब देशका नागरिकहरू धनी देशतिर पलायन भइरहेका छन्। रोजगारका लागि विदेशिन बाध्य भएका छन्।






विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, August 21, 2026

https://www.eprateekdaily.com/detail/100273

No comments:

Post a Comment