कम आय भएको परिवारको पहिचानमा समस्या
संसारमा
त्यस्तो कुनै राष्ट्र छैन,
जहाँको सबै जनता धनी होस्। अभावग्रस्त
नहोस्। क्रयशक्ति कमजोर भएको नहोस्। त्यस कारण हरेक देशमा गरीब र धनी परिवारहरू
हुन्छन् नै। त्यति मात्र होइन, हरेक
देशमा धनीको सङ्ख्या कम हुन्छ भने गरीबहरूको सङ्ख्या ठूलो हुन्छ। व्यक्तिहरूको
बौद्धिक क्षमता एवं सरकारको कमजोरीका कारण यस्तो हुने गर्छ। यसबाहेक अन्य कारणहरू
पनि हुन सक्छन्।
गरीबहरूको
सङ्ख्या ठूलो हुने भएकोले नै सरकारले धनीहरूबाट बढी कर लिन्छ। त्यो करलाई
राष्ट्रिय आय वितरणको माध्यमबाट गरीब परिवारसम्म पुर्याउँछ। अर्थात् सरकारले
प्राप्त गरेको कर विभिन्न माध्यम (वृद्ध भत्ता, सुत्केरी
भत्ता, विधवा भत्ता, सहुलियत ब्याजदरमा शिक्षा ऋण, बेरोजगारी
भत्ता, गम्भीर रोगको उपचारको लागि आर्थिक सहयोग
आदि) बाट गरीबहरूसमक्ष पुर्याउँछ। गरीब परिवारसमक्ष आर्थिक सहयोग पुर्याउन सरकारले
को गरीब हो वा को गरीब होइन भनी पहिचान गर्न विभिन्न संयन्त्रको विकास गरेको हुन्छ।
कर
भुक्तानीलाई विकसित राष्ट्रहरूमा को गरीब र को धनी भनी छुट्याउने प्रभावकारी
संयन्त्रको रूपमा प्रयोग गरिएको हुन्छ। ती राष्ट्रहरूमा, आय प्राप्त गरेका वा नगरेका सबै व्यक्तिले आर्थिक वर्ष वा तोकिएको
समयमा वर्षभरिमा कति आय प्राप्त गरेका छन् वा छैनन् भनी उल्लेख गरेर ‘कर विवरण’
अर्थ मन्त्रालय वा तोकिएको कार्यालयलाई पेश गर्नुपर्ने हुन्छ। कर विवरण एकल वा
परिवार उल्लेख गरेर पेश गर्ने व्यवस्था हुन्छ।
सरकारले
प्राप्त गरेको ‘कर विवरण’को आधारमा कुन व्यक्ति वा परिवारले वर्षभरिमा कति रकम
आयको रूपमा प्राप्त गर्यो थाहा पाउन सक्छ। साथै उक्त व्यक्ति वा परिवारले कति कर (आयको
आधारमा) भुक्तान गर्यो, त्यो पनि थाहा पाउन सक्छ। व्यक्ति वा
परिवारले प्राप्त गरेको आयको आधारमा वा व्यक्तिले सरकारलाई भुक्तान गरेको करको
आधारमा सरकारले कुन व्यक्ति वा परिवार गरीब हो वा कुन व्यक्ति वा परिवार धनी हो
भनी सजिलै थाहा पाउन सक्छ। व्यक्ति वा परिवारहरूले सही आय विवरण पेश गर्नुपर्ने
अनिवार्यता हुन्छ।
जुन व्यक्ति वा परिवारले सरकारलाई बढी कर भुक्तान गरेको हुन्छ, त्यो व्यक्ति वा परिवार धनी हुन्छ। जुन व्यक्ति वा परिवारले ज्यादै कम कर भुक्तान गरेको हुन्छ वा गरेकै हुँदैन (आम्दानी नगरेकोले कर भुक्तान गर्नु नपरेको) त्यो व्यक्ति वा परिवार गरीब हुन्छ। यस प्रकार सरकारले व्यक्ति वा परिवारले पेश गरेको कर भुक्तान विवरणबाट को व्यक्ति वा परिवार गरीब हो, कुन व्यक्ति वा परिवार धनी हो भनी सजिलै थाहा पाउन सक्छ।
सरकारले
कर विवरणको आधारमा यथार्थमा कुन व्यक्ति वा परिवार गरीब हो भन्ने थाहा पाएपछि गरीब
व्यक्ति वा परिवारलाई आर्थिक सहयोग प्रदान गर्छ। देशको जनसङ्ख्याभित्र रहेका
गरीबहरूलाई माथिको व्यवस्थाले गर्दा सरकारलाई आर्थिक सहयोग गर्न सजिलो हुन्छ भने
धनी व्यक्ति वा परिवारले आफू गरीब हुँ भन्ने मौका नै पाउँदैन।
हाम्रो
देशमा कुन व्यक्ति वा परिवार गरीब हो भनी छुट्याउने कुनै प्रभावकारी व्यवस्था वा
संयन्त्र छैन। यो कारणले गर्दा सरकारलाई गरीबहरूसमक्ष आर्थिक सहयोग पुर्याउन कठिन
भएको देखिन्छ। कुनै किसिमको आर्थिक सहयोग सरकारले वितरण गर्ने योजना गरेको छ भने
धनी व्यक्ति वा परिवारहरू पनि आफूहरू गरीब भएको दाबी गर्छन्। यसरी धनीहरू, जसलाई सरकारले दिने सहयोग आवश्यक छैन, सरकारी सहयोग लिन सफल हुन्छन् वा हुन सक्छन्।
उदाहरणका
लागि नेपालमा यदि सरकारले गरीब परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्य राखेर
प्रत्येक गरीब परिवारलाई दशैं खर्चको रूपमा रु १० हजार दिने योजना गरेको छ भने
त्यस्तो सहयोग पाउन धनी परिवारहरूले पनि हामी गरीब हौं भन्न सक्छन्। त्यो सहयोग
पाउन बलियो माग पेश गर्न सक्छन्। अर्कोतिर सरकारसँग कुन व्यक्ति वा परिवार गरीब वा
धनी हो भनी छुट्याउने व्यवस्था नभएकोले सरकार त्यो आर्थिक सहयोग माग गर्ने जति
सबैलाई दिनुपर्ने स्थिति उत्पन्न हुन सक्छ। कुनै व्यक्ति वा परिवारसँग रहेको
सम्पत्ति (जग्गा एवं भवन) को आधारमा पनि उक्त व्यक्ति वा परिवार धनी वा गरीब भनी
छुट्याउन सकिन्छ। तर यो तरीका भने प्रभावकारी हुन सक्तैन। कुनै व्यक्तिले आफ्नो
जग्गा वा भवन अर्को व्यक्तिको हो भनी देखाउन सक्छ। झूटो विवरण पेश गर्न सक्छ।
नेपालमा
कुन व्यक्ति वा परिवार गरीब हो भनी छुट्याउने बलियो संयन्त्र नभएकोले नै राष्ट्रिय
आय वितरणलाई सन्तुलित पार्न कठिनाइ उत्पन्न भएको हो। गरीब व्यक्ति वा परिवारलाई
आर्थिक सहयोग गर्न समस्या भएको हो। त्यति मात्र होइन, भुइँचालो, बाढी, पहिरो, खडेरी, आगलागीजस्ता विपत्ति पर्दा गरीब
परिवारहरूलाई आर्थिक सहयोग गर्न कठिनाइ उत्पन्न भएको हो। हालै नेपालमा भएको
महाप्रलय (भोटेकोशी, त्रिशूली र ल्हेन्दे खोलाले बाढीद्वारा
गरेको क्षति) बाट कति गरीब परिवार प्रभावित भए भनी पहिचान गर्न सरकारलाई कठिनाइ
पर्न सक्छ। सोही अनुसार आर्थिक सहयोग गर्न समस्या उत्पन्न हुन सक्छ।
राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्न तथा माथि उल्लेख गरिएका अनेक विपत्तिहरूको सामना गर्नुपरेको अवस्थामा गरीब व्यक्ति एवं परिवारलाई सहयोग गर्न सरकारले कुन व्यक्ति वा परिवार गरीब हो भनी छुट्याउन सकिने संयन्त्र विकास गर्न अति आवश्यक छ।
शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता सरकारले गरीब परिवारहरूसमक्ष पुर्याउन
खोज्दा धनी परिवारहरूले पनि त्यस किसिमको सुविधा प्राप्त गर्ने स्थिति उत्पन्न
भएको छ। धनी परिवारहरूले पनि निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएको
देखिएको छ।
व्यक्ति
वा परिवारहरूले वर्षभरिमा प्राप्त गरेको आय (पारिश्रमिक, तलब, ज्याला, मुनाफा आदि) विवरण तोकिएको निकायमा पठाउनुपर्ने अनिवार्य व्यवस्था
गरेर पनि कुन व्यक्ति वा परिवार गरीब हो भनी पहिचान गर्न सजिलो हुन सक्छ र सोही
आधारमा गरीब व्यक्ति वा परिवारलाई आर्थिक सहयोग गर्न सकिन्छ। व्यक्तिको नागरिकताको
नम्बर (सो नम्बरको खातामा) मा सो व्यक्तिले वर्षभरिमा कति आय प्राप्त गर्यो भनी
उल्लेख गरेर पनि कुन व्यक्ति वा परिवार गरीब हो भनी थाहा पाउन सकिन्छ। कुन व्यक्ति
वा परिवार धनी हो र उसलाई आर्थिक सहयोग गर्नुपर्दैन भनी थाहा पाउन सकिन्छ।
देशभित्र
रहेका गरीबहरूको उचित पहिचान भए मात्र गरीब परिवारलाई आर्थिक सहयोग गर्न सकिन्छ। र
गरीबहरूलाई आर्थिक सहयोग गर्नु पनि पर्छ। अति निर्धन (घरसमेत नभएका र नियमित
आम्दानी पनि नभएका) व्यक्ति वा परिवारहरूलाई उपरोक्त किसिमको व्यवस्था गरेर आर्थिक
सहयोग गर्न सकिन्छ। नेपालमा गरीबी कम गर्न सकिन्छ। रोजगारका लागि अनिवार्यरूपमा
विदेश जानुपर्ने स्थितिमा सुधार आउन सक्छ।
कुनै
पनि देशमा गरीबहरूको सङ्ख्या ठूलै हुन्छ । धनीहरू जति गरीबहरूको पहुँच उत्पादनका
साधन– भूमि, पूँजी, सङ्गठनमा हुन सक्तैन। यस कारणले गर्दा गरीबहरूको सङ्ख्या ठूलो हुन्छ।
विभिन्न कारणले गर्दा पनि बहुसङ्ख्य व्यक्ति धन आर्जन गर्न सक्तैनन्। यिनै
कारणहरूले गर्दा सरकारले गरीब परिवारलाई विभिन्न किसिमका व्यवस्था गरेर आर्थिक
सहयोग गर्नैपर्ने हुन्छ।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, September 25,
2026 (प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३)
https://www.eprateekdaily.com/detail/100633

No comments:
Post a Comment