नेपालमा बसोबास व्यवस्थापन नीतिको खाँचो
गत
भदौ १० गते भएको विनास लिला सम्भवत त नेपालको इतिहासमा नै हामीले पहिलो पटक भोगेको
हो। यो स्तम्भकारको उमेर ७० को नजिक हुँदासम्ममा यस किसिमको विनास लिला देखेको
स्मरण छैन। यो विनासलिलामा कति जन र कति धनको क्षति भयो, अहिले अनुमान सम्म गर्न
पनि कठिन छ। यति धन र जनको क्षति भएको किटान गर्न अझै दुई चार महिना लाग्न सक्छ। उच्च
प्रविधि र भौतिक साधनहरूको हामीले अति अभाव भोग्नु परिरहेको स्थितिमा यति धन र
जनको क्षति भएको यकिन गर्न कठिन नै छ।
धनको क्षति पूर्ति पनि गर्न सकिन्छ तर जनको क्षति पूर्ति गर्न
सकिंदैन। आफन्तको मृत्यु भएको र हराएको पीडा लिएर हजारौं परिवार बस्नु पर्ने
स्थिति छ। अति नै दु:खद स्थिति छ। भोटेकोशीको तान्डव नृत्यले रसुवा, नुवाकोट,
धादिंग लगायत अनेक स्थानहरूमा ठूलो क्षति गरेको छ। भदौ १० गतेको घटनाले पौराणिक
कथाहरूमा भनिएझै प्रलयको झल्को दिएको थियो।
अचानक कुनै पीड आउँछ। अचानक कुनै समस्या आउँछ। कालान्तरमा ती पीडा र
समस्याहरू हाम्रो स्मरणबाट हराउँछन। तर त्यस्तो होइन। २०८३ भदौं १० गते भएको विनाश
लिलाबाट हामीले धेरै कुरा सिक्नु पर्ने हुन्छ। भविष्यमा त्यस्तो घटना हुन न दिन के
के सावधनीहरू लिनु पर्छ, के के व्यवस्थाहरू गर्नु पर्छ, भनी गम्भीरतापूर्व सोंच्नु
पर्छ। लघुकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नु पर्छ। र तिनको क्रमश:
कार्यान्वयन गर्नु पर्छ।
हजारौं हजार वर्ष पहिले देखि, जुन बेला मानव जीवन केवल कृषिमा आश्रित
थियो, व्यापार र उद्योगको समुचित विकास भइसकेको थिएन, त्यसबेला देखि मानव वस्तिहरू
ठूला पोखरी, ताल, खोला, नदीको छेउमा बसेको पाइन्छ। पुर्वमा कोशी देखि बाग्मती
हुँदै गण्डकी, कर्णाली लगायत अनेक नदीको किनारमा हाम्रा मानव वस्तीहरू अवस्थित
रहेको देखिन्छ। नदीको किनारमा बसोबास गर्न मानिसले अहिले पनि छाडेको छैन। त्यो
क्रम अहिले पनि जारि नै छ।
पहिले पहिले, सिंचाइका लागि सजिलो हुने तथा नदीका तटीय क्षेत्रहरू
समतल भूभाग हुने भएकोले कृषिका लागि नदीका छेउका जग्गाहरू अति उपयोगी हुन्थ्यो।
मानव-जीवन कृषिमा आधारित भएकोले धेरै बस्तीहरूको विकास नदीको किनारमा त्यसकारण भएको
हो। मुख्य रुपमा, कृषिको कारणले गर्दा नै नदीको छेउमा मानव-बस्तीहरूको विकास भएको
हो। तर पहिले संचार क्षेत्रको अहिले जस्तो उच्च विकास नभएकोले बाढी वा अन्य कारणले
नदी छेउका बस्तीहरू क्षति ग्रस्त हुँदा, जन धनको क्षति हुँदा, तत्काल जानकारी
हुन्थेन। यो स्तम्भकार नै बाग्मती नदी- पीडित हो। अति नै पीडित हो। बाग्मती नदीले
हाम्रो परिवार लगायत छतौना (सर्लाही) गाउँलाई निकै दु:ख दियो। ठिकसङ्ग याद भएन,
सम्भवत त २००७ सालतिरको कुरा हो, बाग्मतीमा आएको भीषण बाढीले हाम्रो ९ बिघा जग्गा
बर्बाद भयो। बाग्मतीले बगाएर ल्याएको बालुबाले हाम्रो ९ बिघा जग्गा पुरिदियो।
अलुवा, सुथनी आदि बाहेक त्यो जग्गामा केही पनि नफल्ने स्थिति भयो। राम्रो मूल्यमा
बिक्री हुने त्यो जग्गा मूल्यहीन भएर बिक्री नहुने स्थितिमा पुग्यो। त्यस पछि
हामीलाई गरिबीले नराम्रो गरी छोप्यो। एक पटक बाग्मतीमा आएको बाढीले झण्डै मेरो
पिता देवराज उपाध्यायको ज्यान नै लिएको थियो। बाढीसङ्ग संघर्ष गर्न छतौनाका प्राय
हरेक परिवारसङ्ग डेंगी (ढुंगा) हुन्थ्यो। बाग्मती पीडितहरूको कथा लामो छ।
माथिको जानकारी, जुन मेरो परिवारसङ्ग जोडिएको छ, असान्दर्भिक पनि हुन
सक्छ। तर त्यो जानकारी यहाँ प्रस्तुत गर्नुको मुख्य कारण नदी र नदीले ल्याएको
बढीले मानिसलाई सताउने कथा पुरानो हो भनी दर्शाउनु हो। बाग्मतीले आफ्नो धार
(पानीको बहाब) कता परिवर्तन गर्ने हो भनी वर्षाको समयमा अनेक परिवारमा एक किसिमको
त्राही हुन्थ्यो।
त्यसबेला, छतौनादेखि ज्यादै नजिक (लगभग ३ कोष) रहेको गौर जान पनि
वर्षाको समयमा, बाग्मतीमा आएको बाढीको स्थितिले, भारतको ढेंग रेल्वे स्टेसन पुगेर,
रेल चढेर, गौर जानु पर्थ्यो। बागमती नदीले गर्दा नै रेल सुविधाको नजिक (भारतको
बैरगानियां स्टेसन) हुँदा पनि, गौरको तिब्र गतिमा (चन्द्रनिगाहपुरझै) आर्थिक विकास
नभएको हो भन्नेहरूको संख्या ठूलो छ। बाग्मतीको बाढी नियन्त्रण गर्न भारतले आफ्नो
सीमाना (बैरगनियां वरपर) मा ठूलो बाँध बाँधेपछि गौरलाई बाग्मतीमा आएको बाढीले झनै
सताउन थाल्यो। बाढीकै कारणले गर्दा ठूला ठूला लगानीकर्ताहरूले बाढीको भयका कारण
गौरमा ठूला उद्योग एवं व्यापारको स्थापना गर्न लगानी गरेनन्।
अब चर्चा गरौं पहाडी नदीहरूको। ती नदीले पुर्याएको मानवीय र आर्थिक
क्षतिको। हाम्रा धेरै मानव-बस्ती र
बजारहरू वर्षौंदेखि नदीको किनारमा अवस्थित छन्। बाढीको उच्च जोखिमा छन।
भदौं १० आएको बढी पुन: दोहरिने स्थित छ। ‘गोल्बल वार्मिङ’ ले गर्दा हिंउ पग्लेर वा
बाढी कारण हाम्रा अनेक बस्तिहरूले विनास-लिला देख्नु पर्ने स्थिति छ। यो समस्या
संसार भरि नै छ। नेपाललाई यो समस्याले भविष्यमा झनै बढी सताउने देखिन्छ।
एउटा बस्तीको विकास गर्न अरबौं रुपैयां खर्च गरिएको हुन्छ। त्यो
बस्तीसम्म पुग्न सडक निर्माणमा पनि उत्तिकै खर्च गरिएको हुन्छ। बिजुली, संचार
जस्ता पूर्वाधारहरूको विकास गर्न पनि ठूलो धनराशी खर्च गरिएको हुन्छ। तर जब बाढी
आउँछ बस्तीनै पनि सखाब पारिदिन्छ। मानवीय क्षति पनि उत्तिक हुन्छ। यो तथ्यलाई
हामीले गम्भीरतापूर्वक लिनु पर्ने स्थिति छ।
भदौ १० को घटना भोगे पछि, अनेकौं दर्द र कष्ट सहे पछि, अब हामीले
आफूसङ्गनै एक महत्वपूर्ण प्रश्न सोध्नु पर्नै स्थिति सृजना भएको छ। त्यो प्रश्न
हो, ‘के हामीले नदीको किनारमा बस्तीहरू निर्माण गर्नु उचित छ? यसैगरी अर्को प्रश्न
सोध्नु पर्ने हुन्छ- ‘हामीले बाढी र पैरोको कारण उच्च जोखिमा रहेका पहाडी
सहरहरूलाई अन्य सुरक्षित स्थानमा सार्ने हो कि?’ यी दुई अति महत्वपूर्ण प्रश्नहरू
हुन्। बाढी आउँदा धन जनको ठूलो क्षति हुन्छ। हजारौले मानवीय क्षति बेहोर्नु त पर्छ
नै आर्थिक क्षति पनि उत्तिकै बेहोर्नु पर्छ। घर निर्माणमा लाखौंले धनराशी खर्च गरिएको
हुन्छ। रगत र पसिना बगाएर कुनै एक (गरिब) परिवार आफ्नो घर निर्माण गर्ने स्थितिमा
पुगेको हुन्छ।
अब हाम्रा नदीहरूको भौगोलिक स्थितिको चर्चा गरौं। नेपालका नदीहरू
प्राय: हिमक्षादित छन्। हिउँ पग्लेर नदीहरू बग्छन। यसै गरी हामा नदीहरू उच्च
सतहबाट बगेर तल्लो सतमा बग्छन। नदीहरू पहाडको उच्च सतहबाट बगेर तल्लो सतमा पुग्ने
हुनाले बाढीको पानीमा उच्च शक्ति (Current)
हुन्छ। पानीमा उच्च शक्ति भएकोले नै बाढीको समयमा जन धनको ठूलो क्षति हुन्छ।
हामीले पानीको व्यवस्थापन गर्न सकेका छैन। उत्तर तिर (चीन) बाट आएको पानी बगेर दक्षिण
तिर (भारत) पुग्छ। हामी अनेक नदीहरूका केवल मार्ग हुन पुगेका छौ। तिनको उपयोग गर्न
सकेका छैनौ। नियन्त्रण पनि गर्न सकेका छैनौ। लागतको हिसाबले नेपालका ठूला नदीहरू
नियन्त्रण गर्न लगभग असम्भव नै छ। यस्तो स्थिति रहेको परिप्रक्ष्यमा हामीले नदीका
किनारमा बसोबास गरिरहेका परिवारहरूलाई अन्त सुरक्षित स्थानमा सार्नु पर्ने हो भनी
सोंच्नु पर्ने स्थिति छ। बाढीको उच्च जोखिमा रहेका बस्तीहरूलाई अन्यत्र सार्ने हो
कि, यसबारे गम्भीर भएर सोंच्नु पर्ने स्थिति छ।
हामीले मुख्य गरी सरकारले ‘बस्ती सुरक्षा एवं विकास नीति’ ल्याउन
आवश्यक छ। यस्तो गरिएमा, सरकारले सुरक्षित स्थानमा मात्र बस्ती निर्माण गर्न
सल्लाह दिएमा वा सुरक्षित स्थानमा बस्तिको विकास भएमा अहिले जस्तो बढीमा हजारौंले
ज्यान गुमाउनु पर्ने स्थिति रोक्न सकिन्छ। यसबारे हामीले गम्भीर भएर सोंच्न आवश्यक
छ।
नेपाल जस्तो गरिब राष्ट्रले बाढीको कारण पटक पटक र धेरै पटक हुने आर्थिक
क्षति बेहोर्न कठिन छ। देश विप्रेषणमा चल्नु पर्ने एउटा समस्या रहेको स्थितिमा
बाढीको तान्डव नृत्य पटक पटक भोग्नु पर्ने अर्को समस्याले देशलाई झन झन गरिब
पार्दै लान्छ। बाध्य भएर रोजगारको लागि अझै ठूलो संख्यामा नेपालीहरूले देश छाड्नु
पर्ने स्थिति उत्पन्न हुन सक्छ।
नदी नियन्त्रण र बसोबास व्यवस्थापन बारे सरकारले छिटै ठोस ‘नीति’
ल्याउन आवश्यक छ। यस्तो नगरिएमा आउने भविष्यमा हामीले झनै ठूलो मानवीय र आर्थिक
क्षति बेहोर्नु पर्ने स्थिति आउन सक्छ। बाढी कुन बेला, कसरी, र कहाँ पस्न सक्छ
भन्न सकिंदैन। वीरगंजबासीहरूलाई थाहा हुन सक्छ, एक पटक २०३३ वा ३४ तिर वा त्यसै
अवधिको छेउछाउम वीरगंजमा अचानक ठूलो बाढी आएको थियो। पानी कताबाट र कसरी पस्यो
तत्काल अनुमान गर्न कठिन भयो। तर वीरगंज जल मग्न भएको थियो। वीरगंजको गोश्वारा रोड
तिर कम्मरसम्म पानी थियो
हामीले बसोबास सुरक्षा नीति ल्याउन अब ढिलो गर्न हुँदैन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday,
September 04, 2026
No comments:
Post a Comment