Wikipedia

Search results

Sunday, December 22, 2019

Economic Development Is Not Possible Without Social Reformation-Article 257


आर्थिक विकासको सम्बन्ध सामाजिक विकाससँग हुन्छ

    केही साता पहिले जनकपुरमा एक अभूतपूर्व कार्य भयो। तराईको लागि त्यो कार्य अकल्पनीय एवं सर्वकालीन उदाहरणीय थियो। त्यो कार्य आफैमा ऐतिहासिक पनि थियो। तर अफसोच १ त्यो कार्य सनसनीपूर्ण समाचार बन्न सकेन। त्यसले धेरैको ध्यान आकर्षित गर्न सकेन। पत्रपत्रिकाहरूले पनि अति महत्वका साथ कभरेज दिएनन्। अर्कोतिर केवल राजनीतिक झगडा, गालीगलौज, प्रतिशोध आदिले भरिएको समाचार मात्र पढ्नमा रुचि राख्ने पाठकहरूले पनि त्यो समाचारलाई महत्वका साथ पढेको देखिएन। अन्ततोगत्वा यो कार्यको हुनुपर्ने जति चर्चा भएन। सञ्चारमाध्यमहरूले अन्टसन्ट समाचार पढ्ने हाम्रो बानी बसालिदिएको हामीले पत्तो नै पाएनौं।
आखिर जनकपुरमा के भएको थियो त्यस्तो कार्य?
    सदियौंदेखि तराईमा चल्दै आएको कुचलन, समाजमा क्यान्सरको रूपमा रहेको दहेज वा तिलक प्रथाको समाधान खोज्ने प्रयास केही साता पहिले जनकपुरमा केही उत्साही युवायुवतीहरूद्वारा गरिएको थियो। प्रयास सामान्य थियो तर उच्च महत्वको थियो। सन्देशमूलक थियो।
    गत मङ्सिर महीनामा जनकपुरमा तिलक, दहेज वा दाइजोको विरोध गर्दै ३७ जोडी तराईका युवायुवतीले सामूहिकरूपमा, सार्वजनिकस्थलमा, विवाह गरेका थिए। आफूहरू दहेजको विरोधी रहेको कुरा विनादहेज (सार्वजनिकरूपमा) विवाह गरेर प्रस्ट पारेका थिए। यस किसिमले विनादहेज विवाह गरेर उनीहरूले उदारता र हिम्मत एकैसाथ प्रदर्शन गरेका थिए। त्यसरी विनादहेज विवाह गर्दा, मुख्य त युवा (वर) हरूले, कति मानसिक तनाव खेपेका होलान्, उनीहरूलाई नै थाहा होला। अहिले पनि केटाका बुबाआमाहरूले बाहिर जतिसुकै आदर्शका कुरा गरे तापनि, आफूलाई दाइजोविरोधी भने तापनि, भित्रभित्र भने आफ्नो छोराको विवाहमा यति तिलक वा दहेज (जोर जबरजस्ती) लिने भनी ठूलै जोडघटाउ गरेका हुन्छन्। रेयाल काढेर मुख मिठ्याएका हुन्छन्। बुहारीले गतिलो दहेज नल्याएको रिसमा धेरै सासू, ससुरा र पतिहरूसमेतले पनि बुहारी वा पत्नीको हत्या गरेको हामीले देखेको, सुनेको कुरा हो।
    यसरी विवाह गराइदिने कार्य भने विश्व हिन्दू परिषद्ले गरेको थियो। उक्त परिषद्ले त्यस किसिमबाट सार्वजनिक स्थल (भगवान् रामचन्द्र र सीताजीको विवाह भएको स्थल जनकपुरस्थित मणिमण्डप) मा सामूहिक विवाहको आयोजना गर्न लाग्ने खर्च चन्दा उठाएर जुटाएको थियो। यस किसिमबाट विश्व हिन्दू परिषद्ले अति नै सराहनीय कार्य गरेको थियो। समाजसुधारका लागि प्रभावकारी कदम चालेको थियो।
दाइजोविरुद्धको आर्थिक महŒ
    आर्थिक विकासका सूत्रहरू हामी अर्थशास्त्रका चर्चित सिद्धान्तहरूमा खोज्छौं। अर्थशास्त्रका मोटामोटा पुस्तकहरूमा आर्थिक विकासका सूत्रहरू कहाँ छन् भन्दै अनेक अध्याय पल्टाउछौं। नाम चलेका अर्थशास्त्रीहरूको पुस्तक पढ्छौं। अर्थशास्त्रका ठूलाठूला डिग्रीधारीहरूले आर्थिक विकासका सूत्रहरू जानेका हुन्छन् भन्ने मान्यता राख्छौं। तर अफसोच! हाम्रो व्यवहारभित्र नै आर्थिक विकासका सूत्रहरू छन् भन्नेतिर हामी पटक्कै ध्यान दिंदैनौं। हाम्रा सामाजिक व्यवहारहरूले हामीले निर्धन तुल्याउन वा आर्थिक विकास गर्न दिइरहेका छैनन् भनी जान्न चाहन्नौं। हामीले हाम्रा गलत र अनुत्पादक सामाजिक व्यवहारहरूमा सुधार ल्याउने हो भने निश्चय पनि हामी आर्थिक विकासका बाटोतिर लम्किनेछौं।
    हाम्रा अनेक त्यस्ता सामाजिक व्यवहारहरू छन्, जसले हामीलाई निर्धनताबाट माथि उठ्न दिइरहेका छैनन्। हामीलाई आर्थिक विकास गर्न दिइरहेका छैनन्। त्यस्तै व्यवहारमध्येको एक हो, दहेज एवं तिलक प्रथा वा दुलहा बिकता है, प्रथा। दुलहा बिकता है बोलो खरिदो गे? प्रथाले हाम्रो समाजलाई गरीब पार्नमा अहम् भूमिका खेलेको छ। यो प्रथाले कुनै समाजलाई पनि छाडेको छैन। यो गीतले त्यसै भन्छ, ‘कब तलक दुल्हनों की चढेगी बलि, रामगोपाल हो या सराफत अलि, सब है बहरुपिए, इन से ये पुछिए, सपना बिकता है बोलो खरिदो गे, दुलहा बिकता है बोलो खरिदो गे।’ मुख्यगरी तराईमा रहेको यो प्रथा समाप्त हुने हो भने धेरै परिवार निर्धन हुनबाट जोगिनेछन्। धेरै युवतीको मृत्यु अकालमा हुनेछैन। कुनै एक परिवारका सातजना छोरी छन् भने त्यो परिवारको जीवन मरे तुल्य हुने स्थितिको अन्त्य हुनेछ। छोराको लालसमा, धेरै छोरी हुनेका बुबाआमा शान्तिपूर्वक जीवनयापन गर्न सक्षम हुनेछन्।
दहेज प्रथाको आर्थिक कुप्रभाव
    दहेज प्रथा खराब हो भन्ने कुरा सर्वकालीन सत्य हो। यसमा दुई मत हुन सक्तैन। तर यसले समाज र परिवारमा कुन किसिमले र कसरी नकारात्मक प्रभाव पार्छ, त्यसबारे चर्चा गरौं। दहेज लिने परिवार र मुख्यगरी केटा (दुलहा) ले विना कुनै परिश्रम दहेजको माध्यमबाट ठूलो सम्पत्ति हात पारेको हुनाले उसमा रहेको उद्यमी भावना मर्न सक्छ र अर्कोतिर लोभ बढ्छ। अर्को तथ्य, सम्पत्ति ताक्ने बानीको विकास हुनेछ । आफूले कुनै रचनात्मक कार्य नगरेर केवल पत्नीको माइतीबाट अनेक कुरा (पैसा, सम्पत्ति) माग्ने मनोविज्ञान निर्माण हुनेछ। यसरी एक व्यक्ति (केटा)को सृजनात्मक क्षमतामा ह्रास आएर उसमा परनिर्भरता बढेर जानेछ। र, यो कुरा उक्त व्यक्तिको आर्थिक जीवनमा घातक हुनेछ। र, यस्तो भएको हामीले समाजमा देखि नै रहेका छौं।
    वधू पक्षलाई त दहेजप्रथाले उठ्न नै नसक्ने गरी ढालेको देखिएको छ। गरीब परिवारहरूले छोरीको विवाह गर्दा आफूसँग रहेको सारा सम्पत्ति बिक्री गर्नुपरेको छ। चर्को ब्याजदरमा ऋण लिएर दीर्घकालीन ऋणमा डुब्नुपरेको छ। कतिपय बुबाआमाले दहेज दिन नसक्ने आफ्नो स्थिति देखेर आत्महत्यासमेत गरेका छन्। यसैगरी, कतिपय युवतीहरूले, आफ्ना आमाबुबाको गरीबी देखेर, उनीहरूलाई दहेज दिन गार्हो हुने अनुमान गर्दै, आत्महत्या गरेका छन्।
    दहेज दिंदा पाउने पक्षले विना कुनै परिश्रम ठूलो सम्पत्ति हात पार्ने हुन्छ भने अर्कोतिर दहेज दिनेले आफ्नो जीवनभरिको आर्जन अर्कालाई दिनुपर्छ। दहेज दिने पक्ष कङ्गाल हुने स्थितिमा पुग्नुपर्छ। दहेज दिनेको आर्थिक जीवन कष्टकर हुन पुग्छ। यदि कुनै परिवारको पाँच, सात छोरी छन् भने त्यो परिवारको सारा सम्पत्ति केवल दहेज दिनमा समाप्त हुन्छ । आफूले दर्दनाक गरीबी वरण गर्नुपर्ने हुन्छ। दहेज दिनुपर्ने परिवारको ध्यान हरपल दहेज दिनुपर्ने स्थितिमा केन्द्रित हुन पुग्छ। र, त्यो परिवार कुनै पनि किसिमले धन प्राप्त गर्नुपर्छ भन्ने मनोविज्ञानको शिकार हुन पुग्छ। आर्थिक भ्रष्टाचारतिर आकर्षित हुन सक्छ।
    नेपालमा दहेज सम्बन्धित हत्याहरूको प्रमाण उचित जानकारीको अभावमा व्यवस्थित किसिमले राख्न सकिएको छैन। त्यस कारण दहेजसँग हत्याको उचित जानकारी पाउन गार्हो छ।
    भारतमा प्रत्येक एक लाख महिलाहरूमध्ये १.४ महिलाहरूको मृत्यु (हत्या) दहेजको कारणले हुन्छ। सन् २०१२ मा त्यहाँ ८ हजार २ सय ३३ महिलाको हत्या दहेजको कारणले गर्दा भएको थियो भने सोही कारणले सन् २०१३ मा ८ हजार ८३ महिलाको हत्या भएको थियो। भनिन्छ, भारतमा प्रत्येक ९० मिनटमा एक महिलाको हत्या दाइजोसँग सम्बन्धित घटनाको कारणले गर्दा हुन्छ। भारतको स्थितबाट प्रस्ट हुन्छ, दहेजप्रथा हाम्रो क्षेत्रमा कति गम्भीर छ भन्ने यथार्थ।
    हाम्रा सामाजिक व्यवहारहरूले हामीलाई गरीबीको दुष्चक्रबाट हामीलाई बाहिर आउन दिइरहेका छैनन्। हामीले बल गरेर त्यो दुष्चक्रलाई तोड्न सकि रहेका छैनौं। तर अब तोड्नुपर्छ।
    धन आर्जन गर्न नसकेर मात्र गरीब भइने होइन। खराब सामाजिक व्यवहारको कारणले गर्दा पनि गरीब भइन्छ। यसैगरी, धनी भए तापनि हाम्रो त्यो धनी स्थितिलाई खराब सामाजिक व्यवहारले गरीब पारिदिन सक्छ। सामाजिक व्यवहार, जुन आर्थिक कारणले घातक छन्, ले हामीलाई गरीब पार्ने हुनाले पहिले हामीले तिनको निदान खोज्न आवश्यक छ, धन आर्जनको लागि कुनै क्रियाकलाप गर्नुभन्दा पहिले। खराब सामाजिक व्यवहार एक प्वाल परेको गाग्री जस्तो हो, जसमा जतिसुकै पानी हाल्दा पनि भरिंदैन । अर्थात् खराब सामाजिक व्यवहारले, हामीले कठोर परिश्रमद्वारा आर्जन गरेको हाम्रो सम्पत्ति नाश पारिदिने कार्य गर्दछ। त्यस कारण आर्थिकरूपमा सक्षम हुन, हामीले जति आयका नयाँनयाँ स्रोतहरू खोज्न आवश्यक छ, त्यति नै आवश्यक हाम्रा खराब सामाजिक व्यवहार हामीले समाप्त पार्न आवश्यक छ।
पटलक: अनावश्यक खर्च कटौतीको एक तरीका
    अमेरिकी समाजमा एक चलन, जसलाई ‘पटलक’ भन्ने गरिन्छ, निकै प्रचलित र लोकप्रिय पनि छ। यस चलन अन्तर्गत भोजको आयोजकले पटकल पार्टी आयोजना गर्छ। र, यो चलन अनुसार प्रत्येक आमन्त्रितले आमान्त्रण गरिएको ठाउँ (भोजस्थल) मा आफूले आफ्नोतर्फबाट खानेकुरा लिएर जान्छ। यसरी भोजको आयोजना गर्नेले केवल स्थान उपलब्ध गराउँछ। किनभने खाने कुरा, भोजमा उपस्थित सबैलाई पुग्ने गरी, प्रत्येक आमन्त्रितले ल्याएको हुन्छ। पटलक पार्टीको रोचक एक अर्को तथ्य पनि छ। भोजमा खाएर बाँकी रहेको खाने सामान जसले ल्याएको हो उसैले त्यो खाने समाना फिर्ता लग्नुपर्छ। यसरी भोजको आयोजकले भोज गर्न आर्थिक भार वहन गर्नुपर्दैन नै, साथै सरसफाइ (बाँकी रहेको खाना फाल्ने र भाँडा सफा गर्ने कार्य) पनि गर्नुपर्दैन।
    हामी हाम्रा सामाजिक व्यवहारहरूमा सुधार ल्याएर पनि आर्थिकरूपमा सम्पन्न हुन सक्छौं। आर्थिकरूपमा सम्पन्न हुन नसके तापनि हाम्रो आर्थिक जीवन सरल पार्न सक्छौं।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, December 20, 2019

Friday, December 13, 2019

How To Control Production Costs in Nepal? Article-256


आइकिया: उत्पादन लागत नियन्त्रणको क्षेत्रमा चमत्कार

  ज्ञान, विज्ञान, साहित्य, सबै क्षेत्रमा हामी पश्चिमीहरूभन्दा निकै पछाडि छौं। अर्थशास्त्रको क्षेत्रमा त झनै पछाडि छौं। ‘हामीले हिमाल उठायौं एशियाको माझमा, सभ्यता बास बसेथ्यो आएर यही साँझमा’ भन्दै हामीले गर्व गरे तापनि हामीले न त हाम्रो हातले हिमाल उठाएको हौं, न त हामीले कुनै पुरानो सभ्यताको विकास नै गरेको हौं। हिमाल प्रकृतिले हामीलाई दिएको उपहार हो। हामीले हाम्रो परिश्रमद्वारा सृजना गरेको होइन। त्यस कारण हिमाल हामीसँग भएकोमा हामी खुशी हुन सक्छौं तर हिमाल केवल हाम्रो सृजना हो भनेर गर्व भने गर्न सक्तैनौं। त्यसैगरी, प्राचीन सभ्यताको विकास हाम्रो भूखण्डमा भएको भन्ने कुनै ऐतिहासिक तथ्य पनि हामीसँग छैन। न त मेसोमोटामियामा, न त रोमन, न त माया, न त इन्डस, कुनै पनि सभ्यताको विकास नेपालमा भएको थिएन। त्यस कारण नभएको कुरामा फुस्रो गर्व गर्नुहुँदैन। र, आउने पीढीलाई पनि फुस्रो गर्व गर भन्नुहुँदैन। जुन कुराको विकास हाम्रो सृजनाद्वारा भएको होइन, त्यसमा कसरी घमण्ड गर्नु? तर अचम्म! हामी घमण्ड गर्छौं र अनावश्यक गर्व गर्नु हाम्रो प्रवृत्तिजस्तो भएको छ। हामी घमण्ड गर्नमा बढी विश्वास गर्छौं, मौलिक सृजना गर्नुभन्दा। तर हामीले त्यसरी केवल फुस्रो गर्व वा घमण्ड गर्ने हो भने आउने पीढीले पनि कुनै मौलिक सृजना गर्ने छैनन्, केवल घमण्ड मात्र गर्नेछन्, हामीसँग यस्तो छ, त्यस्तो छ भनेर।
    हामी पश्चिमीहरूभन्दा ज्ञान, विज्ञान आदिको क्षेत्रमा पछाडि मात्र होइन, सयौं वर्ष पछाडि छौं भन्ने तथ्य हामीले विना कुनै विवाद स्वीकार गर्नुपर्छ। बरु ज्ञान, विज्ञान, अर्थशास्त्रको क्षेत्रमा हामी कसरी अगाडि बढ्न सक्छौं, नवनिर्माणका लागि विश्वमा हामी कसरी एक नम्बर हुन सक्छौं, त्यसबारे सोच्नुपर्छ, सदैव क्रियाशील हुनुपर्छ। केही रचनात्मक कार्य नगरी केवल हामीले हिमाल उचाल्यौं भन्नुको कुनै अर्थ छैन।
    यस आलेखमा भने अर्थशास्त्रको क्षेत्रमा हामी कति पछाडि छौं, त्यसबारे चर्चा गरौं। अफ्रिकाको केही भूभाग र एशिकाको दक्षिण क्षेत्र विश्वमा नै कृषिको लागि उत्तम क्षेत्र मानिन्छ। विश्वका त्यस्ता धेरै भूभाग छन्, जुन हिउँले वा बालुवाले पुरिएका (मरुभूमि) छन्। ती क्षेत्रहरूमा कुनै पनि किसिमको खाद्यान्न उत्पादन गर्न सकिंदैन। तर दक्षिण एशिया क्षेत्रमा वर्षमा तीन बाली सजिलै लगाउन सकिन्छ र गर्ने सके चार बाली पनि लगाउन सकिन्छ। तर अफसोच! यो क्षेत्रमा खाद्यान्नको ठूलो अभाव छ। खाद्यान्न, फलफूल, तरकारी महँगो छ। दक्षिण एशिया क्षेत्रमा त गरीब परिवारहरूले फलफूल नियमित खान पाउनु सपना हुन पुगेको छ। जबकि त्यस्तो नहुनु पर्ने हो। दक्षिण एशिया अन्न, फलफूल, तरकारीको भण्डार हुनुपर्ने हो। तर ज्ञानको अभावमा यो क्षेत्रको उत्पादकत्वको अधिकतम उपयोग गर्न सकिएको छैन।
    हाम्रो नेपालको सन्दर्भमा कृषि केवल निर्वाह हुन पुगेको छ। तराईको समतल भूभागमा उत्पादकत्व वृद्धि गरेर ठूलो मात्रामा अन्न, तरकारी, फलफूल उत्पादन गर्न सकिएको छैन। पहाडी क्षेत्रमा कृषिलाई व्यापक तुल्याउन सकिएको छैन। यी क्षेत्रहरूको समुचित उपयोग गर्ने हो भने अन्न, तरकारी, फलफूलको उत्पादन अभिवृद्धि गरेर बजारमा यी कुराहरूको आपूर्ति बढाउन सकिन्छ। आपूर्ति बढाएर महँगी कम पार्न सकिन्छ। नेपालमा महँगी बढ्नु र निर्वाह लागत (Living Costs)) खर्चिलो हुनुको प्रमुख कारण नै हामीले यथेष्ट मात्रामा उत्पादन गर्न नसक्नु र जीवनयापनका लागि आवश्यक पर्ने वस्तुहरूको मूल्य कसरी कम पार्न सकिन्छ त्यसबारे नसोच्नु हो।
    विदेशमा र खासगरी अमेरिका एवं पश्चिमी युरोपका देशहरूमा वस्तु वा सेवाको मूल्य कसरी कम पार्न सकिन्छ? उत्पादन एवं वितरण लागत कसरी कम पार्न सकिन्छ? यी कार्यहरू गरेर कसरी उपभोक्ताहरूलाई सस्तोमा वस्तु एवं सेवाहरू बिक्री गर्न सकिन्छ? यी कुराहरू थाहा पाउन नियमित किसिमले अध्ययन एवं अनुसन्धान गरिन्छ। उत्पादन एवं वितरणको क्षेत्रमा, लागत कम पार्नका लागि, वस्तु एवं सेवाको मूल्य कम पार्नका लागि नियमित किसिमले अध्ययन एवं अनुसन्धान गरिन्छ।
    हामीकहाँ लागत कम पार्नका लागि अध्ययन एवं अनुसन्धान गर्ने चलन नै छैन। यो कारणले गर्दा पनि हाम्रो देशमा महँगी जीवनको एउटा अभिन्न अङ्ग हुन पुगेको छ। जहिले पनि हामी महँगीको जाँतोमा थिचिएका हुन्छौं। हाम्रो मुद्राको क्रयशक्ति दिन प्रतिदिन घटिरहेको छ। हामीकहाँ एक रुपैयाँ (नेपाली मुद्राको सबैभन्दा सानो एकाइ) ले एक छाक पेटभरि खान पाउनु सपनाको कुरा हुन पुगेको छ। तर अमेरिका वा ब्रिटेनमा क्रमशः एक डलर वा पाउन्ड (त्यहाँका मुद्राको सबैभन्दा सानो एकाइ) मा एक छाक पेटभरि खान सकिन्छ। अर्थात् मुद्राको सबैभन्दा सानो एकाइले पनि एक छाकलाई पुग्ने खाद्य सामग्री खरीद गर्ने क्षमता राख्छ। यस्तो दुई कारणले गर्दा हुन सकेको हो। प्रथम त यी दुवै मुलुकहरूको आफ्नो उत्पादन अधिक छ, दोस्रो यी मुलुकहरूले उत्पादन लागत कसरी कम पारेर उपभोक्ताहरूलाई सस्तोमा वस्तु एवं सेवा बिक्री गर्न सकिन्छ भनी थाहा पाउन अध्ययन एवं अनुसन्धान नियमित किसिमले गर्छन।
    वस्तु एवं सेवाको मूल्यलाई कम पारेर र कम आय भएका उपभोक्ताहरूले पनि सजिलै खरीद गर्न सक्ने अवस्था सृजना गर्न एक उत्पादक, एक उत्पादन संस्थाले गरेको एक अति नै सराहनीय एवं चमत्कारी कार्यको चर्चा गरौं। त्यस्तो चमात्कारी कार्य आइकिया (IKEA) ले गरेको छ।
    सन् १९४३ मा युरोपेली राष्ट्र स्वीडेनमा स्थापना भएको यो (आइकिया) उत्पादन संस्थाले विभिन्न किसिमका फर्निचर, भान्साका सामान एवं घरेलु उपयोगका अनेक सामग्रीहरू उपत्पादन गर्छ । यसका संस्थापक, इङ्भार कमप्राड (Ingvar Kamprad) ले यो संस्थाको स्थापना सन् १९४३ मा गर्दा उनको उमेर केवल १७ वर्ष थियो। सत्र वर्षको उमेरमा कमप्राडले विश्वविख्यात संस्थाको सृजना गरेका थिए। यो संस्थाको सृजना उनले सस्तोमा सामग्रीहरू उपभोक्तालाई उपलब्ध गराउने सपनाबाट प्रेरित भएर गरेका थिए। अहिले आइकियाका बिक्री कक्षहरूको सङ्ख्या ४३३ रहेको छ भने यसको व्यापारिक कारोबार (बिक्री) ५२ देशमा फैलिएको छ। सन् २००८ देखि आइकियाले, फर्निचरको खुद्रा भण्डारमा, विश्वको सबैभन्दा ठूलो खुद्रा भण्डारको उपाधि पाएको छ। ब्लुम्बर्गले प्रकाशित गर्ने करोडपतिहरूको सूचकाङ्क अनुसार सन् २०१८ मा आइकियाका संस्थापक कमप्राड विश्वका आठौं अति धनी हुन पुगेका थिए। संसारभरिमा फर्निचर निर्माणका लागि प्रयोग हुने कुल काठमध्ये आइकियाले विभिन्न किसिमका सामग्री (फर्निचर) हरू तयार पार्न १ प्रतिशत काठ प्रयोग (खपत) गर्छ। सन् २०१८ मा विश्वभरि छरिएका यसका बिक्री कक्षहरूबाट ४४.६ बिलियन डलर (अमेरिकी) का सामग्रीहरू बिक्री भएका थिए। अमेरिकाका विभिन्न शहरहरूमा पनि आइकियाका बिक्री कक्षहरू देख्न सकिन्छ। कम आय भएका उपभोक्ताहरूमाझ आइकियाका सामग्री (विशेषगरी फर्निचर) हरू निकै लोकप्रिय छन्।
    आइकियाले आफ्ना ग्राहकहरूलाई मुख्यगरी फर्निचर सस्तोमा उपलब्ध गराउँछ। उपभोक्ताहरूलाई सस्तोमा फर्निचरहरू उपलब्ध गराउने आइकियाको व्यापारिक रणनीति (Business Strategies) विशेष किसिमको छ। आइकियाले आफ्ना बिक्री कक्षहरूमा तयारीको अवस्थामा फर्निचर राखेको हुँदैन। केवल प्रदर्शन गर्ने (Demo) फर्निचरहरू मात्र तयारीको अवस्थामा राखेको हुन्छ। बाँकीका फर्निचरहरू अर्धतयारी (Ready-to-Assemble) अवस्थामा हुन्छन्। ग्राहकहरूले प्रदर्शनका लागि राखिएका फर्निचरहरू हरेर रङ्ग, आकार, डिजाइन आदि विचार गरेर खरीद निर्णय गर्नुपर्छ। अर्थात् ग्राहकहरूले अर्धतयारी अवस्थामा खरीद गर्नुपर्छ। घर लगेर उक्त अर्धतयारीको अवस्थामा रहेको फर्निचर ग्राहक आफैले तयार (Assemble) गर्नुपर्छ। तर कसरी तयार पार्ने भनी निर्देशन पुस्तिका र सानातिना औजारहरू आइकियाले सामानसँगै ग्राहकलाई उपलब्ध गराएको हुन्छ।
    यसरी अर्धतयारी अवस्थामा रहेको सामान खरीद गरेर त्यसलाई आफैले पूर्णता (आफ्नो श्रम लगानी गरेर) दिएर ग्राहकले सस्तोमा सामान खरीद गर्ने अवसर पाउँछ भने अर्कोतिर अर्धतयारीको अवस्थमा वस्तुहरू उत्पादन गरेर, उत्पादन लागत जोगाएर, आइकियाले ग्राहकहरूलाई सस्तोमा सामानहरू बिक्री गर्न सक्ने क्षमता प्राप्त गर्छ।
    यस किसिमको व्यापारिक रणनीति प्रयोग गरेर आइकिया संसारमा नै सस्तोमा फर्निचर बिक्री गर्ने संस्थाहरूको माझ अग्रपङ्क्तिमा छ। पूर्ण तयारीको अवस्थामा उसले फर्निचर बिक्री गर्ने गरेको भए निश्चय पनि ती फर्निचरहरू महँगा हुने थिए। यसको विपरीत ग्राहकहरूलाई नै केही काम (Assembling Jog) दिएर आइकियाले फर्निचरको मूल्य सस्तो पार्ने कार्य गरेको छ। यस किसिमको अवधारणा (ग्राहकले वस्तुलाई पूर्णता दिने सोचाइ) आफैमा ठूलो बौद्धिक सृजना हो। आइकियाको यो चमत्कारी बौद्धिक सृजनाले गर्दा कम आय भएका व्यक्तिहरू पनि विभिन्न किसिमका फर्निचरहरू खरीद गर्न सक्षम भएका छन्। अर्कोतिर, अर्धतयारी अवस्थाका फर्निचरहरू निर्माण गरेर आइकियाले ठूलो मात्रामा उत्पादन लागत कम पार्न सकेको छ। र, कम पार्न सकेको उत्पादन लागतलाई उत्पादित वस्तुहरूको मूल्य कम पार्नमा प्रयोग गरेको छ। यो न हो सफल व्यापारिक बुद्धि! सफल बजार रणनीति! ज्ञान र त्यसको सफल उपयोग!
    आइकियाले अर्को किसिमको फाइदा पनि प्राप्त गरिरहेको छ। त्यो के हो भने उसका फर्निचरहरू कम मूल्य (प्रतिस्पर्धीहरूको भन्दा) का र सस्तो भएकाले ठूलो परिमाणमा विश्वभरि नै बिक्री भइरहेका छन्।
    हामीकहाँको व्यापारिक अवधारणा निकै पृथक छ। व्यापारीहरू आफ्नो वस्तुको चर्को मूल्य राखेर, बढी मुनाफा लिएर, छोटो समयमा नै अरबपति हुने लक्ष्य राख्छन्। न त मूल्य कम पार्ने प्रयास गर्छन्, न त कसरी मूल्य कम पार्न सकिन्छ भनी अध्ययन र अनुसन्धान नै गर्छन्। मारमा भने ग्राहकहरू परेका छन्, जहिले पनि महँगीको चपेटामा छन्। हामीसँग साधनहरूको पर्याप्तता छ। कमी छ भने ज्ञानको। र, ज्ञान उपयोग गर्ने तत्परताको।
    एउटै सडकलाई एकचोटि खानेपानीका लागि खन्छौं, फेरि पुर्छौं। त्यही सडकलाई फेरि नालाका लागि खन्छौं, फेरि पुर्छौं। फेरि त्यही सडकलाई फोनका लागि फेरि खन्छौं, फेरि पुर्छौं। फेरि बिजुलीका लागि खन्छौं, पुर्छौं। यसरी एउटै सडकलाई चार/पाँच चोटि खन्छौं र पुर्छौं अनि भन्छौं हामी ज्ञानको क्षेत्रमा अगाडि छौं।
    त्यस कारण हामीसँग पर्याप्त बुद्धि र ज्ञान छ भन्ने घमण्ड छोडौं। रचनात्मक सोंचको विकास कसरी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिऔं।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 13, 2019

Friday, December 6, 2019

Economic Importance of Gadhimai Mela-Article-255


गढीमाई मेलाः अन्तरिक पर्यटनको प्रचुर सम्भावना

मध्यतराई र खासगरी बारा, पर्सा र रौतहट जिल्लामा अहिले गढीमाई मेला होइन, गढीमाई महोत्सव चलिरहेको छ। गढीमाईमा बलियो आस्था राखेर बलि दिने भक्तहरू मात्र होइन, केवल मेला हेर्ने उद्देश्य मात्र भएका दर्शकहरू पनि हजारौंको सङ्ख्यामा अहिले बारा जिल्लाको बरियापुर गाउँस्थित गढीमाईमा प्रत्येक दिन पुगिरहेका छन्। प्रत्येक पाँच वर्षमा लाग्ने यो मेलालाई वस्तु एवं सेवाका विक्रेताहरूले पनि एक ठूलो ‘व्यापारिक अवसर’को रूपमा लिएका छन्। यो मेला अवधिभरमा कति कमाउने, कति नाफा गर्ने लेखाजोखा गरिरहेका छन्। व्यापारीहरूको लागि पनि यो एक ठूलो ‘व्यापार मेला’ हुन पुगेको छ। विभिन्न क्षेत्रमा विभिन्न किसिमका आर्थिक क्रियाकलापहरू हुनुपर्छ भन्ने दृष्टिकोणले भन्नुपर्दा पनि धार्मिक उद्देश्यका साथ गढीमाई क्षेत्रमा लाखौंको सङ्ख्यामा व्यक्तिहरू अहिले जम्मा हुनु असल कुरा हो।
    यो मेला सँगसँगै एउटा विवाद पनि चलिरहेको छ। पशु अधिकारवादीहरूले यस मेलामा पशुहरूको विभत्स किसिमले गरिने क्रुर हत्याको चर्को विरोध गरिरहेका छन् भने बलिमा विश्वास गर्नेहरूले संसारका प्रत्येक देशमा मासुको लागि ठूलो सङ्ख्यामा पशुहरूको वध हुने भएकोले बलिप्रथाबारेमा तर्क गर्नु अनावश्यक भनिरहेका छन्। हुन पनि पश्चिमी देशहरूमा मासु नै प्रमुख आहार हुने गरेको र प्रत्येक किसिमको खानामा केही न केही मात्रामा मासुको अंश रहने गरेकोले ती देशहरूमा प्रत्येक दिन भोजनका लागि नै भनेर ठूलो सङ्ख्यामा पशु, पक्षी एवं जलचरहरूको हत्या हुने गर्दछ। यस अर्थमा बलिमा विश्वास राख्नेहरूको तर्क सही देखिन्छ। तर गढीमाईको मेलामा जुन किसिमले पशुहरूको वध गरिन्छ, त्यसलाई उचित मान्न भने सकिंदैन। रोगी, निर्धो हिंड्न नसक्ने, घाइते अवस्थामा रहेका पशुहरूलाई सार्वजनिकरूपमा वध गर्नुलाई हामी चेतनाका धनी मानवप्राणी, जोसँग दया र ममता नामको भावना छ, ले कसरी उचित मान्न सक्छौं?  बालकहरू, जसका मानसिक अवस्था कमजोर हुन्छन्, ले त्यसरी विभत्स किसिमले काटमार (वध) गरेको देखेर के सोच्नेछन् होला? यस्तो दृश्य देखेर उनीहरूमा कुन किसिमको मनोविज्ञान निर्माण हुने होला? यी गम्भीर प्रश्नहरू हुन्। त्यस कारण मूल मेलास्थलदेखि केही पर एक सुरक्षित एवं स्वस्थ वधशाला भवनको निर्माण गर्नुपर्ने र त्यो वधशालामा केवल वयस्क (१६ वर्षभन्दा माथिका) व्यक्तिहरूलाई मात्र प्रवेश गर्न दिने व्यवस्था हुन अति आवश्यक छ। यस्तो गरिएमा यो मेलाको ऐतिहासिक महत्वको संरक्षण पनि गर्न सकिन्छ साथै यस मेलामा हुने काटमारलाई पनि व्यवस्थित गर्न सकिन्छ। साथै बलि दिनेहरूले पनि पशुहरूको स्वास्थ्यबारे विचार गर्नुपर्छ।
    यस मेलासँग जोडिएको विवादित विषय ‘काटमार र पशु अधिकार”लाई थाती राखेर हामी यस मेलाको आर्थिक महत्वको बारेमा चर्चा गरौं।
    आर्थिक महत्वको हिसाबले हेर्दा यो मेलाको सर्वाधिक कमजोर पक्ष हामीले यो मेला लाग्ने स्थललाई एक धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न नसक्नु हो। केवल प्रत्येक पाँच वर्षमा लागेको मेलामा लाखौंको सङ्ख्यामा भक्त र दर्शकहरू यस स्थलमा जम्मा हुन्छन्, त्यसपछि बाँकीको समयमा यो स्थान
(गढीमाई क्षेत्र) मा कुनै पनि किसिमको व्यापारिक गतिविधि वा चहलपहल हुँदैन। विभिन्न किसिमका आर्थिक कारोबार (होटल एवं लज सञ्चालन, वस्तु खरीद–बिक्री, मनोरञ्जनात्मक क्रियाकलापहरू, धार्मिक यज्ञ वा अनुष्ठान) हुँदैनन्। प्रत्येक पाँच वर्षमा मेला लाग्दा लाखौंको सङ्ख्यामा व्यक्तिहरू मेलामा आउने तर नियमित किसिमले वा प्रत्येक दिन पटक्कै नआउने भन्ने हुनै सक्तैन। यदि व्यवस्थित किसिमले गढीमाई क्षेत्रलाई एक वृहत् धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने हो भने यस क्षेत्रमा प्रत्येक दिन सयौंको सङ्ख्यामा धार्मिक पर्यटकहरू आउनेछन्। प्रत्येक दिन लाखौं रुपैयाँको व्यापारिक कारोबारहरू हुनेछन्। सयौं व्यक्तिहरूले रोजगार पाउनेछन्। यस क्षेत्रमा नयाँनयाँ रोजगारका अवसरहरू सृजना हुनेछन्। यो क्षेत्रको आर्थिक समृद्धि बढ्नेछ। तर हामीले त्यस्तो गर्न सकेका छैनौं। यस क्षेत्रलाई केवल काटमार गर्ने क्षेत्रको रूपमा मात्र विकास गर्दै लगेका छौं। जबकि यस क्षेत्रमा धार्मिक पर्यटन विस्तार गर्न सकिने अपार सम्भावनाहरू छन्। भारतको उत्तराखण्डस्थित हरिद्वारमा प्रत्येक दिन हजारौंको सङ्ख्यामा धार्मिक पर्यटकहरू जान्छन् भने गढीमाईमा पनि प्रत्येक दिन हजारौंको सङ्ख्यामा पर्यटकहरू नआउने प्रश्न नै उठ्दैन। निश्चितरूपले आउनेछन् यदि यस क्षेत्रलाई एक व्यवस्थित किसिमले धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्ने हो भने।
    हामीसँग पर्याप्त साधन र स्रोतहरू छन्, तर हामीले तिनको व्यवस्थित किसिमले विकास एवं उपयोग गर्न सकेका छैनौं। यो भनाइको पुष्टि गर्ने ज्वलन्त उदाहरणको रूपमा गढीमाई क्षेत्रलाई नै लिन सकिन्छ। यस्तो हुनुको कारण छ। हामी प्रत्येक क्षेत्रको विकासको लागि प्रमुख जिम्मेवार पक्ष सरकारलाई देख्छौं अनि केन्द्रीय वा क्षेत्रीय सरकारको मुख ताक्छौं। तर यस किसिमका क्षेत्रहरूको विकास गर्ने प्रमुख अभिभारा स्थानीय बासिन्दाहरूको हो। उनीहरूको सक्रिय प्रयासले मात्र यस्ता क्षेत्रहरूको विकास हुन सक्छ। यस क्षेत्रको आम्दानी पनि यस क्षेत्रको विकासमा खर्च गर्नुपर्छ र यस क्षेत्रको विकासमा यस क्षेत्रका बासिन्दाहरू नै सक्रिय हुनुपर्छ। विकासको यो नै मूल मन्त्र हो।
    नेपालमा कृषियोग्य भूमि ज्यादै कम छ। हाम्रो ठूलो भूभाग हिमाल एवं पहाडले ढाकेको छ। कृषियोग्य भूमिको रूपमा रहेको तराईमा पनि जनघनत्व बढी भएकोले यहाँको क्षेत्रको ठूलो हिस्सा केवल बसोबासमा उपयोग भएको छ। गाउँ र शहरहरूको विस्तार भएर तराईमा कृषियोग्य भूमिको आकार सानो हुँदै गएको छ। तराईको उत्पादन (धान, गहुँ, मकै )ले तराईका व्यक्तिहरूलाई नै पनि खान नपुग्ने स्थिति सृजना भएको छ। र, अर्कोतिर तराईका बहुसङ्ख्यक व्यक्तिहरूको आयको स्रोत केवल कृषि नै हुन पुगेको छ। यस्तो अवस्थामा हामीले पर्यटनको विकासमा जोड दिन अति आवश्यक छ। नेपालजस्तो सानो र कम कृषियोग्य भूमि भएको राष्ट्रको लागि प्रमुख आयको स्रोत पर्यटन हुन आवश्यक छ। हामीले पर्यटनलाई अधिक महत्व दिनुको विकल्प छैन। यो कारणले पनि हामीले तराई क्षेत्रमा पर्यटनका सम्भावना बोकेका क्षेत्रहरूको खोजी एवं प्रयोग गर्न आवश्यक छ। कृषिप्रतिको अतिनिर्भरता बिस्तारै कम पार्दै लान आवश्यक छ। हामी कृषिप्रति अति नै निर्भर भएकाले हामीले बेरोजगारी समस्या झेल्नुपरेको र लाखौंको सङ्ख्यामा युवायुवतीहरू रोजगारका लागि खाडीका देशहरूमा पुग्नुपरेको छ। तर नेपालमा पर्यटन र उद्योगको विकास एवं विस्तार गरेर देशभित्र नै रोजगारका अनेकौं अवसरहरू सजिलै सृजना गर्न सकिन्छ। युवायुवतीहरूलाई रोजगारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ।
    गढीमाई यस क्षेत्रको ठूलो धार्मिकस्थल भएकोले यस क्षेत्रमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको तथ्यलाई नकार्न सकिंदैन। बरियारपुर र वरपरका बासिन्दाहरूले प्रान्तीय सरकारसँग समन्वय गरी यस क्षेत्रलाई एक व्यवस्थित किसिमको धार्मिक क्षेत्रको रूपमा विकास गर्न ढिलो गर्नुहुँदैन। यस क्षेत्रका बासिन्दाहरूले यति राम्रो व्यापारिक अवसर गुमाउनुहुँदैन। र, यो क्षेत्रलाई हरेक पाँच वर्षमा केवल एकपटक काटमार गर्ने क्षेत्रको रूपमा मात्र परिचित गराउनुहुँदैन।
    हाम्रो धार्मिक चिन्तन जति सक्रिय छ, त्यति आर्थिक चिन्तन सक्रिय छैन। आर्थिक चिन्तनको क्षेत्रमा हामी पश्चिमीहरूभन्दा सयौं वर्ष पछाडि छौं। यस्तो स्थिति भएर नै हामी ‘लुगा भएर नाङ्गो, अन्न भएर भोको र औषधि भएर बिरामी’को स्थितिमा छौं। हामीसँग पर्याप्त स्रोत र साधनहरू छन् तर हामीले तिनको उपयोग गर्न सकेका छैनौं। यो कारणले गर्दा नै हामी गरीब छौं। साधनविहीन भएर होइन, चिन्तनविहीन भएर हामी गरीब भएका हौं।
    दक्षिण एशियाली क्षेत्र आर्थिकरूपमा समृद्ध क्षेत्र हो। यस्तो भएको हुनाले नै यहाँका स्रोत र साधनहरू हात पार्न अङ्ग्रेजहरू भारतमा आजभन्दा सयौं वर्ष पहिले पसेका थिए। तर अङ्ग्रेजहरू पहिले प्रवेश गरेको क्षेत्र भने बर्मा (हाल म्यानमा) हो। बर्माभन्दा पनि राम्रो आर्थिक फाइदा भारतमा हुने भएकोले अङ्ग्रेजहरू बर्माबाट भारत आएका थिए। तर हामी, दक्षिण एशियालीहरूले आफूसँग भएका साधनहरूको पनि फाइदाजनक किसिमले उपयोग गर्न सकेका छैनौं। दक्षिण एशियालाई विश्वमा नै आर्थिकरूपमा समृद्ध क्षेत्र मानिन्छ। यहाँ वर्षभरिमा नै अनेक किसिमका बाली लाग्ने गर्छ।
    गढीमाई परिसर यस क्षेत्रको लागि ठूलो आयको स्रोत बन्न सक्छ। प्रत्येक दिन तीर्थालु एवं धर्मभीरुहरू मात्र होइन, धार्मिक पर्यटकहरू पनि हजारौंको सङ्ख्यामा आउन सक्छन्। यो स्थितिलाई एक व्यापारिक अवसरको रूपमा प्रयोग गर्ने हो भने यहाँ अनेकौं रोजगार सृजना गर्न सकिन्छ। तर त्यस्तो केही पनि नगर्ने हो भने यो स्थल केवल एक “भाकल” पूरा गर्ने तथा ‘मारकाट’ मात्र हुने स्थलको रूपमा परिचित हुनेछ। त्यस कारण गढीमाईको धार्मिक महत्व अभिवृद्धि गर्न नै पनि यस क्षेत्रको व्यवस्थित किसिमले विकास गर्नु आवश्यक छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित Friday, December 6, 2019