सुदूर र बिकट
क्षेत्रहरुमा उच्च शिक्षा
कुनै पनि मुलुकको
आर्थिक विकास गर्नका लागि विभिन्न किसिमका पूर्वाधारहरुको आवश्यकता पर्दछ। यातायात,
ऊर्जा, अस्पताल, खानेपानी व्यवस्था, सरकारी भवन, पुल, विमानस्थल, शिक्षा (विद्यालय
एवं विश्वविद्यालयहरु), संचार, बैंकिक सेवा, भूमि आदि यस्ता पूर्वाधारहरु हुन जसले
कुनै पनि देशको आर्थिक एवं सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका हुन्छन्।
धनी मुलुकहरुको आर्थिक विकासको इतिहास हेर्ने हो भने तीन किसिमका पूर्वाधारहरुले
ती मुलुकहरुको आर्थिक विकासमा विशेष योगदान पुर्याएको देखिन्छ। ती तीन
पूर्वाधारहरु हुन- यातायात, शिक्षा र ऊर्जा। अझै ऊर्जा र यातायातले त आर्थिक
विकासको मेरुदण्डको रुपमा काम गरेको देखिन्छ। औद्योगिक विकास गर्न, ठूलो परिमाणमा
वस्तुहरु उत्पादन गर्न ऊर्जाले सहयोग पुर्याएको देखिन्छ भने उत्पादित वस्तुहरुलाई
विभिन्न बजारहरुसम्म पुर्याउन यातायात
व्यवस्थाले सहयोग पुर्याएको देखिन्छ। नेपाल जस्तो विकासशील मुलुकले पनि राष्ट्रको
आर्थिक विकास द्रुततर गतिमा गर्नका लागि यी तीन पूर्वाधारहरुको विकासमा जोड दिनु आवश्यक
देखिन्छ।
यस लेखमा भने नेपाल
जस्तो गरिब मुलुकले कम लागतमा कसरी मुलुक भरि उच्च शिक्षा विस्तार गरेर बढी भन्दा
बढी नागरिकहरुलाई उच्च शिक्षा प्रदान गर्न सक्छ र
उनीहरुमा खास किसिमका सिपहरुको विकास गर्न सक्छ त्यस बारे चर्चा गर्न खोजिएको छ।
नेपालको अधिकांस
भूभाग पहाडहरुले ढाकिएका छन्। बिकट पहाडहरुमा फैलिएका गाउँहरुमा सँजिलै सडक
पुर्याउन सकिंदैन। लागत र बिकटता दुबै कारणहरुले गर्दा ती गाउँहरुमा सडक पुर्याउन
कठिन छ। तराइका सबै गाउँहरुमा पनि सडक सुविधा विस्तार गर्न सजिलो छैन्। सीमित भूमि
र उच्च लागत ले गर्दा तराइका गाउँहरुमा पनि खोजेको आकारमा सडक सुविधा विस्तार गर्न
गार्हो छ। यसरी, दूर्गम गाउँहरुमा सडक सुबिधा सुबिधा बिस्तार गर्न सजिलो नभएकोले
ती गाउँहरुमा उच्च शिक्षा विस्तार गर्न गार्हो छ। त्यहाँ कलेजहरु संचालन गर्न कठिन
छ। यी कारणहरुले गर्दा दूर्गम ग्रामिण क्षेत्रका बासिन्दाहरुले सहज किसिमले उच्च
शिक्षा पाउन सकिरहेका छैनन्।
आधुनिक प्रविधिको
प्रयोग गरेर पहाड र तराइका दूर दराजमा रहेका विभिन्न गाउँहरुमा पनि उच्च शिक्षा
पुर्याउन सकिन्छ। इन्टेरनेटको सहयोग लिएर भिडियो क्यामराद्वारा ती गाउँहरुमा उच्च
शिक्षा सजिलै उपलब्ध गराउन सकिन्छ। त्यस्ता गाउँहरुलाई पनि सहरहरुमा उपलब्ध रहेका
उच्च शिक्षा सुबिधा सँग जोड्न सकिन्छ। साना,
ठूला सहरहरुमा रहेका विभिन्न कलेजहरुलाई भिडियो क्यामराहरुको माध्यमद्वारा विभिन्न
गाउँहरुमा रहेका विद्यार्थीहरु सँग जोड्न सकिन्छ। विद्यार्थीहरुलाई, उनीहरुकै वा
नजिकको गाउँमा, शिक्षकहरुको अनुपस्थितिमा नै, इन्टरनेटको माध्यमद्वारा उच्च शिक्षा
प्रदान गर्न सकिन्छ। विद्यार्थीहरुले सस्तोमा, आफ्नो घरमा नै बसेर उच्च शिक्षा
प्राप्त गर्न सक्छन। अर्कोतिर उच्च शिक्षालाई सस्तो र सुलभ तुल्याउन पनि सकिन्छ।
यस्तो गर्न सकिएमा कमजोर आर्थिक स्थिति भएका विद्यार्थीहरु, जो गरिबीको कारणले
गर्दा सहरमा गएर वा आफ्नो घरमा गरि रहेको काम छाड्न नसकेर उच्च शिक्षा हासिल गर्नबाट
बंचित छन्, ले सस्तोमा उच्च शिक्षा प्राप्त गरेर आफूमा खास किसिमको सिपको विकास
गर्न सक्छन्। नेपाल जस्तो गरिब मुलुक, जहाँ गरिबी र भौगोलिक बिकटताको कारणले गर्दा
उच्च शिक्षा महँगो छ, मा पनि इन्टरनेटको माध्यमद्वारा उच्च शिक्षा त्यस्ता बिकट
गाउँहरुमा पनि सहजै पुर्याउन सकिन्छ। अर्कोतिर, गाउँहरुमा पनि शिक्षा सेवाको
विस्तार गरेर सहरतिर पलयान हुने जनशक्तिलाई गाउँहरुमा नै रोक्न सकिन्छ।
अहिलेको, यो
व्यापारिक युगमा इन्टरनेटलाई केवल मनोरंजनका लागि मात्र उपयोग गर्नु ठीक होइन।
यसलाई उच्च शिक्षा प्रदान गर्नका लागि पनि अधिक्तम किसिमले प्रयोग गर्न सकिन्छ।
नेपालमा इन्टरनेटको प्रयोग बढी मात्रामा मनोरंजन एवं संचारका लागि मात्र भएको पाइन्छ।
शिक्षाको क्षेत्रमा भने इन्टरनेटको प्रयोग व्यापक मात्रामा हुन सकेको छैन।
कुनै सहरमा रहेको एक
कलेजको कक्षा कोठामा कुनै प्राध्यापकले दिइ रहेको लेक्चर (पठ्न सामाग्रीहरु) लाई
इन्टरनेट र भिडियो क्यामराको माध्यमद्वारा ठीक त्येही समयमा सयौं विद्यार्थीहरु
सम्म पुर्याउन सकिन्छ। यसरी, एक प्राध्यापकले एकै समयमा, भौगोलिक रुपमा विभिन्न
स्थानहरुमा छरिएर रहेका सयौं विद्यार्थीहरुलाई अध्यापन गर्न सक्छ। सहर वा एकै
स्थानमा बसरे एक प्राध्यापकले एउटै समयमा सयौं विद्यार्थीहरुलाई पढाएर उच्च
शिक्षालाई कम खर्चिलो वा सस्तो तुल्याउन सक्छ। यसरी आधुनिक प्रविधिको उपयोग गरेर
शिक्षाको क्षेत्रमा देखिएको भौगोलिक बिकटताको समस्यालाई निकै कम पार्न सकिन्छ।
विभिन्न गाउँहरुले सहरहरुमा रहेका कलेजहरुसँग समन्वय गरेमा वा विभिन्न कलेजहरुले
आफ्नो सेवा गाउँहरुमा विस्तार गरेमा सहजै किसिमबाट गाउँहरु उच्च शिक्षा सुविध कम
खर्चमा पुग्न सक्छ।
कुनै पनि मुलुकको
आर्थिक एवम् सामाजिक विकासमा शिक्षाले कति महत्वपूर्ण भूमिका खेल्दछ भन्ने कुरा
धनी मुलुकहरुले गरेको प्रगतिबाट थाहा पाउन सकिन्छ।
शिक्षाले कुशल
जनशक्ति उत्पादन गर्नमा सघाउ पुर्याउँछ नै जीवन यापनका लागि आवश्यक पर्ने उपयोगी
चेतनाको विकास गर्नमा पनि उत्तिकै सघाउ पुर्याउँछ। रुढिवादी विचार, अन्धविश्वास,
दाइजो प्रथा, अनावश्यक परम्परा, कुरिति अदि जस्ता समाजलाई उल्टो दिशातर्फ
डोर्याउने तत्वहरु अशिक्षा एवं अज्ञानताको जगमा खडा भएका हुन्छन्। गाउँ गाउँमा वा
देशको कुना कुनामा शिक्षा पुर्याएर, शिक्षालाई सुलभ र सस्तो तुल्याएर, समाजलाई
उल्टो दिशा तर्फ डोर्याउन तत्वहरुलाई निर्मुल गर्न सकिन्छ। विश्वका विभिन्न
मुलुकहरुलाई गरिब तुल्याउनमा, सामाजिक विकासको गतिलाई अति सुस्त पार्नमा अशिक्षा,
अज्ञानताले ठूलो भूमिका खेलेको सहजै देख्न सकिन्छ। अफ्रिका विभिन्न मुलुकहरुमा
हुने निरन्तरको गृह युद्ध, जतीय द्वन्द, राजनैतिक संकट, धार्मिक हिंसा,
साम्प्रदायिक नरसंहार आदिले यस तथ्यको पुष्टि गर्दैन र?
विश्वराज अधिकारी
प्रतीक दैेनिकमा प्रकाशित Friday, December 5, 2014
No comments:
Post a Comment