Wikipedia

Search results

Friday, December 26, 2014

Knowledge and Wisdom: Fundamentals of Economic Development-Article-154

ज्ञान: आर्थिक विकासको आधारशीला

पूर्वमा अपार ज्ञान थियो तर त्यो ज्ञानको व्यवहारीक उपयोग गरिएन। पश्चिममा वल र पराक्रम थियो र त्यो बल र पराक्रमको व्यवहारीक प्रयोग गर्दै जाँदा विशिष्ठ ज्ञान प्राप्त भयो। पूर्व र पश्चिमको आर्थिक विकासको इतिहास केलाउने हो भने यी दुई तत्वहरु- ज्ञान र बललाई केन्द्रमा राख्नु पर्ने हुन्छ।
पूर्वले आफ्नो प्रत्येक महत्वपूर्ण ज्ञानलाई न त लिपिवद्ध गर्यो न त बाँड्यो नै। पश्चिमले आफ्नो प्रत्येक ज्ञानलाई लिपिवद्धद मात्र गरेन साथै त्यो ज्ञानलाई सम्वन्धित व्यक्तिहरुसम्म पुर्याउन एक अशल व्यवस्थाको विकास पनि साथ साथै गर्यो।  पूर्वले आफ्नो ज्ञानको प्रचुर मात्रामा उपयोग र लिपिवद्ध नगरेकोले क्रमिक रुपमा त्यसमा ह्रास आउने सिलसिला सुरु भयो जवकि पश्चिमले प्रचुर उपयोग र लिपिवद्ध गरेकोले ज्ञानको वृद्धि मात्र भएन, प्रत्येक कार्यमा त्यसको उपयोग हुन थाल्यो। बललाई ज्ञानले विस्थापित गर्दै लग्यो।
पश्चिममा कुनै कुराको आविष्कार कसैले गर्दा के कस्ता तरीकहरु प्रयोग गर्नु पर्यो, त्यो आविष्कारमा कुन कुन व्यक्तिहरुको संलग्नता थियो, अविष्कारका लागि के कस्ता कार्यहरु कति समयसम्म गरियो, आविष्कार गर्दा के कस्ता समस्या एवं चुनौतिहरु आए जस्ता विषयहरुलाई लिपिवद्ध गरियो। समग्रमा, त्यो अविष्कारबाट के कस्तो ज्ञान र अनुभव प्राप्त गरियो भन्ने कुरालाई महत्वकासाथ लेखेर राखियो। तर पूर्वमा, उदाहरणका लागि एक बैध जीले वर्षौ लगाएर कुनै खास रोग निको पार्ने कुनै विशेष औषधीको विकास गरे तर ती वैध जीले न त त्यस बारेम कुनै व्यवस्थित अभिलेख नै राखे न त आफ्नो त्यो ज्ञान बाँड्न का लागि कुनै कार्य नै गरे। पछि, कालान्तरमा बैध जीको मृत्यु भए पछि बैध जीको त्यो अति महत्वपूर्ण ज्ञान पनि उनको मृत्युसँगै गयो। वैध जीको ज्ञान उनको मृत्यु पछि जन उपयोगी हुन सकेन। पूर्वले यसरी अति मूल्यवान आफ्ना ज्ञानहरु उपयोग र विस्तार गर्न नसकेको उदाहरण अन्गिन्ति छन्।
पूर्वले आफ्नो ज्ञानलाई भाग्यको घेरा भन्दा बाहिर आउन दिएन। धनी हुनु व्यक्तिको ज्ञान एवं वुद्धिको असल उपयोगको परिणाम हो भन्ने कुरालाई न मानेर धनी हुनुलाई भाग्यसँग जोड्यो र गरिबहरुलाई गरिबीबाट मुक्ति पाउन संघर्ष गर्न सिकाउनको साटो तिमी गरीब तिम्रो भाग्यले गर्दा भएको भन्ने भन्यो। विद्वान हुनु वा तथाकथित उच्च कुल खानदानमा जन्मिनु भाग्यको खेलको परिणाम हो भन्यो। विद्वता एवं उच्च शिक्षा प्राप्तिलाई पनि भाग्य सँग नै जोडेर हेर्यो।
मानव सभ्यता विकासको इतिहास हेर्दा, पूर्वमा कुनै गंभिर रोगले मान्छेहरु मर्न थाले भने त्यसरी मान्छेहरु मर्नुको कारण भगवान रिसाउनु भन्ने व्याखा गरेर भगवानलाई खुसी पार्न भाकल गर्ने, पशुहरुको बली चढाउने कामहरु भए। यसै गरी अनेक रोगहरुलाई भूत, प्रेत, डाइन, जोगिनको दुष्कार्यको परिणाम सम्झेर धामी, झांक्री देखाउने कार्यहरु भए। डाइन, जोगिन विद्या जान्ने व्यक्तिहरुले भूत प्रेत लगाइ दिएको भन्दै उनिहरुको त्यो विद्या समाप्त पार्न उनीहरुलाई मान्छेको मल मुत्र ख्वाउने घृणित कार्यहरु समेत भए।
अझै केही अवस्थाहरुमा, कुनै किसिमको मानवीय विपत्ति आइ पर्दा त्यसबाट मुक्त पाउन भगवानलाई खुसी पार्नु पर्दछ भन्ने विश्वास गर्दै भगवानलाई खुसी पार्न अनेक किसिमका उटपट्यांक कार्यहरु समेत भए।
तर पश्चिममा कुनै गंभिर रोग लागेर धेरै मान्छेहरु मर्न थाले पछि सर्व प्रथम त्यसरी धेरै मान्छेहरुलाई मार्ने त्यो रोगको बारेमा अध्ययन गर्ने कार्य भयो। त्यो घातक रोग के कारणहरुले लाग्ने रहेछ भन्ने थाहा पाउन ठोस प्रयासहरु भए। त्यस पछि, त्यो रोग निको पार्न, विभिन्न किसिमका अनुषन्धान एवं खोजहरु  गरेर औषधिको विकास गरियो। यही कारण होला जति पनि मानव जीवन रक्षा गर्ने औषधिहरु छन्, शल्यक्रिय प्रविधिहरु छन्, तिनको विकास वा आविष्कार पश्चिममा भएको पाइन्छ।
पश्चिममा, जुन समय (सन् १९२८ ) मा अलेक्जेण्डर फ्लेमिंगले पेन्सिलिनको आविष्कार गरि रहेका थिए, पूर्वमा बेक्टेरिका आक्रमणको सिकार भइ मृत्यु हुनेहरुलाई भगवानले स्वर्गमा बोलाएको भनेर आफ्नो  भाग्यलाई दोष दिनेहरुको विश्वासलाई बाँकी सबैले अनुशरण गर्नु पर्थ्यो। पूर्वले, बेक्टेरिकाको आक्रमणबाट हुने मृत्यलाई भाग्यको खेल मानिरहेको थियो र त्यसको बिरुदधमा केही गर्न अगाडि बढी रहेको थिएन भने पश्चिमले बेक्टेरियो आक्रमणबाट मृत्यु हुनेहरुलाई कसरी जोगाउन सकिन्छ, कुन औषधिले निको पार्न सकिन्छ भन्दै अन्वेषण थालेको थियो। बेक्टेरियाको आक्रमणबाट मुत्यु हुनेहरुको प्राण रक्षा गर्नका लगि अलेक्जेण्डर फ्लेमिंग (ब्रिटेन) ले पेन्सिलिन (ओषधि) को आविष्कार गरेका थिए। औषधिको जगतमा पेन्सिलिनलाई महान उपलब्धि मान्ने गरिन्छ। पेन्सिलिनले लाखौ लाख बिरामीहरुको जीवन रक्षा गरेको विश्वास गरिन्छ। पेन्सिलिनको प्रयोग अहिलेसम्म पनि भइ रहेको छ।
औषधि मात्र होइन, मानव जीवनलाई सरल पार्ने अनेक किसमका वस्तुहरु (रेल, हवाई जहाज, कम्प्युटर, टेलिभिजन, फोन, क्यामरा आदि) को विकास पश्चिममा भएको पाइन्छ। उत्पादन लागत घटाउन मेसिन र प्रविधिहरुको विकास पनि पश्चिममा नै भएको पाइन्छ। प्राय: जति पनि ठूला ठूला आविष्कार भएका छन् ती सबै पश्चिममा भएका छन्। पूर्वमा किन भएनन् ती ठूला ठूला आविष्कारहरु? उत्तर सरल छ। पूर्वले आफूसँग रहेको अपार ज्ञानको उपयोगमा जोड दिएन। कर्ममा होइन, भाग्यमा विश्वास गर्यो। पश्चिमले भने भाग्यलाई होइन कर्मलाई जोड दियो। पश्चिमले जीवन र जगतमा हुने हरेक क्रिया र कुराको व्याख्या खोज्यो। आकासमा बिजुली चम्के पछि के कति कारणले बिजुली चम्किन्छ, बिजुली चम्किनुको कारण खोज्यो। पूर्वले बिजुली चम्केको देख्यो। त्यसरी बिजुली चम्किनुलाई इश्वरको लिला मान्यो। बिजुली चम्किनुको कारण पत्ता लगाउन पट्टि लागेन। बिजुली त्यसरी चम्केको देखेर त्यसलाई भगवानको लिला मान्दै, त्यही बिर्सेर हिंड्यो। आफ्नो ज्ञानको उपयोग गर्न पट्टि लागेन। अनुषन्धान गर्न पट्टि लागेन।
पूर्वमा ज्ञानको भण्डार भए पनि त्यसको उपयोग भएन। धर्म शास्त्रहरु, जसले सीमाहीन ज्ञानहरु संग्रह  गरेका छन्, को उपयोग केवल परम्परागत पूजा आजामा मात्र भए। उदाहरणका लागि, गीतामा उल्लेख भएका जीवन र जगतका व्याख्याहरु केवल कुनै खास पूजा आजामा सुनाइने संस्कृत भाषाका स्लोकहरुमा सीमित हुन पुगे। जबकी यो जीवन र जगतलाई प्रष्टसँग बुझ्न सहयोग पुर्याउने अनेक ज्ञानहरु गीतामा पाउन सकिन्छ। मानव जीवन रक्षा गर्ने अनेक किसिमका पद्धतिहरुको विकास गर्न गीताले मार्ग दर्शन गराउँछ।
पूर्वले ज्ञानको विस्तार एवं विकासमा महत्व दिएन। उदाहरणका लागि, सून्यबाट व्यापार प्रारम्भ गरेको कुनै व्यक्ति पछि अरबौं रुपैयाको मालिक भयो, एक सफल व्यापारीको रुपमा परिचित पनि भयो तर त्यो व्यापारीले आफ्नो त्यो सफलताको रहस्य (विशेष ज्ञान) कसैलाई पनि भनेन। कुनै विश्वविद्यालयमा गएर आफ्नो ज्ञान बाँडेन। उसको मृत्युसँग सँगै उसको ज्ञान पनि मर्यो। जबकी उसँग भएको ज्ञान अति नै महत्वपूर्ण थियो किनभने त्यो ज्ञानले नै उसलाई धनाड्य बनाउनमा अहम् भूमिका खेलेको थियो। पूर्वामा ज्ञान बाँड्ने बलियो संस्कृतिको विकास हुन सकेन। कुनै एक सफल व्यापारी, कुनै एक कलेजमा व्यापार विषय पढाउने प्रोफेसर भन्दा, व्यापार विषयमा निकै अनुभवी हुन सक्छ भन्ने यथार्थलाई स्वीकार गरिएन।
यहाँ ज्ञानको प्रशंग यति महत्वका साथ किन उठाइएको छ भने ज्ञानको सम्बन्ध गरिबी संग छ। गरिबी बिरुद्धको लडाइमा ज्ञानले निकै सहयोग पुर्याउने गर्दछ। यो कुरा धेरै पटक चर्चा गरि सकियो कि व्यक्तिलाई धनले धनी तुल्याउने होइन। व्यक्तिलाई ज्ञानले धनी तुल्याउने हो। ज्ञानको अभावमा, कुनै एक व्यक्ति, आफूले प्राप्त गरेको अथाह पैतृक सम्मपत्ति एक वर्षमा नै समाप्त पारेर भिखारी हुन सक्छ। अर्कोतिर, ज्ञानको भरपूर उपयोग गरेर कुनै एक व्यक्ति शून्यबाट (व्यापार प्रारम्भ गरेर) अरबपति बन्न सक्छ।  ज्ञान (विद्या) अति नै महत्वपूर्ण भएकोले नै यसलाई यस किसिमबाट भनिएको होला। “न चौर हार्यम न च राज हार्यम। न भ्रात्रभाज्यम न च भारकारी।। व्यये कृते वर्धते नित्यं। विद्या धनं सर्वे धनं प्रधानम्।।” (भावार्थ: चोरी नहुने, राज्यले खोस्न न सक्ने, न त दाजु भाइ बीच अंश नै लाग्ने, बोक्न कठिन न हुने, जति खर्च गर्यो उति उति बढ्ने कुनै सम्पत्ति छ भने त्यो विद्या हो)।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, गरिबी बिरुद्धको लडाइमा ज्ञानको व्यापक उपयोग गर्न सकिन्छ। स्कूल एवं कलेजका विद्यार्थीहरुलाई व्यापारका नया नया विधिहरु कसरी विकास गर्ने बारे अनेक किसिमका ज्ञानहरु प्रदान गरेर उनीहरुलाई सानै देखि स्वावलम्बी हुन प्रेरित गर्नुका साथै स्वरोजगार श्रृजना गर्न सक्षम समेत पार्न सकिन्छ। यस किसिमको शिक्षा प्राप्त गरेर हुर्केका विद्यार्थीहरुले नया नया किसिमका व्यापारको विकास गरेर रोजगारी वृद्धि गर्न सक्छन्। भएकै व्यापारलाई प्रभावकारी किसिमले सम्पादन हुने तुल्याउन सक्छन्।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, December 26, 2014

No comments:

Post a Comment