नेताहरूले सिक्ने हो
कि प्रम ट्रुडोबाट!
आलेखको प्रारम्भ गरौ
क्यानाडाको प्रधानमन्त्री जस्टिन ट्रुडोबाट। ट्रुडो अहिले विश्वको नै नेता बन्ने तरखरमा छन्। सफल नेता बन्नका लागि
ज्यादै प्रचार प्रसारमा रहनु पर्दैन, केवल असल कार्यहरू गरे मात्र पुग्छ। अहिले
त्यस्तै असल कार्यहरू ट्रडोले गरिरहेका छन्। क्यानाभित्र मात्र होइन, बाहिर पनि।
बेइमान नेताले केवल
आफ्नो र परिवारको बारेमा मात्र सोंच्छ र राजनीतिलाई ‘मागीखाने’ भाँडो बनाउँछ। केवल
आफ्नो फाइदामा तल्लिन रहन्छ। व्यक्तिगत स्वार्थका लागि देश बेच्न पनि सक्छ,
सिक्किमको नेता लेण्डुप दोर्जेले आफ्नो देश भारतलाई बिक्री गरे झै।
स्वार्थी नेताले
केवल आफ्नो चुनाव क्षेत्रको बारेमा मात्र सोंच्छ। आफ्नो चुनावी क्षेत्रबाट विजय
हासिल गर्नु परेकोले उसले त्यस क्षेत्रको बारेमा सोंचेको नाटक, नौटंकी गर्छ। यथार्थमा
उसले आफ्नो चुनावी क्षेत्रको बारेमा सोंचेको भने हुँदैन। केवल राजनीति दाउको
बारेमा मात्र सोंचेको हुन्छ। निरन्तर।
संकिर्ण नेताले भने
जात, जाती, क्षेत्र, समुदाय, खास सिद्धान्तलाई “मुद्दा” बनाएर राजनीति गर्छ र त्यस
किसिमको संकिर्ण सोंचबाट कहिले पनि बाहिर आउन सक्तैन। विश्वमा यस्ता संकिर्ण सोंच
भएका नेताहरूको उदाहरण थुप्रै छन्। नेपालमा त संकिर्ण नेताहरूको बाढी नै छ। जाती,
समुदाय र क्षेत्रलाई आधार बनाएर राजनीति गर्ने नेताहरू नै अहिले सफल र चर्चित भएका
छन्, नेपालमा। जातीको आधारमा नेपाललाई विभिन्न प्रदेशहरूमा विभाजन गर्ने घोषणाका
साथ दस वर्ष सशस्त्र सङ्घर्ष गर्ने पुष्पकमल दहाल अहिले देशका प्रधानमन्त्री हुन
पुगेका छन्। अर्कोतिर देश भने जातीयता र क्षेत्रीयताको सङ्घर्षमा जल्ने डर बढेर
गएको छ। र अर्को सिरिया हुने हो कि भन्ने भयले नेपालीहरूलाई सताउन थालेको छ।
कुनै समयमा, काला
जातिको उन्मुक्तिको लागि राजनीति गरेको भनेर प्रचार गर्दे हिंड्ने जिम्बाब्वेका वर्तमान
राष्ट्रपति रोबर्ट मुगावे, उमेरले ९२ वर्ष पुग्दा पनि सत्तामा छन र चुनावमा अनेक
धाँधली गररे ३० वर्ष (१९८७ ) देखि जिम्बाब्वेको सर्वोच्च सत्तामा आसिन छन्। काला
वा आफ्ना बिरादरहरूलाई गोराहरूको शोषणबाट मुक्ति दिलाउने भनी सङ्घर्ष गर्ने
मुगावेले, उनले विगतमा गरेको सङघर्ष काला जातिको लागि नभएर केवल उनको आफ्नै उच्च
महत्वाकांक्षाको लागि थियो भन्ने यथार्थको प्रमाण आफ्नो लामो निरंकृश शासनबाट
दिएका छन्। मुगावेले अहिले आफ्ना बिरादरहरूको नै शोषण गरिरहेका छन्। महँगी र
बेरोजारीले जिम्बाबे अहिले आक्रान्त छ।
निकारागुवाका राष्ट्रपति
डेनिएल ओर्टेगाले तेस्रो पटक पनि चुनाव जितेका छन्। कम्युनिष्ट पृष्ठभूमि भएका ओर्टेगा
सन् १९८४ मा राष्ट्रपति छानिएका थिए। त्यसपछि उनले सन् २००६ र २०११ मा भएको
राष्ट्रपतिय चुनावमा पनि विजय हासिल गरे। अहिले (नोभेम्बर २०१६ मा) भएको
राष्ट्रपतिय चुनावमा पनि विजयी भएर चौथो पटक पनि ओर्टेगा राष्ट्रपति हुन सफल भएका
छन्। यति मात्र होइन, ओर्टेगाले आफू पछि आफ्नी पत्नी रोसारियो मुरिलोलाई
राष्ट्रपति बनाउने उच्च महत्वाकांक्षा (दाउ) देखाएका छन्। यसरी निकारागुवामा
ओर्टगाको एक किसिमले निरंकुश शासन जस्तो भएको छ। तर उनी निकारागुवाको जनतालाई कल्याणकारी
र निष्पक्ष शासन व्यवस्था दिन आएका थिए। केही दिन मात्र पहिले भएको राष्ट्रपतिय
चुनावमा आफ्ना प्रतिद्वन्दीहरूलाई अनेक बहानामा पन्छ्याएर “चुनावी रेस” मा केलव एक्लो
घोडा जस्तो भएका थिए, उनी।
कम्युनिष्ट
सिद्धान्तलाई पासो बनाएर जनतालाई पातो फर्काउँदै, बाँधेर राखेका उत्तर कोरियाका
स्वार्थी शासक (नेता) हरू किम इल-सुङ्गको वंशलाई लगभग सत्तरी वर्षदेखि कुर्सीमा राख्न
सफल भएका छन्, केवल आफ्नो स्वार्थ पूर्तिका लागि। र अझै कति वर्षसम्म राख्ने हुन?
कम्युनिष्ट सिद्धान्तको नाममा, उत्तर कोरियामाको ‘राष्ट्रिय शासन व्यवस्था’ अहिले
एक ‘परिवार’ को नियन्त्रण कायम छ, राज संस्था जस्तो।
तर उदार नेताले भने आफ्नो
सम्पूर्ण देस र देशबासीहरूको बारेमा सोंच्छ। उदार नेताले आफ्नो देश मात्र होइन,
सम्पूर्ण विश्वको बारेमा सोंच्च। आफ्नो जीवन मानव कल्याणमा समर्पित गर्छ। यस्तै
नेताहरूको पङ्क्तिमा अहिले उभिन पुगेका छन, क्यानाडाका प्रधान मन्त्री जस्टिन ट्रुडो। विश्वका प्रधानमन्त्री वा प्रशासकहरूमा ट्रुडो
निकै प्रभावशाली मात्र छैन, लोकप्रिय पनि उत्तिकै छन्। ट्रुडो २० सौं सप्ताब्दिको
क्यानाडाको अत्यन्तै लोकप्रिय प्रधानमन्त्री हुन पुगेका छन्। ट्रुडो जस्तो
प्रधानमन्त्री पाएकोमा वहुसंख्यक क्यानाडाबासीहरू गर्व गर्छन। र गर्व गर्ने कारण
पनि छ किनभने क्यानाडा भित्र रहेका हरेक समुदायको कार्यक्रममा सहभागी हुन पुग्छन् उनी।
र क्यानाडाको सबै वर्गको विकासमा तल्लिन रहन्छन्।। समाजमा सामुदायिक सद्भाव कायम
गर्न कहिले सिखहरूको कार्यक्रममा भांगडा नृत्य गर्न पुग्छन भने कहिले हिन्दुहरूसँग
मिलेर दिपावली मनाउँन पुग्छन, ट्रुडेले।
ट्रुडो आफैले भन्ने
गरेका छन, “हामी क्यानेडियनहरू क्यानेडियन भएकोमा गर्व गर्छौ किनभने हामीहरू
विभिन्न पृष्ठभूमिको भएता पनि मिलेर बसेको छौ। मिलेर बस्नु नै हाम्रो लागि गर्व
गर्ने आधार हो। विविधता हाम्रो विशेषता हो, विविधता नै हाम्रो पहिचान हो।”
हुन पनि विश्वभरिका
नागरिकहरू बसाइ सरेर क्यानाडामा स्थाइ बसोबास गर्न आएको देख्न सकिन्छ। नेपालीहरू
पनि ठूलो सङख्यामा स्थाइ बसोबास गर्न क्यानाडा पुगेका छन्। चाइनिज, भारतीय,
फिलिपोनो, सोमाली, नाइजेरियन, पाकिस्तानी आदि आदि मुलुकका नागरिकहरुलाई क्यानाडाको
सबै भन्दा ठूलो सहर टोरन्टोको सडकहरूमा हिंडेको सहजै देख्न सकिन्छ। कुनै स्टोर
(खुद्रा पसल) मा, एकातिर केवल हाफ पैन्ट र टिसर्ट मात्र लगाएकी मुल क्यानाडिएन
युवती र अर्कोतिर सम्पूर्ण शरीर ढाकेर मुख पनि बुर्काले छोपेकी युवती, जो अर्को
देशबाट बसाइ सरेर आएकी हुन, कैसियरको रूपमा कार्य गरिरहेको सहजै देख्न सकिन्छ।
क्यानाडामा जातिय सद्भाव उच्च स्तरको छ। कुनै राग द्वेष छैन। जातीय कलह पनि छैन। न
त समुदायहरूमा पहिचानको संकट वा सङ्घर्ष नै छ। विश्वभरिका अनेक समुदायहरू
क्यानाडामा स्थाइ बसोबास गर्दा पनि उनीहरूको बीच कलह वा द्वेष छैन्। बरू हार्दिकता
र सहनशीलता छ।
बसाइ सरेर आउने
विश्का अनेक नागरिकहरूलाई क्यानाडाले उदार मनका साथ स्वागत गर्ने गरेको छ। यो
कार्यलाई प्रधानमन्त्री ट्रुडोले अझै महत्वको साथ अगाडि बढाएका छन्। उनले के भन्ने
गरेका छन् भने राष्ट्रिय विकास हुन का लागि समाजमा सामुदायिक र जातीय विविधता हुनु
आवश्यक छ। यस्तो विविधताले देशलाई आर्थिक रूपमा सबल तुल्याउँछ। आफ्नो यस्तो भनाइको
पुष्टि उनले त्यस्ता कार्यहरू गरेर देखाएका छन् पनि। सिरियामा भएको अमानवीय
नरसंघारबाट जोगिन शर्णार्थी बनेर क्यानाडा आउन थालेका सिरियाली नागरिकहरूप्रति
ट्रुडोले यस्तै किसिमको हार्दिकता देखाएका थिए।
करिब एक वर्ष पहिले
(११ डिसेम्बर २०१५) सिरियाली शर्णार्थीहरू क्यानाडा आउँदा उनले आगन्तुकहरूको भव्य
स्वागत गरेका थिए। त्यस अवधिमा २० हजार सिरियालीहरू शर्णार्थी बनेर क्यानाडा आएका
थिए। १३६ जना
सिरियाली शर्णार्थीहरूलाई व्यक्तिगत रूपामा स्वागत गर्न ट्रुडो टोरन्टो स्थित
‘पियर्सन अन्तरार्ष्टिय विमानस्थल’ मा स्वयं पुगेका थिए। ती आगन्तुकहरूको भव्य
स्वागत गर्ने क्रममा उनले केही व्यक्तिहरूलाई लुगा समेत लगाइ दिएका थिए। उनले
स्वागतको क्रममा भनेका थिए, ‘आजको यो महत्वपूर्ण रातमा हामी नया क्यानाडियन
(सिरियाली) हरूले भरिएको प्लेनद्वारा विश्वलाई क्यानाडा कस्तो भनी देखाउन मात्र
पुगेका छैनौ, साथै अत्यन्तै संकटको समयबाट मुक्ति पाउन आउनेहरूको लागि स्वागत गर्न
हाम्रो हात र मन कत्ति खुला छ त्यो पनि देखाउने स्थितिमा पुगेका छौ।’। उनले अगाडि
भनेका थिए, ‘आजको राति उहाँहरू (सिरियालीहरू) प्लेनबाट शर्णार्थी बनेर ओर्लिंदै
हुनुहुन्छ तर विमानस्थलबाट बाहिर निस्कँदा भने उहाँहरू क्यानाडाको स्थाइ बासिन्दा (PR-Permanent Resident) भइसकेको हुनुहुनेछ। साथै उहाँहरूको हातमा ‘सोसल
इन्सोरेन्स नम्बर’ र ‘हेल्थ कार्ड’ पनि हुनेछ। अनि क्यानाडाको पूर्ण नागरिक हुने
औसर पनि।’ मुस्लिमहरू भन्दै भन्दै भेदभाव नगर्ने र ठूलो
सङ्ख्यामा सिरियाली शर्णार्थीहरूलाई देश भित्र स्वागत गर्ने देशहरू मध्ये एक
क्यानाडा पनि पर्दछ, युरोपमा जर्मनी परे झै।
सिरियन
शर्णार्थीहरूलाई स्वागत गर्ने क्रममा ट्रुडोले एक अति नै मार्मिक कुरा गरेका थिए।
उनले भनेका थिए, ‘हामीले तपाइँ (सिरियाली)हरूलाई शरण दिएर दया देखाएको होइन,
संकटको समयमा एउटा मित्रले अर्को मित्रलाई कसरी सहयोग गर्नु पर्छ भन्ने हार्दिकता
देखाएको हो।’
पूर्वीयहरू नेताहरू आफूलाई
दया र ममताको प्रतीक मान्छन् र गर्वका साथ भन्छन हामी मानवतावादी हौ भनेर। तर यो
केवल फ्रोसो भनाइ मात्र रहेछ। प्रत्येक दिन रगतले नोहाउन बाध्य पारिएका
सिरियालीहरूलाई पूर्वका मुलुकहरू, जस्तै थाइलैण्ड, जापान, भारत, पाकिस्तान, बङ्गलादेश,
कसैले पनि शरण दिने उदारता देखाउन सकेको छैन्। महान हृद्य भएको प्रदर्शित गर्ने
नेपालका नेताहरू त झन आफ्नै स्वार्थको लडाइ लड्न व्यस्त छन्, दु:खी सिरियालीहरूको
बारेमा सोंच्ने फुर्सतसम्म पनि छैन, उनीहरूसँग।
सिरियालीहरूको बारमे
सोंच्ने फुर्सत नभएता पनि केवल क्यानाडाका प्रधानमन्त्री जस्तो नेता बन्ने भनी
नेपाली नेताहरूले सोंचिदिए मात्र पनि हुन्थ्यो। यदि यस्तो सोंचिदिए, नेपाल र
नेपालीहरूको कल्याण हुने थियो।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 11,
2016
No comments:
Post a Comment