Wikipedia

Search results

Friday, December 22, 2017

How to Create Financial Resources?-Article-175

स्रोत र साधन कसरी सृजना गर्ने?

दक्षिण एसियाली क्षेत्र स्रोत र साधनको क्षेत्रमा पछाडि होइन, पछाडि हो ज्ञानको क्षेत्रमा, ज्ञानको प्रयोगको क्षेत्रमा। दक्षिण एसियाली राष्ट्रहरू भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान, नेपाल आदि ज्ञानको कारणले गर्दा गरिब भएका हुन्। अनेक किसिमका कुसंस्कारहरूको भारले थिचिएर गरिब भएका हुन्। तँ सानो, म ठूलोजस्तो घृणित विभेदी भावनाले भरिएको जाति प्रथा, छोरीको लागि वर खरिद गर्नुपर्नेजस्तो अमानवीय तिलक वा दाइजो प्रथा, आफ्नो शान–शौकत देखाउने प्रवृत्ति मिश्रित विवाह, व्रतबन्ध, पूजाआजा, भोजभतेर, रचनात्मक कार्य गर्नुको साटो अरूको निजी जीवनमा अत्यधिक चासो राख्ने कुटिल व्यवहार, सुन्दरता सृजना गर्ने नभई आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्न सुन, चाँदीका अनेक किसिमका गहना लगाउनेजस्ता कुभावना वा कुसंस्कारहरूले यी मुलुकहरूलाई सार्वकालिक गरिब रहन बाध्य पारिरहेका छन्। यी कारणहरूले गर्दा यी राष्ट्रहरू गरिबीको कुचक्रबाट बाहिर आउन सकिरहेका छैनन्। तर स्रोत र साधनको हिसाबले यी देशहरू निकै धनी छन्।
    हामी त्यो संस्कृतिका मानिस हौं जसले हजारौं वर्ष गङ्गामा स्नान गर्यो। भिजेको वस्त्र फैलाएर हल्लाउँदै गङ्गा किनारमा सुकायो। घर गयो। कृषि कार्य गर्यो। खायो अनि सुत्यो। र त्यो दिनचर्या हजारौं वर्ष दोहोर्यायो। तर गङ्गा (कुनै पनि नदी) बाट जलविद्युत् उत्पादन गर्न सकिन्छ भनेर कहिले सोचेन। लुगा सुकाउन सहयोग गर्ने हावाबाट पनि विद्युत उत्पादन गर्न सकिन्छ भनेर पनि कहिले मनन (अनुसन्धान) गरेन। गङ्गामा जीउ नित्य पखाल्नेभन्दा बढी केही गरेन। सोच्ने (अन्वेषण गर्ने) कार्य कहिले पनि गरेन। हजारौं वर्षसम्म ऊर्जाको सस्तो स्रोत नदीको उपयोग गरेन। पश्चिमी राष्ट्रहरूले जलविद्युत्को आविष्कार र प्रयोग गरेको वर्षौंपछि दक्षिण एसियालीहरूले जलविद्युत्को प्रयोग गरेका हुन्। उद्योग र उत्पादनको क्षेत्रमा जल विद्युत् वरदान साबित हुन सक्छ भन्ने यथार्थ धेरै पछि बुझेका हुन्।
    दक्षिण एसियाली क्षेत्र (बर्मा र भारत) मा अङ्ग्रेजहरूको आगमन नभएको भए दक्षिण एसिया र मुख्यगरी भारत आर्थिक विकासको सवालमा अझै पछाडि रहने थियो। दक्षिण एसियाली क्षेत्रको अवस्था अँध्यारो महादेश (अफ्रिका) जस्तो हुने थियो। भारतमा यातायात (सडक, रेल, हवाई समुद्री सेवा), उद्योग, कलकारखाना, ऊर्जा, सञ्चार आदि पूर्वाधार विकास तत्कालीन अङ्ग्रेज शासकहरूले गरिदिएका हुन्। त्यति मात्र होइन, नेपालमा (रक्सौलदेखि अमलेखगंजसम्म) समेत पनि रेलसेवाको विकास ( स्थापना–सन् १९२७) अङ्ग्रेजहरूले गरिदिएका हुन्। भारतको विकट पहाडी क्षेत्र (न्यु जलपाइगुडीदेखि दार्जिलिङसम्म) मा रेल सेवाको विकास अङ्ग्रेजहरूले नै गरिदिएका हुन्। दार्जिलिङ हिमालयन रेलवे (DHR) को निर्माण सामान्य कार्य थिएन। कठिन थियो। तीन वर्ष (सन् १८७९–१८८१) लगाएर निर्माण गरिएको ८८ किलोमिटर लामो त्यो ‘नैरो–गेज’ रेलसेवा त्यस बेलामा पनि जिग ज्याग (Zig Zag) र (Loop Line Technology) प्रविधि प्रयोग गरेर निर्माण गरिएको थियो। यो आधुनिक युगमा पनि बर्सेनि करिब दुई लाख यात्रुलाई गन्तव्यमा पुर्याउने यो रेल सेवाको निर्माण गर्ने जिम्मेवारी ‘गिलैन्डर्स अरबुथन्ट एन्ड कम्पनी’ ले पाएको थियो। यो रेल सेवाको निर्माण र प्रयोग खास किसिमले भएकोले युनेस्को (UNESCO) ले यसलाई सन् १९९९ मा विश्व सम्पदा सूचीमा राखेको घोषणा गरेको थियो। तर यो रेलसेवाको विकास अङ्ग्रेजहरूले व्यापारिक उद्देश्यका लागि गरेका थिए । दार्जिलिङ र वरपरका क्षेत्रहरूमा उत्पादित चिया भारतका अनेक शहर हुँदै बेलायतसम्म पुर्याउन (बिक्री गर्न) का लागि गरेका थिए।
    बजार व्यवस्थापन (Marketing) को क्षेत्रमा हामी दक्षिण एसियालीहरू अमेरिका र युरोपको तुलनामा निकै पछाडि छौं। हामी नेपालीहरू त झनै पछाडि छौं। व्यापार सिकाउनका लागि नै भनेर मल्ल राजाहरूले भारतको कश्मीरबाट मुसलमान व्यापारीहरू काठमाडौ उपत्यकामा ल्याएका थिए। काठमाडौको ठमेल र इन्द्रचोकमा अहिले पनि कश्मीरी मुसलमान व्यापारीहरूको पसल सञ्चालनमा रहेको देख्न सकिन्छ। यसैगरी वीरगंज र यस वरपरको क्षेत्रमा व्यापारको विकास गर्न राणा प्रधानमन्त्री वीर शम्सेर (सन् १८५२–१९०१) ले भारतको राजस्थानबाट मारवाडी व्यापारीहरू ल्याएका थिए। व्यापार सिक्न भनेर नै काठमाडौका व्यक्तिहरू र खासगरी नेवारी समुदायका मानन्धरहरू तत्कालीन देश तिब्बत जान्थे।
    हामी न व्यापारिक अवसरको पहिचान गर्न सक्छौं, न नयाँनयाँ व्यापारको सृजना नै गर्न सक्छौं। यसैगरी अनेक स्रोत र साधन भए तापनि न तिनको पहिचान गर्न सक्छौं, न प्रयोग नै। नेपालमा सङ्गठनहरूले, सरकारी होस् वा सामाजिक, स्रोतको लागि सरकारको मुख ताक्ने एक किसिमको परम्पराजस्तै छ। यी सङ्गठनहरूले स्रोत र साधनहरूको विकास आफैं गर्न सकिन्छ भनी कहिले पनि सोचेको पाइँदैन। यसै कारणले गर्दा नेपाली सङ्गठनहरू जहिले पनि गरिबीको, साधन–अभावको स्थितिमा रहन बाध्य छन्।
    एउटा सानो उदाहरण प्रस्तुत गरौं। वीरगंजस्थित तराई क्षेत्रको अति पुरानो ठाकुरराम क्याम्पस (कलेज), ज्यादै पुरानो इतिहास बोकेको कलेज हो। नेपालमा प्रजातन्त्रको स्थापना २००७ सालमा भए लगत्तै २००९ सालमा स्थापना भएको यो कलेज नेपालमा नै प्रख्यात कलेजहरूमध्ये एक हो। कुनै समयमा (२० देखि ३० को दशकमा) यो कलेजमा पूर्वमा राजविराजदेखि पश्चिम डडेलधुरा आदि स्थानबाट विद्यार्थीहरू अध्ययन गर्न आउँथे। यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू अहिले देश विदेशमा अनेक पेशामा संलग्न छन्। यहाँ अध्ययन गरेका कतिपय विद्यार्थीहरू अमेरिका र युरोपका विश्वविद्यालयहरूमा प्राध्यापक (प्रोफेसर) छन्। ठाकुरराम कलेजबाट शिक्षा प्राप्त गरेका र अमेरिकाको विश्वविद्यालयमा अध्यापनरत शिक्षकले लेखेका पुस्तकहरू अमेरिकाका विश्वविद्यालयमा टेक्स्ट बुक को रूपमा प्रयोग हुन्छ। यो स्तम्भकार स्वयं ठाकुर राम कलेजबाट दीक्षित हो।
    ठाकुर राम कलेजको प्रसङ्ग किन उठाइएको भने यो कलेजले इच्छा गर्यो भने अनेक किसिमका स्रोतहरू प्रयोग गरेर (अमेरिकी कलेजहरूमा पनि यस किसिमबाट स्रोतहरूको प्रयोग गरिन्छ) एउटा राम्रो कोष निर्माण गर्न सक्छ र त्यस कोषको प्रयोग कलेजका अनेक किसिमका विकास कार्यहरूमा खर्च गर्न सक्छ। विकास कार्यहरूका लागि कोष पाउन कलेजले सरकारको मुख ताक्नुपर्दैन। उदाहरणका लागि यस कलेजले आफैंले एउटा पसल स्थापना गरेर पाठ्यपुस्तक, कपी, कलम एवं अन्य शिक्षा सामग्री बिक्री गर्न सक्छ। यस्तो कार्य अमेरिकाका लगभग सम्पूर्ण कलेजहरूले गर्छन्। यसैगरी कलेजले ‘ठाकुरराम कलेज’ लेखिएको टिसर्ट, पैन्ट, हाफपैन्ट, मोजा, मफलर, शीशाको गिलास, खाने प्लेट, सजाउने कुरा आदि पनि बिक्री गर्न सक्छ। जुन कलेजमा आफूले अध्ययन गरेको हो त्यस कलेजसँग विद्यार्थीहरूको भावनात्मक सम्बन्ध रहने हुनाले विद्यार्थीहरूले ठाकुरराम कलेज लेखिएका सामग्रीहरू रुचि एवं उत्साहका साथ खरिद गर्छन् र ती कुराहरूलाई घरमा लगेर सजाउने वा प्रयोगमा ल्याउन सक्छन्। त्यस्ता सामग्रीहरूले विद्यार्थीहरूलाई भावनात्मकरूपमा त्यस कलेजसँग जोडने हुनाले त्यस्ता सामग्री खरिदमा विद्यार्थीहरूले सहजै पैसा खर्च गर्छन्। अर्थात् विद्यार्थीहरूको त्यो भावनाको बजारीकरण (Marketing) गर्न सकिन्छ । सुन्दा शिक्षामा पनि व्यापार गरेकोजस्तो लाग्छ, तर होइन यस किसिमको कार्य गरेर विद्यार्थीहरूलाई भावनात्मक सन्तुष्टि पनि प्रदान गर्न सकिन्छ। अर्कोतिर एउटा राम्रो कोष निर्माण हुन जान्छ।
    स्रोत सृजना गर्ने एउटा अर्को तरिका– ठाकुरराम कलेजमा दीक्षित विद्यार्थीहरू देश विदेशमा छरिएर रहेका छन्। उनीहरूका आ-आफ्नै किसिमका आर्थिक क्षमता छन्। पाँच वा दश वर्षमा कलेजले भूतपूर्व विद्यार्थीहरूको सम्मेलन कलेज परिसरमा गराएर उनीहरूसँग चन्दाको याचना गर्न सक्छ। यसैगरी अति धनी विद्यार्थीहरूबाट कुनै खास किसिमको कार्य (प्रोजेक्ट) सम्पन्न गर्न रकम माग गर्न सक्छ। पश्चिमी जगत्मा यो तरिका निकै प्रयोगमा रहेको पाइन्छ । कुनै धनी नगरवासीले आफ्नो परिवारको कुनै व्यक्ति (स्वर्गीय) को नाममा कुनै निर्माण कार्य गरिदिन रुचि देखाएको छ भने त्यस किसिमका व्यक्तिहरूबाट विभिन्न निर्माण कार्यहरू गराउन सक्छ।
    माथिको, ठाकुरराम क्याम्पससम्बन्धी  उदाहरण वीरगंज महानगरपालिकाको लागि पनि उपयोग गर्न सकिन्छ। यस महानगरपालिकाले पनि अनेक किसिमका स्रोतहरूको विकास स्वयं नै गर्न सक्छ र अनेक स्रोतहरूबाट प्राप्त कोषको प्रयोग वीरगंज र वीरगंजवासीको विकासमा प्रयोग गर्न सक्छ।
    यसैगरी अनेक किसिमका विभिन्न स्रोतहरूको सृजना विभिन्न सामाजिक सङ्गठनहरूले पनि गर्न सक्छन्। कोषको सृजनाका लागि पैसा होइन, नयाँनयाँ विचारहरूको दरकार पर्छ। नयाँनयाँ विचारहरूको विकास गरेर हामीले उपलब्ध अनेक स्रोत र साधनहरूको बजारीकरण गर्न सक्छौं।
    नेपाल स्रोत र साधनले गरीब मुलुक पटक्कै होइन। हामीले फुटेर होइन जुटेर हाम्रा विचारहरूको रचनात्मक प्रयोग गर्ने हो भने उपलब्ध स्रोत र साधनको उपयोग प्रभावकारी किसिमले गर्न सक्छौं। यो मुलुक र मुलुकवासीलाई आर्थिक मात्र होइन, सामाजिक र राजनैतिकरूपमा पनि समृद्ध पार्न सक्छौं।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 22, 2017

No comments:

Post a Comment