Wikipedia

Search results

Friday, December 1, 2017

WHAT ARE THE CHARACTERISTICS OF CAPITALISM-ARTICLE-172

के हो पूँजीवादको विशेषता?

    पूर्व वा दक्षिण एसियामा पूँजीवादको प्रचार गतल किसिमले भयो। त्यस्तो हुनु स्वाभाविक थियो पनि, किनभने सन् १९६० देखि १९८० सम्म एसियाका दुई ठूला राष्ट्र चीन र भारत दुवै पूँजीवादका विरोधी थिए। माओ त्सेतुङको नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म चलेको सांस्कृतिक क्रान्तिले त धनी व्यवसायी वा पूँजीपतिहरूको सफाया अभियान नै चलाएको थियो। उता रूसले पनि भित्रीरूपमा कट्टरताका साथ साम्यवादको अभ्यास नगरे तापनि बाहिरीरूपमा भने पूँजीवादको घोर विरोध गर्न छाडेको थिएन। त्यसताका विकासको पथमा दौडिन खोजिरहेको एसियाको एक शक्तिसाली मुलुक जापानले पूँजीवादको प्रयोग दोस्रो विश्वयुद्धताका तहसनहस भएको आफ्नो अर्थ व्यवस्थाको सुधार गर्न गरे तापनि जापानले आफ्ना वस्तुहरू एसियामा निर्यात गर्न मात्र ध्यान केन्द्रित गरेको थियो, एसियामा पूँजीवादको प्रचार गर्न उसले पटक्कै ध्यान दिएको थिएन। यी विभिन्न कारणहरूले गर्दा एसियाका मुलुकहरूमा पूँजीवादको सकारात्मक प्रभाव पर्न सकेन। पूँजीवादको सकारात्मक प्रभाव पर्न नसकेको हुनाले जापानबाहेक एसियाका अन्य राष्ट्रहरू त्यसताका धनी हुन सकेनन्। पूँजीवादको प्रयोग गरेर एसियाका सरकारहरूले मुलुक र जनतालाई धनी पार्ने अवसर गुमाए। अहिले, यो पछिल्लो समयमा (सन् १९९० पछि) भने पूँजीवाद प्रयोग गरेर भारत र चीनले आर्थिक प्रगति हासिल गरिरहेका त छन् नै, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम आदिले पनि आर्थिक प्रगति गरिरहेका छन्। कतार, सिंगापुर पूँजीवादको प्रयोग गर्नमा झन् अगाडि नै छन्।

    पूँजीवादप्रति नेपालको धारणा सकारात्मक हुन सकेको छैन। पूँजीवादलाई अहिले पनि हामी त्यस बेलाको कम्युनिस्ट चीनले दिएको नजरले हेर्छौ। नेपालका कम्युनिस्टहरूले त पूँजीवादलाई सांस्कृतिक क्रान्तिताकाको चीनले हर्ने दृष्टिकोणले हेर्छन्। अचम्म त के छ भने चीनले, जहाँ साम्यवादको कठोरताका साथ पालना भएको थियो, कम्युनिस्ट अर्थ व्यवस्थाको पूर्ण परित्याग गरि सके तापनि नेपालका कम्युनिस्टहरू अहिले पनि आफ्ना घर, कोठाहरूमा माक्र्स, एंगेल्स, लेनिन, माओको तस्वीर झुन्डाएर कट्टर कम्युनिस्ट भएको प्रदर्शन गरिरहेका छन्। नेपालका कम्युनिस्टहरू ‘केन्द्रित’ वा ‘कम्युनिस्ट अर्थ व्यवस्था’ बाट देशको आर्थिक विकास हुन्छ भन्ने विश्वास पालेर बसिरहेका छन्।
    
पूँजीवादले केवल पूँजीपतिहरूको पक्षपोषण गर्छ, गरिबहरूको चरम शोषण गर्छ, देशमा आर्थिक असमानता बढाउँछ, गरिबहरूको सङ्ख्यामा वृद्धि गराउँछ जस्ता कुराहरू केवल भ्रम हुन् जुन कुनै समयमा कम्युनिस्ट नेताहरू आफू शक्तिशाली हुन छरेका थिए।

    पूँजीवादले देशको आर्थिक अवस्थामा सुधार ल्याउँछ। देश र जनता दुवैलाई धनी तुल्याउँछ। यस तथ्यको व्यावहारिक परिचय अमेरिकाले सयौं वर्ष पहिले दिइसकेको थियो भने भारत, चीन आदि अहिले पूँजीवादको प्रयोग गर्दैछन्।

    यी निम्न कार्यहरू (जसलाई पूँजीवादका विशेषता भन्ने गरिन्छ) गरेर पूँजीवादले देश र जनतालाई धनी बनाउने गर्दछ।

वस्तु वा सेवाको मूल्य कम पार्न प्रतिस्पर्धा

    पूँजीवादमा सरकारले बजारमा नाम मात्रको हस्तक्षेप गर्ने हुनाले उत्पादक एवं आपूर्तिकर्ताहरू आफ्ना वस्तु एवं सेवाको मूल्य निर्धारण गर्न स्वतन्त्र हुन्छन्। आपूर्तिकर्ताबीच वस्तु एवं सेवाको मूल्य कम पारेर ग्राहकलाई आफूतिर आकर्षित गर्न तीव्र प्रतिस्पर्धा हुन्छ। त्यस किसिमको तीव्र प्रतिस्पर्ध हुने भएकोले आपूर्तिकर्ताहरू जहिले पनि आफूले बिक्री गर्ने वस्तुको मूल्य कम पार्ने उपायको खोजीमा रहन्छन्। नयाँनयाँ तरिका वा प्रविधिको विकास एवं अन्वेषण गरेर उत्पादन र बिक्री लागत कम पार्न आपूर्तिकर्ता सफल पनि हुन्छन्। अर्कोतिर आपूर्तिकर्ताबीच वस्तुको मूल्य कम पार्न प्रतिस्पर्धा हुने भएकोले उपभोक्ताहरूले सस्तोमा वस्तु एवं सेवा खरिद गर्न पाउँछन्।

वस्तुको गुण सुधार गर्न प्रतिस्पर्धा  
      
वस्तु र सेवा बिक्री गर्न आपूर्तिकताबीच तीव्र प्रतिस्पर्धा हुन्छ, जुन माथि नै उल्लेख गरिसकियो। साथै वस्तुको गुणस्तर सुधार गर्न पनि तीव्र प्रतिस्पर्धा हुन्छ। वस्तु वा सेवा स्तरीय नभएमा वा आफ्नो वस्तु प्रतिस्पर्धीको वस्तुभन्दा उच्च गुणस्तरको नभएमा बिक्री गर्न नसकिने तथ्य आपूर्तिकर्तालाई राम्ररी थाहा हुने भएकोले उनीहरू वस्तु एवं सेवाको गुणमा नियमित सुधार गर्न बाध्य हुन्छन्। गुणस्तर सुधार गर्ने क्रममा वस्तु एवं सेवामा नयाँनयाँ विशेषता थप गर्छन्। उदाहरणको लागि पहिले सामान्य किसिमको फोन (मोबाइल) थियो तर अहिले त्यसमा नयाँ विषेशता थपेर स्मार्ट फोन बनाइएको छ। यसरी पूँजीवादमा वस्तु एवं सेवाको गुणस्तर सुधार गर्ने कार्य नियमित चलिरहन्छ।

नया वस्तु वा सेवाको विकास गर्नमा प्रतिस्पर्धा

    नयाँनयाँ वस्तु एवं सेवाको विकास गरेर तिनलाई (प्रारम्भमा वा प्रतिस्पर्धीहरूले त्यस किसिमका वस्तु वा सेवा बजारमा नल्याएसम्म) आफूले चाहेको मूल्यमा बिक्री गरेर बढी मुनाफा हात पार्न (Profit Skimming) सकिने हुनाले उत्पादकहरू नयाँनयाँ किसिमका वस्तु विकास गर्न उत्प्रेरित हुन्छन्। अर्कोतिर सरकारले ‘बौद्धिक सम्पत्ति’(Intellectual Property), ‘व्यापार चिह्न’ (Trade mark), कपीराइट आदिको संरक्षण बलियो गरी उत्पादकको पक्षमा गरिदिने भएकोले र नयाँ वस्तुको विकास गर्न गरेको लगानी लामो समयसम्म असुल उपर हुने देखिएकोले उत्पादकहरू नयाँ किसिमका वस्तुहरूको विकास गर्न हरदम तयार रहन्छन्। यो कारणले गर्दा नै अमेरिका, जापान, जर्मनी, ग्रेट ब्रिटेन जस्ता पूँजीवादी देशमाहरूमा नयाँनयाँ वस्तुहरूको आविष्कार भएको हो। नेपाल, भारत, पाकिस्तानजस्ता मुलुकमा कानुनको पालना निष्पक्ष र कठोरताका साथ हुन नसक्दा, नयाँनयाँ वस्तु एवं सेवाको विकास हुन नसकेको हो।

उत्पादक एवं आपूर्तिकर्ताहरू बीच प्रतिस्पर्धा

    पूँजीवादमा बजारमा उत्पादक एवं आपूर्तिकर्ताबीच तीव्र प्रतिस्पर्धा हुन्छ। यो तीव्र प्रतिस्पर्धामा टिक्न उनीहरूले मूल्य कम पार्ने नयाँनयाँ उपायको खोजी गरेर मात्र पुग्दैन, उपभोक्तालाई कसरी नयाँनयाँ सुविधा दिन सकिन्छ त्यसबारे पनि निरन्तर सोच्नुपर्ने हुन्छ। बजारमा ‘एकाधिकार’ ‘द्वयाधिकार’ वा ‘अल्पाधिकार’ को स्थिति नहुने र भए तापनि लामो समयसम्म टिक्न नसक्ने भएकोले बजारमा जहिले पनि उत्पादक र आपूर्तिकर्ताबीच तीव्र प्रतिस्पर्धा हुन्छ र यसको फाइदा उपयोक्ताहरूलाई पुग्छ किनभने तीव्र प्रतिस्पर्धाले मूल्य कम पार्नु पर्ने वातावरणको सृजना गर्छ।

सरकारद्वारा उपभोक्ताहरूको हितको संरक्षण

    पूँजीवादमा आपूर्तिकर्ता आफूखुशी मूल्य निर्धारण गर्न स्वतन्त्र रहेको तथ्य सरकारलाई राम्ररी थाहा हुने भएकोले उपभोक्ता हित संरक्षण गर्न सरकार जहिले पनि जागरुक रहन्छ। सरकारले उपभोक्ता हित संरक्षण गर्न विभिन्न किसिमका नियमहरू पनि निर्माण गर्छ। वस्तु उपभोग गर्दा कुनै उपभोक्ताले (उत्पादकको लापरवाहीका कारण) क्षति बेहोर्नुपरेमा त्यसको क्षतिपूर्ति बिक्रेताले गर्नुपर्ने, वस्तु मन नपरेमा क्रेताले फिर्ता गर्न पाउने, वस्तुबारे उत्पादकले आवश्यक सम्पूर्ण जानकारी दिनुपर्नेजस्ता नियम सरकारले बनाएको हुन्छ। साथै सरकारले ‘उपभोक्ता हित मञ्च’, ‘उपभोक्ता अधिकार संरक्षण’ जस्ता संस्थाहरू सर्व साधारणलाई खोल्न दिएको हुन्छ।

सरकारद्वारा व्यापारीहरूको हितको संरक्षण

    पूँजीवादमा सरकारले व्यापारीहरूको हितमा पनि उत्तिकै ध्यान दिएको हुन्छ। देशको आर्थिक अवस्थामा सुधार ल्याउन व्यापारीहरूले अहम् भूमिका खेल्न सक्ने तथ्य सरकारलालई राम्ररी थाहा हुन्छ। व्यापारीहरू बढी धनी भएमा उनीहरूले बढी कर भुक्तान गर्छन् र सो कर रकम देशको विकासमा खर्च गर्न सकिने हुनाले सरकारले व्यापारीहरूलाई बढी धन (मुनाफा) आर्जन गर्न उत्प्रेरित गर्छ। यस उद्देश्यका लागि सरकारले व्पापारीहरूलाई कर छुट (करको दर कम) गरिदिने कार्य पनि गर्छ। देशवासी धनी भए मात्र देश पनि धनी हुने तथ्यमा पूँजीवादले बलियो विश्वास गर्ने हुनाले पूँजीवादी सरकारहरू उद्यमीहरूलाई सहयोग गर्न हरपल तयार रहन्छन्।

    देशलाई धनी बनाउने काम उद्यमीहरूको हो। धन कसरी आर्जन गर्ने भन्ने कुरा उद्यमीहरूलाई थाहा हुन्छ। कमिलाले केवल परिश्रम मात्र गर्न जानेको हुन्छ मह बनाउन जान्दैन र जान्न पनि सक्तैन। मह बनाउने कार्य केवल मौरीलाई थाहा हुन्छ। अर्थात् मह (धन) बनाउने कार्य केवल मौरी (उद्यमी, व्यापारी) लाई मात्र थाहा हुने हुनाले मौरीहरूलाई प्रशस्त मह बनाउने अवसर दिनुपर्दछ। तर मौरीले थुपारेको मह न्यायिक विधिद्वारा कमिलाहरूसम्म पनि पुर्याउन सक्नुपर्छ। यी तथ्य पूँजीवादका जगका इँट हुन्। यस्तै इँटहरूद्वारा निर्माण भएको जगमा लोक कल्याणकारी पूँजीवाद उभिएको हुन्छ।

 नेपालमा भइरहेको चुनावले नयाँ नेतृत्व ल्याउने स्थिति सृजना भएको छ। नेपालमा एकातिर गरिबी र अर्कोतिर गरिबहरू कम्युनिस्ट व्यवस्थातिर आकर्षित हुने स्थिति छ। यस किसमको विशिष्ट परिस्थितिमा कम्युनिस्टहरूले चुनावी गठबन्धन गर्ने रणनीति तयार पारेका छन्। यस्तो राजनैतिक स्थितिले चुनावमा कम्युनिस्टहरूको राम्रो विजय हुने वातावरण तयार पारिदिएको छ। त्यसकारण कम्युनिस्ट नेताहरूले पूँजीवादको महत्व बुझ्न जरुरी छ। उनीहरूले पूँजीवादको महत्व राम्ररी बुझेमा पूँजीवादको प्रयोग देश र जनताको हितमा गर्न सक्छन्। देश र जनता दुवै धनी हुने वातावरण सृजना गर्न सक्छन।

विश्वराज अधिकारी
प्रतीकद दैनिकमा प्रकाशित  Friday, December 1, 2017

No comments:

Post a Comment