कसरी वृद्धि गर्ने स्वाधीन आय?
अभावको
स्थितिलाई समाप्त पारेर बचतको स्थिति स्थापित नगरेसम्म हामीले गरिबीबाट मुक्ति
पाउनु सम्भव छैन। अहिलेको जस्तो अभावको स्थिति रहिरह्यो भने हामीलाई गरिबीले सयौं
वर्षसम्म पनि पछ्याइ नै रहने छ। वर्तमान स्थितिमा हामी जति आर्जन गरिरहेका छौं, त्यो आर्जनको ठूलो भाग केवल जीवन
निर्वाहमा समाप्त भइरहेको छ। अर्थात् हाम्रो देशमा जीवननिर्वाह लागत (Living
cost)
सर्वाधिक महँगो छ। जीवन निर्वाह महँगो भएको हुनाले नै हाम्रो गरीबी बढी कष्टकर छ।
जीवननिर्वाह महँगो भएको हुनाले नै बहुसङ्ख्यक नेपाली कष्टकर गरिबीमा बाँच्न विवश
छन्। किनभने बहुसङ्ख्यक गरिबसँग बचतको स्थिति छैन। अर्थात् नेपालको गरिबी निरपेक्ष
गरिबी हो।
जीवन निर्वाह किन महँगो भयो त? यो प्रश्न अति नै महत्पूर्ण छ। विकसित देशहरू जस्तै अमेरिका, ग्रेट ब्रिटेन, फ्रान्स, जर्मनी, जापान आदिको कुरा छाडौं, विश्वका अन्य विकासशील मुलुकहरूको
तुलनामा पनि हामीकहाँ जीवननिर्वाह लागत अति नै महँगो छ। खाद्य सामग्री, लुगाफाटो, शिक्षा, स्वास्थ्य, सुरक्षा, आवास, यातायात, इन्धनजस्ता
जीवन निर्वाहका लागि आवश्यक पर्ने सामग्रीहरू अति नै महँगा छन्। अर्कोतिर मुद्राको
क्रयशक्ति ज्यादै कमजोर छ। बहुसङ्ख्यक व्यक्तिको आम्दानी नै कम छ।
सर्वाधिक महत्पूर्ण कुरा त के भने
हामीकहाँ खाद्य सामग्री अति महँगो छ। सामान्य
अवस्थामा कुनै एक व्यक्ति वा परिवारले जति आर्जन गर्छ त्यसको लगभग ८० प्रतिशत उसले केवल खाद्य सामग्री खरिद गर्न खर्च गर्नुपर्ने
स्थिति छ। अर्थात् हामीकहाँ खाद्य सामग्री अति नै महँगो छ। खाद्य सामग्री अति नै
महँगो भएको हुनाले हामीकहाँ जीवन निर्वाह लागत अति महँगो भएको हो। गरिबीको बोध अति
नै कष्टकर किसिमले भएको हो।
विकसित देशहरू, खासगरी अमेरिकामा न्यूनतम पारिश्रमिक वा ज्याला पाउने व्यक्तिले पनि
आफ्नो मासिक आम्दनीको केवल दस प्रतिशत जति मात्र खर्च गरेर पनि जीवननिर्वाहका लागि
अति आवश्यक पर्ने खाद्य सामग्रीहरू सजिलै खरिद गर्न सक्छ। अमेरिकामा यस्तो स्थिति
ल्याउनमा कृषि क्षेत्रको ठूलो योगदान छ। अमेरिकामा उत्पादन (कृषि) लागत ज्यादै
सस्तो भएकोले उत्पादित सामग्री तुलनात्मकरूपमा ज्यादै सस्तो हुन पुगेको हो। र कृषि
उत्पादनलाई सस्तो पार्न यस क्षेत्रमा प्रयोग गरिने आधुनिक एवं उन्नत प्रविधिले
ठूलो योगदान पुर्याएको छ। अमेरिकामा कृषि कार्यका लागि
अनुकूल मौसम पर्खिरहनुपर्दैन। अर्थात् बाली लगाउनका लागि ‘मनसुन’ आउन आवश्यक छैन।
पानीको उपलब्धता अति नै सरल भएकोले जुन बेला पनि मनसुनको स्थिति रहन्छ। र यसले
गर्दा खाद्यान्न,
फलफूल, तरकारी, दूध,
दही, मासु, अन्डा आदि ज्यादै ठूलो परिमाणमा उत्पादन गर्न सकिएको छ। र ठूलो
परिमाणमा उत्पादन गर्न सकिएकोले यी सामग्रीहरू सस्तो हुन पुगेका हुन्।
परिणामस्वरूप जीवननिर्वाह लगात सस्तो हुन पुगेको छ। बहुसङ्ख्यक व्यक्तिसँग वचतको
स्थिति छ।
देशमा प्रजातन्त्र पुनस्र्थापना भए तापनि
देशले उदार अर्थतन्त्रको अभ्यास गरेको दशकौं भए तापनि, अनेकपटक चुनाव भए तापनि, नेताहरूले गरिबी समाप्त पार्छौ भनेर
हजारौंपटक भाषण गरे तापनि, हामीले देशभित्र खाद्य सामग्री सस्तो पार्न सकेका छैनौं। महँगी कम
पार्न सकेका छैनौं, जीवनलागत
सस्तो पार्न सकेका छैनौं। जसले गर्दा बहुसङ्ख्यक नेपालीमा बचतको स्थिति आउन सकेको
छैन। ज्यादै कम व्यक्तिले मात्र बचतको स्थिति प्राप्त गर्न सकेका छन्। आम
व्यक्तिसँग बचतको स्थिति नभएकोले अनेक किसिमका निर्माण कार्यहरूमा लगानी गर्न
सकिएको छैन।
खाद्य सामग्री कसरी सस्तो पार्ने? खाद्य सामग्री सस्तो पार्न अनेक
किसिमका कार्यहरू गर्नुपर्ने हुन्छ। खाद्य सामग्री सस्तो पार्न खाद्य सामग्रीको
उत्पादनमा व्यापक वृद्धि गर्नुपर्छ। खाद्य सामग्री उत्पादनमा वृद्धि गर्न नेपालको
सन्दर्भमा, तराई र खासगरी पहाड तथा हिमालका उपयोग
हुन नसकेका जग्गाहरूको व्यापक उपयोग गर्न आवश्यक छ। हिमाली र पहाडी क्षेत्रहरूमा
फलफूल खेती र पशुपालन ठूलो मात्रामा गर्न आवश्यक छ। कृषि कार्य बृहत् किसिमले गर्न
आवश्यक छ। यस्तो गरेर मात्रै देशमा खाद्यान्नको मूल्य सस्तो पार्न सकिन्छ।
वर्तमानमा हामीले खाद्य सामग्री उत्पादनमा
परम्परागत प्रविधि उपयोग गरिरहेका छौं। परम्परागत प्रविधिको उपयोगले गर्दा उत्पादन
लागत सस्तो हुन सकेको छैन र उत्पादन लागत महँगो भएकोले उत्पादित सामग्री पनि महँगो
हुन पुगेको छ। कृषि होस् वा उद्योग, अहिले पनि हामीले उत्पादनको क्षेत्रमा उन्नत प्रविधि प्रयोग गर्न
सकेका छैनौं। विकसित मुलुकहरूले उत्पादनमा रोबोट एवं कम्युटरको प्रयोग गरे तापनि
हामीले प्रत्यक्ष श्रम प्रयोग गरिरहेका छौं। हलो र गोरुको प्रयोग अहिले पनि समाप्त
हुन सकेको छैन। यसकारण कृषि क्षेत्र त झनै
दयनीय स्थितिमा छ। कृषिको क्षेत्रमा, कृषि कार्य गर्न हामी अहिले पनि प्रत्यक्ष श्रम एव पशुहरूको प्रयोग
गरिरहेका छौं। यस कारणले गर्दा कृषि लागत अति नै महँगो हुन पुगेको हो। अर्कोतिर
जग्गा एवं कृषक (श्रम) को उत्पाकत्व वृद्धि हुन सकिरहेको छैन। उत्पादकत्वको स्थिति
पनि नाजुक छ। कम जग्गा प्रयोग गरेर, थोरै समयमा ठूलो परिमाणमा अन्न उत्पादन गर्न सकिने स्थिति नेपालमा
अहिले पनि सुदूर छ।
ठूलो मात्रामा उत्पादन गरेर, खाद्य सामग्रीहरू सस्तो पारेर, आम्दानीको सानो हिस्साले जीवननिर्वाहका
लागि आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्न सकिने स्थिति ल्याएर अनि बचतको स्थिति
सृजना गरेर मात्र गरिबी कम पार्न वा गरिबीबाट मुक्ति पाउन सकिन्छ। अर्थात् बचतको
स्थिति नआएसम्म गरिबीबाट मुक्ति पाउन कदापि सकिंदैन। यस तथ्यलाई गम्भीरतापूर्वक
मनन गर्न आवश्यक छ।
आम नागरिक बचत गर्न सक्ने स्थितिमा नपुगेसम्म
राष्ट्र निर्माणका लागि आवश्यक पर्ने बृहत् पूँजी सृजना हुन सक्तैन। बृहत् पूँजी
सृजना नभएसम्म यातायात, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्यको
क्षेत्रमा बढी लगानी गर्न सकिंदैन। र राष्ट्रलाई गरिबीले पछ्याइ नै रहन्छ।
देशका केही सीमित व्यक्ति मात्र बचत गर्न
सक्ने स्थितिमा पुगेर राष्ट्र समृद्ध हुन सक्तैन। राष्ट्र समृद्ध हुनका लागि
प्रत्येक देशवासी बचत गर्न सक्ने स्थितिमा हुन आवश्यक छ। प्रत्येक व्यक्तिसँग स्वाधीन
आय (Discretionary Income ) राम्रो परिमाणमा हुन आवश्यक छ।
के
हो स्वाधीन आय र यसलाई कसरी बढाउन सकिन्छ?
कुनै पनि व्यक्तिको, मासिक वा वार्षिक आम्दानीबाट कर रकम
घटाए पछि उसको हातमा खर्च योग्य आम्दानी (Disposable Income) रहन आउँछ । सो खर्चयोग्य आम्दानीबाट
जीवननिर्वाहका लागि अत्यावश्यक पर्ने वस्तुहरू–भोजन, निवास, स्वास्थ्य
आदिमा लागेको कुल खर्च घटाएपछि रहन आएको रकम स्वाधीन आय हो। स्वाधीन आय, व्यक्तिले बचत गर्न सक्छ, आय आउने क्षेत्रमा लगानी गर्न सक्छ, विलासी वा अर्ध विलासी वस्तु खरिद गर्न
सक्छ वा आफूले चाहेको वस्तु वा सेवा (मनोरञ्जन, भ्रमण, यात्रा
आदि) खरिद गर्न खर्च गर्न सक्छ। नेपालमा ज्यादै कम व्यक्तिसँग मात्र स्वाधीन आय
राम्रो परिमाणमा छ।
स्वाधीन आय कसरी बढाउने भन्नेबारे माथि चर्चा
गरिसकिएको छ । तर पनि छोटकरीमा, जीवननिर्वाहका लागि अत्यावस्यक पर्ने विभिन्न वस्तुहरू सस्तो मूल्यमा
उत्पादन गरेर, ती वस्तुहरू सस्तोमा उपभोक्ताहरूलाई
उपलब्ध गराएर बहुसङ्ख्यक नेपालीहरूको स्वाधीन आय वृद्धि गर्न सकिन्छ।
बहुसङ्ख्यक नेपालीहरूको स्वाधीन आयको परिमाण
वृद्धि नगर्ने हो भने र बहुसङ्ख्य
नेपालीको आम्दानी केवल दुई छाक खानमा नै सकिने हो भने गरिबीले नेपाललाई सदीयौंसम्म
पछ्याउने मात्र होइन, नेपाल
भोकमरीले सताएको अफ्रिकाको कुनै मुलुक हुन बेर लाग्ने छैन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 08, 2017
No comments:
Post a Comment