सामाजिक व्यवस्था र सद्भाव
युरोपका विभिन्न
मुलुकहरूबाट अनेक व्यक्ति उत्तर अमेरिका आउनुको प्रमुख उद्देश्य धन कमाउनु र आफ्नो देशमा खेपिरहेको धार्मिक एवं राजनैतिक शोषणबाट उन्मुक्ति पाउनु थियो।
युरोपियनहरू त्यस्तो भूमिको खोजीमा थिए, जहाँ पुगेपछि आफ्नो इच्छा अनुसार स्वतन्त्रतापूर्वक बाँच्न सकियोस
र कृषिका लागि भूमिको उपलब्धता पर्याप्त मात्रामा होस्। हुन पनि सीमित भूमि
(जनसङ्ख्या विस्तारको अनुपातमा) र अर्कोतिर बढ्दो जनसङ्ख्याले गर्दा युरोप साँघुरो
हुँदै गइरहेको थियो। र यो कारणले गर्दा पनि युरोपियनहरू एशिया र अफ्रिकाका विभिन्न
मुलुकहरूमा उपनिवेश खडा गर्न हिंडेका थिए। नयाँ फराकिलो भूमिको खोजीमा भौंतारिएका
थिए। धनको लालसाले नै युरोपियनहरूलाई युरोपबाट अन्यत्र बसाइँ सर्न बाध्य पारेको
थियो।
इङ्गलिश अर्थशास्त्री एवं जनसङ्ख्या विद्
थोमस रोबर्ट माल्थसको जनसङ्ख्या सिद्धान्तले युरोपियनहरूलाई एक किसिमले डराइ नै
दिएको थियो र त्यो डरले गर्दा पनि उनीहरू फराकिलो भूमि खोज्न बाध्य भएका थिए,
उत्प्रेरित भएका थिए।
सन् १७९८ मा थोमस रोबर्ट माल्थस (सन् १७९८–१८२३) को एउटा पुस्तक प्रकाशित भएको थियो जसको
नाम थियो ‘An Essay on the Principle of
population”। यो पुस्तकले त्यो समयमा
निकै चर्चा पाएको थियो। माल्थसको त्यो ‘जनसङ्ख्या वृद्धि सिद्धान्त’ को लोकप्रियतामा
अहिले पनि कमी आएको छैन। अहिले पनि संसारका अनेक विश्वविद्यालयहरूमा माल्थसको उक्त
जनसङ्ख्या सिद्धान्त पढाउने गरिन्छ। उनले आफ्नो जनसङ्ख्या सिद्धान्तमा भनेका थिए “जनसङ्ख्या वृद्धि ज्यामितीय प्रगति (२,४,१६,१३२ ) मा हुन्छ तर खाद्य
उत्पादन वृद्धि भने गणितीय प्रगति (२,४,६,८) मा हुन्छ। यसरी जनसङ्ख्या वृद्धि तीव्र गतिमा हुन्छ भने
खाद्य उत्पादन वृद्धि सुस्त गतिमा हुन्छ। र यो कारणले गर्दा ठूलो असन्तुलन उत्पन्न
हुन्छ। र यो असन्तुलनले मानव जीवनमा ठूलो सङ्कट ल्याउन सक्छ।”
माल्थसले थपेका थिए–“भविष्यमा ठूलो असन्तुलनको स्थिति आउने हुनाले युरोपको
भविष्य सुरक्षित छैन। अन्धकार छ।” माल्थसको उक्त
भनाइले पनि युरोपियन र खासगरी आइरिश, इङ्गलिश र स्कोटिसहरूलाई युरोप बाहिर जान प्रेरित गर्यो। जनसङ्ख्या वृद्धि ज्यामितीय गतिमा हुन्छ भन्ने माल्थसको
भनाइ अहिले पनि काट्न सकिएको छैन, खाद्य उत्पादन
वृद्धि केवल गणितीय प्रगतिमा हुन्छ भन्ने उनको मान्यताको खण्डन भए पनि।
संयुक्त राज्य अमेरिकामा सर्वप्रथम
स्पेनिसहरू आएको इतिहासले देखाउँछ। उनीहरू पनि यो भूभागमा धन कमाउने उद्देश्यले नै
आएका थिए, भूमिको विस्तार गर्न आएका
थिए। तर स्पेनिसहरू मात्र आएका होइन, अमेरिका आउनेहरूमा जर्मन, फ्रेन्च, इटालियन, ब्रिटिश, चाइनिज पनि थिए।
विभिन्न देशबाट ठूलो सङ्ख्यामा अनेक परिवार अमेरिका आए तापनि उनीहरूको उद्देश्य
भने एउटै थियो–धन कमाउनु। यसरी
धन कमाएर आर्थिक समृद्धि हासिल गर्नुपर्छ भन्ने चाहना अमेरिकीहरूमा बसाइँसराइ
गर्दाको कालदेखि नै थियो। धन आर्जन गर्नुपर्छ भन्ने प्रारम्भिक उद्देश्यले पनि
अमेरिकीहरूलाई धनी हुन, विश्वको एक नम्बर
धनी राष्ट्र बन्न सहयोग पुर्याएको हो। अमेरिका
परापूर्वकालदेखि नै व्यापारिक देश हो। अमेरिकीहरूले धार्मिक कट्टरतालाई पन्छ्याए,
धन कमाउनुपर्छ भन्ने भावनालाई बलियो पार्दै
लगे।
अमेरिकामा इङ्गलिशहरूको उपस्थिति भने अति
प्रभावकारी थियो। सन् १६५० सम्म एटलान्टिक कोस्टमा इङ्गलिशहरूको उपस्थिति ठूलो
सङ्ख्यामा भइसकेको थियो। इङ्गल्यान्डबाट अमेरिका आएका आप्रवासीहरूले भर्जिनियाको
जेम्सटाउनमा प्रथम उपनिवेश (Colony) खडा गरिसकेका
थिए। सन् १७७० सम्म ग्रेट ब्रिटेनबाट अमेरिका आएका आप्रवासीहरूले अमेरिकाको
विभिन्न स्थानमा १३ वटा उपनिवेश खडा गरिसकेका थि । उपनिवेश खडा गर्न आएका व्यक्ति
एवं परिवार र उनीहरूले अफ्रिका महादेशबाट ल्याएका कामदारहरू (Slaves) गरी अमेरिकामा खडा गरिएको १३ वटा उपनिवेशमा
सन् १७७० सम्ममा बसोवास गर्ने व्यक्तिहरूको सङ्ख्या २० लाख हुन पुगेको थियो। ग्रेट
ब्रिटेनबाट नयाँ भूमि (उत्तर अमेरिका) आउनेहरूले नयाँ भूमि आउने आफ्नो प्रमुख उद्देश्य धार्मिक स्वतन्त्रता भने तापनि उनीहरूको स्थानान्तरणको
प्रकृति हेर्दा ब्रिटिश वा अन्यहरू अमेरिका आउनुको प्रमुख कारण वा उद्देश्य आर्थिक
नै देखिन्छ। समृद्धि हासिल गर्नु नै रहेको देखिन्छ, धन कमाउनु नै रहेको देखिन्छ।
आर्थिक समृद्धिका लागि अहिले पनि संसारका
विभिन्न मुलुकबाट व्यक्ति एवं परिवारहरू अमेरिका आउने क्रम जारी छ। अमेरिकी भूमिमा
निरन्तर अप्रवासीहरूको प्रवेशले गर्दा अहिले अमेरिकाको जनसङ्ख्या ३२ करोड ८६ लाख
४७ हजार (सन् अप्रिल २०१९, संयुक्त
राष्ट्रसङ्घका अनुसार) हुन पुगेको छ। विश्व जनसङ्ख्याको अनुपातमा अमरिकाको
जनसङ्ख्या हाल ४.२७ प्रतिशत छ। अर्थात विश्वको ४.२७ प्रतिशत व्यक्ति केवल
अमेरिकामा बसोवास गर्छन्।
देश बाहिर राजनैतिक मामिलामा अमेरिकीहरूले
विश्व राजनीतिमा बढी चाFसो राखेको देखिए
तापनि देशभित्र भने त्यस्तो स्थिति छैन। आम अमेरिकीलाई राजनीतिमा कुनै चाँसो छैन। स्कूल, कलेज, कार्यालय वा अन्य समारोहहरूमा धर्म र राजनीतिका
कुरा गर्नु राम्रो मानिंदैन। कार्यालयमा राजनीतिक कुरा गर्नु, नेताहरूमाथि टीका टिप्पणी गर्नुलाई कार्य
नैतिकता (Work ethics/Business ethics) विरुद्ध मानिन्छ। कार्य समयमा, केवल काममा व्यस्त रहनुपर्छ र तोकिएको र
सुम्पिएको कार्य इमानदारीपूर्वक गर्नुपर्छ भन्ने सिद्धान्तमा अमेरिकी समाजको दृढ
आस्था छ। यो विश्वासले पनि अमेरकीहरूलाई आर्थिकरूपमा सम्पन्न तुल्याउन विशेष
भूमिका खेलेको हुनुपर्छ। अमेरिकाभित्र परिवर्तन भइरहने सरकारहरूले अमेरिका बाहिर,
अन्य राष्ट्रहरूमा राजनैतिक प्रभाव जमाउन
खोजेपनि, विश्व राजनीतिलाई
शक्तिद्वारा निर्देशित गर्न खोजेपनि, आम अमेरिकीहरूलाई यस विषयमा कुनै चाँसो हुँदैन। आम अमेरिकीको
प्रमुख चासोको विषय सुविधा सम्पन्न जीवन बाँच्नुपर्छ भन्नेमात्र हुन्छ। यो कारणले
गर्दापनि आम अमेरिकीले आर्थिक प्रगतिलाई केन्द्रमा राखेर जीवनका अनेक गतिविधि
सञ्चालित गरिरहेका हुन्छन्। अर्थात् अमेरिकी समाज सुविधाभोगी समाज
हो।
तर अमेरिकी समाजले केवल सुविधालाई मात्र महत्व दिएको भन्नु चाहिं गलत हुनेछ। रूस, चीन, भारत आदि धनीहरूको बसोवास रहेको राष्ट्रको तुलनामा, जनस्तरमा, विभिन्न
राष्ट्रका नागरिकलाई आर्थिक सहयोग गर्ने मामिलामा अमेरिकीहरू विश्वमा नै अग्र
स्थानमा छन्। अमेरिकाका विभिन्न सेवा एवं गैरमुनाफामूलक संस्थाहरूले विश्वका
पिछडिएका एवं गरीब नागरिकहरूको सेवामा ठूलो धनराशि खर्च गरिरहेका छन्। “ Bill & Melinda Gates Foundation” “Bill, Hillary & Chelsea Clinton Foundation”, “Ford Foundation”, “Rockefeller Foundation” आदि सामाजिक सेवा संस्थाहरूले विश्वभरिका कमजोर वर्गलाई
सहयोग गरिरहेका छन्।
अमेरिकी समाज खुला समाज हो। अनेक किसिमका
अनौपचारिक बन्धन तोडेर, स्वतन्त्र
किसिमले साथै निर्भीक भएर बाँच्नुपर्छ भन्ने मान्यतामा विश्वास गर्ने अमेरिकीहरूको
मनमा जे छ, मुखमा पनि त्यही हुन्छ।
व्यक्तिको गोपनीयता र उसको स्वतन्त्रतालाई सर्वाधिक महत्व दिनुपर्छ भन्ने विचारमा दृढ विश्वास गर्ने अमेरिकी समाजले
उमेर पुगेका आफ्ना सन्तानसमेतको पनि निजी जीवनमा (के पढ्ने,
कोसँग बिहे गर्ने, कस्तो लगाउने, कसलाई भेट्ने, कसलाई नभेट्ने)
कुनै किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गर्दैन। उमेर पुगेका सन्तानलाई आफूबाट अलग रहेर, स्वतन्त्र भएर
निर्णय गर्न दिनुपर्छ भन्ने कुरामा जोड दिन्छ। यो कारणले गर्दा पनि अमेरिकी
युवाहरू दब्बु प्रवृत्तिको नभएर निर्भीक स्वभावका हुन्छन्। आफ्नो पैतृक सम्पत्तिमा होइन आप्mनो आर्जनमा विश्वास गर्छन्। यस किसिमको सामाजिक
व्यवस्थाले पनि अमेरिकीहरूलाई धनी हुन सहयोग पुर्याएको हो।
राष्ट्र निर्माणकालदेखि नै अमेरिकीहरू
स्वतन्त्र रही कसैको अधीन नरहेको र कुनैपनि देशको उपनिवेश नभएकोले अमेरिकीहरूमा
स्वतन्त्र भएर निर्णय गर्ने क्षमता परम्परादेखि चल्दै आएको देखिन्छ। यो कारणले
युवाहरूले स्वतन्त्रतापूर्वक पेशा रोज्ने र त्यो पेशामा रहेर आफ्नो वृत्ति विकास गर्ने हुनाले आर्थिक विकासको मामिलामा उनीहरू विश्वमा नै अगाडि
भएको हुन सक्छ। हरेक कार्य आफैंमा सम्मानित हो र कुनै पनि किसिमको कार्य गर्न
लजाउनु हुँदैन भन्ने भाव अमेरिकी समाजमा व्याप्त रहेको पाइन्छ। अमेरिकी समाजले
कार्यप्रति भेदभाव राख्दैन बरु कुन कार्य गरेर बढी लाभ प्राप्त हुन्छ, त्यसतर्फ बढी ध्यान दिन्छ।
कुनै समयमा कुनै तानाशाह, कुनै निरङ्कुश राजनैतिक नेता, कुनै राजा वा महाराजा, कुनै सेनाको जनरल वा कुनै उपनिवेशको अधीन हुर्केको समाजमा
स्वतन्त्र भएर निर्णय गर्ने क्षमता कम हुन्छ। त्यस्तो समाजमा हुर्केका व्यक्तिले
नयाँनयाँ किसिमका वस्तु वा सेवाको अविष्कार पनि ज्यादै कम गरेको पाइन्छ। कठोर एवं
तानाशाही समाजमा हुर्केका व्यक्तिहरूमा ‘पेटमा एउटा कुरा मुखमा अर्को कुरा’ जस्तो संस्कृति विकसित भएको हुन्छ। त्यसकारण उनीहरूमा स्वतन्त्र भएर निर्णय
गर्न सक्ने क्षमता ज्यादै कमजोर हुन्छ। त्यस्तो उनीहरू सामाजिक व्यस्थाले गर्दा
भएका हुन्छन्।
अमेरिकीहरूको सामाजिक व्यवस्थाले नै
स्वतन्त्र भएर बाँच्न सिकाउने हुनाले अमेरिकीहरूमा सानै उमेरदेखि उद्यमी बानीको
विकास भएको हुन्छ। केही नौलो कार्य गरौं भन्ने चाहनाले उनीहरूलाई आर्थिक विकास
गर्न उत्प्रेरित गरेको हुन्छ।
अमेरिकामा सर्वाधिक आश्चर्यलाग्दो कुरा त के
छ भने अमेरिकाभित्र एउटा मूल अमेरिकी संस्कृति छ र त्यो मूल अमेरिकी संस्कृतिलाई
भाषा (अंग्रेजी) ले बलियो सूत्रमा बाँधेको छ। बलियो एकता प्रदान गरेको छ। तर त्यो
मूल अमेरिकी संस्कृतिभित्र अनेक चाइनिज, मिडिल इस्ट, इस्लाम, हिन्दू, बहाइ, जुइस, मङ्गोल, केथोलिक, प्रोटेस्टेन्ट
ताओइज्म, बुद्धिष्टजस्ता
उपसंस्कृतिहरू छन्। यी उपसंस्कृतिहरूबीच कुनै पनि किसिमको मनोमालिन्य छैन। सबै एक
आपसमा, शान्ति कायम गरेर बसेका
छन्। एउटा धर्मले अर्को धर्मको आलोचना गरेको वा एउटा समुदायले अर्को समुदायको
आलोचना गरेको पाइँदैन। अमरिकालाई आर्थिक समृद्धि हासिल गराउन यहाँ रहेको जातीय
सद्भावको पनि ठूलो भूमिका छ। उपसंस्कृतिभित्र रहेकाहरूले घरभित्र आफ्नो मातृभाषा बोले तापनि घर बाहिर भने अंग्रेजी बोलेर ‘पिज्जा’ संस्कृतिमा
रमाएको देखिन्छन्।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, April 26, 2019
No comments:
Post a Comment