अमेरिकी अर्थव्यवस्थाका विशेषता
यातायात
एउटा भनाइ छ–‘अमेरिकामा उपलब्ध रहेका सबै सडकहरूलाई जोड्ने हो भने त्यसको
लम्बाइले यो पृथ्वीलाई एकपटक बेर्न पुग्छ’। यसैगरी एउटा अर्को भनाइ के पनि छ भने अमेरिकी राजमार्ग हरू यति फराकिला छन,
र सीधा छन् कि आपतकालमा पाइलटहरूले सडकमा नै
पनि हवाईजहाज अवतरण गर्न सक्छन्। यी भनाइहरू सत्य हुन् वा केवल भनाइ हो त्यो आफ्नै ठाउँमा छ तर सडक निर्माण, विस्तार र सेवामा
अमेरिकाको स्थान विश्वमा नै अग्रणी छ। र सडक सुविधा अमेरिकाको आर्थिक विकासको
मेरुदण्ड नै हो। सडक सुविधाले अमेरिकालाई विश्वको एक नम्बर आर्थिक महाशक्ति बनाउन
महत्वपूर्ण भूमिका खेलेको छ।
अमेरिकाका सबै सडकहरूलाई जोड्ने हो भने सडकहरूको कुल लम्बाइ ६५ लाख ८ हजार
किलोमिटर हुन आउँछ। अमेरिकाको सडक व्यवस्थालाई संसारकै ठूलो, लामो र अति व्यवस्थित मानिन्छ। आर्थिक विकासको
लागि सडक कति महत्वपूर्ण हुन्छ भन्ने
कुरा अमेरिकीहरूले सयौं वर्ष पहिले बुझिसकेका थिए, विकासको पथमा तीव्र गतिमा लम्केका राष्ट्रहरू भारत, चीन, ब्रजील आदिले अहिले बुझ्दैछन्।
सडक निर्माणमा अमेरिकाले केही क्षेत्रमा
चमत्कार नै गरेको छ, जुन कहिलेकाहीं
कल्पना हो कि जस्तो लाग्छ। कल्पना यस हुनाले लाग्छ कि इन्जिनीयरिङ्ग हिसाबले पनि त्यस किसिमको सडक निर्माण अति नै जटिल एवं चुनौतीपूर्ण हुन्छ।
त्यस्तै चमत्कारी ढङ्गले अमेरिकाले आफ्ना विभिन्न शहरहरूमा तल्ले
सडकहरू निर्माण गरेको छ। अमेरिकाका तल्ले सडकहरू मध्ये टेक्सास राज्यको डालसमा
रहेको पाँच तल्ले सडक (निर्माण सन् १९६०) निकै प्रख्यात छ। यस किसिमका तल्ले
सडकहरूले, जुन आकाशे पुलको रूपमा
रहेका हुन्छन्, एउटा सडकबाट
अर्को सडकमा प्रवेश गर्दा हुन सक्ने ट्राफिक जाम कम पार्छ साथै सवारी दुर्घटना
घटाउन पनि महत्वपूर्ण भूमिका खेल्छ।
सडकलाई व्यवस्थित गर्न पुल निर्माणमा पनि
अमेरिकाले उत्तिकै महत्व दिएको पाइन्छ।
लामा–लामा पुलहरूको सङ्ख्या
पनि अमेरिका धेरै छ। लुजियाना राज्यको न्यु ओर्लियन्स शहरमा अवस्थित लेक
पोन्चाट्रेन माथि रहेको पुल (Lake
Pontchartrain Causeway) लाई संसारको नै
सर्वाधिक लामो पुल मानिन्छ। यस पुलको लम्बाइ ३८.४ किलोमिटर छ। केवल पानीमाथि रहेको
यो पुलको ८ किलोमिटर भागबाट हेर्दा चारै दिशातिर कतै जमीन देखिंदैन। लुजियाना
राज्यमा यस्ता पुलहरू धेरै छन्। लुजियानामा सीमसार क्षेत्र धेरै भएकोले पनि लामा
लामा पुलहरूको निर्माण गरिएको हो।
सडक व्यवस्थापनमा अमेरिका यति कुशल छ कि यहाँ
कुनै पनि किसिमको बस्ती होस्, ठूला शहर वा साना
शहर, (स्मरण होस् अमेरिकामा
गाउँ छैन, यहाँका बस्तीहरूलाई
टाउन, सिटी र मेट्रोपोलिटन सिटी
भन्ने गरिन्छ) होस्, त्यहाँका हरेक घरलाई कार, ट्रक गुड्ने सडकले छोएको नै हुन्छ। यो एक किसिमको
अनिवार्यता पनि हो। जसरी प्रत्येक घरलाई सडकले छुनुपर्छ भन्ने अनिवार्य शर्त हुन्छ,
त्यसैगरी प्रत्येक घरको आफ्नो पहिचानका लागि
प्रत्येक घरको आफ्नो घर नम्बर पनि हुनुपर्छ भन्ने अनिवार्यता छ। सय
तल्ले होस् वा केवल दुई कोठे एक तल्ले घर होस्, सानो वा गगनचुम्बी घर होस्, प्रत्येक घरको आफ्नो तोकिएको एउटा नम्बर
हुन्छ। विनापहिचान वा नम्बरको अमेरिकामा घर हुँदैन। अमेरिकामा शहरभित्रको टोलको
नाम सडकको नामले राखिन्छ। अर्थात् सडकको नामले कुन टोल हो भन्ने परिचय थाहा हुन्छ।
अमरिकामा कतिपय यस्ता पनि घर देखिन्छन्,
जसलाई तीन एवं चारैतिरबाट मोटर बाटोले छोएको
हुन्छ। आवागमनका लगि वा मालसामान ओसारपसार गर्नका लागि अमेरिकामा सडक निर्माणलाई
ज्यादै महत्व दिने गरिन्छ। प्रत्येक
ठूलो शहरमा विमानस्थल भएझै प्रत्येक बस्तीमा सडक सुविधा (ठूला सवारीहरू ओहरदोहर
गर्न सक्ने) हुन्छ नै। सडकलाई अमेरिकी जीवन पद्धतिले एक नम्बर प्राथमिकतामा राखेको
हुन्छ।
अमेरिकाका अति लामो, फराकिलो र व्यवस्थित राजमार्गहरूले देशको एउटा कुनामा
उत्पादित वस्तु देशको अर्को कुनामा छोटो समयमा पुर्याउन उल्लेखनीय भूमिका मात्र खेलेका छैनन्, ती वस्तुलाई
सस्तोमा उपभोक्तासमक्ष पुर्याउन पनि अहम् भूमिका
खेलेका छन्। यी सडकहरूको योगदानले गर्दा कृषकहरूले आना उत्पादन विभिन्न बजारमा
उपभोक्ताहरूले खोजेको समयमा पुर्याउन सकेका छन्।
अमेरिकामा उपलब्ध रेल, हवाईजहाज,
सडक, पाइपलाइन, जल, यातायातले खासगरी शीघ्र नाशवान वस्तु उपभोक्ताहरूले
माग गरेको स्थलमा पु¥याउन उल्लेखनीय
भूमिका खेलेका छन्। यातायात सुविधा सर्वसुलभ र सस्तो भएकोले कम मूल्य (Law value) का वस्तुहरू जस्तै साग, तरकारी, फलफूल, मासु, पिउने पानी, बरफ, अन्न आदि ओसारपसार गर्न ज्यादै सजिलो हुन
पुगेको छ। यातायातको विस्तारले गर्दा नै वस्तुहरूको आपूर्ति सस्तो भएर कम आय भएका
व्यक्तिहरूको जीवनयापन सजिलो भएको छ। अर्को किसिमले भन्ने हो भने उनीहरूको
क्रयशक्ति बलियो हुन पुगेको छ। सस्तो यातायात लागतले अमेरिकामा निर्वाह लागत (Living costs) कम पारेको छ।
अमेरिकामा देशभित्र उत्तर–दक्षिण र पूर्व–पश्चिमगरी फैलिएका राजमार्गहरू धेरै छन्। यी राजमार्गहरूले
देशका विभिन्न राज्यलाई यातायात सेवा पुर्याइरहेका छन्। यस्तै राजमार्गमध्येको एक हो अन्तर्राज्य राजमार्ग (Interstate Highway: I-90) -९०, जुन अमेरिकाको
पूर्व र पश्चिममा फैलिएको छ। कुल लम्बाइ ५ हजार ४ सय १५ किलोमिटर रहेको यो
राजमार्गले पूर्वमा मासाचुसेट्स राज्यलाई छुन्छ भने पश्चिममा ओरेगन राज्यलाई
छुन्छ। यो अन्तर्राज्य राजमार्गलाई अमेरिकाको सबैभन्दा लामो राजमार्ग मानिन्छ। यो
राजमार्गले अमेरिकाका ओरेगन, आइडाहो, मोन्ताना, वाएमिंग, नेब्रास्का,
आइवा, इलिन्वाए, इन्डियाना,
ओहायो, पेन्सिलभेनिया, न्युयोर्क र
मासाचुसेट्स राज्यहरूलाई जोड्छ। यसैगरी एउटा अर्को उत्तर–दक्षिण फैलिएको अन्तर्राज्य राजमार्ग (Interstate Highway: I-35) - ३५ ले टेक्सास, ओक्लोहोमा, क्यान्सस,
मिजोरी, आइवा र मिनेसोटा राज्यलाई जोड्छ। यो राजमार्गले पनि सामान
ओसारपसार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
अमेरिकामा राजमार्ग किन निर्माण गरियो
त्यसबारे छोटो चर्चा गरौं। अमेरिकामा शहरी सडक र राजमार्ग गरी सडकलाई दुई भागमा
विभाजन गरिएको छ र त्यससम्बन्धी व्यवस्था पनि पृथक–पृथक किसिमले गरिएको छ। शहरी सडकहरूमा ‘ट्राफिक लाइट’ हुन्छ र बस्ती एवं
क्षेत्र (आवास, सपिंग सेन्टर,
स्कूल, कलेज, पुस्तकालय, चर्च) अनुसार सवारी साधन गुड्ने गति तोकिएको
हुन्छ। तोकिएको गतिमा सवारी साधन नगुडाए वा गति ज्यादै तीव्र गरेमा प्रहरी
कारबाहीमा परिन्छ। सवारीको गति व्यवस्थित गर्न प्रहरीले कडाइका साथ गति निरीक्षण
गर्ने व्यवस्था गरेको हुन्छ।
शहर वा बस्तीभित्रका सडकहरूमा सवारी साधनहरू
गुड्दा विभिन्न स्थानमा विभिन्न किसिमका गति सीमा हुने र त्यसले गर्दा गाडीहरूको
गति सुस्त हुन जाने भएकोले यो समस्या निराकरण गर्न वा तीव्र गतिमा गाडी चलाउन
सकिने उद्देश्यका साथ राजमार्गहरूको निर्माण गरिएको पाइन्छ । राजमार्गहरूमा
ट्राफिक लाइट हुँदैन र एउटा तोकिएको गति (जस्तै ६०–७५ माइल प्रति घण्टा) मा सयौ माइलसम्म विनाअवरोध गाडी
कुदाउन पाइन्छ। कुनै बाधा–व्यवधान नपरी
छोटो समयमा लामो दूरी पार गर्न सकियोस् भन्ने सोचले नै हाइवे वा राजमार्गहरूको
निर्माण गरिएको हुन्छ। हुन पनि राजमार्गहरूलाई शहर वा बस्तीको छेउबाट लगिएको
हुन्छ। राजमार्ग निर्माणको प्रमुख उद्देश्य नै चालकहरूलाई विनाअवरोध तीव्र गतिमा
गाडी चलाउन सक्ने सुविधा प्रदान गर्नु हो।
माथि उल्लेख गरिएका प्रकृतिका लामा–लामा राजमार्गहरू अमेरिकामा धेरै छन्। युयस–२० (३,३६५ माइल), युयस–६ (३,२२७ माइल), युयस–३० (३,०७३ माइल), आई–९० (३,०२२.४४ माइल), युयस–५० (३,००७ माइल), आई–८० (२,८९९.५९ माइल), युयस–२ (२,६४३ माइल), युयस–१ (२,५९३ माइल), आई–४० (२,५५६.६१ माइल), आई–१० (२,४६०.३४ माइल), युयस–६४ (२,३२६ माइल), आई–७० (२,१५०.५७ माइल), युयस–५२ (२,०७२ माइल), आई–९५ (१,९१९.३१ माइल), आई–७५ (१,७८६.४७ माइल), आई–९४ (१,५८५.२० माइल), आई–३५ (१,५६८.३८ माइल), आई–२० (१,५३९.३८ माइल), आई–१५ (१,४३३.५२ माइल), आई–५ (१,३८१.२९ माइल), आई–२५ (१,०६१.६७ माइल) जस्ता राममार्गहरू अमेरिकाका अति
व्यस्त तथा ज्यादै प्रचलित राजमार्गहरू हुन्।
सडक यातायातका साथै अमेरिकामा रेलरोड पनि
एउटा महत्वपूर्ण यातायात व्यवस्थाका
रूपमा रहेको छ। अमेरिकामा ७०० रेलरोडहरू छन् भने रेल यातायात व्यवस्था २ लाख ४०
हजार किलोमिटरमा फैलिएको छ। कार, ट्रक, हवाईजहाज आदिमा भएको अति नै आधुनिकीकरणले गर्दा
वर्तमान समयमा रेलको प्रयोग भने बढी मात्रामा सामानहरू ओसारपसारमा मात्र प्रयोग
भएको पाइन्छ। मानिस ओसारपसार गर्नुभन्दा सामान ओसारपसारमा रेलको प्रयोग बढी भएको
पाइन्छ ।
अमेरिकामा पाइपलाइन, पानी जहाज, हवाईजहाज,
रेल आदिको प्रयोग मालसामान ओसारपसार गर्नका
लागि भए तापनि ट्रकको प्रयोग भने ठूलो मात्रामा गरिन्छ। साँच्ची भन्ने हो
अमेरिकाको मालसामान ढुवानी व्यवस्था ट्रकमा निर्भर गर्छ। कुल ढुवानीमध्ये ट्रकले
लगभग ७० प्रतिशत ढुवानी गर्छ। यसरी सडक यातायातमा अमेरिकी अर्थ व्यवस्था बढी
निर्भर गर्दछ।
यातायातको प्रभावकारी व्यवस्थाले अमेरिकालाई
धनी राष्ट्र तुल्याउन प्रमुख भूमिका खेलेको यथार्थले के पनि प्रस्ट पार्दछ भने
कुनै पनि देशले आर्थिक विकास गर्न, वा धनी हुन त्यो
देशले यातायातलाई ज्यादै महत्व दिनुपर्ने रहेछ।
यातायातको अभावमा देशको आर्थिक विकास निकै कठिन हुने रहेछ।
त्यसकारण देशको आर्थिक
विकासका लागि सर्वप्रथम यातायात सुविधामा वा सडक निर्माणमा जोड दिन आवश्यक छ,
अमेरिकाको आर्थिक विकासले त्यही भन्छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 03, 2019
No comments:
Post a Comment