Wikipedia

Search results

Friday, May 24, 2019

Trade Disputes: Causes and Objectives-Article-248


व्यापार झगडाः कारण र उद्देश्य

आजभोलि विभिन्न राष्ट्रहरू बीच किन व्यापार झगडा हुन्छ ?
    यो प्रश्नको उत्तर, यो प्रश्न सजिलो देखिएजस्तो सजिलो भने छैन। यसको उत्तर निकै जटिल छ। व्यापार झगडाको उद्देश्य र कारण केवल आर्थिक लाभ र क्षति मात्र नभएर राजनैतिक दाउपेच पनि रहेकोले व्यापार झगडाको विषय आफैमा जटिल हुन पुगेको हो। एउटा शक्तिशाली राष्ट्रले अर्को (प्रतिपक्षी) राष्ट्रलाई आफ्नो नियन्त्रणमा ल्याउन वा आफ्नो इशारामा चल्न लगाउन पनि व्यापारको प्रयोग गर्दछ। त्यसकारण व्यापार अहिले युद्धको एउटा हतियार जस्तो भएको छ।
    सर्वप्रथम व्यापार झगडा भनेको के हो त्यसबारे छोटो चर्चा गरौं

व्यापार झगडा
    व्यापार झगडा भनेको झगडामा संलग्न दुई पक्ष (राष्ट्र) हरूले एक अर्काको सामान खरीद नगर्ने वा एक अर्कालाई सामान बिक्री नगर्ने अडान लिनु वा एक पक्षले अर्को पक्षको सामान आयात गर्दा आयातको परिमाण (मात्रा) कम गर्नु वा आयात गरिने वस्तुहरूमा भन्सार शुल्क वृद्धि गर्ने चेतावनी दिनु हो। छोटकरीमा भन्ने हो भने अन्तर्राष्ट्रिय व्यापारमा आफ्नो आर्थिक हितको अधिक्तम रक्षा गर्नु वा त्यसबाट अधिक फाइदा लिन खोज्नु हो।

अमेरिकाचीन व्यापार झगडा
    आयात गरिने वस्तुहरूमा भन्सार शुल्क वृदि गर्ने भन्दै अहिले अमेरिका र चीनबीच व्यापार झगडा सतहमा आएको छ। अमेरिकाले चीनबाट आयात गर्ने वस्तुहरूमा २०० बिलियन डलर बराबर भन्सार वृद्धि गर्ने चेतावनी दिएको छ। अर्थात् चीनबाट आयात गरिने वस्तुहरूमा अमेरिकाले १० देखि २५ प्रतिशतसम्म भन्सार शुल्क वृद्धि गर्ने चेतावनी चीनलाई दिएको छ। अमेरिकाको यो चेतावानीको जवाफ स्वरूप चीनले आफूले पनि अमेरिकाबाट आयात गर्ने वस्तुहरूमा ६० बिलियन डलर बराबर भन्सार शुल्क वृद्धि गर्ने चेतावनी अमेरिकालाई दिएको छ। रोचक कुरा त के छ भने यी दुई राष्ट्र एक अर्कालाई ठूलो परिमाणमा विभिन्न वस्तुहरू निर्यात गर्छन्। दुवै राष्ट्र एक अर्काको अति नै महत्वपूर्ण व्यापार साझेदार हुन्। यी दुवै व्यापारिक साझेदारबीच उत्पन्न हुने सानोतिनो व्यापारिक असमझदारीले पनि दुवै साझेदारका सामान्य नागरिक प्रभावित हुन पुग्छन्। समग्रमा दुवै मुलुकको व्यापारमा शिथिलता आउन सक्छ।

    अमेरिकाले चीनबाट आयात गर्ने वस्तुमा भन्सार शुल्क वृद्धि गरेमा धेरै अमेरिकी कम्पनीहरू प्रभावित हुनेछन्। चीनबाट आयात गरिने वस्तुहरूको मूल्य (भन्सार शुल्कमा भएको वृद्धिको कारण) अमेरिकी बजारमा वृद्धि भएर अमेरिकी उपभोक्ताको क्रय शक्तिमा ह्रास आउने छ। अमेरिकी कम्पनीहरूको भविष्य अनिश्चित हुनेछ। यस किसिमको चिन्ता अमेरिकी व्यापारीहरूले अमेरिकी सरकार समक्ष व्यक्त गरिरहेका छन्। अमेरिकाले ठूलो परिमाणमा चीनबाट इलेक्ट्रोनिक सामान आयात गर्छ। यसैगरी नाइकी, एडिडासजस्ता विश्व प्रसिद्ध जुत्ता (Footwear) उत्पादकहरूले ठूलो परिमाणमा चीनबाट तयारी जुत्ता आयात गर्छन्। र यी कम्पनीहरूले चीनबाट आयात गरिने वस्तुमा भन्सार शुल्क वृद्धि नगर्न अमेरिकी प्रशासनलाई अनुरोध गर्दै, दबाब पनि दिइरहेका छन्। अर्कोतिर अमेरिकी सरकारले ठूलो परिमाणमा चीनबाट आयात गर्ने र चीनले सानो परिमाणमा मात्र अमेरिकी वस्तु खरीद गर्ने गरेको तर्क अघि सारेको छ। हुनपनि अमेरिकाले चीनलाई निर्यात गर्ने तुलनामा चीनबाट ठूलो परिमाणमा आयात गर्छ। सन् २०१७ मा अमेरिकाले चीनबाट ५०५.५ बिलियन डलर बराबरको सामान आयात गरेको थियो भने चीनमा केवल १२९.९ बिलियन डलरको निर्यात गरेको थियो। यसरी चीनसँग व्यापारमा अमेरिकाले सन् २०१७ मा ३७५.५ बिलियन डलर बराबर व्यापार घाटा बेहोरेको थियो।

चीनको बलियो स्थिति
    अमेरिका विज्ञान, अनुसन्धान र उन्नत प्रविधिको क्षेत्रमा निकै अगाडि छ। तर निम्न कारणले चीनलाई पनि समय र परिस्थितिले अहिले निकै बलियो तुल्याइदिएको छ।
    श्रमिकहरूलाई चिनियाँ उत्पादकहरूले कम ज्याला दिने हुनाले चीनमा श्रम लागत कम भएकोले उत्पादन लागत कम छ। जसले गर्दा चीनमा उत्पादित वस्तु सस्तो हुन पुग्छ। अर्कोतिर चीनका उत्पादकहरूले अरू (अन्य राष्ट्र) को बौद्धिक सम्पत्ति (Intellectual property ) विनाशुल्क वा गैरकानूनी रूपमा प्रयोग गर्ने हुनाले पनि चीनमा उत्पादित वस्तु सस्तो हुन्छ। यसैगरी केही यस्ता प्राकृतिक वस्तुहरू छन, जुन लगभग केवल चीनमा मात्र उत्पादन हुन्छ। ती प्राकृतिक वस्तुहरूको उत्पादनमा चीनको एक किसिमले एकाधिकार नै छ। यी कारणहरूले गर्दा व्यापारद्वन्द्वरत पक्षहरूमध्ये चीन बलियो हुन पुगेको छ। चीन यसरी बलियो हुनु व्यापारिक जगत्मा अप्रत्याशित पनि हो।

    चीनले दुर्लभ प्राकृतिक वस्तु (Earth Materials) हरूको, विश्वमा नै, कुल उत्पादनमध्ये ९५ प्रतिशतभन्दा बढी उत्पादन गर्छ। अर्थात् चीनबाहेक विश्वका अन्य राष्ट्रले त्यस्ता प्राकृतिक दुर्लभ वस्तुहरूको उत्पादन ५ प्रतिशतभन्दा पनि कम गर्छन्। ठूलो परिमाणमा चीनले उत्पादन गर्ने ती वस्तुहरूको माग विश्वभरि छ, किनभने ती दुर्लभ प्राकृतिक वस्तुहरूको प्रयोग इलेक्ट्रोनिक टेक्नोलोजीको निर्माणमा हुन्छ। साथै लिथियम कार बैट्री, सोलार पैनल, विन्ड टर्बाइन, फ्लैट स्क्रिन टेलिभिजन, पेट्रोलियम टु गैसोलिन क्याटालिस्टिक क्रेकिंग, मिसाइल गाइडेन्स सिस्टम आदिको निर्माणमा पनि ती प्राकृतिक दुर्लभ वस्तुहरूको उपयोग हुन्छ। ती प्राकृतिक वस्तुहरूको उत्पादनमा चीनको रहेको एकाधिकारले चीनलाई विश्व व्यापारको एउटा बलियो साझेदार तुल्याइदिएको छ। चीनमा व्यापारद्वन्द्व गर्ने क्षमता पनि बढेर गएको छ। र अर्को सर्वाधिक बलियो पक्षचीनमा एक किसिमको एक दलीय शासन व्यवस्था भएकोले चीनमा बन्द, हडताल, नारा जूलुसजस्ता उत्पादनलाई प्रभावित पार्ने काम हुन पाउँदैन र उत्पादन स्थिर भएर उत्पादन लागत कम हुन्छ।

परनिर्भरता
    विश्वसमाज कृषिमा निर्भर रहेको समयमा परिवारहरूले आफ्नो दैनिक आवश्कताका लागि चाहिने लगभग सम्पूर्ण वस्तु निर्माण गर्थे। अर्थात् त्यो युग आर्थिक स्वावलम्बनको युग थियो। तर अहिले युग फेरिएको छ। न कुनै परिवारले, न कुनै राष्ट्रले नै, फूलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवाहरूको निर्माण गर्न सक्छ। यसरी आफूलाई आवश्यक पर्ने अनेक सामग्रीहरू एक राष्ट्रले अन्य विभिन्न राष्ट्रसँग खरीद गर्नुपर्ने हुन्छ। साथै आफूले उत्पादन गरेका सम्पूर्ण वस्तु आफूले नै उपभोग गर्न नसक्ने स्थिति भएकोले ती वस्तुहरू बिक्री गर्नुपर्ने हुन्छ। यो कारणले गर्दा प्रत्येक राष्ट्र अनिवार्यरूपमा अन्तर्राष्ट्रिय व्यापारमा आबद्ध हुनुपर्ने स्थिति सृजना भएको छ। अर्थात् राष्ट्रराष्ट्रबीच परनिर्भरता बढेर गएको छ। राष्ट्रहरू परनिर्भर भएकाले र हरेक राष्ट्रले आफ्नो स्वार्थको संरक्षण गर्नु पर्ने भएकोले राष्ट्रराष्ट्रबीच व्यापार झगडा हुने सम्भावना ह्वात्तै बढेर गएको छ। अर्कोतिर बलियो राष्ट्रले कमजोर राष्ट्रमाथि आफ्नो व्यापारिक स्वार्थ लाद्ने अवसर पनि बढेर गएको छ। यो कारणले गर्दा आज भोलि व्यापारझगडाको सङ्ख्या बढेर गएको छ। र प्रकृति पनि जटिल हुन पुगेको छ।

व्यापार युग
    यो व्यापार युगमा कुनै पनि राष्ट्रको प्रमुख ध्येय आर्थिकरूपमा बलियो हुनु रहेको हुन्छ। पहिलेपहिले महाशक्ति हुन कुनै पनि राष्ट्रले सैन्यबलमा जोड दिन्थ्यो र त्यही बलको आधारमा अन्य राष्ट्रलाई तह लगाउने कार्य गथ्र्यो। यस किसिमको सिद्धान्तको बढी उपयोग तत्कालीन सोभियत सङ्घले गर्यो।  विभिन्न राष्ट्रलाई आफ्नो सैन्य बलद्वारा नियन्त्रण गर्यो। अफगानिस्तानमा सोभियत रूसले आफ्नो सेना नै उतार्यो र त्यहाँ वर्षौंसम्म सेना राख्यो। तर अहिले युग फेरिएको छ। अहिले भने शक्तिशाली राष्ट्रहरू, आर्थिक रूपमा शक्तिशाली भएर, फ्नो आर्थिक शक्तिद्वारा अन्य राष्ट्रमाथि प्रभाव जमाउन खोजिरहेका छन्। र यो अवधारणाको बलियो प्रयोग अहिले चीन र अमेरिकाले गरिरहेका छन्। आफ्नो आर्थिक शक्तिद्वारा अन्य राष्ट्रलाई नियन्त्रित गरिरहेका छन्। र यसरी नियन्त्रित गर्न सहयोग गर्ने हतियार व्यापार नाकाबन्दीहुन पुगेको छ। अमेरिकाले अहिले इरान, उत्तर कोरिया, क्युबा, भनेजुएला आदिमा व्यापार नाकाबन्दी गरेको छ।

    चीनले पनि आफ्नो आर्थिक शक्तिद्वारा अन्य राष्ट्रलाई नियन्त्रित गर्ने कार्य गरिरहेको छ। बर्मा (म्यान्मा), उत्तर कोरिया, इन्डोनेशिया आदिमा चीनले आफ्नो शक्ति विस्तार गरेको त छ नै, अफ्रिकी महादेशका अन्य राष्ट्रमा पनि आफ्नो शक्ति (राजनैतिक र आर्थिक) विस्तार गरिरहेको छ। चीन शक्ति विस्तारको सिलसिलामा दक्षिण अमेरिकी राष्ट्रहरूमा पनि पुग्ने तरखरमा छ। आश्चर्यको विषय त के छ भने कुनै समयमा आर्थिक विकासको मामिलामा निकै पछाडि रहेको चीन, अहिले अमेरिकाजस्तो आर्थिक, राजनैतिक र सामरिक क्षेत्रमा बलियो रहेको राष्ट्रको महत्वपूर्ण व्यापारिक साझेदार हुन पुगेको छ। चीनले अमेरिकामा गर्ने निर्यातको परिमाणमा कमी ल्याउना साथ अमेरिकी बजार नराम्ररी प्रभावित हुन पुग्छ।

    चीनलाई यस्तो स्थितिमा पुर्याउने चीनको आर्थिक क्षमता नै हो।

    नेपालजस्तो राष्ट्रले, अहिलेको यो व्यापारिक युगमा, भौगोलिकरूपमा सानो भए तापनि आफूलाई बलियो तुल्याउन आफ्नो राष्ट्रिय अर्थतन्त्रलाई अति बलियो तुल्याउनु आवश्यक छ। नेपालले आफ्नो आर्थिक क्षमता बलियो पारेमा, ठूला देशहरूले गर्ने थिचोमिचोबाट जोगिन सक्छ। सिङ्गापुरले आफूलाई आर्थिक रूपमा बलियो पारेर बलियो राष्ट्रहरूको थिचोमिचोबाट जोगाएझैं। तर यो कुरा हुन नेपालीहरूले कलह, द्वन्द्व, सङ्घर्ष, मनमोटाव होइन, आर्थिक विकासमा ध्यान केन्द्रित गर्न आवश्यक छ।

विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, May 24, 2019

No comments:

Post a Comment