अमेरिकी अर्थव्यवस्थाका विशेषता
पारिवारिक संरचना
अमेरिकी समाजमा प्रचलित
पारिवारिक संरचनाले अमेरिकालाई धनी तुल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। यो कुरा सुन्दा अपत्यारिलो वा अचम्म
लाग्न सक्छ तर यो यथार्थ हो। यो निचोड हतार वा अपरिपक्व अनुवभको आधारमा प्राप्त भएको
होइन, वरन् यो समाजलाई दशकौं
नजीकबाट हेरेर, भिजेर प्राप्त
भएको हो।
पारिवारिक संरचनाले मुख्यगरी सामाजिक पक्षसँग
सरोकार राख्ने भए तापनि अमेरिकाको सन्दर्भमा पारिवारिक संरचनाले आर्थिक पक्षसँग
बढी सरोकार राख्दछ। त्यस्तो कसरी सम्भव भएको होला त?
स्वतन्त्र, स्वच्छन्द, सहिष्णु र उदार
पारिवारिक वातावरणमा हुर्केका अमेरिकी युवाहरू सानै उमेरदेखि उद्यमी प्रवृत्तिका
हुन्छन्। कुनै नयाँ कुरा गरौ भन्ने भावनाले प्रेरित हुन्छन्। आफूबारे स्वतन्त्र किसिमले निर्णय लिन सानैदेखि, परिवारबाट नै सिकेका हुन्छन्। असफलतादेखि न डराउने एवं
विचलित नहुने मनोवैज्ञानिक वातावरणमा हुर्केका हुन्छन्। छोरा वा छोरी, दुवैलाई माता पिताले समान व्यवहार गरेर
हुर्काएका हुन्छन्। खाडीका देश, मध्य पूर्व एवं
दक्षिण एशियाका मुलुकहरूमा जस्तो छोराहरूलाई बढी छुट तर छोरीलाई बढी नियन्त्रणमा
राख्ने परिपाटी अमेरिकी समाजमा देख्न पाइँदैन। परिवारभित्र रहेर छोरा एवं छोरी
दुवैले समान सामाजिक स्वतन्त्रता उपभोग गर्छन्।
अमेरिकी समाज जातविहीन समाज हो। विवाह गर्दा
जातपात होइन, दुई पक्ष (युवक र युवती)
बीचको सझदारीलाई महत्व दिने गरिन्छ। एक
अमेरिकन युवतीले कुनै एशियन युवकसँग बिहे गरेमा युवतीको परिवारले त्यस्तो युवक
(विजात) सँग किन विवाह गरेको भन्दै रोकछेक गर्ने प्रश्न नै उठ्दैन, उल्टो त्यो परिवारले आफ्नो सन्तानले गरेको
त्यस्तो निर्णयको स्वागत गर्दछ। यो कारणले गर्दा अमेरिकी समाजमा दाइजो, तिलक वा दाउरीको कुनै समस्या छैन। अमेरिकी
आमाबाबुले भोलिका दिनमा सन्तानको विवाह गर्न (दाउरी, दाइजो, तिलक दिन) धन
सञ्चय गर्नुपर्छ भन्ने स्थिति नै आउँदैन। तर दक्षिण एशियामा भने दाइजोले
मातापितालाई यतिसम्म सताएको छ कि बिचरा मातापिता, आफूले गरेको आर्जन पनि सन्तोषजनक किसिमले उपयोग
गर्न पाउँदैनन्। मौरीले थोपाथोपा मह सञ्चय गरेझै मातापिताले छोरीको बिहेमा दाइजो
दिन वा सन्तानको बिहेबारीमा खर्च गर्न थोपाथोपा गरी आम्दानी सञ्चय गर्नुपर्छ।
यस्तै स्थिति शिक्षामा पनि छ। दक्षिण एशियाका
मातापिताहरूले आफ्नो सन्तानको शिक्षाको लागि धन सञ्चय गर्नुपर्छ। आफ्नो पेट काटेर भएपनि पैसा जोगाउनुपर्छ। आफ्ना सन्तानलाई केवल प्राथमिक
शिक्षा (१ देखि ५ कक्षा सम्म) दिन पनि अभिभावकहरूले आफ्नो मासिक आम्दानीको ठूलो
हिस्सा खर्च गर्नुपर्छ।
अझै निजी विद्यालयहरू (प्रचलित भाषामा बोर्डिङ भन्ने गरिन्छ) मा
पठाउने मातापिताहरूले त सन्तानको शिक्षामा ठूलै रकम खर्च गर्नुपर्छ। निजी
विद्यालयहरू ज्यादै महँगा हुन्छन् भन्ने यथार्थ हामी सबैले देखेभोगेकै कुरा हो।
अर्कोतिर निजी विद्यालयमा सन्तानलाई पढाउँदा सामाजिक प्रतिष्ठा बढ्छ भन्ने
मनोविज्ञानले पनि हाम्रो समाजलाई कहिले निको
नहुने रोगले जस्तो ग्रस्त पारेको
छ। अमेरिकामा उच्च माध्यमिक विद्यालयसम्मको शिक्षा नि:शुल्क छ।
अभिभावकहरूले उच्च शिक्षाका लागि कुनै खर्च गर्नुपर्दैन। ब्याचलर लेबलको पढाइ हुने
सामुदायिक कलेजहरू पनि खर्चिला हुँदैनन्।
सन्तानको बिहेबारीमा गरिने अधिक खर्च (तिलक,
दाइजो आदि) ले उनीहरूको मनोविज्ञानमा कस्तो असर
पार्छ? त्यस्तो कार्यको
प्रत्यक्ष र अप्रत्यक्ष असर के पर्छ भने सन्तानमा आत्मनिर्भरताको विकास हुन
पाउँदैन। अझै धनी माता पिताका सन्तानमा त झनै गैरजिम्मेवार भावना विकसित हुन्छ।
परिश्रम गर्ने होइन, शान देखाउनुपर्ने,
समाजमा मेरो हैसियत यस्तो छ भन्ने मनोविज्ञान
निर्मित हुन्छ। दाइजो, तिलक आदिले
सन्तान (छोरी) को मनोविज्ञान कमजोर तुल्याउँछ। यस किसिमबाट कमजोर मनोविज्ञान भएका
सन्तान (छोरी) ले आफैले कुनै किसिमको व्यवसाय वा व्यापार गर्न
सोच्न पनि सक्तैनन्।
अमेरिकी समाजले आफ्ना परिवारका सदस्य
(सन्तान) हरूलाई स्वावलम्बी हुन शैशवकालदेखि नै सिकाउँछ। उनीहरूको लालनपालन पनि
उनीहरूलाई आत्मनिर्भर हुने किसिमबाट गर्छ।
अमेरिकी समाजमा स्कूल समाप्त हुनासाथ
छोराछोरी आफ्ना मातापिताको घर छाडेर स्वतन्त्र किसिमले बस्न घरबाट बाहिरिन्छन्। आफ्नो नयाँ परिस्थिति विकास गर्छन्। आफ्नो पति/ पत्नी आफै खोज्छन्।
मातापिताले खोजेर बिहे गरिदिने वा मागी बिहे गर्ने परिपाटी अमेरिकी समाजमा छैन।
यसरी युवाहरूले आफ्नो वर/वधू खोज्ने हुनाले परिवारले अनावश्यकरूपमा
आर्थिक समस्या भोग्नुपर्दैन।
मातापिता अत्यन्तै धनी भए पनि आफ्नो स्वतन्त्रताको पूर्ण उपभोग गर्न छोराछोरीहरू उनीहरूसँग बस्दैनन्। हुन त यो
पद्धति युरोपमा पनि छ। तर युरोपभन्दा पनि अमेरिकी युवाले स्वतन्त्रताको निकै उपयोग
गर्छन्। अमेरिकी समाजले अनेक किसिमका औपचारिकताभन्दा व्यक्ति–स्वतन्त्रता र व्यक्ति–गोपनीयतालाई अत्यधिक महत्व दिन्छ। औपचारिकताको बढी प्रदर्शनमा ध्यान दिंदैन। उदाहरणका
लागि अमेरिकी समाज (खासगरी अंग्रेजी भाषीहरू) मा भर्खर जन्मेको बालकलाई सम्बोधन
गर्दा पनि ‘यु’ (You) भनिन्छ। १०० वर्षको व्यक्तिलाई सम्बोधन गर्दा
पनि ‘यु’ नै भनिन्छ। एक व्यक्तिको हिसाबले दुवैलाई समान
किसिमको सामाजिक हैसियत (इज्जत) प्रदान गरिन्छ। भाषाद्वारा नै व्यक्तिलाई (उसको
आर्थिक अवस्था अनुसार)) विभेद गरिंदैन। सानै देखि सामाजिक विभेद खप्न नपरेकोले
व्यक्तिहरूमा बलियो मनोविज्ञान विकसित हुन्छ।
मातापिता धनी भए तापनि छोराछोरीहरूले आफ्नो आम्दानीले नै आफ्नो कलेज, घर भाडा, खाना आदिको खर्च टार्छन्। युवाहरूले काम गरेर,
त्यसबाट प्राप्त भएको आम्दानीबाट वा विद्यार्थी
ऋण (Education
loan), जुन सरकारले सस्तो ब्याजदरमा उपलब्ध गराएको हुन्छ, लिएर त्यसबाट शिक्षामा लाग्ने खर्च बेहोर्छन्।
अर्थात् युवा अवस्थादेखि नै आत्मनिर्भर हुन सिक्छन्।
न मातापिता सन्तानका लागि (आर्थिकरूपमा) भार
बन्छन्, न सन्तान मातापिताका लागि
भार बन्छन्। दुवैथरी आफ्नै किसिमले बाँच्छन्। आआफ्नो आम्दानी आफ्नै किसिमले खर्च गर्न स्वतन्त्र हुन्छन्। तर सन्तानप्रति मातापिताको र
मातापिताप्रति सन्तानको माया घटेको भने हुँदैन। आफ्नो मातापितालाई
भेट्न सन्तान र सन्तानलाई भेट्न मातापिताहरू उनीहरूको निवासमा नियमित वा समय–समयमा अवश्य जान्छन्।
अमेरिका एक बहुसंस्कृतिको सङ्गम स्थल हो।
यहाँ विवाह वा परम्परामा कुनै पनि किसिमको कट्टरता छैन। बहुसांस्कृतिक मुलुक
भएकोले नै सामाजिक व्यवस्थामा यो मुलुक निकै उदार छ र यो उदारताले आर्थिक विकास
गर्न अमेरिकीहरूलाई सघाएको छ।
अमेरिकी समाजमा सृजित चिन्तन ‘आफ्नो आफैले आर्जन गर’ ले प्रत्येक व्यक्तिलाई सानै उमेरदेखि उद्यम
गर्न अभिप्रेरित गर्छ र बाध्य पनि पार्छ।
व्यापारको क्षेत्रमा अभूतपूर्व प्रगति हासिल
गरेका अमेरिकी नागरिक बिल गेट्स हुन्, वा मार्क जुकरबर्ग, कुनैले पनि आफ्नो मातापिताले दिएको पैसा लिएर व्यवसाय (व्यापार) शुरू गरेका होइनन्। आफ्नै आम्दानी (लगानी) बाट व्यवसाय शुरू गरेका हुन्। ‘जे गर्ने हो आफैले गर्ने हो’ भन्ने मान्यतामा अमेरिकी समाजले बलियो विश्वास राख्छ र
अभ्यास पनि उत्तिकै गर्छ।
युवाहरूले आफ्नो विवाहको लगि
खर्च पनि आफैं जुटाउँछन्। विवाहका लागि मातापितामा भर पर्नु, मातापिताले वर वा वधू खोजिदिनु जस्तो चलन
अमेरिकीहरूको नजरमा अनौठो मानिन्छ।
अमेरिकी समाज गतिशील समाज हो। खाडीका
देशहरूमा झै अति धार्मिक तथा सामाजिक कट्टरता अमेरिकी समाजमा देखिंदैन। यहाँ
परिवारले, परिवारको संरचनाले नै
सामाजिक गतिशीलता सिकाउँछ।
कुनै पनि मुलुक आर्थिकरूपमा सम्पन्न हुनका
लागि त्यस देशमा सामाजिक गतिशीलता हुन आवश्यक छ।
नेपाल, भारत, पाकिस्तान,
बङ्गलादेश, अफगानिस्तान आदि मुलुकमा व्याप्त ठूलो परिवार (Extended family) परम्पराले पनि यी देशका नागरिकलाई गरीबीबाट
बाहिर आउन दिइरहेको छैन। यस्तै स्थिति अफ्रिकी महादेशका मुलुकहरूमा पनि छ। बृहत्
परिवारमा बस्दा व्यक्तिहरू स्वतन्त्र भएर बाँच्न सक्तैनन्, साथै परावलम्बी पनि हुन्छन्। अनेक किसिमका औपचारिकता पालन
गर्न बाध्य हुन्छन्। अमेरिकीहरू बृहत् होइन, स- सानो, अति सानो (Nuclear) परिवारमा बस्छन्। परिवारमा मातापिता र स्कूले सन्तानमात्र समाविष्ट हुन्छ। एक व्यक्ति
(पारपाचुके भएको, वा विवाह न भएको)
को पनि परिवार हुन सक्छ। एक्लै रहेर पनि, तर स्वतन्त्रता पूर्ण उपभोग गरेर बाँच्नुपर्छ भन्ने मान्यतामा अमेरिकीहरू
बलियो विश्वास गर्छन्।
अमेरिकाको अभूतपूर्व आर्थिक विकासले
पारिवारिक संरचना र व्यक्ति एवं मुलुकको आर्थिक विकासबीच नङ र मासुको झै सम्बन्ध
हुन्छ भन्ने तथ्य प्रमाणित गरिदिएको छ।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, May 10, 2019
No comments:
Post a Comment