नेपालले चीनसँग व्यापारलाई किन अति महत्व
दिनुपर्छ?
नेपालको भौगोलिक अवस्थिति
दुई विशाल अर्थतन्त्र–भारत र चीनबीच
हुनुले नेपालको आर्थिक विकासलाई चुनौतीपूर्ण तुल्याइदिएको छ। नेपालको अर्थिक विकास
व्यापारमाथि झन्झन् निर्भर हुँदै गएको सन्दर्भमा नेपालको आर्थिक विकास त अझै
चुनौतीपूर्ण हुन पुगेको छ। मुनाफामूलक कृषिका लागि आवश्यक आधुनिक उपकरण र प्रविधि
अभाव तथा कुशल कृषि श्रमिकको अनुपस्थितिले गर्दा नेपालको कृषि क्षेत्र केवल जीवन
निर्वाहका लागि मात्र हुन पुगेको छ। नेपाली कृषकहरूले ठूलो परिमाणमा उत्पादन गरेर
ठूलो परिमाणमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्ने स्थिति छैन। कृषिबाट
नेपालले फाइदा लिन सकेको छैन। नेपालका कृषि उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा
पुग्न सकेका छैनन्। अर्कोतिर ठूलो सङ्ख्यामा नेपालीहरू अहिले पनि कृषिमा नै निर्भर
छन्। कृषि नै बहुसङ्ख्यक नेपालीका लागि प्रमुख आयस्रोत हुन पुगेको छ। भारतका कृषि
उत्पादनहरू विश्वका विभिन्न बजारमा बिक्री भइरहेका छन्। भारतमा उत्पादित बासमती
चामल विश्वभरिका बजारमा बिक्री हुन्छ। आफूसँग पेटेन्ट राइट भएकोले ‘बासमती’ नाम राखेर केवल भारतले मात्र विश्वभरि चामल बिक्री गर्न
पाउँछ। भारतबाहेक अन्य राष्ट्रले बासमती नाम राखेर चामल बिक्री गर्न पाउँदैन। यसरी
बासमतीको नामबाट भारतले अन्तर्राष्ट्रिय बजारबाट राम्रो फाइदा लिएको देखिन्छ। खास
कृषि उत्पादनमा खास किसिमको अधिकार भएकोले त्यो अधिकारको भारतले राम्रो आर्थिक
फाइदा लिएको छ। अमेरिका र युरोपका बजारहरूमा बासमती चामल ठूलो परिमाणमा बिक्री
हुने गरेको सहजै देख्न सकिन्छ।
नेपालको अर्थ व्यवस्थालाई अब क्रमिकरूपमा व्यापारमुखी
पार्दै लग्नुपर्छ। सस्तोमा भारतबाट चामल, दाल, तेल आदि खरिद गर्ने र
भारतलाई महँगोमा त्यस्ता वस्तु बिक्री गर्ने, जुन भारतमा उत्पादन हुन सकेको छैन वा भारतले उत्पादन गर्न
सक्तैन। यस्तै नीति चीनसँग हुने व्यापारमा पनि लिनुपर्छ। नेपालले औद्योगिक सामग्रीहरू
उत्पादन गरेर चीनलाई बिक्री गर्न सक्नु अब सम्भव रहेन। यो अब सपनामा मात्र सीमित
रह्यो। त्यसकारण चीनसँग सस्तो औधोगिक वस्तुहरू खरिद गर्ने र चीनमा उत्पादन हुन
नसकेको वा चीनले उत्पादन गर्न नसक्ने वस्तुहरू चीनलाई बिक्री गर्नु उचित हुन्छ।
नेपालले कुनै वस्तुको उत्पादन, जसमा आफ्नो प्राकृतिक एकाधिकार छ, बिक्री गर्नुपर्छ।
उदाहरणका लागि लप्सीको अचार। यो केवल सामान्य उदाहरण मात्र हो।
नेपालले चीन र भारतसँग व्यापारबाट यदि फाइदा
लिने हो भने माथि उल्लेख गरेको नीति लिएमा मात्र फाइदा लिन सकिन्छ। यी दुई छिमेकीहरूबाट
व्यापारिक फाइदा लिने हो भने माथि उल्लेख गरिएको नीति लिनु नै पर्छ, यस नीतिको अर्को विकल्प हुन सक्तैन। यो नीतिले
मात्र चीन र भारतसँग व्यापार गर्न नेपाललाई सक्षम बनाउँछ।
प्रकृतिले कुनै पनि देश वा क्षेत्रलाई सबै
कुरा (उत्पादन गर्न सकिने स्थिति) दिएको हुँदैन। प्रकृतिले कुनै खास क्षेत्रलाई
कुनै खास विशेषताले युक्त गरेको हुन सक्छ। उदाहरणका लागि दक्षिण अफ्रिका विकासशील
राष्ट्र भए तापनि सुन उत्पादनमा अग्र स्थानमा छ। यसै गरी बोत्सवाना, कंगो, जिम्बाब्वे, अंगोला अफ्रिका
महादेश धनी राष्ट्र नभए तापनि हीराको उत्पादनमा यी राष्ट्र निकै अगाडि छन्।
भेनेजुएलासँग विश्वभरिमा नै सर्वाधिक ठूलो तेल (पेट्रोलियम) भण्डार छ।
नेपालले पनि आफू कुन क्षेत्रमा सबल छ वा हुन सक्छ त्यस क्षेत्रको खोजी
गर्नुपर्छ, अनुसन्धान गर्नुपर्छ। र
त्यही सबल क्षेत्रमा केन्द्रित रहेर छिमेकीहरूसँग व्यापार गर्नुपर्छ। नेपालले
भारतलाई अब धान, चामल, गहुँ आदि बेच्ने दिन गए।
नेपालका दुई घनिष्ठ छिमेकीहरू भारत र चीन
एशियाका आर्थिक महाशक्ति भए तापनि वा अत्यन्तै ठूला बजार भए तापनि ती
राष्ट्रहरूलाई केवल सामान्य किसिमका वस्तु वा सेवा बिक्री गरेर यी ठूला बजारबाट
फाइदा लिन अब सकिंदैन। र फाइदा लिन सकिन्छ भनेर सोच्नु भ्रममात्र हुनेछ। धेरै लेख,
अन्तर्वार्ता, अभिव्यक्ति विचारहरूमा यस किसिमका सोच (चीन र भारतका बजारमा
सामान्य वस्तु बिक्री गर्न सकिने) उल्लेख गरिएको पाइन्छ। भारत र चीन अत्यधिक ठूला
बजार भए तापनि यी बजारलाई कृषि, औद्योगिक सामग्री
वा सामान्य किसिमका वस्तुहरू बिक्री गरेर नेपालले कुनै हालतमा आर्थिक फाइदा
प्राप्त गर्न सक्तैन। यी दुवै क्षेत्रमा चीन र भारत अगाडि छन्। झन् चीनको स्थिति त
अति पृथक छ। उद्योगको क्षेत्रमा अग्रणी स्थानमा भएको कारण चीनले अहिले विश्वको
कुनै पनि देशमा आफ्ना वस्तुहरू सस्तोमा बिक्री गर्न सकिरहेको छ।
अर्थात् चिनियाँ वस्तुहरू विश्वमा नै सस्तोमा बिक्री भइरहेको छ।
नेपालले उत्पादनमा एकाधिकार वा विशेषज्ञता
हासिल गरेका वस्तुहरू चीनलाई बिक्री गरेर राम्रो फाइदा लिन सक्ने स्थिति भने छ।
त्यस किसिमका वस्तुहरूको खोजी नेपाली व्यापारीहरूले आफ्नै लगानी एवं पहलमा
गर्न आवश्यक छ। यस्तो गर्न सके नेपालले चीनसँग
व्यापारबाट फाइदा लिन सक्छ। अर्को किसिमले हेर्दा नेपालले चीनको स्वशासित क्षेत्र
तिब्बतमा पनि विभिन्न किसिमका सामग्री निर्यात गर्न सक्ने स्थिति छ। नेपालले
चिनियाँ पर्यटकहरूलाई पहाडी मार्गबाट भित्र्याएर पनि नेपाल–चीन व्यापारबाट
फाइदा लिन सक्छ। अहिले चीनले आर्थिक क्षेत्रमा गरेको अभूतपूर्व प्रगति एवं
चिनियाँहरूमा आएको केही सामाजिक परिवर्तनले गर्दा बहुसङ्ख्यक चिनियाँहरू पर्यटनमा
राम्रो रकम खर्च गर्न सक्ने स्थितिमा पुगेका छन्। खर्च गरि पनि रहेका छन्। यी
कारणले गर्दा चिनियाहरू अहिले अमेरिका, युरोप भ्रमणमा निस्किने गरेका छन्। यो अवसरको नेपालले पनि फाइदा उठाउन
सक्नुपर्छ। नेपालले चिनियाँहरूलाई पर्यटकको रूपमा नेपला ल्याउन जोड दिनुपर्छ।
चिनियाँ पर्यटकहरू स्थलमार्गबाट पनि ठूलो
सङ्ख्यामा आउन सक्ने सम्भावना छ। तर अहिलेको लागि भने चिनियाँ पर्यटकहरूले
स्थलमार्गको तत्काल उपयोग गर्ने सम्भावना देखिंदैन। नेपालको बार्हबिसे नजीक तातोपानी नाका र टिमुरे नजीक रहेको
रसुवागढी नाकाबाट चिनियाँ सामानहरू आयात गर्न र नेपाली सामान चीनतर्फ निर्यात गर्न
सजिलो हुने स्थिति भने सृजना हुन थालेको छ।
रसुवागढी नजीक रहेको टिमुरेमा सुख्खा
बन्दरगाह निर्माण हुने सम्झौता नेपाल र चीनबीच केही दिन पहिलेमात्र सम्पन्न भएको छ।
र यो सुख्खा बन्दरगाहको निर्माण अबको एक महीनाभित्र प्रारम्भ भएर ३० महीनाभित्र
सम्पन्न हुनेछ। यो सुख्खा बन्दरगाह भने उत्तरी सिमानामा दोस्रो हुनेछ।
चीन सरकारको सहयोगमा निर्माण हुन थालेको यो
आधुनिक सुख्खा बन्दरगाहले नेपाल–चीन व्यापारलाई सरल पार्ने एवं नेपाली निर्यात त्यसतर्फ बढेर जाने विश्वास
लिइएको छ। यो सुख्खा बन्दरगाहको निर्माणले चीनबाट सामानहरू आयात गर्न झन् सजिलो
हुनेछ। साथै यो नाका (सुख्खा बन्दरगाह प्रयोग गर्दै) ले नेपाली समानहरू चीनको
सिंगात्सेसम्म पुर्याउन ठूलो सहयोग
गर्ने छ। रसुवागढी नजीक रहेको चिनियाँ बजार केरूङसम्म रेल व्यवस्था स्थापना गर्ने
लक्ष्य पनि चिनियाँ सरकारले राखेको छ। त्यही रेल व्यवस्था प्रयोग गर्दै नेपाली
भूमि स्याफ्रु, मैलुङ, त्रिशूली, गल्छी हुँदै दक्षिण एशियासम्म रेल सेवा विस्तार गर्ने
लक्ष्य चीनले राखेको छ। चीन र नेपाल दुवैको यो महत्वाकाङ्क्षी योजना (चीनदेखि दक्षिण एशियासम्म रेल व्यवस्था)
सम्पन्न हुने हो भने यसले चीन र नेपाल दुवैलाई निकै फाइदा पुर्याउने छ। चीनको व्यापार विस्तार हुनेछ भने नेपालको रणनैतिक
शक्ति (Strategic power) र अडान शक्ति (Bargaining power) दुवैमा ह्वात्तै वृद्धि हुनेछ किनभने यो रेल
व्यवस्थाले नेपालको भारतमाथिको अति व्यापारिक निर्भरता कम भएर जानेछ भने आर्थिक
कारण देखाएर भारतले नेपालको राजनीतिमा गर्ने दृश्य–अदृश्य, प्रत्यक्ष–परोक्ष हस्तक्षेप पनि कम हुनेछ। तर मुख्यरूपमा
व्यापारको क्षेत्रमा नेपालले तत्काल फाइदा पाउने छ।
नेपालले मुलुकको आर्थिक विकासको लागि व्यापार
एवं पर्यटनमा बढी जोड दिनुपर्छ। र व्यापारलाई अझै मुनाफमुखी तुल्याउन चीनसँग
व्यापारमा जोड दिनुपर्छ।
भारतका आम नागरिकको तुलनामा चीनका आम नागरिकको
आर्थिक स्थिति राम्रो छ। क्रय शक्ति पनि बलियो छ। यो कारणले गर्दा चिनियाँ बजार
नेपाली निर्यातकर्ताहरूको लागि निकै लाभदायक हुन सक्छ।
तर मुख्य कुरो भने फेरि त्यही दोहोर्याउनु पर्ने हुन्छ। नेपालले चीनलाई त्यही सामान
बिक्री गर्नुपर्छ जुन चीनमा उत्पादन हुन नसक्ने वा चीनमा उत्पादन गर्दा धेरै महँगो
हुने होस्। यस्तो गर्न सकिएमा नेपालले बृहत् चिनियाँ बजारको फाइदा उठाउन सक्छ। र
व्यापार विविधीकरणका लागि यस्तो गर्नु आवश्यक पनि छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 17, 2019
No comments:
Post a Comment