सरकारले तत्काल गर्नुपर्ने कार्य
को
गृह मन्त्री हुने,
को
राष्ट्रपति हुने,
कुन
दलले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने, कुन–कुन दलले समर्थन गर्ने, वर्तमान सरकारको पतन गराएर अब कुन दल र व्यक्तिको नेतृत्वमा सरकार
बनाउने जस्ता कार्य दल र नेताहरूले समाप्त गरेर अब राष्ट्रको आर्थिक विकासमा
लाग्नुपर्छ।
जुनसुकै
दल वा व्यक्तिको नेतृत्वमा सरकार बने पनि, त्यसलाई स्थिरता दिनुपर्छ भन्ने विषयमा सबै दलहरू सहमत हुन र सोही
अनुसार कार्य गर्न आवश्यक छ। देशले स्थिर सरकार नपाएसम्म देशको आर्थिक विकास सम्भव
छैन। अनि देशमा जतिजति गरीबी र बेरोजगारी बढ्दै जान्छ सोही अनुसार नागरिकमा निराशा
बढ्दै जान्छ। जीवनदेखि निराश भएर प्रेमप्रसाद आचार्य जस्तो आत्मदाह गर्नेहरूको
सङ्ख्या झन्झन् बढ्ने छ।
प्रेमप्रसाद
आचार्यको आत्महत्या नेताहरूको सत्तामोहको विरोध हो। नेताहरूले निर्माण गरेको चरम
निराशावादी राष्ट्रिय राजनीतिले प्रेमप्रसाद आचार्यलाई आत्महत्या गर्न प्रेरित
गरेको हो। प्रेमप्रसाद आचार्यको मृत्युको नैतिक जिम्मेवारी हाम्रा नेताहरूले
बोक्नुपर्छ। मुख्यगरी एमाले, नेका र माओवादीका नेताहरूले बोक्नुपर्छ।
नेताहरूले
आफ्नो आचारणमा सुधार नल्याए, देशको आर्थिक स्थिति जर्जर हुँदै गए, थप व्यक्तिले आचार्यले झैं आत्महत्या गर्नेछन्।
देशको
बिग्रँदो आर्थिक स्थितिमा सुधार ल्याउन सबै दलका नेता तथा कार्यकर्ताबीच आर्थिक
विकासका लागि एउटा बलियो र दीर्घकालीन आर्थिक सहमति हुन आवश्यक छ र सबैले सोही
सहमति अनुसार कार्य गर्न आवश्यक छ। यस्तो गरे मात्र आर्थिक विकास सम्भव छ।
राष्ट्रको
आर्थिक स्थितिमा तत्काल सुधार ल्याउन पुष्पकमल दहाल नेतृत्वको सरकारले निम्न कार्य
गरेमा नेपालको विभिन्न क्षेत्रमा आर्थिक सुधार गर्न सकिन्छ। समग्र राष्ट्रको
आर्थिक विकासको गतिमा तीव्रता ल्याउन सकिन्छ।
कार्यदल निर्माणः नेका, एमाले, माओवादी, रास्वपा, राप्रपा गरी विभिन्न दलका आर्थिक क्षेत्रका विज्ञहरूको एक कार्य दल यो सरकारले निर्माण गरेर उक्त कार्य दलको सल्लाह अनुसार आर्थिक विकासका कर्यक्रमहरू ल्याउँदा राम्रो हुन्छ। सबै राजनीतिक दलका प्रतिनिधि यस कार्यदलमा संलग्न रहेको र यो कार्यदलले दिएको सुझाव सबै दलको सहमति अनुसार हुने हुँदा त्यस्ता सुझाव कार्यान्वयन गर्न सरकारलाई सजिलो पनि हुन्छ। कार्यक्रमहरू प्रभावकारी किसिमले सम्पादन पनि हुन्छन्।
देशको
आर्थिक स्थिति जर्जर हुन थालेको र कुनै पनि बेला देशको अर्थ व्यवस्था बिरामी
हात्तीजस्तो ढल्न सक्ने हुनाले देशको वर्तमान आर्थिक स्थितिप्रति सबै दल, तिनका नेता तथा कार्यकर्ताहरू गम्भीर
हुन आवश्यक छ।
देश
आर्थिकरूपमा सक्षम भए मात्र प्रजातन्त्रको महत्व रहन्छ । चुनावको महत्व हुन्छ। पद
(सांसद, मन्त्री, प्रम आदि) को महत्व हुन्छ। देश गरीब भए राष्ट्रिय राजनीति अर्को
देशको हातमा जान्छ, सिरियाको
राजनीति केही देशको हातमा गएझैं। बाहिरबाट र पदीय हिसाबले बसार अल–असद सिरियाको
राष्ट्रपति देखिए तापनि उनले काम भने अन्य देशका लागि गरिरहेका छन्। उनी आफू स्वयं
पनि स्वतन्त्र छैनन् र सिरियालाई पनि केही राष्ट्रको उपनिवेश जस्तो बनाइदिएका छन्।
सिरिया जति जति गरीब हुँदै जान्छ त्यति नै उसको राष्ट्रिय राजनीति कमजोर भएर अर्को
राष्ट्रको हातमा जान्छ। लेबेनानको स्थिति पनि सिरियाजस्तै छ। लेबेनानका नेताहरूले
देशलाई आर्थिकरूपमा दिवालिया नै पारेका छन्। राष्ट्रको आर्थिक विकासको लागि एकजुट
नभएर नेपालका नेताहरू सधैं यसैगरी सत्ताका लागि झगडा गरिरहे र देशलाई गरीब पार्दै
गए भने उनीहरूले नेपाललाई पनि उपनिवेशझैं
पार्न सक्छन्।
वैदेशिक
व्यापारः सामान्य अवस्थामा राष्ट्रले जे जति आयात गर्छ, त्यस आयातको भुक्तानी विदेशी मुद्रामा
गर्नुपर्छ। नेपालमा अहिले आयातको मूल्यको भुक्तानी गर्न केवल ‘रेमिट्यान्स’ मात्र
एउटा बलियो स्रोत छ। तर रेमिट्यान्सप्रति भार भने निकै ठूलो हो। नेपालको
अर्थतन्त्र अहिले केवल रेमिट्यान्सले टिकेको छ। तर अब यो स्थिति अन्त्य हुनुपर्छ।
नेपालले अब वैदेशिक व्यापारको विकास एवं विस्तारमा जोड दिनुपर्छ। विदेशमा रहेका
नेपाली राजदूतावासलाई सम्बन्धित देशको घनिष्ट सम्पर्कमा रहन लगाएर नेपाल सरकारले
सम्बन्धित देशसँग व्यापार विस्तार गर्न नेपाली राजदूतावासहरूको उपयोग गर्नुपर्छ।
नेपाली राजदूतहरूलाई आफू रहेको देशमा नेपाली वस्तु बढी मात्रामा बिक्री गर्ने
किसिमबाट कार्य गर्न सरकारले निर्देशित गर्नुपर्छ। प्रोत्साहित गर्नुपर्छ।
चीन
र भारत विश्वका दुई बढी जनसङ्ख्या भएका राष्ट्र हुन्। यी दुई देशका नागरिक ठूलो
सङ्ख्यामा संसारभरि फैलिएका छन्। अर्कोतिर नेपाली खाद्य एवं अन्य वस्तु चिनियाँ र
भारतीयहरूले मन पराउँछन। भारतसँग हाम्रो संस्कृति मिल्छ भने चीनसँग स्वाद मिल्छ।
यो कारणले गर्दा नेपाली व्यापारीहरूले संसारका अनेक देशमा छरिएर रहेका चिनियाँ एवं
भारतीय उपभोक्ताहरूलाई नेपाली खाद्य एवं अन्य वस्तु बिक्री गर्न सक्छन्। वैदैशिक
व्यापारको सन्दर्भमा नेपाली व्यापारीहरूको लागि यो ठूलो अवसर हो। यस अवसरको प्रयोग
कुशलतापूर्वक गर्न आवश्यक छ।
नेपाल–अमेरिका
व्यापारः दक्षिण एशियाको राजनीति र मुख्यगरी चीन–भारत सम्बन्धले गर्दा अमेरिकाको
नजरमा नेपालसँगको आफ्नो राजनीतिक सम्बन्ध महत्वपूर्ण हुन पुगेको छ। बेला बेला
अमेरिकी उच्च पदाधिकारीहरूबाट नेपालको भ्रमण हुनु र विभिन्न दलका नेताहरूलाई
भेट्नुले यस कुराको पुष्टि गर्दछ। हालै मात्र पनि अमेरिकाको विदेश मन्त्रालयको
राजनीतिक मामिलासम्बन्धी अन्डर सेक्रेटरी भिक्टोरिया नुलान्डबाट नेपालको भ्रमण
भएको थियो।
चीन
र भारतको बढ्दो शक्ति सन्तुलनमा राख्न अमेरिकाले नेपालसँग सम्बन्धलाई प्राथमिकतामा
राख्नुपर्ने स्थिति सृजना भएको छ। नेपालसँग आफ्नो सम्बन्ध रणनीतिक हिसाबले
महत्वपूर्ण हुन पुगेको भनी अमेरिकाले आफ्नो विदेश नीतिमा यो तथ्य समाविष्ट
गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। अमेरिकामा डेम्रोकेट वा रिपब्लिकन जुन सुकै
दलको प्रशासन (राष्ट्रपति) भए तापनि नेपालले अमेरिकाबाट अनेक सुविधा पाइनै रहने छ, यदि नेपालका नेताहरूले यो अवसरको
राम्रो उपयोग गर्न सके भने।
यो
नयाँ परिस्थितिको उपयोग गर्दै, नेपाल–अमेरिका सम्बन्धलाई दुई देश बीचको व्यापार विकासमा उपयोग गर्न
सके नेपाली वस्तुहरू ठूलो परिमाणमा अमेरिकातिर निर्यात गर्न सकिन्छ। ठूलो परिमाणमा
वस्तुहरू बिक्री गरेर डलर वा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। यो ‘विशेष अवसर’ को
नेपाल सरकार र जनता दुवैले राम्रो उपयोग गर्नुपर्छ।
कृषिमा
विशेष जोड : कुनै समयमा सिंगापुर, मोरिसस, बङ्गलादेश, भारत आदि देशमा चामल निर्यात गर्ने देश
नेपाल अहिले चामल आयात गर्नुपर्ने अवस्थामा पुगेको छ। ठूलो परिमाणमा नेपालमा चामल
उत्पादन गर्न सकिने स्थिति छ भन्ने कुरा हाम्रो विगतले देखाउँछ। हामीले ठूलो
परिमाणमा धान, चालम, गहुँ, मकै
आदि उत्पादन गर्न सक्छौं तर जनता र सरकार दुवै पक्षले कृषिलाई महत्व नदिएकोले यस
क्षेत्रको विकास हुन सकेको छैन। कृषि उत्पादन र उत्पादकत्व दुवैमा जोड दिन आवश्यक
छ। पूँजी, प्रविधि, बीज एवं मलखादको राम्रो व्यवस्था सरकारी तवरबाट हुन आवश्यक छ। यस
कार्यको लागि गाउँपालिकहरूलाई सक्रिय पार्नुपर्ने हुन्छ।
कृषि
उत्पादन वृद्धि गर्नासाथ हामीले खाद्यान्न आयातको स्थितिमा सुधार ल्याउन सक्छौं।
अनेक रोजगार सृजना गरेर विदेशतिर लाग्ने युवाहरूलाई स्वदेशमैं रोजगार उपलब्ध गराउन
सक्छौं र व्यक्ति एवं परिवारको क्रयशक्ति वृद्धि गरेर गरीबी कम पार्न सक्छौं।
तरकारी
एवं फलफूल उत्पादन : वातानुकूलित गोदाम घर निर्माण गर्न ऋण लिन आउने कृषक वा
व्यापारी हरूलाई सहुलियत ब्याजदरमा ऋण दिएर विभिन्न गाउँपालिकाहरूमा वातानुकूलित
गोदाम निर्माण गर्न सकिन्छ। प्रत्येक गाउँमा एउटा मात्र पनि त्यस किसिमको गोदाम
निर्माण गर्न सके ठूलो परिमाणमा फलफूल एवं तरकारी लामो समयसम्म संरक्षण गर्न सकिन्छ।
तरकारी एवं फलफूल स्वदेशमैं ठूलो परिमाणमा उत्पादन गर्न सके एकातिर देशभरि रोजगार विस्तार गर्न सकिन्छ भने अर्कोतिर ती वस्तु खरीद गर्दा विदेश जाने गरेको वैदेशिक मुद्रा (भारु, डलर आदि) स्वदेशमा नै विकास कार्यमा खर्च गर्न सकिन्छ।
पहाडी
भूमिको उपयोग : हिमाली एवं पहाडी भूमि प्रभावकारी किसिमले उपयोग गर्न सरकारले
तत्काल विशेष किसिमको नीति निर्माण गर्न र तिनको कार्यान्वयन गर्न आवश्यक छ।
हिमाली एवं पहाडी भूमि प्रभावकारी किसिमले उपयोग गरेर खाद्यान्न उत्पादनमा वृद्धि
गर्न सकिन्छ। हिमाली क्षेत्रमा पशुपालन गरेर त्यस क्षेत्रका बासिन्दाले राम्रो आय
आर्जन गर्न सक्छन्।
माथि
वर्णन गरिएका काम सरकारले तत्काल गर्न आवश्यक छ। अन्यथा देश कुनै पनि बेला आर्थिक
सङ्कटमा पर्न सक्छ।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, February 3,
2023
हजुरले नेपाल को सरकारलाई दिनुभएको यो सुझावहरु धेरै राम्रो छ। नेपाल सरकारले हजुर जस्तो आफ्नो एक विद्वत नागरिक ले दिएको सल्लाह सुझाव लिन सके त राम्रो हुन्छ देश र जनताहरुको लागी तर सरकारले खै कहिले सुन्ने हो र यस्ता राम्रा देश र जनताहरुको लागी उपयोगी सल्लाह र सुझावहरु।
ReplyDelete