Wikipedia

Search results

Friday, April 21, 2023

Nepal-India Trade: Who is Benefiting?-Article-409

 नेपाल–भारत व्यापारः कसको लागि हितकर?

नेपाल र भारतबीच हुने व्यापारमा कसले बढी फाइदा उठाइरहेको छ भनी प्रश्न गर्ने हो भने यस प्रश्नको उत्तर दिन अनेक तथ्याङ्क अध्ययन र विश्लेषण गर्नु पर्दैन। ठूल्ठूला अनुसन्धान गर्नुपर्दैन। विना कुनै अध्ययन र विश्लेषण सहजै भन्न सकिन्छ, नेपाल र भारतबीच हुने व्यापारमा भारतले अत्यधिक फाइदा उठाइरहेको छ। भारतले अत्यधिक फाइदा उठाउने स्थिति पनि अनौठो छ। कसरी? नेपाल र भारतीबच हुने व्यापारमा नेपालले ठूलो घाटा खाएर भारतलाई यो दुई पक्षीय व्यापारबाट अत्यधिक नाफा हुने स्थितिमा पुर्याएको छ। सरल शब्दमा भन्ने हो भने नेपालले आफ्नो उद्योगधन्दा चौपट पारेर भारतलाई अत्यधिक फाइदा हुने स्थितिमा पुर्याएको छ। भारततर्फ निर्यात कम र भारतबाट नेपालतर्फ आयात बढी गरेर यी दुई देशबीच हुने व्यापारमा नेपालले बढी घाटा खाइरहेको छ। यो एक छुट्टै चर्चाको विषय हो। तर यहाँ प्रमुख चर्चाको विषय भने नेपालले आफ्नो उद्योगधन्दा चौपट पारेर भारतलाई अत्यधिक नाफा हुने स्थितिमा पुर्याउने नेताहरूको दुर्बुद्धि हो। यो गहन् र गम्भीर विषय उपर बृहत् चर्चा हुन आवश्यक छ।

सामान्य र यो स्थितिमा, नेपालले भारतसँग हुने व्यापारमा नाफा कमाउनु त टाढाको कुरा हो, सपनाको कुरा हो। नेपाल र भारतबीच हुने व्यापारमा नेपालले भारतर्फ निर्यात वृद्धि गरेर, चुलिंदै गरेको व्यापार घाटा कम पार्नु नै ठूलो कुरा हो।

यस स्थितिमा तलका निम्न कारणहरूले गर्दा नेपालले नेपाल–भारत व्यापारबाट फाइदा उठाउन असम्भव छ। नेपालले भारतसँग हुने व्यापार घाटा कम पार्नु नै पनि, यो अवस्थामा नेपालको लागि ठूलो कुरा हो।

१ स्तर लाभ (Economies of Scale)

२ पूर्ण लाभ (Absolute Advantage)

३ तुलनात्मक लाभ (Comparative Advantage)

स्तर लाभः जनसङ्ख्याको हिसाबले भारत अहिले चीनलाई उछिनेर संसारको नै सर्वाधिक ठूलो राष्ट्र हुन पुगेको छ। अर्थात् भारतको आन्तरिक बजार विशाल छ, र अझै वृद्धि हुने क्रममा छ। यसबाहेक भारतले संसारका धेरै राष्ट्रमा आफ्ना सामाग्रीहरू निर्यात पनि गर्छ। यी दुई कारणले गर्दा बिक्री गर्नका लागि, भारतले ठूलो परिमाण एवं सङ्ख्यामा उत्पादन गर्छ। ठूलो परिमाणमा उत्पादन गर्दा प्रतिएकाइ उत्पादन लागत कम भएर जान्छ। ठूलो परिमाणमा उत्पादन गर्दा, प्रतिएकाइ उत्पादन लागत कम भएर हुने लाभलाई स्तर लाभ (Economies of Scale) भन्ने गरिन्छ। नेपालले सानो परिमाणमा उत्पादन गर्दा (भारतको तुलनामा) स्तर लाभ प्राप्त हुँदैन, जसले गर्दा नेपाली समान भारततर्फ निर्यात गर्दा भारतीय बजारहरूमा नेपाली सामान महँगो भएर बिक्री हुने सम्भावना शून्य भएर जान्छ। भारतले धेरै वस्तुहरूको उत्पादनमा स्तर लाभ प्राप्त गरेकोले नेपालले भारतसँग व्यापार गर्दा फाइदा हुने स्थिति परसम्म पनि देखिंदैन। र यो स्थितिले गर्दा नेपाल र भारतबीच हुने व्यापारबाट भारतले ठूलो फाइदा प्राप्त गर्ने स्थिति सृजना भएको छ। नेपालको स्थिति भने गम्भीर हुन पुगेको छ।

पूर्ण लाभः धेरै वस्तुको उत्पादनमा भारतले पूर्ण लाभसमेत प्राप्त गरेको छ। पूर्ण लाभ (Absolute Advantage) त्यो अवस्थामा प्राप्त हुन्छ जब कुनै कम्पनी वा देशले अन्य वा प्रतिस्पर्धी जत्तिकै वा कम परिमाणमा उत्पादक सामग्री (Input) प्रयोग गरेर प्रतिस्पर्धीभन्दा बढी उत्पादन गर्न सक्छ। भारतले अहिले उत्पादनका धेरै क्षेत्रहरूमा पूर्ण लाभ प्राप्त गरको छ। नेपालको तुलनामा भारतले ठूलो मात्रामा पूर्ण लाभ प्राप्त गरेको छ। भारतसँग कुशल श्रम र उच्च प्रविधि छ। यस्तो स्थितिमा भारतले पूर्ण लाभ प्राप्त गरेको क्षेत्रमा नेपालले भारतसँग व्यापारमा फाइदा उठाउनु हाम्रो लागि आकाशको फल पाउनुजस्तो हो।

तुलनात्मक लाभः प्रतिस्पर्धी वा अन्य व्यक्ति, संस्था वा देशको तुलनामा कम लागतमा उत्पादन गर्नु तुलनात्मक लाभ प्राप्त गर्नु हो। उत्पादन लागत कम पारेर मात्र तुलनात्मक लाभ (Comparative Advantage) प्राप्त गर्न सकिन्छ। उत्पादनको विभिन्न क्षेत्रमा अर्थात् विभिन्न वस्तुहरूको उत्पादनमा भारतले अहिले तुलनात्मक लाभ पनि प्राप्त गरिरहेको छ। जुन वस्तुको उत्पादनमा भारतले तुलनात्मक लाभ प्राप्त गरिरहेको छ ती वस्तुहरूसँग नेपालले प्रतिस्पर्धा गर्नु सम्भव छैन।

माथि उल्लेख गरिएका तीन कारण स्तर लाभ, पूर्ण लाभ र तुलनात्मक लाभ जुन भारतले प्राप्त गरिरहेको वा गरेको छ, त्यसले गर्दा नेपाली वस्तुले भारतका बजारहरूमा पुग्दा भारतीय वस्तुभन्दा सस्तो हुनु सपनाको कुरा हुन पुगेको छ। अर्कोतिर भारतीय वस्तुहरू नेपाली बजारहरूमा पुग्दा नेपाली वस्तुहरू भन्दा अत्यधिक सस्तो हुनु स्वाभाविक (माथिका तीन कारणले गर्दा) हुन पुगेको छ। माथिका कारणहरूले गर्दा नेपालले भारतसँग व्यापारमा फाइदा उठाउन सकेको छैन । व्यापार घाटा पनि चुलिंदै गएको छ। भविष्यमा यस्तै स्थिति रहेमा नेपालले फाइदा उठाउने अवस्था पनि देखिंदैन। फाइदा त के, व्यापार घाटा पनि कम पार्न सक्तैन।

तर माथि देखाइएका कारणहरूले गर्दा मात्र नेपाल र भारतबीच हुने व्यापारमा नेपालले ठूलो घाटा बेहोर्नुपरेको भने होइन। नेपालमा बन्ने अस्थिर सरकार, नेताहरूको विषयवस्तुप्रति अज्ञानता, शिक्षाको कमी आदिले गर्दा पनि नेपालले यो दुई पक्षीय व्यापारमा ठूलो घाटा खानुपरेको हो। नेपाल र भारतबीच हुने व्यापारमा नेपालले ठूलो घाटा खानुको प्रमुख कारण भने नेताहरूको स्वार्थी व्यवहार हो। नेताहरूको स्वार्थी व्यवहार, सत्ताको लागि जे पनि गर्न सक्ने घटिया प्रवृत्ति, देशभन्दा आफ्नो दलको लागि राजनीति गर्ने उनीहरूमा रहेको कुसंस्कारले गर्दा नेपालले ठूलो व्यापार घाटा बेहोर्नुपर्ने स्थिति उत्पन्न भएको हो।

नेपाल र भारतबीच हुने व्यापारबाट नेपालले कसरी बढी फाइदा उठाउन सक्छ र व्यापार घाटा कसरी कम पार्न सकिन्छ, हाम्रा नेताहरूका लागि कहिले पनि गम्भीर विषय बन्न सकेन। नेपाल र भारतबीच हुने व्यापारमा भारतले ठूलो फाइदा लिने स्थिति सृजना हुनुमा बढी जिम्मेवार दहाल नेतृत्वको माओवादी केन्द्र रहेको छ। पुष्पकमलका लागि सत्ता नै सदा सर्वोपरि रह्यो। देशको अर्थतन्त्र सर्वोपरि रहेन। दहालको कारणले गर्दा नै लामो समयदेखि नेपालले स्थिर सरकार पाउन सकेको छैन। नेपालको वैदेशिक व्यापार भारतप्रति अति निर्भर हुँदै गएको छ। रेमिट्यान्सप्रति अति निर्भर हुँदै गएको छ।

वर्तमान संविधान, यसले गरेको निर्वाचनसम्बन्धी व्यवस्था र नेपाली राजनीतिलाई अति प्रभाव पार्ने राजनीतिक दलहरू (एमाले, नेका, माओवादी, समाजवादी, लोसपा, जसपा) एवं तिनका नेताहरूको स्वार्थी व्यवहारले गर्दा नेपाल र भारतबीच हुने व्यापारबाट नेपालले फाइदा उठाउने स्थिति सृजना हुन सकेको छैन।

भारतसँग व्यापार घाटा कम पार्न सकिन्छ, तर नेताहरूको व्यवहारमा सुधार आएमा र नयाँनयाँ व्यापारिक रणनीतिहरू तयार पारेमात्र।

नेपालले भारतसँग व्यापारबाट अत्यधिक नाफा हुने स्थिति ल्याउन सक्छ। यस्तो गर्नका लागि नेपालमा सर्वप्रथम देशलाई माया गर्ने राजनीतिक दल र नेताहरूको उदय हुन आवश्यक छ।

नेपालमा देशलाई माया गर्ने राजनीतिक दल र नेताहरूको उदय भएमा उनीहरूले नेपाललाई हित हुने वैदेशिक व्यापार नीति तयार पार्न सक्छन्। नेपाली उद्योगहरूको विकास र विस्तार हुने नीति तयार पार्न सक्छन्।

नेपालले भारतसँग हुने व्यापारबाट फाइदा उठाउन सक्छ। यस्तो हुनका लगि नेपालले पनि देशभित्र उत्पादनका त्यस्ता क्षेत्रहरूको पहिचान गर्नुपर्दछ जहाँ नेपाललाई स्तर–लाभ, पूर्ण–लाभ, र तुलनात्मक–लाभ प्राप्त हुन सकोस्। जस्तै जल विद्युत् उत्पादनमा, तोकिएका क्षेत्रहरूमा नेपालले माथि भनिएका तीनवटै लाभ प्राप्त गर्न सक्छ। भारत भन्दा सस्तोमा जल विद्युत् उत्पादन गरेर नेपालले उक्त जल विद्युत् भारतलाई बिक्री गरेर राम्रो लाभ प्राप्त गर्ने मात्र होइन, व्यापार घाटा पनि कम पार्न सक्छ।

जल विद्युत् एउटा प्रतिनिधि उदाहरण मात्र हो। नेपालमा उत्पादनका अनेक त्यस्ता क्षेत्र छन्, जहाँ उत्पादन गर्दा नेपालले स्तर, पूर्ण र तुलनात्मक लाभ प्राप्त गर्न सक्छ। नेपालले ती क्षेत्रहरूको पहिचान गर्नुपर्छ। पहिचान गर्नका लागि विभिन्न अध्ययन एवं अनुसन्धान गर्नुपर्छ।

मन्त्रीहरूको काम आफ्नो दलको स्वार्थका लागि राजनीति गर्नु, सत्तामा सदा सर्वदा रहन के कस्ता दाउपेच चाहिन्छ त्यसको निर्माण गर्नु, ठगी गर्न गठबन्धन निर्माण गर्नु होइन। जनताले भुक्तान गरेको कर खाएर मन्त्रीहरूले त्यस्तो गर्नु उनीहरूको नैतिकताले नदिनुपर्ने हो।

मन्त्रीहरूले देश र जनताको हित हुने नीतिहरू निर्माण गर्नुपर्छ। ती नीति सफल पार्न प्रभावकारी कार्यहरू गर्नुपर्छ। मन्त्रीहरूले नेपाल र भारतबीच हुने व्यापारबाट नेपालले कसरी बढी फाइदा लिन सक्छ भनी सोच्नुपर्दछ। अर्थमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्री तथा आपूर्ति मन्त्रीको दायित्वभित्र  यो कार्य पर्दछ । मन्त्र पद प्रतिष्ठाको पद मात्र होइन, जिम्मेवारीको पनि पद हो।

 


विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, April 21, 2023

https://eprateekdaily.com/2023/04/20/49965/ 

No comments:

Post a Comment