नेपाली अर्थतन्त्रमा तीन महाभूल
नेपाली
अर्थतन्त्रमा तीन महाभूल भएका छन्। नेपालका सर्वजनिक संस्थानहरूलाई सार्वजनीकरण
नगरेर निजीकरण (बिक्री) गर्नु, माओवादीहरूले जनयुद्धको नाममा आर्थिक संरचनाहरू ध्वस्त गर्नु र अर्थ
मन्त्रालय विज्ञहरूको हातमा होइन, नेताहरूको हातमा हुनुलाई नेपाली अर्थतन्त्रका तीन महाभूलको रूपमा लिन
सकिन्छ। यी तीन महाभूलले नेपालको आर्थिक विकास हुन दिइरहेको छैन। ती तीन महाभूलको
असरले गर्दा नेपाली अर्थतन्त्र आक्रान्त छ। देश आर्थिक विकासको पथमा ज्यादै सुस्त
हुन पुगेको छ।
माथि
उल्लेख गरिएका तीन महाभूल र तिनको प्रभावले देशको अर्थ व्यवस्था अति चिन्ताजनक
स्थितिमा पुगेको छ। र यो कारणले गर्दा नेपालको इतिहासमा नै अहिले नेपाली युवाहरू
ठूलो सङ्ख्यामा विदेश पलायन भइरहेका छन्। कोही अध्ययनको बहानामा त कोही रोजगारको
बहानामा स्वदेश (नेपाल) छोड्न आतुर छन्। अहिले हरेक युवा नेपाल छोड्ने मनस्थितिमा
छ।
नेपाली
युवाहरू यतिसम्म निराश भएका छन् कि उनीहरूले स्वदेशमा आफ्नो भविष्य देखिरहेका
छैनन्। अर्कोतिर निराश र हताश युवाहरूमा आशाको सञ्चार गराउनुको साटो
नेताहरू–मुख्यगरी नेका, माओवादी,
निराश युवाहरूको भविष्य खतरामा होइन, गणतन्त्र खतरामा भएको देखिरहेका छन्। ‘सङ्घीय लोकतान्त्रिक
गणतन्त्रप्रति सबै नेता एक ठाउँमा हुनुपर्छ’ भन्दैछन्। सङ्घीय लोकतान्त्रिक
गणतन्त्र व्यवस्था देशमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने दलहरू एक
हुनुपर्ने भन्दै प्रम पुष्पकमल दहाल ती दलका नेताहरूलाई आह्वान गर्दैछन्।
अब
आउनुहोस् नेपालको अर्थतन्त्रलाई सदा आक्रान्त पार्ने ती महानभूलबारे चर्चा गरौं।
स्वदेशी
कच्चा पदार्थ उपयोग गरेर स्थानीय बासिन्दालाई रोजगार उपलब्ध गराउनेजस्ता जनहितका
लागि पञ्चायतकालमा स्थापना भएका सार्वजनिक संस्थानहरू–जनकपुर चुरोट कारखाना, वीरगंज चीनी कारखाना, कृषि औजार कारखाना, हेटौंडा कपडा उद्योग आदि निजीकरण
गर्नुको सट्टा सर्वजनीकरण गर्नुपथ्र्यो। ती संस्थानहरूमा रहेको सरकारी स्वामित्व
समाप्त गरेर सार्वजनिक स्वामित्व कायम गर्नु पथ्र्यो। स्थानीय जनतालाई ती
संस्थानहरूको स्वामित्व दिनुपथ्र्यो। तर अदूरदर्शी एवं स्वार्थी नेताहरूले ती
संस्थानहरू निजीकरण गरे। अनेक व्यापारीहरूलाई बिक्री गरे। सरकारी स्वामित्वमा
रहेका ती संस्थानहरू सर्वजनीकरण गर्नुको सट्टा निजीकरण गर्नु ठूलो भूल थियो।
नेपाली उद्योगको घाँटी निमोठ्नु थियो।
सरकारी
स्वामित्वमा रहेका ती संस्थानहरू घाटामा चुर्लुम्म डुब्ने स्थितिमा पनि नेताहरूले
नै पुर्याएका थिए। आफ्ना दलका र आफ्ना नजीकका अदक्ष व्यक्तिहरूलाई ती
सार्वजनिक संस्थानको निर्णायक तहमा पुर्याएर, अध्यक्ष र महाप्रबन्धक बनाएर ती संस्थानहरूलाई अति घाटा खाने
स्थितिमा दल र तिनका नेताहरूले नै पुर्याएका थिए। नेपाल सरकारको स्वामित्वमा
रहेका सार्वजनिक संस्थानहरू नष्ट पार्न महत्वपूर्ण भूमिका नेपाली काङ्ग्रेसका
नेताहरूले खेलेका थिए भने सहायक भूमिका एमालेका नेताहरूले खेलेका थिए।
नेपाली
अर्थतन्त्रलाई विपरीत दिशामा पुर्याउने काम गरेर माओवादीहरूले पनि ठूलो
भूल गरेका थिए। भूलभन्दा पनि अपराध गरेका थिए। र यो अपराध माओवादीका
कार्यकर्ताहरूले होइन, माओवादीका
नेताहरूले गरेका थिए। माओवादीको नेतृत्वकर्ता, कमान्डर पुष्पकमल दहालले गरेका थिए। माओवादी नेताहरूको योजना र
आह्वानमा माओवादी कार्यकर्ताहरूद्वारा बैंक लुट्ने, उद्योग ध्वस्त पार्ने, कल कारखाना नष्ट गर्ने, पुल भत्काउने कामहरू भएका थिए। सर्वसाधारणको आवागमनसमेत प्रभावित
पार्नेगरी माओवादीहरूले बम विस्फोट गराएका थिए। चितवन जिल्लाको माडी भन्ने स्थानमा, बाँदरमुढे खोला नजीक, सामान्य नागरिक सवार बसलाई
माओवादीहरूले बमले उडाएका थिए। माओवादीहरूले थापेको त्यो विद्युतीय धरापमा परी
त्यो बस ध्वस्त भएको थियो । २०६२ साल जेष्ठ २३ गते भएको त्यो हृदय विदारक घटनामा
४१ जना, सुरक्षाकर्मी होइन, सामान्य नागरिकको ज्यान गएको थियो।
माओवादीहरूले
अति रक्तपातपूर्ण किसिमले मचाएको त्यो तथाकथित जनयुद्धले अर्थतन्त्रको जग बेस्सरी
हल्लाइदियो। त्यस बेला हल्लिएको अर्थतन्त्रको जग अहिलेसम्म स्थिर हुन सकेको छैन।
२०५२ देखि २०६३ सालसम्म माओवादीहरूले मचाएको सङ्घर्षले नेपालको औद्योगिक एवं
व्यापारिक वातावरण तहसनहस भयो, अति नै क्षतिग्रस्त भयो। उद्यमी एवं व्यापारीहरू दीर्घकालमा प्रतिफल
आउने क्षेत्रमा लगानी गर्न हच्के। देशका उद्योगी एवं व्यापारीहरू ‘पटके व्यापार’
मा लागे। देशमा अनिश्चितता देखियो। यसरी माओवादीकालमा राष्ट्रिय अर्थतन्त्र
अनिश्चितताको खाडलमा जाकियो। नेपालको उद्योग एवं व्यापार ध्वस्त हुनेगरी
माओवादीहरूले जनयुद्ध गर्नु नेपाली अर्थतन्त्रको लागि दोस्रो महाभूल थियो।
स्मरण
होस्, माओवादीहरूले जनयुद्ध प्रारम्भ गरेपछि
नै नेपालीहरू ठूलो सङ्ख्यामा विदेश पलायन हुने क्रम शुरू भयो। कतिपय खाडी देशहरूमा
काम गर्न (उतातिर) हिंडे भने कतिपय शरणार्थी बनेर अमेरिका तथा युरोपका विभिन्न
देशहरूमा पसे।
२०४६–४७ सालमा भएको राजनीतिक परिवर्तनपछि नेपालमा एउटा ठूलो कुचलनको सूत्रपात भयो। त्यो के भने नेपाल र नेपालीको आर्थिक भविष्य निर्माण गर्ने निकाय–अर्थ मन्त्रालयमा दलहरूले सम्बन्धित क्षेत्रका विज्ञ (अर्थशास्त्री) होइन, आफ्ना मान्छे राख्ने परम्पराको थालनी गरे। जुन दलको सरकार छ, त्यही दलका नेता एवं कर्मचारीहरू अर्थ मन्त्रालयको मन्त्री हुने, सचिव हुने परम्पराको थालनी भयो। जसलाई अर्थ व्यवस्थाको ‘अ’ सम्म थाहा छैन, त्यस्ता व्यक्तिहरू पनि अर्थ मन्त्री भए। अनि त्यस्ता मन्त्रीहरूबाट कसरी हुन्छ देशको आर्थिक विकास?
२०४६–४७
पछि नेका, एमाले र माओवादीहरूले अर्थ
मन्त्रालयलाई आफ्नो कार्यकर्ता भर्ति केन्द्र बनाएर देशको अर्थतन्त्र नै ध्वस्त
पारे। बरु निरङ्कुश भनिएको पञ्चायतकालमा अर्थमन्त्रीको रूपमा नियुक्त भएका
व्यक्तिहरू सम्बन्धित क्षेत्रका विज्ञ हुन्थे, जानकार हुन्थे।
अर्थ
मन्त्रालयजस्तो संवदेनशील निकायमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई नपठाएर नेका, एमाले, माओवादीले आफ्ना दलका मान्छेलाई पठाउनु तेस्रो महाभूल हो। यस्तो भूल
यी दलका नेताहरूले विगतमा पनि उत्तिकै गरे, अहिले पनि गरिरहेका छन्।
विगतमा
भएका यी तीन महाभूलको प्रभावले गर्दा नेपालको अर्थतन्त्र अहिले आर्यघाटमा पुगेको छ।
नेपालको
अर्थतन्त्रलाई मृत्यु नजीक पुर्याउन केही नेताहरूको ठूलो भूमिका छ।
यिनीहरूको ‘कुर्सी मोह’ ले नेपाली अर्थतन्त्रलाई अगाडि बढ्न दिइरहेको छैन। अगाडि
बढ्न नदिए स्थिर रहन दिए हुन्थ्यो नि! त्यो पनि भएको छैन। उल्टो पछाडि हिंड्ने
स्थितिमा पुर्याएको छ। अहिले देशको आर्थिक स्थिति यतिसम्म दयनीय भएको छ कि यदि
विदेशबाट नेपालीहरूले कमाएर स्वदेश नपठाउने हो, नेपालमा रेमिट्यान्स न भित्रिने हो भने नेपाललाई देशको रूपमा स्थिर
राख्न, यसको अस्तित्व कायम राख्न समेत कठिन
हुनेछ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा यस्तै हुन्छ देशको अर्थतन्त्र?
२०४६
सालपछि, को कतिपटक मन्त्री भयो? को कतिपटक अर्थमन्त्री भयो? को कतिपटक प्रधानमन्त्री भयो? कुन राजनीतिक दलले कतिपटक सरकार बनायो? जनताले उनी (नेता) हरूबाट अब
हिसाबकिताब माग्नुपर्छ। नेपालको आर्थिक विकास किन भएन, प्रश्न गर्नुपर्छ।
कुर्सी
मोह त्याग गरेर निस्वार्थ देशको विकास गर्नुपर्छ भन्ने भावना नेपालीहरूमा जगाउन
शेरबहादुर देउवा,
केपीशर्मा
ओली, पुष्पकमल दहाल, माधव नेपाल आदिले राजनीतिबाट सन्न्यास
लिन अब ढिलो गर्नुहुँदैन। तपाईंहरूको नेतृत्वमा देशको आर्थिक विकास हुन सकेन।
अनेक
महाभूल गर्ने यी नेताहरूलाई अब नेतृत्व तहमा पुर्याउने अर्को महाभूल आम मतदाताले
अब गर्नुहुँदैन।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, November 10,
2023
https://eprateekdaily.com/2023/11/09/58435/
No comments:
Post a Comment