Wikipedia

Search results

Friday, November 24, 2023

Nepali Economy Needs Peace not Struggles-Article-433

 नेपालको अर्थतन्त्रले मुठभेड धान्न सक्दैन

नेपालको अर्थतन्त्रले मूठभेड धान्न सक्तैन, नेपालको अर्थतन्त्रले अस्थिरता धान्न सक्तैन। नेपालमा जतिजति अस्थिरता बढ्ने छ, नेपालको अर्थतन्त्र त्यसैगरी उधो लाग्नेछ। स्थिति यस्तै रहेमा, विकासका लागि त परको कुरा, सरकारसँग कर्मचारीहरूलाई तलब तथा पारिश्रमिक दिनसम्म रकम हुनेछैन। नेपालको अर्थतन्त्रप्रति विश्वास उठेर अन्तर्राष्ट्रिय ऋणदाताहरूले ऋण दिने छैनन् भने शर्तसहित प्राप्त हुने विदेशी सहयोगले नेपालको अर्थतन्त्रलाई झनै धराशायी पार्नेछ। राष्ट्रिय राजनीति झनै अस्थिर भएर जानेछ।

अहिले नै पनि नेपालको अर्थतन्त्र दयनीय स्थितिमा छ। देशमा रोजगार छैन। रोजगारको लागि विदेश जानुपर्ने बाध्यता छ। देशको जनसङ्ख्याको एक तिहाई रोजगारको लागि विदेशमा छ। राष्ट्रिय उत्पादन घटेर देश आयातमुखी हुन पुगेको छ। बजारमा सामानको मूल्यले आकाश छोइरहेको छ। यस्तो बेलामा आन्दोलन हुनु भनेको देशलाई आर्थिक रूपमा टाट पल्टिने स्थितिमा पु–याउनु हो। तर देशको आर्थिक स्थिति यस्तो हुँदाहुँदै पनि दुवै समूह नेपालको राजनीति अस्थिर बनाउन उद्धत छन्। जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमाले पनि भीडन्ततर्फ उन्मुख भएको छ। एमालेले पनि जुलूस प्रदर्शन गर्नु पूर्णतया गैरजिम्मेवार कार्य हो। मुठभेडको बाटो, हिंसाको बाटो रोज्नु हो। दुर्गा प्रसाई र महेश बस्नेतले नेतृत्व गरेका दुई समूहले नेपालको राजनीतिलाई कुन स्तरमा अस्तव्यस्त पार्ने हो त्यो कुरा अहिले भन्न सकिने स्थिति छैन। मङ्सिर ७ गतेको पछिको स्थितिले भन्ने छ, नेपालको राजनीतिले कुन मोड लिने छ भन्ने कुरा। तर एउटा कुरा प्रस्ट रूपमा के भन्न सकिन्छ भने यी दुई समूहले गर्ने जन प्रदर्शनले नेपालको राजनीतिलाई अस्तव्यस्त पार्नेछ। अस्तव्यस्त राजनीतिको प्रभाव नेपालको अर्थतन्त्रमा पर्नेछ। नेपालको अर्थतन्त्र झनै दयनीय हुनेछ। नेपालका केही क्षेत्रमा जनताले दुई छाक खान नपाउने र भोकमरीको स्थिति नै पनि आउन सक्ने छ। एमालेका नेता महेश बस्नेतले नेतृत्व गरेको एमालेका कार्यकर्ता तथा अभियन्ता कहलिएका राजावादी दुर्गा प्रसाईका समर्थकहरूबीच भीडन्त भएमा, भीडन्तले हिंसा–हत्याको रूप लिएमा, बजारमा अनेक किसिमका हडताल, चक्काजाम, तालाबन्दी जस्ता कार्य हुन सक्नेछ। यस्तो स्थिति भएमा नेपालका दुई क्षेत्र १. उद्योग र व्यापार तथा २. आन्तरिक र बाह्य पर्यटन नराम्ररी प्रभावित हुनेछन्। यी दुई समूह वा एउटै कुनै समूहको विरोध, जुलूस प्रदर्शन लामो समयसम्म चलेमा पर्यटन त झनै नराम्रो स्थितिमा पुग्नेछ। आशान्त देशमा पर्यटकहरू भ्रमणका लागि जाँदैनन् भन्ने जगजाहेर कुरा हो। देशमा अशान्ति बढेमा, निम्न मात्रामा भए पनि अनेक परिवारको रोजगार सृजना गर्ने पर्यटन क्षेत्र पनि सुकेर जानेछ। वर्तमान सरकारका कार्यहरूबाट रुष्ट भएर जनस्तरमा विरोध प्रदर्शन हुनु असामान्य होइन। यस अर्थमा दुर्गा प्रसाई नेतृत्वको समूहले जुलूस प्रदर्शन गर्नु, विरोध गर्नुलाई नौलो, अनौठो वा गैरजिम्मेवार मान्न सकिंदैन। प्रजातन्त्रमा यस्तो गर्न पाइन्छ। तर एमालेजस्तो जिम्मेवार राजनीतिक दल र त्यसका नेताहरू पनि सडकमा आउनु, उनीहरूले जुलूस प्रदर्शन गर्नु अनौठो हो। गैरजिम्मेवार कार्य हो। एकजना सामान्य नागरिक दुर्गा प्रसाईले त्यस्तो गर्नु ठूलो कुरा होइन, तर देशको प्रमुख प्रतिपक्षी सडकमा आउनु र दुर्गा प्रसाई समूहसँग भिडन्त गर्न तम्सिनु अति अनौठो मात्र होइन, हठ हुन पुगेको छ। देशको आर्थिक स्थिति अति दयनीय भएको बेला जुलूस, प्रदर्शन, भिडन्त आदि नगरेर, देशमा स्थिरता कामय गर्न एमाले र यसका नेताहरूले सत्तारूढ दलहरूसँग वार्ता गर्नु पर्ने हो। सहमति र वार्ताद्वारा आर्थिक समस्याको समाधान खोज्नुपर्ने हो। तर यस्तो नगरेर एमाले मुठभेडका लागि तम्सिएको छ। एमालेले दुर्गा प्रसाइ–समूहसँग मुठभेठ किन गर्न खोजेको हो, त्यो प्रस्ट हुन सकेको छैन। यो विषय रहस्यको गर्भमा छ।

एमाले, दुर्गा प्रसाई–समूहसँग मुठभेड गर्न उद्धत हुनुले एमालेको राजनीतिक संस्कार अपरिपक्व हुनु र यसले कुनै पनि समस्याको समाधान हिंसाद्वारा खोज्छ भन्ने कुराको पुष्टि हुनु हो। हुनत विगतमा पनि एमाले प्रतिपक्षमा रहँदा तोडफोड गरेको, जुलूस प्रदर्शन गरेको ताजा इतिहास छ। रेलिंग तोडेको, सडक भत्काएको, जनताको आँखामा झल्झल्ती छ।

एमालेको नेतृत्व केपीशर्मा ओलीले गरिरहेसम्म न एमाले बलियो दल बन्न सक्छ, न नेपालको राजनीतिले स्थिरता पाउन सक्छ। एमाले, माधव नेपालसमूह सँग छुट्टिने, पुष्पकमल दहालासँग जोडिने जस्ता अपत्यारिला कार्यहरू ओलीकै कार्यकालमा भएको हो। र यस्ता कार्यहरू ओलीले एमालेको फाइदाका लागि होइन, आफ्नो फाइदाका लागि गरेका हुन्। अहिले पनि महेश बस्नेतलाई ओलीले नै उचालेका हुन्। ओलीकै बल पाएर महेश बस्नेत उफ्रेका हुन्। तर नेताहरू यसरी उफ्रेर देशको आर्थिक विकास हुँदैन। देशको आर्थिक विकासका लागि नयाँनयाँ सोच चाहिन्छ। नयाँनयाँ योजनाहरू चाहिन्छ। ध्वंस होइन, शान्ति र स्थिरता चाहिन्छ।

अब मूल विषयतिर लागौं। दुर्गा प्रसाई नेतृत्वको समूहले गर्ने विरोध प्रजातन्त्रको विरोध होइन। पूर्णतया वर्तमान व्यवस्थाको विरोध पनि होइन। दुर्गा प्रसाई समूह र दुर्गा प्रसाई प्रवृत्ति समूहको विरोध मुख्यगरी शेरबहादुर देउवा, पुष्पकलम दहाल, केपीशर्मा ओली, माधव नेपाल आदिका कार्यशैलीको विरोध हो। आफ्नो फाइदाका लागि उनीहरूले गरेका राजनीतिक शक्तिको दुरुपयोगको विरोध हो। उनीहरूको असफल नेतृत्व क्षमताको विरोध हो। उनीहरूले उत्पन्न गरेको राजनीतिक अस्थिरताको विरोध हो। देश उनीहरूको अक्षम नेतृत्वको कारण आर्थिकरूपमा टाट पल्टिन थालेको स्थितिको विरोध हो। दुर्गा प्रसाईले केका लागि आन्दोलन गरेका हुन् प्रस्ट हुन सकेको छैन। यदि उनको नेतृत्वमा भएको आन्दोलनले यो व्यवस्था हटाएमा आउने व्यवस्था कस्तो हुने हो त्यो पनि प्रस्ट छैन। दुर्गा प्रसाईले यो आन्दोलन आफ्नो फाइदाका लागि वा जनताको हितका लागि गरेका हुन् त्यो पनि प्रस्ट हुन सकेको छैन। स्तिति अति अन्योलपूर्ण र जटिल छ। त्यस कारण झन चिन्तापूर्ण हुन पुगेको छ।

एउटा कुरा सत्य र प्रस्ट के छ भने दुर्गा प्रसाईको पछाडि लागेको भीड उनका समर्थकहरूको मात्र होइन। नेपाली काङ्ग्रेस, एमाले, माओवादी (पुष्पकमल), मधेसी दलहरूका क्रियाकलापबाट निराश व्यक्ति पनि अहिले दुर्गा प्रसाईको आन्दोलनमा शरीक हुन पुगेका छन्। यी दलका क्रियाकलापबाट जनता निराश छ। निराश जनतालाई आफ्नो आवाज बुलन्द पारिदिने एक व्यक्ति चाहिएको छ। हो, त्यस्तै व्यक्ति बनेर अहिले दुर्गा प्रसाई प्रस्तुत भएका छन्। भोलिका दिनमा दुर्गा प्रसाई बदलिए, आफ्नो स्वार्थमा लागे, जनताको असन्तुष्टिको स्तर यस्तै रह्यो भने जनताको आवाज बुलन्द पार्न पुनः अर्को दुर्गा प्रसाईको उदय हुनेछ।

भविष्यमा उत्पन्न हुन सक्ने हिंसा, उथलपुथल, अराजकताको व्यवस्थापन गर्न नेपाली काङ्ग्रेस, एमाले र माओवादी जस्ता दलहरूले गम्भीर भएर सोच्न आवश्यक छ। यी दलहरूले उठेका विरोधको कुशलतापूर्वक व्यवस्थापन नगर्ने हो भने नेपालको अस्तित्वमाथि नै सङ्कट आउन सक्छ, भारतले हस्तक्षेप गर्ने मौका पाउने छ। चीनले आफ्नो सक्रियता बढाउने छ। देश गृहयुद्धको दलदलमा फस्नेछ।

नेका, एमाले र माओवादी दल र मुख्यगरी यी दलका नेताहरू शेरबहादुर देउवा, केपीशर्मा ओली, पुष्पकमल दहालले यो विषय (दुर्गा प्रसाईको नेतृत्वमा हुने प्रदर्शन) लाई गम्भीरतापूर्वक लिन आवश्यक छ। दुर्गा प्रसाई समूहको विरोध यी नेताहरू (देउबा, ओली, नेपाल, दहाल आदि) को विरोधमा हो, वर्तमान व्यवस्थाको विरोधमा होइन भनी बुझ्न आवश्यक छ। तर अचम्म! दुर्गा प्रसाई समूहको विरोधलाई वर्तमान व्यवस्थाको विरोध भनेर यी नेताहरू (देउवा, ओली, नेपाल, दहाल आदि) पन्छिन खोजिरहेका छन्। आफू चोखो हुन खोजिरहेका छन्।

समस्याको समाधन

मुठभेड र हिंसातर्फ उन्मुख हुन थालेको नेपाली राजनीतिलाई शान्तिको पथमा डो–याउन केही नेताले त्याग गर्न र देशभक्ति देखाउन आवश्यक छ। शेरबहादुर देउवा, केपीशर्मा ओली, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, महन्त ठाकुर, उपेन्द्र यादव आदिले सक्रिय राजनीतिबाट सन्न्यास लिएर सामान्य नागरिकसरह जीवन बिताउने हो भने नेपालको राजनीतिले गति पाउने छ। देशमा स्थिरता आउने छ। आर्थिक विकासको बाटो खुल्नेछ। यी नेताहरूले राजनीतिबाट सन्न्यास मात्र लिएर पुग्दैन, कुनै पनि किसिमको राजनीतिक क्रियाकलापमा भाग नलिने प्रतिबद्धतासमेत जाहेर गर्नुपर्छ। तर यी नेताहरू नेपालको राजनीतिमा सक्रिय रहेसम्म नेपालमा न राजनीतिक स्थिरता आउन सक्छ, न आर्थिक विकास नै हुन सक्छ। शेरबहादुर देउवा सातपटक, पुष्पकमल दहाल पाँचपटक, ओली चारपटक नेपालको प्रधानमन्त्री भएमा यो देशको आर्थिक विकास हुन्छ भनी कसैको मनमा लागेको छ भने त्यस्तो लाग्नेले आफ्नो बौद्धिक क्षमता आफैंले परीक्षण गर्नुपर्छ।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, November 24, 2023

https://eprateekdaily.com/2023/11/23/58717/

No comments:

Post a Comment