Wikipedia

Search results

Saturday, December 13, 2025

Economic Development in Present Context-Article-608

 नया वातावरणमा आर्थिक विकासको सम्भावना

नेपालमा अहिले नयाँ राजनीतिक वातावरण छ। नवयुवा पुस्ता समर्थित सरकार छ। सरकारमा रहेका प्रधानमन्त्री एवं मन्त्रीहरू निष्पक्ष र इमानदार रहेको विश्वास गरिएको छ। र साथै छोटो अवधिमा भए पनि यो सरकारले देशको आर्थिक विकासमा टेवा पु¥याउने आशा गरिएको छ।

त्यो आशाको आधार के हो भने यो सरकारले निष्पक्ष चुनाव गराउने छ। चुनावमा विजयी भएर अहिलेका भन्दा पृथक जनप्रतिनिधिहरू आउनेछन्। उनीहरू बढी जिम्मेवार तथा इमानदार हुनेछन्। आफ्ना सम्पूर्ण क्रियाकलाप सत्ताका लागि दाउपेंचमा सीमित नराखी, केन्द्रित नगरी केवल आर्थिक विकासमा केन्द्रित गर्नेछन्।

आगामी चुनावमा नयाँ प्रतिनिधिहरू आउने आशा गर्न सकिन्छ तर विश्वास भने गर्न सकिंदैन। नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टीका त्यही पुराना सत्ता लोलुप तथा स्वार्थी एवं चतुर नेताहरूले जनतालाई अनेक प्रलोभन देखाएर चुनावमा राम्रो वा अधिक मत ल्याउने छन्।

आफू र केवल आफ्ना झोलेहरूलाई विजयी बनाउने छन्। साम, दाम, दण्ड, भेदजस्ता हतियार प्रयोग गरेर यिनीहरूले चुनावको परिणाम आफ्नो पक्षमा पार्न हर सम्भव प्रयास गर्नेछन्।

उपरोक्त दलका नेताहरूले खेल्ने अर्को चाल के हो भने यिनीहरूले आफ्नो दलभित्रका इमानदार नेताहरूलाई चुनावमा विजयी हुन दिने छैनन् र केवल आफ्ना झोलेहरूलाई विजयी गराएर आफूहरू शक्ति र सत्तामा पुग्ने बलियो वातावरण तयार पार्नेछन्।

शेरबहादुर देउवा, पुष्पकमल दहाल, खड्गप्रसाद ओलीजस्ता सत्तालोलुप नेताहरू आफैं सत्तामा रहनका लागि आफ्ना, आफू लगायत झोलेहरूलाई चुनावमा विजयी गराउने रणनीत तयार पार्नेछन्। यो कारणले पनि आगामी चुनावमा इमानदार एवं कर्मठ जन प्रतिनिधिहरू ठूलो सङ्ख्यामा विजयी हुने सम्भावना देखिंदैन।

अब विश्लेषणको अर्को पाटो हेरौं। आशा गरौं, अब राजनीतिमा नवयुवा एवं युवाहरूको प्रवेश ठूलो सङ्ख्यामा हुनेछ। आगामी चुनावमा युवाहरूले विजय हासिल गर्नेछन् र ठूलो सङ्ख्यामा जनप्रतिनिधि भएर आउनेछन्।

भ्रष्टाचार, आर्थिक लेनदेनजस्ता कार्यमा संलग्न नभएर उनीहरूले आफ्नो ध्यान केवल आर्थिक विकासमा केन्द्रित गर्नेछन्। उनीहरू कर्मठ र इमानदार हुनेछन् र पहिलो पुस्ताका नेताजस्ता भ्रष्ट एवं स्वार्थी हुने छैनन्। तर यस कुरामा विश्वास गर्ने बलियो आधार भने देखिंदैन। 

नवयुवा वा तेस्रो पुस्ताका युवाहरूले यही वायुमण्डलमा सास फेरेका हुन्। ओली, देउवा, दहाललगायत यस्तै नेताहरूले तयार पारेको राजनीतिक वातावरणमा राजनीति सिकेका हुन्। त्यही स्कूलका विद्यार्थीहरू हुन्।

मानिस जस्तो राजनीतिमा हुर्किन्छ त्यो राजनीतिले मानिसमाथि बलियो प्रभाव पारेको हुन्छ। त्यसकारण नयाँ वा तेस्रो पुस्ताका जनप्रतिनिधिहरूले उच्च इमानदारी प्रदर्शन गर्ने र आफूलाई आर्थिक लेनदेन र भ्रष्टारमा केन्द्रित नगरेर केवल आर्थिक विकासमा मात्र केन्द्रित गर्ने सम्भावना ज्यादै क्षीण देखिन्छ।

र नयाँ पुस्ताका नेता वा जन प्रतिनिधिहरूले सत्ता र शक्तिका लागि अग्रज वा पहिलो र दोस्रो पुस्ताका नेताहरूले गरेझैं गर्ने छैनन् भनी विश्वास गर्न सकिने स्थिति पनि छैन। आशा गरौं त्यस्तो नहोस्।

अब विश्लेषणको दोस्रो पाटोतिर लागौं। मतदाताहरू उही हुन् जसले विगतमा एमाले, नेपाली काङ्ग्रेस, माओवादी आदिका केवल स्वार्थी नेताहरूलाई चुनावमा मत दिएका थिए। उनीहरूलाई ठूलो सङ्ख्यामा विजयी गराएका थिए।

यी दलका इमानदार नेता वा जनप्रतिनिधिहरूलाई मत दिएका थिएनन् वा इमानदार नेता चयन गरेका थिएनन्। सरकार कमजोर तर नेता एवं उनीहरूका राजनीतिक दल बलियो हुने भएकोले भोलि कुनै समस्या परेमा तिनै नेताहरूलाई गुहार्नुपर्ने हुन्छ।

मतदाताहरू पनि जानीजानी, झुक्किएर वा ठगिएर होइन, तिनै भ्रष्ट र गन्हाएका नेताहरूलाई चुनावमा विजयी गराउँदै आएका छन्, अब पनि गराउने छन्। विगतमा उनीहरूले गरेका आर्थिक भ्रष्टाचारलाई चटक्कै बिर्सिदिएका छन्। शक्ति र सत्तामा पुग्नका लागि उनीहरूले गरेका करतुतहरूलाई जायज ठानिदिएका छन्।

केवल निराशाका कुराहरू मात्र गरेर पनि हुँदैन। हामीले निराशाभित्र पनि आशा खोज्नुपर्छ। हाम्रो राजनीतिको मुख्य समस्या जन प्रतिनिधि एवं मतदाता, दुवै पक्षमा इमानदारी एवं त्याग भाव नहुनु र आफ्नो फाइदामा मात्र केन्द्रित रहनु हो।

हाम्रा जनप्रतिनिधि वा नेताहरू इमानदार भएमा उनीहरू भ्रष्टाचारबाट मुक्त हुनेछन्। शक्तिको खेलबाट मुक्त हुनेछन्। सधैं मन्त्री र प्रधानमन्त्री हुने सपना देख्नेछैनन्। आफ्नो ध्यान र यत्न केवल राष्ट्रको आर्थिक विकासमा केन्द्रित गर्नेछन्।

देशको आर्थिक विकासको गतिलाई हामीले तीव्र पार्ने हो भने दुवैथरी, जनप्रतिनिधि एवं मतदातामा त्याग भाव हुन आवश्यक छ। इमानदारी हुन आवश्यक छ। 

मतदाता तथा जनप्रतिनिधिहरूमा इमानदारी र त्याग भाव भएन भने हामीले आर्थिक समृद्धि हासिल गर्ने कुरा त परको सपना भयो, हामी झन्झन् गरीब हुँदै जानेछौं। हाम्रो देशको अस्तित्वसमेत सङ्कटमा पर्नेछ।

अहिले करीब १ करोड नेपाली रोजगार वा आर्थिक सुरक्षाको लागि नेपाल बाहिर रहेको अनुमान गरिएको छ। यदि राजनीति यस्तै, अहिलेको जस्तै रह्यो तथा नेपालको राजनीतिमा स्वार्थी नेताहरूको पकड कायम नै रह्यो भने देशको आधा जनसङ्ख्या रोजगार वा आर्थिक सुरक्षाको लागि नेपाल बाहिर गए अचम्म नमाने हुन्छ।

राष्ट्रिय राजनीतिमा केवल स्वार्थी नेताहरूको बाहुल्य रहेर, यस्तै स्थितिले निरन्तरता पाएर, नेपालको केवल एक तिहाई जनसङ्ख्या नेपालमा रहेमा भोलिका दिनमा हामीले हाम्रा नातिनी वा नातिलाई खोज्न वा आफ्नो पछिल्लो पुस्ता खोज्न अस्ट्रेलिया, अमेरिका, युरोप आदि पुग्नुपर्ने स्थिति आउन सक्छ।

त्यति मात्र होइन, नेपालमा घटेको जनसङ्ख्याको फाइदा उठाएर हाम्रो दक्षिण र उत्तर छिमेकीहरू नेपालमा ठूलो सङ्ख्यामा बसोवास गर्ने किसिमले आएमा हाम्रो राष्ट्रियतामाथि नै सङ्कट आइपर्ने कुरामा दुई मत हुन सक्दैन।

छिमेकी राष्ट्रहरूले नेपालमा आफ्नो प्रभाव बढाउन आफ्ना नागरिकहरूलाई नेपालमा स्थायीरूपमा बसोवास गर्न पठाउने छैनन् भनी ढुक्क हुने स्थिति छैन। चीन र भारत आर्थिक फाइदाका लागि ज्यादै नजीकिएका छन्। शक्ति सन्तुलन कायम गर्न वा अति शक्तिशाली हुन यी दुई राष्ट्रले परस्पर कटुतालाई कम पार्दै गएका छन्। हामीले यो तथ्य पनि बिर्सन मिल्दैन। देशमा आर्थिक विकासका लागि मात्र होइन, देशको अस्मिता जोगाउन पनि हाम्रा नेताहरू इमानदार र त्यागी हुन आवश्यक छ। अनेक मतभेद त्यागेर सबै दलका नेताहरू एकजुट हुन आवश्यक छ।

र सर्वाधिक महत्वपूर्ण कुरा, मतदाताहरूले पनि, कुनै पनि किसिमको प्रलोभनमा नपरेर इमानदार र त्यागी नेताहरूलाई चुनावमा मत दिन आवश्यक छ। चुनावमा इमानदार एवं त्यागी नेताहरूलाई, उनीहरू जुनसुकै दलका हुन्, विजयी गराउन आवश्यक छ।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, December 12, 2025

No comments:

Post a Comment