Wikipedia

Search results

Sunday, December 21, 2025

Need and Importance of Small Businesses in Napal-Article-609

 नेपालमा सानो व्यापारको महत्व एवं आवश्यकता


Photo source: Google

नेपालले राजनीतिक स्थिरता र चीर शान्ति पाउन नसकेको धेरै भयो। २०४६ सालदेखि अशान्त रहेको नेपाल अहिले पनि शान्त हुन सकेको छैन। कुनै न कुनै कारण वा विषयमा अशान्त भइनै रहेको छ।

नेपाल सर्वाधिक अशान्त भने २०५२ साल देखि २०६३ सम्म रह्यो। यो कालमा नेकपा माओवादीले चलाएको अति रक्तपातपूर्ण बिद्रोहमा बैंकहरू लुट्ने काम भए। उद्योग एवं व्यवसायिक प्रतिष्ठानहरू लुट्ने काम भए। सर्वाधिक दु:खद कुरा, नेपालको औद्योगिक एवं व्यापारिक वातावरण अतिनै आतंकित पार्ने काम यही कालमा भयो। गाउँहरूमा मात्र होइन सहरहरूमा पनि व्यसायीहरू नया उद्योग वा व्यापार स्थापना गर्न डराए। त्येति मात्र होइन, १७ हजार नेपाली नागरिकहरूले ज्यान यही बिद्रोहले लियो।

२०५२ सालदेखि अहिले (२०८२) सम्म पनि नेपालमा राजनीतिक स्थिरता र शान्ति देखिएको छैन। गत (२०८२) भाद्र २३ र २४ गते, नेपालको इतिहासमा नै, मुलुक ‘भूतो न भविष्यति’ किसिमले अशान्त हुन पुग्यो। नव युवाहरू (जेनजी) ले केवल दुई दिन चलाएको बिद्रोहले खडग ओलीको सरकार पतन मात्र गराएन, ओलीलाई प्रम निवासबाट सुटुक्क भाग्ने स्थितिमा पुर्यायो। त्यो बिद्रोहमा धेरै नेताहरूले कुटाइ खाए। कतिपय नेताहरूको घर जल्यो। व्यापारिक प्रतिष्ठन, होटल आदिमा आगो लगाउने र भवन भित्र पसेर लुट्ने कार्य समेत पनि भयो। दु:खद कुरा त के रह्यो भने बिरोध र बिद्रोहका लागि जसरी माओवादीहरूले हिंसाको प्रयोग गेर नव युवाहरूले पनि बिरोध (ओली सरकारको) र बिद्रोहको लागि हिंसा नै प्रयोग गरे। हुन त नव युवाहरूले गरेको प्रदर्शन शान्त थियो भन्नेहरू पनि धेरै छन। र त्यस्तो हुन पनि सक्छ। नव युवाहरुको त्यो शान्तिपूर्ण प्रदर्शनमा औसरवादीहरूको प्रवेश ठूलो संख्यामा भएको थियो। लुटपाट र हिंसा ती औसरवादीहरूले गरेका थिए। यस्तो भन्ने आधार प्रशस्तै छन्। स्कूलको युनिफर्ममा गएका कलिला उमेरका वालवालिकाहरूले तोडफोड र हिंसा गरे भन्न सकिने स्थिति छैन।

नेपालमा ठूला ठूला उद्योग एवँ व्यापारिक प्रतिष्ठानहरू स्थापना हुन नसक्नुको प्रमुख कारण नै नेपालमा राजनीतिक स्थिरता नहुनु र देश जहिले पनि अशान्त रहनु हो। अविरल राजनीतिक अस्थिरता र आशान्तिको कारण देश भित्रका ठूला ठूला व्यापारीहरूले ठूला ठूला उद्योगहरूमा लगानी गरिरहेका छैनन। त्येही स्थिति अन्तरार्ष्ट्रिय लगानीमा पनि छ। नेपाल जहिले पनि अशान्त रहेको हुनाले विदेश लगानीकर्ताहरूले पनि नेपालमा लगानी गर्ने इच्छा वा तत्परता देखाएका छैनन।

ठूला ठूला उद्योग एवं व्यापारमा अत्यधिक लगानी गर्नु पर्छ। र त्यो लगानीको प्रतिफल पाउन बिसौंतिसौं वर्ष कुर्न पर्छ। यता, नेपालको राजनीति सदा तरल रहने स्थिति छ। नेपालको राजनीतिमा स्थिरताको अति अभाव छ। स्वार्थी एवं अति महत्वाकांक्षी नेताहरूले आफ्नो स्वार्थको लागि, पद, शक्ति र शत्ताको लागि, राष्ट्रिय राजनीतिलाई बर्सौदेखि अस्थिर पार्दै आएका छन। राष्ट्रिय राजनीति, केही क्षणको लागि भएता पनि, नेताहरूको स्वार्थको कारण भएता पनि, स्थिर भएको घडीमा अचानक सुशीला कार्कीको सरकार राजनीतिमा देखा पर्नु स्वार्थी नेताहरूको कारणले गर्दा नै हो। मुख्य गरी खडगप्रसाद ओलीको अहमको कारणले हो। भाद्र २०, २१ गते तत्कालीन प्रम ओलीले नव युवा पुस्ताका प्रतिनिहरूसङ्ग वार्ता गरेको भए, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिवन्ध फुकुआ गरिदिएको भए, भाद्र २३ र मुख्य गरी भाद्र २४ मा, नेपालको इतिहासकै, यस्तो डरलाग्दो घटना हुने थिएन। ७० भन्दा बढी व्यक्तिहरूको ज्यान जाने थिएन।

कुनै न कुनै बहानामा नेपालमा सदा साना ठूला संघर्ष भइनै रहने हुनाले देशमा ठूला ठूला उद्योग एवं व्यापारहरूको स्थापना होला भनि विश्वास गर्न सकिने स्थिति देखिंदैन। यस्तो विशेष किसिमको परिस्थितिमा हामीले नेपालमा साना व्यापारहरूको स्थापना एवं विकासमा जोड दिनु पर्छ। कम लगानीमा स्थापना र सञ्चालन गर्न सकिने साना उद्योग एवं व्यापाहरूको विकास एवं विस्तारमा जोड दिनु पर्छ।

दुध, दही, घ्यू उत्पादनका लागि पशु पालन गर्ने व्यवसायीहरूलाई स्थानीय सरकारले प्रोत्साहित गर्नु पर्छ। आश्यक पर्ने अनेक बजार सूचना उनीहरूलाई उपलब्ध गराउनु पर्छ। यसैगरी उनीहरूको लागि बजार खोजिदिने कार्य गर्नु पर्छ। व्यापार संचालनका लागि ऋण चाहिए उनीहरूले सहजरूपमा ऋण पाउने व्यवस्था मिलाई दिनुपर्छ। यसैगरी मासु (खंसी, बोका, रांगा, कुखुरा, हाँस), माछा आदि उत्पादन गर्ने व्यवसायीहरूलाई स्थानीय सरकारले उनीहरूलाई आवश्यक परेका अनेक सहयोग उपलब्ध गराइ दिनु पर्छ। तरकारी, फलफूल, साग आदि उत्पादन एवं बिक्री गर्ने व्यवसायीहरू पनि स्थानीय सरकारले सहयोग गर्नु पर्छ। अर्थात यस किसिमका विभिन्न व्यवसायीहरूलाई सहयोग गर्नु पर्छ।  

स्थानीय सरकारले साना व्यपारीहरूलाई सहयोग गर्नु पर्छ। साना व्यापारको विकास एवं विस्तारमा जोड दिनु पर्छ। स्थानीय स्तरमा अनेक वस्तुहरू उत्पादन गरेर केन्द्रिय सरकारले अनेक वस्तु (तरकारी, साग, फलफूल, मासु, माछा, दुध, दही, घ्यू आदि) को उत्पादनमा देशलाई आत्म निर्भर तुल्याउने प्रयास गर्नु पर्छ। नेपाल अहिले अभूतपूर्व किसिमले आयातमूखि हुन पुगेको छ। यस्तो स्थितिमा, स्थानीय स्तरमा अनेक वस्तुहरू उत्पादन गरेर पनि देश भित्र भइरहेको ठूलो आयात परिमाणमा कमी ल्याउन सकिन्छ।

अनेक किसिमका बिद्रोह, प्रदर्शन, हडताल जस्ता प्रतिकूल कार्यहरूले जति वा जुन परिमाणमा ठूला उद्योग एवं व्यापारहरू प्रभावित हुन्छन त्येही परिमाणा साना व्यापारहरू प्रभावित हुँदैनन। स्थानीय स्तरमा रहेको हुनाले साना व्यापारहरूले केन्द्र वा ठूला सहरहरूमा भएका प्रतिकूल स्थिति (बन्द, हडताल, प्रदर्शन) को सामना गर्नु पर्ने स्थिति नहुन पनि सक्छ। अर्कोतिर हाम्रो देशमा सानो भन्दा सानो समस्या समाधान गर्न ठूलो स्तरमा जुलुश, प्रदर्शन र बिरोध गर्नु पर्ने हाम्रो राष्ट्रिय जीवन एक परम्परा नै भइसकेको छ। यस किसिमको भिन्न एवं विशेष परिस्थिति भएकोले देशमा ठूला ठूला उद्योग एवं व्यापारको स्थापना भन्दा साना व्यापारहरूको स्थापना एवं विस्तारमा जोड दिनु उपयुक्त हुन आउँछ।

राष्ट्रिय परिस्थित जुन किसिमको हुन्छ सोही अनुसार आर्थिक एवं औद्योगिक नीतिहरूको निर्माण गर्नु पर्ने हुन्छ। आउने केही दसकसम्म पनि हाम्रो राष्ट्रिय राजनीति स्थिर हुने देखिंदैन। राजनीतिका कर्ता (Actor) हरू पनि यिनै हुन्। मतदाताहरू पनि यिनै हुन। यस किसिमको खास परिस्थितिमा देशमा स्वच्छ राजनीति वातावरण निर्माण हुन समय लाग्न सक्छ। त्यसकारण यस्तो विशेष परिस्थितिमा साना व्यापारको विकासमा जोड दिन आवश्यक छ। मुख्य गरी सडक व्यवसायीहरूको व्यवसाय संरक्षण गर्न आवश्यक छ।

राष्ट्रिय आय (National income) वितरणलाई सन्तुलित पार्नमा साना व्यापारहरूको योगदान अति महत्वपूर्ण हुन्छ। यो स्थिति नेपालमा मात्र होइन, विश्वका धनी देशहरूमा पनि देखिएको छ। उदाहरणको लागि कुनै एक ठूलो व्यापारीको हातमा १०० करोड रुपैयाँ हुनु र एक सय व्यापारीको हातमा एक एक करोड रुपैयाँ हुनु, एक सय व्यापारीहरूको हातमा एक एक करोड रुपैयाँ हुनु राम्रो हो। यस्तो स्थितिलाई राष्ट्रिय आय सन्तुलन तर्फ उन्मुख भएको मान्न सकिन्छ। सामान्य किसिमले हेर्दा पनि, उदाहरणका लागि,  देशका दुई या चार व्यापारीहरूको हातमा कुल निष्काषित मुद्राको ८० प्रतिशत मुद्रा हातमा हुनु राम्रो होइन। अलि अलि मुद्रा देशका वहुसंख्यक जनताको हातमा हुनु राम्रो। र त्यस्तो हुनु पर्छ।

ठूला व्यापारहरूले भन्दा साना व्यापारहरूले वृहत् मात्रामा रोजगारी सृजना गर्छन। राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्ने प्रयास गर्छन। धेरै व्यक्ति एवं परिवारहरूको हातमा आम्दानी (तलब, ज्याला) पुर्याउने कार्य गर्छन। उदाहरणका लागि सुनको गहना बिक्री गर्ने कुनै एक ठूलो व्यापारीले केवल आफुले मात्र पनि उक्त व्यापार गर्न सक्छ। तर सडक छेउमा रेष्टुरेन्ट सञ्चालन गर्ने व्यापारीले केवल आफूले मात्र उक्त रेष्टुरेन्ट सञ्चालन गर्न सक्दैन। अनेक सहयोगीहरूको सहयोग अनिवार्य रुपमा लिनु पर्छ। यसरी साना व्यापारीहरूले, आफ्नो व्यवसायको प्रकृतिले गर्दा, सहयोगीहरूको सहयोग अनिवार्य रुपमा लिनै पर्छ। साना व्यापारीहरूको यस्तो वाध्यताले गर्दा पनि उनीहरूद्वार रोजगारीको सृजना ठूलो मात्रामा हुन्छ।

देशको अर्थ व्यवस्थमा सानो ब्यापारको अति नै महत्व रहेकोले हामीले साना व्यापारको स्थापना एवं विकासमा जोड दिनु पर्छ। यो नीति नेपालको अर्थ व्यवस्थाको लागि अति हितकर हुनेछ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

Wednesday, December 17, 2025 

No comments:

Post a Comment