Wikipedia

Search results

Friday, December 26, 2025

Fossil Fuel: Destroying the World Environment-Article - 610

 कसैको आर्थिक समृद्धि सर्वत्र भने विनाश

अहिले संसारभरिमै प्रत्येक व्यक्ति, परिवार र देश धनी हुने दौडमा छन्। धनी हुन वा सुविधायुक्त जीवनयापन गर्न गरीब देशका बहुसङ्ख्यक नागरिक आफ्नो राष्ट्रिय पहिचान र पुख्र्यौली थातथलो परित्याग गरी, स्वदेश कहिले नफर्किने योजना गर्दै, धनी देशतर्फ लागिरहेका छन्।

धनी हुन गरीब राष्ट्रहरू जसरी भए पनि, आफ्नो देशको वातावरण सन्तुलन बिगारेर भए पनि, वा विश्व पर्यावरण विनाश गरेर भए पनि, धनी हुने दौडमा छन्। यसैगरी धनी राष्ट्रहरू पनि अझै धनी भएर विश्व राजनीतिमा रहेको आफ्नो नेतृत्व वा हस्तक्षेपकारी भूमिका कायम राख्न धनी हुने दौडमा छन्। बढीभन्दा बढी भौतिक सुविधा प्रयोग गर्न तथा आफ्नो नित्य विस्तारित आवश्यकताहरू परिपूर्ति गर्न धनी देशका नागरिकहरू पनि धनी हुने दौडमा छन्।

अहिले संसार नै धनी हुने दौडमा छ। र धनी हुन जे जस्तो कार्य गर्ने मनस्थितिमा छ। यो विश्व मनोविज्ञानले यो पृथ्वीको अस्तित्व नै सङ्कटमा पर्ने देखिएको छ।

धनी हुन अनेक राष्ट्रहरूले के गरी रहेका छन्? धनी हुन उनीहरूले गर्ने कार्यले विश्व वातावरणलाई कस्तो प्रभाव पारिरहेको छ? र धनी हुने विभिन्न राष्ट्रहरूको उद्देश्यको मूल्य यो पृथ्वीले कसरी चुकाउनुपरेको छ? आउनुहोस्, यस आलेखमा यी प्रश्नहरूको उत्तर खोजौं।

धनी हुन कुनै पनि राष्ट्रले ठूलो परिमाणमा उत्पादन गर्नुपर्छ। ठूलो परिमाणमा उत्पादन गरी अनेक राष्ट्रहरूमा बिक्री गर्नुपर्दछ। बढी मुनाफा गर्नुपर्छ। राष्ट्रिय सम्पत्ति वृद्धि गर्नुपर्छ। अर्कोतर्फ बढी उत्पादन गर्नका लागि बढी ऊर्जा उपयोग गर्नुपर्छ।

विश्वका पन्ध्र ठूला अर्थतन्त्र (सन् २०२५, कुल गार्हस्थ्य उत्पादनका आधारमा) क्रमशः संयुक्त राज्य अमेरिका, चीन, जर्मनी, जापान, भारत, संयुक्त अधिराज्य, फ्रान्स, इटाली, रूस, क्यानाडा, ब्राजील, स्पेन, मेक्सिको, द कोरिया र अस्ट्रेलियाले ठूलो परिमाणमा उत्पादन गरिरहेका छन्। र उत्पादन गर्न ठूलो परिमाणमा ऊर्जा प्रयोग गरिरहेका छन्। र ऊर्जाको प्रमुख स्रोत जीवाशेष ऊर्जा रहेको छ।

अब वस्तु वा सेवा उत्पादन गर्नका लागि विश्वव्यापीरूपमा कुन ऊर्जा कति प्रतिशत प्रयोग हुन्छ, त्यो हेरौं। विश्वभरि नै वस्तु एवं सेवाको उत्पादन गर्नका लागि प्राकृतिक ग्यास २५ प्रतिशत, तेल ३४ प्रतिशत र कोइला २८ प्रतिशत प्रयोग हुन्छ।

विश्वभरि ८७ प्रतिशत ऊर्जाको स्रोत प्राकृतिक ग्यास, तेल र कोइला रहेको छ। प्राकृतिक ग्यास, तेल र कोइला जीवाशेष इन्धन हुन्। यी इन्धनहरूको प्रयोगले विश्व वातावरणमाथि नराम्रो प्रभाव पर्छ। वायु र जल अति प्रदूषण, श्वासप्रश्वाससम्बन्धी गम्भीर बिमारी, अम्ल वर्षा, अनेक जीवहरूको मृत्यु, मानवको अकाल मृत्यु, क्यान्सरका बिरामीहरूको सङ्ख्या वृद्धि, समुद्र अम्लीकरणजस्ता समस्याहरू जीवाशेष इन्धनको प्रयोगले गर्दा आउने हुन्।

यसैगरी पृथ्वीको सतह तातेर अनेक विपत्तिहरू जस्तै बाढी, सुख्खा, सुनामी, समुद्री आँधीजस्ता ठूला समस्याहरू पनि जीवाशेष इन्धनको अति प्रयोगले आउने हो। समग्रमा यी ऊर्जा प्रयोगबाट निस्केको विसर्जनले पृथ्वीलाई तताउने कार्य गरिरहेको छ। अहिले जीव अहित हुने गरी पृथ्वीको तापक्रम बढिरहेको छ।

जीवाशेष ऊर्जा प्रयोगमा कुन राष्ट्रको स्थान कहाँ छ त्यो पनि हेरौं। विश्वभरिमा सर्वाधिक जीवाश्म ऊर्जा प्रयोग गर्ने राष्ट्र चीन हो। दोस्रो राष्ट्र संयुक्त राज्य अमेरिका हो भने तेस्रो राष्ट्र भारत हो। यसैगरी रूस, जापान, इरान, साउदी अरेबिया, द कोरिया, क्यानाडा र इन्डोनेशिया चौथोदेखि दसौं क्रमका राष्ट्र हुन्।

संयुक्त राज्य अमेरिका र चीन मिलेर विश्वभर प्रयोग हुने ऊर्जाको आधा प्रयोग गर्छन्। ऊर्जा प्रयोगको दौडमा चीन अहिले अग्रपङ्क्तिमा छ। धनी हुनका लागि, धनी भएर विश्वको एक नम्बर शक्तिशाली राष्ट्र हुनका लागि चीन ठूलो परिमाणमा जीवाशेष ऊर्जा प्रयोग गरेर जतिसुकै ठूलो परिमाणमा उत्पादन गर्न तयार छ।

उद्योगहरूमा ऊर्जाका लागि अत्यधिक कोइलाको प्रयोगले गर्दा चीनका कतिपय शहरका आकाश कालो रहेको र रातिको समयमा तारा नदेखिने खबर बाहिर आएका छन्। लिफेन, सिंगताइ, बोइडिंग, हान्डान आदि चिनियाँ शहरका आकाश अत्यधिक कालो रहेको पाइएको छ।

जीवाशेष ऊर्जाको बढी प्रयोग तथा ठूलो मात्रामा औद्योगिक विसर्जनले गर्दा कतिपय देशका शहरहरूको वायुमण्डल अति प्रदूषित हुन पुगेका छन्। अहिले दिल्ली, लाहोर, कायरो, कोलकाता, ढाका, कुवेत सिटी, बग्दाद, तासकन्द, रियाद र तेहरान विश्वका सर्वाधिक प्रदूषित (२०२५) शहरका रूपमा क्रमबद्ध छन्।

कुनै बेला विकासशील कहलिएको देश भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र हुन पुगेको छ। भारतको कुल गार्हस्थ्य उत्पादन डलरमा ४.१३ ट्रिलियन पुगेको छ। भारतको आर्थिक वृद्धि दर अहिले ६.६ प्रतिशत रहेको छ, जुन संयुक्त राज्य अमेरिका, चीन, जर्मनी र जापानभन्दा बढी हो।

यो स्तरमा आर्थिक विकास गर्नका लागि वा धनी राष्ट्र कहलिनका लागि भारतले मूल्य पनि ठूलो चुकाउनुपरेको छ। दिल्ली, गाजियाबाद, गुडगावँ, नोएडा, हिसार, मुजफ्फरपुर, जालन्धर, बुलन्दशहर, फरिदाबाद र अमृतसर भारतका क्रमशः एकदेखि दस अति प्रदूषित शहर हुन्। ऊर्जा उत्पादनका लागि भारतमा कोइलाको प्रयोग ठूलो मात्रामा हुन्छ। विद्युत् उत्पादनमा कोइलाको उपयोग ८० प्रतिशत जति हुन्छ। 

आर्थिक विकासको दृष्टिकोणले हेर्दा भारतले चमत्कारी किसिमले प्रगति गरेको पाइन्छ। तर त्यो स्तरको आर्थिक प्रगति गर्न भारतले कति ठूलो मूल्य चुकाएको छ? भारतको अति आर्थिक प्रगतिले भारतीयहरूको स्वास्थ्यमा कति खराब असर परेको छ? यी प्रश्नको उत्तर भारतले आफ्नै जनताको लागि दिन आवश्यक छ। भारतको चमत्कारी आर्थिक विकासले विश्वको पर्यावरण विनाशमा पनि ठूलो योगदान पुर्‍याएको छ।

ठूलो परिमाणमा उत्पादन गरेर, ठूलो परिमाण बिक्री गरेर, विश्वको आर्थिक महाशक्ति हुन चीनले सर्वाधिक जीवाशेष ऊर्जा प्रयोग गरिरहेको छ। संयुक्त राज्य अमेरिकाको स्थिति पनि यस्तै छ।

आर्थिक समृद्धि हासिल गर्ने विभिन्न देशका सपनाले विश्व–पर्यावरण विनाशमा ठूलो योगदान पुर्‍याइरहेको छ। आर्थिक विकासको दौडमा अनेक राष्ट्र यसैगरी दौडिरहँदा यो विश्व मानव–बस्तीका लागि मात्र होइन अन्य जीवहरूको लागि पनि अति अस्वस्थकर हुनेछ। मानव अस्तित्व सङ्कटमा पर्नेछ।

अब सोच्न आवश्यक छ– हामीले आर्थिक समृद्धिलाई महत्त्व दिने कि विश्व–पर्यावरण संरक्षणलाई महत्त्व दिने?







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनीकमा प्रकाशित: Friday, December 26, 2025

https://www.eprateekdaily.com/detail/95949

No comments:

Post a Comment