नेपालमा पूँजीवादको स्थिति
पूँजीवाद
अहिले विश्वभरि निकै चर्चा र व्यापक प्रयोगमा छ। पूँजीवाद नेपालमा पनि निकै
चर्चामा छ। नेपाली कम्युनिस्टहरूले पूँजीवादको अतिविरोध गर्ने र नेपालको सामाजिक
जीवन र राष्ट्रिय राजनीतिमा कम्युनिस्टहरूको बलियो र प्रभावकारी पकड र प्रभाव
भएकाले पूँजीवाद झनै चर्चामा रहन पुगेको छ। नेपालमा पूँजीवादप्रति कम्युनिस्टहरूको
दुई किसिमको दृष्टिकोण रहेको पाइन्छ।
एकथरि
जो आफूलाई खाँटी कम्युनिस्ट भन्न
रुचाउँछन्, उनीहरू पूँजीवादको ‘प’सम्म सुन्न मन
पराउँदैनन् अर्थतन्त्रमा पूँजीवादको प्रयोग त उनीहरूको लागि दूर देशको कुरा हो।
परम्परावादी यी कम्युनिस्टहरू पूँजीवादलाई गाली मात्र गर्दैनन्, धनीहरूद्वारा गरीबहरूको चरम शोषण हुनुको मुख्य कारक पूँजीवादलाई नै
मान्दछन्। पूँजीवाद, गरीबहरूलाई कमजोर तुल्याउन उनीहरू माथि प्रयोग गरिने एक किसिमको
हतियारको रूपमा लिन्छन्। यो भ्रमपूर्ण दृष्टिकोणबाट उनीहरू बाहिर आउन सकिरहेका
छैनन्, विश्वका विभिन्न राष्ट्रहरूले पूँजीवादको
प्रयोग गरेर मुलुक र जनताको आर्थिक जीवनमा व्यापक सुधार ल्याए तापनि। आफ्नो
राष्ट्रलाई धनी तुल्याए तापनि। चीन र भारतले पूँजीवादबाट गरेको अभूतपूर्व आर्थिक
प्रगतिलाई परम्परावादी कम्युनिस्टहरू मिथ्या मान्छन्। ती मुलुकका गरीबहरूको जीवनमा
आएको सुधारलाई सकारात्मक तथ्यको रूपमा स्वीकार गर्नुको साटो त्यसलाई आर्थिक छल
ठान्छन्। पूँजीवादप्रति एउटा समूहको यस किसिमको ज्यादै नकारात्मक दृष्टिकोण
रहेकोले पनि यो वाद नेपालमा निकै चर्चित हुन पुगेको छ।
अर्कोथरी, जो आफूलाई नरम कम्युनिस्ट भन्न रुचाउँछन्, कसैले आफूलाई जड सूत्रवादी नभनिदेऊन् भन्ने चाहन्छन्, उनीहरू
पूँजीवादको व्याख्या आफ्नै अनुकूलता अनुसार गर्छन्। पूँजीवादको महत्व बुझेर
त्यसप्रति आकर्षित भएका पनि छन्। राष्ट्रिय अर्थतन्त्रमा पूँजीवादको प्रयोग गर्ने
खोजेका छन्, तर मुलुकको आर्थिक विकासका लागि पूँजीवाद
आवश्यक छ भन्ने कुरा खुलेर भन्न सकेका छैनन्। जनतालाई हामी पूँजीवादमा विश्वास
राख्छौं भन्ने हिम्मत गर्न सकेका छैनन्। खासगरी एमाले र माओवादीले मुलुकको आर्थिक
विकासका लागि पूँजीवाद अति नै उपयोगी हुने यथार्थ जनता माझ गएर भन्न सकेका छैनन्, उल्टो पूँजीवादको व्याख्या अनेक किसिमले गरेर त्यसलाई बुझ्न जटिल
पारिदिएका छन्। यो अर्को कारण हुन पुगेको छ, नेपालमा
पूँजीवाद चर्चामा रहनु र रहस्यको विषय बन्नुमा।
अर्थव्यवस्थाको
सन्दर्भमा, काङ्ग्रेसले भने अहिले, आफूलाई न समाजवादी पङ्क्तिमा उभ्याउन सकेको छ, न पूँजीवादी पङ्क्तिमा नै। २०४६ सालको राजनीतिक परिवर्तन पहिले भने
काङ्ग्रेसले आफूलाई प्रस्टरूपमा समाजवादी भन्ने गथ्र्यो। अहिले काङ्ग्रेसले
समाजवादी धार परित्याग गरेको छ, उसको
आर्थिक कार्यक्रमहरूमा यो देखिएको पनि छ। आश्चर्यको कुरा त के छ भने काङ्ग्रेसले
समाजवादी नीति परित्याग गरे तापनि हामी पूँजीवादमा विश्वास गर्छौं भनी जनतालाई
प्रस्टरूपमा भन्ने हिम्मत गर्न सकेको छैन। २०४६ सालको राजनीतिक परिवर्तनपछि
काङ्ग्रेसले प्रतिस्पार्धात्मक अर्थ व्यवस्थामा विश्वास गरे तापनि मुलुकको आर्थिक
विकासका लागि पूँजीवाद उपयोगी मात्र होइन, अनिवार्य
रहेको खुलेर भन्न सकेको छैन, ढुलमुलको
स्थितिमा छ। काङ्ग्रेसका अर्थशास्त्रीहरूले पनि पूँजीवाद मुलुकको लागि उपयोगी छ, त्यस कारण यो आर्थिक दर्शनमा हामी विश्वास गर्छौं भनी खुलेर भन्न
सकेका छैनन्। ठूलो अलमलमा छन्।
मधेसवादी
दलहरूले कस्तो किसिमको अर्थव्यवस्थामा विश्वास छ भन्नेबारे केही प्रस्ट पारेका
छैनन्। न पूँजीवादप्रति उनीहरू सकारात्मक वा नकारात्मक स्थितिमा छन् भन्ने कुरा
प्रस्ट पारेका छन्। अर्थव्यवस्थाको सन्दर्भमा मधेसवादी दलहरू अलमलभन्दा ढुलमुलको
स्थितिमा छन्। मधेसवादी दलहरू तराई केन्द्रित भएका र तराई नेपालको अन्न भण्डार
हुनुका साथै यहाँ उद्योग र व्यावसायिक प्रतिष्ठानहरू ठूलो सङ्ख्यामा रहेको हुनाले
मधेसवादी दलहरूले पूँजीवादप्रति स्पष्ट धारणा राख्न अनिवार्य देखिन्छ। कुन किसिमको
आर्थिक व्यवस्थाप्रति मधेसवादी दलहरूले विश्वास देखाउँछन् भन्ने कुराले तराईको
अर्थ व्यवस्थामा मात्र होइन, सिङ्गो
मुलुकको अर्थव्यवस्थामा नै प्रभाव पार्ने भएकोले उनीहरू अर्थव्यवस्थाप्रति
स्पस्ष्ट हुन आवश्यक छ। हुनत वर्तमान स्थितिमा, मधेसवादी
दलहरूको मधेस र राष्ट्रिय राजनीति, दुवैतिर
प्रभाव ज्यादै कमजोर भएको देखिएको छ।
विश्वका
अनेक राष्ट्रहरूले पूँजीवादको प्रयोगद्वारा चमत्कारी किसिमले आफ्नो मुलुकको आर्थिक
विकास गरेका छन्। पूँजीवादी अर्थव्यवस्था अँगालेर देशको उद्योग एवं व्यापारलाई
प्रतिस्पर्धात्मक तुल्याएका छन्। अर्थतन्त्र प्रतिस्पर्धात्मक भएकोले औद्योगिक एवं
उपभोक्ता वस्तुहरू सस्तोमा उपलब्ध गराउन
सक्षम भएका छन्। मुलुकमा ठूलो परिणाममा पूँजीको निर्माण गर्न सकेका छन्। युरोपले त
पहिलेदेखि नै पूँजीवादी अर्थतन्त्र अँगालेको थियो, अहिले दक्षिण अमेरिकी र अफ्रिकी राष्ट्रहरूले पनि पूँजीवादी
अर्थतन्त्र अँगाल्दै छन्,
यो अर्थव्यवस्थाद्वारा मात्र राष्ट्रको
आर्थिक विकास हुने टुङ्गोमा पुगेका छन्। तर नेपालमा, जहाँ मुलुकको आर्थिक विकास ज्यादै सुस्त गतिमा चलेको छ, जनता गरीबीसँग कठोर सङ्घर्ष गरिरहेका छन्, पूँजीवादको प्रयोगमा एक थरिबाट व्यापक विरोध भइरहेको छ भने
अर्कोथरिले पूँजीवाद प्रस्टरूपमा अँगालेर, मुलुकको
आर्थिक विकासका लागि पूँजीवाद आवश्यक छ भनी जनतालाई भन्ने हिम्मत गर्न सकिरहेको
छैन।
जुन पक्षहरूले पूँजीवादको विरोध गरिरहेको छ, उसले पूँजीवाद के कति कारणले गरीब जनताको आर्थिक हितमा छैन, पूँजीवादले कसरी गरीब जनताको आर्थिक शोषण गर्छ, प्रस्टरूपमा भन्न सकेको छैन। अमूर्तरूपमा मात्र भनिरहेको छ–पूँजीवादले गरीबहरूको आर्थिक शोषण गर्छ। धनीलाई झन्झन् धनी पार्छ र गरीबलाई झन्झन् गरीब। तर के कति कारणहरूले पूँजीवाद गरीबहरूका लागि घातक हो भन्ने कुरा प्रस्ट नपारी त्यतिकै गरीबहरूलाई पूँजीवादको विरोध गर्ने मनस्थितिमा पुर्याउनु राम्रो होइन।
अर्कोतिर
जनताले पनि पूँजीवादको विरोध गर्नेहरूसँग के कति कारणले पूँजीवाद समाजको आर्थिक
उत्थानका लागि घातक हो भन्ने कुराको प्रस्टीकरण माग्न सकेको छैन। परम्परागतरूपमा
कम्युनिस्ट नेताहरूले गरेको पूँजीवादको विरोधलाई जनताले अनुमोदन गर्दै आएको छ, पूँजीवादका दोष र गुणको सूक्ष्म किसिमले अध्ययन गर्नुको साटो। गरीब
जनताले पूँजीवादको विरोधको नाराभित्र आर्थिक समृद्धिको सपना देखेको छ। तर मौजुदा
विश्व परिस्थितमा पूँजीवादको विरोधबाट न जनताको आर्थिक जीवनस्तर माथि उठ्न सक्छ, न राष्ट्रको नै।
अचानक
राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रको आर्थिक
विकासको लागि पूँजीवाद अवलम्बन गर्ने भनी प्रस्टरूपमा उल्लेख गर्न सकेको छैन। तर
यस पार्टीको आर्थिक विकासको ढाँचा हेर्दा पूँजीवाद अवलम्बन गर्ने तथ्य प्रस्टरूपमा
देखिएको छ। र यस्तो हुनु नेपालको आर्थिक विकासको लागि हितकर पनि छ। रास्वपाले
नेपालको आर्थिक विकासका लागि निजी
क्षेत्रलाई अति नै महत्व दिनुपर्छ। साना व्यवसायहरूको विकास एवं विस्तारमा जोड
दिनुपर्छ।
विश्वराज अधिकारी
प्रतीक
दैनिकमा प्रकाशित: Friday, June 19, 2026
https://www.eprateekdaily.com/detail/99339

No comments:
Post a Comment