Wikipedia

Search results

Thursday, June 18, 2026

Role of Private Sector in Nation's Economic Development-Article-633

 राष्ट्रिय अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका

राष्ट्रिय अर्थतन्त्रको विकासमा सरकारको जति महत्वपूर्ण भूमिका हुन्छ त्यो भन्दा बढी महत्वपूर्ण भूमिका निजी क्षेत्रको हुन्छ । राष्ट्रको आर्थिक शरीरलाई स्वस्थ राख्ने कार्य निजी क्षेत्रले गर्दछ। यो कारणले गर्दा कुनै पनि राष्ट्रमा निजी क्षेत्रलाई अति नै महत्व दिइएको हुन्छ। निजी क्षेत्रको संवद्र्धन हुने वातावरण तयार पारिएको हुन्छ।

कुनै पनि राष्ट्रको आर्थिक विकासमा निजी क्षेत्रले दुई महत्वपूर्ण कार्यहरू गर्दछः पहिलो–देशमा रोजगार सृजना एवं विस्तार गर्ने तथा दोस्रो– राष्ट्रलाई धनी पार्ने। यो तथ्य बुझेका देशहरूले, मुख्य गरी पूँजीवादी देशहरूले, निजी क्षेत्रलाई धेरै महत्व दिएका हुन्छन्। निजी क्षेत्रको महतवपूर्ण भूमिकालाई स्वीकार गर्दै उनीहरूलाई कार्य (व्यापार, व्यवसाय, पेशा) गर्न सजिलो पारिदिएका हुन्छन्। यहाँसम्म कि (यदि) राज्यले निर्माण गरेको उद्योग– व्यापार सञ्चालनसम्बन्धी ऐन, कानूनले उद्योग–व्यापार सञ्चालनमा बाधा पुर्याउने गरेको छ भने त्यस्तो बाधा पुर्याउने ऐन, कानून सरकारले हटाउने (Deregulation) कार्य समेत गर्छ। त्यस्ता बाधक ऐन, कानूनहरू हटाउने कार्य गर्छन्। तर यसविपरीत समाजवादी तथा साम्यवादीहरूले देशको अर्थतन्त्रमा राज्यको भूमिका झन्झन् कसिलो पार्दै लान्छन्। निजी क्षेत्रलाई हतोत्साहित पार्छन्। गरीबलाई सहयोग गर्ने निहुमा निजी क्षेत्रलाई नियन्त्रित गरेर देश र जनतालाई झन् गरीब पार्ने कार्य गर्छन्। 

कुनै पनि राष्ट्रमा रोजगार सृजना एवं विस्तार गर्नमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ। यो त सर्वविदित कुरा हो। तर रोजगार सृजना एवं विकास गर्नमा सर्वाधिक महत्वपूर्ण भूमिका भने साना व्यापारीहरूको हुन्छ। साना व्यापारी भनेको कम पूँजी, प्रविधि र जनशक्ति प्रयोग गरेर व्यापार गर्ने व्यक्तिहरूको समूह भन्ने बुझिन्छ। सामान्यतया ५० भन्दा कम व्यक्ति कार्यरत व्यापार वा उद्योगलाई साना व्यापारीहरूले गर्ने उद्योग वा व्यापारको रूपमा लिन सकिन्छ।     

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सानासाना रेस्टुरा, सानासाना होटल, सानासाना पसल एवं व्यवसायहरू, साना साना उद्योगहरूलाई साना व्यापार तथा यसका सञ्चालकहरूलाई साना व्यापारीको रूपमा लिन सकिन्छ। यसैगरी विना कुनै संरचना सडकमा कुनै एक स्थानमा स्थिर भएर वा घुमेर व्यापार गर्ने व्यापारीहरूलाई पनि साना व्यापारीहरूको रूपमा लिन सकिन्छ। सडक व्यापारीहरूले गर्ने व्यवसाय ठूलो आम्दानीको लागि नभएर केवल जीवन निर्वाहको लागि गरिएको हुन्छ।   

नेपालमा रोजगार सृजना एवं विस्तार गर्नमा साना व्यापार, मुख्यगरी सडक व्यापारको महत्वपूर्ण भूमिका रहेको पाइन्छ। सडक व्यापार गर्न ठूलो लगानी गर्नु नपर्ने तथा कम पूँजी एवं सानो स्थान प्रयोग गरेर सडक व्यापार सञ्चालन गर्न सकिने हुनाले यो व्यापार नेपालमा लोकप्रिय मात्र छैन, यो व्यापारले रोजगार सृजना एवं विस्तार गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्न महत्वपूर्ण योगदान पु¥याएको छ। सडक व्यापारले गर्दा गरीबहरूको हातमा पनि आम्दानी पुग्ने वातावरण सृजना भएको छ।    

रोजगार सृजना एवं विस्तार गर्नमा, नेपालमा सडक व्यापारको भूमिका महत्वपूर्ण रहेकोले सरकारले साना व्यापार वा सडक व्यापारको संरक्षण गर्न तथा यो व्यापारलाई प्रोत्साहित गर्न आवश्यक छ। शहर र सडक सफा गर्ने बहानामा स्थानीय वा केन्द्रीय सरकारले सडक व्यापारीहरूलाई सडकबाट लखेट्ने कार्य गर्नुहुँदैन बरु उनीहरूलाई सडकमा तर व्यवस्थित किसिमले व्यवसाय सञ्चालन गर्ने वातावरण तयार पारिदिनु पर्छ। यस्तो गर्नु सरकारको दायित्व हो।     

सानो व्यापार वा सडक व्यापारको महत्वपूर्ण पक्ष के हो भने यो व्यापारले सरकारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा कम कर भुक्तान गर्छ तर रोजगार सृजना एवं विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ। ठूलो मात्रामा रोजगार सृजना गरी गरीबी न्यूनीकरण गर्नमा सडक व्यापारको भूमिका महत्वपूर्ण हुन्छ। यति मात्र होइन, राष्ट्रिय आय वितरणलाई ज्यादै असन्तुलित हुन नदिन सडक व्यापारले महत्वपूर्ण योगदान पुर्याएको हुन्छ। संसारका अनेक ठूला ठूला शहरका सडकहरूमा पनि सडक व्यापारीहरूले व्यापार सञ्चालन गरेको देख्न सकिन्छ। तर सडक व्यापार भने व्यवस्थित किसिमले गरिएको हुन्छ।     

निजी क्षेत्रले राष्ट्रलाई आर्थिकरूपमा धनी पार्ने कार्य पनि गर्दछ। ठूला–ठूला व्यापार एवं उद्योगहरूले व्यापार सञ्चालनको क्रममा ठूलो परिमाणमा स्थानीय एवं केन्द्रीय सरकारलाई कर भुक्तान गर्दछन्। देशभित्र जति ठूलो सङ्ख्यामा उद्योग एवं व्यवसायहरू सञ्चालन भयो, जति बढी (ठूलो परिमाणमा) उनीहरूले सरकारलाई कर भुक्तान गरे, सोही अनुसार देश आर्थिक रूपमा बलियो हुन्छ। यस्तो स्थितिले गर्दा देशलाई धनी पार्नमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। देशलाई धनी पार्न निजी क्षेत्रलाई, मुख्यगरी ठूला व्यापार एवं उद्योगहरूलाई, सरकारले संरक्षण गर्नुपर्छ। प्रोत्साहित गर्नुपर्छ। देशको आर्थिक समृद्धि निजी क्षेत्रका ठूला व्यापार एवं उद्योगसँग गाँसिएको हुनाले सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुको विकल्प हुँदैन।     

व्यापार र व्यापारीहरूलाई हेर्न हाम्रो परम्परागत धारणामा अझै परिवर्तन आउन सकेको छैन। अझै पनि हामी व्यापारीहरूलाई मुनाफा उत्पादन गर्ने एक मेशीनको रूपमा लिन्छौं। राष्ट्रको आर्थिक उत्थानमा उनीहरूले पु¥याउने योगदानलाई बिर्सिदिन्छौं। साना वा सडक व्यपारीहरूले रोजगार सृजना गर्नमा महत्वपूर्ण योगदान पु¥याएका हुन्छन् भन्ने यथार्थलाई महत्व दिंदैनौं। यसैगरी ठूला वा धनी व्यापारीहरूले राष्ट्रलाई धनी पार्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् भन्ने कुरा सहजै स्वीकर गर्दैनौं। यथार्थमा राष्ट्रलाई धनी बनाउने कार्य ठूला व्यापारीहरूले गर्दछन्। ‘कर्पोरेट हाउस’ हरूले गर्छन्।   

राष्ट्रको अर्थतन्त्रलाई धनी बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ। यस तथ्यलाई स्विकार्न हामीले ढिलो गर्नु हुँदैन। निजी क्षेत्र त्यो बलियो जग हो, जुन जगमाथि राष्ट्रको आर्थिक संरचना (अर्थतन्त्र) खडा भएको हुन्छ। नेपालमा पनि स्थानीय एवं केन्द्रीय सरकारले उद्योग एवं व्यापार सञ्चालन गर्दा बाधाका रूपमा प्रस्तुत हुने ऐन, कानून समाप्त पार्नुपर्छ। निजी क्षेत्रलाई व्यापार सञ्चालन गर्न अति सजिलो एवं अनुकूल वातावरण तयार पारिदिनुपर्छ। साथै निजी क्षेत्रले पनि पारदर्शी किसिमले उद्योग एवं व्यापार सञ्चालन गर्नुपर्छ। राज्य एवं जनतालाई ठग्ने कार्य गर्नुहुँदैन। जनतालाई गरीब पारेर आपूm धनी हुने सोच ठूला व्यापारीहरूले राख्नुहुँदैन। राज्य वा जनता गरीब भएमा ठूला व्यापारीहरूलाई लाभदायी व्यापार सञ्चालन गर्न सम्भव नहुने यथार्थ ठूला व्यापारीहरूले पनि बुझ्नुपर्छ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, June 12, 2026

https://www.eprateekdaily.com/detail/99226

 

No comments:

Post a Comment