Wikipedia

Search results

Friday, February 3, 2012

Discipline For Economic Development-Article-29


आर्थिक विकासका लागि अनुशासन

आर्थिक विकासका लागि अनुशासन आवश्यक छ भनि राख्नु पर्ने कुरा होइन किनभने यो सर्व विदित कुरा हो। राजनीतिमा चांसो न राख्ने सामान्य मानिसलाई समेत पनि यो कुरा भलि भांति थाहा छ। तर पनि यो कुराको चर्चा किन गर्न थालिएको हो भने आर्थिक विकासका लागि अनुशासन आवश्यक छ भन्ने कुरा आम नेपालीलाई थाहा हुंदा हुंदै पनि अनुशासनको पालना भने हुन सकि रहेको छैन र यसको अभावमा मुलुक झन झन आर्थिक विकासको पथमा पछाडि पर्दै गइ रहेको छ, जबकी अन्य विकासशील राष्ट्रहरुले तिब्र गतिमा आर्थिक विकास गरि रहेका छन। यहाँ अनुशासन भन्नाले आर्थिक अनुशासन भन्न खोजिएको हो। विकसित मुलुकहरुले आर्थिक अनुशासनको बलमा नै उल्लेखनीय किसिमले प्रगति गरेका हुन, कुनै जादु वा मन्त्रले गरेका होइनन। यो कुरा सामान्य जनता भन्दा पनि राजनैतिक नेताहरुले बुझ्न आवश्यक छ किनभने आर्थिक अनुशासन पालना गर्न र गराउनमा उनीहरु उदासीन मात्र होइन आर्थिक अनुशासन भंग गर्नहरुको पंक्तिमा अग्र स्थानमा छन। नेताहरुले के बुझ्न आवश्यक छ भने उनीहरुले कठोर आर्थिक नियमहरुको निर्माण गरेर त्यसको पालना पनि त्यतिकै कठोरता का साथ गरेमा सबैले आर्थिक नियमहरुको पालना गर्ने सकारात्मक वातावरणको विकास हुन्छ र त्यसको राम्रो असर पर्न गइ विकासको गतिमा तिब्रता आउँछ। तर यसको विपरित जनतालाई नेतृत्व दिने नेताहरु, जसले देश र जनतालाई अशल नेतृत्व दिने नैतिक जिम्मेवारी लिएका हुन्छन, ले नै आर्थिक अनियमिततालाई बढाउने हो भने मुलुक आर्थिक अराजकताको भूमरिमा परि नै रहन्छ वाहिर आउन सक्दैन, देशमा स्रोत र साधनहरु प्रचुर मात्रामा उपलब्ध भएता पनि।
वर्तमानमा, यस्तो आर्थिक अनुशासन हीनता र अराजकताको स्थितिले नेताहरुलाई फाइदा त होला, उनीहरु यस्तो वातावरणको भरपुर फाइदा उठाएर आफ्नो आर्थिक स्थिति सबल पार्न सफल होलान पनि तर भविष्यमा भने उनीहरुको सन्तानहरुले त्यस किसिमले फाइदा प्राप्त गर्न सक्तैनन, सामान्य जनताको त के कुरा गर्नु, सामान्य जनता त कुशासनको भुमरिमा रुमलिन बाध्य हुन्छन नै।
 राम्रो आर्थिक अनुशासन कायम हुन नसकेको स्थितिमा जो राजनैतिक र आर्थिक रुपमा बलियो हुन्छ उसले बढी फाइदा उठाउन सक्छ। नेताहरु उपरोक्त दुबै किसिमले बलियो भएकोले राष्ट्रमा विद्दमान कमजोर आर्थिक अनुशासनको उनीहरुले भरपुर फाइदा उठाउन सक्लान तर उनीहरुको सन्तानहरुले पनि त्यस किसिमबाट फाइदा उठाउन सक्दैनन किनभने नेताहरुका सन्तानहरुमा नेताहरु जतिकै दिमाग घुमाएर फाइदा उठाउने क्षमता न हुन सक्छ। नेताहरु जत्तिकै उनीहरुका सन्तानहरु पनि दस किसिमका राजनैतिक दाउपेंच चलाएर जहिले पनि शक्तिशाली भएर बस्ने स्थितिमा हुन सक्तैनन। एउटै परिवारका सबै व्यक्तिहरुको बौद्धिक क्षमता समान किसिमले संधै प्रखर हुन्छ भन्ने कुराको कुनै ग्यारंटी छैन। अवस्य पनि भिन्नता हुन्छ र त्यो भिन्नता ज्यादै ठूलो पनि हुन सक्छ। यसरी नेताहरुबाट हुने आर्थिक अनुशासनहीनताले दीर्घकालमा उनीहरुलाई पनि उत्तिकै बेफाइदा हुने देखिन्छ जुन वर्तमानमा सामान्य जनताहरुलाई भइ रहेको छ। यो यथार्थ राजनैतिक नेतृत्वले बुझेको जस्तो लाग्दैन र यदि बुझेका छन भने पनि यो विषयलाई गंभिरताका साथ नेतृत्वले लिएको जस्तो देखिंदैन। यो विषयले दीर्घकालिन रुपमा असर पार्छ। स्थानीय, जिल्ला, अंचल लगाएत राष्ट्रिय स्तरसम्मका सबै नेताहरुले यो तथ्यलाई मनन गर्न आवश्य छ। 
राजनैतिक नेतृत्वले क्षणिक स्वार्थलाई छोडेर आफ्नो परिवार, जनता र देशको विकासका लागि आर्थिक अनुशासनमा ध्यान दिने हो भने देशमा एउटा यस्तो स्वस्थ परम्पराको विकास हुन्छ जसमा सबैले समान किसिमबाट विकास गर्ने औसर पाउँने छन। बलियाहरुले मात्र उपलब्ध स्रोत र साधनहरुको अत्यधिक उपभोग गर्न पाउने कुप्रथा समाप्त भएर जानेछ। एउटा स्वस्थ परम्पराको विकासमा नेतृत्वले जोड दिने हो भने सामान्य जनताको हित त हुन्छ नै साथै उनीहरुकै सन्तानहरुको भविष्य पनि सुखद हुन पुग्छ। यो तथ्यलाई राजनैतिक नेतृवले गंभिरताका साथ लिन आवश्यक छ। तर, वर्तमानमा जस्तो आर्थिक अव्यवस्थाको स्थिति छ त्यसलाई नै नेताहरुले निरन्तरता दिने हो भने उनीहरुले आफ्नो क्षणिक सुखको अभिवृद्धि त गर्ने छन तर आफ्ना सन्तानहरुको सुख समृद्धिलाई धरापमा पार्ने छन। नेताहरुका आउने पुस्ताले आर्थिक अनुशासनहीनता परिणाम भोग्न निश्चय पनि बाध्य हुने पर्ने छ, वर्तमानमा नेताहरु सुखी देखिएता पनि। 
विकसित राष्ट्रका नेतृत्वहरुले आर्थिक अनुशासनको महत्वलाई राम्रो गरि बुझेका छन। उनीहरु राष्ट्रमा सबल व्यवस्था स्थापना गर्न सफल भएका छन। आर्थिक अनुशासनलाई ज्यादै महत्व दिएक छन। विकसित राष्ट्रहरुमा सरकार कमजोर भएता पनि, सरकार छिटो छिटो परिवर्तन भएता पनि वा सरकारको निर्माण जस्तो दलको सहभागितामा भएता पनि जनताले पाउने सेवाहरु कुनै पनि किसिमले प्रभावित हुन पाउँदैनन। राज्यले जनताप्रतिको आफ्नो दायित्व निर्वाध रुपले पूरा गरि रहेको हुन्छ। त्यस्तो हुन सक्नुको मुख्य कारण राम्रो आर्थिक अनुशासनद्वारा सबल व्यवस्था निर्माण गर्नु हो। निष्कर्षमा भन्नु पर्दा विकासित राष्ट्रहरुले आर्थिक विकास चमत्कारी किसिमले गर्नुको मुख्य कारण आर्थिक अनुशासन नै हो। र यो तथ्य नेपालका नेताहरुले गंभिरताका साथ लिन आवश्यक छ।

विश्वराज अधिकारी


Published in Prateekdaily.com on Friday, February 03, 2012
http://www.prateekdaily.com/2012/02/blog-post_3275.html

Thursday, February 2, 2012

Capitalism and Poverty-Poverty and Economics-22


 पूँजीवाद र गरिबी

पूँजीवादको विपक्षमा वकालत गर्नेहरुको संख्याभन्दा निकै गुणा बढी संख्यामा पूँजीवादको पक्षमा वकालत गर्नेहरुको रहेको पाइन्छ। पूँजीवादको विपक्षमा वकालत गर्नहरुसँग आफ्नै किसिका तर्कहरु छन् उनीहरुको त्यस किसिमको अडानका लागि। यसै गरी पूँजीवादको पक्षमा वकालत गर्नहरुसँग पनि आफ्नै किसिमका तर्कहरु छन् उनीहरुको त्यस किसिमको अडानका लागि। तर यहाँ प्रश्न के उठ्छ भने, यथार्थमा कसको अडान ठीक हो त? राष्ट्रको समग्र आर्थिक विकासका लागि पूँजीवाद ठिक हो अथवा होइन? के पूँजीवाद वा पूँजीवादी अर्थ व्यवस्थाले राष्ट्रको गरिबी निवारण गर्नुको साटो उल्टो गरिवी वृद्धि गर्दछ? के पूँजीवादले मुलुकमा गरिब र धनिक बीचको दूरीलाई झनै फराकिलो पार्दछ?
पूँजीवादी व्यवस्था उपयुक्त वा अनुपयुक्त भन्नु भन्दा पहिले यो व्यवस्था अँगालेर राष्ट्रहरुले प्रगति गरे वा गरेन भनी आर्थिक मूल्याँकन एवं विश्लेषण गर्नु उपयुक्त हुन्छ। यो व्यवस्था अँगालेर यदि वहुसंख्यक राष्ट्रहरु धनी भए, त्यहाँका निर्धन जनताहरुले ठूलो संख्यामा बेरोजार भएर वस्नु परेन, जिवन यापन लागत (Living costs) आकासिएन र गरीबहरुको संख्यामा व्यापक कमी आयो भने पूँजीवादले गर्दा समग्र राष्ट्रको आर्थिकविकास भयो र त्यसैले यो व्यवस्था उपयुक्त छ भनी निश्चित रुपमा भन्नु पर्ने हुन्छ।
विभिन्न राष्ट्रहरुले गरेको आर्थिक प्रगति, त्यहाँका सामान्य जनताको आर्थिक जिवन स्तरमा आएको सुधार, ती राष्ट्रहरुमा भएको बेरोजगारहरुको संख्यामा व्यापक कमी जस्ता आर्थिक सूचकाङ्कहरुलाई केलाएर हेर्दा पूँजीवादी अर्थ व्यवस्थाले कुनै पनि राष्ट्रको आर्थिक जिवनमा सकारात्मक प्रभाव पारेको प्रष्ट हुन आउँछ। विश्वका वहुसंख्यक विकासशील राष्ट्रहरु अहिले पूँजीवादी अर्थ व्यवस्था अँगालेर राष्ट्रलाई गरिबीको कुचक्रबाट बाहिर निकाल्न कम्मर कसेर लागेका छन्। कुनै बेला आफूलाई समाजवादी अर्थ व्यवस्थाको कट्टर समर्थक मान्ने र देशवासीलाई आवश्यक पर्ने सियोदेखि हवाई जहाजसम्म आफ्नै देशभित्र उत्पादन गर्ने (पूँजीवादमा सम्पूर्ण वस्तु आफ्नै देश भित्र उत्पादन गर्न सम्भव हुँदैन) लक्ष्य राख्ने भारत अहिले पूँजीवाद अँगाल्ने राष्टहरुको पंक्तिमा महत्वपूर्ण स्थानमा छ। यसै गरी, कुनै समयमा, विश्व अर्थ व्यवस्थादेखि आफूलाई अलग थलग राखी, राज्य नियन्त्रित (समाजवादी वा साम्यवादी?) अर्थ व्यवस्था द्वारा मुलुकको आर्थिक विकास गर्न कटिवद्ध र त्यति मात्र होइन, पूँजीवादलाई गरिब जनताको शोषकको रुपमा प्रस्तुत गर्ने चिन अहिले पूँजीवाद अँगाल्ने राष्ट्रहरुको पंक्तिमा अग्र स्थानामा छ। चिनमा हाल भइरहेका आर्थिक क्रियाकलापहरुले यस कुराको पुष्टि गर्दछ। चिन अहिले सस्तोमा वस्तु निर्यात गर्ने देश मात्र होइन विकसित राष्ट्रहरुलाई पूँजी निर्यात गर्ने देश समेत भएको छ।
 संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, जापान, क्यानाडा जस्ता राष्ट्रहरुले त पूँजीवादी अर्थ व्यवस्थाको अँगालेर चमत्कारी किसिमले आर्थिक प्रगति गरेको तथ्य हाम्रो सामु प्रष्ट नै छ।
निजीकरण, विश्व व्यापारमा संलग्नता, राष्ट्रिय मुद्रा एवं वित्तिय बजारमा खुकुलोपन, बजार साझेदारी( European Union, NAFTA, Asian ) जस्ता तरिकाहरु अपानाएर विश्वका अनेक राष्ट्रहरु पूँजीवादी अर्थ व्यवस्थाको फाइदा लिन एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन। हुन त कतिपय राष्ट्रहरुले आफूलाई पूँजीवादी राष्ट्र भन्न रुचाउँदैन उनीहरुले पूँजीवादी अर्थ व्यवस्था अँगिकार गरेता पनि। र यसको उदाहरणका लागि भारत र चिनलाई लिन सकिन्छ। भारत र चिनले आफूलाई पूँजीवादी  राष्ट्र नभनेता पनि यी राष्ट्रहरुले अवलम्बन गरेका आर्थिक नीतिहरुलाई केलाएर हेर्दा यी राष्ट्रहरुले पूँजीवाद अँगिकार गरेको प्रस्ट हुन आउँछ।
निजीकरण अहिले निकै प्रचलित भएको छ। निजीकरणद्वारा राष्ट्रको आर्थिक विकास गर्ने लक्ष्यका साथ विश्वका अनेक राष्ट्रहरुले राज्यद्वारा नियन्त्रित संगठनहरु निजी क्षेत्रलाई विक्री गरेको थुप्रै उदाहरण देख्न सकिन्छ। केही उदाहरण यस प्रकार छन्। सन् २००४ मा पाकिस्तानले हबिब बैंकको ठूलो अंश निजी क्षेत्रलाई बिक्री गर्यो। सन २००४ मा जापानले वेस्ट जापान रेल्वे कम्पनी निजी क्षेत्रलाई बिक्री गर्यो। भारतले पनि ओ यन जि सि ( ONGC- तेल अनुसन्धान तथा उत्पादन गर्न कम्पनी) मा रहेको अंश निजी क्षेत्रलाई सन् २००४ मा बिक्री गर्यो। सन् २००४ मा युक्रेनले एक स्टिल कम्पनी निजी क्षेत्रलाई बिक्री गर्यो। सन् २००४ मा जर्मनीले राष्ट्रको ठूलो खुद्रा बैंक- पोस्ट बैंक निजीकरण गर्यो। यसै गरी, सन् २००५ मा टर्कीले टर्क टेलकमको ५५ प्रतिसत अंश निजी क्षेत्रलाई हस्तान्तरण गर्यो। सोही वर्ष फ्रान्सले Electricite’de France (EDF) को ३० प्रतिशत अंश निजी क्षेत्रलाई बिक्री गर्यो। सन् २००६ मा चिनले इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना निजी क्षेत्रलाई बिक्री गर्यो। पोलैण्डले, सन् २००९ मा, Tauron Polska Energia निजी क्षेत्रलाई बिक्री गर्ने योजना रहेको उल्लेख गरेको थियो।
निजीकरणलाई पूँजीवादको एक अंशको रुपमा लिइने हुँदा माथिको उदाहरणबाट धनी राष्ट्रहरु मात्र होइन विकासशील राष्ट्रहरु पनि देशको आर्थिक विकास गर्नका लागि पूँजीवादको दिशा तर्फ लम्केको प्रस्ट हुन आउछ।
पूँजीवादी अर्थ व्यवस्थाद्रारा विकासशील राष्ट्रले पनि अकल्पनिय किसिमले आर्थिक प्रगति गर्न सक्छ भन्ने कुराको उदाहरणको रुपमा चिनलाई लिन थालिएको छ। हुन पनि चिनको आर्थिक विकासले त्यस कुराको पुष्टि गर्दछ। चिन मात्र होइन, एशिय, दक्षिणी अमेरिका लगाएत अफ्रिकाका थुप्रै राष्ट्रहरु अहिले पूँजीवादी अर्थ व्यवस्थामा प्रवेश गरिरहेका छन।
एउटा अर्को कटु यथार्थ के पनि छ भने पूँजीवाद सबै किसिमका आर्थिक समस्याहरुको समाधान भने होइन। र पूँजीवाद आफैमा पनि एउटा समस्या हो यदि यसको प्रगोग राष्ट्रमा उपयुक्त किसिमले हुन सकेन भने। पूँजीवाद औषधी हो – बढी खाए भने शरिरलाई हानी पुर्याउने, तर बिरामी परेको बेलामा खानै पर्ने, नखाई नहुने। अर्को उदाहरणको रुपमा, पूँजीवाद घोडा हो। यो घोडालाई लगामद्वारा नियन्त्रित गर्ने हो भने यसले तिब्र गतिमा दौडेर गन्तव्यमा पुर्याउँछ तर लगामद्वारा नियन्त्रित गर्न नसक्ने हो भने यसले खाल्डोमा लगेर खसाउँछ।

विश्वराज अधिकारी

Wednesday, February 1, 2012

I Was So Surprised-Story-24


म आकाशबाट खसे झै भएको थिएँ

मैले पच्चिस वर्ष पछि कान्ता दिदीलाई भेटेको थिएँ, बीरगंजमा, गीता मन्दिर नजिक। कान्ता दिदीलाई पच्चिस वर्ष पछि भेट्दा मैले कस्तो अनुभव गरे त्यो बेलि बिस्तार लगाउनु भन्दा पहिले म त्यो बेला, त्यो समय बिन्दुमा तपाँईलाई लग्न  चाहन्छु जुन समय बिन्दुमा कान्ता दिदी बि.. अनि म आइ. कम. मा ठाकुर राम क्याम्पस, बीरगंजमा पढ्ने गर्थ्यौ। कान्ता दिदी अनि मेरो, हामी दुबैको घर छपकैंयामा थियो। तर अहिले हामी दुबैको घर त्यहाँ छैन र यो भन्नु पर्दा मेरो मुटुमा कसैले सियोले चसक्क घोचि दिए झै भएको छ, मलाई। हामीले बीरगंज किन छाड्नु पर्यो त्यसको पनि आफ्नै राम कहानी छ, सुनाउँला त्यो कुनै दिन, पछि।
काठमाडौबाट हामी दुबै एकै समयमा बीरगंज पुगेको थियौ, जुन केवल एक संयोग मात्र थियो। बीरगंजबाट बसाइ नै सर्ने गरी काठमाडौतिर हिँडेको पाँच वर्षभन्दा बढी नै भएता पनि बीरगंज बेला बेलामा पुग्ने क्रम भने टुटेको थिएन। आफू बसेको परिवेश, समय र भूगोलको माया अति नै अचम्मको हुँदो रहेछ। र त्यही मायाले घरि घरि तानेर ल्याउँदो रहेछ आफ्नो पुरानो थलोमा। चुम्बक झै तानेर पुर्याएको थियो मलाई बीरगंजमा त्यही मायाले। अनि त्यस्तै भएको थियो कान्ता दिदीलाई पनि।
बिगत लामो समयसम्म मैले कान्ता दिदीलाई भेट्न सकेको थिन र त्यो पनि एउटा संयोग नै थियो, एउटै सानो शहरमा, त्यति लामो समय सम्ममा पनि। म जागिर र अध्ययनको सिलसिलामा देश विदेश भौंतारिने मान्छे भएकोले पनि त्यस्तो भएको हुन सक्छ।
आफ्नो जबानीमा कान्ता दिदी अति नै राम्री हुनु हुन्थ्यो। मलाई लाग्छ कान्ता दिदी जति राम्री कोही पनि थिएन, वहाँका समकालिनहरुमा। कान्ता दिदी जति राम्री हुनु हुन्थ्यो स्वभावले त्यति नै हक्की पनि। कसैसँग नडराउने स्वभावको। त्यो बेलामा, जुन बेला बीरगंजको समाज अहिले जति खुला भइ सकेको थिएन, मा पनि कान्ता दिदीका जति केटीहरु साथी थिए त्यो भन्दा बढी केटाहरु थिए।  म कुरा गर्दे छु २०३४ ३५ सालतिरको। हामी क्याम्पस पढदाखेरिको। बीरगंजको लागि बाहिरी विश्वसँगको साक्षात्कार भनेको बि बि सि रेडियो सुन्नु र रक्सौल हुँदै आउने भारतीय पत्र पत्रिका पढ्नु, आकाशवाणी र अल इण्डिया रेडियो सुन्नु थियो।
अँ, त, म कुरा गर्दै थिएँ कान्ता दिदीको बारेमा। कान्ता दिदीको एउटा बानी अचम्मको थियो। त्यो के भने वहाँ आफ्ना समकालिन मात्र होइन आफू भन्दा केही माथिल्लो उमेरकाहरुलाई पनि नाम समातेर मात्र हो र तँ भनेर बोलाउनु हुन्थ्यो। वहाँले कुनै केटालाई दाई वा कुनै केटीलाई दिदी भनेको मैलै सुनिन नै भने पनि हुन्छ, समयको त्यो काल खण्डमा।
एक चोटीको घटना भन्छु म, कान्ता दिदी रिक्सामा चढेर छपकैंयादेखि क्याम्पस आउनु भएको थियो, हत्तरिंदै, ढिलो भएकोले, क्लास भित्र पस्न। क्याम्पसको गेट अगाडि रिक्सा रोकिए पछि वहाँले कति भाडा भयो भनी रिक्साबालालाई सोध्नु भयो। रिक्साबालाले चलन चल्तिको रेट भन्दा तीन गुना बढी भाडा भन्यो। बीरगंजको गर्मीले त्यसै पनि कान्ता दिदीको दिमाग तातिरहेको थियो, त्यस माथि थपिएको थियो क्लास भित्र कुन बेला पस्न पाइएला भन्ने वहाँको चिन्ता। त्यस्तो स्थितिमा, रिक्साबालाले भनेको त्यो भाडाले त झनै तताई दियो वहाँको दिमाग। रिक्साबालालाई लगातार चार चडकन हिर्काउनु भयो, कान्ता दिदीले। रिक्साबाला रुन थाल्यो। विहान १० वा यस्तै ११ बजेको समय थियो, विद्यार्थीहरु हतार हतार गरि क्याम्पसमा प्रवेश गर्दै थिए। धेरै विद्यार्थीहरु त कान्ता दिदीले थप्पड हिर्काए पछि बन्न पुगेको त्यो तमासा हेर्न अडिएका थिए, क्याम्पसको मुल गेट अगाडि, एकै छिनका लागि क्लास जान बिर्सेर। त्यो घटना पछि ‘कान्ता दिदीको थप्पड’ निकै प्रख्यात भएको थियो, क्याम्पसमा। कुनै विद्यार्थीले कसैलाई तर्साउने किसिमबाट मात्र होइन, साथी साथी बीच ख्याल ठट्टा गर्दा पनि ‘कान्ता दिदीको थप्पड’ खालास है भन्ने गर्थ्ये। त्यो थप्पड प्रकरण पछि क्याम्पसमा कान्ता दिदीसँग डराउने विद्यार्थीहरुको संख्यामा ह्वात्तै वृद्धि भएको थियो।
छिमेकमा पनि कान्ता दिदीको अगाडि पर्न वहाँ भन्दा उमेरमा कम हुनेहरु त के बढी हुनेहरु पनि उत्तिकै डराउँथे। कहिले काहिँ, कसैले कुनै गल्ति गरेको कान्ता दिदीको आँखा अगाडि परेमा बोली र हात दुबैले एकै साथ सम्झाउने गर्नु हुन्थ्यो, गल्ति गर्ने लाई। कान्ता दिदीको साहस देखेर म दङ्ग पर्थ्ये। तर म भने वहाँ सँग पटक्कै डराउँ थिन। मलाई थाहा थियो, कान्ता दिदीले गल्ति गर्नेलाई मात्र गाली गर्ने, हिर्काउने गर्नु हुन्थ्यो भन्ने यथार्थ। रिस र घमण्डलाई नियन्त्रण गर्न नसकेर वहाँले कसै सँग रुखो व्यवहार गरेको मैले कहिले देखिन। खासमा भन्ने हो भने कान्ता दिदीको व्यक्तित्व नरियल जस्तो थियो, बाहिरबाट एकदमै सार्हो तर भित्र भने अति नरम। म कहिले काँहि जिस्किएर वहाँलाई यस्तो पनि भन्थ्ये- कान्ता दिदी, बिहे भए पछि भिनाजुलाई सार्है तर्साउनु होला जस्तो छ। मेरो कुरा सुनेर कान्ता दिदी रिसाएको जस्तो गर्नु हुन्थ्यो तर एकै छिन पछि हाँस्दै भन्नु हुन्थ्यो ‘तर्साउने मात्र हो, परे भने चड्याई पनि दिन्छु, बुझेउ।’
कान्ता दिदी बाटोमा हिँडदा वहाँलाई नहेर्ने मान्छे बिरलै हुन्थे। जबानहरुको त के कुरा, बुढाहरु पनि उत्तिकै लठ्ठिएर हेर्थ्ये। त्यत्तिकै ट्वाल परेर हेर्न नसक्नेहरुले कुनै किसिमको बहाना बनाएर हेर्थ्ये। मार्यादाको घेरा भित्र बसेको नाटक गर्नेहरुले पनि कुनै न कुनै मौका झिकेर अरुले चाल नपाउने गरी हेर्थ्ये। हेर्दिन भनेर बिपरित दिशामा टाउको घुमाउनेहरुको पनि एक चोटी नजर ठोकिन्थ्यो कान्ता दिदीको अनुहारमा, उनीहरुले आफूलाई रोक्दा रोक्दै पनि। मार्यादाको पर्खाल नाघ्नेहरुले त झन पूर्ण छुट नै पाएका थिए ट्वाल्ल परेर हेर्न। पुरुषहरुले मात्र होइन, महिलाहरुले पनि उत्तिकै हेर्ने गर्थ्ये। केहीले आश्चर्य मानेर त केहीले इर्षा गरेर हेर्थ्ये। हुन त हेर्नेहरुको पनि आफ्नै किसिमको विवशता थियो। त्यो के थियो भने कान्ता दिदीको रुपले हेरेक व्यक्तिलाई विवश पार्ने गर्थ्यो वहाँतिर हेर्न। दोष न त हेर्नेको थियो र कान्ता दिदीको। दोष कसैको थियो भने त्यो थियो रुपको। र यो कुरा कान्ता दिदीलाई राम्रो गरी थाहा थियो। त्यसैले शिष्टतापूर्वक कसैले वहाँलाई हेर्दा वहाँबाट कुनै किसिमको नकारात्मक प्रतिक्रिया आउँथेन। तर अलिकति पनि कसैले अशिष्टता देखाएमा, कान्ता दिदीको क्रोध अग्नी तत्काल त्यसलाई डढाउन उद्यत हुन्थ्यो। र धेरै पटक त्यस्तो भयो पनि। म एक चोटीको कुरा गर्छु, कान्ता दिदी सिनेमा हेर्न गएको बेलाको। बीरगंजको नै कुनै सिनेमा हलमा, देव आनन्द वा राजेश खन्ना हिरो भएको फिल्म थियो कुनै, जे होस, मलाई ठिकसँग याद भएन तर त्यो जमानाको कुनै चर्चित हिरोको फिल्म थियो त्यो। कुनै एउटा केटाले जिस्क्यायो, कान्ता दिदीलाई, टिकट काट्ने झ्यालको अगाडि। जिस्काएको मात्र होइन त्यस बाहेक पनि केही गर्यो त्यसले। कान्ता दिदीले त्यो केटाको सर्टको कालेर समातेर दुइ चार फाइट कस्नु भयो। केटाको ओठ काटिएर रगत बग्न थाल्यो। एक छिनको लागि त्यो दृश्य तमासा नै बन्यो, त्यहाँ। केही महिलाहरुले भने पनि ‘ठीक गर्नु भयो बैनी, यी मोरा गुन्डाहरुले त हैरान नै पारेका थिए। कसैले यिनीहरुलाई केही गर्न नसकेको हुनाले मन बढेको थियो यिनीहरुको, धधाएका थिए, त्यसै त्यसै। पोखिए मोराहरु, धेरै उम्लिएको हुनाले।’ केही केटाहरुले पनि वहाँको त्यो कार्यलाई उचित ठहर्याए। उनीहरुले पनि भने ‘ठीक गर्नु भयो दिदी।’ कान्ता दिदी मख्ख पर्नु भएको थियो त्यो दिन, आफूले कुनै ठूलो उपलब्धि हात पारे झै गरेर। जनमत आफ्नो पक्षमा रहेको देखेर। त्यो दिन पनि संयोग नै भन्नु पर्छ। म पनि पुगेको थिए त्यो सिनेमा हलमा, त्येही फिल्म हेर्न भनेर। तर म भने त्यो घटना भए पछि मात्र हलमा आइ पुगेको थिएँ र के के भयो त्यहाँ भन्ने कुरा कान्ता दिदीले भने पछि मात्र थाहा पाएँ। मलाई देख्ने बित्तिकै कान्ता दिदीले भन्नु भयो ‘थाहा त भएको नै होला तिमीलाई के भयो भनेर।’ मैले छोटो उत्तर दिएँ- थाहा पाएँ, कान्ता दिदी। वहाँले फेरि भन्नु भयो ‘बुझेउ नवीन, त्यसले अब कुनै केटीलाई जिस्काउने हिम्मत गर्ने छैन, एक्लो देखेर, यदि त्यसको मगजमा भूस भरिएको छैन भने।’
अब चाहिँ म कान्ता दिदीसँग पच्चिस वर्ष पछि बीरगंजको गिता मन्दिर अगाडि भेट भए पछि हामी बीच के के कुरा भए त्यो भन्छु। मलाई गिता मन्दिर अगाडि त्यसरी अप्रत्यासित रुपमा देखे पछि कान्ता दिदीको आश्चर्यको सीमा नै रहेन। म पनि उत्तिकै आश्चर्यमा परेको थिएँ। मेरो मुहारतिर हेर्दे वहाँले भन्नु भयो ‘कसरी एक्कासी यहाँ………., अनि बीरगंजमा कहिले ………..   कता हो आज भोलि …………।’ कान्ता दिदीले मेरो न त नाम लिएर न त तँ वा तिमी नै भनेर मलाई सम्बोधन गरेको मैले प्रष्ट गरी थाहा पाएँ। लामो समयसम्म वहाँले मलाई नदेखेको हुनाले मलाई के भनेर सम्बोधन गर्नु हुन्थ्यो भन्ने कुरा बिर्सेर पनि त्यसो भन्नु भएको हुन सक्छ भन्ने अनुमान मैले गरे।
कुराको सिलसिला मैले नै अगाडि बढाएँ। वर्तमानका घटनाहरु भन्दा पनि स्मृतिको सागरमा डुबुल्की लगाएर सितल समयले स्नान गर्न मन लाग्यो मलाई। कान्ता दिदीलाई पनि त्यस्तै लागेको हुनु पर्छ अनुमान गरे मैले। हामी गिता मन्दिरलाई छाडेर घडिअर्बा पोखरीको पश्चिम पट्टी आई सकेका थियौ। मैले घडिअर्बा पोखरीतिर हेर्दै भने- पहिले यो पोखरी केवल एक पोखरी मात्र थियो, अहिले हेर्नुस त कान्ता दिदी, यो पोखरी कति भव्य भएको छ। याद छ तपाँईलाई हामी छठमा यहाँ आउने गरेको, त्यो बेला जुन बेला यो पोखरीमा यस्तो केही पनि बनेको थिएन। हामी हरेक छठमा यहाँ आउने गर्थ्यौ, न टुटाएर। मैले चाहिं कान्ता दिदी नै भनेर सम्बोधन गरे। मेरो भनाईमा कान्ता दिदीले छोटो प्रतिक्रिया राख्दै भन्नु भयो ‘हो, त्यो बेलाको याद अहिले पनि ताजा छ। क्याम्पसबाट माईस्थान मंदिर आउँदा यै बाटो भएर आउने गरेको पनि उत्तिकै याद छ। अनि उत्तिकै याद छ क्यम्पसका ती दिनहरु।’ यति भनेर वहाँले केही सम्झे झै गर्नु भयो। फेरि तत्कालै भन्नु भयो ‘अहिले कुन साल चलि रहेको छ, हँ?’ मैले भने- अहिले २०६८ साल चलिरहेको छ। कान्ता दिदीले भन्नु भयो ‘हामीले ठाकुर राम क्याम्पसमा पढेको पनि तीन दशक भन्दा बढी भएछ, है।’ मैले भने- समय बितेको थाहा नै हुँदैन। कति छिटो बित्छ समय। आफैमा हेर्नुस न, कति परिवर्तन भएको छ। हुनत अहिले पनि उत्तिकै राम्री हुनु हुन्छ, तपाँई, कान्ता दिदी। तर जबानीमा तपाँइ अझै कति राम्री हुनु हुन्थ्यो। सात सूर्यको प्रकास छरिए झै हुन्थ्यो तपाईको मुहारमा। एकदमै कमलको फूल फक्रे झै थियो तपाँईको मुहार। अनि तपाँई बोल्ड पनि उत्तिकै हुनु हुन्थ्यो। याद छ, तपाँईलाई, क्याम्पसमा केटाहरु तपाँइको अगाडि पर्न पनि डराउँथे। । तर आँखा छलेर हेर्थ्ये पनि तपाँईलाई, तपाँईले थाहा नपाउने गरी। तर तपाँईलाई आदर पनि उत्तिकै गर्थ्ये। कति छिटो बिते ती समयहरु, हेर्दा हेर्दै, है।
मेरो कुरा सुन्दै हुनु हुन्थ्यो कान्ता दिदी तर कुनै प्रतिक्रिया राख्नु भएको थिएन। कुरा गर्दा गर्दै हामीले माईस्थान मन्दिर भित्र प्रवेश गरेको थाहा नै पाएनौ। त्यति मात्र हो, मन्दिरबाट बाहिर आएको पनि थाहा भएन। हामी यन्त्रवत चलिरहेका थियौ, बिगतका कुराहरुमा गफिएर। हामी माइस्थान चौकमा थियौ। मेरो मनमा अनायास के सोंचाई आयो कुन्नी। त्यो सोंचाईले मलाइ केही भन्न बाध्य पार्यो। मैले भने- कान्दा दिदी, आफ्नो समयमा तपाँई निकै बोल्ड हुनु हुन्थ्यो, है, र अहिले पनि हुनु होला भनी म भन्न सक्छु, विश्वासका साथ। अनि कान्ता दिदीको बिहे बारी, अनि केटा केटी, श्रीमान……………….
कान्ता दिदीले छोटो उत्तर दिनु भयो ‘छैन, केही पनि…………..।’
एकै छिन पछि कान्ता दिदीले फेरि भन्नु भयो ‘खोइ, म त्यति बोल्ड भएता पनि कुनै मोराले मेरो अगाडि आएर भन्न सकेन मलाई, कान्ता म तिमीलाई माया गर्छु भनेर। अरुको के कुरा, तिमीले त भन्न सकेनौ, कान्ता, म तिमीलाई माया गर्छु, तिमीसँग विहे गर्न चाहन्छु भनेर, त्यो बेला, जुन बेला  तिमीले मेरो वरि परि चक्कर काट्ने गरेता पनि, मलाई मन पराएको भएता पनि।’
कान्ता दिदीको कुरा सुने पछि म आकासबाट खसे झै भएको थिएँ। एउटा कुरा मैले तपाँईलाई न भन्ने हो भने मेरो भनाई अधुरो हुन पुग्छ। त्यो के हो भने, कान्ता दिदीलाई मैले कुनै नाताले गर्दा दिदी भनेको चाहिँ होइन है। सबैले वहाँलाई कान्ता दिदी भनेको हुनाले नै मैले पनि कान्ता दिदी भन्न शुरु गरेको थिए, त्यो बेला। र उमेरको कुरा गर्ने हो भने म कान्ता दिदी भन्दा एक दुइ वर्षले जेठो नै हुँला। यस. यल. सि. मा म दुइ चोटो फेल भएकोले कान्ता भन्दा जुनिएर हुन पुगेको थिएँ, क्याम्पसमा।  

विश्वराज अधिकारी

Tuesday, January 31, 2012

Ingenious-Nepali short story-Abhinaya-27


समय सुहाउँदो

केही हप्ता पूर्व मात्र गाउँबाट शहर पसेको एक युवकले आग्रह शैलीमा भन्यो दाइ, म बागबजारबाट चढेर यहाँ (कोटेश्वर) सम्म आएको, पैसा कता खस्यो, बस भाडा दिन असमर्थ छु
त्यो युवकको कुरा सुनेपछि अति क्रुद्ध हुँदै कन्डक्टरले व्यङ्ग्यवाणी प्रहार गर्यो पैसा दिने इच्छा छैन, दस वटा बहाना …………। सोझै, पैसा दिन्न भने भइ हाल्यो नि ………..’
कन्डक्टरको प्रतिक्रियाबाट आफ्नो बेइज्जती भएको ठानी त्यो युवकले स्पष्टिकरण पेश गर्यो साँच्चै भनेको दाइ, ममाथि विश्वास गर्नुहोस, मैले कहिले कसैको एक पैसा खाएको छैन र झूठो पनि बोलेको छैन
आफू सज्जन भएको थप प्रमाण पेश गर्न त्यो युवकले फेरि भन्यो हेर्नुहोस, मैले तपाइँको मिनीबसको नम्बर टिपेको छु, आज त भ्याउँदिन तर भोलि भने जसरी पनि ल्याएर भाडा भुक्तान गरी छाड्छु, कुनै पनि हालतमा बांकी राख्दिन। यति भनेर त्यो युवक आफ्नो गन्तव्यतिर हतारिँदै लाग्यो।
त्यो मिनीबसको ड्राइभरले पछाडितिर हेर्दै सोध्यो कान्छा, त्यसले भाडा दियो?
अहँ, दिएन सालेले, भन्छ पैसा हरायो रे कन्डक्टरले उत्तर दियो।
ड्राइभर गर्जो उल्लू, मान्छे हेरेर चढाउनु पर्छ नि
कन्डक्टरले स्थितिलाई सामान्य देखाउन भन्यो त्यस्तो त कहिले काहीँ भइनै हाल्छ नि, दाइ। पैसा साँच्चिकै हराएको पनि हुन सक्छ नि त्यसको। कन्डक्टरको प्रतिक्रिया सुनेपछि ड्राइभरले गाडी अगाडि बढायो।
बागबजार बसपार्क पुगेर भाडा दिन असमर्थ त्यो युवकले  एक ड्राइभरलाई सोध्यो दाइ ०००१ नम्बरको मिनीबस कतै देख्नुभयो? एकदिन त्यो बस चढ्दा पैसा हराएर भाडा तिर्न सकेको थिइन, त्यै तिर्न भनी आएको
अगाडिको मिनी बसलाई हेर्दै त्यो युवकले फेरि भन्यो हो, ऊ, ठीक त्यस्तै मिनी बस थियो। पैसा दिन नसकेको भोलिपल्ट देखि नै खोज्दैछु। आज सात दिन भयो खोजेको
त्यो युवकले भन्ने क्रम जारी नै राख्यो हुन त दाइ , बिसौ ड्राइभर कन्डक्टरहरुलाई
भेटेर सोधिसकेँ त्यो मिनी बसको बारेमा, कसैले पनि भन्न सकेन। बरु मैले भेटेका ती बिसौले हाँसेर भने तिमी या त द्वापर युगको धर्मराज युधिष्ठिर हौ या त सत्य हरिश्चन्द्र। बाबु, यो त कलियुग हो। कलियुग भनेको थाहा छ? भाडा नतिरेर यात्रा गर्नेहरुको सङ्ख्या यहाँ कम छैन, त्यो पनि यो शहरमा। बाबु भाडा नतिर्नु कुनै ठूलो अपराध होइन। ठूला-ठूलाले पनि गर्छन यस्तो काम
भरखरै भेटेको ड्राइभर हेर्दै त्यो युवकले फेरि भन्यो तर म त कसैको एक पैसा पनि राख्न चाहन्न
युवकले लगाएको बेलिबिस्तार सुनेपछि त्यो ड्राइभरले व्यङ्ग गर्यो भरखरै शहर पसे जस्तो छ, गाउँबाट कहिले आएको? धेरै भए जस्तो छैन?
ड्राइभरले फेरि भन्यो पाँच रुपैयाँ बाँकी भाडा तिर्न पाँच सय खर्च नगर। मलाई त भन्यौ भन्यौ, अरुलाई यो कुरा नभन्नू, सुनेभने पाखे , उल्लू भन्ने छन्
त्यो युवक ड्राइभरको कुराबाट प्रभावित भएको पटक्कै देखिएन।
पाँच वर्षपछि
त्यो युवक मिनीबस चढेर यात्रा गरिरहेको थियो, उसले देख्यो आफू चढेको मिनीबस ठीक त्यही मिनीबस रहेछ। ड्राइभर पनि उही। कन्डक्टर पनि ठीक त्यही , जसलाई भाडा भुक्तान गर्न बाँकी थियो। बसयात्रा समाप्त गरेर ओर्लने क्रममा त्यो युवकसँग कन्डक्टरले भाडा माग्यो खोइ   ……….कहाँबाट ……..हो ….. भाडा .....?’
कन्डक्टर तिर हेर्दै त्यो युवकले खल्तीभित्र हात हाल्यो अनि भन्यो खोइ दाइ, पैसा त कता हराएछ। भयो अब ……….। के गर्ने लौ? कहाँ-कहाँ जानु थियो ……..’। भाडा नपाउने देखेपछि कन्डक्टरले गाडी अगाडि बढाउन बसमा हिर्काएर ड्राइभरलाई सङ्केत दियो। मिनी बसबाट ओर्लेर पेटीमा उभिएको त्यो युवक मुसुमुसु हाँस्दै थियो, पैसा खल्तीमा भएर पनि आफूले भाडा भुक्तान नगरेकोले।

विश्वराज अधिकारी