Wikipedia

Search results

Friday, March 15, 2019

Positive Attitude: Fundamental of Economic Development-Article-239

आर्थिक समृद्धिको आधार जनताको असल मनोविज्ञान

परम्परागत मान्यताहरू परिवर्तन भइरहेका छन्। एउटा समय थियो, जब के विश्वास गरिन्थ्यो भने कुनैपनि देश आर्थिकरूपमा बलियो हुनका लागि त्यहाँ भरपूर प्राकृतिक स्रोत (उब्जाउ जमीन, अनुकूल मौसम, खानी (सुन, हीरा, वन, समुद्र, खोला, ठूलो भूभाग आदि) हरू हुन आवश्यक छ। अर्थात् खानी, पहाड, उब्जाउ जमीन, जलवायु आदिलाई देश समृद्ध पार्ने महत्वपूर्ण सम्पत्ति मान्ने गरिन्थ्यो। तर अब त्यो मान्यतामा परिवर्तन आएको छ। अबको नयाँ अवधारणाले के भन्छ भने कुनैपनि देश धनी हुनका लागि आवश्यक पूर्व शर्तको रूपमा जनताको मनोविज्ञान रहेको हुन्छ। देशलाई प्रशस्त मात्रामा उपलब्ध स्रोत र साधनले होइन जनताको असल मनोविज्ञानले धनी र स्थिर तुल्याउँछ।
    यो नयाँ मान्यताले के भन्छ भने जुन देशको जनता शिक्षित छ, अनुशासित छ, उदार र मिलेर बस्ने स्वभावको छ त्यो देशले तीव्र गतिमा आर्थिक विकास गर्छ। नर्वे, स्वीडेन, फिनल्यान्ड, डेनमार्क, अमेरिका, क्यानाडा, स्वीटजरल्यान्ड जस्ता राष्ट्रहरूले यसै नयाँ मान्यता अनुसार विकास गरेका हुन्। १७ सेप्टेम्बर, १७८७ मा लेखिएको संयुक्त राज्य अमेरिकाको संविधानले अहिलेसम्म निरन्तरता पाएको छ। अरू विभिन्न देशमा एउटा संविधान निलम्बन गरेर अर्को र त्यसपछि फेरि अर्को लेखिएको (जारी गरिएको) उदाहरण धेरै छ। नेपालमा पनि नेपालको संविधान २०१९रद्द गरेर अर्को संविधान जारी भएको छ। नेपालमा जनताको हितभन्दा नेताहरूको हितमा संविधान पुनर्लेखन हुन्छ। त्यस्तै स्थिति भारतको पनि छ।
    यो नयाँ मान्यताको मूल आशय भनेको देशको आर्थिक विकास जनताको मनोविज्ञानसँग जोडिएको हुन्छ, धन सम्पत्ति वा स्रोत एवं साधनहरूसँग हुँदैन। जनता सक्षम छ भने स्वयं स्रोत एवं साधनको सृजना गर्छ। जनता झगडालू स्वभावको छ, मिलेर बस्न सक्तैन, राष्ट्रिय समस्याको समाधान शान्तिपूर्वक गर्न सक्तैन, सामान्य कुरामा पनि विभेद गर्छ, साधारण कुरामा पनि हतियार उठाएर सङ्घर्ष गर्न रुचाउँछ भने भएका स्रोत र साधन पनि नष्ट भएर जान्छ। जनताको त्यस्तो किसिमको मनोविज्ञानले देशका अनेका सम्पत्ति नष्ट मात्र गर्दैन, देशमा नकारात्मक एवं विद्रोही भावना सृजना गराउँछ। मुलुकमा दश वर्षसम्म चलेको माओवादी खुनी सङ्घर्षमा मुलकका अनेक पुल, भवन, ऐतिहासिक धरोहरलगायत अनेक भौतिक सम्पत्ति नष्ट भएको हामीले देखेको कुरा हो। आर्थिक दृष्टिकोणले त्यो अति नै ठूलो क्षति थियो।
    रवान्डा, नाइजेरिया, सोमालिया, मलावी, बुर्किनाफासो, सुडान, यमन, कंगो, अफगानिस्तान आदि यस्ता मुलुक हुन् जो जन मनोविज्ञानबाट पीडित छन्। रवान्डाको जातीय नरसंहार सबैले थाहा पाएकै कुरा हो। दुई जातिय समूह हुटु र टुट्सीबीच केवल १०० दिनसम्म मात्र (April 7, 1994 – July 1994) चलेको सङ्घर्षमा करिब १० लाख व्यक्तिको निर्मम हत्या भएको थियो। कतिपय हुटु पतिहरूले आफ्नै टुट्सी पत्नीहरूको हृदयहीन भएर हत्या गरेका थिए। नाइजेरियामा केही वर्ष पहिले मात्र, महिलाहरूलाई किन शिक्षा दिएको भनी एउटा स्कूलबाट ३०० स्कूले छात्राहरूको अपहरण गरिएको थियो। अपहरण गर्ने सङ्गठन बोको हरामएउटा कट्टर धार्मिक सशस्त्र समूह हो र त्यो समूहले त्यस क्षेत्रमा धार्मिक राज्य स्थापना गर्न चाहन्छ। सन् २०१४ मा अपहरणमा परेका ती छात्राहरूमध्ये केही मुक्त भएपनि धैरै छात्रा अहिलेपनि बोको हरामको कब्जामा छन्। यतिका समय बितिसक्दा पनि छुट्न सकेका छैनन्। बोको हरामले तिनीहरूलाई यौन दासी बनाएर सन्तान उत्पादन गराउने साधनको रूपमा प्रयोग गरिरहेको खबरहरू प्रकाशित भएका छन्।
    सोमालियाले आफ्नो सम्पूर्ण भूभागमा नियन्त्रण कायम गर्न सकेको छैन। अलसबाब भन्ने कट्टर जातीय सङ्गठनले सोमालियामा अनेक किसिमको रक्तापातपूर्ण आन्दोलन चलाइरहेको छ। सोमालिया वर्षौंदेखि स्थिर राष्ट्र हुन सकेको छैन। यमनको स्थितिपनि त्यस्तै छ। सन् २०११ देखि त्यहाँ आरम्भ भएको गृहयुद्धले २० हजार नागरिकको ज्यान लिइसकेको छ। यसैगरी त्यस युद्धको चपेटा (भोखमरी, कुपोषण, बिमारी आदि) मा परी ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ। यमनमा दुई पक्ष (अन्तर्ष्ट्रिय समुदायको समर्थन प्राप्त सरकारजसको नेतृत्व अब्द्राबुह मन्सुर हादी) र हतियारधारी समूह हुथी बीच चलेको युद्ध रोकिने सम्भावना देखिएको छैन। यमनीहरूको विभाजित मनोविज्ञानको फाइदा साउदी अरेबिया र इरानले उठाइरहेका छन्। भन्ने हो भने इरान र साउदी अरेबियाको हित (मध्यपूर्वमा महाशक्ति हुने उच्चाकाङ्क्षा) का लागि यमनीहरू आपसमा काटमार गरिरहेका छन्। जनताको मनोविज्ञानले देशलाई कङ्गाल बनाउँछ भन्ने उदाहरण योभन्दा ठूलो अरू के हुन सक्छ? अनि यस्ता देश  र त्यहाँको जनता धनी हुन्छ?
    मलाला युसुफजईले पाकिस्तानमा महिलाहरूलाई शिक्षा दिनुपर्छ भन्ने अभियानको केवल समर्थन मात्र गरेको कार्यलाई पनि अपराध मानेर त्यहाँका तालिबानीहरूले उनको हत्या गर्ने उद्देश्यका साथ उनीमाथि (९ अक्टोबर २०१२ मा) गोली बर्साएका थिए। तालिबानीहरूले पाकिस्तानमात्र होइन, अफगानिस्तानमा पनि महिला शिक्षाको विरोध गरिरहेका छन्। साथै भेक्सिनदिन आउनेहरू माथि पनि गोली बर्साउने काम गरिरहेका छन्। शिशुको जीवन रक्षा गर्ने भेक्सिनको पनि तालिबानीहरूले विरोध गरिरहेका छन्। यस्तो जनमनोविज्ञान भएको स्थितिमा आर्थिक विकास कसरी सम्भव हुन सक्छ?
    नेपालजस्तै पहाडैपहाडले भरिएको मुलुक स्वीटजरल्यान्ड पनि हो। स्वीटजरल्यान्डले पहाडलाई अमूल्य निधि मानेर त्यसको भरपूर उपयोग गरेको छ। पहाडले गर्दा नै स्वीटजरल्यान्ड प्रकृतिले सिंगारिएको युरोपको एक अति सुन्दर देश हुन पुगेको छ। स्वीटजरल्यान्डलाई युरोपको खेल मैदानभन्ने गरिन्छ। तर त्यही पहाड नेपालको लागि घाँडो भएको छ। पहाडलाई घाँडो मानेर नै ठूलो सङ्ख्यामा नेपालीहरू पहाडबाट तराईतिर बसाइँ सरे। नेपालले पहाडको राम्रो उपयोग गर्ने हो भने यो मुलुक एशियाको नै सुन्दर मुलुक हुन सक्छ, स्वीटजरल्यान्डझैं। नेपालमा पहाडले तराईका र तराईले पहाडका स्रोत र साधन (जलस्रोतबिजुली र यातायात, भूमि, जलवायु, वन, खानी, ढुङ्गा) हरूको समुचित उपयोग गर्ने हो भने नेपाल दक्षिण एशियाको नै धनी राष्ट्र (प्रतिव्यक्ति आयको आधारमा) हुन सक्छ। तर विडम्बना! नेपालमा पहाड र तराईबीच राम्रो सामञ्जस्य कायम हुन सकेको छैन। तराईले आफूलाई पहाडबाट अपहेलित र ठगिएको अनुभूत गर्दछ भने पहाडले तराईमा राष्ट्रियताको कमी रहेको महसूस गर्छ। तराईको राष्ट्रिय भावमाथि शङ्का गर्दै तराईलाई भारतपरस्त मान्छ। यसैगरी तराई ठगिएको मानेर केही तराईका नेताहरूले तराईलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने आवाज पनि चर्काएका छन्। यी सबै गलत कुरा हुन्। यस्तो विग्रह भावनाले पनि आर्थिक विकास हुन सक्छ? नेपालको आर्थिक विकास जहिले पनि पछाडि पर्नमा यो विग्रह भावनाले पनि महत्वपूर्ण भूमिका खेलेको छ।
    तराई र पहाडको सम्बन्ध नङ र मासुजस्तो छ। प्राकृतिक स्रोत र साधनहरू समुचित उपयोगको दृष्टिकोणले यी दुई क्षेत्र एक अर्कामा भर पर्नुपर्ने र सहकार्य गर्नुपर्ने अनिवार्य स्थिति छ। जलस्रोतका लागि तराईले पहाडको भर पर्नुपर्छ भने कृषिको लागि पहाडले तराइको भर गर्नुपर्छ। यस किसिमको भाव राखेर अगाडि बढेमा पो आर्थिक विकास हुन्छ। तर पहाड र तराईले एक अर्कालाई पत्याउने आधार च्यातिएको लुगाझै भएको छ। यसलाई समयमा सिउन आवश्यक छ। र हाम्रो झगडालू जनमनोविज्ञानले यो च्यातिएका लुगा सिउन सकिरहेको छैन।
    स्वीटजरल्यान्डले न पहिलो विश्वयुद्धमा भाग लियो, न दोस्रो विश्वयुद्धमा नै। स्वीटजरल्यान्ड कुनैपनि सैनिक वा सुरक्षा सङ्गठनको सदस्य छैन। यो नाटोको पनि सदस्य छैन। यो देशले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैन। शान्ति, समन्वय र सहकार्यलाई यो देशको जनताले अति महत्व दिएको हुनाले देश र जनता दुवै समृद्ध छन्। जनताको असल मनोभावले यो देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
    जनताको मनोभावको कुरा गर्दा भारत र पाकिस्तानको चर्चा गर्नु पनि उपयुक्त हुन्छ। यी दुवै राष्ट्रले विगतमा धेरै युद्ध गरिसके। पहिलो कश्मीर युद्ध १९४७, इन्डोपाक युद्ध १९६५, इन्डोपाक युद्ध १९७१, इन्डोपाक युद्ध १९९९ लगायत सानातिना कैयौ युद्ध यी दुई राष्ट्रबीच भइसकेको छ। यी राष्ट्रहरूको मनोविज्ञान हेर्दा लाग्छ, यी राष्ट्रका जनतालाई युद्ध मन पर्ने रहेछ। यी दुवै राष्ट्रले सैन्य क्षमता वृद्धिमा जति पैसा खर्च गर्छन् त्यति गाउँगाउँमा स्कूलहरू खोल्न गर्ने हो भने यी दुवै देशको शिक्षाको स्तर माथि उठ्ने थियो। र मलालाजस्ता ले महिला शिक्षाको वकालत गर्दा गोली खानु पर्थेन। तर विडम्बना! यी दुई देशको सिमानामा सानो सैनिक कार्यवाही हुँदापनि दुवै देशका जनता युद्ध गर्ने मनस्थिति बनाएर सडकमा एक अर्कोमाथि हमला गर्न नारा लगाउन थाल्छन्। हालै भएको पाकिस्तानभारत तनावले यस्तै स्थिति देखाएको थियो। यो स्थितिमा भारत, पाकिस्तानभन्दा बढी युद्धप्रेमी देखिएको थियो। तर पाकिस्तानी प्रम इमरान खानको सुझबुझले गर्दा यो क्षेत्रमा ठूलो युद्ध हुन पाएन। जनधनको क्षति हुन पाएन।

    अब निष्कर्षतिर लागौं। आर्थिक विकासको नयाँ मान्यताले भन्छ देशको आर्थिक विकास हुनका लागि जनताको मनोविज्ञान पनि असल हुनु आवश्यक छ। जनताको मनोविज्ञानमा समस्या देखिएकोले नै साधन र स्रोतका बावजुद पनि अफ्रिकाका धेरै देशहरूले आर्थिक विकास गर्न सकेका छैनन्। त्यही अवस्था दक्षिण एशियामा पनि छ। अनि नेपाल, र छिमेकी भारत, पाकिस्तान, र अफगानिस्तानमा पनि।

Bishwa Raj Adhikari
Published in Prateekdaily on Friday, March 15, 2019

Friday, March 8, 2019

Exploring the Income Sources is Essential Task-Artifice-238


आम्दानीको श्रोत पत्ता लगाऔ

प्रादेशिक विभाजनले प्रदेशहरूलाई मात्र होइन, स्थानीय तह- नगरपालिका र गाउँपालिकहरूलाई पनि अधिकार सम्पन्न तुल्याएको छ। केन्द्रबाट भएको यो अधिकार प्रत्योजनको प्रयोग अब केवल राजनीति क्षेत्रमा गर्ने हो भने मुलुकको आर्थिक स्थिति कछुवा चालमा नै रहने छ। नेताहरूले केवल राजनीतिक शक्ति हस्तगत गर्न वा मन्त्री वा प्रधान मंत्री हुनमा प्रयोग गर्ने हो भने मुलुक झन झन गरिब भएर जाने छ। चुनावको लागि मात्र प्रयोग गर्ने हो नेपालीहरूको गरिबी यथा स्थानामा नै रहने छ।आर्थिक, राजनीतिक एवं सामाजिक भ्रष्टाचारको दलदलमा फँस्ने छ।
अव प्रत्येक स्थानीय निकायले आफ्नो क्षेत्रको विकासको लागि आम्दानीको स्रोत निर्माण गर्नु पर्छ। केवल केन्द्र वा प्रदेश सरकारको मुख ताक्ने परम्परा समाप्त गर्दै लग्नु पर्छ। कुनै क्षेत्रको विकास गर्ने प्रथम अभिभारा त्यस क्षेत्रको जनताको हो, त्यस पछि मात्र प्रादेशिक वा केन्द्रीय सरकारको हो। यो यथार्थलाई स्वीकार्ने पर्छ। न स्वीकार्ने हो भने आर्थिक विकासको सपना झनै पर पर पुग्ने छ।
स्थानीय निकायहरूले आफ्नो क्षेत्रको विकासमा लाग्ने विभिन्न किसिमका खर्चहरू (सडक, स्कूल, अस्पताल, अग्नी नियन्त्रण, एम्बुलेन्स, सुरक्षा व्यवस्था, प्रहरी, न्यालय, सामाजिक सेवा) का लागि आफैले नियमित र भरपर्दो आम्दानीको स्रोत निर्माण गर्नु पर्छ। यस्तो गर्न सकियो भने मात्र आर्थिक विकासको गतिले तिब्रता लिने छ।
आम्दानीका विभिन्न स्रोतहरू छन। व्यवस्थित किसिमले अन्वेषण गर्ने हो भने ती स्रोतहरूको पहिचान र उपयोग गर्न सकिन्छ। ती विभिन्न स्रोतहरू मध्ये सर्वाधिक सजिलो, प्रचलित र अनुगमन गर्न सकिने स्रोत हो कर। कर असुलीबाट प्रत्येक स्थानीय निकायले राम्रो आम्दानी प्राप्त गर्न सक्छ। स्थानीय निकायले प्रत्यक्ष र अप्रत्यक्ष कर लिन सक्छ।
आम्दानी गर्ने प्रत्येक स्थानीय बासिन्दासँग कर लिने तर कम आम्दानी हुने वा निर्धनहरूबाट लिएको कर उनीहरूलाई वर्षको अन्तमा फिर्ता गर्ने व्यवस्था हुनु पर्छ। यस किसिमको कर प्रणालीको व्यवस्था गरेर सबैलाई करको घेरा भित्र राख्नु पर्छ। र हरेक कर भुक्तान गर्न योग्य व्यक्तिसँग (फिर्ता नगर्ने गरी ) अनिवार्य रूपमा कर लिनु पर्छ। स्थानीय तहको आर्थिक, सामाजिक विकासको लागि कर नै एक भरपर्दो आम्दानीको स्रोत हो। कुनै पनि क्षेत्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने कर नै हो। 

वहुसङ्ख्यक व्यक्तिहरूलाई कर भुक्तान गर्न योग्य  कसरी तुल्याउने?
वहुसङख्यक व्यक्तिहरूलाई कर भुक्तान गर्न योग्य तुल्याउने कार्य कठिन छ तर असम्भव भने छैन। पश्चिमका राष्ट्रहरूले यस्तो गरेर नै आर्थिक विकास गरेका हुन र अहिले पनि आर्थिक विकासको क्षेत्रमा पश्चिमका राष्ट्रहरू पूर्वका राष्ट्रहरू भन्दा धेरै नै अगाडि छन्। यी राष्ट्रहरूको प्रमुख आयको स्रोत कर नै हो। हुन त यिनीहरूले बोन्ड एवं ट्रेजरी बिल जारी गरेर पनि कोष सङ्कलन गर्दछन।  
अव प्रत्येक स्थानीय निकाय (क्षेत्र) हरूले आफूलाई एक बजारको रूपमा विकास गर्नु पर्छ। र आफ्नो क्षेत्रमा मुख्य गरी तिन कुराहरूको विकास एवं विस्तारमा जोड दिनु पर्छ। ती तिन कुराहरू हुन- व्यापार, उदयोग र सेवा।
प्रकृतिले प्रत्येक क्षेत्रलाई केही ने केही (हावापानी, मौसम, जमिन, पहाड, खानी, जलस्रोत, जंगल, खोला, जलासय आदि आदि) वरदानको रुपमा दिएको हुन्छ। यसै गरी, हरेक क्षेत्रसँग आफ्नै किसिमको संस्कृति, परम्परा, चाडपर्व हुन्छ। हरेक क्षेत्रका व्यक्तिहरू खास किसिमका कार्यहरूमा कुशल (जस्तै हिमाली क्षेत्र वा पर्वतारोहणमा शेर्पाहरू) हुन्छन। यसरी, यी विभिन्न किसिमका स्रोतहरूको उपयोग गरेर हरेक क्षेत्रले आफ्नो स्थानमा व्यापार, उद्योग एवं सेवाको विकासमा जोड दिनु पर्छ। हरेक स्थान (गाउँ वा नगरपालिका) ले आम्दानीका लागि अवश्य पनि केही न केही (वस्तु वा सेवा) उत्पादन गर्नु पर्छ। गाउँहरू कृष कार्य, र शहरहरू व्यापारमा केन्द्रित हुनु पर्छ भन्ने पुरानो मान्यता अव त्याग्नु पर्छ। अब प्रत्येक स्थानलाई एक व्यापारिक केन्द्रको रूपमा विकास गर्नु पर्छ। उदाहरणको लागि, मध्य तराइको कुरा गर्ने हो भने, जनकपुर, जलेश्वर, सिम्रौनगढ, बिन्दबासिनी मन्दिर (पर्सा) यस्ता क्षेत्रहरू हुन जसले पर्यटनको पर्याप्त सम्भावनाहरू बोकेका छन। यस क्षेत्रका नागरिकहरूले पर्यटनको विकासबाट प्रशस्त आम्दानी गर्न सक्छन। पञ्चायत कालमा अधिकारहरू केन्द्रित गरिएकोले यी क्षेत्रहरूले यथेष्ठ विकास गर्न सकेनन। तर प्रजातान्त्रिक कालमा पनि यी क्षेत्रहरूले आफ्ना स्थानीय स्रोत एवं साधनहरूको उपयोग गर्न सकेका छैन। यस क्षेत्रमा भएका स्रोत र साधनहरूको उपयोगमा स्थानीयहरूले चाँसो देखाउनु पर्ने हो। तर स्थानीयहरूले आफ्नो क्षेत्रमा उपलब्ध स्रोत एवं साधनहरूको प्रभावकारी उपयोगमा ध्यान दिएको पाइँदैन। उदाहरणका लागि जनकपुरलाई नै लिन सकिन्छ। जनकपुरसँग बलियो इतिहास र जीवन्त धार्मिक स्थलहरू (जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, बारबिगाह, लक्ष्मण आखडा, धनुसागर, गंगासागर) भएता पनि यस क्षेत्र बासिन्दाहरूले यी अमूल्य निधिहरूबाट पर्याप्त लाभ लिन सकेका छैन। जनकपुरका नागरिक र विभिन्न राजनीतिक दलहरूले एउटा राम्रो सहमति बनाएर सह-कार्य गर्ने हो भने जनकपुर विश्वको नै एक महत्वपूर्ण तिर्थ स्थल बन्न सक्छ। जनकपुरले पर्यटन क्षेत्रबाट गरेको आम्दानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। जनकपुर, केदारनाथ र बद्रिनाथ (भारतका तिर्थ स्थलहरू) भन्दा क्षेत्रफलको आधारमा ठूलो मात्र छैन, यातायात र मौसको दृष्टिकोणले पनि सुगम छ। तर जनकपुरको आन्तरिक राजनीति र दलहरू बिचको खिंचातानीले एक तिर्थ स्थलको रूपमा, एक राम्रो आय आर्जन गर्ने स्रोतको रुपमा जनकपुरको समुचित विकास हुन सकेको छैन। यस किसिमका उदाहरणहरू तराइमा मात्र होइन, पहाडमा पनि थुप्रै छन।

तराइ र बजारको औसर
तराइमा विभिन्न किसिमका बजारहरू सृजना गर्ने र ती बजारहरूबाट प्रशस्त आम्दानी गर्न सक्ने थुप्रै थुप्रै सम्भावनाहरू छन। तर दु:खद कुरो तिनको प्रयोग हुन सकेको छैन। तराइमा रहेका बजारहरू भारतीय सीमा नजिक भएकोले ती बजारहरूले सस्तोमा (भारतीय स्थानीय बजारभन्दा) वस्तुहरू उत्पादन गरेर ती वस्तुहरू भारतीय-सीमा बजारमा बिक्री गर्न सक्ने पर्याप्त सम्भावना छ। तर मुख्य कुरा तराइका बजारहरूले भारतीय स्थानीय बजार भन्दा सस्तोमा उत्पादन गर्न सक्नु पर्छ। सस्तोमा उत्पादन गर्ने तरिकारहरू खोजि गर्नु पर्छ।

के भारतीय बजार भन्दा नेपालमा सस्तोमा उत्पादन गर्न सकिन्छ?
भारतीय बजार भन्दा नेपालमा सस्तोमा उत्पादन गर्न सकिन्छ र त्यस किसिमबाट उत्पादन गर्न सकिने पर्याप्त आधारहरू छन्। खास किसिमका वस्तुहरू, जसको उत्पानमा हाम्रो दक्षता छ, सस्तोमा उत्पादन गर्न सकिन्छ। भारतीय मुद्रा हाम्रो मुद्रा भन्दा बलियो भएकोले ती वस्तुहरू सजिलै भारतीय बजारहरूमा बिक्री गर्न सकिन्छ पनि। मात्र हामीले त्यस किसिमक वस्तुहरूको पहिचान गर्नु पर्छ।
नेपालमा सेवाहरू सस्तोमा उत्पादन गरेर पनि भारतीय पर्यटकहरूलाई बिक्री गर्न सकिन्छ र राम्रो आम्दानी प्राप्त गर्न सकिन्छ। जस्तै रिसोर्ट, पिकनिक स्थल, होटल, लज, अस्पताल, थिम पार्क, संग्राहलय, कलेज आदि जस्ता सेवा प्रदान गर्ने स्रोतहरूको स्थापना गरेर भारतीय ग्राहकहरूलाई ती सेवाहरू बिक्री गर्न सकिन्छ।

लाभप्रद छिमेकी बजार
भारतीय सीमावर्ती बजारहरू हाम्रो लागि निकै लाफप्रद हुन सक्छन। तर दु:खद कुरा भारतीय बजारहरूले नेपालका बजारहरू उपयोग गरि रहेका छन तर सीमवर्ती नेपाली बजारहरूले भारतीय बजारहरूको उपयोग गर्न सकेका छैनन। उदाहरणका लागि अहिले पनि वीरगञ्जबाट ठूलो संख्यामा क्रेताहरू रक्सौलतर्फ विभिन्न सामानहरू खरिद गर्न जान्छन। तर रक्सौलबाट ज्यादै थोरै संख्यामा भारतीय क्रेताहरू विभिन्न समानहरू खरिद गर्न वीरगञ्ज आउँछन। यसै गरी जुन संख्यामा नेपालका सीमावर्ती क्षेत्रहरूका नेपालीहरू ‘बाबाधाम’ जान्छन त्यसको तुलनतामा कमै व्यक्तिहरू नेपालको सीमावर्ती तिर्थ स्थल (खास गरी वीरगञ्ज) तर्फ आउँछन। यस्तो किन भएको होला? हामीले किन वीरगञ्जको “अलखिया मठ” लाई बाबाधामको हाराहारीमा ल्याउन सकेनौ? अलखिया मठको प्रचार प्रसार किन गर्न सकेनौ? किनभने हामीलाई “मारकेटिंग” गर्न आउँदैन। मारकेटिंको क्षेत्रमा हामी अहिले निकै पछाडि छौ। बामे सर्ने बालकको स्थितिमा छौ। हामीसँग भएको स्रोत र साधनहरूलाई उच्च लाफ प्राप्त हुने किसिमबाट उपयोग गर्ने हामीसँग ज्ञान र सिप दुबै छैन। हिम्मत पनि छैन। जुन अनुपातमा हामी राजनीति गर्छौ त्येही अनुपातमा हामीले स्थानीय स्रोत र साधनहरूको उपयोग गर्ने हो भने, मारकेटिंग गर्ने हो भने, हाम्रो उपलब्ध स्रोत र साधनले हामीलाई छोटो समयमा नै धनी राष्ट्रको सूचीमा पारि दिन्छ। स्विट्जरलैण्ड जस्तो पहाडी देश युरोपको धनी राष्ट्रहरू मध्ये एक हुन सक्छ भने नेपाल किन हुन सक्तैन? यो प्रश्न सबै नेपालीहरूले स्वयं आफै सँग गर्न आवश्यक छ।

निष्कर्ष
माथिका कुराहरू केवल आदर्श जस्तो लाग्न सक्छन। गुरूले शिष्यलाई केवल कोरा ज्ञान दिए जस्तो लाग्न सक्छन। तर त्यस्तो होइन। विश्वका धनी राष्ट्रहरूले माथि भनिएझै गरेर धन आर्जन गरेका हुन। स्थानीय बजारहरूलको उपयोग गरेर धनी भएका हुन।
प्रत्येक क्षेत्रका स्थानीयहरूले आफ्नो क्षेत्रको स्वयंले विकास गरेर देशलाई धनी तुल्याएका हुन।
र देश धनी हुन कुनै पनि देशले करको माध्यमबाट राम्रो आम्दानी पाप्त गर्न आवश्यक छ। यसका लागि स्थानीय बजारहरू आर्थिक रूपमा सक्षम हुन आवश्यक छ।

विश्वराज अधिकारी
Wednesday, March 06, 2019

Friday, March 1, 2019

Is Prevailing Concept About Profit Correct?-Article- 237


मुनाफाप्रति हाम्रो दृष्टिकोण के सही छ?

पश्चिमको व्यापार पद्धति र पूर्वको व्यापार पद्धतिबीच अहिलेपनि ठूलो अन्तर छ। व्यापारको विकास, सञ्चालन र व्यवस्थापन गर्न पश्चिमका व्यापारीहरू धेरै अगडि छन्। पश्चिमा व्यापारीहरूले प्रत्येक वर्ष नयाँनयाँ किसिमका व्यापारको सृजना गर्दछन् भने पूर्वका व्यापारीहरू परम्परागत चलिआएको व्यापार गर्न वा पश्चिमा व्यापारीहरूले गरेका व्यापार पद्धतिको नक्कल गर्नमा केन्द्रित रहेको देखिन्छन्। पूर्वका व्यापारीले आफ्नै ज्ञानमा कुनै नयाँ व्यापार सृजना वा विकास गरेको एउटा पनि उदाहरण छैन। फेसबूक, ट्विटर, गुगल, अमेजन, उबर, युटुबजस्ता व्यापारका नयाँ पद्धतिहरू पश्चिममा नै जन्मेका हुन्। अहिले संसारलाई नै एउटा सानो गाउँमा परिणत गर्ने इन्टरनेटको जन्मपनि पश्चिममा नै भएको थियो। यसरी पश्चिमका व्यापारीहरू व्यापारको क्षेत्रमा सदैव अगाडि छन्।
    पश्चिमका व्यापारी धनलाई ज्ञान वा परिश्रमको पारितोषिक मान्छन्। धन प्राप्त गर्नका लागि बल एवं बुद्धिको भरपूर उपयोग गर्छन्। त्यसकारण पश्चिमी जगत्मा भन्ने गरिन्छ मुनाफा भनेको जोखिम वहनको परिणाम हो’ (Profit is the reward of risk bearing)। तर पूर्वका व्यापारीमात्र होइन, सामान्य व्यक्तिपनि धनलाई आकस्मिकतासँग जोड्ने गर्छन्। धनलाई कठोर परिश्रम वा तेज बुद्धिको परिणाम नमानेर  भाग्यको परिणाम मान्दछन्। धन राम्रो भाग्यको परिणाम हो भन्छन्। त्यसकारण धनकी देवी (लक्ष्मी) को पूजा गर्छन्। धनकी देवीको पूजा पनि यस विश्वासका साथ गर्छन् कि धनकी देवीको कृपा भएमात्र धन आर्जन गर्न सकिन्छ। भएन भने गर्न सकिंदैन। यो विश्वासले गर्दा नेपाल एवं भारतमा व्यापारीहरूले आफ्नो पसल वा कार्य क्षेत्रमा धनकी देवीको मूर्ति वा फोटो राखेर नित्य पूजा गर्छन्। धनकी देवीलाई हरपल प्रसन्न राख्ने प्रयास गर्छन्। पूर्वका व्यापारीमात्र होइन, सामान्य नागरिकपनि धनकी देवीको नित्य पूजा गर्छन्। वर्षको एक पटक त धनकी देवीको पूजा धूमधामका साथ गर्छन्। निर्धनसमेत आकस्मिक रूपमा कुनै दिन धन प्राप्त हुन्छ कि भन्ने आशा गर्दै धनकी देवीको पूजा ऋण नै लिएरपनि गर्छन्। तर पश्चिममा न व्यापारी, न सामान्य व्यक्तिले नै धनका देवता वा देवीको पूजा गरेको पाइन्छ। कस्तो आश्चर्य! पूर्वीयहरू धनकी देवीको पूजा नित्य गरेर पनि गरीब छन् जबकि पश्चिमाहरू पूजा नगरेरै धनी छन्।
    हामी भगवान्लाई पनि धनसँग जोडेर हेर्छौ। भगवानको पूजा आफ्नो स्वार्थको लागि गर्छौ। तर भगवान् त श्रद्धा र विश्वासको केन्द्र पो हुनुपर्ने हो।
    हाम्रो पूर्वीय समाजले धनलाई अति नै महत्व दिन्छ। धनी हुनु पूर्वजन्मको राम्रो कर्मको फल मान्दछ। धनीलाई इज्जत दिन्छ र गरीबको इज्जत नै हुँदैन जस्तो गरेर उनीहरूसँग व्यवहार गर्छ। तर विडम्बना! पूर्वीय समाजले धनलाई महत्व दिंदादिंदै पनि यो समाज गरीब छ। किन होला?  उत्तर सरल छ। पूर्वीयहरू व्यापार, व्यवसायको विषयमा निकै पछाडि छन्। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने तत्कालीन शासकहरूले काठमाडौ नगरवासीहरूलाई व्यापार सिकाउन कश्मीरबाट व्यापारी काठमाडौ ल्याएका थिए। नेपालीहरूले धेरैपछि मात्र व्यापारका तरीकाहरू सिकेका हुन्। व्यापारको क्षेत्रमा तराई त झनै पछाडि थियो। जीवन निर्वाहका लागि आवश्यक सामग्री तराईका बासिन्दाहरूले सीमावर्ती भारतीय बजारहरूबाट खरिद गर्दथे।
    पश्चिमाहरूको तुलनामा पूर्वीय व्यापारीहरू कसरी पछाडि छन् भन्ने तर्कको पक्षमा एउटा प्रमाण पेश गर्न चाहन्छु। र त्यो प्रमाण हो मुनाफाप्रति पूर्वीय धारणा। पूर्वीय धारणा अनुसार पूर्वका व्यापारीहरूले छोटो समयमा बढी आम्दानी गरेर छोटो समयमा नै ठूलो धन आर्जन गर्ने लक्ष्य लिएका हुन्छन्। त्यो कारणले गर्दा उत्पादन लागतभन्दा कैयौ गुणा बढी मुनाफा लिएर, वस्तुलाई महँगो पारेर बिक्री गर्छन् र छोटो समयमा मुनाफाको माध्यमबाट धेरै धन प्राप्त गर्ने प्रयास गर्छन्। तर कुनै पनि वस्तु चर्को मूल्यमा बिक्री गर्दा त्यसले क्रेताको क्रय शक्ति कमजोर हुन्छ भन्नेतिर पटक्कै ध्यान दिंदैनन्। अर्थात् व्यापारीहरूले हरपल बढी मूल्य राखेर, बढी मुनाफा प्राप्त गरेर, छोटो समयमा नै धनाढ्य बन्ने प्रयास गरिरहेका हुन्छन्। आर्थात् छोटो समयलाई बढी महत्व दिइरहेका हुन्छन्। दीर्घ कालको कुरा सोच्दैनन्। यस कारणले गर्दा चर्को मूल्य राखेर, बढी मुनाफा लिएर छोटो समयमा नै धनी हुन व्यापारीहरूबीच तीव्र प्रतिस्पर्धा भइरहेको हुन्छ। अर्थात् बढी मुनाफा गर्ने प्रमुख बाटो चर्को मूल्य हुन पुग्छ। यस प्रकार पूर्वका व्यापारीहरूबीच चर्को मूल्यमा वस्तु बिक्री गर्न अघोषित प्रतिस्पर्धा नै हुन्छ।
    तर पश्चिमा यसको ठीक विपरीत हुन्छन्। पश्चिममा व्यपारीहरूबीच सस्तोमा वस्तु बिक्री गर्न प्रतिस्पर्धा हुन्छ। मूल्य कम पार्नुलाई, ग्राहकलाई आफ्नो वस्तु खरिद गर्ने मनस्थितिमा पुर्याउन एक बिक्रीरणनीतिको रूपमा प्रयोग गरिन्छ। जति सस्तोमा बिक्री गर्न सक्यो त्यसै अनुसार ग्राहकहरू पनि ठूलो सङ्ख्यामा आउँछन्। यसरी थोरै मुनाफा प्राप्त भए तापनि, धेरै ग्राहकलाई बिक्री गर्दा, दीर्घकालमा राम्रो मुनाफा प्राप्त गर्न सकिन्छ भन्ने उद्देश्यका साथ पश्चिमा व्यापारीहरू व्यापार गर्छन्। अर्थात् दीर्घकाललाई बढी महत्व दिन्छन्। सस्तोमा वस्तु वा सेवा बिक्री गरेर ग्राहकहरूको क्रयशक्ति वृद्धि गर्नेतर्फ हरदम क्रियाशील रहन्छन्। बजारमा बसेर लामो समयसम्म व्यापार गर्ने उद्देश्य लिएका हुन्छन्। र यो कारणले गर्दा ग्राहकको हित (सस्तो मूल्य) प्रति सदैव सचेत रहन्छन्।
    हाम्रो समाजमा त्यस्तो बिक्री भण्डारको नाम कमै सुनिन्छ जसले सस्तोमा सामान बिक्री गर्न ख्याति आर्जन गरेको होस्। सस्तोमा बिक्री गरेको काणले गर्दा नै व्यवसायिक जगत्मा दीर्घ जीवन प्राप्त गरेको होस्। ग्राहकको क्रय शक्तिप्रति सचेत रहेर निरन्तर ग्राहकको हित सोचेको होस्।
    हामी पटके व्यापारमा बढी रमाउँछौं र छोटो समयमा नै धनी हुन खोज्छौ। ग्राहकको हितको पूर्णरूपमा बेवास्ता गर्छौ। वस्तु वा सेवाको मूल्य चर्को पार्न वा मिसावट गर्न वा कमसल वस्तु बिक्री गर्न पनि हच्किंदैनौं।
    संयुक्त राज्य अमेरिकामा यस्ता धेरै खुद्रा भण्डार छन् जसले सस्तोमा सामग्री बिक्री गर्न ख्याति नै आर्जन गरेका छन्। घरघरायसी सामान, लुगाकपडा, फर्निचर, खाद्य सामग्री, फलफू, तरकारी, विद्युतीय सामग्री सस्तोमा बिक्री गर्न ती भण्डारहरूले लोकप्रियता प्राप्त गरेका छन्। यी भण्डारहरूले सामग्रीहरू बिक्री गर्दा ग्राहकको क्रय शक्तिलाई केन्द्रबिन्दुमा राखेका हुन्छन्। क्रेताको क्रयशक्ति बलियो भएमात्र हाम्रो अस्तित्व बाजरमा कायम रहन्छ भन्ने धारणा अनुसार काम गर्छन्।
    विश्वमा नै सर्वाधिक ठूलो मानिएको अमेरिकी खुद्रा भण्डारवालमार्टले, सस्तो सामग्री बिक्री गर्न ख्याति नै आर्जन गरेको छ। यसैगरी आधुनिक फेसन अनुसारको लुगा सस्तोमा बिक्री गर्न फोरएभर २१(Forever 21) ले अमेरिकाभरि नाम कमाएको छ। रस, अल्डी, टीजे मेक्स, डलर जेनेरल आदि जस्ता खुद्रा भण्डारहरूले पनि सस्तोमा सामग्री बिक्री गर्न ख्याति आर्जन गरेका छन्। सस्तोमा सामान बिक्री गर्न अमेरिकामा डलर ट्री नाम गरेको खुद्रा भण्डारले पनि प्रसिद्धि पाएको छ। यो खुद्रा भण्डारले प्रत्येक सामग्री केवल एक डलरमा बिक्री गर्छ। पेय पदार्थ, खाद्य सामग्री, सामान्य किसिमका लुगाहरू, औषधि, सजावटका सामान, भाँडा, स्टेशनरी, शृङ्गार सामग्री, साबुन, टुथपेस्ट, टुथब्रश, चकलेट, बिस्कुट, बर्थडे वा अन्य कार्ड जस्ता सामग्री यो खुद्रा भण्डारबाट केवल एक डलरमा खरिद गर्न सकिन्छ। अमरिकामा, न्यूनतम ज्याला प्रतिघण्टा करिब ८ डलर रहेको स्थितिमा, एक व्यक्तिले केवल एक घण्टाको ज्यालाले पनि विभिन्न सामान खरिद गर्न सक्ने स्थिति डलर ट्रीले सृजना गरिदिएको छ। डलर ट्रीको मुख्य उद्देश्य नै सस्तोमा सामान बिक्री गर्नु हो। कम आय भएका व्यक्तिलाई सेवा पुर्याउनु हो। र यो एक किसिमको बजार रणनीति पनि हो। यो रणनीतिले गर्दा थुप्रै ग्राहकहरू यो खुद्रा भण्डारप्रति आकर्षित हुन पुग्छन्।
    यसैगरी विश्वविख्यात अमेरिकी फास्ट फुड रेस्टुरा मैक डोनाल्डले पनि सस्तोमा खाद्य सामग्री बिक्री गर्न ख्याति आर्जन गरेको छ। यस रेस्टुराबाट पनि केवल एक डलरमा एउटा सेन्डविचखरीद गर्न सकिन्छ। अर्थात् कुनैपनि व्यक्तिले आफ्नो आम्दानीको अति सानो भाग (एक घण्टाको पारिश्रमिक) ले पनि मैक डोनाल्डबाट एक दिनका लागि पुग्ने खाद्य सामग्री खरीद गरेर जीवन निर्वाह गर्न सक्छ। मैक डोनाल्डले गरीबहरूको जीवन निर्वाह पनि सरल तुल्याइदिएको छ।
    सस्तोमा बिक्री गर्नका लागि दुई कुरा गर्नुपर्ने हुन्छ। उत्पादन र बिक्री लागत सस्तो पार्नुपर्छ।  नेपालमा यी दुवै कार्य गर्न व्यापारीहरूबाट ठोस प्रयास गरिएको देखिंदैन। के कस्तो काम गरेर सस्तोमा उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन अनुसन्धान गरिएको पाइँदैन। खासमा भन्ने हो भने सस्तोमा बिक्री गर्नुपर्छ भन्ने अवधारणाको विकास नेपाली व्यापारीहरू बीच भएको पाइँदैन। सस्तोमा बिक्री गर्दा घाटा लाग्छ भन्ने विपरीत भय पाइन्छ।
    सस्तोमा सामग्रीहरू बिक्री गरेर दीर्घकालमा राम्रो मुनाफा प्राप्त गर्न सकिन्छ भन्नेबारे व्यवसायीहरूले गम्भीरतापूर्वक सोचेको पाइँदैन। यस्तो किन भएको हो त? किनभने हामी कहाँ व्यापार गर्ने पद्धति नै पुरातन छ। तर यो सोचमा परिवर्तन ल्याउन अति आवश्यक छ।
    कुनै पनि व्यापारको मूल आधार ग्राहक हो। ग्राहकको क्रयशक्ति बलियो भएमात्र व्यापारीहरू पनि बलियो हुन्छन्। ग्राहकहरू धनी भएमात्र व्यापारीहरू पनि धनी हुन्छन्। यो नै व्यापारको मूल मन्त्र हो।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, March 01, 2019

Friday, February 22, 2019

Where are the resources to meet the expenses? - Article-236


खर्चका लागि खोइ आम्दानी?

हालै सरकारले आफ्नो एक वर्षे कार्यकालको मूल्याङ्कन सार्वजनिक गरेको छ। सरकारको कार्यकालको मूल्याङ्कन प्रधानमन्त्री केपीशर्मा ओलीको एक वक्तव्यमार्फत जनसमक्ष आएको छ। प्रम ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विभिन्न महत्वपूर्ण कार्यहरूको सूची प्रस्तुत गरेका छन्।
    प्रत्येक सरकारले आफ्नो एक वर्षे कार्यकालको मूल्याङ्कन गर्दा भन्ने कुराहरू नै ओलीले भनेका छन्। उनको वक्तव्यमा नितान्त नौलो कुनै कुरा आएको छैन। नेपालजस्तो आर्थिक अवस्था भएको देशमा प्रमले चाहेर पनि रातारात आर्थिक प्रगति हुने होइन। कुनैपनि राष्ट्रले मुलुकमा उपलब्ध स्रोत एवं साधान उपयोग गरेर नै आर्थिक समृद्धि हासिल गर्ने हो। विकास चमत्कारीरूपमा आकाशबाट झर्ने होइन। र विकासका लागि सरकारमात्र होइन, जनतापनि उत्तिकै जिम्मेवार हुन्छ। प्रत्येक नागरिकले आआफ्नो क्षेत्रबाट देश विकासको लागि योगदान पुर्याउनैपर्छ। विकसित राष्ट्रहरूमा भएका आर्थिक प्रगतिले यस कुराको पुष्टि गर्छ। र अर्कोतर्फ देशमा केवल स्रोत र साधन भएरमात्र हुँदैन, आर्थिक विकासलाई पुरातन होइन, प्रगतिशील संस्कृति आवश्यक पर्दछ। नेपाल अहिलेपनि प्रचीन संस्कृतिमा बाँचिरहेको छ। जाति प्रथा र आर्थिक भ्रष्टाचारको दलदलबाट नेपाल अहिलेपनि बाहिर आउन सकेको छैन।
    प्रमले आर्थिक विकासको सपनामात्र बाँड्ने गरेको भनाइतर्फ इङ्गित गर्दै उनले उक्त वक्तव्यमा के प्रतिक्रिया व्यक्त गरेका छन् भने म एउटा आशावादी व्यक्ति हुँ जसले आधा गिलास पानीलाई आधा भन्नुको साटो गिलास भरिन आधा मात्र बाँकी छ भन्न रुचाउँछ। प्रमको यो अवधारणा अनुपयुक्त भने होइन। राष्ट्र विकासको सन्दर्भमा कार्यकारी प्रमुख (प्रम वा राष्ट्रपति) हरू आशावादी हुन आवश्यक छ। उनीहरूले जनतामा आशाको सञ्चार प्रभावकारी किसिमले छर्नुपर्छ। कार्यकारी प्रमुख नै निराशावादी भयो भने उसले जनतामा आशाको सञ्चार कसरी गर्न सक्छ?
    प्रम ओलीमाथि कुरामात्र बढी गर्ने (उखान टुक्का भन्ने) काम कम गर्नेव्यङ्ग्य गरिन्छ। तर उनको कुरा बढी गर्ने शैलीलाई देश विकासको सपना देख्ने नेता (Visionary leader) को रूपमा पनि त लिन सकिन्छ। जसले देश विकासको सपनै देख्दैन, उसले के विकास गर्छ? अर्थात् विकास गर्नका लागि सपना देख्नुदेखाउनु आवश्यक छ। र त्यतिकै आवश्यक छ नेताले गर्न खोजेको विकासका लागि जनताले पनि अनुकूल वातावरण तयार पारिदिनु। प्रत्येक नौ महीनामा सरकार (प्रम) फेर्ने वातावरणले कुनैपनि हालतमा देशको आर्थिक विकास हुन सक्तैन। सरकार फेरेर देशको आर्थिक विकास हुँदैन। नेताहरूलाई इमानदार बनाउन सके मात्र देशको आर्थिक विकास हुन्छ। नेतालाई इमानदार बनाउन जनता स्वयं इमानदार हुनुपर्छ। यो अर्को तीतो सत्य हो।
    यो लेखको आशय प्रम ओली वा उनले नेतृत्व गरेको सरकारको समर्थनमा शब्दजाल तयार पारेर पाठकहरूलाई उनको पक्षमा लाग्न उत्साहित पार्नु भने होइन। यो लेखको आशय वर्तमान अवस्थाको निष्पक्ष विश्लेषण गर्नुमात्र हो । यो सरकार विभिन्न क्षेत्रमा अदूरदर्शी, अक्षम, अव्यावहारिक र अनुभवहीन देखिएको छ। प्रेस स्वतन्त्रता र पशुपति शर्माप्रकरणमा यो सरकार ज्यादै नै अनुभवहीन देखिएको छ किनभने मेडियासँग डराएर त्यसलाई नियन्त्रण गर्न खोज्नु अप्रत्यक्षरूपमा आफूले गल्ती गरेको स्वीकार गर्नु हो। सक्षम र योग्य सरकारले मेडियालाई स्वतन्त्र भएर काम गर्न दिन्छ र विश्वास यो गर्छ कि उसले गरेका कार्य (उपलब्धि) ले नै मिडियामा आएका प्रश्नको उत्तर दिनेछ।
    स्वतन्त्र प्रेसले नै विभिन्न किसिमका राजनैतिक र आर्थिक भ्रष्टाचारहरू नियन्त्रण गर्न राज्यलाई सघाउँछ। र देशको चौतर्फी विकासमा योगदान पुर्याउँछ। त्यस कारण सरकार मेडियालाई बलियो र स्वतन्त्र बनाउने दिशातिर लाग्नुपर्छ। त्योदेखि डराएर मेडियालाई नियन्त्रण गर्नेपट्टि लाग्नुहुँदैन। मेडियाले सरकार र जनता दुवै पक्षलाई जिम्मेवार तुल्याउँछ।
    अब यो लेखको मूल विषयमा प्रवेश गरौं। अन्य सरकारले गरेझैं यो सरकारले पनि आफ्नो कार्यकालको मूल्याङ्कन गर्दा यी कार्यहरू सम्पन्न गरेको, यी कार्यहरू भविष्यमा गर्ने भनेर उल्लेख गरेको छ। अर्थात् विभिन्न क्षेत्रमा खर्च गर्ने भनेको त छ, तर ती क्षेत्रहरूमा खर्च गर्नका लागि आम्दानी कहाँबाट ल्याउने त्यसबारे केही उल्लेख गरेको छैन, कुनै योजना प्रस्तुत गरेको छैन। उदारहरणका लागि बेरोजगारीहरूलाई बेरोजगार भत्ता दिने त भनेको छ, तर भत्ता दिन रकम कहाँबाट ल्याउने यसबारे केही भनेको छैन। यस्ता उदाहरण धेरै छन्।
    राष्ट्रले गर्ने आम्दानीको प्रमुख स्रोत नै कर हो। विभिन्न किसिमका करहरूको माध्यमबाट सरकारले एउटा राष्ट्रिय कोष निर्माण गर्छ। राष्ट्रको आर्थिक विकासका लागि चाहिने (खर्च) रकमहरू त्यही कोषबाट प्राप्त गर्छ। त्यही कोषबाट रकम झिकेर खर्च गर्छ। तर नेपालमा गरीबको सङ्ख्या अधिक रहेको, उनीहरूको आर्थिक क्षमता कर भुक्तान गर्न सक्ने स्तरको नरहेको र उल्टो सरकारले नै त्यस्ताहरूलाई सहयोग (जस्तैखाद्यान्न सङ्कट भएका जिल्लामा सरकारले खाद्यान्न पठाउनुपर्ने) गर्नुपर्ने भएकोले कर नेपालको लागि दिगो र भरपर्दो आम्दानीको स्रोत हुन सकेको छैन। सामान्य खर्चको लागि पनि नेपालले विदेशी सहयोग वा दाताहरूको मुख ताक्नुपर्ने बाध्यता छ। यस कारण सरकारले चाहेर पनि राष्ट्रको आर्थिक विकास तीव्र गतिमा हुन सकिरहेको छैन। विकास गर्न खोज्ने नेताहरू पनि बढी बोल्ने, काम कम गर्नेहुन पुगेका छन् र कसैको उखान टुक्केसर्वनाम हुन गएको छ।
    अर्कोतिर नेपालमा कर तिर्न सक्नेहरूले पनि कर तिरिरहेका छैनन्। यस्तो गर्नेहरूको सङ्ख्यापनि धेरै छ। यसैगरी कर छल्नेहरूको सङ्ख्या पनि धेरै छ। अर्थात् जुन अनुपातमा आम्दानी गर्छन्, त्यस अनुपातमा कर भुक्तान गर्दैनन्। ज्यादै कम कर तिर्छन् र आम्दानी लुकाएर छोटो समयमा धनी हुन्छन्। नेपालमा इमानदारीपूर्वक व्यापार गरेर धनी हुनेहरूको सङ्ख्या औंलामा गन्न सकिन्छ। सबैभन्दा ठूलो कुरा त नेपालमा कर छल्नुलाई ठूलो अपराध मानिंदैन र कर (सानो रकम नै पनि) छल्ने व्यक्ति सजायको भागिदार हुँदैन। 
    त्यसकारण नेपालमा निर्माण हुने कुनै पनि दलको सरकारको लागि ठूलो चुनौती भनेको नै करको माध्यमबाट एउटा बृहत् राष्ट्रिय कोष निर्माण गर्नु र त्यस कोषको उपयोग विकास कार्यमा गर्नु हो। तर अहिले करबाट उठेको पैसा केवल साधारण खर्च (कर्मचारीहरूको तलब, भत्ता, भाडा खर्च, इन्धन खर्च आदि) मा मात्र उपयोग भइरहेको छ। यस्तो अवस्थामा देशको आर्थिक विकास गर्न गार्हो हुन्छ।
    यो यथार्थलाई बुझेर वर्तमान सरकार र सरकारको नेतृत्व गर्ने प्रम ओलीले विभिन्न महत्वाकाङ्क्षी योजना सम्पन्न गर्ने घोषणा गर्नुभन्दा कुनकुन क्षेत्रबाट कसरी आम्दानी प्राप्त गर्ने, कसरी करको माध्यमबाट एउटा बृहत् कोष निर्माण गर्ने त्यसतर्फ गम्भीर हुन आवश्यक छ। सपना बाँड्नुको सट्टा ती कार्यहरू गर्न आवश्यक छ।
    वर्तमान कर प्रणालीलाई अझै वैज्ञानिक तुल्याएर बढीभन्दा बढी कर उठ्ने तरिका सोच्न आवश्यक छ। किनभने राष्ट्रले प्राप्त गर्ने कर नै आर्थिक विकासको आधारशिला हो। यो आधारशिलामा नै देशको आर्थिक समृद्धि ठडिएको हुन्छ।
    अब आयो मुख्य प्रश्न करको परिमाण कसरी बढाउने ? एकै व्यक्ति सँग बढी कर लिएर करको परिमाण बढ्ने होइन, बढ्दैन पनि। धेरै व्यक्तिले कर तिर्ने वातावरण सृजना गरेर मात्र करको परिमाण वृद्धि गर्न सकिन्छ। धेरै व्यक्तिले कर भुक्तान गर्न सक्ने वातावरण सृजना गर्न धेरै व्यक्तिले रोजगार पाउन आवश्यक छ। धेरै व्यक्तिको हातमा करयोग्य आम्दानी हुनु आवश्यक छ। र धेरै व्यक्तिको हातमा करयोग्य आम्दानी हुनका लागि नेपालमा उद्योग एवं व्यापारको सन्तोषजनक विकास हुन आवश्यक छ। र नेपालमा त्यस्ता उद्योग र व्यापारको विकास गर्न आवश्यक छ, जसले भारतीय र चिनियाँ उद्योग एवं व्यापारसँग प्रतिस्पर्धा गर्न सकोस्। चीन र भारतभन्दा सस्तो उत्पादन गर्न सकोस्। राष्ट्रको आर्थिक अवस्था यस्तो (विकास एवं निर्माणका लागि विदेशी दाताहरू समक्ष हात फैलाउनु पर्ने बाध्यता) रहेको स्थितिमा राष्ट्रिय आम्दानीमा वृद्धि नगरेर केवल खर्च (विकासका कार्य) गर्छु भन्नु साँच्चीकै उखान टुक्का भनेजस्तो हुनेछ। त्यसकारण, सर्वप्रथम राष्ट्रिय आम्दानी (National income) मा वृद्धि हुने योजना ल्याउन आवश्यक छ ।
    कसरी राष्ट्रिय आयमा वृद्धि गर्न सकिन्छ र कसरी करको परिमाण वृद्धि गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर पाउन विज्ञहरूको राष्ट्रिय सम्मेलन गर्दा राम्रो हुन्छ। र यस्तो सम्मेलनमा विभिन्न दल र क्षेत्रका व्यक्तिहरूलाई सहभागी गराउँदा राम्रो हुन्छ। निष्पक्ष र स्वतन्त्र व्यक्ति, जो राजनैतिक दलहरूसँग आबद्ध छैनन्, तर विज्ञ छन् भने त्यस किसिमका व्यक्तिलाई सहभागी गराउनु झनै उत्तम हुन्छ।

विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, February 22, 2019