नया व्यवसायको विकास
र रोजगारी श्रृजना
नया नया वस्तु एवं
सेवाको विकास, केही अपवादहरुलाई छाडेर कुरा गर्ने हो भने, केवल
विकसित वा धनी देशहरुमा मात्र भएको पाइन्छ। विकसित देशहरुले गरेका नया नया
व्यवसायहरुको विकासशील मुलुकहरुले केवल अनुशरण मात्र गर्छन्। विकासशील मुलुकहरुले
नया नया वस्तु एवं सेवाहरुको विकास गर्न चांसो समेत देखाउँदैनन्। अर्कोतिर विकसित
मुलुकहरुले परम्परागत व्यवसायहरुको सुधार गर्दै नया नया वस्तु एवं सेवाहरुको विकास
गर्छन। अर्थात नया नया व्यवसायहरुको श्रृजना गर्छन्। नया नया व्यवसायहरुको विकास
गरेर थप रोजगारीहरुको श्रृजना गर्छन्। नया रोजगारीहरु श्रृजना गरेर राष्ट्रिय आय
वितरणलाई सन्तुलित पार्ने प्रयास गर्छन्। यो कारणले गर्दा पनि विकसित देशहरुले
आफ्नो मुलुक भित्र बेरोजगारहरुको संख्यामा तिब्र वृद्धि हुन दिंदैनन्।
विकासशील मुलुकहरुमा
अचम्मको स्थिति देख्न पाइन्छ। विकासशील मुलुकहरुमा, बाजेले गरेको व्यापार नातिले
गर्ने स्थितिमा आउँदासम्ममा न त त्यो व्यापारमा सुधार भएको हुन्छ न त नातिले
बाजेको पालादेखि चल्दै आएको व्यापार छाडेर नया व्यापारको विकास गर्छ। नेपाल, भारत
जस्ता विकाशील मुलुकहरु यो अभ्यास झनै देख्न सकिन्छ। तर भारतले अहिले भने नया नया
व्यवसायको विकासमा चांसो लिनुका साथै नया व्यवसायसको विकास गर्न अनुसन्धानमा समेत
निकै खर्च गरेको पाइएको छ। भारतले सूचना प्रविधि (Information Technology) क्षेत्रमा गरेको प्रगति यसैको उदाहरण हो। सूचना प्रविधिको क्षेत्रमा
भारतले गरेको प्रगतिको फलस्वरुप अहिले हजारौं भारतीय नागरिकहरुले स्वदेशमा नै बसेर
विदेशी संस्थाहरुमा काम गर्ने पाउने औसर प्राप्त गरेका छन्। भारतमा रहेका कल
सेन्टरहरुलाई यस कुराको प्रमाणको रुपमा लिन सकिन्छ। अहिले अमेरिकाका धेरै
कम्पनीहरुले भारतस्थित कल सेन्टरहरु प्रयोग गरिरहेका छन्।
संयुक्त राज्य
अमेरिकामा हरेक वर्ष ठूलो संख्यामा नया नया वस्तु एवं सेवाहरुको विकास हुने गर्दछ।
अर्थात नया नया व्यवसायहरुको विकास हुने गर्दछ। विकास भएका यस्ता नया नया
व्यवसायहरुले रोजगारीको स्तर वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेलेका छन्। गुगल,
फेसबुक, युट्युब, स्काइप, भाइबर, समार्ट फोन, नेटफ्लिक्स आदि नया व्यवसाय विकासका
उदाहरणहरु हुन, जुन अमेरिकामा भए।
जसको आर्थिक स्थिति
बलियो छ उसले स्वभाविक रुपमा उपभोगका लागि बढी वस्तु एवं सेवाहरुको माग गर्छ।
अर्थात व्यक्तिले जति बढी कमाउँछ त्यति नै
बढी खर्च गर्न खोज्छ। यसरी बढी आम्दानी गर्नेहरुले बढी खर्च गर्न खोज्ने हुनाले उनीहरुले
बढी भन्दा बढी खर्च गर्ने वातावरण सृजना गरि दिनु पर्दछ। प्राय: बढी आम्दानी
गर्नेहरुका लागि भनेर नै महँगा किसिमका नया नया वस्तु एमं सेवाहरुको विकास गरिन्छ।
बढी आम्दानी गर्नेहरुले जति बढी वस्तु एवं सेवाहरु खरिद गर्छन् सोही अनुसार
सरकारलाई बढी कर प्राप्त हुन्छ र यसरी करको माध्यमबाट प्राप्त हुन आएको रकम
सरकारले गरिबहरुको आर्थिक स्थितिमा सुधार ल्याउने कार्यक्रमहरुमा खर्च गर्न सक्छ।
धनी देशहरुमा त्यस्ता
धेरै किसिमका वस्तु एवं सेवाहरुको विकास गरिएको हुन्छ जुन क्रय शक्ति बलियो
हुनेहरुले प्रयोगमा ल्याउने गर्दछन्। धनी देशहरुमा, क्रय शक्ति बलियो हुनेहरुलाई
लक्षित गरिएर बनाइएका वस्तु एवं सेवाहरु धेरै छन्। ती मध्ये यहाँ केवल एउटाको
चर्चा गर्न चाहन्छु। उत्तरी अमेरिका लगायत यूरोपका केही राष्ट्रहरुमा रिक्रिएसनल
भेहिकल (Recreational
Vehicle) जसलाई छोटकरीमा आर भि पनि भन्ने गरिन्छ, निकै
लोकप्रिय रहेको पाइन्छ। विभिन्न स्थानको भ्रमण गर्न, बिदा मनाउन, क्याम्पिंग गर्न,
छोटो समयका लागि कार्यालयको रुपमा प्रयोग गर्न मान्छेहरुले आर भि को प्रयोग
गर्छन्। आर भि हरुमा सुत्ने ठाउँ, भान्सा, बाथरुम आदिको व्यवस्था हुनुका साथै
देनिक प्रयोगका लागि आवश्य हुने जस्तै टेबल, कुर्सी आदि राख्ने व्यवस्था समेत
गरिएको हुन्छ। विभिन्न शहरहरुमा आर भि राख्ने पार्क बनाएको छ। आर भि मा चढेर
विभिन्न स्थानको भ्रमणमा हिंड्नेहरुले यस किसिमका पार्कहरुमा आफ्नो आर भि राख्ने
गर्दछन। खास गरी पिकनिक एवं बिदा मनाउन तथा विभिन स्थानहरुको भ्रमण गर्न
व्यक्तिहरुले आर भि को प्रयोग निकै गर्छन्। आर भि वा यस किसिमको सेवाको विकासलाई
धनीहरुको पैसा गरिबहरु सम्म पुर्याउने एक माध्यमको रुपमा लिन सकिन्छ।
नेपाल, भारत जस्ता
विकासशील राष्ट्रका गरिबहरुले व्यवसाय वा पेसाबाट जति आम्दानी गर्छन त्यो
आम्दानीको सम्पूर्ण भाग उनीहरुले आधारभूत आवस्यकतका वस्तुहरु खरिद गर्नमा नै
सक्याउँछन्। उनीहरुसँग बचतको रुपमा केही पनि रहँदैन। अझै केहीले त त्यसरी प्राप्त
हुन आएको आम्दानीले नपुगेर ऋण समेत लिन्छन। र संधै भरि ऋणमा डुब्छन्, ऋण बाहिर आउन
सक्तैनन्। तर विकासशील राष्ट्रहरुमा केही धनी एवं क्रय शक्ति बलियो हुनेहरु पनि
हुन्छन्। ती मध्ये केहीको त, एक दिनको आम्दानीले उनीहरुलाई वर्षभरि खान पुग्ने
हुन्छ। यस्ता धनी एवं अन्य बलियो क्रय शक्ति हुनेहरुले पर्याप्त बचत गर्ने हुनाले
उनीहरुको त्यस किसिमको बचत खर्च हुने वातावरण श्रृजना गर्न विकासशील राष्ट्रहरुले
नया नया किसिमका वस्तु एवं सेवाहरुको विकासमा ध्यान दिन अति आवश्यक छ। यस्तो गर्न
सकिएमा, थोरै मात्रामा भए पनि, धनीहरुको आम्दानीलाई गरिबहरुसम्म पुर्याउन सकिन्छ।
तर यस किसिमका कार्यहरु गर्नका लागि स्थानीय निकायहरु नै सक्रिय हुनु पर्दछ।
केन्द्र, वा सरकारले यस किसिमका कार्यहरुमा ध्यान दिएको उदाहरण कमै देख्न पाइन्छ।
नेपालमा त छैन नै भने पनि हुन्छ।
नेपालको सन्दर्भमा
कुरा गर्दा, उदाहरणका लागि, बीरगंज लगायत तराईका विभिन्न सहरहरुमा त्यस्ता धेरै
किसिमका वस्तु एवं सेवाहरुको विकास गर्न सकिने औसरहरु रहेको देख्न सकिन्छ। जस्तै
बीरगंजमा, घडिअर्बा पोखरीको केही हिस्सामा पानी माथि रेष्टुरेन्ट संचालन गरेर परीक्षणको
रुपमा हेर्न सकिन्छ। बीरगंजको नजिकै, विभिन्न स्थानहरुमा नगरपालिकाले पिकनिक मनाउन
भवनहरु निर्माण गरिदिन सक्छ। निजी क्षेत्रले आफ्नो लगानीमा बीरगंजका विभिन्न
स्थानहरुमा बाल बालिकाहरुले खेल्ने पार्क (Theme Park) हरुको निर्माण गरेर राम्रो आम्दानी गर्न सक्छ।
यसै गरी केही रेष्टुरेन्टहरुले जन्म दिन मनाउन आउने आफ्ना ग्राहकहरु लाई केही
उपहार (टिसर्ट, रुमाल, टोपी आदि) दिएर एवं सो ग्राहकको जन्म दिन मनाउन थप सहयोग
(संगीत।सजाबट) गरिदिएर आफ्नो रेष्टुरेन्टलाई जन्म दिन मनाउने राम्रो रेष्टुरेन्टको
रुपमा परिचित गराउन सक्छ।
नया वस्तु एवं
सेवाको विकास गर्ने उदाहरणका रुपमा अन्य थुप्रै कार्यहरुलाई लिन सकिन्छ। अनेक
किसिमका श्रृजनात्मक कार्यहरु गरेर नया नया वस्तु एवं सेवाहरुक विकास गर्न सकिन्छ।
नेपाल जस्तो विकासशील राष्ट्र, जहाँ क्रय शक्ति बलियो हुनेहरुको आम्दानी
गरिबहरुसम्म पुर्याउन त्यति सजिलो छैन, मा नया नया वस्तु एवं सेवाहरुको विकास गर्न
झन आवश्यक छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, June 13, 2014
No comments:
Post a Comment