Wikipedia

Search results

Friday, December 26, 2025

Fossil Fuel: Destroying the World Environment-Article - 610

 कसैको आर्थिक समृद्धि सर्वत्र भने विनाश

अहिले संसारभरिमै प्रत्येक व्यक्ति, परिवार र देश धनी हुने दौडमा छन्। धनी हुन वा सुविधायुक्त जीवनयापन गर्न गरीब देशका बहुसङ्ख्यक नागरिक आफ्नो राष्ट्रिय पहिचान र पुख्र्यौली थातथलो परित्याग गरी, स्वदेश कहिले नफर्किने योजना गर्दै, धनी देशतर्फ लागिरहेका छन्।

धनी हुन गरीब राष्ट्रहरू जसरी भए पनि, आफ्नो देशको वातावरण सन्तुलन बिगारेर भए पनि, वा विश्व पर्यावरण विनाश गरेर भए पनि, धनी हुने दौडमा छन्। यसैगरी धनी राष्ट्रहरू पनि अझै धनी भएर विश्व राजनीतिमा रहेको आफ्नो नेतृत्व वा हस्तक्षेपकारी भूमिका कायम राख्न धनी हुने दौडमा छन्। बढीभन्दा बढी भौतिक सुविधा प्रयोग गर्न तथा आफ्नो नित्य विस्तारित आवश्यकताहरू परिपूर्ति गर्न धनी देशका नागरिकहरू पनि धनी हुने दौडमा छन्।

अहिले संसार नै धनी हुने दौडमा छ। र धनी हुन जे जस्तो कार्य गर्ने मनस्थितिमा छ। यो विश्व मनोविज्ञानले यो पृथ्वीको अस्तित्व नै सङ्कटमा पर्ने देखिएको छ।

धनी हुन अनेक राष्ट्रहरूले के गरी रहेका छन्? धनी हुन उनीहरूले गर्ने कार्यले विश्व वातावरणलाई कस्तो प्रभाव पारिरहेको छ? र धनी हुने विभिन्न राष्ट्रहरूको उद्देश्यको मूल्य यो पृथ्वीले कसरी चुकाउनुपरेको छ? आउनुहोस्, यस आलेखमा यी प्रश्नहरूको उत्तर खोजौं।

धनी हुन कुनै पनि राष्ट्रले ठूलो परिमाणमा उत्पादन गर्नुपर्छ। ठूलो परिमाणमा उत्पादन गरी अनेक राष्ट्रहरूमा बिक्री गर्नुपर्दछ। बढी मुनाफा गर्नुपर्छ। राष्ट्रिय सम्पत्ति वृद्धि गर्नुपर्छ। अर्कोतर्फ बढी उत्पादन गर्नका लागि बढी ऊर्जा उपयोग गर्नुपर्छ।

विश्वका पन्ध्र ठूला अर्थतन्त्र (सन् २०२५, कुल गार्हस्थ्य उत्पादनका आधारमा) क्रमशः संयुक्त राज्य अमेरिका, चीन, जर्मनी, जापान, भारत, संयुक्त अधिराज्य, फ्रान्स, इटाली, रूस, क्यानाडा, ब्राजील, स्पेन, मेक्सिको, द कोरिया र अस्ट्रेलियाले ठूलो परिमाणमा उत्पादन गरिरहेका छन्। र उत्पादन गर्न ठूलो परिमाणमा ऊर्जा प्रयोग गरिरहेका छन्। र ऊर्जाको प्रमुख स्रोत जीवाशेष ऊर्जा रहेको छ।

अब वस्तु वा सेवा उत्पादन गर्नका लागि विश्वव्यापीरूपमा कुन ऊर्जा कति प्रतिशत प्रयोग हुन्छ, त्यो हेरौं। विश्वभरि नै वस्तु एवं सेवाको उत्पादन गर्नका लागि प्राकृतिक ग्यास २५ प्रतिशत, तेल ३४ प्रतिशत र कोइला २८ प्रतिशत प्रयोग हुन्छ।

विश्वभरि ८७ प्रतिशत ऊर्जाको स्रोत प्राकृतिक ग्यास, तेल र कोइला रहेको छ। प्राकृतिक ग्यास, तेल र कोइला जीवाशेष इन्धन हुन्। यी इन्धनहरूको प्रयोगले विश्व वातावरणमाथि नराम्रो प्रभाव पर्छ। वायु र जल अति प्रदूषण, श्वासप्रश्वाससम्बन्धी गम्भीर बिमारी, अम्ल वर्षा, अनेक जीवहरूको मृत्यु, मानवको अकाल मृत्यु, क्यान्सरका बिरामीहरूको सङ्ख्या वृद्धि, समुद्र अम्लीकरणजस्ता समस्याहरू जीवाशेष इन्धनको प्रयोगले गर्दा आउने हुन्।

यसैगरी पृथ्वीको सतह तातेर अनेक विपत्तिहरू जस्तै बाढी, सुख्खा, सुनामी, समुद्री आँधीजस्ता ठूला समस्याहरू पनि जीवाशेष इन्धनको अति प्रयोगले आउने हो। समग्रमा यी ऊर्जा प्रयोगबाट निस्केको विसर्जनले पृथ्वीलाई तताउने कार्य गरिरहेको छ। अहिले जीव अहित हुने गरी पृथ्वीको तापक्रम बढिरहेको छ।

जीवाशेष ऊर्जा प्रयोगमा कुन राष्ट्रको स्थान कहाँ छ त्यो पनि हेरौं। विश्वभरिमा सर्वाधिक जीवाश्म ऊर्जा प्रयोग गर्ने राष्ट्र चीन हो। दोस्रो राष्ट्र संयुक्त राज्य अमेरिका हो भने तेस्रो राष्ट्र भारत हो। यसैगरी रूस, जापान, इरान, साउदी अरेबिया, द कोरिया, क्यानाडा र इन्डोनेशिया चौथोदेखि दसौं क्रमका राष्ट्र हुन्।

संयुक्त राज्य अमेरिका र चीन मिलेर विश्वभर प्रयोग हुने ऊर्जाको आधा प्रयोग गर्छन्। ऊर्जा प्रयोगको दौडमा चीन अहिले अग्रपङ्क्तिमा छ। धनी हुनका लागि, धनी भएर विश्वको एक नम्बर शक्तिशाली राष्ट्र हुनका लागि चीन ठूलो परिमाणमा जीवाशेष ऊर्जा प्रयोग गरेर जतिसुकै ठूलो परिमाणमा उत्पादन गर्न तयार छ।

उद्योगहरूमा ऊर्जाका लागि अत्यधिक कोइलाको प्रयोगले गर्दा चीनका कतिपय शहरका आकाश कालो रहेको र रातिको समयमा तारा नदेखिने खबर बाहिर आएका छन्। लिफेन, सिंगताइ, बोइडिंग, हान्डान आदि चिनियाँ शहरका आकाश अत्यधिक कालो रहेको पाइएको छ।

जीवाशेष ऊर्जाको बढी प्रयोग तथा ठूलो मात्रामा औद्योगिक विसर्जनले गर्दा कतिपय देशका शहरहरूको वायुमण्डल अति प्रदूषित हुन पुगेका छन्। अहिले दिल्ली, लाहोर, कायरो, कोलकाता, ढाका, कुवेत सिटी, बग्दाद, तासकन्द, रियाद र तेहरान विश्वका सर्वाधिक प्रदूषित (२०२५) शहरका रूपमा क्रमबद्ध छन्।

कुनै बेला विकासशील कहलिएको देश भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र हुन पुगेको छ। भारतको कुल गार्हस्थ्य उत्पादन डलरमा ४.१३ ट्रिलियन पुगेको छ। भारतको आर्थिक वृद्धि दर अहिले ६.६ प्रतिशत रहेको छ, जुन संयुक्त राज्य अमेरिका, चीन, जर्मनी र जापानभन्दा बढी हो।

यो स्तरमा आर्थिक विकास गर्नका लागि वा धनी राष्ट्र कहलिनका लागि भारतले मूल्य पनि ठूलो चुकाउनुपरेको छ। दिल्ली, गाजियाबाद, गुडगावँ, नोएडा, हिसार, मुजफ्फरपुर, जालन्धर, बुलन्दशहर, फरिदाबाद र अमृतसर भारतका क्रमशः एकदेखि दस अति प्रदूषित शहर हुन्। ऊर्जा उत्पादनका लागि भारतमा कोइलाको प्रयोग ठूलो मात्रामा हुन्छ। विद्युत् उत्पादनमा कोइलाको उपयोग ८० प्रतिशत जति हुन्छ। 

आर्थिक विकासको दृष्टिकोणले हेर्दा भारतले चमत्कारी किसिमले प्रगति गरेको पाइन्छ। तर त्यो स्तरको आर्थिक प्रगति गर्न भारतले कति ठूलो मूल्य चुकाएको छ? भारतको अति आर्थिक प्रगतिले भारतीयहरूको स्वास्थ्यमा कति खराब असर परेको छ? यी प्रश्नको उत्तर भारतले आफ्नै जनताको लागि दिन आवश्यक छ। भारतको चमत्कारी आर्थिक विकासले विश्वको पर्यावरण विनाशमा पनि ठूलो योगदान पुर्‍याएको छ।

ठूलो परिमाणमा उत्पादन गरेर, ठूलो परिमाण बिक्री गरेर, विश्वको आर्थिक महाशक्ति हुन चीनले सर्वाधिक जीवाशेष ऊर्जा प्रयोग गरिरहेको छ। संयुक्त राज्य अमेरिकाको स्थिति पनि यस्तै छ।

आर्थिक समृद्धि हासिल गर्ने विभिन्न देशका सपनाले विश्व–पर्यावरण विनाशमा ठूलो योगदान पुर्‍याइरहेको छ। आर्थिक विकासको दौडमा अनेक राष्ट्र यसैगरी दौडिरहँदा यो विश्व मानव–बस्तीका लागि मात्र होइन अन्य जीवहरूको लागि पनि अति अस्वस्थकर हुनेछ। मानव अस्तित्व सङ्कटमा पर्नेछ।

अब सोच्न आवश्यक छ– हामीले आर्थिक समृद्धिलाई महत्त्व दिने कि विश्व–पर्यावरण संरक्षणलाई महत्त्व दिने?







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनीकमा प्रकाशित: Friday, December 26, 2025

https://www.eprateekdaily.com/detail/95949

Sunday, December 21, 2025

Need and Importance of Small Businesses in Napal-Article-609

 नेपालमा सानो व्यापारको महत्व एवं आवश्यकता


Photo source: Google

नेपालले राजनीतिक स्थिरता र चीर शान्ति पाउन नसकेको धेरै भयो। २०४६ सालदेखि अशान्त रहेको नेपाल अहिले पनि शान्त हुन सकेको छैन। कुनै न कुनै कारण वा विषयमा अशान्त भइनै रहेको छ।

नेपाल सर्वाधिक अशान्त भने २०५२ साल देखि २०६३ सम्म रह्यो। यो कालमा नेकपा माओवादीले चलाएको अति रक्तपातपूर्ण बिद्रोहमा बैंकहरू लुट्ने काम भए। उद्योग एवं व्यवसायिक प्रतिष्ठानहरू लुट्ने काम भए। सर्वाधिक दु:खद कुरा, नेपालको औद्योगिक एवं व्यापारिक वातावरण अतिनै आतंकित पार्ने काम यही कालमा भयो। गाउँहरूमा मात्र होइन सहरहरूमा पनि व्यसायीहरू नया उद्योग वा व्यापार स्थापना गर्न डराए। त्येति मात्र होइन, १७ हजार नेपाली नागरिकहरूले ज्यान यही बिद्रोहले लियो।

२०५२ सालदेखि अहिले (२०८२) सम्म पनि नेपालमा राजनीतिक स्थिरता र शान्ति देखिएको छैन। गत (२०८२) भाद्र २३ र २४ गते, नेपालको इतिहासमा नै, मुलुक ‘भूतो न भविष्यति’ किसिमले अशान्त हुन पुग्यो। नव युवाहरू (जेनजी) ले केवल दुई दिन चलाएको बिद्रोहले खडग ओलीको सरकार पतन मात्र गराएन, ओलीलाई प्रम निवासबाट सुटुक्क भाग्ने स्थितिमा पुर्यायो। त्यो बिद्रोहमा धेरै नेताहरूले कुटाइ खाए। कतिपय नेताहरूको घर जल्यो। व्यापारिक प्रतिष्ठन, होटल आदिमा आगो लगाउने र भवन भित्र पसेर लुट्ने कार्य समेत पनि भयो। दु:खद कुरा त के रह्यो भने बिरोध र बिद्रोहका लागि जसरी माओवादीहरूले हिंसाको प्रयोग गेर नव युवाहरूले पनि बिरोध (ओली सरकारको) र बिद्रोहको लागि हिंसा नै प्रयोग गरे। हुन त नव युवाहरूले गरेको प्रदर्शन शान्त थियो भन्नेहरू पनि धेरै छन। र त्यस्तो हुन पनि सक्छ। नव युवाहरुको त्यो शान्तिपूर्ण प्रदर्शनमा औसरवादीहरूको प्रवेश ठूलो संख्यामा भएको थियो। लुटपाट र हिंसा ती औसरवादीहरूले गरेका थिए। यस्तो भन्ने आधार प्रशस्तै छन्। स्कूलको युनिफर्ममा गएका कलिला उमेरका वालवालिकाहरूले तोडफोड र हिंसा गरे भन्न सकिने स्थिति छैन।

नेपालमा ठूला ठूला उद्योग एवँ व्यापारिक प्रतिष्ठानहरू स्थापना हुन नसक्नुको प्रमुख कारण नै नेपालमा राजनीतिक स्थिरता नहुनु र देश जहिले पनि अशान्त रहनु हो। अविरल राजनीतिक अस्थिरता र आशान्तिको कारण देश भित्रका ठूला ठूला व्यापारीहरूले ठूला ठूला उद्योगहरूमा लगानी गरिरहेका छैनन। त्येही स्थिति अन्तरार्ष्ट्रिय लगानीमा पनि छ। नेपाल जहिले पनि अशान्त रहेको हुनाले विदेश लगानीकर्ताहरूले पनि नेपालमा लगानी गर्ने इच्छा वा तत्परता देखाएका छैनन।

ठूला ठूला उद्योग एवं व्यापारमा अत्यधिक लगानी गर्नु पर्छ। र त्यो लगानीको प्रतिफल पाउन बिसौंतिसौं वर्ष कुर्न पर्छ। यता, नेपालको राजनीति सदा तरल रहने स्थिति छ। नेपालको राजनीतिमा स्थिरताको अति अभाव छ। स्वार्थी एवं अति महत्वाकांक्षी नेताहरूले आफ्नो स्वार्थको लागि, पद, शक्ति र शत्ताको लागि, राष्ट्रिय राजनीतिलाई बर्सौदेखि अस्थिर पार्दै आएका छन। राष्ट्रिय राजनीति, केही क्षणको लागि भएता पनि, नेताहरूको स्वार्थको कारण भएता पनि, स्थिर भएको घडीमा अचानक सुशीला कार्कीको सरकार राजनीतिमा देखा पर्नु स्वार्थी नेताहरूको कारणले गर्दा नै हो। मुख्य गरी खडगप्रसाद ओलीको अहमको कारणले हो। भाद्र २०, २१ गते तत्कालीन प्रम ओलीले नव युवा पुस्ताका प्रतिनिहरूसङ्ग वार्ता गरेको भए, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिवन्ध फुकुआ गरिदिएको भए, भाद्र २३ र मुख्य गरी भाद्र २४ मा, नेपालको इतिहासकै, यस्तो डरलाग्दो घटना हुने थिएन। ७० भन्दा बढी व्यक्तिहरूको ज्यान जाने थिएन।

कुनै न कुनै बहानामा नेपालमा सदा साना ठूला संघर्ष भइनै रहने हुनाले देशमा ठूला ठूला उद्योग एवं व्यापारहरूको स्थापना होला भनि विश्वास गर्न सकिने स्थिति देखिंदैन। यस्तो विशेष किसिमको परिस्थितिमा हामीले नेपालमा साना व्यापारहरूको स्थापना एवं विकासमा जोड दिनु पर्छ। कम लगानीमा स्थापना र सञ्चालन गर्न सकिने साना उद्योग एवं व्यापाहरूको विकास एवं विस्तारमा जोड दिनु पर्छ।

दुध, दही, घ्यू उत्पादनका लागि पशु पालन गर्ने व्यवसायीहरूलाई स्थानीय सरकारले प्रोत्साहित गर्नु पर्छ। आश्यक पर्ने अनेक बजार सूचना उनीहरूलाई उपलब्ध गराउनु पर्छ। यसैगरी उनीहरूको लागि बजार खोजिदिने कार्य गर्नु पर्छ। व्यापार संचालनका लागि ऋण चाहिए उनीहरूले सहजरूपमा ऋण पाउने व्यवस्था मिलाई दिनुपर्छ। यसैगरी मासु (खंसी, बोका, रांगा, कुखुरा, हाँस), माछा आदि उत्पादन गर्ने व्यवसायीहरूलाई स्थानीय सरकारले उनीहरूलाई आवश्यक परेका अनेक सहयोग उपलब्ध गराइ दिनु पर्छ। तरकारी, फलफूल, साग आदि उत्पादन एवं बिक्री गर्ने व्यवसायीहरू पनि स्थानीय सरकारले सहयोग गर्नु पर्छ। अर्थात यस किसिमका विभिन्न व्यवसायीहरूलाई सहयोग गर्नु पर्छ।  

स्थानीय सरकारले साना व्यपारीहरूलाई सहयोग गर्नु पर्छ। साना व्यापारको विकास एवं विस्तारमा जोड दिनु पर्छ। स्थानीय स्तरमा अनेक वस्तुहरू उत्पादन गरेर केन्द्रिय सरकारले अनेक वस्तु (तरकारी, साग, फलफूल, मासु, माछा, दुध, दही, घ्यू आदि) को उत्पादनमा देशलाई आत्म निर्भर तुल्याउने प्रयास गर्नु पर्छ। नेपाल अहिले अभूतपूर्व किसिमले आयातमूखि हुन पुगेको छ। यस्तो स्थितिमा, स्थानीय स्तरमा अनेक वस्तुहरू उत्पादन गरेर पनि देश भित्र भइरहेको ठूलो आयात परिमाणमा कमी ल्याउन सकिन्छ।

अनेक किसिमका बिद्रोह, प्रदर्शन, हडताल जस्ता प्रतिकूल कार्यहरूले जति वा जुन परिमाणमा ठूला उद्योग एवं व्यापारहरू प्रभावित हुन्छन त्येही परिमाणा साना व्यापारहरू प्रभावित हुँदैनन। स्थानीय स्तरमा रहेको हुनाले साना व्यापारहरूले केन्द्र वा ठूला सहरहरूमा भएका प्रतिकूल स्थिति (बन्द, हडताल, प्रदर्शन) को सामना गर्नु पर्ने स्थिति नहुन पनि सक्छ। अर्कोतिर हाम्रो देशमा सानो भन्दा सानो समस्या समाधान गर्न ठूलो स्तरमा जुलुश, प्रदर्शन र बिरोध गर्नु पर्ने हाम्रो राष्ट्रिय जीवन एक परम्परा नै भइसकेको छ। यस किसिमको भिन्न एवं विशेष परिस्थिति भएकोले देशमा ठूला ठूला उद्योग एवं व्यापारको स्थापना भन्दा साना व्यापारहरूको स्थापना एवं विस्तारमा जोड दिनु उपयुक्त हुन आउँछ।

राष्ट्रिय परिस्थित जुन किसिमको हुन्छ सोही अनुसार आर्थिक एवं औद्योगिक नीतिहरूको निर्माण गर्नु पर्ने हुन्छ। आउने केही दसकसम्म पनि हाम्रो राष्ट्रिय राजनीति स्थिर हुने देखिंदैन। राजनीतिका कर्ता (Actor) हरू पनि यिनै हुन्। मतदाताहरू पनि यिनै हुन। यस किसिमको खास परिस्थितिमा देशमा स्वच्छ राजनीति वातावरण निर्माण हुन समय लाग्न सक्छ। त्यसकारण यस्तो विशेष परिस्थितिमा साना व्यापारको विकासमा जोड दिन आवश्यक छ। मुख्य गरी सडक व्यवसायीहरूको व्यवसाय संरक्षण गर्न आवश्यक छ।

राष्ट्रिय आय (National income) वितरणलाई सन्तुलित पार्नमा साना व्यापारहरूको योगदान अति महत्वपूर्ण हुन्छ। यो स्थिति नेपालमा मात्र होइन, विश्वका धनी देशहरूमा पनि देखिएको छ। उदाहरणको लागि कुनै एक ठूलो व्यापारीको हातमा १०० करोड रुपैयाँ हुनु र एक सय व्यापारीको हातमा एक एक करोड रुपैयाँ हुनु, एक सय व्यापारीहरूको हातमा एक एक करोड रुपैयाँ हुनु राम्रो हो। यस्तो स्थितिलाई राष्ट्रिय आय सन्तुलन तर्फ उन्मुख भएको मान्न सकिन्छ। सामान्य किसिमले हेर्दा पनि, उदाहरणका लागि,  देशका दुई या चार व्यापारीहरूको हातमा कुल निष्काषित मुद्राको ८० प्रतिशत मुद्रा हातमा हुनु राम्रो होइन। अलि अलि मुद्रा देशका वहुसंख्यक जनताको हातमा हुनु राम्रो। र त्यस्तो हुनु पर्छ।

ठूला व्यापारहरूले भन्दा साना व्यापारहरूले वृहत् मात्रामा रोजगारी सृजना गर्छन। राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्ने प्रयास गर्छन। धेरै व्यक्ति एवं परिवारहरूको हातमा आम्दानी (तलब, ज्याला) पुर्याउने कार्य गर्छन। उदाहरणका लागि सुनको गहना बिक्री गर्ने कुनै एक ठूलो व्यापारीले केवल आफुले मात्र पनि उक्त व्यापार गर्न सक्छ। तर सडक छेउमा रेष्टुरेन्ट सञ्चालन गर्ने व्यापारीले केवल आफूले मात्र उक्त रेष्टुरेन्ट सञ्चालन गर्न सक्दैन। अनेक सहयोगीहरूको सहयोग अनिवार्य रुपमा लिनु पर्छ। यसरी साना व्यापारीहरूले, आफ्नो व्यवसायको प्रकृतिले गर्दा, सहयोगीहरूको सहयोग अनिवार्य रुपमा लिनै पर्छ। साना व्यापारीहरूको यस्तो वाध्यताले गर्दा पनि उनीहरूद्वार रोजगारीको सृजना ठूलो मात्रामा हुन्छ।

देशको अर्थ व्यवस्थमा सानो ब्यापारको अति नै महत्व रहेकोले हामीले साना व्यापारको स्थापना एवं विकासमा जोड दिनु पर्छ। यो नीति नेपालको अर्थ व्यवस्थाको लागि अति हितकर हुनेछ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

Wednesday, December 17, 2025 

Saturday, December 13, 2025

Economic Development in Present Context-Article-608

 नया वातावरणमा आर्थिक विकासको सम्भावना

नेपालमा अहिले नयाँ राजनीतिक वातावरण छ। नवयुवा पुस्ता समर्थित सरकार छ। सरकारमा रहेका प्रधानमन्त्री एवं मन्त्रीहरू निष्पक्ष र इमानदार रहेको विश्वास गरिएको छ। र साथै छोटो अवधिमा भए पनि यो सरकारले देशको आर्थिक विकासमा टेवा पु¥याउने आशा गरिएको छ।

त्यो आशाको आधार के हो भने यो सरकारले निष्पक्ष चुनाव गराउने छ। चुनावमा विजयी भएर अहिलेका भन्दा पृथक जनप्रतिनिधिहरू आउनेछन्। उनीहरू बढी जिम्मेवार तथा इमानदार हुनेछन्। आफ्ना सम्पूर्ण क्रियाकलाप सत्ताका लागि दाउपेंचमा सीमित नराखी, केन्द्रित नगरी केवल आर्थिक विकासमा केन्द्रित गर्नेछन्।

आगामी चुनावमा नयाँ प्रतिनिधिहरू आउने आशा गर्न सकिन्छ तर विश्वास भने गर्न सकिंदैन। नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टीका त्यही पुराना सत्ता लोलुप तथा स्वार्थी एवं चतुर नेताहरूले जनतालाई अनेक प्रलोभन देखाएर चुनावमा राम्रो वा अधिक मत ल्याउने छन्।

आफू र केवल आफ्ना झोलेहरूलाई विजयी बनाउने छन्। साम, दाम, दण्ड, भेदजस्ता हतियार प्रयोग गरेर यिनीहरूले चुनावको परिणाम आफ्नो पक्षमा पार्न हर सम्भव प्रयास गर्नेछन्।

उपरोक्त दलका नेताहरूले खेल्ने अर्को चाल के हो भने यिनीहरूले आफ्नो दलभित्रका इमानदार नेताहरूलाई चुनावमा विजयी हुन दिने छैनन् र केवल आफ्ना झोलेहरूलाई विजयी गराएर आफूहरू शक्ति र सत्तामा पुग्ने बलियो वातावरण तयार पार्नेछन्।

शेरबहादुर देउवा, पुष्पकमल दहाल, खड्गप्रसाद ओलीजस्ता सत्तालोलुप नेताहरू आफैं सत्तामा रहनका लागि आफ्ना, आफू लगायत झोलेहरूलाई चुनावमा विजयी गराउने रणनीत तयार पार्नेछन्। यो कारणले पनि आगामी चुनावमा इमानदार एवं कर्मठ जन प्रतिनिधिहरू ठूलो सङ्ख्यामा विजयी हुने सम्भावना देखिंदैन।

अब विश्लेषणको अर्को पाटो हेरौं। आशा गरौं, अब राजनीतिमा नवयुवा एवं युवाहरूको प्रवेश ठूलो सङ्ख्यामा हुनेछ। आगामी चुनावमा युवाहरूले विजय हासिल गर्नेछन् र ठूलो सङ्ख्यामा जनप्रतिनिधि भएर आउनेछन्।

भ्रष्टाचार, आर्थिक लेनदेनजस्ता कार्यमा संलग्न नभएर उनीहरूले आफ्नो ध्यान केवल आर्थिक विकासमा केन्द्रित गर्नेछन्। उनीहरू कर्मठ र इमानदार हुनेछन् र पहिलो पुस्ताका नेताजस्ता भ्रष्ट एवं स्वार्थी हुने छैनन्। तर यस कुरामा विश्वास गर्ने बलियो आधार भने देखिंदैन। 

नवयुवा वा तेस्रो पुस्ताका युवाहरूले यही वायुमण्डलमा सास फेरेका हुन्। ओली, देउवा, दहाललगायत यस्तै नेताहरूले तयार पारेको राजनीतिक वातावरणमा राजनीति सिकेका हुन्। त्यही स्कूलका विद्यार्थीहरू हुन्।

मानिस जस्तो राजनीतिमा हुर्किन्छ त्यो राजनीतिले मानिसमाथि बलियो प्रभाव पारेको हुन्छ। त्यसकारण नयाँ वा तेस्रो पुस्ताका जनप्रतिनिधिहरूले उच्च इमानदारी प्रदर्शन गर्ने र आफूलाई आर्थिक लेनदेन र भ्रष्टारमा केन्द्रित नगरेर केवल आर्थिक विकासमा मात्र केन्द्रित गर्ने सम्भावना ज्यादै क्षीण देखिन्छ।

र नयाँ पुस्ताका नेता वा जन प्रतिनिधिहरूले सत्ता र शक्तिका लागि अग्रज वा पहिलो र दोस्रो पुस्ताका नेताहरूले गरेझैं गर्ने छैनन् भनी विश्वास गर्न सकिने स्थिति पनि छैन। आशा गरौं त्यस्तो नहोस्।

अब विश्लेषणको दोस्रो पाटोतिर लागौं। मतदाताहरू उही हुन् जसले विगतमा एमाले, नेपाली काङ्ग्रेस, माओवादी आदिका केवल स्वार्थी नेताहरूलाई चुनावमा मत दिएका थिए। उनीहरूलाई ठूलो सङ्ख्यामा विजयी गराएका थिए।

यी दलका इमानदार नेता वा जनप्रतिनिधिहरूलाई मत दिएका थिएनन् वा इमानदार नेता चयन गरेका थिएनन्। सरकार कमजोर तर नेता एवं उनीहरूका राजनीतिक दल बलियो हुने भएकोले भोलि कुनै समस्या परेमा तिनै नेताहरूलाई गुहार्नुपर्ने हुन्छ।

मतदाताहरू पनि जानीजानी, झुक्किएर वा ठगिएर होइन, तिनै भ्रष्ट र गन्हाएका नेताहरूलाई चुनावमा विजयी गराउँदै आएका छन्, अब पनि गराउने छन्। विगतमा उनीहरूले गरेका आर्थिक भ्रष्टाचारलाई चटक्कै बिर्सिदिएका छन्। शक्ति र सत्तामा पुग्नका लागि उनीहरूले गरेका करतुतहरूलाई जायज ठानिदिएका छन्।

केवल निराशाका कुराहरू मात्र गरेर पनि हुँदैन। हामीले निराशाभित्र पनि आशा खोज्नुपर्छ। हाम्रो राजनीतिको मुख्य समस्या जन प्रतिनिधि एवं मतदाता, दुवै पक्षमा इमानदारी एवं त्याग भाव नहुनु र आफ्नो फाइदामा मात्र केन्द्रित रहनु हो।

हाम्रा जनप्रतिनिधि वा नेताहरू इमानदार भएमा उनीहरू भ्रष्टाचारबाट मुक्त हुनेछन्। शक्तिको खेलबाट मुक्त हुनेछन्। सधैं मन्त्री र प्रधानमन्त्री हुने सपना देख्नेछैनन्। आफ्नो ध्यान र यत्न केवल राष्ट्रको आर्थिक विकासमा केन्द्रित गर्नेछन्।

देशको आर्थिक विकासको गतिलाई हामीले तीव्र पार्ने हो भने दुवैथरी, जनप्रतिनिधि एवं मतदातामा त्याग भाव हुन आवश्यक छ। इमानदारी हुन आवश्यक छ। 

मतदाता तथा जनप्रतिनिधिहरूमा इमानदारी र त्याग भाव भएन भने हामीले आर्थिक समृद्धि हासिल गर्ने कुरा त परको सपना भयो, हामी झन्झन् गरीब हुँदै जानेछौं। हाम्रो देशको अस्तित्वसमेत सङ्कटमा पर्नेछ।

अहिले करीब १ करोड नेपाली रोजगार वा आर्थिक सुरक्षाको लागि नेपाल बाहिर रहेको अनुमान गरिएको छ। यदि राजनीति यस्तै, अहिलेको जस्तै रह्यो तथा नेपालको राजनीतिमा स्वार्थी नेताहरूको पकड कायम नै रह्यो भने देशको आधा जनसङ्ख्या रोजगार वा आर्थिक सुरक्षाको लागि नेपाल बाहिर गए अचम्म नमाने हुन्छ।

राष्ट्रिय राजनीतिमा केवल स्वार्थी नेताहरूको बाहुल्य रहेर, यस्तै स्थितिले निरन्तरता पाएर, नेपालको केवल एक तिहाई जनसङ्ख्या नेपालमा रहेमा भोलिका दिनमा हामीले हाम्रा नातिनी वा नातिलाई खोज्न वा आफ्नो पछिल्लो पुस्ता खोज्न अस्ट्रेलिया, अमेरिका, युरोप आदि पुग्नुपर्ने स्थिति आउन सक्छ।

त्यति मात्र होइन, नेपालमा घटेको जनसङ्ख्याको फाइदा उठाएर हाम्रो दक्षिण र उत्तर छिमेकीहरू नेपालमा ठूलो सङ्ख्यामा बसोवास गर्ने किसिमले आएमा हाम्रो राष्ट्रियतामाथि नै सङ्कट आइपर्ने कुरामा दुई मत हुन सक्दैन।

छिमेकी राष्ट्रहरूले नेपालमा आफ्नो प्रभाव बढाउन आफ्ना नागरिकहरूलाई नेपालमा स्थायीरूपमा बसोवास गर्न पठाउने छैनन् भनी ढुक्क हुने स्थिति छैन। चीन र भारत आर्थिक फाइदाका लागि ज्यादै नजीकिएका छन्। शक्ति सन्तुलन कायम गर्न वा अति शक्तिशाली हुन यी दुई राष्ट्रले परस्पर कटुतालाई कम पार्दै गएका छन्। हामीले यो तथ्य पनि बिर्सन मिल्दैन। देशमा आर्थिक विकासका लागि मात्र होइन, देशको अस्मिता जोगाउन पनि हाम्रा नेताहरू इमानदार र त्यागी हुन आवश्यक छ। अनेक मतभेद त्यागेर सबै दलका नेताहरू एकजुट हुन आवश्यक छ।

र सर्वाधिक महत्वपूर्ण कुरा, मतदाताहरूले पनि, कुनै पनि किसिमको प्रलोभनमा नपरेर इमानदार र त्यागी नेताहरूलाई चुनावमा मत दिन आवश्यक छ। चुनावमा इमानदार एवं त्यागी नेताहरूलाई, उनीहरू जुनसुकै दलका हुन्, विजयी गराउन आवश्यक छ।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, December 12, 2025

Saturday, December 6, 2025

Nepalese Communist's Capitalism-Article-607

 नेपाली कम्युनिस्टहरूको पूँजीवाद

भूमि वा प्राकृतिक स्रोत, श्रम, सङ्गठन गरी यी चार तत्त्वहरूलाई उत्पादनका साधन मान्ने गरिन्छ। कुनै पनि उत्पादन व्यवस्थामा वा कुनै पनि किसिमको वस्तु वा सेवा उत्पादन गर्नका लागि, यी चार वा यीमध्येका केही साधन आवश्यक पर्दछ।

केही व्यक्तिको विचारमा उत्पादनका चार साधनहरूमध्ये पूँजीको सर्वाधिक महत्त्व रहेकोले अन्य तीनभन्दा पूँजीलाई विशेष महत्त्व दिनुपर्छ भन्ने तर्क रहेको पाइन्छ। र यही तर्कलाई पूँजीवाद भन्ने गरिएको हो । पूँजीवादमा पूँजीको प्रधानता हुन्छ।

उत्पादन व्यवस्थामा श्रमको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको पाइन्छ। तर श्रम सञ्चय गर्न नसकिने र तोकिएको कालमा प्रयोग गर्न नसकिएको श्रमलाई पुनः अर्को कालमा प्रयोग गर्न नसकिने हुनाले श्रमलाई कमजोर मान्ने गरिन्छ। पूँजीलाई कुनै पनि समयमा प्रयोग गर्न सकिने हुनाले पूँजीलाई श्रमभन्दा बलियो मानिएको हो। उदाहरणका लागि कुनै एक कामदारले कुनै एक उत्पादन–सङ्गठनसँग असहमत (ज्याला दरमा) भएर कुनै दिन काम नगरेमा उक्त कामदारले आफ्नो सो दिनको, काम नगरेको दिनको, गुमेको ज्याला पुनः प्राप्त गर्न सक्दैन किनभने उसले आफ्नो श्रम सञ्चय गरेर अर्को दिन प्रयोग गर्न सक्तैन। तर सङ्गठनले भने सो व्यक्तिले काम नगरेको दिनको, वा उत्पादन कम भएको दिनको, क्षतिको पूर्ति अर्को दिन दुईजना कामदार राखेर (गुमेको) उत्पादन (एकाइ) को पूर्ति गर्न सक्छ। यो कारणले गर्दा नै वा उत्पादन व्यवस्थामा श्रमिकहरूको भूमिका (माथि उल्लेख गरेको कारणले) कमजोर भएको मान्ने गरिन्छ। र सोही कारणले विश्वभरि नै वा सबै राष्ट्रमा श्रमिकहरूलाई सरकारद्वारा सङ्गठन खोल्न अनुमति दिइएको हुन्छ। कम्युनिस्ट शासकहरूले त झन् श्रमिकहरूलाई श्रम–सङ्गठन स्थापना गर्न प्रोत्साहित गर्छन्।

अब हेरौं पूँजीवाद भनेको के हो? कम्युनिस्टहरूको आँखा वा नाराले होइन, पूँजीवादी राष्ट्र कहलिएका राष्ट्रहरूको आँखाले हेरौं पूँजीवाद के हो? पूँजीवादी कहलिएका राष्ट्रहरूको भनाइ अनुसार ‘पूँजीवाद भनेको एउटा आर्थिक प्रणाली हो, जुन प्रणालीमा एक व्यक्ति वा संस्थाले उत्पादनका साधनहरूको स्वामित्व लिन सक्छ। र ती साधनहरूको प्रयोग गरेर मुनाफा आर्जन गर्न सक्छ। मुनाफामाथि आफ्नो आधिकार कायम गर्न सक्छ। उत्पादनका साधनहरू प्रयोग गर्न व्यक्ति एवं सङ्गठनहरू स्वतन्त्र हुन्छन् र उत्पादनका साधनहरूमाथि सरकारको कुनै पनि किसिमको नियन्त्रण हुँदैन।’

उपरोक्त परिभाषा अनुसार पूँजीवादमा व्यवसायीहरूका चार महत्त्वपूर्ण अधिकारहरू सुरक्षित रहेको हुन्छ। ती अधिकारहरू हुन्: १) कुनै पनि व्यवसायीले आर्जन गरेको सम्पत्ति निजी गर्न पाउने अधिकार, २) कुनै पनि व्यवसायी व्यवसायको मालिक हुन र त्यस व्यवसायबाट आर्जित मुनाफा उसले राख्न पाउने अधिकार, ३) कुनै पनि व्यवसायीले बजारमा प्रतिस्पर्धा (मूल्य कम वा बढी पार्न) गर्न पाउने अधिकार र ४) कस्तो किसिमको व्यापार गर्ने भनी छनोट गर्न पाउने अधिकार। 

सारमा भन्ने हो भने पूँजीवाद भनेको बजारमा सरकारको नियन्त्रणकारी भूमिका कम वा समाप्त पार्नु हो । कुनै पनि वस्तु वा सेवाको मूल्य सरकारले होइन, बजारमा रहेको प्रतिस्पर्धाद्वारा निर्धारित हुनु हो। बजारलाई प्रतिस्पर्धापूर्ण तुल्याउनु हो। बजारमा वस्तु वा सेवा मूल्य कम पार्न व्यवसायी वा बिक्रेताहरूबीच प्रतिस्पर्धा गराउनु हो। प्रतिस्पर्धालाई पूँजीवादको मुटु मान्नु हो।

अब कम्युनिस्टहरूको आँखाले पूँजीवाद के हो त्यो हेरौं। कम्युनिस्टहरूको विचार, मान्यता वा विश्वास अनुसार पूँजीले श्रमको शोषण गर्छ। हो, उनीहरूको यो विश्वास सही हो। तर अहिलेको लागि भने होइन। उनीहरूको विश्वास कार्ल माक्र्स वा उनको समय पछि केही अवधिसम्मका लागि सही थियो। त्यस समयमा व्यापार र उद्योगको यथेष्ठ विकास नभएकोले पूँजीले श्रमको शोषण गर्नु सम्भव थियो। समाज सामन्ती भएकोले पूँजीद्वारा श्रमको शोषण हुन सम्भव थियो।

अहिलेको यो वैश्य युगको पूँजीद्वारा श्रमको शोषण हुनु सम्भव छैन। भए पनि पहिलेको अवस्थामा शोषण हुन असम्भव छ। अहिले कुनै एक व्यक्तिले ‘टिकटक’ मा भिडियो पोस्ट गरेर मात्र पनि आर्जन गर्न सक्ने स्थिति छ।

पूँजीवाद भनेको के हो, त्यसलाई नेपाली कम्युनिस्टहरूको आँखाले हेरौं । नेपालका कम्युनिस्टहरू, केही अपवादबाहेक, का लागि पूँजीवाद भनेको सत्तासम्म पुग्ने, सत्तामा लामो समयसम्म रहने र देशको शासन व्यवस्थामाथि नियन्त्रण राख्ने हो। कम्युनिस्ट नेताहरूका आचारणले नै यस तथ्यलाई प्रस्ट पारेको छ। यो तथ्यको थप व्याख्या आवश्यक छैन। नेपालका बहुसङ्ख्यक कम्युनिस्ट नेताहरूले पूँजीवादलाई सत्तामा पुग्ने केवल माध्यम मात्र बनाएका छन्।

२०४६ सालको राजनीतिक परिवर्तन पछि, नेपालमा कम्युनिस्ट पार्टीका नेताहरू नै लामो समयसम्म सत्तामा पुगेका छन्। सांसद भएका छन्। मन्त्री एवं प्रधानमन्त्री भएका छन्। माधव नेपाल, पुष्पकमल दहाल, खड्गप्रसाद ओली, झलनाथ खनाल, डा. बाबूराम भट्टराईजस्ता कम्युनिस्ट नेताहरूको वरिपरि नै प्रधानमन्त्री पद घुमिरहेको देखिन्छ।

कम्युनिस्ट नेता पुष्पकमल दहालले भने द्वन्द्वकालमा आफ्ना कार्यकर्ताहरूलाई नेपालका उद्योग एवं व्यापारमा आक्रमण गर्न लगाएर, बैंकहरू लुट्न लगाएर, देशको अर्थ व्यवस्था नै धराशायी पारे। त्यस कालमा जर्जर भएको नेपालको उद्योग एवं व्यापारको क्षेत्र अहिलेसम्म फस्टाउन सकेको छैन। देशभित्र ज्यादै न्यून मात्रामा वस्तुहरू उत्पादन हुने स्थिति सृजना भएको छ। नेपालभित्र उत्पादन सीमित मात्रामा भएर वस्तुहरू ठूलो परिमाणमा भारत एवं चीनबाट आयात गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। 

यो समयमा, नेपालको इतिहासमा नै पहिलोपटक रोजगारका लागि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशिनुपरेको छ। नेपाली जनताले आफ्ना उत्पादनहरू स्वदेश र विदेशमा बिक्री गरेर होइन, अन्तर्राष्ट्रिय बजारमा श्रम बिक्री गरेर गुजारा गर्नुपर्ने स्थिति उत्पन्न भएको छ।

कुनै एउटा समयमा जन्म भएको विचार सदा सर्वदा सही रहन सक्तैन। मानिसको आयु भएझैं विचारको पनि आयु हुन्छ। कम्युनिस्ट विचार अब मृत अवस्थातिर लम्किंदै छ। कुनै एक समयको लागि उपयोगी रहेको यो विचारको अब औचित्य समाप्त भइसकेको छ। अब कम्युनिस्ट व्यवस्था र पूँजीवाद भनेर जनतालाई झुक्याउन सकिंदैन। कुन सङ्ख्यामा कम्युनिस्ट नेताहरू फागुन २०८२ मा हुने चुनावमा विजयी हुनेछन् भन्ने कुराले पनि नेपालमा कम्युनिस्ट विचारको औचित्य कति मात्रामा छ, वा समाप्त हुने स्थितिमा छ भन्ने कुराको पुष्टि हुनेछ।

यथार्थमा पूँजीवाद आफ्ना प्रारम्भिक कालमा जुन अवस्थामा थियो त्यो अवस्थामा छैन। पूँजीवादी कहलिएका राष्ट्रहरूले पनि पूँजीवादमा ठूलो संशोधन एवं परिवर्तन गरेका छन्। अहिले संसारको कुनै पनि राष्ट्रमा विशुद्ध पूँजीवाद छैन। पूँजीवादभित्र अनेक लोककल्याणकारी कार्यहरू थपेर तथा गरीबहरूको हातमा पनि राष्ट्रिय आय पुग्ने गरी पूँजीवादको संशोधन गरिएको छ। निष्कर्षमा भन्ने हो भने पूँजीवादलाई अहिले, पूँजीवादी कहलिएका राष्ट्रहरूद्वारा गरीब जनताको पक्षमा पार्ने कार्य भइरहेको छ।

अब नेपालमा कम्युनिस्ट नेताहरूले नेपाली जनताको गरीबीको उपयोग गर्न बन्द गरे हुन्छ। आफूहरू चुनावमा विजयी हुन नेपाली जनतालाई झनै गरीब पार्ने काम गर्न बन्द गरे हुन्छ। चुनाव जित्न र सत्तामा पुग्न पूँजीले श्रमको शोषण गर्छ भन्ने नारा गरीबहरू माझ घन्काउन बन्द गरे हुन्छ।

कम्युनिस्ट नेताहरूले जनतालाई धनी हुने सपना देखाएर जनताको गरीबीलाई सत्तामा पुग्ने भर्याङ बनाउन बन्द गर्न आवश्यक छ।

कुनै सिद्धान्त नबोकेर नै पनि नेपाल र नेपालीलाई धनी तुल्याउन सकिन्छ। नेपाल र नेपालीलाई धनी तुल्याउन नेताहरू केवल इमानदार र त्यागी मात्र भइदिए पुग्छ।

राजनीतिबाट सन्यास लिने उमेरमा पुगेका केही व्यक्तिहरूबाहेक नयाँ उमेरका नेपालीले नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर चुनावमा भाग लिने स्थिति अब नेपालमा लगभग समाप्त भयो भने पनि हुन्छ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, December 05, 2025

https://eprateekdaily.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%b9%e0%a4%b0%e0%a5%82%e0%a4%95%e0%a5%8b-%e0%a4%aa/