Wikipedia

Search results

Friday, January 23, 2026

Change in Leadership: Employment Opportunities- Article-614

 नयाँ नेतृत्व र रोजगारको सम्भावना

निर्वाचन हुन अब एक महीना र केही दिन मात्र बाँकी छ। देश अहिले निर्वाचनमय भएको छ। निर्वाचनमय हुने कारण पनि छ। कारण किन छ भने यो निर्वाचनले पहिलेका निर्वाचनहरू भन्दा धेरै सम्भावना र आशाहरू बोकेको छ। युवाहरूको लागि मात्र होइन, प्रौढ र जेष्ठ नागरिकहरूको लागि पनि यो निर्वाचनले सम्भावना र आशाहरू बोकेको छ। यो निर्वाचनपछि निर्माण हुने सरकारले जेष्ठ नागरिकहरूलाई दिने आर्थिक सहुलियत र स्वास्थ्य सुविधाहरूमा थप वृद्धि हुने उनीहरूको आशा हुन सक्छ। राष्ट्र आर्थिकरूपमा सबल र सक्षम भएमा त्यस्तो हुन नसक्ने कारण पनि छैन।

यो निर्वाचन पहिलेका निर्वाचनहरू भन्दा निकै पृथक छ। पहिलेका निर्वाचनमा निर्वाचित भएर आउने जन प्रतिनिधिहरू उही पुराना व्यक्ति हुन्थे। एक दलका एकै व्यक्ति फेरि पनि चुनावमा विजयी भएर आउँथे। केही दलहरूको मिलोमतोमा सरकार निर्माण हुन्थ्यो। सरकारले, जनताले अपेक्षा गरेका कामहरू गर्नुभन्दा आफू सम्बद्ध दलहरूको हितमा काम गथ्र्यो। अर्को शब्दमा, सरकारमा भएका दलहरूले केवल आफूहरू शक्ति (सरकारमा) रहने उपायहरू खोजी गर्थे। त्यसका लागि अनेक षड्यन्त्रहरू गर्थे। अनेक सङ्घर्ष गर्थे। कहिले यो दलसँग त कहिले त्यो दलसँग मिलेर सरकार बनाउँथे। सरकार विघटन गर्थे। जनतालाई झुक्याउने कार्य गर्थे। निर्वाचित जनप्रतिनिधिहरूको भूमिका सत्ता–प्राप्तिको खेलमा भाग लिनुमा मात्र सीमित हुन्थ्यो। आफ्ना दलका नेताहरूलाई सत्ता र शक्तिमा राख्नमा केन्द्रित हुन्थ्यो।

यो निर्वाचनले सत्ताका उही पुराना खेलाडीहरूलाई पुनः राजनीतिमा आउन दिने सम्भावनाको ढोका बन्द गरेको त छैन, तर पहिलेजस्तो अति खुला हुन दिएको पनि छैन। खड्गप्रसाद ओली, पुष्पकमलजस्ता केही पुराना नेताबाहेक यो निर्वाचनले नयाँ जनप्रतिनिधिहरू राजनीतिक खेल मैदानमा आउने वातावरण सृजना गरिदिएको छ। शेरबहादुर देउवा निर्वाचित जनप्रतिनिधि भएर आउने सम्भावनता त अब सदाका लागि समाप्त भएको छ। आफ्नै दलभित्र पनि उनको शक्ति क्षीण भएको छ। देउवाजस्तै ओली, दहाल, माधव नेपाललाई उनीहरू सम्बद्ध दलले राजनीतिबाट विश्राम लिन भन्नुपर्ने थियो तर उनीहरू सम्बद्ध दलहरूले त्यस्तो गरेनन्। ओलीले त आफूलाई भावी प्रधानमन्त्रीको रूपमा नै प्रस्तुत गरेका छन्। ओली फेरि अर्कोपटक प्रम हुने दाउमा छन्। ओलीले निर्वाचनमा प्रतिस्पर्धा गर्नु उनको अधिकार हो। प्रजातन्त्रमा त्यस्तो अधिकार हुन्छ। तर नैतिकताको दृष्टिकोणले पटकपटक एकै व्यक्ति निर्वाचित हुनु, पटकपटक प्रम हुनु, अशोभनीय कुरा हो, अनैतिक कुरा हो। यसबाट के प्रस्ट हुन्छ भने जनताको लागि काम गर्नु, युवाहरूलाई राजनीति गर्ने अवसर प्रदान गर्नुभन्दा ओली केवल आफू पटकपटक प्रम हुन उद्धत छन्। आफूबाहेक अन्य कसैमा दलको अध्यक्ष वा प्रम बन्ने योग्यता देख्दैनन्। एकलौटी र हुकुमी शासनमा विश्वास गर्छन्। 

अब आगामी चुनावले बोकेका सम्भावनाहरूको विश्लेषण गरौं। वर्तमान सुशीला सरकार वा यो परिवर्तन नवयुवा र युवाहरूले गरेको विद्रोहको परिणाम हो भन्नेमा दुई मत छैन। अर्थात् युवाहरूले पुराना नेताहरूलाई विस्थापित गरेर राजनीतिमा आउन खोजिरहेका छन्। देशको नेतृत्व गर्न खोजिरहेका छन्। विशेष महाधिवेशन सम्पन्न गरेर गगन थापा नेपाली काङ्ग्रेसको सभापति निर्वाचित हुनुले नेपालको राजनीतिमा अब युवाहरूको प्रवेश ठूलो सङ्ख्यामा हुने सन्देश प्रस्ट गरिदिएको छ। अब नेपाली काङ्ग्रेसमा, नेतृत्व तहमा, युवाहरूको सहभागिता ठूलो सङ्ख्यामा हुनेछ। यो सुखद स्थिति हो।

राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरूको सहभागिता ठूलो सङ्ख्यामा पहिलेदेखि नै छ। नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले युवाहरूलाई अवसर दिएको उदाहरण नेकपा एमालेले पनि बाध्यतावश स्वीकार गर्नुपर्ने स्थिति छ। यस्तै स्थिति अन्य दलहरूमा पनि छ। समग्रमा भन्नुपर्दा अहिले नेपालका सम्पूर्ण दलहरूले युवाहरूलाई वा नयाँ व्यक्तिहरूलाई जनप्रतिनिधिको रूपमा पठाउनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ।

नेपालको राजनीतिमा युवाहरूको प्रवेश ठूलो सङ्ख्यामा भएमा स्वाभाविक रूपमा राष्ट्रिय राजनीतिमा परिवर्तन आउने छ। युवाहरू सत्तामुखी नभएर विकास केन्द्रित हुनेछन्। पहिलेका जनप्रतिनिधिहरूजस्तो भ्रष्टाचारमा लिप्त हुने छैनन्। राष्ट्रिय आर्थिक विकासका लागि नयाँनयाँ आर्थिक नीति र नियम निर्माण गर्नेछन्। प्रचलित ऐन र कानूनलाई विकासमुखी बनाउने छन् तथा आर्थिक विकास हुने नयाँनयाँ ऐन, कानून निर्माण गर्नेछन्। देशको अर्थ व्यवस्थालाई रोजगारीमुखी बनाउने प्रयत्न गर्ने छैनन्। रोजगारका लागि विदेशिन बाध्य भएका नेपाली युवाहरूलाई देशभित्रै कसरी रोजगार उपलब्ध गराउने विषयमा आप्mनो ध्यान केन्द्रित गर्नेछन्।

राष्ट्रिय राजनीतिमा युवाहरूको प्रवेश ठूलो सङ्ख्यामा भएमा देशको आर्थिक विकासको गतिले तीव्रता पाउने छ। यो आशा गर्ने कुरा हो। आशा गर्न सकिन्छ र गर्नुपर्छ पनि। तर हाम्रो सामाजिक मनोविज्ञानलाई पनि हामीले बिर्सन हुँदैन। हाम्रा युवाहरूले अग्रज (पुराना नेता) हरूबाट विरासतको रूपमा धेरै कुराहरू पाएका छन्। पुराना नेताहरूको सोच, व्यवहार, कार्यशैलीले युवाहरूलाई ठूलो मात्रामा प्रभाव पारेको छ। नवयुवा र युवाहरूले हरेक समस्याको समाधान धम्की, बल, हिंसा, हतियारद्वारा खोज्ने प्रवृत्तिको अन्त्य हुन सकेको छैन। केवल हिंसाद्वारा परिवर्तन सम्भव हुन्छ भनी माओवादीका केही नेताहरूले दिएको सोच अहिले पनि उनीहरूले बिर्सेका छैनन्। तर आर्थिक विकास केवल शान्ति र स्थिरताले हुन्छ। हिंसा र विध्वंसले हुँदैन। यो यथार्थलाई कहिले पनि बिर्सन सकिंदैन। 

आशा गरौं यो निर्वाचनपश्चात् नेपाली राजनीतिमा युवाहरूको प्रवेश ठूलो सङ्ख्यामा हुनेछ। उनीहरूले आफ्नो ध्यान केवल शक्ति–सङ्घर्षमा खर्च गर्ने छैनन्। हरेक समस्याको समाधान बल र हिंसाद्वारा खोज्ने छैनन्। आफ्नो ध्यान केवल राष्ट्रको आर्थिक विकासमा केन्द्रित गर्ने छन्। आर्थिक विकासको गतिले तीव्रता लिनेछ। ठूलो सङ्ख्यामा रोजगारको अवसरहरू सृजना हुनेछ।

राष्ट्रलाई आर्थिकरूपमा बलियो बनाउनुको अब विकल्प पनि छैन। जनताको आर्थिक जीवन सहज पार्न आर्थिक विकास आवश्यक छ। राष्ट्रको अस्मिताको रक्षा गर्न पनि आर्थिक विकास आवश्यक छ। यो नयाँ युगमा, यो वैश्य युगमा, आफ्नो देशको चारैतिर, ठूला–ठूला बलिया पर्खाल निर्माण गरेर राष्ट्रको अस्मिता जोगाउन कठिन छ। राष्ट्रको अस्मिता अहिले आर्थिक विकास गरेर मात्र जोगाउन सकिन्छ। यो एक बाध्यात्मक र नयाँ स्थिति हो।

विश्व अर्थ व्यवस्था अहिले ज्यादै अनिश्चित छ। यो कुन बेला कुन दिशातिर उन्मुख हुन्छ भन्न कठिन छ। संयुक्त राज्य अमेरिका र इरानबीच देखिएको मुठभेडको स्थितिले विश्व अर्थ व्यवस्थालाई गहिरो नकारात्मक प्रभाव पार्न सक्छ। यी दुई राष्ट्रहरूबीच प्रत्यक्ष वा परोक्ष युद्ध भएमा एशिया र मध्यपूर्व तथा खाडीका देशहरूको अर्थ व्यवस्था नराम्ररी प्रभावित हुन सक्छ। खाडीका देशमा काम गरिरहेका नेपालीहरू ठूलो सङ्ख्यामा नेपाल फर्कने बाध्यात्मक स्थिति आउन सक्छ। नेपालले पाउने रेमिट्यान्स नराम्ररी प्रभावित हुन सक्छ। अभूतपूर्व किसिमले घट्न सक्छ।

अहिले, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले हामीलाई आर्थिक विकासमा केन्द्रित हुन बाध्य पारेको छ। यो स्थितिमा हामीले अन्तर्राष्ट्रिय व्यापारभन्दा पनि स्वावलम्बी अर्थतन्त्रको विकासतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ। नेपालभित्र साना व्यापारहरूको विस्तार र विकासमा जोड दिन आवश्यक छ। साना व्यापारहरूले ठूलो सङ्ख्यामा रोजगार सृजना गर्ने तथ्यलाई हामीले बिर्सन हुँदैन। यो तथ्यलाई युवा वा नयाँ नेतृत्व वा निर्वाचित जनप्रतिनिधिहरूले राम्ररी हृदयङ्गम गर्नुपर्ने देखिन्छ।








विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, January 23, 2026

https://www.eprateekdaily.com/detail/96652

No comments:

Post a Comment