Wikipedia

Search results

Friday, January 9, 2026

Countries Made Poor by Dictators-Article-612

तानाशाहले गरीब बनाएका देशहरू

गएका केही वर्षहरूमा अनेक देशहरूमा राजनीतिक उथलपुथल भएको देखिएको छ। केही देशका तानाशाह शासकहरू देश छोडेर भागेका छन् भने केही सत्ताच्युत भएका छन्। कुनै तानाशाह शासकले अन्तर्राष्ट्रिय कारबाई बेहोर्नुपरेको छ भने कुनैले विशाल जन विद्रोहको सामना गर्नुपरेको छ।

संसारका अनेक राष्ट्रहरूमा, विगतमा तत्कालीन सरकारविरुद्ध जेजस्ता विरोध वा प्रदर्शन भए, त्यसको प्रमुख कारण देशको अर्थ व्यवस्था थियो। बेरोजगारी, महँगी र भ्रष्टाचार थियो।

अहिले पनि, वर्तमान सरकारहरूविरुद्ध जेजस्ता विरोध वा प्रदर्शनहरू भइरहेका छन्, त्यसको प्रमुख कारण देशको अर्थ व्यवस्था रहेको छ। बेरोजगारी, महँगी र भ्रष्टाचार रहेको छ। तानाशह शासकहरूले राष्ट्रको अर्थ व्यवस्था कमजोर पार्नुरहेको छ।

पिता हाफेज अल–असद र पुत्र बशर अल–असदले सिरियामा ५५ वर्षसम्म निरन्तर शासन गरे। पिता र पुत्र मिलेर सिरियामा क्रूर तानाशाही कायम गरे। पिता र पुत्रको तानाशाहीको मूल्य राष्ट्रले गरीब भएर चुकाउनुपर्‍यो। पिता र पुत्रको तानाशाहीमा महँगी, बेरोजगारी र भ्रष्टाचारमा व्यापक वृद्धि भयो। देशको अर्थ व्यवस्था जर्जर भयो। बशर अल–असदको तानाशाही सहन गर्न नसकेर लाखौं सिरियाली अनेक देशमा पुगे र शरणार्थी जीवन बाँच्न बाध्य भए। अहिले बशर अल–असदको शासन पतन भएपछि उनी रूसमा निवार्सित जीवन बिताइरहेका छन्। तर पिता र पुत्रको तानाशाहीले सिरियालाई आर्थिकरूपमा जर्जर पार्‍यो।

भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरो पनि अहिले बशर अल–असदको नियति भोगिरहेका छन्। मादुरो अहिले सत्ताच्युत मात्र भएका छैनन्, अमेरिकी सरकारले उनलाई घिसारेर अमेरिकाको न्यायालयमा उभ्याउन न्युयोर्क ल्याएको छ। अहिले राजधानी शहर काराकासमा ठूला–ठूला जन–प्रदर्शनहरू भइरहेका छन्, तर प्रदर्शन अमेरिकाको विरोधमा होइन, मदुरो सत्ताच्युत भएको खुशीयालीमा भइरहेका छन्। यदि मादुरोले भेनेजुएलामा तानाशाही नचलाएको भए, देशलाई गरीब नपारेको भए, उनको समर्थन र अमेरिकाको विरोधमा जनप्रदर्शन हुने थियो।

सिरियाजस्तै गरीबी, भ्रष्टाचार, बेरोजगारी तथा मदुरोको तानाशाहीको पीडा झेल्न नसकेर लाखौं भेनेजुएयाली नागरिक स्वदेश छाडेर विदेशिन बाध्य भएका छन्। सन् २००० देखि नै शक्तिशाली रहेका मादुरो सन् २०१३ मा भेनेजुएलाका राष्ट्रपति बनेका थिए। आफ्नो तानाशाही कायम गर्न, शक्तिमा रहन, भेनेजुएलालाई गरीब पारेका थिए। उनको सत्ता मोहले भेनेजुएलालाई अति निर्धन पार्‍यो। हुनत भेनेजुएलालाई निर्धन पार्न पूर्व राष्ट्रपति ह्युगो चाभेजको पनि हात छ। समग्रमा, भेनेजुएलाका तानाशाह कम्युनिस्ट शासकहरूले, यो देशलाई अति गरीब पारे। 

स्पष्टरूपमा भन्ने हो भने चीनबाहेक, कम्युनिस्ट शासकहरूले संसारका अनेक देशलाई गरीब पारेका छन्। उत्तर कोरिया यसको प्रमुख उदाहरण हो। स्मरण रहोस्, भेनेजुएला तेल भण्डारको हिसाबले संसारभरिकै सर्वाधिक धनी राष्ट्र हो। भेनेजुएलापछि मात्र साउदी अरेबिया, इरान, इराक क्रमशः दुई, तीन, चार र पाँच नम्बर तेलका लागि धनी राष्ट्रमा पर्दछन्। यस्तो धनी राष्ट्रलाई कम्युनिस्ट तानाशाहहरूले गरीब मात्र होइन, अति विपन्न पारेका छन्।

गएको एक हप्तादेखि (28 December, 2025) इरान पनि अशान्त छ। हुनत सन् १९९९ देखि नै यो देश अशान्त रहँदै आएको छ। तर यसपटक इरानको अशान्तिले उग्र रूप लिएको छ। इरानका अनेक प्रान्त एवं शहरहरूमा इरान सरकारको विरोधमा र मुख्यगरी धार्मिक गुरु अयातुल्लाह अली खामिनेइको विरोधमा ठूला–ठूला जनप्रदर्शन भएका छन्।

इरानलाई कट्टर इस्लामिक राष्ट्र बनाउने अयातुल्लाहहरूको पर्दा अगाडिको उद्देश्य रहे तापनि, पर्दा पछाडिको उद्देश्य भने सदासर्वदा सत्तामा रहनु र इरानमा आफ्नो तानाशाही कायम गर्नुरहेको छ। इरानी जनताको धार्मिक भावनाको दुरुपयोग गरेर सन् १९७९ देखि नै अयातुल्लाहहरू आफ्नो तानाशाही कायम गर्न सफल भएका छन्। अयातुल्लाहरूको सत्ता मोहको मूल्य इरानीहरूले गरीब भएर चुकाउनुपरेको छ। अहिले इरानमा बेरोजगारी, गरीबी र महँगी चरमचुलीमा पुगेको छ।  इरानी मुद्रा रियालको मूल्य चरम बिन्दूमा (डलरको तुलनामा) तल झरेको छ। मुद्रास्फिर्ति ४० प्रतिशत सम्म पुगेको छ। इरानीहरूको आर्थिक जीवन अति कष्टकर भएको छ। पेट्रोलियम भण्डारका लागि इरान विश्वमा नै सर्वाधिक तेस्रो ठूलो राष्ट्र हो। तर इरानले अहिले व्यापार–नाकाबन्दी बेहोरिरहेको छ। संसारका अनेक देशहरूले इरानसँग व्यापार गर्न बन्द गरेका छन्। इरानको आयात र निर्यात दुवै व्यापार अहिले धराशायी हुने स्थितिमा छ। इरानमा बढ्दो गरीबी, बेरोजगारी र महँगीले त्यहाँका नागरिकहरूलाई सडकमा आउन, विरोध प्रदर्शन गर्न बाध्य पारेको हो। धर्मगुरुहरूको सत्ता मोहले, तानाशाहीले, इरानलाई गरीब मात्र पारेको छैन, विश्वबाट एक्लिएर बस्नसमेत बाध्य पारेको छ। इरानमा भइरहेको उथलपुथलको प्रमुख कारण नै त्यहाँ व्याप्त महँगी हो, बेरोजगारी र गरीबी हो। र त्यो गरीबी अयातुल्लाहरूको तानाशाहीले गर्दा उत्पन्न भएको हो।

नेपालमा गत भदौ २३ र २४, २०८१ मा भएको विद्रोहको सम्बन्ध पनि गरीबी, बेरोजगारी र महँगीसित थियो। देशको कमजोर अर्थ व्यवस्था नै विद्रोहको प्रमुख कारण थियो। नेकपा एमाले र नेपाली काङ्ग्रेसको तानाशाही शासन व्यवस्थाले देश गरीब हुँदै गएको थियो। 

विद्रोहको प्रमुख कारण पनि त्यही हुन पुग्यो। खड्ग ओली र शेरबहादुर देउवाको पटकपटक प्रधानमन्त्री हुने र देशमा आफ्नो र आफ्नो दलको तानाशाही कायम गर्ने उनीहरूको चाहना नै विद्रोहको कारण बन्न पुग्यो। हुनत अहिले पनि यी दुई नेताहरू चुनावमा भाग लिएर भए पनि, दल भित्रका आफ्ना विरोधीहरूलाई पाखा लगाएर भए पनि, प्रधानमन्त्री हुने दौडमा छन्। ओली र देउवा चुनावमा विजयी पनि हुनेछन्। यो विषय, यी नेताहरूलाई चुनावमा आफ्नो मत दिएर विजयी गराउने मतदाताहरूको इच्छाको कुरा हो।

गत भदौमा तत्कालीन खड्ग ओली–सरकारविरुद्ध भएको विद्रोहको प्रमुख कारण नै महँगी, भ्रष्टाचार, बेरोजगारी थियो, गरीबी थियो र कमजोर हुँदै गएको देशको अर्थ व्यवस्था थियो। केही नेताहरूको तानाशाहीले नेपाललाई गरीब पार्दै लानु र त्यो गरीबीले युवा एवं नव युवाहरूमा घोर निराशा उत्पन्न हुनु त्यो विद्रोहको मुख्य कारण हुन पुगेको थियो। यो कुरा पटकपटक भन्नुपर्ने हुन्छ। आर्थिक कारणले गर्दा ओली– सरकारविरुद्ध जनता भित्रभित्रै क्रुद्ध थियो। क्रुद्ध जनतालाई तत्कालीन सरकारविरुद्ध र मुख्यगरी ओलीविरुद्ध विद्रोहका लागि सडकमा पुर्‍याउने काम तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गर्ने, मुख्यगरी फेसबुक बन्द गर्ने निर्णय गर्नु परेको थियो। फेसबुक बन्द गर्ने सरकारको निर्णयले जनताको आर्थिक जीवनमा कसरी प्रभाव पार्‍यो त्यसबारे चर्चा गरौं। त्यसभन्दा पहिले यो बुझौं कि खड्ग ओलीले आफ्नो स्वभावको कारण आफ्नो तानाशाही कायम गर्न फेसबुकमाथि प्रतिबन्ध लगाएका थिए। यो कुरा प्रस्ट गरी बुझ्न आवश्यक पनि छ कि सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले त्यस बखत राष्ट्रिय अस्मितामा कुनै किसिमको खतरा पुगेको थिएन।

फेरि फेसबुककै चर्चा गरौं। त्यसबेला (विद्रोहको समयमा) फेसबुक सञ्चारको सर्वाधिक सस्तो माध्यम थियो र अहिले पनि छ। केही अवस्थामा त फेसबुक निश्शुल्क सञ्चारको माध्यम हुन पुगेको छ। फेसबुक प्रयोग गरेर संसारभरि, एक देशबाट अर्को देशमा निश्शुल्क खबर, सूचना, जानकारी आदानप्रदान गर्न सकिन्छ। फेसबुक हठात् बन्द गर्ने ओलीको निर्णयले नेपालबाट र विश्वका अनेक देशहरूबाट र मुख्यगरी खाडीका देशहरूबाट सूचना, जानकारी, खबर आदि आदानप्रदान गर्ने कार्य अति महँगो र केही अवस्थामा त असम्भव नै हुन पुग्यो। अर्थात सञ्चार अति महँगो वा कठिन हुन पुगेको कारणले, आर्थिक कारणले, नेपालीहरूलाई तत्कालीन ओली सरकारको विरोध गर्न, विद्रोह गर्न सडकमा पुर्‍यायो। ठूलो सङ्ख्यामा नवयुवा तथा युवाहरू सडकमा आए।

अब निष्कर्षमा जाऔं । लोकतान्त्रिक व्यवस्थाबाट निर्वाचित भएर आएका नेताहरूको तानाशाहीको कारणले, कम्युनिस्ट नेताहरूको तानाशाहीको कारणले र धर्मगुरुहरूको सदासर्वदा सत्ता र शक्तिमा रहने इच्छाबाट उत्पन्न तानाशाहीको कारणले कुनै पनि राष्ट्रलाई गरीब बनाउने महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। 

शासकहरूको तानाशाही नै भ्रष्टाचार, महँगी र बेरोजगारीका प्रमुख कारण हो। तानाशाहीले राष्ट्रलाई गरीब पार्दछ। यो कारणले गर्दा पनि एउटा व्यक्ति पाँच वर्षसम्म पदमा रहनुहुँदैन। पाँच वर्षपछि मन्त्री, प्रधानमन्त्री आदि सदाका लागि राजनीतिबाट, कहिले पनि नफर्किनेगरी, बाहिर जानुपर्छ। जन प्रतिनिधिहरूले पनि दुईपटकभन्दा बढी चुनावमा निर्वाचित नहुनु पर्ने व्यवस्था हुनुपर्छ। राजनीतिलाई व्यवसाय होइन, सेवाको रूपमा स्थापित गर्नुपर्छ। कुनै पनि देशमा शासकहरूद्वारा जति बढी तानाशाही कायम हुन्छ त्यो देश त्यति नै बढी गरीब हुन्छ। भेनेजुएला, सिरिया, इरानजस्ता देशहरू यस तथ्यका उदाहरण हुन्।

लामो समयसम्म शासन व्यवस्था आफ्नो हातमा लिने, आफ्नो तानाशाही कायम गर्ने, देशलाई गरीब पारेर भए पनि पटक–पटक प्रधानमन्त्री, मन्त्री हुने नेताहरूलाई नेपालको राजनीतिबाट सदाको लागि बिदा गर्न अब ढिलो गर्नुहुँदैन। बाँकी मतदाताहरूको इच्छा।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, January 9, 2026

https://www.eprateekdaily.com/detail/96306

No comments:

Post a Comment