पर्यटन उद्योगको महत्त्व र विकास
नेपालले
अब पर्यटन उद्योगलाई आर्थिक विकासको केन्द्र मान्नुपर्छ। यस क्षेत्रको विकासका
लागि अनेक लघु एवं दीर्घकालीन योजना, नीति तथा कार्यक्रमहरू निर्माण गर्नुपर्छ। नेपालका लागि पर्यटन
क्षेत्र मात्र एक यस्तो उद्योग एवं व्यापारको क्षेत्र हो जहाँ पर्यटन क्षेत्रका
व्यवसायीहरूले साना–ठूला तथा जटिल किसिमका प्रतिस्पर्धाहरूको सामना गर्नुपर्दैन।
अर्को शब्दमा भन्ने हो भने पर्यटन क्षेत्रमा नेपाललाई पूर्ण लाभ प्राप्त छ।
पूर्ण
लाभ भनेको के हो,
त्यस
शब्द वा भनाइको अर्थ हेरौं। अर्थशास्त्रको भाषामा पूर्ण लाभ भनेको कुनै पनि देशले
प्राप्त गरेको त्यस्तो आर्थिक क्षमता वा कुशलता हो जस अन्तर्गत त्यस देशले कुनै
खास किसिमको वस्तु वा सेवा अन्य राष्ट्रभन्दा कुशलतापूर्वक उत्पादन गर्न सक्छ। त्यो
खास किसिमको वस्तु वा सेवा अन्य देशहरूले जति स्रोत–साधन प्रयोग गरेर उत्पादन गर्छ, त्यस देशले त्यतिकै स्रोत एवं साधन
प्रयोग गरेर कुशलतापूर्वक उत्पादन गर्न सक्छ।
यो
भनाइको अर्थ के हो भने कुनै क्षेत्रमा पूर्ण लाभको स्थिति प्राप्त गरेको राष्ट्रले
अन्य राष्ट्रभन्दा त्यस क्षेत्रमा कुशलतापूर्वक वस्तु वा सेवा सस्तो (अन्य
राष्ट्रहरूभन्दा) मा उत्पादन गर्न सक्छ। नेपाललाई पर्यटन उद्योगमा, प्राकृतिक एवं सांस्कृतिक कारणले पूर्ण
लाभको स्थिति प्राप्त छ। कसरी? यसबारे केही उदाहरणसहित चर्चा गरौं।
प्रकृतिले
नेपाललाई अनेक किसिमका निधिहरू दिएको छ। अनेक हिम नदीहरू दिएको छ। अनेक अग्ला
हिमाल एवं पहाडहरू दिएको छ। विशेष किसमको मौसम दिएको छ। नेपालमा धेरै अग्ला अग्ला
शिखरहरू छन्। विश्वको सर्वाधिक अग्लो शिखर (सगरमाथा) नेपालमै छ। विश्वका अनेक
देशका नागरिकलाई पर्वतारोहण एवं पर्वत–पर्यटनको अवसर प्रदान गरेर नेपालले राम्रो
आम्दानी प्राप्त गर्न सक्छ। पर्वत–पर्यटनका लागि नेपालले अनेक मुलुकसँग प्रतिस्पर्धा
गर्नुपर्दैन। नेपालमा
अनेक किसिमका संस्कृति एवं परम्पराहरू छन्। ती संस्कृति एवं परम्पराहरू विदेशी
पर्यटकहरूलाई अवलोकन गराएर पनि नेपालले पर्यटन क्षेत्रबाट राम्रो आय प्राप्त गर्न
सक्छ। मौलिक संस्कृति एवं परम्परा विदेशी
पर्यटकहरूलाई अवलोकन गराउन नेपाली व्यवसायीहरूले विदेशका व्यवसायीहरूसँग
प्रतिस्पर्धा गर्नुपर्दैन।
लुम्बिनी, पशुपतिनाथ, जानकी मन्दिरजस्ता विश्व प्रसिद्ध
धार्मिक स्थलहरू नेपालमा छन्। यसबाहेक मुक्तिनाथ, देवघाट, चतराधाम, गढीमाई जस्ता अनेक धार्मिक स्थलहरू पनि
छन्। अनेक किसिमका सेवा एवं सुविधा उपलब्ध गराएर धार्मिक पर्यटकहरूलाई नेपालतर्फ
सजिलै आकृष्ट गर्न सकिन्छ। विदेशी पर्यटकहरूबाट नेपालले राम्रो आम्दानी प्राप्त
गर्न सक्ने स्थिति छ। नेपालमा पर्यटनका लागि आवश्यक अनेक पूर्वाधारहरू छन्। असङ्ख्य पर्यटनस्थलहरू
पनि छन्।
यी
पर्यटन क्षेत्रहरूको उपयोग गरेर ठूलो मात्रामा रोजगार सृजना गर्न सकिन्छ।
गरीबहरूको हातमा पनि आम्दानी पुर्याउन सकिन्छ।। गरीबी कम पारेर राष्ट्रलाई
समृद्धिको दिशातर्फ अग्रसर गराउन सकिन्छ।
नेपालले
पर्यटन उद्योगलाई महत्त्व दिनुका अन्य कारणहरू पनि छन्। ती कारणहरूको पनि चर्चा
गरौं। वर्तमान विश्व परिस्थिति ज्यादै जटिल
छ। अनेक किसिमका अनिश्चितताले गर्दा विश्व परिस्थिति अहिले ज्यादै जटिल हुन पुगेको
हो। वर्तमानमा विश्वका अनेक राष्ट्रहरू, यहाँसम्म कि शक्तिशाली राष्ट्रहरू पनि, परोक्ष एवं प्रत्यक्ष युद्धमा संलग्न
भएका छन्। युद्धहरू केवल दुई पक्षीय मात्र नभएर बहुपक्षीय रूपमा भइरहेका छन्।
एउटै
राष्ट्र अर्को एक राष्ट्रको कहिले शत्रु हुन पुग्छ कहिले मित्र हुन पुग्छ। अहिले
राष्ट्रहरूसँग वैचारिक स्थिरता छैन। राष्ट्रहरूले समय अनुसार आफ्नो फाइदा अनुसार
आफ्नो राष्ट्रिय अर्थ नीतिमा पूर्वानुमान गर्न नसकिने गरी परिवर्तन गरिरहेका छन्।
केही
राष्ट्रले आफ्नो आर्थिक क्षमतालाई घातक हतियारको रूपमा प्रयोग गरिरहेका छन्। यस्तो
स्थितिले गर्दा विश्व व्यापार वा अन्तर्राष्ट्रिय व्यापार अति नै जोखिमपूर्ण हुन
पुगेको छ। खासगरी वस्तु आयात, निर्यात जोखिमपूर्ण बन्न पुगेको छ।
विश्वका
अनेक राष्ट्र अहिले वस्तु एवं सेवा उत्पादनको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स
प्रयोग गर्न सक्ने स्थितिमा पुगिसकेका छन्। संयुक्त राज्य अमेरिका, चीन, जर्मनी, जापान, सिंगापुर, फ्रान्स, द. कोरिया आदिले सेल्फ ड्राइभिङ कारको परीक्षणसमेत गरिसकेका छन्। अमेरिकामा सेल्फ ड्राइभिङ कारको
व्यापारिक प्रयोगसमेत पनि भइसकेको छ। नेपालको सन्दर्भमा भन्ने हो भने हामी प्रथम त
विज्ञान एवं प्रविधिको क्षेत्रमा ज्यादै पछाडि छौं नै, दोस्रो हाम्रो भूबनोटले पनि हामीलाई
धेरै कुरा (जस्तै सेल्फ ड्राइभिङ कारको प्रयोग) गर्न दिंदैन। अर्थात् हामी वस्तु उत्पादनको
क्षेत्रमा, उच्च प्रविधिको प्रयोग गरेर विभिन्न
किसिमका वस्तुहरू सस्तोमा उत्पादन गर्न सक्ने स्थितिमा छैनौं। खास किसिसमका
वस्तुहरू उत्पादन गर्न सक्ने स्थितिमा छैनौं।
यो
स्थितिले गर्दा पनि, विज्ञान
र प्रविधिको क्षेत्रमा हामी पछाडि रहेको कारणले पनि, पर्यटन हाम्रो लागि सुरक्षित स्थान हुन पुग्दछ। कम जोखिम भएको र
शून्य (लगभग) बराबर प्रतिस्पर्धा गर्नुपर्ने क्षेत्र हुन पुग्दछ। विज्ञान र प्रविधिको क्षेत्रमा उच्च
विकास गरेर चीन र भारतभन्दा पनि सस्तोमा अनेक वस्तुहरू उत्पादन गरेर हामीले चीन र
भारतलाई अनेक वस्तुहरू बिक्री गर्न सक्ने वर्तमान स्थितिमा सम्भव छैन।
सस्तोमा
वस्तु उत्पादन गर्न सक्ने क्षमता राख्ने चीनले अहिले आफ्नो बजार, सस्तोमा उत्पादन गरेको कारणले, विश्वभरि नै विस्तार गरेको छ। यस्तै स्थिति
भारतको पनि छ। भारत पनि अहिले सस्तोमा वस्तु उत्पादन गर्ने राष्ट्रहरूको श्रेणीमा
पर्दछ। भारतीय वस्तुहरू, सस्तो भएकै कारणले गर्दा, विश्वका अनेक राष्ट्रका प्रमुख
बजारहरूमा देख्न सकिन्छ। हामीले केही मौलिक वस्तुहरू जस्तै, धातुका सामान, पस्मिना, चाउचाउ, जटिबुटी
आदि विश्वका अनेक बजारमा बिक्री गर्न सक्छौं तर ज्यादै थोरै परिमाणमा। विश्व बजारमा थोरै परिमाणमा वस्तुहरू
बिक्री गरेर ठूलो लाभ प्राप्त गर्न सकिंदैन।
ग्लोबल वार्मिङले पनि अहिले अन्तराष्ट्रिय व्यापारलाई प्रतिकूल
प्रभाव पारिरहेको छ। धनी राष्ट्रहरूले परम्परागत वा जीवाश्म ऊर्जा (Fossil Fuel) सफा ऊर्जा भन्दा अति सस्तो भएकोले यो ऊर्जाको
प्रयोग उच्च स्तरमा गरिरहेका छन्। परम्परागत ऊर्जाको अति प्रयोगले गर्दा पृथ्वीको
तापक्रम बढ्ने क्रममा छ। पृथ्वीको बद्दो तापक्रमले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा
विश्व व्यापारलाई प्रभाव पार्ने स्थिति छ।
सङ्क्षिप्तमा
भन्ने हो भने वस्तु व्यापारको सन्दर्भमा, निर्यात व्यापारबाट वा अन्तर्राष्ट्रिय व्यापारबाट नेपालले राम्रो
फाइदा लिन सक्ने स्थिति छैन। यो कारणले गर्दा पनि हामीले केवल श्रम बिक्री गरेर
आम्दानी प्राप्त गर्नुपर्ने स्थिति उत्पन्न भएको हो। हो, यो कारणले नै लाखौंको सङ्ख्यामा नेपाली
युवाहरू रोजगारका लागि विश्वका अनेक राष्ट्रमा पुग्नुपरेको हो।
हामी
अहिले वस्तु होइन,
केवल
श्रम मात्र निर्यात गर्न सक्ने स्थितिमा छौं। श्रम मात्र बिक्री गर्न सक्ने
स्थितिमा छौं। हाम्रो देशको अर्थ व्यवस्था अहिले रेमिट्यान्समाथि निर्भर छ। अन्तर्राष्ट्रिय
बजारमा केवल श्रम बिक्री गरेर कुनै पनि राष्ट्र बाँच्न खोज्नु भविष्यमा आफ्नो
अस्तित्व आफैंले समाप्त पार्ने बाटोतर्फ अग्रसर हुनु हो। अन्तर्राष्ट्रिय बजारमा
केवल श्रम मात्र बिक्री गरेर देशको अर्थ व्यवस्था सबल पार्न सकिंदैन, उल्टो कमजोर पार्ने कार्य हुन पुग्छ।
संयुक्त
राज्य अमेरिका, स्पेन, संयुक्त अधिराज्य, फ्रान्स, इटाली, युनाइटेड अरब इमिरेट्स, टर्की, अस्ट्रेलिया, क्यानाडा, थाइल्यान्ड, साउदी अरेबिया, जर्मनी, चीन,
भारत, मेक्सिको, मकाउ, पोर्चुगल, अस्ट्रिया, सिंगापुरजस्ता राष्ट्रहरूमा ठूलो
सङ्ख्यामा पर्यटकहरू अनेक स्थान, संस्कृति, परम्परा, प्राकृतिक दृश्यहरूको अवलोकन गर्न
पुग्दछन्। यी राष्ट्रहरूले पर्यटन क्षेत्रबाट राम्रो आम्दानी प्राप्त गरिरहेका
छन्।
आगामी
निर्वाचनपछि नयाँनयाँ व्यक्ति, खासगरी युवाहरू निर्णय गर्ने स्थानमा पुग्ने आशा चुलिएर गएको छ। नया
सोच र थप जाँगर लिएर आएका जनप्रतिनिधिहरूले आफ्नो रचनात्मक समय राष्ट्रको आर्थिक
विकासमा खर्च गर्नेछन्। पहिलेका जनप्रतिनिधिहरूलेझैं झगडा गर्ने, षड्यन्त्र गर्ने, एउटाले अर्कोलाई लडाउनेजस्ता कार्यमा
आफ्नो अमूल्य समय खर्च गर्ने छैनन्। संसद्लाई केवल गालीगलौज गर्ने स्थान बनाउने
छैनन्। देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण निर्णयहरू गर्ने स्थानको रूपमा
संसद्को प्रयोग गर्नेछन्। संसद्लाई सरकार ढाल्ने र अर्को सरकार बनाउने, सत्ता आफ्नो हातमा लिने दाउपेच खेल्ने
स्थान बनाउने छैनन्।
समय
परिवर्तनशील हुन्छ र हुनु पनि पर्छ। हाम्रा जनप्रतिनिधि, योजनाकार, नीति निर्माताहरूले अपार सम्पदा भएको
हाम्रो पर्यटन उद्योगको विकासका लागि केही गर्ने सोच राख्ने हो भने हामीले पर्यटन
उद्योगबाट राम्रो आम्दानी प्राप्त गर्न सक्छौं।
पर्यटन
उद्योग विकासका लागि नयाँनयाँ रणनीति निर्माण गर्न अब ढिलो गर्नुहुँदैन। विशाल
जनसङ्ख्या भएका दुई छिमेकी राष्ट्र– चीन र भारतबाट मात्र पनि ठूलो सङ्ख्यामा
पर्यटकहरू नेपाल भित्र्याएर हामीले राम्रो आम्दानी प्राप्त गर्न सक्छौं।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक
दैनिकमा प्रकाशित: Friday,
January 30, 2026
https://www.eprateekdaily.com/detail/96799

No comments:
Post a Comment