Wikipedia

Search results

Friday, February 13, 2026

Energy Production Must Be Cheaper For Eco Development-Article- 617

 ऊर्जा सस्तो नपारी आर्थिक विकास असम्भव

अहिलेको यो वैश्य युगमा ऊर्जा उद्योग एवं व्यापारको क्षेत्रमा मात्र होइन, हाम्रो दैनिक जीवनमा पनि अति आवश्यक तत्त्व हुन पुगेको छ। हामी बाथरूममा ऊर्जाको प्रयोग गर्छौं। भान्सा, बैठक, सुत्ने कोठादेखि अनेक स्थानहरूमा ऊर्जा प्रयोग गर्छौं। हाम्रो यातायात व्यवस्था त सम्पूर्णरूपमा ऊर्जामा नै निर्भर हुन पुगेको छ। एक किलोमिटेरसम्म पनि हामी हिंड्न सक्ने स्थितिमा छैनौं। हामीलाई सय पाइला हिंड्न पनि यातायातका अनेक साधनहरू चाहिन्छ।

हामी ऊर्जामाथि यति निर्भर हुन पुगेका छौं कि ऊर्जा भएन भने हाम्रो जीवन स्थिर रहने स्थितिमा छैन। अर्कोतिर, उद्योग र व्यापार ऊर्जाको अनुपस्थितिमा सञ्चालनसम्म गर्न सक्ने कल्पना गर्न सकिने स्थिति छैन। अहिले उद्योग, व्यापार स्थापना र सञ्चालनका लागि ऊर्जा पूर्व शर्त हुन पुगेको छ। त्यति मात्र होइन, उद्योगहरू सञ्चालन गर्न हामीलाई ठूलो मात्रामा ऊर्जा चाहिन्छ। विनाअवरोध, नियमित चाहिन्छ तर अफसोच! यतिका वर्ष बितिसक्दा पनि हामी ऊर्जा उत्पादनमा आत्मनिर्भर हुन सकेका छैनौं। आत्मनिर्भर त परको कुरा, ऊर्जाको आपूर्ति सुनिश्चित गर्न सकेका छैनौं। जलविद्युत्बाहेक पेट्रोलियम पदार्थका लागि हामी पूर्णरूपमा भारतमाथि आश्रित छौं। पेट्रोलियम पदार्थका लागि भारतमाथिको अति निर्भरता, बितेको पचास वर्षको अवधिमा पनि कम पार्न सकेका छैनौं।

उद्योग एवं व्यापारको विकास तथा विस्तार गरेर देशमा ठूलो मात्रामा रोजगार सिर्जना गर्न तथा यातायात व्यवस्था सस्तो पार्न हामीले ऊर्जाको क्षेत्रमा दुई महत्वपूर्ण कार्य अनिवार्य रुपले गर्नुपर्छ। पहिलो हो, देशलाई चाहिने आवश्यक ऊर्जा देशभित्रै, ठूलो मात्रामा उत्पादन गर्ने, दोस्रो ऊर्जा उत्पादन सस्तो पार्ने। यी दुई कार्य गरेर मात्र देशलाई समृद्ध पार्न सकिन्छ। जनताको क्रय शक्ति वृद्धि गर्न सकिन्छ। देशको गरीबी कम गर्न सकिन्छ। किनभने ऊर्जा आर्थिक विकासको मेरुदण्ड हो।

ऊर्जा सस्तो पार्न सके मात्र हामीले यातायात लागत कम पार्न सक्छौं। यातायात लागत कम भए मात्र वस्तु वा सेवाको मूल्य कम पार्न सक्छौं। महँगी नियन्त्रण गर्न सक्छौं। यसैगरी ऊर्जा सस्तो भए मात्र उत्पादन लागत कम गर्न सकिन्छ। उत्पादन लागत कम भएमा वस्तुको मूल्य स्वतः कम हुन पुग्छ। महँगी कम हुन जान्छ।

नेपालमा उत्पादन लागत र वितरण (यातायात) लागत चर्को हुनुको मुख्य कारण नै ऊर्जा महँगो हुनु हो। यातायातका लागि आवश्यक ऊर्जा (पेट्रोलियम पदार्थ) का लागि हामी लगभग पूर्णरूपमा भारतमाथि आश्रित छौं। भारतबाट हामीले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ खरीद गर्छौं। त्यो पनि महँगोमा खरीद गर्छौं। यातायातका लागि आवश्यक ऊर्जा (पेट्रोलियम पदार्थ) को विकल्पको रूपमा हामीले जलविद्युत्को प्रभावकारी किसिमले उपयोग गर्न सकेका छैनौं।

पेट्रोलियम पदार्थ, जुन ठूलो मात्रामा हामीले भारतबाट खरीद गर्छौं, देशभित्र उत्पादन गर्न सक्ने स्थितिमा छैनौं। यो ऊर्जा (पेट्रोलियम पदार्थ) नेपालभित्र सस्तोमा उत्पादन गर्न सम्भव पनि छैन। साथै आजभोलि पेट्रोलियम पदार्थको उपभोगमा कमी ल्याउनुपर्छ भन्ने नारा पनि चर्को स्वरमा घन्किरहेको छ। पेट्रोलियम पदार्थको अत्यधिक प्रयोगले विश्व–वातावरणमा अति नराम्रो प्रभाव परेकोले यसको उपभोगमा तत्काल कमी ल्याउनुपर्छ भनेर पर्यावरणवादीहरूले जोडदार रूपमा, विश्वव्यापीरूपमा माग गरिहेका छन्।

सफा ऊर्जा (नवीकरणीय ऊर्जा) को प्रयोग गर्न र परम्परागत ऊर्जा (जसमा फोसिल इन्धनहरू समावेश छन्) मा कटौती मात्र होइन, भविष्यमा बन्दसमेत गर्न जोड दिइरहेका छन्। यस्तो स्थितिमा हामीले सौर्य ऊर्जा उत्पादनमा जोड दिन आवश्यक छ। चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, फ्रान्स, नीदरल्यान्ड्स जस्ता देशहरूले यातायातका साधनहरूमा ठूलो परिमाणमा सौर्य ऊर्जा प्रयोग गरिरहेका छन्। नेपालमा ठूलो परिमाणमा सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ। र ठूलो परिमाणमा सौर्य ऊर्जा उत्पादन गरेर सस्तो एवं नियमित पनि पार्न सकिन्छ।

आजभोलि वायु ऊर्जाको उत्पादन एवं प्रयोग पनि ठूलो मात्रामा भइरहेको छ। चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, ब्राजील, संयुक्त अधिराज्य, भारत, स्पेन, क्यानाडा, फ्रान्स र स्वीडेन क्रमशः विश्वका सर्वाधिक वायु ऊर्जा उत्पादन र प्रयोग गर्ने राष्ट्रमा पर्दछन्। नेपालका मुख्यतः पहाडी क्षेत्रहरूमा ठूलो परिमाणमा वायु ऊर्जा उत्पादन गर्न सकिन्छ। बढी हावा चल्ने स्थानमा वायु ऊर्जा ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ। जोमसोम, कालीगण्डकी उपत्यका, सगरमाथा क्षेत्र, कागबेनी, लुक्ला, मनाङ सारांगकोटजस्ता क्षेत्रहरूमा वायु ऊर्जा उत्पादन गर्ने पर्याप्त अवसर छ।

नेपालमा अहिले जलविद्युत् ठूलो परिमाणमा उत्पादन भइरहेको छ। यो अति सुखद कुरा हो। तर जलविद्युत् उत्पादन हामीले अहिले पनि सस्तो र सर्वसुलभ बनाउन सकेका छैनौं। हामीले जलविद्युत्को उत्पादन लागत कम गरेर यसको मूल्य कम पार्न सकेका छैनौं। गरीब वा विपन्न परिवारले पनि ठूलो मात्रामा विद्युत् उपयोग गर्न सक्ने स्थिति ल्याउन सकेका छैनन्।

जलविद्युत् उत्पादनको क्षेत्रमा हाम्रो चुनौती भनेको ज्यादै सस्तोमा जलविद्युत् उत्पादन गर्न न सक्नु र यसको मूल्य, जुन उपभोक्ताहरूले भुक्तान गर्छन्, कम पार्न नसक्नु हो। यो कुरा दोहर्याइरहनुपर्दैन कि नेपाल, जलविद्युत् उत्पादन सम्भावनाको हिसाबले, ब्राजीलपछि विश्वको दोस्रो ठूलो देश हो।

नेपालमा उद्योग एवं व्यापारको विकास एवं विस्तार गरेर देशलाई धनी पार्ने अभियान चलाउनका लागि हामीले दुईवटा काम अनिवार्यरूपमा गर्नैपर्ने हुन्छ। ती दुई कार्यहरू हुन् – पहिलो ऊर्जा (पेट्रोलियम पदार्थ) का लागि भारतमाथिको अति निर्भरता कम पार्दै लाने र लामो अवधिपछि शून्यमा झारेर समाप्त नै पार्ने, दोस्रो, स्वदेशमा उत्पादित ऊर्जा उत्पादन सस्तो पार्ने। सस्तो पनि त्यो स्तरसम्म पार्ने कि गरीब परिवारहरूले पनि ऊर्जा सहजै उपयोग गर्न सक्ने स्थिति होस्।

ऊर्जा आर्थिक विकासको मेरुदण्ड हो। देशभित्र ऊर्जा उत्पादन सस्तो र यसको खरीद मूल्य पनि सस्तो नपारी आर्थिक विकास सम्भव हुन सक्दैन। आर्थिक विकास गर्नका लागि ऊर्जा, कुनै पनि शर्तमा, सस्तो पार्नैपर्छ। विश्वका अनेक धनी राष्ट्रहरू, जसले ठूलो परिमाणमा ऊर्जा उपयोग गर्छन्, सस्तोमा ऊर्जा उत्पादन गर्न सफल भएका छन्। जनतालाई सस्तोमा ऊर्जा उपलब्ध गराउन सक्षम भएका छन्। चीन, संयुक्त राज्य अमेरिका, भारत, रूस र जापान क्रमशः विश्वका पहिलो र पाँच बढी ऊर्जा उपयोग गर्ने राष्ट्र हुन्। ऊर्जा एक किसिमले आर्थिक विकासको सूचकाङ्क पनि हो। अत्यधिक ऊर्जा प्रयोग हुने राष्ट्रमा आर्थिक गतिविधि उच्च स्तरमा हुन्छ।

नेपालको समृद्धि ऊर्जासँग प्रत्यक्षरूपमा जोडिएको छ। हामीले आर्थिक विकासको गतिलाई तीव्रता दिन ऊर्जा उत्पादन लागत कम पारेर ऊर्जाको मूल्य कम पार्नैपर्छ।







विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, February 13, 2026

https://www.eprateekdaily.com/detail/97094# 

No comments:

Post a Comment