ठूलो सङ्ख्यामा युवा पलायन: जिम्मेदार को?
विगत
केही दशकभित्र नेपालीहरू ठूलो सङ्ख्यामा विदेश पलायन भएका छन्। केही संसारका
विभिन्न राष्ट्रहरूमा सदाका लागि नै बस्नेगरी भने केही अल्प अवधि (रोजगार) का लागि
बस्नेगरी पलायन भएका छन्। खासगरी २०६० सालपछि जब नेपालको राजनीति विधि होइन, केवल केही दलहरूको स्वार्थ अनुसार
सञ्चालन हुन थाल्यो र देशको शासन व्यवस्था केही व्यक्तिको हातमा मात्र केन्द्रित
हुन पुग्यो त्यो बेलादेखि, विशेषगरी नेपाली युवाहरू ठूलो सङ्ख्यामा विश्वका अनेक राष्ट्रमा
पुग्ने क्रम आरम्भ भयो। ठूलो सङ्ख्यामा स्थानान्तरण हुने क्रम आरम्भ भयो। हुनत
माओवादीहरूले सञ्चालन गरेका सशस्त्र सङ्घर्षले पनि यो कार्यमा योगदान पुर्याएको
हो।
विश्वमा
विरलै देखिनेगरी नेपालबाट युवाहरू ठूलो सङ्ख्यामा पलायन भएका छन्। अहिले नेपालको
लगभग एकतिहाई जनसङ्ख्या विश्वका अनेक राष्ट्रहरूमा पुगेको देखिएको छ। अर्थात् एक
करोड जति नेपाली अहिले स्वदेशमा छैनन्। हुनत विश्वका अनेक देशहरूबाट र खासगरी
अफ्रिका महादेशका राष्ट्रहरूबाट पनि ठूलो सङ्ख्यामा नागरिकहरू अन्य मुलुकमा पुगेको
देखिन्छ। यसैगरी विश्वका द्वन्द्वग्रस्त मुलुकहरूबाट पनि ठूलो सङ्ख्यामा
देशवासीहरू शान्ति, सुरक्षा
र रोगजारको लागि अन्य मुलुकहरूमा शरणार्थी भएर पुगेको देखिन्छ। सङ्ख्याको हिसाबले
हेर्ने हो भने भारत, चीन, मेक्सिको, युक्रेन, रूस, सिरिया, बङ्गलादेश, भेनेजुएला, अफगानिस्तान र फिलिपिन्स (सन् २०२४)
क्रमशः एकदेखि दश त्यस्ता राष्ट्रहरूमा पर्दछन् जहाँबाट ठूलो सङ्ख्यामा नागरिकहरू
स्वदेश छाडेर अर्को देश जाने गरेका छन्। अर्थात् माथि उल्लिखित राष्ट्रहरूबाट ठूलो
सङ्ख्यामा स्थानान्तरण (स्वदेशबाट विदेश जाने कार्य) हुने गरेको छ।
स्थानान्तरणको
दृष्टिले हेर्न हो भने नेपालको स्थिति ज्यादै पृथक छ। डरलाग्दो पनि छ। नेपालको कुल
जनसङ्ख्याको हिसाबले हेर्दा वा तुलना गर्दा नेपालबाट ठूलो सङ्ख्यामा नागरिकहरूले
स्वदेश छाडेको देखिन्छ। कुन स्थितिले नेपालीहरूलाई यसरी ठूलो सङ्ख्यामा स्वदेश
छाडेर विदेश रोज्ने स्थितिमा पुर्यायो? ती कस्ता कारणहरू हुन्, जसले नेपालीहरूलाई रोजगारका लागि अन्य राष्ट्रहरूमा जान बाध्य पार्यो? ती कारणहरूको खोजी गर्न आवश्यक छ।
राष्ट्रको अस्मिता–रक्षाको दृष्टिकोणले र आर्थिक विकासको दृष्टिकोणले, साथै सामाजिक सन्तुलनको दृष्टिकोणले पनि, नेपालीहरू यसरी यति ठूलो सङ्ख्यामा
स्वदेश परित्याग गर्ने मनस्थितिमा पुग्नु राम्रो होइन। स्वदेशमा बस्ने रुचि नहुनु
राम्रो कुरा होइन।
कुनै
पूर्वाग्रह नराखी,
निष्पक्षरूपमा
भन्ने हो भने लामो समयसम्म सत्तामा रहेको, राज्य शक्ति आफ्नो हातमा लिएको र जिम्मेवारीको हिसाबले नेपालबाट यति
ठूलो सङ्ख्यामा नेपालीहरू विदेशतिर लाग्नुको उत्तरदायित्व मुख्य गरी तीन दलले
लिनुपर्छ। नेकपा एमाले, नेपाली
काङ्ग्रेस र पुष्पकमल दहाल नेतृत्वको तत्कालीन माओवादी दलको कार्यशैली वा यी
दलहरूको सत्तालिप्साका कारण यति ठूलो सङ्ख्यामा नेपालीहरू स्थानान्तरण गर्ने
मनस्थितिमा पुगेका हुन्। यी तीन दलहरूले नेपालको आर्थिक विकासका लागि मिलेर काम
गरेनन्, उल्टो राज्यशक्ति आफ्नो हातमा लिन र
महत्त्वपूर्ण पदहरू प्राप्त गर्न तथा प्रधानमन्त्री हुन अनेक नैतिक, अनैतिक कार्यहरू गरे। देशको आर्थिक
विकासमा ध्यान दिएनन्। यो कारणले गर्दा देश गरीबीको कुचक्रबाट बाहिर आउन सकेन।
देशभित्रै रोजगारका प्रशस्त अवसरहरू सृजना हुन सकेन। बेरोजगारी अभूतपूर्वा किसिमले
बढ्यो। बेरोजगारीले युवाहरूमा चरम निराशा उत्पन्न गरायो र त्यो निराशाले
नेपालीहरूमाथि कुकरको प्रेसरले झैं काम गर्यो। अनि त्यो प्रेसरले, त्यो निराशाले, नेपालीहरूलाई विदेश लाग्न बाध्य पार्यो।
रोजगारका लागि स्वदेश छोड्न बाध्य पार्यो।
शेरबहादुर
देउवा, खड्गप्रसाद ओली र पुष्पकमल दहालले पटकपटक
प्रधानमन्त्री हुने धुनमा देशको अर्थतन्त्रलाई महत्त्व दिएनन्। नेपालको
अर्थतन्त्रको विकास गर्नेतिर पटक्कै ध्यान दिएनन्। रोजगारका अवसरहरू सृजना गर्ने
कार्यलाई महत्त्वहीन ठान्दै केवल प्रमको कुर्सीमा मात्र ध्यान केन्द्रित गरे।
आफ्ना दलका क्रियाकलापहरू पनि केवल सत्ता केन्द्रित पारे।
नेका, एमाले र माओवादीको सत्ता लिप्साले गर्दा
कुनै पनि सरकारले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न पाएन। कुनै पनि सरकारले केवल दुई
वर्ष पनि निरन्तर कार्य गर्न पाएन। एकातिर सरकार स्थिर भएन भने अर्कोतिर उद्योग र
व्यापारको विकास एवं विस्तार हुने तथा रोजगारका अवसरहरू सृजना गर्ने आर्थिक नीति
तथा कार्यक्रमहरू यी दलहरूबाट निर्माण हुन सकेन। यदि यी तीन नेताहरूमा त्यागको
भावना भएको भए, अति सत्तालिप्सा नभएको भए, देशको आर्थिक विकासका लागि यी तीनै
नेताहरूले मिलेर कार्य गरेको भए, जुनसुकै दलको सरकार भए तापनि अर्को दलले सहयोग गरेको भए, नेपालमा बेरोजगारी यो स्तरमा वृद्धि हुने
थिएन। नेपालीहरू यति ठूलो सङ्ख्यामा रोजगारका लागि विश्वका अनेक राष्ट्रहरूमा
पलायन हुनुपर्ने स्थिति उत्पन्न हुने थिएन। नेपालीहरूको निराशा चरम चुलीमा पुग्ने
थिएन। भदौ २३ र २४ (२०८२) को विद्रोह हुने थिएन।
अब
वैदेशिक रोजगारको कुरा गरौं। रोजगारका लागि विदेश पुगेका नेपालीहरूको स्थितिको
कुरा गरौं। वैदेशिक रोजगारको पीडाको कुरा गरौ। विदेशमा बसेर कमाउनु सहज छैन।
नेपालभित्र बसेर जुन कल्पना गरिन्छ त्यसविपरीत स्थिति भोग्नुपर्छ, विदेशमा आएर काम गर्दा।
विद्यार्थीको
रूपमा अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य, अस्ट्रेलिया जस्ता मुलुकमा गएर अध्ययनपछि काम गर्ने उद्देश्य होस् वा
अरबका विभिन्न राष्ट्रहरूमा पुगी काम गर्ने उद्देश्य होस्, काम गर्न सहज छैन। विद्यार्थी भएर कतिपय
देशमा पुगेका नेपाली विद्यार्थीहरूलाई काम पाउन अति नै कठिन छ। सरकारले नै काम
गर्न निषेधित गरेको हुन्छ। नेपालबाट लगेको पैसाले विदेशमा अध्ययन र आवास खर्च
धान्न कठिन हुन्छ। म्यानपावर कम्पनी वा इम्प्लाएमेन्ट एजेन्टको दुष्चक्रमा परेर
अनेकौं नेपालीहरूले खाडीका मुलुकहरूमा दुःख पाएको कथा जति पनि पढ्न वा सुन्न
पाइन्छ।
सर्वाधिक
सुखद स्थिति आफ्नै देश भित्र रोजगार पाएर आफ्नै देशभित्र बस्न पाउनु हो। परिवारसँग
बस्न पाउनु हो। आफ्नो परिवेश, आफ्नो समाज, आफ्नो भूगोल भित्र रहेर काम गर्दा जति मानसिक सन्तुष्टि प्राप्त
हुन्छ त्यति मानसिक सन्तुष्टि विदेश बसेर कार्य गर्दा प्राप्त हुँदैन। विदेशमा काम
गर्न गएको व्यक्तिको स्थिति भीडमा भएको एक्लो मानिसजस्तो हुन्छ। आफ्नो समाजमा
बसेको अनुभूति हुँदैन।
नेपाली
जनताले नेका, एमाले र नेपाली कम्युनिस्ट पार्टीका
नेताहरूको कार्यशैली देखिसक्यो। यी दलका नेताहरूलाई जनताले मत दिएर, चुनावमा निर्वाचित गरेर, देशको आर्थिक विकास गर्ने मौका दिएको पनि
हो। तर पटकपटक निर्वाचित हुँदा पनि यी दलका नेताहरूले देशको आर्थिक विकासलाई
महत्त्व दिएनन्। सत्ता र शक्तिलाई मात्र महत्त्व दिए। अब भने नेपाली मतदाताहरूले, यो निर्वाचनमा नयाँ नेता, इमानदार नेताहरूलाई जिताई देशको आर्थिक
विकास गर्ने मौका दिनु उचित हुन्छ।
पुराना
नेताहरूलाई पटकपटक छान्नु भन्दा जाँच्नका लागि नै भए पनि, नयाँ नेताहरूलाई छान्नु उचित हुन्छ।
उनीहरूलाई पनि मौका दिनु उचित हुन्छ। २०४६ देखि पटकपटक निर्वाचित हुँदै आएका
नेताहरूलाई होइन,
अब
नयाँ एवं इमानदार नेताहरूलाई मौका दिन आवश्यक छ। नयाँ नेताहरूको इमानदारीको
परीक्षण गर्न आवश्यक छ। उनीहरूको व्यवहार र वाचाको परीक्षण हुनुपर्छ।
पर्यटन, जलविद्युत्, सूचना–प्रविधि, सडक यातायातजस्ता क्षेत्रहरूमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी ठूलो परिमाणमा गर्ने हो भने नेपालमा ठूलो सङ्ख्यामा रोजगार सृजना गर्न सकिन्छ। यस्तो गर्न सके अहिलेजस्तो ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारका लागि विदेशिनुपर्दैन। रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य हुन्छ।
Bishwa R Adhikari
akoutilya@gmail.com
Published in Eprateekdaily.com on Friday, February 20, 2026
।https://www.eprateekdaily.com/detail/97242

No comments:
Post a Comment