भागवत गीता अध्याय ४
श्रीभगवानुवाच
इमं विवस्वते योगं
प्रोक्तवानहमव्ययम्।
विवस्वान्मनवे प्राह
मनुरिक्ष्वाकवेSब्रवीत्।।१।।
भगवान् श्रीकृष्णले
आज्ञा गर्नु भयो
(यो अविनाशी योग
विज्ञान पहिले मैले सूर्यलाई भनेको थिएँ, सूर्यले मनु, मनुले इक्ष्वाकुलाई सुनाएका
थिए।)
एवं
परम्पराप्राप्तमिमं राजर्षयो विदु:।
स कालेनेह महता योगो
नष्ट: परन्तप।।२।।
(हे परन्तप, परम्परादेखि आएको यस योग विज्ञानलाई राजर्षिहरुले
जाने तर यो योग लामो समयदेखि रहेकोले
यहाँ नष्टझै भइसकेको छ।)
स एवायं मया तेSद्य योग: प्रोक्त: पुरातन:।
भक्तोSसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम्।।३।।
(तिमी मेरो भक्त एवं
मित्र भएकोले कारण त्येही पुरातन योग मबाट तिमीलाई भनियो किनभने यो उत्तम रहस्य
हो।)
अर्जुन उवाच
अपरं भवतो जन्म परं
जन्म विविस्वत:।
कथमेतद् विजानीयां
त्वमादौ प्रोक्तवानिति।।४।।
अर्जुनले भने
(हजूरको जन्म त यो कालमा-अहिले भएको हो तर सूर्यको
जन्म त धेरै पहिले- प्रचीन कालमा भएको भएको हो। त्यसकारण म यो कुरामा कसरी विश्वास
गरौ कि हजूरले पूर्व कालमा यो योग सूर्यलाई भन्नु भएको हो भनेर?)
श्रीभगवानुवाच
बहूनि मे व्यतीतानि
जन्मानि तव चार्जुन।
तान्यहं वेद सर्वाणि
न त्वं वेत्थ परन्तप।।५।।
भगवान् श्रीकृष्णले
आज्ञा गर्नु भयो
(हे, परन्तप, पराक्रमी, यस धरतिमा तिम्रो र मेरो
धेरै पटक जन्म भइसकेको छ। म ती जन्महरुको स्मरण गर्न सक्छु, जान्दछु तर तिमी थाहा
पाउन सक्तैनौ।)
अजोSपि सन्नव्ययात्मा भूतानामीश्र्वरोSपि सन्।
प्रकृतिं स्वामधिष्ठाय
सम्भवाम्यात्ममायया।।६।।
(अजन्मा, अविनासी र
समस्त प्राणीहरुका इश्वर भएता पनि म आफ्नो योगमायाकद्वारा आफ्नो सच्चिदानन्द
स्वरुपको अनुशरण गरेर प्रकट हुने गर्दछु।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।७।।
(हे भारत, जब जब यो धरतिमा धर्मको नाश हुन्छ र
अधर्मको अभ्यासमा विस्तार हुन्छ तब तब म मेरो नित्य सिद्ध शरीर लिएर म यो धरतिमा प्रकट
हुन्छ।)
परित्राणाय साधूनां
विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय
सम्भवामि युगे यगे।।८।।
(म आफ्ना भक्त-साधुहरूको रक्षा गर्न तथा
दुष्टहरुको नाश गर्न युग युगमा धर्मसंस्थापनाको लागि जन्म लिने गर्दछु।)
जन्म कर्म च मे
दिव्यमेवं यो वेत्ति तत्त्वत:।
त्यक्त्वा देहं
पुनर्जन्म नैति मामेति सोSर्जुन।।९।।
(हे अर्जुन, मेरो जन्म र कर्म अप्राकृत छ। जसले यो ज्ञान
यथार्थ रुपमा प्राप्त गर्दछ उसले वर्तमान शरीर परित्याग गरेर फेरि जन्म लिंदैन बरु
मलाई नै प्राप्त गर्दछन्।
वीतरागभयक्रोधा
मन्मया मामुपाश्रिता:।
बहवो ज्ञानतापसा
पूता मद्भावमागता:।।१०।।
(राग, भय र क्रोधमुक्त भएर, चित्तलाई ममा एकाग्रह
गरेर, मेरो शरणागत भएर, ज्ञानरुपी तपस्याबाट पवित्र अनेक भक्तहरुले मेरो प्रेणा
भक्ति प्राप्त गरिसकेका छन्।)
ये यथा मां
प्रपद्धन्ते तांस्तथैव भजाम्यहम्।
मम
वर्त्मानुवर्तन्ते मनुष्या: पार्थ सर्वश:।।११।।
(हे पार्थ, जुन
व्यक्तिहरुले जसरी मेरो भजन गर्छन, ममा समर्पित हुन्छन्, म पनि उनीहरूलाई त्यसै किसिमबाट फल दिन्छु
किनभने सम्पूर्ण व्यक्तिहरुले सबै किसिमबाट मेरो पथको नै अनुशरण गर्दछन्।)
काङ्क्ष्न्त:
कर्मणां सिद्धिं यजन्त इह देवता:।
क्षिप्रं हि मानुषे
लोके सिद्धिर्भवति कर्मजा ।।१२।।
(कर्मको फलको आशा
गर्नेहरुले यस लोकमा देवताहरुको पूजा गर्छन किनभने कर्मबाट उत्पन्न हुने फल छिट्टै
प्राप्त हुने गर्दछ।)
चातुर्वर्न्यं मया
सृष्टं गुणकर्मविभागश: ।
तस्या कर्तारमपि मां
विध्दयकर्तारमव्ययम् ।। १३ ।।
(गुण एवं कर्मको
विभाग अनुसार ब्राह्मण आदि गरेर चार प्रकारको वर्ण समूहहरुको श्रृजना मबाट नै भएको
हो। म तिनीहरुको कर्ता भए पनि तिमी म अविनाशीलाई अकर्ता नै मान।)
(नोट: मनुष्यको जाति
कुनै खास वंशमा लिएको आधारमा निर्धारित नभएर उसको प्रवृतिको अनुसार- ब्राह्मण,
क्षेत्रीय, वैष्य, सुद्र भएको हो।)
न मां कर्माणि
लिम्पन्ति न मे कर्मफले स्पृहा।
इति मां योSभिजानाति कर्मभिर्न स बध्यते।।१४।।
(म कर्ममा लिप्त हुन्न
किनभने कर्मफलमा मेरो इच्छा छैन। कर्मफल मेरो महत्वाकांक्षामा पर्दैन। जो
कर्मवेत्ताले मेरो यो तथ्य थाहा पाउँछ ऊ पनि कर्ममा आवद्ध हुँदैन।)
एवं ज्ञात्वा कृतं
कर्म पूर्वैरपि मुमुक्षुभि:।
कुरु कर्मैव
तस्मात्त्वं पूर्वै: पूर्वतरं कृतम्।।१५।।
(पूर्वकालीन मुमुक्ष समूह, मोक्षप्राप्त आत्माहरु,
ले पनि यस्तै थाहा पाएर लोक प्रवर्तनका
लागि कर्महरू गरे। त्यसकारण तिमी पनि प्राचनी पुरुषहरु द्वारा पुरातन कालमा गरिएका
अनुष्ठित कर्महरु नै गर)
किं कर्म किमकर्मेति
कवयोSप्यत्र मोहिता:।
तत्ते कर्म
प्रवक्ष्यामि यज्ञ्ज्ञात्वा मोक्ष्यसेSशुभात्।।१६।।
(कर्म के हो र अकर्म
के हो भनी छुट्याउँदा विद्वानहरु पनि भ्रमित हुन पुग्दछन्। त्यसकारण म तिमीलाई
त्यो कर्मतत्व भन्ने छु जसलाई थाहा पाएर तिमी यो अमंगलपूर्ण संसारबाट मुक्त
हुनेछौ।)
कर्मणो ह्यपि
बोद्धव्यं बोद्धयं च विकर्मण:।
अकर्मणश्र्च
बोद्धव्यं गहना कर्मणो गति:।।१७।।
(कर्म, बिकर्म र
अकर्मबारे थाहा पाउनु पर्दछ किनभने कर्मको तत्व निकै पर छ।)
नोट: कर्मका पेंचिला
कुराहरु बुझ्न निकै गार्हो छ। त्यसकारण कर्मलाई बुझ्नका लागि कर्म- गर्नु पर्ने
कार्य, बिकर्म- नगर्नु पर्ने कार्य र अकर्म- निष्कृय कार्य आदिलाई बुझ्न आवश्यक छ।
कर्मण्यकर्म य:
पश्येदकर्मणि च कर्म य:।
स
बुद्धिमान्मनुष्येषु स युक्त: कृत्स्नकर्मकृत्।।१८।।
(जसले कर्ममा अकर्म देख्छन् र अकर्ममा कर्म
देख्छन् ती मनुष्यमा बुद्धिमान् तथा योगी एवं समस्त कर्महरुका कर्ता हुन।)
यस्य सर्वे
समारम्भा: कामसंकल्पवर्जिता:।
ज्ञानाग्निदग्धकर्माणं
तमाहु: पण्डितं बुधा:।।१९।।
(जसका सम्पूर्ण
कर्महरु कामना र संकल्प रहित छन् तथा ती ज्ञान रुपि आगोमा जलिसकेका छन् तिनलाई
ज्ञानीहरुले पनि पण्डित भन्ने गर्दछन्।)
त्यक्त्वा
कर्मफलासंगं नित्यतृप्तो निराश्रय:।
कर्मण्यभिप्रवृत्तोSपि नैव किञ्चित् करोति स:।२०।।
(जसले कर्मफलमा
आसक्तिलाई परित्याग गरेका छन् र आफ्नो नित्य आनन्दमा पूर्णतृप्त छन् एवं योगक्षेम
आश्रयका लागि चेष्ट गर्दैनन् तिनीहरु कर्मफलमा प्रवृत भएर पनि केही गर्दैनन्।
निराशीर्यतचित्तात्मा
त्यक्तसर्वपरिग्रह:।
शरीरं केवलं कर्म
कुर्वन्नाप्नोति किल्बिषम्।।२१।।
(जसको चित्त र शरीर संयमित तथा जो कामनाशून्य छन्, जसले सम्पूर्ण भोग
सामाग्रीहरुको परित्याग गरिदिएका छन् यस्ता पुरुषहरुले केवल शरीर रक्षाका लागि
कर्म गरेता पनि पाप ग्रस्त हुँदैन्न।
यदुच्छालाभसन्तुष्टो
द्वन्दातीतो विमत्सर:।
सम: सिद्धावसिद्धौ च
कृत्वापि न निबध्यते।।२२।।
जो आपसे आप प्राप्त
वस्तुहरुको प्राप्तिबाट प्रशन्न रहन्छन, शितलता र ताप दिने किसिमका द्वन्द विषयमा
सहनशील रहन्छन्, इर्ष्या रहित एवं सिद्धि तथा असिद्धिमा सम भाव राख्छन् उनीहरुले
कर्म गरेता पनि बन्धनद्वारा बाँधिनु पर्देन।)
गतसंगस्य मुक्तस्य
ज्ञानवस्थितचेतस:।
याज्ञायाचरत: कर्म
समग्रं प्रविलीयते।।२३।।
(जो आशक्ति रहित
छन्, मुक्त भएका छन्, जसको मन ज्ञानमा स्थिर छ, इश्वरको आराधनका लागि कर्म अनुसारको
आचरण गर्दछन् यस्ता पुरुषहरुको सम्पूर्ण कर्म पुरै बिलीन हुन्छ र उनीहरुले अकर्म भाव प्राप्त गर्छन्। श्रेष्ठता प्राप्त गर्छन्।)
ब्रह्मार्पणं ब्रह्म
हविर्ब्रह्मग्नौ ब्रह्मणा हुतम्।
ब्रह्मैव तेन
गन्तव्यं ब्रह्यकर्मसमाधिना।।२४।।
(जुन यज्ञमा अर्पण
ब्रह्म छ, घृत र अन्य हवन सामाग्रीहरु पनि ब्रह्म छन्, अग्नि पनि ब्रह्मस्वरुप छ,
त्यस यज्ञमा ब्रह्मरुप पुरोहितद्वारा आहुति रुप क्रिया पनि ब्रह्म छ, ब्रह्मरुप
कर्ममा एकाग्रह चित्त त्यस व्यक्तिद्वारा ब्रह्म नै प्राप्त गरिने योग्य फल हो।)
नोट- जसले निष्ठा
सहित कार्य गर्दा प्रत्येक क्रियामा सत्य देख्छ उसले निश्चय पनि सत्य प्राप्त
गर्दछ। सत्य, श्रेष्ठता वा मोक्ष प्राप्त गर्न योग्य व्यक्ति पनि ऊ नै हो।
दैवमेवापरे यज्ञं
योगिन: पर्युपासते।
ब्रह्माग्नावपरे
यज्ञं यज्ञेनैवोपजुह्वति।।२५।।
(अन्य कर्यगोगीहरुले देवताको पूजन रुप देवयज्ञको
नै राम्रो गरी उपासना गर्दछन् र ज्ञानयोगीहरुले ब्रह्म रुप अग्निमा यज्ञद्वारा नै
यज्ञलाई आहुति प्रदान गर्दछन्।)
श्रोत्रादीनीन्द्रियाण्यन्ये
संयमाग्निषु जुह्वति।
शब्दादीन् विषयानन्य
इन्द्रियाग्निषु जुह्वति।।२६।।
(नैष्टिक ब्रह्मचारीहरुले मन्ह संयम रुप अग्नीमा
कर्ण आदि इन्द्रियहरुको आहुति दिन्छन् र गृहस्थहरुले इन्द्र रुप अग्निमा शब्द आदि
विषयहरुको आहुति दिन्छन्।
सर्वाणीन्द्रियकमार्णि
प्राणकर्माणि चापरे।
आत्मसंयमयोगाग्नौ
जुह्वति ज्ञानदीपिते।।२७।।
(केही योगीहरुले
ज्ञानद्वारा प्रकाशित आत्मसंयम योगरुप अग्निमा आफ्ना सवै इन्द्रियहरुका क्रिया र
प्राणका क्रियाहरुको आहुति दिन्छन्।)
द्रव्ययज्ञास्तपोयज्ञा
योगयज्ञास्तथापरे।
स्वाध्यायज्ञानयज्ञाश्र्च
यतय: संशितव्रता:।।२८।।
(आफ्ना कठिन नियमहरुको पालना गर्ने केही योगीहरुले
द्रव्ययज्ञ गर्छन्, केहीले तपयज्ञ, केहीले योगयज्ञ, कोहीले स्वाध्याययज्ञ, केहीले
भने ज्ञानयज्ञ गर्दछन्। यी सबै प्रयत्नशील व्यक्तिहरु तिक्ष्ण ब्रत गर्नेहरु हुन।)
अपाने जुह्वति
प्राणं प्राणेSपानं तथापरे।
प्राणापानगती
रुद्ध्वा प्राणायामपरायणा:।
अपरे नियताहारा:
प्राणान् प्राणेषु जुह्वति।।२९।।
(प्राणायाम
निष्ठव्यक्तिहरु अपानवायुमा प्राणवायुको आहुति दिन्छन्। यसै गरी प्राणवायुमा
अपानवायुको आहुति दिन्छन्। प्राण र अपानवायुको गतिलाई रोकेर प्राणायाम परायण
हुन्छन्। कोही संयमित व्यक्तिहरुले भने प्राणवायुमा प्राणवायुको आहुति दिन्छन्।
सर्वेSप्येते यज्ञविदो यज्ञक्षपितकल्पषा:।
यज्ञशिष्टामृतभुजो
यान्ति ब्रह्म सनातनम्।।३०।।
(यी सबै हवनकर्ताहरु जसले आहुतिको अर्थ बुझेका छन्
पापको परिणामबाट मुक्त हुन्छन् र अहुति- फल अमृतको स्वाद थाहा पाएर सनातन ब्रह्मको
नजिक पुग्छन्।
नायं लोकोSस्त्ययज्ञस्य कुतोSन्य: कुरुसत्तम।।३१।।
(हे कुरु वंशका
सर्वश्रेष्ठ, यज्ञ नगर्नेका लागि यो अल्प सुख विशिष्ठ मनु लोक त प्राप्त हुन
सक्तैन भने देवताहरुको बास भएको लोक त्यस्ताहरुले कसरी प्राप्त गर्न सक्लान?)
एवं बहुविधा यज्ञा
विततो ब्रह्मणे मुखे।
कर्मजान् विद्धि
तान् सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे।।३२।।
(अनेक यज्ञहरुको
विस्तृत बयान यस किसिमले वेदहरुद्वार गरिएको छ। तिमी तिनीहरुलाई कर्मबाट उत्पत्ति
भएको मान। यस किसिमले जानेर तिमीले मुक्ति प्राप्त गर्नै
छौ।
श्रेयान्
द्रव्यमयाद् यज्ञाज्ज्ञानयज्ञ: परन्तप।
सर्वं कर्माखिलं
पार्थ ज्ञाने परिसमाप्यते।।३३।।
(हे परन्तप पार्थ,
ज्ञानयज्ञ द्रवमययज्ञ भन्दा श्रेष्ठ छ किनभने समस्त कर्महरु अवेर्थरुप ज्ञानमा
समाप्त हुन्छ।)
तद्विद्वि
प्रणिपातेन परिप्रश्नेन सेवया।
उपदेक्ष्यन्ति ते
ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिन:।।३४।।
(तत्वदर्शी ज्ञानी
व्यक्तिहरुलाई तिमी दण्डवत, प्रणाम तथा सेवा र प्रश्न गरेर उनीहरुबाट ज्ञानहरु
प्राप्त गर। तिनीहरुले तिमीलाई ज्ञान दिने छन्।)
यज्ज्ञात्वा न
पुनर्मोहमेवं यास्यसि पाण्डव।
येन भूतान्यशेषाणि
द्रक्ष्यस्यात्मन्यथो मयि।।३५।।
(हे पाण्डव, त्यो
ज्ञानलाई जानेर तिमी पुन: मोहित हुने छैनौ। अनि त्यो ज्ञानको प्रकाशमा तिमीले
निखिल जीवलाई आत्मामा र अनन्तर म परमात्मामा देख्ने छौ।)
अपि चेदसि पापेभ्य:
पापकृत्तम:।
सर्वं ज्ञानप्लवेनैव
वृजिनं सन्तरिष्यसि।।३६।।
(यदि तिमी सम्पूर्ण
पापीहरु मध्ये पनि सर्वाधिक पापी हो भने यो ज्ञान रुपि नाउ चढेर पाप समुन्द्र नै
पार गर्न सक्छौ।)
नोट: यदि यो ज्ञानले
परिपूर्ण हुने हो भने विगत पाप कर्मको पश्चाताप गर्दै पछि गरिने कर्महरु प्रति
पुन्यकर्ता हुन सक्छौ। पाप र पुन्य कर्मप्रति तिम्रो स्पष्ट धारण बन्न सक्छ।)
यथैधांसि समिद्धोSग्निर्भस्मसात् कुरुतेSर्जुन।
ज्ञानाग्नि:
सर्वकर्माणि भस्मसात् कुरुते तथा।।३७।।
(हे अर्जुन, जसरी प्रज्वलित अग्नीले काष्ठ जस्ता
इन्धनहरुलाई जलाएर खरानी पारिदिन्छ त्यसै गरी ज्ञानरुपि अग्निले समस्त कर्मलाई
जलाएर शून्य पारिदिन्छ।
न हि ज्ञानेन सदृशं
पवित्रमिह विद्यते।
तत् स्वयं
योगसंसिद्धि: कालेनात्मनि विन्दति।।३८।।
(यस लोकमा ज्ञान
जतिको सदृश्य पवित्र अरु कुनै वस्तु छेन्। निष्काममा कर्मयोगमा सम्यकसिद्ध
व्यक्तिले त्यो ज्ञानलाई कालक्रमबाट स्वयं नै आफ्नो हृदयमा पाउन सक्छ।)
नोट: सम्पूर्ण
ज्ञानको उत्पत्ति यो लोकबाट नै हुन्छ। हरेक व्यक्तिले आफ्नो क्षमता र जिज्ञासा
अनुरुप आफूलाई आवश्यक र इच्छित ज्ञान पाउन सक्छ।)
श्रद्धावालँ लभते
ज्ञानं तत्पर: संयतेन्द्रिय:।
ज्ञानं लब्ध्वा परां
शान्तिमचिरेणाधिगच्छति।।३९।।
(श्रद्धबान जितेन्द्रिय तथा साधनपरायण
व्यक्तिहरुले ज्ञान प्राप्त गर्दछन् अनि ज्ञान प्राप्त गरेर संसार नाशरुपि श्रेष्ठ
शान्ति प्राप्त गर्दछन्।)
अज्ञश्र्चाश्रद्दधानश्र्च
संशयात्मा विनश्यति।
नायं लोकोSस्ति न परो न सुखं संशयात्मन:।।४०।।
(अज्ञानी,
श्रद्धाबिहीन र शंका गर्ने व्यक्तिको बिनास हुन्छ। शंका गर्ने व्यक्तिका लागि न त
यो लोक छ, न त परलोक नै छ, न त सुख नै छ।
योगसंन्यस्तकर्माणं
ज्ञानसञ्छिन्नसंशयम्।
आत्मवन्तं न कर्माणि
निबध्नन्ति धनञ्जय।।४१।।
(हे धनञ्जय, त्यस्ता
व्यक्तिहरुलाई कर्महरुले बाँध्न सक्तैनन् जसले निष्काम कर्मयोगद्वारा सन्यास विधि प्रयोग
गरेर कर्महरुलाई त्याग गरेको छ र ज्ञानको उपयोग गरेर संसयको परित्याग गर्दै आत्मस्वरुप
प्राप्त गरिसकेको छ।)
तस्मादज्ञानसम्भूतं
हृत्स्थं ज्ञानासिनात्मन:।
छित्त्वैनं संशयं
योगमातिष्ठोत्तिष्ठ भारत।।४२।।
(त्यसकारण हे भरतका वंशज,
भारत, अज्ञानताले जन्माएका तिम्रो मनमा स्थित शंकाहरुलाई ज्ञानरुपि तरबारले काट्दै
निष्काम कर्मयोगको शरण परेर युद्ध गर्ने तयार होउ।)
चौथो अध्यायको
व्याख्या
चौथो अध्यायमा भगवान् श्रीकृष्णले अर्जुनलाई योग
विज्ञानको बारेमा भन्नु भएको छ र साथै अर्जुनलाई केही अति नै महत्वपूर्ण कुराहरू
पनि प्रष्ट पार्नु भएको छ। खासगरी ज्ञानको बारेमा श्रीकृष्णबाट केही सर्वकालिक
सत्यहरू प्रस्तुत भएका छन्। श्रीकृष्णबाट आज्ञा हुन्छ- हे भारत, जब जब यो धर्तीमा
धर्मको नाश हुन्छ र अधर्मको अभ्यासमा विस्तार हुन्छ तब तब म मेरो नित्य सिद्ध शरीर
लिएर म यो धरतीमा प्रकट हुन्छु। म आफ्ना भक्त अर्थात साधुहरूको रक्षा गर्न तथा
दुष्टहरूको सर्वनाश गर्न म युग युग अर्थात प्रत्येक युगमा धर्म संस्थापनाको लागि,
न्याय दिनका लागि, जन्म लिने गर्दछु, प्रकट हुन्छु। भगवान्को यो भनाइको अर्थ यो
पनि के लाग्न सक्छ भने जब अधर्म र अत्याचारको असीमित किसिमले यो पृथ्वीमा विकास र
विस्तार हुन थाल्छ र त्यो विकास र विस्तारमा कुनै नियन्त्रण हुँदैन तब त्यो
सीमाहीन अधर्म र अत्याचारबाट स्वत: धर्म, न्याय र सदाचारको उत्पत्ति हुन्छ। डरको
एउटा निश्चित सीमा भित्र रहेर मात्र कुनै पनि व्यक्ति वा समाजले अत्याचार र अधर्म
सहन गर्द्छ तर जब त्यो डरको सीमा समाप्त हुन्छ तब त्यक्तिले कुनै पनि किसिमको
अत्याचार र अधर्मको सहन गर्न बन्द गर्दछ। त्यो व्यक्तिले डर र त्रासको सीमा उलङ्घन
गर्दछ। अर्थात सम्पूर्ण व्यक्तिहरू अत्याचार र अधर्मको विरोध गर्न स्वस्फूर्त
रुपमा सडकमा आउँछन्। त्यसकारण अत्याचारको समाप्ति स्वत: हुन्छ। अति गरिएको अत्याचारको
विरोध गर्न व्यक्तिहरू डर, भय त्यागेर, निर्भिक हुँदै बाहिर आउनु नै अधर्मको
समाप्तिका लागि भगवान आउनु सरह हो। माथि उल्लेख गरिएको भगवान् आगमनको प्रसङ्गलाई
यस किसिमबाट पनि लिन सकिन्छ। यसप्रकार गीताले सामान्य मनोविज्ञानको पनि व्यवस्थित
किसिमले व्याख्या गरेको छ।
यो संसारमा आएका जति सुकै ठूला तानाशाहहरू पनि
जनताको निडर संघर्षबाट फालिएका छन्, वा समयको गर्भमा हराएर गएका छन्। हिटलर,
मुसोलिनी, बोकासा, इदि अमिन, गद्दाफी, स्टालिन, जुलियस सिजर, सद्दाम हुसेन, पलपट,
फर्डिनान्ड मार्कोस, डुभालिएर, उ ने विन, अगस्तो पिनोचो, चङ्गेज खाँ, नेपोलियन
जस्ता तानाशाहहरूले संसारमा कुनै बेला समयलाई नै हल्लाइ दिएका थिए। समयलाई आफूले
चाहेको दिशा उल्टो घुमाइ दिएका थिए। तर पनि तिनीहरूको तानाशाही एवं अत्याचार
सीमाहीन वा दीर्घकालीन हुन सकेन। तिनीहरू न्यायद्वारा, जनताद्वारा फालिएर गए। यस
तथ्यको पुष्टि गर्न एउटा सानो घटनालाई उदाहरणको रुपमा लिन सकिन्छ। पलपटको शासनकाल,
जुन केवल चार वर्ष मात्र रह्यो, तर त्यो
चार वर्षे शासनकाल (१९७५-१९७९) मा पलपटले कम्बोडियामा विभिन्न तरिकाहरूबाट १५ लाख
जति व्यक्तिहरूको ज्यान लिएका थिए। तर त्यस्तो क्रूर तानाशाह पलपटको पनि अन्त भयो।
उसको त्यो अत्याचार सर्वकालिक हुन सकेन।
एक अर्को प्रसङ्गमा भगवान् भन्नु हुन्छ “गुण एवं
कर्मको विभाग अनुसार ब्राह्मण आदि गरेर चार प्रकारको वर्ण समूहहरूको सृजना मबाट नै
भएको हो। म तिनीहरूको कर्ता भए पनि तिमी म अविनाशीलाई अकर्ता नै मान।” भगवान्
श्रीकृष्णको यो भनाइबाट प्रष्ट के हुन्छ भने समाज विकासको
क्रममा वा आदि कालमा अथवा मानव सभ्यताले जंगली जीवन परित्याग गरेर कृषि कार्य गर्न
थाल्यो र कृषि कार्य गर्न नदीको आवश्यक्ता परेकोले नदीको किनारमा बस्न आरम्भ
गर्यो, सामुहिक रुपमा कार्य गर्न गाउँहरूको सृजना गर्यो तब वर्ण वा जातीय प्रथाको
शुरुवात भयो। आदि कालमा जातीय प्रथाको निर्माण व्यक्तिको प्रवृत्ति अनुसार भएको
थियो। पछि प्रवृत्ति अनुसार गरिएको त्यो विभाजनलाई व्याख्याकारहरूले आफ्नो सजिलोको
लागि कार्यको अनुसार जातीय विभाजन भएको भने। त्यसपछि त झन् सामन्ती, राजा र
रजौटाहरूको युगमा, आध्यात्मिक चेतनाको कमी भइ शक्तिको बोलबाल भएको युगमा,
स्वार्थीहरूले जातीय विभाजन वंश र जन्मको आधारमा भएको ठहर मात्र गरेनन् जातीय
विभाजनको यो नियमलाई समाजमा बलपूर्वक लादे। नागरिकहरूलाई र खास गरी कमजोर वर्गहरूलाई
जुन परिवारमा जन्म लिएको छ, जुन वंशमा जन्म लिएको छ त्येही वंश र परिवारसँग सम्बन्धित
हुन बाध्य पारे। खास परिवारमा जन्म लिए खास जातिको हुने निर्धारित गरिदिए। नियम
बनाए। यसरी स्वार्थीहरूदवारा परिवारमा जन्म लिएको आधारमा जाति प्रथाको सृजना भयो।
समाजमा अनेक किसिमका मथिल्ला र तल्ला जातिहरूको सृजना भयो। तल्लो जातिले माथिल्लो
जातिलाई आदर गर्नु पर्ने बाध्यात्मक सामाजिक नियमको निर्माण भयो। जातीय
प्रथाद्वारा समाजमा बौद्धिक एवं आर्थिक शोषण हुन प्रारम्भ भयो। तर गीतामा कहिं कतै,
कुनै खास वंशमा वा परिवारमा जन्म लिएको आधारमा यो वा त्यो जातिको हुने भनी उल्लेख
गरिएको छैन्। हुन पनि जातीय विभाजन केवल हिन्दु धर्म र समाजमा देखिन्छ। यस्तो जातीय
विभाजन क्रिस्चियन एवं इस्लाम समाज र धर्ममा देखिंदैन। क्रिस्चियन समाज त पूर्णतया
जाति विहीन छ। हिन्दु समाज पनि जाति विहीन हो तर स्वार्थीहरूले केवल आफ्नो
स्वार्थका लागि जातीय प्रथालाई जाँतो बनाएर कमजोर वर्गहरूको टाउकोमा राखे। टाउकोमा
यसरी जाँतो राख्नुको प्रमुख उद्देश्य नै कमजोरहरूलाई सर्वकालीन रुपमा थिच्नु थियो।
आफूले चाहना गरेको दिशामा हिँडाउनु थियो। धर्मको नाममा स्वार्थीहरूले पवित्र
हिन्दु धर्मलाई धमिलो मात्र होइन सीमित पनि पारे। तर यथार्थमा वर्ण वा जातीय विभाजन
प्रवृति वा बौद्धिक क्षमता अनुसार गरिएको हो।
हिन्दु धर्मलाई अपवित्र पार्नेहरूले हिन्दु
धर्मलाई जातीयताको मैलो कम्बल ओढाउने कार्य मात्र गरेनन् साथै भाषामा पनि अनेक
किसिमका फोहर पोत्ने काम गरे। भाषामा समेत वर्ग विभाजनको गन्ध मिसाए। तँ, तिमी,
तपाइँ र हजुर, बक्स्योस गरी सामान्य सम्बोधनलाई पनि व्यक्तिको आर्थिक, सामाजिक,
राजनैतिक हैसियत अनुसार सम्बोधन गर्नु पर्ने पारे। तथाकथित तल्लो जातिलाई सम्बोधन
गर्दा तँ भन्नु पर्ने र तथाकथित माथिल्लो जातिलाई सम्बोधन गर्दा हजुर, बक्स्योस
भन्नु पर्ने परम्परा लादे। हिन्दु समाजमा जाति प्रथा मात्र होइन, भाषाद्वारा पनि
समाजमा शोषण गर्न सिकाए। तर अन्य भाषाहरूमा यस्तो विभेद विरल देख्न पाइन्छ।
अंग्रेजी भाषामा साना, ठूला, आज जन्मेको बालकदेखि वृद्धसम्म, मन्त्री, प्रधानमन्त्रीदेखि
राष्ट्रपतिसम्मलाई पनि यु (you) भनेर
सम्बोधन गरे पुग्छ। क्रिस्चियन समाजमा भाषाद्वारा सामाजिक शोषण भएको देखिँदैन।
यस अध्यायमा कर्मलाई ज्यादै प्रधान मानिएको छ।
साथै कर्मलाई, कर्म- गर्नु पर्ने कार्य, बिकर्म- नगर्नु पर्ने कार्य र अकर्म- निष्कृय कार्य
गरी कर्मको विभाजन तीन किसिमबाट गरिएको पनि छ। केही नगर्दा पनि, निष्कृय रहँदा
पनि, व्यक्तिले केही गरिरहेको हुन्छ भनिएको छ। यो सर्वाधिक महत्वपूर्ण कुरा हो।
जसले कर्ममा अकर्म देख्छन् र अकर्ममा कर्म
देख्छन् ती मनुष्यहरूमा बुद्धिमान् तथा योगी एवं समस्त कर्महरूका कर्ता हुन् भन्दै
कर्म गर्दा कर्तापनको अहम् भाव नराखेर निस्वार्थी भइ कर्म गर्नु पर्दछ भनी मानव
समाजलाई सचेत पारिएको छ। यसै गरी पण्डितको परिभाषा पनि अति नै अर्थपूर्ण किसिमले
दिइएको छ। जसका सम्पूर्ण कर्महरू कामना र सङ्कल्प रहित छन् तथा जसका सम्पूर्ण
कामना र संकल्पहरू ज्ञान रुपि आगोमा जलिसकेका छन्, त्यस्ता विषेशताहरूले युक्त
व्यक्तिहरू पण्डित हुन् भनी यस अध्यामा प्रष्ट पारिएको छ। ब्राह्मणका सन्तान
ब्राह्मण वा पण्डितका पण्डितका सन्तान पण्डित हुने नभइ ज्ञानले युक्त व्यक्ति
पण्डित हुने भनी यस अध्यायमा छर्लंग परिएको छ। कर्ममा अकर्म देख्नु भनेको कुनै
कार्य गर्दा कर्तापनको भाव नराखि केवल उत्तरदायित्व निर्वाह गरेको छु भनी देख्नु र
अकर्मका कर्म देख्नु भनेको अरुका लागि भलाई गर्दा आफूले उपयोगी कार्य गरेको मान्नु
हो। अथवा आफ्ना इन्द्रियहरूको निर्देशनमा नचलेर, आँखा लोभिएर हेर्न खोजेको
अमर्यादित कुरा नहेरेर, जिभ्रोले मन पराएको तर शरीरलाई हानी पुग्ने वस्तु नखाएर,
कानले श्रवण गर्ने खोजेको गलत ध्वनी नसुनेर अर्थात यी कर्महरू नगरे अकर्मको स्थिति
(निष्कृय स्थिति) मा रहनुलाई पनि कर्म गरेको देख्नु भनिएको हो। अकर्ममा कर्म
देख्नु भनेको गतल कार्य नगरेर निष्कृय स्थितिमा रहनु भन्न खोजिएको हो। यसरी गीताका
उपदेशहरूले अनेक शिक्षाहरू दिएर निस्वार्थी र असल चरित्रवान् समाज निर्माण गर्न
खोजेको देखिन्छ।
चौथो अध्याय समाप्त
No comments:
Post a Comment