Wikipedia

Search results

Friday, September 22, 2023

Foreign Investment in Nepal: Hope and Hopelessness-Article-424

 नेपालमा विदेशी लगानीको सम्भावना: आशा र निराशा

नेपालमा विदेशी लागानीको पर्याप्त सम्भावना छ। मुख्यगरी नेपालको पर्यटन क्षेत्रमा विदेशी व्यापारीहरूले ठूलो रकम लगानी गर्न सक्ने देखिन्छ। नेपालको अर्थतन्त्र परिपक्व (matured) नभएकोले नेपाल उनीहरूको लागि लगानी गर्नका लागि अति आकर्षक लगानी–क्षेत्र हुन सक्छ। पहाडी क्षेत्रहरूमा पर्यटन पूर्वाधार विकासमा विदेशी लगानीकर्ताहरूले ठूलो रकम लगानी गरेर राम्रो मुनाफा पनि हात पार्न सक्छन्।

समाचार संस्था कान्तिपुरका अनुसार चालू आर्थिक वर्षको भदौमा ३ अर्ब ८ करोड १० लाख रूपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। चालू आर्थिक वर्षको साउनमा १३ अर्ब १३ करोड ६० लाख रूपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो। गत आर्थिक वर्षमा ३८ अर्ब ४० करोड ७५ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो।

अब नेपालमा कुन समयमा कति विदेशी लगानी प्राप्त भयो त्यसतर्फ हेरौं। लगानी प्रतिबद्धता र यथार्थमा भएको लगानी रकमबीच तुलना गरौं–

चालू आर्थिक वर्षको साउनमा खुद विदेशी लगानी २ अर्ब ६४ करोड ६२ लाख रूपियाँ मात्र आयो। तर सोही अवधिमा विदेश लगानी प्रतिबद्धता भने १३ अर्ब १३ करोड ६० लाख आएको थियो। अर्थात् प्रतिबद्धताभन्दा १० अर्ब ४८ करोड ९८ लाख विदेशी लगानी कम आएको (प्राप्त भएको) थियो।

यसैगरी आर्थिक वर्ष ०७८–७९ मा १९ अर्ब २१ करोड ९० लाख रूपियाँ विदेशी लगानीको रूपमा नेपाल भित्रिएको थियो। तर सो अवधिमा ५४ अर्ब १५ करोड रूपियाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो। यसरी प्रतिबद्धताभन्दा ३४ अर्ब ९३ करोड १० लाख रूपियाँ कम प्राप्त भएको थियो।

माथिका सङ्ख्याहरूले एउटा तथ्य सबैले सजिलै बुझ्नेगरी के भन्छन् भने नेपालमा जुन सङ्ख्या वा जति विदेशी व्यापारीहरूले लगानी गर्ने प्रतिबद्धता जाहेर गर्छन् त्योभन्दा निकै कम लगानी प्राप्त हुँदो रहेछ। अर्थात् नेपाल विदेशी व्यापारीहरूका लागि लगानी गर्न सकिने एउटा आकर्षक क्षेत्रको रूपमा परिचित एवं विश्वस्त हुन सकेको छैन। विदेशी व्यापारीहरूले नेपालमा लगानी गर्दा पूर्ण विश्वासका साथ गर्दा रहेन छन्। उनीहरूको मनमा अनेक शङ्का–उपशङ्काको प्रतिक्रिया हुँदो रहेछ।

अपेक्षाकृत परिमाणमा किन विदेश लगानी प्राप्त भइरहेको छैन?

यो प्रश्नको उत्तर अति सरल छ। नेपालका राजनीतिक दलहरूमा नेपालको आर्थिक विकासको लागि साझा धारणाको सर्वथा अभाव छ। अहिलेसम्म यी राजनीतिक दलका नेताहरूबीच साझा धारणा निर्माण हुन सकेको छैन। यी दलहरूबीच राजनीतिक दर्शन, धारणा, कार्यक्रम, योजना फरक भए तापनि देशको आर्थिक विकासको लागि भने साझा धारणा हुन आवश्यक छ। साझा धारणा नबनेसम्म नेपालमा विदेशी लगानी त परको कुरा, राष्ट्रिय स्तरबाट पनि ठूलो लगानी प्राप्त हुन कठिन छ। राजनीतिक दलका यी नेताहरूबीच एउटा साझा धारणा नभएकोले देशभित्र नै पनि, स्वदेशी लगानीकर्ताहरू लगानी गर्न सशङ्कित छन्। 

निष्कर्षः नेपालमा राजनीतिक दलका नेताहरूबीच देशको आर्थिक विकासबारे एउटा साझा धारणा नभएकोले नेपालमा विदेशी लगानी आउन कठिन भइरहेको छ।

नेपालको राजनीतिमा कम्युनिस्टहरूको अति प्रभाव भएको कारण पनि नेपालमा विदेशी लगानी आउन कठिन भइरहेको छ। नेपालका कम्युनिस्टहरू राष्ट्रिय राजनीतिमा यतिसम्म बलियो एवं प्रभावशाली छन् कि अल्पमतमा रहेर पनि सरकारको नेतृत्व गर्ने क्षमता राख्छन्। षड्यन्त्र, जालझेल, दाउपेचमा, रणनीति निर्माणमा पनि यिनीहरू निकै अगाडि छन्। यो कारणले गर्दा नै पुष्पकमल दहालको नेतृत्वमा, उनको दल अल्पमतमा रहे पनि, नेकपा माओवादी सरकार गठन भएको छ। सानो दलको नेतृत्व गरेर पनि पुष्पकमल प्रधानमन्त्री हुन सफल भएका छन्।

विश्व–अर्थ व्यवस्थाको विश्लेषण गर्ने हो भने ठूलो पूँजी पश्चिमी राष्ट्रहरूको हातमा छ। त्यहाँका व्यापारीहरूले ठूल्ठूला उद्योगमा लगानी गर्ने क्षमता राख्छन्। विदेशी कम्पनीहरूमा ठूलो परिमाणमा रकम लगानी गर्न सक्ने क्षमता राख्छन्। अर्कोतिर पश्चिमा राष्ट्रका सरकारहरू प्रजातन्त्रिक सरकार भएकाले उनीहरूले कम्युनिस्टहरूले नेतृत्व गरेको सरकारलाई शङ्काको नजरले हेर्छन्। कम्युनिस्टहरूले नेतृत्व गरेको सरकारलाई पत्याउँदैनन्। नेपालको राजनीतिमा जहिले पनि कम्युनिस्टहरूको वर्चस्व रहेको साथै काङ्ग्रेसलाई पनि आफूले चाहेको दिशामा डोर्याउन सक्ने क्षमता कम्युनिस्टहरूसँग रहेकोले पश्चिमा राष्ट्रका व्यापारीहरूले मन खोलेर नेपालमा लगानी गर्न सकेका छैनन्। कम्युनिस्ट (पुष्पकमल) ले काङ्ग्रेस शेरबहादुर) लाई आफ्नो पछि लगाउन सक्ने क्षमता रहेको स्थितिलाई पश्चिमा व्यापारीहरूले बडो सतर्कताका साथ हेरिरहेका छन्।

विगत केही दशकदेखि नेपालको राजनीतिमा एउटा अचम्मको परिदृश्य देखिएको छ। त्यो परिदृश्य के हो भने कम्युनिस्ट (मुख्यगरी माओवादी) मदारी बनेको छ भने अरू दलहरू बाँदर। अन्य सबै दल कम्युनिस्टको इशारामा बाँदर जस्तो नाचिरहेका छन्। अन्य दलहरू आफ्नो प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श बिर्सेर शक्ति र सत्ताको लागि माओवादीको इशारामा बाँदरजस्तो नाचिरहेका छन्। यो विशिष्ट र अनौठो स्थिति विदेशी लागनीकर्ताहरूको लागि अनुकूल नभएकोले नेपालमा लगानी गर्न उत्सुक भइरहेका छैनन्। नेपालको राजनीतिमा कम्युनिस्टहरू वर्चस्व रहेसम्म नेपालमा विदेशी लगानी न्यून मात्र हुनेछ।

नेपाल विकासशील राष्ट्र भएकोले यसलाई विकास एवं निर्माणको लागि ठूलो परिमाणमा पूँजी आवश्यक छ। नेपाललाई आवश्यक पर्ने ठूलो पूँजीका लागि दुईवटा स्रोत अति भरपर्दो हुन सक्छ। पहिलो स्रोत हो– स्वदेशी व्यापारीहरूबाट लगानी। दोस्रो, विदेशमा बस्ने नेपालीहरूबाट लगानी।

नेपालका राजनीतिक दलहरूले माथि भनिएका दुवै स्रोतको राम्रो उपयोग हुने आर्थिक नीति तथा कार्यक्रम तर्जुमा गर्न आवश्यक छ। सोही अनुरूप ऐन र कानून बनाउन आवश्यक छ। नेपालमा, विदेशमा बस्ने नेपालीहरूलाई, लगानी गर्न सजिलो होस् भन्ने किसिमबाट संविधान संशोधन गर्न पनि आवश्यक छ। केवल चुनावमा उम्मेदवार हुन तथा भोट हाल्न नपाउने गरी, विदेशमा बसेका नेपालीहरूलाई, सरकारले दुई देशको नागरिकता दिन आवश्यक छ।

विदेशमा बसेका नेपालीहरूलाई दोहरो (आफू बसेको देश र नेपालको) नागरिकता दिने व्यवस्था नेपालले गर्नासाथ नेपालमा विदेशी लगानी वृद्धि हुन्छ। देशभित्र ठूलो परिमाणमा लगानीको लागि नेपालले विदेशी लगानीकर्ताहरूको मुख ताक्नुपर्दैन।

हाम्रो आन्तरिक (स्वदेशी) बजार बलियो हुनेगरी हामीले बाह्य लगानीको उपयोग गर्नुपर्छ। छेउमा चीन र भारत जस्ता बृहत् अर्थ व्यवस्था भएका राष्ट्रहरूलाई हामीले वस्तुहरू निर्यात गरेर मुनाफा प्राप्त गर्न सक्ने सम्भावना ज्यादै न्यून छ। त्यसकारण केही सीमित वस्तु, जसको बलियो प्रतिस्पर्धात्मक क्षमता छ, त्यस्ता वस्तु मात्र उत्पादन गरेर विदेशी बजारहरूमा बिक्री गर्न आवश्क छ। यसै गरी राष्ट्रभित्र खपत हुने वस्तुहरूको उत्पादन गर्न जोड दिन आवश्यक छ।

राष्ट्रको आर्थिक विकासका लागि स्वदेशी लगानी एवं विदेशी लगानीको महत्वपूर्ण भूमिका तपसीलका कुराहरू हुन्। मुख्य कुरा त नेताहरूको चरित्र हो। उनीहरूको चरित्रमा देखिएको इमानदारीको क्षयीकरण हो। राष्ट्रको स्वार्थभन्दा आफ्नो स्वार्थलाई महत्व दिने उनीहरूको बेइमान नियतको कुरा हो।

नेताहरूले के गर्ने त?

अर्थ व्यवस्थाको सम्बन्धमा महत्वपूर्ण निर्णय लिने निकायहरूमा नेताहरूले विज्ञहरूलाई पठाउनुपर्छ। पार्टीका कार्यकर्ता पठाउन बन्द गर्नुपर्छ। आफ्नो झोले कार्यकर्ताहरूलाई पठाउन बन्द गर्नुपर्छ। सरकार बनाउँदा, कुनै व्यक्ति कुनै पार्टीको महत्वपूर्ण पदमा छ भन्दैमा ऊ नै वाणिज्यमन्त्री, ऊ नै अर्थमन्त्री, ऊ नै उद्योगमन्त्री हुने कार्य तत्काल बन्द गर्नुपर्छ। झोले कार्यकर्ता वा नेता वा अध्यक्ष महत्वपूर्ण मन्त्रालयको मन्त्री हुने व्यवस्था तत्काल बन्द गर्नुपर्छ।

अहिलेको लागि नेताहरूले यति मात्र गरिदिए पनि नेपालको अर्थ व्यवस्था, जुन कछुवा चालमा छ, त्यसले राम्रो गति समात्ने छ। हामीले देशको आर्थिक विकास गर्नका लागि विदेशी लगानीको मुख ताक्नै पर्दैन, जापान, अमेरिका, क्यानाडा आदिले गरेझैं।





विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, September 22, 2023

https://eprateekdaily.com/2023/09/21/56696/ 

1 comment: