चीनको चिन्ता
विश्वको
दोस्रो ठूलो अर्थतन्त्र चीन अहिले चिन्तामा छ। चिन्ताका अनेक कारण छन्। तर प्रमुख
कारण भने आर्थिक हो। कमिलालाई आफ्नै टाउको भारी, हात्तिलाई आफ्नै टाउको भारी भन्ने उखान चीनको सन्दर्भमा लागू हुँदैन।
चीनको ठूलो टाउको उसलाई साँच्चीकै अहिले भारी भएको छ। चीनमा अहिले पनि गरीबी छ, भारतजस्तै। चीनको ४० प्रतिशत जनसङ्ख्या
अहिले पनि ग्रामीण क्षेत्रमा बसोवास गर्दछ।
अमेरिकापछि, चीन विश्वको दोस्रो ठूलो महाशक्ति भए
तापनि चीनको (२०२३ अनुमानित) प्रतिव्यक्ति आय १३,७२१ डलर छ। जबकि अमेरिकाको (२०२३ अनुमानित) प्रतिव्यक्ति आय ८०,३५,००० डलर रहेको छ। चीनको कुनै खास वर्ग ह्वात्तै धनी भएको हो। र त्यो
कारणले गर्दा चीन धनी देखिएको हो। चीनमा बहुसङ्ख्यक व्यक्ति अहिले पनि गरीब छ, भारतजस्तै। भारतको जस्तो चीनमा स्लम
(झोपडपट्टी) हरू न भए तापनि चीनको १३ प्रतिशत जनसङ्ख्या अहिले पनि गरीबीको
रेखामुनि छ। गरीबीको रेखामुनि रहेका व्यक्तिहरूको प्रतिदिनको आय ५.५ डलर मात्र छ।
चीनमा
आर्थिक सङ्कट लम्बिएमा, जनतामा
असन्तोष मच्चिएमा,
चीनको
राजनीतिक व्यवस्था नरारी हल्लिने स्थिति हुन सक्छ। हुनत आजभन्दा तीन चार दशक पहिले
नै चीनको राजनीतिक व्यवस्था हल्लिसकेको थियो। देङ सिआओपेड्ढा आर्थिक सुधारका
कार्यक्रमहरू न आएको भए, चीनको
अर्थ व्यवस्थामाथि चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणलाई चिनियाँ कम्युनिस्ट
नेताहरूले खुकुलो नपारेको भए चीनको कम्युनिस्ट राजनीतिक व्यवस्था सोभियत रूसजस्तो
धराशायी भइसकेको हुन्थ्यो। सम्पत्तिमाथि निजी स्वामित्व, धन आर्जन र लगानी गर्न छुट, अहस्तक्षेपकारी आर्थिक नीतिजस्ता
आर्थिक सुविधाहरू चिनियाँहरूले उपयोग गर्न पाएको हुनाले चीनको कम्युनिस्ट
व्यवस्थाले निरन्तरता पाएको हो। अर्थतन्त्रमा पूर्ण समाजवाद वा कम्युन प्रणाली
स्थापना गर्नासाथ चीनको कम्युनिस्ट व्यवस्था समाप्त हुन्छ। चीनको जनताले उदारवादी
अर्थतन्त्रको स्वाद चाखिसकेको छ, राजनीतिक स्वतन्त्रताको स्वाद नचाखे तापनि।
चीन
अहिले छटपटिएको छ। उसको यो छटपटीले कहिले उसलाई ब्रिक्स काँधमा बोक्न र परम्परागत
शत्रु भारतको नजिक पुग्न निर्देशित गर्दछ भने कहिले अफ्रिकी देशहरूमा आफ्नो बजार
विस्तारित गर्न आदेश दिन्छ। चीनले अहिले दक्षिण अमेरिकी देशहरूमा पनि व्यापार
विस्तारका सम्भावनाहरूको खोजी गरिरहेको छ। चीन अहिले चिन्तित छ। खासगरी कोभिड–१९
ले चीनको अर्थतन्त्रलाई नराम्ररी प्रभाव पार्यो। दौडिरहेको चीनलाई सुस्तरी हिंड्ने
स्थितिमा पुर्यायो।
चीन
किन छटपटिएको छ? किन चिन्तित छ? के होला चिन्ताको कारण?
चीनको
आर्थिक वृद्धिदर अहिले ह्वात्तै घटेको छ। युवाहरू ठूलो सङ्ख्यामा अहिले बेरोजगारी
देखिएका छन्। विदेशी लागानी ओ¥हालो लागेको छ। निर्यात कम भएको छ। बजारमा चिनियाँ मुद्रा कमजोर भएको
छ। रियलस्टेट क्षेत्र सोचनीय हुन पुगेको छ। घर र जग्गाको मूल्य घटेर चिनियाँहरू
अत्तालिएका छन्। भोलि के होला भन्ने भयबाट चिन्तित भएर लगानीभन्दा बचतमा जोड
दिइरहेका छन्।
आर्थिक
विकासको दौडमा चीन अग्र पङ्क्तिमा थियो। सन् १९८९ देखि चीनको आर्थिक विकास
प्रतिवर्ष ९ प्रतिशतको हाराहारीमा थियो। अहिले भने स्थिति फेरिएको छ। चीनको आर्थिक
विकास, सन् २०२३ मा ५ प्रतिशतको हाराहारीमा
रहने अनुमान गरिएको छ। यो स्थितिले चीनको आर्थिक विकास तलतिर जान थालेको सङ्केत
गर्दछ।
अहिले
भारत जनसङ्ख्याको हिसाबले विश्वको सर्वाधिक ठूलो राष्ट्र भएको छ। जनसङ्ख्या
वृद्धिमा भारतले चीनलाई पनि जितेको छ। चीनको वर्तमान (सन् २०२३) जनसङ्ख्या १ अर्ब
४२ करोड ५६ लाख छ भने भारतको जनसङ्ख्या १ अरब ४२ करोड, ८६ लाख छ। चीनमा जनसङ्ख्या वृद्धिदर कम
भएकोमा चिनियाँहरूको लागि खुशीको कुरा पनि हुन पुगेको छ, दुःखको कुरा पनि हुन पुगेको छ। चिनियाँ
जनसङ्ख्यामा प्रौढ उमेरका व्यक्तिहरूको सङ्ख्या बढी हुन पुगेको छ भने युवाहरूको
सङ्ख्या तुलनात्मकरूपमा कम भएको छ। जनसङ्ख्या वितरणको यो संस्थितिले वर्तमानमा नै
चीनमा जनशक्तिको अभाव देखिएको छ भने भोलिका दिनमा चीनमा युवा जनशक्तिको स्थिति
कस्तो होला? यो कारणले पनि चीन चिन्तित हुनुपर्ने
स्थिति उत्पन्न भएको छ। जापानमा पनि अहिले सक्रिय जनसक्तिको अभाव छ। स्थिति गम्भीर
छ। उमेर पुगेका व्यक्तिहरूको सङ्ख्या धेरै भएर, १०० वर्षभन्दा बढी बाँच्ने नागरिकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएर, जापानमा अहिले युवा जनशक्तिको अति नै
खाँचो देखिएको छ।
गएका
वर्षहरूमा जनसङ्ख्यामा युवाहरूको सङ्ख्या ठूलो भएको कारणले गर्दा चीनले कम लागतमा
विभिन्न वस्तु उत्पादन गर्ने क्षमता प्राप्त गरेको थियो। अर्थात् चीनमा श्रम लागत
कम थियो। तर अब त्यो स्थिति बिस्तारै प्रतिकूल हुँदै गएको छ। चीनमा एकातिर उमेर
पुगेका व्यक्तिहरू सङ्ख्या वृद्धि भएको छ भने अर्कोतिर जनसङ्ख्या वृद्धि दरमा कमी
आएको छ। सामाजिक संरचनामा यी दुई कुराहरूले सकारात्मक प्रभाव पार्ने भए तापनि
आर्थिक विकासका लागि भने यी दुवै कुरा चीनको लागि सुखद होइन।
अब
चीनले के गर्ला?
मौजुदा
आर्थिक स्थितिबाट चिन्तित भएको चीन अब अनेक आर्थिक रणनीतिको साथमा आक्रामक किसिमले
अन्तर्राष्ट्रिय बजारमा सक्रिय हुनेछ। चीनलाई यस्तो गर्न सजिलो पनि छ। चीनमा
प्रजातन्त्र नभएको र राजनीतिक व्यवस्था पनि केन्द्रीय नियन्त्रणमा रहेकोले चीन
सरकारले ल्याउन अनेक आर्थिक सुधार कार्यक्रम विनारोकटोक कार्यान्वयन हुनेछ । चीनले
अब बजार पनि विस्तार गर्नेछ। तर यी सबै कुरा हुँदाहुँदै पनि चीनको चिन्ता भने यति
छिटै समाप्त हुने देखिंदैन। विकासशील राष्ट्रहरू जसले चीनबाट ठूलो परिमाणमा आयात
गर्छन् उनीहरूले आयात कम गर्ने सम्भावना छ। उनीहरू आफैं आर्थिक रूपमा सक्षम हुन
थालेकाले उनीहरूले निर्यात बढाउनेतिर जोड दिनेछन्। उत्पादन लागतमा हुने वृद्धिले
पनि चीनलाई सताउने सम्भावना उत्तिकै प्रबल छ।
चीनको
आर्थिक स्थिति कमजोर हुँदा विश्व अर्थ व्यवस्थामा कस्तो प्रभाव पर्ला?
चीनको
अर्थ व्यवस्था कमजोर भएमा त्यसले विश्व अर्थ व्यवस्थामा पक्कै पनि प्रतिकूल असर
पार्नेछ। चीनले सस्तोमा सामानहरू उत्पादन गर्दछ। सस्तोमा सामान उत्पादन गर्न सकेको
हुनाले नै विकासशील राष्ट्रका उपभोक्ताहरू अनेक किसिमका सामान उपयोग गर्न पाएका
छन्। उदाहरणका लागि नेपालमा उपलब्ध चाइनिज सामानहरू नेपालीहरूको क्रयशक्तिले खरीद
गर्नु सक्नुको कारण नै चाइनिज सामानहरू सस्तो हुनुले गर्दा हो। अर्को किसिमले
भन्ने हो भने चाइनिज सामान तुलनात्मक रूपमा सस्तो भएको हुनाले नै नेपालीहरूले
सजिलै चाइनिज सामान वा घर घरायसीका अत्यावश्यक सामान खरीद गर्न सकेका हुन्।
त्यसकारण चीनको आर्थिक स्थिति खस्किनु विकासशील राष्ट्रहरूको हितमा छैन। नेपालको
हितमा त छैन नै,
उल्टो
चीनको आर्थिक स्थिति खस्केमा नेपालमा महँगी बढ्ने खतरा छ। चीनको आर्थिक स्थिति
खस्किनु विकसित वा धनी राष्ट्रहरू अमेरिका, क्यानाडा, अस्ट्रेलिया, ब्रिटेन आदिको हितमा पनि छैन। चीनमा
उत्पादन लागत सस्तो भएकोले विकसित राष्ट्रहरूले पनि सस्तोमा चीनबाट अनेक उपभोक्ता
सामग्री खरीद गर्न पाएका छन्।
चीनले
अहिले ‘पावर हाउस’ को भूमिका निर्वाह गरिहेको छ। पावर हाउसको कुनै यन्त्र खराब
हुनु विश्व अर्थ व्यवस्थाको लागि राम्रो होइन।
तर
एउटा कुरा के सत्य हो भने अब आउने वर्षहरूमा चीनले चमत्कारी किसिमले आर्थिक विकास
भने गर्ने छैन। चीन जुन गतिमा विकास पथमा दौडिने छ, सोही गतिमा चीनलाई विकास–बाधा हरूले पछ्याउने छन्। यो स्थिति
निस्सन्देह देख्न सकिने छ।
Bishwa R Adhikari
akoutilya@gmail.com
Published in Prateekdaily on Friday, September 08, 2023
https://eprateekdaily.com/2023/09/07/56280/
No comments:
Post a Comment