नयाँ समीकरण र आर्थिक विकास
समय र
शक्ति कहिले पनि स्थिर हुन सक्तैन। जसरी समय परिवर्तन हुन्छ त्यसैगरी शक्ति पनि
परिवर्तन हुन्छ। शक्ति एक स्थान, केन्द्र
वा व्यक्तिबाट अर्को स्थान,
केन्द्र वा व्यक्तिमा सर्छ। शक्ति
न्यायिक हुन सक्यो भने केही समयसम्म कुनै स्थान वा व्यक्तिमा स्थिर हुन सक्छ। वा
चिरकालसम्म पनि स्थिर हुन सक्छ। तर अन्यायी भयो भने त्यसको शीघ्र पतन हुन्छ। अहिले
नेपालमा त्यही भइरहेको छ।
अहिले
नेपालमा एउटा शक्तिको उदय भएको छ। अर्को शब्दमा भन्ने हो भने शेरबहादुर देउवा र
खड्गप्रसाद ओलीले अनेक जालझेल, भ्रष्टाचार, षड्यन्त्र, गरेर आफ्नो पक्षमा राख्न सफल भएको जनमत
शक्ति अहिले रवि, बालेन र कुलमानको एकतातिर सरेको छ।
अर्थात् एउटा नयाँ शक्तिको उदय भएको छ। पुरानो शक्ति पतनको दिशातर्फ उन्मुख भएको
छ।
ओली र
देउवालाई के लागेको थियो भने उनीहरूको स्वार्थ–केन्द्रित एकता चिरकालसम्म चल्नेछ।
उनीहरूको एकताले राज्यशक्ति सदा उनीहरूको हातमा राखिराख्न मदद गर्नेछ। त्यस्तो
सम्भव थियो। यदि उनीहरूको एकताले न्यायिक कार्य गरेको भए उनीहरूको त्यो एकता वा
शक्तिले दीर्घ जीवन पाउने थियो। निष्पक्ष कार्य गरेको भए दीर्घ जीवन पाउने थियो।
तर उनीहरूले त्यो एकतालाई र त्यो एकताबाट प्राप्त राज्य शक्तिको चरम दुरुपयोग गरे।
आफूले प्राप्त गरेको त्यो राज्यशक्तिको केवल तीनवटा कार्य सुनियोजित किसिमले गर्न
उपयोग गरे। पहिलो, आफूले प्राप्त गरेको राज्यशक्तिको उपयोग
केवल आफू दुईको फाइदाका लागि गरे। अर्को शब्दमा भन्ने हो भने पटक–पटक
प्रधानमन्त्री हुनका लागि प्रयोग गरे। दोस्रो, आफूले
प्राप्त राज्यशक्तिको प्रयोग आफ्ना विरोधीहरूको दमन गर्न, मुख थुन्न र जेल पठाउनका लागि गरे। उदहारणका लागि उनीहरूले रवि
लामिछानेलाई लखेटेको लखेटै गरे। तेस्रो, आफूले
प्राप्त राज्यशक्तिको प्रयोग आफ्ना झोले, आसेपासे
र नातेदारहरूलाई उच्च पदमा पुर्याउन, उनीहरूले
गरेको भ्रष्टाचार ढाकछोप गर्न तथा उनीहरूलाई अनेक सुविधा उपलब्ध गराउनका लागि गरे।
ओली–देउवा
एकताको कारण उनीहरूमा रहेको राज्यशक्ति तथा जनमत शक्ति कमजोर हुनु वा रवि, बालेन र कुलमान एकतातिर सर्नुको प्रमुख आधारहरू नै माथि उल्लेख
गरिएका तीन कारण हुन्। यदि रवि, बालेन
र कुलमान–एकता राज्य सञ्चालनको क्रममा न्यायिक हुन सक्यो वा उनीहरूले एकतासम्बन्धी
सहमतिपत्रमा उल्लेख गरिएका कार्यहरू इमानदारीपूर्वक गरे भने ओली–देउवा शक्ति क्षीण
मात्र होइन, पतनसमेत हुनेछ। राष्ट्रिय राजनीतिमा, ओली–देउवाका कुकर्मका कारण, नेकपा–एमाले
र नेपाली काङ्ग्रेस कमजोर शक्तिको रूपमा रूपान्तरित हुनेछ।
ओलि, देउवा प्रवृत्तिका अन्य नेताहरूले पनि हेक्का के राखे हुन्छ भने
आफूसँग भएको शक्तिको दुरुपयोग गर्ने हो वा शक्तिको प्रयोग अन्यायिक कार्यमा गर्ने
हो भने त्यस्तो शक्तिको शीघ्र पतन हुन्छ। र त्यो खाली स्थान पूर्ति गर्न नयाँ
शक्तिको उदय हुन्छ। जनु अहिले नेपालमा भएको छ। एउटा नयाँ शक्तिको उदय भएको छ।
सतहमा रवि–बालेन–कुलमान एकता नयाँ शक्तिको रूपमा देखिएको छ। यो शक्तिको उदय
प्रकृतिको नियम अनुसार नै भएको हो।
यो
आलेखको उद्देश्य राजनीतिक विश्लेषण होइन। यो आलेखको उद्देश्य यो नयाँ समीकरण (रवि, बालेन र कुलमान–एकता) ले नेपालको अर्थ व्यवस्थामा पार्न सक्ने
प्रभावको पूर्वानुमान गर्नु मात्र हो।
उदय
भएको यो नयाँ शक्ति (रवि,
बालेन, कुलमान–एकता) ले नेपालको आर्थिक विकासमा के कस्तो प्रभाव पार्ने छ
त्यो कुरा त अहिले नै भन्न सकिने स्थिति छैन। यो शक्तिको भरखरै मात्र उदय भएको छ।
भरखरै उदय भएको शक्तिले कार्य गर्ने अवसर नै पाएको छैन। उसले गरेको कार्य नहेरी, प्रारम्भमैं नकारात्मक टिप्पणी गर्नु उपयुक्त पनि हुँदैन। त्यस्तो
गर्नु पूर्वाग्राही हुनु हो। तर एउटा कुरा के भन्न सकिन्छ भने अब काङ्ग्रेस र
एमालेले एकता गरेर सरकार चलाउन र आर्थिक भ्रष्टाचार गर्न पहिले जस्तो सम्भव
हुनेछैन। ओली–देउवा स्वेच्छाचारितामा थोरै मात्रामा भए पनि अंकुश भने अवश्य
लाग्नेछ। मुख्यगरी, ओलीको ज्यादै ठूलो घमण्डको भकारीमा छिद्र
भने अवश्य पर्नेछ।
यो
नयाँ समीकरण वा यो नयाँ शक्तिको उदय वा नयाँ एकताले कमसे कम मुलुकमा व्याप्त
आर्थिक, पदीय वा अन्य किसिमको भ्रष्टाचारमा भने
अवश्य पनि कमी ल्याउने छ। नेका र एमालेलाई पहिलेजस्तो, मिलेर भ्रष्टाचार गर्न सजिलो हुनेछैन। यो नयाँ शक्तिले भ्रष्टाचार
नियन्त्रण गर्नेछ भनी आशा गर्ने ठाउँ प्रशस्त छ। उदाहरणका लागि काठमाडौंका मेयर
बालेन्द्र साहले ठूला ठूला आर्थिक उपलब्धिहरू हासिल त गरेनन्, तर आफ्नो कार्यकालभरि आर्थिक भ्रष्टाचार हुन दिएनन्। भ्रष्टाचारमा
आफू पनि संलग्न भएनन्, अर्कालाई पनि संलग्न हुन दिएनन्। आर्थिक
विकासको लागि यो ज्यादै महत्त्वपूर्ण कुरा हो।
नेपालमा
अहिले आर्थिक विकासका ठूला–ठूला कुरा गर्नेभन्दा, मात्र आर्थिक भ्रष्टाचार नियन्त्रण वा कम गर्ने नेताहरूको खाँचो छ।
नेपालको आर्थिक विकास गर्नका लागि, आर्थिक
विकासको गति तीव्र पार्नका लागि, मुलुकमा
व्याप्त रहेको आर्थिक र पदीय भ्रष्टाचार नियन्त्रण गरिदिए मात्र पुग्छ। अहिले
राष्ट्रको आर्थिक विकासको प्रमुख बाधक नै भ्रष्टाचार हो। यो नियन्त्रण नभएसम्म
देशको आर्थिक विकास सम्भव छैन।
नेपालमा
भ्रष्टाचार निर्मूल पार्न ज्यादै कठिन भने अवश्य छ। कठिन हुनुको कारण पनि छ।
भ्रष्टाचार हाम्रो संस्कार बन्न पुगेको छ। यसले सामाजिक मान्यता प्राप्त गरेको छ।
सानो रकममा घूस लिनुदिनुलाई अहिले पनि अपराध मान्ने चलन छैन। घूस दिएर काम फत्ते
पार्नुलाई सफलताको प्रतीक मानिन्छ। सानातिनो घूस लिएर कसैको कार्य गरिदिनुलाई
कसैलाई, कर्मचारी वा सम्बन्धित पक्षबाट, सहयोग गरिदिएको मानिन्छ।
भ्रष्टाचार
हाम्रो संस्कार हुन पुगेकोले यो समाप्त हुन समय त लाग्छ नै। तर अब पहिलेजस्तो न
कर्मचारीहरूलाई, न नेताहरूलाई भ्रष्टाचार गर्न सजिलो
हुनेछ। भ्रष्टाचारीहरूका शक्ति (नेका र एमालेका भ्रष्ट नेताहरू) पहिलेको जस्तो अति
शक्तिशाली अवस्थामा नरहेकाले त्यस्ता भ्रष्टाचारीहरूलाई अब भ्रष्टाचार गर्न कठिन
हुनेछ। अर्कोतिर नयाँ शक्तिले भ्रष्टाचार निर्मूल पार्छु भन्ने वाचा गरेकोले त्यस
शक्तिका संयन्त्रहरूलाई पनि भ्रष्टाचार गर्न कठिन हुनेछ। उनीहरू आफ्नै वाचाद्वारा
नियन्त्रित हुनेछन्। त्यस्तो गरेनन् भने अर्को निवार्चनमा पराजय बेहोर्नेछन्।
अब
बिचौलियाहरूलाई पनि काम गर्न पहिलेभन्दा कठिन हुनेछ। शक्ति र सत्तामा नभए तापनि, शक्ति र सत्तामा भएकाहरूलाई मोटो रकम दिएर आफ्नो काम फत्ते गराउने
बिचौलियाहरूको शक्ति पनि पहिलेभन्दा क्षीण हुनेछ। यता नयाँ शक्तिका कर्ताहरूले
बिचौलियाहरूलाई प्रश्रय नदिने घोषणा गरेका छन्।
राजनीतिक नाटकको एउटै दृश्य पटकपटक देख्दादेख्दा नेपाली मतदाताहरू थाकिसकेका थिए। ओली, देउवा, प्रचण्ड जस्ता सत्तालोलुपहरूलाई पटकपटक प्रधानमन्त्री भएको देख्दादेख्दा नेपाली मतदाताहरू थाकिसकेका थिए। अब भने त्यो स्थितिमा परिवर्तन हुनेछ। अब हुने निर्चाचन पछि, प्रधानमन्त्री (पहिलेका तीन–चार व्यक्तिहरू होइन) सर्वथा नयाँ व्यक्ति हुनेछ। जुनसुकै दलबाट होस्, तर त्यस दलको नयाँ व्यक्ति प्रधानमन्त्री हुनेछ। नयाँ प्रमबाट भ्रष्टाचार नियन्त्रण होला भनी आशा पनि गर्न सकिन्छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित: Friday, January 2, 2026
https://www.eprateekdaily.com/detail/96125
