Wikipedia

Search results

Friday, September 11, 2020

Interview with Khemraj Pokhrel


सकारात्मक सामाजिक परिवर्तनका पक्षधर-कथाकार खेमराज पोखरेल
हालै प्रकाशित कृति, कथासङ्ग्रह- 'पगाहा' का कृतिकार खेमराज पोखरेल सँग गरिएको कुराकानीमा पगाहालाई केन्द्रमा राखेर कुराकानी गरिएको थियो। कथाकार खेमराज पोखरेल र विश्वदर्पणका ब्लगर विश्वराज अधिकारी बिच भएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

 १. शिक्षण सेवामा लामो समय बिताउनु भयो । विभिन्न कलेजहरूमा अध्यापन गर्नु भयो। प्रध्यापन–अनुभव कस्तो रह्यो? 

– हार्दिक आभार विश्वराज सर । स्कुलमा एक वर्ष २०३८ सालमा खोटाङको दुर्छिम माविमा हेडमास्टरको जागिर खाएको कुरालाई गणना नगर्ने हो भने मैले २०४१ माघ १५ देखि २०७४ असार मसान्तसम्म लगभग ३३ वर्ष त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा इतिहास प्राध्यापन सेवामा बिताएँ । म अहिले जुन आर्थिक, सामाजिक, प्राज्ञिक धरातलमा जे–जस्तो उभिएको छु, त्यो त्रिभुवन विश्वविद्यालय हो । प्राध्यापन–अनुभव हृदयस्पर्शी रह्यो । प्राध्यापन गरेको हुँ भन्दा गौरव लाग्छ । जीवन सार्थक भएको महसुस हुन्छ यो क्षणले । 

२ कथा लेख्ने रुचि कसरी जागृत भयो?

– कथा लेख्ने रुचिभन्दा पनि साहित्यमा लाग्ने रुचिको कुरा हो । म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा प्राध्यापक पदको त्रिवि सेवा आयोग खुलेको थियो । म छनौटमा परिनँ । भित्रिया कुरा जे होला, तर मेरो दिमागले त्यो कुरालाई सेटिङ मिलाएर नदिइएको भन्ने लाग्यो । नलाग्नु पथ्र्यो, तर अझै लागिरहेको छ । यो एउटा सामान्य घटना मात्र हो । विशेष भने होइन, जसले मलाई पछिल्लो कालखण्डमा साहित्य लेखनमा अभिप्रेरित गर्यो। 

मेरो साहित्यमा रुचि बालखकालदेखि नै थियो । १० कक्षा पढ्दा एउटा उपन्यास नै लेखेको थिएँ । कविता त नोटकपीको पहिलो पेजमा लेख्ने गर्थेँ । तर ती अहिले मसँग छैनन् । २०३५ सालदेखिका लेखनी रहेछन् । त्यसैलाई मैले जस्ताको तस्तै रहर र लहडमा २०६६ सालमा कवितासङ्ग्रह र निबन्धसङ्ग्रह प्रकाशन गरिसकेको  थिएँ । जागिरको अन्तिम पनि हुन आँटेको थियो । रिटायर जिन्दगी कसरी काट्ने भन्ने चिन्ता एकरात दिमागभरि आयो । सुत्न नै सकिनँ । भोलिपल्टदेखि सघन रूपमा लघुकथा र कथा पढ्न थालेँ । नारायण तिवारीले स्थापना गर्नु भएको ‘लघुकथा कुनो’मा सक्रिय हुन थालेँ – पहिले पाठक, अनि लेखक, अनि एडमिन भएर । त्यसपछि नारायण तिवारीले स्थापना गर्नु भएको ‘कथा’ समुहमा आबद्ध भएँ । पढेँ । लेखेँ । र एडमिन भएँ । र कथा लेख्न मजा लाग्न थाल्यो । आफूलाई लागेका, अनुभूत गरेका घटना वा चिन्तनलाई मजाले खेलाएर लेख्न सकिने हुनाले मलाई कथा लेखन मन परेको हो । 

३ नेपाली साहित्यमा तपाइँको मन परेका कथाकारहरू को को हुन्?

– नेपाली साहित्यमा मलाई मनपरेका पुराना कथाकारहरू भन्न नै परेन । किनभने ती असाध्य मनपरेर पढिए । असाध्य दिल छोयो त्यसले । बिचको एउटा कालखण्ड गरिमा र मधुपर्कबाहेक अन्य सामग्री पढ्ने त्यति मेसो मिलेन । तथापि टल्सटोयको ४ भोलुम उपन्यास ‘युद्ध र शान्ति’ लगायत गोर्कीको ‘आमा’ उपन्यास पढेको हुँ । खास गरेर मधुपर्क र गरिमाको नियमित पाठक भएकाले करिव करिव सबै स्थापित कथाकारहरूका कथाहरू पढेकै हो । मनु ब्राजाकी त्यो मध्यपुस्ताका कथाकारमा निकै मनपर्ने कथाकार हुन् । इस्माली, नगेन्द्र शर्मा, किशोर पहाडी, नारायण तिवारी आदि मन पर्ने कथाकार हुन् । पुरानो तथा मध्यपुस्ताका कथाकारलाई छोड्ने हो भने अहिले वर्तमानमा आएर मलाई महेशविक्रम शाह, महेश थापा, सानु शर्मा, अनुपम रोशी, मन्दिरा मधुश्री, रामलाल जोशी आदिका कथाहरू असाध्य मन पर्छन। 

४ कस्ता कथाहरू लेखिनु पर्छ ? कथाकार स्वयंलाई मन परेका वा समाजले माग गरेका ?

– समाज भनेको अमूर्त चिज हो । समाजले जे पनि माग्दछ । समाजमा रहेका परम्परावादी, यथास्थितिवादी, प्रगतिशील र क्रान्तिकारी व्यक्तिको चेत फरक हुनाले समाजको माग फरक हुन्छ । त्यसकारण मेरो विचारमा कथाकारले आफूलाई अनुभूत भएका कुराहरू इमान्दारीपूर्वक लेख्ने हो जस्तो लाग्छ  । कथाकार पनि समाजको एउटा सदस्य भएकाले उसले गरेको अनुभूतिले समाज परिवर्तनमा पक्का पनि योगदान दिन्छ भन्ने मेरो ठहर छ । किनकि जुन समस्या कथाकारले बोकेको वा बुझेको हुन्छ, त्यो सामाजिक समस्या नै हुन्छ । कथाकारले समाजको प्रगति नै चाहेको हुन्छ । 

५ तपाइँका कथाहरूमा यौनको निकै चर्चा हुन्छ । यसै गरी तपाइँका कथाहरूले महिला(स्वतन्त्रता र महिला(हकमा नै जोड दिन्छन । यी कुराहरू नियोजित हुन वा कथाले माग गरेर आएका हुन?

समाजमा टाउकाको कुरा याने बुद्धिको कुरा, हृदयको कुरा याने सम्वेदनाको कुरा, पेटको कुरा याने भोकको कुरा, तथा पेटमुनिको कुरा याने यौनको कुरा सबैको महत्तव हुन्छ । अर्थ हुन्छ । पहिलो ३ वटा कुरामा छलफल गर्न, लेख्न, बोल्न समाजमा कुनै समस्या छैन । तर बराबर महत्त्व भएको यौनको कुरा लेख्न, बोल्न तथा प्रकाशन गर्न समाज त्यति उदार भएको छैन । यो चुनौतीको विषय हो । त्यसकारण मैले आफ्ना कथाहरूमा यो चुनौती स्वीकार गरेर लेख्ने गर्छु । याने कि म ४ वटै धारमा कथा लेख्छु । यौनका कथा लेख्ने भएकाले मेरा समकालीन पुस्ताको खप्की मैले खाएकै छु । 

मेरा कथामा महिलाका स्वतन्त्रता तथा हकमा जोड दिएको हुन्छु । किनभने म त्यो चाहन्छु । समाजमा महिलाले अझै पूर्ण मुक्त आकाश भेटेका छैनन् । यो सवालमा समाजमा महिला शतप्रतिशत हो, र पुरुष शतप्रतिशत हो भन्ने मान्यता राख्छु म । अर्धाङ्ग अर्धाङगिनी होइन । महिला र पुरुषको बिचको सम्मोहन केही ओपेन सेक्रेट स्वार्थको कारण हो । यो स्वार्थको इक्युलिब्रियम विवाह वा यौनसम्पर्क हो । यसोभन्दा प्रचलित मान्यताभन्दा फरक र स्वच्छन्द विचार भनिन्छ । परम्परावादी तथा यथास्थितिवादी समाजलाई यो कुरा मन नपर्न सक्छ । 

६ वर्तमानमा नेपालमा लेखिएका कथाहरूको स्तर कस्तो लाग्छ ? माथि उक्लेको वा तल झरेको ?

– कथाले समसामयिक समाजको प्रतिनिधित्व गरेको हुन्छ । पुरानो पुस्ताले लेखेका कथाहरू त्यो त्यही जमानाका सुन्दर र अग्रगामी सन्देशका कथा हुन् । त्यसको तुलना वर्तमानसँग हुन सक्दैन । समय जहिले पनि प्रगतिशील छ । त्यसकारण तुलना नगरी भन्ने हो भने सधैँ कथाको स्तर माथि उक्लेको पाउँछु म । कल्पना गर्नुस् त्योे जमानामा अत्यधिक चर्चित र सफल सरदार रुद्रराज पाण्डेयको ‘रूपमती’ टाइपको उपन्यास आज कसैले लेख्यो भने के होला ! जल्छ । संस्कृतज्ञले भानुभक्तले नेपाली लोकभाषामा लेख्दा साहित्यको स्तर खस्केको भनेकै थिए त ! त्यसकारण आजको नेपाली कथाको स्थिति समाजसापेक्ष भएर उक्लेको छ । बरु संसारको विषयवस्तुको तथा दृष्टिकोणको गतिमा पुगेको भने छैन । 

७ के पुरस्कृत कृति (केही निर्णायकहरूले यो कृति राम्रो छ भनेको आधारमा पुरस्कृत) मात्र लोकप्रिय हुन्छन् ?

– हुँदैनन् । हुनु पनि हुँदैन । तर अहिले प्रचार–प्रसार, प्रोपोगण्डा र होहल्लाको युग हो । तकनिकीको वृद्धिले पनि यो कुरा प्रमाणित गरेकै छ । त्यसैले नाम चलेका पुरस्कार पाएका पुस्तकहरू बढी लोकप्रिय हुन्छन् । लोक प्रिय हुनु र गुदी हुनु दुई भिन्न कुरा हुन् । लोक प्रिय हुँदैमा गुदी नहुन पनि सक्छ । गुदी हुँदैमा लोकप्रिय नहुन पनि सक्छ । फेरि पुरस्कार पाउने प्रक्रिया त साँघुरो घेराबाट निसृत हुन्छ । त्यो साँघुरो घेरामा आम पुस्तकको पहुँच नै कहाँ हुन्छ र ! म नाम नभनी भनूँ कि मैले एउटा मदन पुरस्कार प्राप्त कृति पढ्न नै सकिनँ र विसाएँ । 

८ नेपालमा पठ्न संस्कृतिको विकास गर्न के गर्नु पर्ला ?

– वर्तमान नेपाली साहित्यमा यति धेरै पुस्तक प्रकाशित भएका हुन्छन् कि ती चाहेर पनि पढ्न सकिन्न । पुस्तक प्राप्त गर्ने व्यापारी बाटो पनि निकै दुरुह छ । मान्छेले चाहेर पनि दुरदराजमा पुस्तक पाउन सक्दैन । यसै सन्दर्भमा सञ्जाल प्रविधिको बढोत्तरीले पुस्तक पढन संस्कृतिमा ह्रास आएको हो । त्यसकारण पठन संस्कृतिको विकास गर्न जमानासँग हिँड्ने साहित्य सिर्जना र जमानाको तकनिकी विकासको प्रयोगमा व्यापकता ल्याउनु पर्ला जस्तो लाग्छ । 

९ नेपालमा  र मुख्यगरी साहित्यको क्षेत्रमा कम पढ्ने धेरै लेख्ने चलन छ । यो कुरा सत्य हो ?

– साहित्यको क्षेत्रमा कम पढ्ने र धेरै लेख्ने चलन छ । यो कुरा पक्का हो । शुद्ध पाठकको त अभाव हुँदै गएको छ । सामान्यतया लेखकले नै बार्टर ट्रेड गरेझैँ पढ्ने र लेख्ने गरेका छन् जस्तो लाग्छ । यदि प्रश्नको आशय दुवैमा सम्बन्धको कुरा गर्ने हो भने पढ्ने र लेख्ने दुवै कुरा भिन्न हुन् । तर धेरै साहित्य पढेर ज्ञान हासिल गरेको लेखकको लेखौटमा पक्कापक्की सघन स्तरीयता आउँछ । त्यसो त लेखन हृदय, दिमाग र लगनको त्रिकोणात्मक स्पन्दनबाट निस्कन्छ । पढनका लागि इच्छा मात्र भए पुग्छ । 

१० तपाइँ आफू स्वयं कत्तिको पुस्तकहरु पढ्न हुन्छ । तपाईँले पढेका केही कृतिहरूको नाम भन्न सक्नु हुन्छ ? सन् २०१९ मा कुन कुन किताब पढ्नु भयो?

– म विभिन्न परिवेशीय कारणले कम पुस्तक पढ्ने गर्छु । जति पढ्छु गहन पढ्छु । त्यसको अन्तरकुन्तर पसेर पढ्छु । मन परे लेख्छु पनि । खास गरी म सामाजिक सञ्जाल लघुकथा कुनो, र कथा समुहमा पोष्ट भएका प्राय सबै पढ्छु । कसैले मलाई मेरो पुस्तक पढिदिनु भनेमा पढ्छु । साहित्यका सबै विधाका पुस्तक वा फुटकर रचना पढ्छु । तर मेरो साहित्य पठनको रुचि भनेको आख्यान हो । त्यसमा पनि लघुकथा र कथा हो। 

सन २०१९÷२०को अहिलेसम्ममा मैले लघुकथाका धेरै सङ्ग्रहहरू पढेँ । सबैभन्दा धेरै । लघुकथा समाजको ‘आजका लघुकथा’, विधान आचार्यको ‘कमाइ’, धनराज गिरीको ‘साथी’, ब्राजाकीका ‘छोटा कथा’, लक्ष्मण अर्यालको औँला, गायत्री चापागार्इँको साइत, गङ्गा कर्माचार्यको ‘मौन प्रश्न’, कथासङ्ग्रहका हकमा महेशविक्रम शाहको ‘भुइँ खाट’, मन्दिरा मधुश्रीको बुधनको घोडी, नन्दलाल आचार्यको उपन्यास ‘गरुराहा’, सुमी लोहनीको भावका तरङ्ग कथासङ्ग्रह, माया ठकुरीको ‘आमा जानुहोस्’ कथासङ्ग्रह आदि आदि । तारा केसी, सुनिल पुरी, रवीन्द्र भट्टराई तथा राधेश्याम भट्टराईका कवितासङ््र्हहरू, नारायण तिवारी र लक्ष्मी उप्रेतीका संस्मरणहरू लगायतका पुस्तकहरू पढेँ । यी प्रतिनिधि नाम मात्र हुन् । 

११ नेपाली साहित्यले विभिन्न भाषा ( अंग्रेजी, स्पेनिस, फ्रेन्च, अरबी, हिन्दी आदि) का बजारमा किन राम्रो स्थान पाउन सकेको छैन ?

–मलाई लाग्छ कि यसका प्रमुख दुई कारण छन् । पहिलो नेपाली भाषाका अब्बल साहित्यिक कृतिहरूलाई ती भाषाहरूमा उल्था गर्ने प्रवृृति, प्रज्ञा र चिन्तनको अभाव छ । फाट्टफुट्ट भएका होलान् । दोस्रो कुरा अन्य भाषामा उल्था हुने साहित्यिक सामग्रीमा कालजेयी विषयवस्तु हुनुपर्दछ । नेपाली परिवेशको कालजेयी मात्र भएर पनि पुग्दैन, विश्व चिन्तन हुनुपर्दछ । विश्वको ध्यान तान्ने किसिमको हुनुपर्दछ । त्यो कुरा भने सर्वथा अभाव छ । मैले मेरै नेपालमा अत्यन्त राम्रो भनिएको लघुकथा अङ्ग्रेजीमा उल्था गराउँदा, त्यसले अङ्ग्रेजीका पाठकको ५ प्रतिशत पनि ध्यान तान्न सकेन । यो भनेको विषयवस्तुको घेरा हो । 

१२ तपाइँ स्वयंले नेपाली साहित्यको विकासमा के योगदान पुर्याउनु भएको जस्तो लाग्छ?

मैले साहित्य सिर्जना गर्नुको भित्री आशय म आफ्नै सिर्जना हेरेर रमाउनु मात्र हो । जसरी आफ्ना सन्तान हेरेर आनन्द आउँछ, त्यसरी नै म आफ्ना कृतिहरू आफैँ पढेर रमाउँछु । मेरो आनन्दले निकालेको प्रभावले समाज वा नेपाली साहित्यमा योगदान पुर्याउला वा नपुर्याउँला भन्ने विषयमा मैले चाहे पनि नचाहे पनि द्रष्टादीर्घाले बोल्ने नै छन् । 

१३ समकालीन नेपाली कथा साहित्यमा के कस्ता समस्याहरू देख्नु हुन्छ ?

नेपाली साहित्यमा यतिबेला राष्ट्रिय पत्रिकामा छाप्ने प्रयोजनका लागि कथा लेख्ने एकथरि कथाकारहरू हुनुहुन्छ । कुनै खास अभिष्ट राखेर लेखिने कथाको खास स्तरीयता म मापन गर्न सक्दिनँ । अर्काथरि मैजस्ता रहरे र लहडे कथाकार पनि छन् साहित्यवृत्तमा । यसभित्र जानेर वा नजानेर इगो अगाडि आएको देखिन्छ । राम्रो भनिदिए खुसी, ठिक्कै भनिदिए बेखुसी । यो प्रभाव सामाजिक सञ्जालको हो । अर्कोतिर साहित्यकारका समुह छन् । ती आफ्नो ग्रिपभन्दा बाहिर साहित्यिक सत्ता नजाओस् भन्ने चाहन्छन् । यो पनि त समस्या नै हो नि । कथानकको विविधीकरणको समस्या नेपाली कथाले पनि बेहोर्दै छ । एउटै ढर्राको कथानकलाई ओल्टाइ–पल्टाइ गरेर लेख्ने पनि छन् । कथानकको विविधीकरण हुन नसक्नु अर्को समस्या हो । 

१४ नेपालमा ‘मेरो पढिदेऊ, तिम्रो पढ्दै गरौला’ भन्ने संस्कृति छ । यसमा सुधार कसरी गर्न सकिन्छ होला?

– हो यो कुरा । धेरै कम स्थापित वा लपसिक्खाले अर्काका कृति पढ्छन् । तर आफूले लेखेको अरूले पढेनन् भनेर गुनासो पनि गर्दछन् । यो प्रवृतिगत समस्या हो । प्रवृतिमै सुधार नआइ कसरी सुधार गर्न सकिएला र खै !

१५ “म त वरिष्ठ हुँ, मैले आलाकांचाहरूका साहित्य ९सृजानर्० के पढ्ने”, यस्तो भन्नेहरूलाई तपाइँ के भन्न चाहनु हुन्छ? तपाइँले नव(युवा पिढीको कुनै कृति पढ्नु भएको छ?

– कस्तो मनभित्रको प्रश्न सोध्नु भयो । म उनीहरूलाई कठैबरा भन्छु । एउटा उदाहरण दिऊँ है – मेरै अगुवाइमा २०७६ साल भदौ ३ गते विभिन्न लघुकथाकारका १८ वटा कृति एकैसाथ विमोचन भएका थिए । त्यसको भोलिपल्ट लघुकथा सम्बन्धी अर्कै कार्यक्रम थियो । कार्यक्रममा एकजना लघुकथाका स्थापित हस्तीले ‘लुघकथाको बाढी आयो, स्तर खस्क्यो’ भन्न भ्याए । जवकी उनले ती पुस्तकहरू पढ्न त परे जाओस्, छोएका पनि थिएनन् । म प्राय सबै लघुकथाकारका लघुकथा नछोडी पढ्छु । त्यसकारण मैले धेरै नवप्रतीभाका लघुकथासङ्ग्रह पढेको छु । भूमिका लेखेको छु । पढ्छु । प्रतिकृया पनि दिन्छु । सबै विधा त पढ्न कहाँ भ्याइन्छ र !

१६ कथामा पात्रहरूले बोल्ने हो वा कथाकारले बोल्ने हो ? अर्थात समाजमा जे घटिरहेको हुन्छ त्यो कथाकारले आफू केवल एक माध्यम बनेर देखाउने हो वा उसले आफ्ना सोंचहरु कथामा लेख्ने हो?

– कथामा पात्रका माध्यमबाट कथाकारको चेत बोल्ने हो । कथाकारले आफ्नो दृष्टिकोण पस्किने हो । समाजमा त जस्ता पनि घटना घट्छन् । कथाकारलाई जँचेका, छोएका र सम्वेदनशील बनाएका घटना र परिवेश मात्र कथा बन्ने हुन् । 

१७ समाजमा र खास गरी प्रेम र यौनको क्षेत्रमा नलेखिएका कथाहरू थुप्रै छन किनभने मानिस एकैसाथ दुई संसारमा बाँच्ने गरेको हुन्छ । एउटा दृश्य अर्को अदृश्य संसारमा बाँचेको हुन्छ । एउटा संसारको कुरा भन्ने गरिन्छ अर्कोको भनिंदैन। त्यस्ता नलेखिएका कथाहरू बारे के भन्नु हुन्छ? 

– नेपाली समाजमा यो प्रश्न निकै जटिल हो । किनकि अक्सर मान्छे यौनको मामलामा कम्मल ओढेर घिउ खान्छन् । यसो हुनुको कारण हाम्रो नेपाली समाज यौनका मामलामा अनुदार भएकाले हो । तर हामी कथाकारले ती नलेखिएका विषयवस्तुमा पनि कथा लेख्ने आँट गर्नु पर्छ जस्तो लाग्छ मलाई । आवश्यक परे ‘बिहे पहिले मेरो अरूसँग यौन सम्बन्ध थियो’ भनेर आफ्ना परिवेशमा भन्दा के फरक पर्छ उदार जीवनमा ! नेपाली समाजमा अर्काकी श्रीमतीलाई विवाह गर्ने भर्जिन पुरुष र विवाहित पुरुषसँग विहे गर्ने भर्जिन कन्या पनि त छन् । के यो विहेपूर्वको यौन सम्बन्ध होइन ! यो कुरालाई हाम्रो समाजमा लुकाउनु पर्छ । त्यसकारणले यो कथालेखनको एउटा नवीन विषय हो । यसमा सकारात्मक सोच राखेर अग्रगामी कथाहरू लेख्नु पर्छ कथाकारले । 

अन्त्यमा विश्वराज सर, यो अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु । 

सेप्टेम्बर ६, २०२०

सान एण्टोनियो, अमेरिका

अन्तर्वाताकारः विश्वराज अधिकारी



Fertilizer Crisis in Nepal and Solutions-Article-293

 नेपालमा कृषि मल सङ्कटः समाधानका उपाय

नेपालमा हरेक वर्ष बाली लगाउने र हुक्र्याउने बेलामा कृषि मलको ठूलो अभाव हुन्छ  मल प्राप्त गर्न कृषकहरूले अनेक समस्याको सामना गर्नुपर्दछ। एक किसिमको युद्ध नै गर्नुपर्छ। यो नौलो कुरा होइन। यसमा आश्चर्य मान्नुपर्ने कारण पनि देखिंदैन। तर आश्चर्य के कुरामा मान्नुपर्दछ छ भने दशकौं बितिसक्ता पनि हामी आफैले कृषि मल उत्पादन गर्न सकेका छैनौं। नेपालमा ठूलो परिणाममा मल खपत हुने गरे तापनि आवश्यक मल विदेशबाट आयात गरिरहेका छौं। मल खरीदमा प्रत्येक वर्ष ठूलो रकम बाहिर पठाइरहेका छौं। विदेशमा पसिना बगाएर कमाएको पैसाको ठूलो भाग मल खरीदमा अर्को देश पठाइरहेका छौं। मल विक्रेता देशलाई राम्रो आम्दानी गराइरहेका छौं। यो एक किसिमको बृहत् राष्ट्रिय चुहावट त हो नै, हाम्रो ठूलो गैरजिम्मेवारीपन हो, लज्जाबोध हुनुपर्ने विषय हो।

    कृषि मल अर्ध वा पूर्ण विलासी वस्तु होइन। यो अत्यावश्यक वस्तु हो। कृषिमा आश्रित नेपालको लागि मल अत्यावश्यक वस्तुहरूमध्ये एउटा हो। मलको अभावमा कृषकहरू आफ्नो लगानी (बाली) को उचित प्रतिफल पाउन सक्तैनन् भने राष्ट्रले ठूलो आर्थिक क्षति बेहोर्नुपर्दछ। अर्कोतिर राष्ट्रलाई आवश्यक पर्ने परिमाणमा खाद्यान्न उत्पादन गर्न सकिन्न। किनकि हाम्रो खाद्य पदार्थ दालभात, तरकारी यही कृषि मलको आपूर्तिसँग जोडिएको छ।

कृषि मल राष्ट्रको लागि यति अत्यावश्यक वस्तु हुँदाहुँदै पनि यसको उत्पादन स्वदेशमा हुन नसक्नु आफैमा अनौठो कुरा हो। हाम्रो लाछीपन हो। नेपालमा प्रजातन्त्रको पुनस्र्थापना २०४७ सालमा भएपछि धेरै व्यक्ति अर्थ र कृषि मन्त्री भए। कुनै पनि अर्थ वा कृषि मन्त्रीले नेपालमा नै कृषि मल उत्पादन गर्ने पहल नगर्नु अर्को ठूलो अनौठो कुरा हो। यस्तो हुनुको मुख्य कारण नेताहरूको ध्यान शक्ति र सत्तामा मात्र केन्द्रित हुनु हो। दलगत स्वार्थमा लीन हुनु हो। नेताहरूलाई विकासको लागि जिम्मेवार बनाउन नसक्नु जनताको पनि कमजोरी हो। यस आरोपबाट जनता पनि उन्मुक्ति पाउन सक्दैन।

    पञ्चायतकालमा स्वदेशमा नै कृषि मल उत्पादन गर्ने विषयलाई महत्व नदिइए तापनि कृषकहरूले सहजै आयातित मल प्राप्त गर्न सकून् भनेर ‘कृषि सामग्री संस्थान’को स्थापना गरिएको थियो। नेपालका अनेक भागमा छरिएर रहेका कृषि सामग्री संस्थानका शाखा कार्यालयहरूले कृषकहरूको माग अनुसार मल आपूर्ति गर्ने कार्य गरेका थिए। खासगरी तराईका जिल्लाहरूमा यो संस्थानले प्रभावकारी किसिमले कृषकहरूलाई कृषि मल उपलब्ध गराएको थियो। अति निर्धन कृषकहरूलाई सस्तो र सहज किसिमले यो संस्थानले मल उपलब्ध गराउन नसके तापनि मध्यम र उच्च आय भएका कृषकहरूलाई भने सरल किसिमले कृषि मल उपलब्ध गराउन सकेको थियो। र परिणामस्वरूप नेपालका कृषकहरू प्रभावकारी किसिमले खाद्यान्न उत्पादन गर्न सफल भएका थिए। यो कालमा नेपाल चामलका लागि आत्मनिर्भर हुन पुगेको थियो भने तराईका कृषकहरूले ठूलो परिमाणमा धान उत्पादन गर्न सकेकाले भारत, बङ्गलादेश, मरिससजस्ता मुलुकहरूमा चामल निर्यात हुन सकेको थियो। यही कालमा धानको उत्पादन ठूलो परिमाणमा भएकोले नेपालमा पहिलोपटक ‘धान चामल निर्यात कम्पनी’ स्थापना भएको थियो। यो काललाई नेपालको कृषिजगत्मा ‘स्वर्णकाल’को रूपमा लिन सकिन्छ।

नेपालमैं मल किन उत्पादन गर्ने?

    अहिले पनि नेपालको कृषि क्षेत्रले बहुसङ्ख्यक व्यक्तिलाई रोजगार दिएको छ। बहुसङ्ख्यक व्यक्तिले बाँच्ने अत्यावश्यक खाद्यान्न यसै क्षेत्रबाट प्राप्त गर्छ। राष्ट्रिय उद्योगको स्थिति लाभदायी नभएकोले कृषिमाथिको राष्ट्रिय निर्भरता झनै बढेर गएको छ। यस्तो विषम परिस्थितिमा कृषि क्षेत्रको बेवास्ता गर्न मिल्दैन। कृषि मल नेपालमैं उत्पादन गर्ने विषयमा गम्भीर बन्नुपर्छ। यो केवल सरकारको चासोको विषय नभएको हुनाले जनसामान्यले पनि यसलाई विशेष महत्वका साथ लिनुपर्दछ।

    नेपालमा ठूलो परिमाणमा कृषि मलको खपत हुने भएकोले नेपाललाई कृषि मलको अति लाभदायक, भरपर्दो र सङ्गठित बजारको रूपमा लिनुपर्दछ। बर्सेनि ठूलो परिमाणमा अनेक मुलुकबाट मल आयात गर्नुको साटो स्वदेशमैं उत्पादन गर्नुपर्छ। हामी आफैंले मल उत्पादन नगर्नु व्यापारको ठूलो अवसर गुमाउनु हो। ठूलो लाभ प्राप्त गर्न नसक्नु हो। राष्ट्रिय व्यापारबाट राम्रो आम्दानी गर्न नसक्नु हो। देशभित्रै व्यापारका अनेक अवसर हुँदाहुँदै पनि व्यापार नगर्नु हो। देशभित्र रोजगार सृजना नगरेर रोजगारका लागि विदेशतिर धाउनु हो।

    हामीकहाँ व्यापारका अनेक अवसर छन्। तर हामीमा अवसर पहिचान गर्ने क्षमताको अभाव, बौद्धिक क्षमताको कमी, अल्छीपन वा परनिर्भरताजस्ता कमजोरी छन्। जसले हामीलाई देशभित्र उपलब्ध अवसरहरूको लाभदायक र प्रभावकारी ढङ्गले उपयोग गर्न दिइरहेका छैनन्। देशभित्र प्राप्त अवसरहरूको बेवास्ता गरेर अवसर खोज्न हामी विदेश धाइरहेका छौं। यो हाम्रो ठूलो कमजोरी हो। राष्ट्रको आर्थिक विकासको प्रमुख बाधक तत्व हो। उदाहरणका लागि हामी प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा भारतबाट बस, ट्रक, कार, जीप, ट्याक्टर, पावर टिलर, मोटरसाइल खरीद गर्छौं तर ती वस्तु देशभित्र उत्पादन गर्दैनौं। ती सामान खरीद गर्न राष्ट्रिय ढुकुटीबाट ठूलो धनराशि खर्च गरेर भारतीय व्यापारीहरूलाई धनी तुल्याउँछौं। स्वदेशलाई गरीबीकै अवस्थामा राख्छौं। यसरी कहीं देशको आर्थिक विकास हुन्छ?

    नेपालमा निम्न तीन किसिमबाट कृषि मल उत्पादन गर्न सकिन्छ। यस्तो गरेर कृषकहरूलाई सहज मल आपूर्ति गर्न त सकिन्छ नै, ठूलो परिमाणमा आयात नगरेर राष्ट्रिय व्यापार घाटा पनि कम पार्न सकिन्छ।

पहिलो तरीका

    नेपालमा सहकारी अवधारणा अनुरूप कृषि मल उत्पादन गर्ने कारखाना स्थापना देशभित्रै गर्न सकिन्छ। मल कारखानाको स्वामी सामान्य कृषकलाई बनाएर, उनीहरूकै लगानी, व्यवस्थापन एवं नियन्त्रणमा नेपालमैं ठूलो परिमाणमा कृषि मल उत्पादन गर्न सकिन्छ। यसैगरी देशका विभिन्न गाउँपालिकाहरूमा पनि सानो स्तरमा प्रभावकारी किसिमले मल उत्पादन गर्न सकिन्छ। यस किसिमका उत्पादन क्रियाकलापमा साना कृषकहरूलाई सहभागी गराउनु लाभदायक पनि हुन्छ। सरकारले बर्सेनि कृषकहरूलाई मल खरीदमा दिने अनुदान रकम यस किसिमको मल कारखानाको स्थापनामा खर्च गर्न सक्छ। यस किसमको मल कारखानाको स्थापनामा जिल्ला स्तरीय नेताहरूले पहल गर्नु उपयुक्त हुन्छ।

दोस्रो तरीका

    नेपालका ठूल्ठूला व्यापार गृह–चौधरी ग्रुप, दुग्गड, गोल्छा, खेतान, ज्योति समूह, कान्तिपुर प्रकाशन आदिले ठूलो लगानीमा नेपालमा कृषि मल उत्पादन गर्न सक्ने पर्याप्त अवसर छ। यी व्यापार गृहहरूले स्वदेशमा मल उत्पादन गरेमा उनीहरूको लगानी खेर जाँदैन। उनीहरूले ठूलो मात्रामा प्रत्यक्ष लाभ प्राप्त गर्नेछन्। साथै नेपालमा कृषि उत्पादन बढेर अप्रत्यक्ष फाइदा पनि हुनेछ। यसरी प्रत्यक्ष र परोक्ष दुई किसिमबाट लाभ प्राप्त हुनेछ।

    ठूला–ठूला यी व्यापार गृहहरूले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ। देशको आर्थिक विकास गर्नु उनीहरूको पनि जिम्मेवारी हो। अर्को किसिमले हेर्ने हो भने राष्ट्र गरीब भएमा यी व्यापार गृह पनि गरीब हुन्छन् वा इच्छा गरे अनुरूप धन आर्जन गर्न सक्तैनन्। त्यस कारण यी व्यापार गृहहरू आफैं धनी हुनका लागि पनि राष्ट्र र राष्ट्रको गरीब जनतालाई पनि धनी बनाउन आवश्यक छ। तर दुःखको कुरो भने हाम्रा ठूला व्यापार गृहका मालिकहरूमा यो चिन्तनको सर्वथा अभाव छ।

तेस्रो तरीका

    सार्वजनिक संस्थानको अवधारणा अनुरूप सरकारले आफ्नै लगानी, व्यवस्थापन एवं नियन्त्रणमा नेपालमा  कृषि मल कारखाना स्थापना गरेर देशभित्र हुने मलको माग र आपूर्ति सहज र सरल पार्न सक्छ। कृषकहरूलाई भरपर्दो किसिमले मलको आपूर्ति गर्न सक्छ। यस किसिमबाट स्थापना हुने कारखानामा आफ्ना कार्यकर्तालाई जागीर दिने उद्देश्य नराखेर पदमा भएका नेताहरूले निष्पक्षताका साथ स्वतन्त्र किसिमले सञ्चालन हुन दिनुपर्छ। यस्तो गर्न आवश्यक पनि भइसकेको छ।

    उपरोक्त तरीकाहरूमध्ये सर्वाधिक प्रभावकारी चाहिं सहकारी अवधारणा अनुरूप नेपालमा कृषि मल कारखाना स्थापना गरेर मल उत्पादन गर्नु हो। यसरी कृषकहरूलाई नै मल उत्पादनमा सहभागी गराएर मल उत्पादन र वितरण गर्ने हो भने नेपालका तराई, पहाड एवं हिमाली क्षेत्रमा पनि मलको आपूर्ति भरपर्दो पारेर कृषि उत्पादन अभिवृद्धि गर्न सकिन्छ। नेपालको कृषि क्षेत्रलाई उन्नत पार्न सकिन्छ। मल आपूर्तिको समस्या समाधन गर्न सकिन्छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित Friday, September 11, 2020

Friday, September 4, 2020

Is Our Wealth Creation Concept Correct?-Article-292

 के धन आर्जनप्रति हाम्रो धारणा सही छ?

धन आर्जनप्रति हाम्रो धारणा पश्चिमेलीहरूभन्दा ज्यादै पृथक छ। यो पृथक धारणाको कारणले गर्दा पनि हामी गरीब भएको हुनुपर्छ। पश्चिमाहरू धनलाई परिश्रमको पारितोषिक मान्दछन् भने पूर्वीयहरू भाग्यको खेल। भाग्यले गर्दा कुनै व्यक्ति धनी हुने वा भाग्यले गर्दा गरीब हुने कुरामा पूर्ण आस्था राख्छन्।

    एशियालीहरू र खासगरी दक्षिण एशियालीहरू धन कसैले दिएर प्राप्त हुने कुरामा अति विश्वास गर्छन् अनि देवी लक्ष्मीलाई धनको देवी मानेर पूजा गर्छन्। देवी लक्ष्मी प्रसन्न भएमात्र धन प्राप्त हुने विश्वास गर्दै उनको पूजा–आराधना गर्छन्। लक्ष्मीपूजाको दिन त धनकी देवी लक्ष्मीको पूजा विशेष किसिमले गर्छन्।

    भगवान्प्रति श्रद्धा भएर निस्स्वार्थ भावले पूजा गर्नु बेग्लै कुरा हो। लक्ष्मी मातालाई देवी मानेर पूजा गर्नु, श्रद्धा भक्ति प्रदर्शन गर्नु राम्रो कुरा हो। भगवानलाई आदर गर्नु उचित हो। तर भगवान्लाई धन दिने स्रोतको रूपमा देख्नु र धनप्राप्तिका लागि कर्म गर्नुको साटो भगवान्को पूजा गर्नु अनि आकस्मिकरूपमा धन प्राप्त हुने आकाङ्क्षा राख्नु चाहिं उचित होइन। कर्म नगरेर धनको अपेक्षा गर्नु कदाचित उचित होइन। कर्म नगरेर धनको अपेक्षा गर्नु एक प्रकारको पाप हो। अप्रत्यक्ष किसिमले गरिने अपराध हो।

    धन आकस्मिकरूपमा कहिले पनि प्राप्त हुँदैन। धन पाउनका लागि बौद्धिक अभ्याससहित कठोर परिश्रम गर्नैपर्छ। कठोर परिश्रमको विकल्प छैन। धन आकस्मिकरूपमा त्यस बेला प्राप्त हुन्छ, जब देशमा जनता र सरकार दुवै आर्थिक भ्रष्टाचारमा लिप्त हुन्छ। देशमा नियम र कानूनको निष्पक्ष एवं कठोरताका साथ पालन भएको हुँदैन। सरकारी कार्यालय (नेपालको सन्दर्भमा कर कार्यालय, भन्सार कार्यालय, मालपोत कार्यालय लगायत अन्य कार्यालयहरू) जहाँ जनहितको कार्य हुनुपर्ने हो, काम कम र घूस लेनदेन बढी हुने भएकोले त्यस किसिमका कार्यालयहरूका कर्मचारीहरूलाई आकस्मिक धन प्राप्त हुन्छ। उनीहरू आकस्मिक वा कर्मविना धन प्राप्त गर्न सक्रिय रहन्छन्।

यसैगरी, कालाबजारी तथा गैरकानूनी व्यापार, उद्योग एवं व्यवसाय सञ्चालन गर्ने व्यापारीहरूले पनि आकस्मिक धन प्राप्त गर्छन्। दक्षिण एशियाका देशहरूमा कालाबजारी एवं गैरकानूनी व्यापार बढी मात्रामा सञ्चालन हुने भएकोले पनि व्यापारीहरूले आकस्मिकरूपमा ठूलो धन प्राप्त गर्छन्। छोटो अवधिमा धेरै धनी हुन पुग्छन्। अर्थात् जुन देशमा आर्थिक भ्रष्टाचार जनस्तर (आफ्नो काम गराउनका लागि कुनै व्यक्तिले सरकारी कार्यालयको सम्बन्धित व्यक्तिलाई घूस दिनु) र सरकारीस्तर (मन्त्री, सचिव जस्ता उच्चपदस्थ र निम्न पदका व्यक्तिले जनताको काम गरेबापत पैसा लिनु तथा कुनै किसिमको प्रशासनिक शक्ति प्रयोग गरेर आर्थिक लाभ प्राप्त हुने स्थिति सृजना गर्नु)मा हुन्छ, त्यहाँ मानिसहरू आकस्मिकरूपमा धनी हुन्छन्। अफगानिस्तान, पाकिस्तान, भारत, बङ्गलादेश, नेपालजस्ता दक्षिण एशियाली देशहरूमा आकस्मिकरूपमा धनी हुनेहरूको सङ्ख्या बाक्लो छ।

    दक्षिण एशियाका मुलुकहरूमा त्यहाँको राजनीतिक स्थितिले पनि धन परिश्रमविना आकस्मिकरूपमा प्राप्त हुने विश्वासलाई मलजल गर्छ। आकस्मिकरूपमा ठूलो धन प्राप्त हुने उद्देश्यका साथ बहुसङ्ख्यक मानिस राजनीतिमा लाग्छन्। हिजोसम्म सडकमा खाली खुट्टा हिंड्ने, झोपडीमा बस्ने र दुई छाक ढुक्कसँग खान नपुग्नेहरू पनि राजनीतिमा लागेपछि केही वर्षभित्रै विशाल महलको मालिक र करोडपति–अरबपति हुन पुग्छन्। दक्षिण एशियाको राजनीतिले पनि सर्वसाधारणलाई आकस्मिकरूपमा धन प्राप्त हुने विश्वास गर्न प्रेरित गरेको छ। त्यस्तो वातावरण सृजना गरिदिएको छ।

    नियम कानून कडाइका साथ पालन हुने र गरीब तथा धनी सबैका लागि कानून एक समान हुने देशहरूमा पनि मानिसहरू छोटो समयमा धनी भएका उदाहरण त छन्, तर उनीहरू आकस्मिकरूपमा धनी भएका भने हुँदैनन्। उच्च बौद्धिक क्षमता प्रयोग गरेर, कठोर परिश्रम गरेर धनी भएका हुन्छन्। पश्चिमा देशहरूमा धन परिश्रमद्वारा प्राप्त हुने जनविश्वास रहेकोले हरेक व्यक्ति कडा परिश्रम गरेर धन प्राप्त गर्न सक्रिय रहन्छ। आकस्मिकरूपमा धन प्राप्त गर्ने लालसा उसको मस्तिष्कको कुनै पनि कुनामा हुँदैन। पश्चिमा देशहरूमा प्रत्येक बालबालिकालाई धन पूजा–आराधना गरेर होइन, परिश्रम गरेर प्राप्त हुने संस्कार सिकाइएको हुन्छ। स्कूल–कलेजमा पनि त्यसै किसिमको शिक्षादीक्षा दिइन्छ। बालबालिका आकस्मिकरूपमा धन प्राप्त हुने मनोविज्ञानका साथ हुर्केका हुँदैनन्। यस कारणले पनि युवा अधिक परिश्रम गरेर, नयाँ–नयाँ विचार खोजी गरेर धन प्राप्त गर्ने कोशिश गर्छन्। उनीहरूले धनलाई भाग्यसँग जोड्दैनन्। धनलाई अथक प्रयास र परिश्रमको परिणाम मान्दछन्।

    अमेरिकाका केही चर्चित व्यक्ति जस्तै मार्क जुकरबर्ग, बिल गेट्स, जेफ बेजोज छोटो समयमा खरबपति भएका हुन् तर उनीहरूले ठूलो धन आकस्मिकरूपमा प्राप्त गरेका भने होइनन्। कठोर परिश्रम गरेर, नयाँ–नयाँ सोचको विकास गरेर धनी भएका हुन्। फेसबूकका संस्थापक मार्क जुकरबर्ग त केवल ३५ वर्ष (हालको उमेर)मा खरबपति हुन पुगेका छन्। मार्कले सूचना र जानकारी प्रवाहको क्षेत्रमा चमत्कार नै गरेर देखाए। संसारभरिका मनिस एउटा प्लेटफार्ममा भेला हुन सक्ने तथा उनीहरूबीच अन्तत्र्रिmयासमेत हुन सक्ने सर्वाधिक नयाँ सूचना प्रविधि (facebook)को विकास गरेर मार्कले संसारलाई छक्क पारिदिए। अर्कोतिर सूचना, विचार, चिन्तनको प्रवाह गाउँ–गाउँसम्म पुग्ने प्रविधिको सृजना गरिदिए। फेसबूकको विकास र कार्यले गर्दा अहिले संसारभरिका व्यक्तिबीच विचार आदानप्रदान सजिलो भएको छ। फेसबूक, सूचना एवं जानकारी उत्पादन, वितरण एवं व्यवस्थापनको क्षेत्रमा ठूलो चमत्कार हुन पुगेको छ। मार्क जुकरबर्ग यस किसिमको चमत्कारी कार्य गरेर धनी भएका हुन्। आकस्मिक किसिमले कुनै ठूलो धन हात पारेर धनी भएका होइनन्। उनको अहोरात्र सक्रिय चिन्तन एवं कठोर परिश्रमले उनलाई धनी बनाएको हो। केवल धनी हुने सपना देखर उनी धनी भएका होइनन्।

    कम उमेरमा खरबपति हुने अर्का व्यक्ति हुन जेफ बेजोज। उनी केवल ५६ वर्ष (हाल)को उमेरमा संसारको सर्वाधिक (एक नम्बर) धनी व्यक्ति हुन पुगेका छन्। जेफ पनि आकस्मिकरूपमा धनी भएका होइनन्। उनी एक नम्बर धनी हुनुको पछाडि उनको परिश्रमको पहाड छ, अमेजनको विकास छ। उनले खरीदको संसारमा चमत्कारी परिवर्तन ल्याइदिए। इन्टरनेट प्रयोग गरेर, अनलाइन खरीद–बिक्री यति ठूलो परिमाणमा र यति सहजताका साथ गर्न सकिन्छ भनी मानिसले कहिले पनि सोचेका थिएनन्। जेफले ‘अमेजन’को स्थापना गरेर अनलाइन खरीद–बिक्री सजिलो मात्र पारिदिएनन्, संसारको एक कुनाको व्यक्तिले संसारको अर्को कुनाबाट सामान खरीद गर्न सक्ने र यसैगरी बिक्री गर्न सक्ने सहज वातावरण पनि सृजना गरिदिए।

    अनलाइन बिक्री गर्दा विक्रेताले पसल स्थापना एवं सञ्चालन गर्नु नपर्ने र उत्पादकले पनि सोझै उपभोक्तासम्म सामान पु–याउन सक्ने भएकोले अनलाइन खरीद–बिक्रीलाई बढी स्वीकार्य पारेर, बिक्री लागत कम पारेर, सामानहरूको मूल्य पनि जेफले कम पारिदिए। अहिले स्थिति यस्तो भएको छ कि अमेरिकाका कतिपय शहरभित्रका पसलहरू अनलाइन खरीद–बिक्रीले गर्दा बन्द भइरहेका छन् भने अनलाइन खरीद–बिक्री ह्वात्तै बढेको छ। कोरोना सङ्कटको यस महामारीमा पनि अनलाइनको सहज प्रयोगले गर्दा खरीद–बिक्री प्रभावित भएको छैन। उत्पादकहरूले सहज किसिमले आफ्ना उत्पादन बिक्री गर्न सकेका छन् भने उपभोक्ताहरूले घर–दैलौमैं समान प्राप्त गरिरहेका छन्। र यो स्थिति अमेनजले सृजना गरिदिएको हो। अमेजनको चमत्कारी विकास गरेर जेफ धनी भएका हुन्, कठोर परिश्रम गरेर धनी भएका हुन्, नयाँ किसिमको व्यापार पद्धति

(अनलाइन खरीद–बिक्री प्रणाली) विकास गरेर भएका हुन्। आकस्मिक किसिमले वा भाग्यले गर्दा धनी भएका होइनन्। जेफसँग अहिले (सन् २०२०) ११३ बिलियन डलर बराबरको सम्पत्ति छ।

    आश्चर्यलाग्दो कुरा के छ भने फोब्र्सको तालिका (सन् २०२०) अनुसार विश्वका दश सर्वाधिक धनीमध्ये आठजना व्यक्ति केवल अमेरिकाका छन्। ती दशजनामध्ये एकजना फ्रान्स र अर्का एकजना स्पेनका हुन्। विश्वका सर्वाधिक दश धनी व्यक्तिमा आठजना अमेरिकी मात्र कसरी हुन पुगे होलान् ? कारण के होला ? उत्तर सजिलो छ। आम अमेरिकीहरू धनलाई नयाँ विचार र कठोर परिश्रमको परितोषिक मान्दछन्। धनलाई आकस्मिक लाभको रूपमा देख्दैनन्।

    धन आर्जन एवं प्राप्तिप्रति हाम्रो परम्परागत धारणामा परिवर्तन ल्याउन जरुरी छ किनभने यो धारणासँग हाम्रो गरीबी जोडिएको छ। हामीले यो बुझ्न आवश्यक छ कि देव, पितृ आदिलाई गुहारेर धनी हुने वा धन प्राप्ति हुने होइन। धन नयाँ विचार एवं कठोर परिश्रमले प्राप्त हुने हो। धनको भाग्यसँग होइन कठोर परिश्रमसँग बलियो साइनो छ। यो धनप्राप्तिको मूलमन्त्र हो। देव, पितृलाई गुहारेर धनी हुने भइदिएको भए संसारमा कुनै पनि व्यक्ति गरीब हुने थिएन। कुनै पनि राष्ट्र गरीब हुने थिएन।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in http://www.prateekdaily.com/ on Friday, September 4, 2020

Thursday, September 3, 2020

Interview with Nawaraj Rizal-I-9

 प्रचारबाट टाढा रहन रूचाउने साहित्यकार नवराज रिजाल

नवराज रिजाल नेपाली साहित्यमा सुपरिचित नाम हो । नियात्रा, कथा,लघुकथा,गजल,समालोचना तथा वालसाहित्यमा उनको विशेष अभिरूचि र संलग्नता छ । अध्यापन प्राध्यापन पेशामा लामो समयदेखि क्रियाशील उनका विभिन्न विधाका डेढदर्जन कृति प्रकाशित छन् । 

२०५० सालदेखि बाराजिल्लाबाट उनले प्रकाशन आरम्भ गरेको नवप्रज्ञापन साहित्यिक पत्रिका अहिले पनि निरन्तर प्रकाशित भइरहेको छ । खोज अनुसन्धानमा  रूचि राख्ने उनीद्वारा सम्पादित यो पत्रिकाका ( गजल विशेष ,गीत विशेष ,राष्टकवि माधव घिमिरे विशेष ,सरूभक्त विशेष ,श्यामप्रसादका रचना विशेष ,नारायणीका स्रष्टाहरू पद्यखण्ड,नारायणीका स्रष्टाहरू गद्यखण्ड, वाल्यकालीन संस्मरण ,स्वर्ण अङ्क ,बालसाहित्य विशेषाङ्क ,भानुभक्त विशेषाङ्क ,छन्दकविता विशेषाङ्क ,लघुकथा विशेषाङ्क ,स्वअभिलेख विशेषाङ्क,,मुक्तक विशेषाङ्क,,बहुभाषाकथा विशेषाङ्क  र गीत विशेषाङ्क समेत १७ विशेषाङ्क सहित ८८ अङ्क प्रकाशित छन् । 

नवप्रज्ञापनमा नेपालका वहुसङ्ंख्यक साहित्यकारहरूको रचना प्रकशित भएका छन ्। नेपाली साहित्यमा, निजी क्षेत्रबाट प्रकाशित हुने पत्रिकाहरूमा नवप्रज्ञापनको एउटा छुट्टै स्थान छ । तराईको जिल्ला बाराबाट २८ वर्षअघि प्र्र्र्र्र्र्र्रकाशन आरम्भ भएको यो पत्रिका यतिखेर राष्ट्रिय क वर्गमा वर्गीकृत छ । 

अघिल्लो वर्ष नेपालका प्रमुख दश मातृभाषाका कथा समेटेर बहुभाषा कथाविशेषाङ्क प्रकाशित गरेका रिजालद्वारा सम्पादित प्रकाशित यो पत्रिकाले यो वर्ष १६३ स्रष्टाहरूका १६७ रचना समेटेर  गीत विशेषाङ्क प्रकाशित गरेको छ ।

“ कोरा प्रचारमा मरिमेट्नु भन्दा काम गरेर  देखाउनु जाति । स्व प्रशंसामा रम्ने रमाउन्े प्रवृतिले कसैको पनि उचाई बढाउँदैन । भाषा साहित्यको सेवा आम्दानीको लागि होइन देशको उत्थानका लागि हुनु पर्छ” यस्तो विचार राख्छन् रिजाल । उनमा आफ्ना  भनाइहरूमा अडिग विश्वास छ ।  यो विश्वासले साहित्यमा निरन्तर विना कुनै स्वार्थ लाग्न प्रेरित गरेको छ । नवप्रज्ञापनको निरन्तरता त्यसको प्रमाण हा्े । उनको एकल प्रयासमा त्यो पत्रिका गतिशील बनिरहेको छ ।  नेपालमा पत्रकारिताको सुरुवात साहित्यिक पत्रकारिताबाट भए पनि वर्तमानमा यसको अवस्था सन्तोष जनक छैन । त्यसैले यो मानिसको नजरमा नपरेको हो ।  

पत्रकारिता, साहित्यिक पत्रकारिता वा अन्य साहित्यिक क्रियाकलापमा संलग्न भएर कतिपयले लाभ पनि प्राप्त गरेका छन् ।  तर उनले यसको प्रकाशनमा आफ्नै आर्जन (तलब) पनि लगाएका छन् । नेपालमा साहत्यिक पत्रिकाको विक्रीबाट आएको रकमले निरन्तर रुपमा साहित्यिक पत्रिका प्रकाशन गर्न सकिंदैन भन्ने कुरा सर्वविदितै छ । नवप्रज्ञापनको प्रत्येक अ«ङ्ंकको बिक्रीबाट आएको राशीले अर्को अङ्क प्रकाशित गर्न पुग्दैन । यो कारणले गर्दा प्रकाशकले आफ्नै खल्तीबाट पैसा लगाउनु पर्दछ । तर यति हुँदा हुँदै पनि उनले पत्रिका       लाई निरन्तरता दिने कार्य परित्याग गरेका छैनन्, । यसैको कारण २८ वर्षदेखि निरन्तर रूपमा यो प्रकाशित हँुदै आएको छ । 

नेपालमा साहित्यिक पत्रिका पढ्ने चलन नै छैन भने पनि हुन्छ । निशुुल्क बाँड्दा समेत पत्रिका पढ्न रुचाउँदैनन । यस्तो अवस्थामा पनि अनवरत रुपमा रिजालले साहित्यिक पत्रिका प्रकाशन गरिरहेका छन् । यो एक स्तुत्य कार्य हो । प्रस्तुत छ विश्व दर्पणका ब्लगर विश्वराज अधिकारीले नवराज रिजालसँग गरेको कुराकानी )

१ साहित्यको सेवामा लाग्न तपाइँलाई के कुराले प्रेरित गर्यो? 

कुनै पनि देशको नागरिक आफ्नो मुलुकप्रति सधैँ जिम्मेवार हुन्छ र हुनु पनि पर्छ । जो आफ्नो राष्ट्रप्रति जिम्मेवार छैन त्यो व्यक्ति त्यो देशको असल नागरिक हुन सक्दैन । आजसम्म कसैको गुलाम नबनेको देश नेपालको नागरिक भएर जन्मन पाएकोमा मलाई गर्व छ । असल नागरिकले यो मुलुक बनाउन र आजको अवस्थामा ल्याइपु¥याउन अग्रज पुस्ताले गरेको अमुल्य योगदानलाई कुनै हालतमा भुल्न पनि सक्दैन । जो भूल्छ त्यो कृतघ्न हो । बाँकी रह्यो सुखदुखको कुरा, त्यो त व्यक्तिको कर्ममा निर्भर गर्छ । जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ । पूर्खाहरूको अमूल्य त्याग, पसिना र बलिदानले बनेको र बचेको यो माटोमा मैले पनि आफ्नो ठाउँबाट केही न केही गर्नु पर्छ भन्ने सोचले र  मेरो पनि साहित्यमा सामान्य अभिरूचि रहेका कारण यसको अभ्युथ्थानका निम्ति म यो क्षेत्रमा प्रवेश गरेको हुँ भन्ने मेरो धारणा छ । 

२ साहित्य लेखन के का लागि हुनु पर्छ  साहित्यकारको आत्मसन्तुष्टिका लागि वा समाज सुधारका लागि र प्रसिद्धि पाउन का लागि? 

हेर्नुस, पहिलो कुरो साहित्य समाज र जीवनका लागि हुनुपर्छ । त्यो कुरा कहिल्यै बिर्सन सकिँदैन । यो तथ्य बिर्सिएर लेखिएको साहित्यले त्यो देश, समाज र जनताको प्रतिनिधित्व गर्न सक्दैन । संसारमा सबै ठाउँको समाज र जीवन एकै किसिमको पनि छैनन्  ।  अनि मानिसका रूचि, क्षमता र आवश्यकता समेत् पृथक पृथक छन् । तसर्थ संसारमा लेखिएका र लेखिँदै गरेका साहित्य रूप,आकार र अवस्थामा अलग छन् । यसलाई अन्यथाको आँखाले हेर्न सकिँदैन । त्यसपछि मात्र आत्मसन्तुष्टि,समाजसुधार र प्रसिद्घिका कुरा जोडिने हुन् । 

३ नेपालमा साहित्यको भविष्य कस्तो देख्नु हुन्छ? 

राम्रो छ, नराम्रो छैन । हाम्रा आँखा परायको हेर्दै आफ्नो मूल्याङ्कन गर्छन् । हाम्रो राम्रो हुन त हामीले पनि  काम गर्नु प¥यो नि । अर्काको हेरेर आफ्नो सही मूल्याङकन कुनै हालतमा हुन सक्दैन । एउटा कुरा नि, हामीले हाम्रो भाषासाहित्यको उत्थानका निम्ति गर्नुपर्ने जति काम गरेकै छैनौँ । पिता पूर्खाले जति गरे अहिलेसम्म त्यसकै व्याज खाएर हामी बाँचिरहेका छौँ ।  सिमाना काटेर कुनै पनि नेपाली पत्रपत्रिका वैधानिक रूपमा भारत छिर्न सक्दैनन् । यतातिर कसैको दर्विलो आवाज आउँदैन । उताका नेपाली भाषीले चाहेर पनि नेपाली पत्रपत्रिका र पुस्तक पढ्न सक्दैनन् । यतातिर काम हुनु प¥यो नि खै भएको ? अर्काको टाउकोमा दोष आफू पन्छिने गलत प्रवृति हामीमा छ । तसर्थ सबै नागरिक यथास्थानमा जिम्मेवार बन्ने हो भने नेपाली साहित्यको भविष्य म त असुन्दर दैख्दैदेख्दिन ।

४ नेपालका साहित्यकारहरूमा आफ्ना रचना अरूले पढि दिउन् तर अरूको आफूले पढ्न नपरोस भन्ने सोच राख्छन् भन्ने मान्यता देखिन्छ । तपाइँलाई पनि त्यस्तो लाग्छ? 

त्यो प्रवृति देखिन्छ । त्यसलाई म अन्यथाको आँखाले भने हेर्दिनँ  । ठीकै छ कसको पढ्ने  अनि कसको नपढ्ने त्यो आफ्नो अधिकारको कुरा हो । यसमा चित्त दुखाउनु बहस र गरिरहनु आवश्यक पनि छैन । एउटा, कुरा हामी कहाँ गम्भीर पाठकको सङ्ख्या कम भएको भने यथार्थ हो । केही सङ्घसंस्था हाम्रो मूल्यमान्यताबाट च्यूत गराउन साहित्य लेख्न सिकाइरहेका छन् र हामी पनि आफूलाई पूर्ण रूपमा खाली मानेर लेख्ने तालीम लिन मरिहत्ते गरिरहेछौँ । आजको हाम्रो मूल समस्या आफ्नो औगात ठम्याउन नसक्नु हो । त्यसले हामीलाई सबैतिर पछि पारिरहेको छ र तपाईले माथि उठाउनु भएको सन्दर्भ पनि त्यहीँ आएर जोडिन्छ ।

 

५ नेपालमा लेख्नेहरूको तुलनामा पढ्नेहरूको सङख्या कम छ भन्नेहरू पनि छन् । तपाइँलाई हो जस्तो लाग्छ? 

मलाई त त्यस्तो  लाग्दैन । तर नेपालमा पठन संस्कृतिको विकास भएको वा गरिएको छैन र जति भएको वा गरिएको छ त्यो अपूग छ भन्ने कुरामा भने म पूरापुर विश्वास राख्छु । अर्को कुरा हामी कहाँ अवसर जोडिने बित्तिकै अलेखक पनि लेखक बनेका उदाहरण मनग्गे भेटिन्छन् । लेख्नेहरूको जोड पनि लिनमा भन्दा बढी दिनमा देखिन्छ । अचेलको पेशेवरी लेखनले त परिस्थितिलाई झन गोलमटोल बनाएको छ । यसैले तपाइलाई त्यस्तो लागेको हुन सक्छ तर  स्थिति त्यो मोडमा पुगेको सत्य होइन ।

६ नेपाली साहित्यले पाठकहरूलाई आकर्षित गर्न नसक्नुको प्रमुख कारण के होला? स्तरीय साहित्यको अभाव वा पठन संस्कृतिको विकास हुन नसक्नु? 

हामी कहाँ एकातिर पठन संस्कृतिको राम्रो विकास भएको छैन भने अर्कोतिर भाषा साहित्यप्रतिको मोह पनि विस्तारै कम हुँदै गइरहेको छ । आजका अधिकांश अभिभावक आफ्ना सन्तानलाई पाश्चात्य संस्कृतिमा दीक्षित  गराउनुलाई गर्व गरिरहेको गरिरहेका छन् तसर्थ हाम्रा पाठक घट्नुलाई अन्यथा मान्न सकिँदैन ।  

७ कुनै कृतिले पुरस्कार पाएको अवस्थामा, के कुनै पुरस्कारले कृति उत्कृष्ट रहेको पुष्टि गर्छ। उत्कृष्ट कृतिको आधार पुरस्कार हो त? 

गर्दैन , तर आम मनोविज्ञान भने त्यस्तो देखिन्छ  । पुरस्कार त सेटिङ पनि हो । आफ्नो र आफ्नालाई मात्र  दिइने पुरस्कारहरू पनि छन्  तर सबै पुरस्कारलाई एउटै आँखाले हेर्न भने हुँदैन । राशीको कुरा छाड्नुस अत्यन्तै सम्मानित र पूजनीय पुरस्कार पनि छन् । पुरस्कार पाउँदैमा कृति उत्कृष्ट हुन्छ भन्ने कुरा होइन । ठुलो पुरस्कार पाएर पनि नबिकेका किताबहरू समेत छन् । हुन त धेरैले पढेकाे बुझेको र चर्चित हुनु पर्ने हो तर त्यस्तो कमै हुने गर्छ।

८ उत्कृष्ट कृति हुनुका आधारहरू के के हुन सक्छन? 

हुनु पर्ने मुख्य  आधार त पाठकीय नै हो नि  तर के गर्नु ? हुँदैन र पो । अनि अन्य आधार त पछि बन्ने बनाउने पो हो त । 

९ अधिकांश कृतिहरू प्रकाशन पछि, कृतिकारको घरमा नै थन्किन्छन, किन त्यस्तो? 

यसका धेरै कारणहरू छन् । एकाथरीलाई लेखक भनाउने हतारो हुन्छ । बजार,पाठक र वितरण व्यवस्थाको मूल्याङ्कनै नगरी पुस्तक छाप्छन् तर पुस्तक विक्रि हँदैनन् । त्यसकारण पुस्तक घरमै थन्कन्छन् । अर्काथरीलाई मैले जे लेखे पनि राम्रो लेख्छु भन्ने आभिमान छ । लेख्छन् अनि छाप्छन् ती पुस्तक पनि विक्रिको कुरा छाडौँ वितरण नै हुन सक्दैन अनि ती घरमै थन्कन्छन् । अझ अर्काथरी भनसुनद्वारा किताव छपाउँछन्  । ती किताव पनि बजारमा पुग्न सक्दैनन् र  सके पनि विक्रि हुँदैनन् । तिनीहरूले थन्कने ठाउँ पनि लेखकको घर नै हो । यी केही उदाहरण मात्र हुन् । खोजी पसे यस्ता उदाहरण धेरै भेटिन्छन् । हामी कहाँ अनेक थरीका लेखक छन् । उनीहरूको लेखक बन्ने आधार फरक फरक छन् । अहिले त्यता नजाउँ । एउटा कुरा के सत्य हो भने लेखन जागीर,व्यापार,व्यवसाय वा राजनीति होइन ।  अपवादलाई छाड्दा अन्यत्रको सन्दर्भमा जे भएपनि नेपालको परिप्रेक्षमा यो आय आर्जनको पाटो हुन सक्दैन ।

१० नेपालमा पाठकहरूको माग भन्दा कृतिहरू बढी प्रकाशित हुन्छन् भन्ने हो? 

त्यसो होइन , पाठकहरूको रूचि भन्दा बाहिर गएर साहित्य लेखिन्छ भन्ने चाहिँ हो । हाम्रा पाठक कस्ता छन् ? उनीहरूका आवश्यकता केके हुन्,हामीले दिनु पर्ने कुरा के हो, देशको इतिहास भूगोल र परिवेश चिनाउन लेखकको दायित्व कस्तो हुनुपर्छ भन्नेतिर हामी कहिल्यै नगएको भन्ने मेरो अवधारणा छ ।  

११ नेपालमा साहित्यिक विकासको वाधक साहित्यकारहरू नै हुन । एक साहित्यकारले अर्को साहित्यकारको को हात होइन खुट्टा तान्ने चलन छ । सहयोगात्मक भावना छैन भन्ने गरिन्छ। यो आरोप सहि हो?

 मलाई त्यस्तो कुरामा विश्वास लाग्दैन । लेखन क्षमताको कुरा हो  । जसको क्षमता जस्तो छ त्यस्तै लेख्छ । लेखनको सम्बन्ध अध्ययन,मनन र चिन्तनसँग पनि छ । यसमा अन्य कुराहरू पनि जोडिन्छन् । कसैले हात र साथ दिनासाथ स्वाट्ट लेखक बनि हाल्ने र नदिँदा नबन्ने होइन । अरूको पनि साथ नचाहिने  त होइन चाहिन्छ तर केवल अर्काको साथले मात्र सफल लेखक बन्न सकिएला जस्तो लाग्दैन । यो मेरो नीजि धारणा हो । साहित्यकारमा त्याग ,तपस्या ,निष्ठा, समर्पण र धैर्यता पनि चाहिन्छ । हेर्नुस त भानुभक्त,मोतीराम,देवकोटालगायतका श्रष्टाहरूलाई कसैले बनाएको हो र ? होइन उहाँहरू आफैँ बन्नु भएको हो । हाम्रो सन्दर्भमा मात्र होइन विश्व साहित्यमा पनि लागूहुने कुरा त्यही हो ।

१२ गहन अध्ययन ,अनुसन्धान पछि लेखिएको साहित्य स्तरीय मानिन्छ । तर नेपालमा केवल लहडको भरमा, बिना गहन अध्यन अनुसन्धान साहित्य लेखिने हुनाले पनि नेपाली साहित्यले गति लिन नसकेको हो कतिपयको मत छ। यो भनाइ उचित छ? 

म साहित्यको सामान्य पाठक हुँ । मैले कुनै ठुलो गहन अध्ययन, विश्लेषण र अनुसन्धान गरेको  पनि छैन । जसले त्यो कुरा भन्नु भयो वा धारणा राख्नु भयो उहाँले आफू विश्वस्त भएर सम्भवत ः भनेको हुनुपर्छ । उहाँको पाटोतिर म प्रवेश गर्न चाहान्न । मेरो विचारमा कहिँ कतै कमीकमजोरी भएन होला भन्न त सकिन्न । तर समग्र नेपाली साहित्यलाई त्यसरी दोषारोपण गर्न मिल्दैन । एउटा कुरा चाहिँ म छाती खोलेर भन्न सक्छु । आधुनिक  बन्ने रहरमा हामीले हाम्रा भन्दा अर्काको कुरा धेरै लेख्यौँ । हाम्रा त्यति धेरै लेख्ने कुरा थिए वा छन्  त्यता जाँदै गएनौँ । किन गएनौँ थाहा छैन तर गएनौँ । हाम्रै बारेमा जान्न पनि बिदेशीले लेखेको पुस्तक नपढी नहुने भयो । उनीहरूले हाम्रो बारेमा सबैकुरा सही र सत्यमात्र भन्लान भन्न सकिन्छ ? उनीहरूले आवेगमा लेखिदिएका कुराले हामीलाई बेलाबेलामा कसरी दुःखाउँछ ? यतातिर हाम्रो ध्यान पटक्कै जान सकिरहेको छैन । जानु पर्छ । कथा कविता मात्र साहित्य हैन । देश पनि साहित्य हो । जनता पनि साहित्य हुन् । उनीहरूका जीवनपद्घति,संस्कार,संस्कृति,प्रचलन,पहिरन,सुख,दु ःख,हर्ष, पीडा सबै साहित्यका विषय हुन् । यतातिर सघन किसिमले ध्यान पुग्न सकिरहेको छैन । साहित्यकार देशको प्रवुद्घ वर्ग भएकाले आजको पुस्तालाई देश चिनाउन,पढाउन,बुझाउन र सिकाउन पनि उनीहरूको महत्वपूर्ण रहन्छ । साहित्यमा यी र यस्ता कुराहरूको कमी भएका कारण हाम्रो साहित्यले गति लिन नसकेको हो ।

१३ वहुसङ्ख्यक व्यक्तिहरूले साहित्य पढ्ने वातावरण निर्माण गर्न के गर्नु पर्छ होला? 

मेरो विचारमा पढ्ने र लेख्ने कुरा दवावमा हुन सक्दैन । भयो भने पनि त्यो लामो समयसम्म टिकिरहने सम्भावना कम रहन्छ । पढ्ने र लेख्ने मात्र होइन दवावमा गरिएका वा गराइएका अन्य क्रियाकलाप पनि दीर्घकालसम्म टिक्ने वा सकारात्मक परिणाम आउने सम्भावना न्यून रहन्छ । यो कुरा साहित्यमा अझ मजाले लागूहुन्छ । हिजो र आजको समय फरक छ । पढ्ने र पढिने  कुरामा पनि रूचि परिवर्तन भएको छ । हिजोसम्म गरिआएका  अधिक क्रियाकलापलाई हामी आफैँ अनावश्यक ठान्न थालेका छौँ । आज हामी धेरैका छातीमा आफ्ना जम्मै  क्रियाकलाप रूढीग्रस्त तर अरूका सबै आधुनिक भन्ने सोच हुर्किरहेको छ । आफ्ना सन्तानलाई पितापूर्खाको त्याग,तपस्या र योगदानमात्र होइन इष्ट मित्र अनि नातागोता चिनजान गराउन समेत हिचकिचाई रहेका छौँ  । राजादेखि रङ्कसम्म सबको मस्तिष्कमा अङ्ग्रेजीको भूत सवार छ । एउटा  कुरा बाहिरी नपढ्ने पटक्क भनेको होइन, पढ्नु पर्छ ।  तर बाहिरको पढ्ने बहानामा आफ्नो सबै बिर्सने ? अनि आजको पुस्तालाई नेपाल र नेपाली नसिकाए पछि कसरी हुन्छ त भाषासाहित्यको विकास ? यतातिर सबैको ध्यान जान जरूरी छ ।  बाहिरको सिकाउने र बुझाउने हदसम्म मेरो कुनै विमती छैन तर त्यसको बहानामा आफ्ना कुरा पनि नछुटाउँ भन्ने मेरो धारणा हो । बस् बाहिरको सिक्ने नाममा  आफ्नो भाषा साहित्यलाई पनि माया गर्न जानियो भने मात्र हाम्रो साहित्य गतिशील बन्न सक्छ। 

१४ नेपालमा कृति वहुचर्चित गराउन खुबै हल्लाखल्ला (स:शुल्क समालोचना, सशुल्क अन्तर्वाता, भोज भतेर, खान पिन आदि) गर्नु गराउनु पर्छ भन्छन् के त्यस्तो हो? 

बडो रमाइलो कुरा गर्नु भयो । यसखालका कुरा यदाकदा मेरा कानमा पनि पर्ने गरेका छन् । यी कुरा सुनाउँदा साथीहरूका मुहारमा आक्रोश अनि पीडा देख्छु  । उहाँहरूका विचार सुन्छु र हाँस्छु पनि । त्यति बेलाको साथीहरूको मनोविज्ञान अनौठो हुन्छ तर त्यसले मलाई छुन सक्दैन । त्यस्ता कुराबाट धेरै ठाउँमा डामिई सकेको छु  । त्यस्ता कार्य  क्षेत्र क्षेत्रमा  देख्न सकिन्छ । अङ्कुसेका कारण योग्य अयोग्य र अयोग्य योग्य भएका उदाहरण पनि अनगिन्ती छन् । पैसाको कुरा हो सक्नेले खर्च गर्दा पनि हुन् । अझ पत्रपत्रिका र सञ्चारका अन्य माध्यममा पनि सेटिङ् मिलाइएको  हुन्छ रे । बाँच्ने कृति हो जति नै हो ।  आफ्नो लेखनमा विश्वास हुनेलाई  यसबाट हानी हुँदैन । जेजे गरे पनि फरक पर्दैन । चर्चा परिचर्चा गराए पनि नेपालमा वास्तविक लेखेर लेखक बाँच्लान् जस्तो लाग्दैन।  

१५ अन्त्यमा, केही थप भन्ने इच्छा छ कि?

 छैन, म भाषासाहित्यको सामान्य पाठक हुँ । मलाई माया गर्दै यति लामो कुराकानी गर्ने मौकादिनु भयो । यहाँ मार्फत मैले  आफ्नो अभिमत जाहेर गर्ने सुअवसर पाएँ । तपाइका गहकिला र जिम्मेवार प्रश्नहरूका  आफूले जानेसम्मको उत्तर दिएको छु। मलाइ यस्तो अवसर प्रदान गर्नु भएकोमा तपाईप्रति आभारी छु।

Published on Thursday, September 3, 2020